गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा, निःशुल्क मुटु परीक्षण
चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पुगेको छ । गाउँपालिकाले यसअघि स्वास्थ्य सेवा नपुगेका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सबै वडामा स्वास्थ्य सेवा पुगेका हुन् । गाउँपालिकाले सबै नागरिकलाई वडाबाटै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित यसअघि स्वास्थ्य सेवा नपुगेका वडा र दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताएका हुन् । अध्यक्ष गुरुङले भने, “वडाबाटै नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने अभियानअन्तर्गत सबै वडाबाट स्वास्थ्य सेवा दिन शुरु गरेका हौँ, हामीले स्वास्थ्यचौकी नभएका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी स्वास्थ्य सेवा शुरु गरेका छौँ ।” गाउपालिकाले वडा नं १ भाराङ, वडा नं २ मायाटार, वडा नं ३ माझगाउँ र वडा नं ७ भालुमारा स्याङ्दीमा गरी चार सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको अध्यक्ष गुरुङले जानकारी दिएका छन् । अहिले गाउँपालिकामा रहेको सात वडामा पाँच स्वास्थ्यचौकी र चार सामुदायिक स्वास्थ्य एकाइ गरी नौ स्वास्थ्य संस्था छन् । अध्यक्ष गुरुङका अनुसार सबै सामुदायिक स्वास्थ्य एकाइलाई बर्थिङ सेन्टरको रूपमा विकास गरिनेछ । गाउँपालिकाको विकट क्षेत्रमा आवश्यकतानुसार सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिने उनले बताए । यसअघि साविकको गाविस चण्डीभञ्ज्याङमा दुई, दारेचोकमा एक, काउलेमा एक र दाहाखानीमा एक गरी पाँच स्वास्थ्यचौकी थिए । यी चार गाविस मिलेर इच्छाकामना गाउँपालिका बनेको हो । पच्चीस श्ययाको अस्पताल बन्ने प्रक्रिया अघि बढिसकेको पनि अध्यक्ष गुरुङले जानकारी दिएका हुन् । गाउँपालिकामा रहेका सबै बालबालिकाको निःशुल्क मुटु परीक्षण गरिने भएको छ । गाउँपालिकाले हरेक महिना सबै गाउँका विद्यालयमा स्वास्थ्य टोली पठाएर बालबालिकाको निःशुल्क मुटुको परीक्षण गर्ने भएको हो । पछिल्लो समय बालबालिकामा मुटुको समस्या जटिल बन्दै गएकाले समयमै रोग पत्ता लगाई उपचार गर्न निःशुल्क परीक्षण गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङले बताएका छन् । रासस
ट्राफिक प्रहरी फेरी जाग्याे, हर्न बजाउने ४१३ सवारी साधन एकैदिन कारवाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिइएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिए । महाशाखाले जथाभावी हर्न बजाउने सवारी साधनलाई प्लेकार्ड, ब्यानर, अडियो, पर्चा पम्लेट वितरण गरेर सचेत गराएको थियो । “ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ”, उनले भने । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणा धेरै मात्रामा लागू भए पनि पूर्णरूपमा भने लागू भएको थिएन । महाशाखाले ध्वनि प्रदूषण गरेवापत एउटा सवारीसाधनबाट रु ५०० कारवाही स्वरुप लिँदै आएको छ । यातायात व्यवस्था विभागका अनुसार देशभर ३३ लाख तथा उपत्यकामा मात्र नौ लाख सवारीसाधन सञ्चालमा छन् । रासस
२ सयभन्दा बढी वस्तुमा ४५ प्रतिशतसम्म भन्सार कर बढ्याे, जुत्ता चप्पल व्यापारी तनावमा
काठमाडौं । सरकारले २ सयभन्दा बढी वस्तुहरूको भन्सार महसुल वृद्धि गरेको छ । स्वदेशी उद्योगहरूको संरक्षण मार्फत राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न भन्दै सरकारले आयात हुने बस्तुहरूमा भन्सार वृद्धि गरेकाे हाे । कुखुराको मासु, मिनरल वाटर, जुत्ता चप्पल, बिस्कुट/पाउरोटी, जुस मरिच, चिया कफी, तयारी आइसस्कीम, रक्सी ड्राइफुड सहित डब्बल क्याप पिकअपलगायतका वस्तुको भन्सार महसुल ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म भन्सार वृद्धि गरेको हो । सरकारले आर्थिक विधेयकमार्फत इनर्जी ड्रिङसमा ४५ प्रतिशत बढाएर ७५ प्रतिशत पुर्याएको छ । जुत्ता चप्पलमा २० प्रतिशत वृद्धि गरेर ४० प्रतिशत पुर्याएको छ । सरकारले चिनीको मूल्यमा पनि १० प्रतिशतले भन्सार मूल्य बढाएर उखु किसान र उद्योगीलाई संरक्षण गरेको छ । बदाम, काजु, पेस्तालगायका वस्तुमा भन्सार मूल्य ३० प्रतिशतबाट ४० प्रतिशत पुर्याइएको छ । जुसमा ३० प्रतिशतले भन्सार मूल्य बढाएको छ भने कफी, चियाको भन्सार महसुल १० प्रतिशत बढेको छ । धूलो दुध घ्यूमा पनि १० प्रतिशतले भन्सार मूल्य वृद्धि गरेको छ । संगीतका सामानमा १० र खेलौनामा पाँच प्रतिशतले महसुल वृद्धि भएको छ । कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा सहयोग पुग्ने वस्तुको उत्पादन वृद्धि गर्न नेपालमा नै उत्पादन हुने खालका आयातित बस्तुमा सरकारले पाँचदेखि ४५ प्रतिशतसम्म भन्सार महसुल बढाएको भन्सार विभागका निर्देशक राजेन्द्रराज ढकालले बताए । यस्ता साना तथा खुद्रे वस्तुको भन्सार महसुल बढाउदा एकतिर राजस्वमा त्यति असर पर्दैन भने अर्कोतिर नेपाली उत्पादनलाई प्रवद्र्धन र संरक्षण गर्न सकिने विभागको भनाइ छ । करका दरमा खासै आक्रमक नदेखिएका अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला वस्तुको भन्सार मूल्य बढाएर राजस्व संकलनमा अप्ठ्यारो अवस्था सिर्जना गरेनन् । यस वर्ष नै राजस्व संकलन गर्न चुनौती खेप्दै आएका अर्थमन्त्री खतिवडाले उद्योगी र व्यवसायीलाई एकातिर रिझाए भने अर्कोतिर देशभित्रै रोजगारी सिर्जना हुन सक्ने साना तथा घरेलु उद्योगको संरक्षण समेत गरेका छन् । देशको अर्थतन्त्र निर्माण गर्न भलै यसले ठूलो सहयोग नमिल्ला यद्यपी यसले आम नेपालीलाई स्वरोजगार बन्न भने प्रेणित गर्छ । बजारमा यस्ता आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी उद्योगहरू फस्टाउन सकेका छैनन् । देशमा बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न समेत यसले महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ । सरकारले आर्थिक विधेयक-२०७६ मार्फत अन्य बढी राजस्व संकलन हुने वस्तुको महसुल दर यथावत राखि यस्ता साना वस्तुको भन्सार महसुल बढाएको हो । हाल नेपालमा भारत, चीनलगायतका देशबाट अर्बभन्दा बढी मूल्यको यस्ता वस्तु आयात हुने गरेको छ । यसका साथै सरकारले दुध, माछामासु तथा अण्डामा आत्मनिर्भर बन्ने रणनीतिक योजना अघि बढाइसकेको छ । नेपालको जीडीपी जीडीपीमा २७. ५९ प्रतिशत प्राथमिक क्षेत्रको योगदान रहेको छ । आर्थिक विधेयक-७६ ले २१ वटा शीर्षकअन्तर्गतका २ सयभन्दा बढी उपशीर्षकको भन्सार महसुल बढाएको छ । बढ्दो आयातलाई न्यूनीकरण गरी व्यापार घाटा कम गर्न तथा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने गरी भन्सार महसुल वृद्धि गरेको हो । सरकारले यसअघि नै स्वदेशी उत्पादनलाई संरक्षण गर्न यस्तो रणनीति लिएको हो ।
सामुदायिक लघुवित्तमा ६२ जनालाई जागिरको अवसर, कुन कुन पदमा खुल्यो विज्ञापन ?
काठमाडौँ । बनेपा-१४ साङ्गामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६२ जनालाई जागिरको अवसर खुलेको छ । सुपरीवेक्षकदेखि नायब सामुदायिक विकास परिचालकसम्मको लागि आवेदन माग गरिएको हो । निकट भविश्यमा कार्यक्षेत्र विस्तार गर्ने योजना रहेकाले केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुमा कर्मचारी आवश्यक रहेकाले १५ दिनभित्र इच्छुक व्यक्तिहरुलाई आवेदन दिन संस्थाले मंगलबार सूचना प्रकाशित गरेको छ । सुपरीवेक्षक १ जना, नायब सुपरीवेक्षक १ जना, मुख्य प्रबन्धक ३ जना, वरिष्ठ प्रबन्धक ३ जना, प्रबन्धक २ जना, नायब प्रबन्धक ३ जना, उपप्रबन्धक ७ जना, बरिष्ठ सामुदायिक विकास परिचालक ५ जना, सामुदायिक विकास परिचालक ९ जना र नायब सामुदायिक विकास परिचालक २८ जना माग गरिएको हो । असार १० गतेभित्र संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ । साथै संस्थाको इमेल आईडी मार्फत पनि आवेदन दिन सकिने जनाइएको छ ।
असार १५ भित्रै धावनमार्गको पिच परिवर्तन, त्रिभुवन विमानस्थलमा ‘होल्ड’को समस्या अन्त्य हुने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ । विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थलले जनाएको छ । धावनमार्ग स्तरोन्नतिको पहिलो चरणको मुख्य काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिए । उनका अनुसार धावनमार्ग खनेर पिच परिवर्तन गर्ने पहिलो चरणको काम सकिएको छ । अब पुनः पातलो गरी कालोपत्र गरिनेछ । बाँकी काम यही असार १५ भित्रै सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको छ । आयोजनाले गत चैत १८ देखि धावनमार्ग मर्मतको काम शुरु गरेको थियो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग पूर्णरुपमा पिच परिवर्तन गर्न लागिएको हो । स्तरोन्नतिको काम थालिएको तीन महिनासम्म दैनिक १० घण्टा उडान बन्द गरेर काम गरिँदै आएको छ । आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले दिएको जानकारीअनुसार धावनमार्गको पहिलो चरणको कालोपत्र यही जेठ २५ गते सकिएको थियो । दोस्रो चरणको पिच राख्ने कार्य पुनः शुरु भइसकेकाले अबको १५ दिनभित्र धावनमार्गको स्तरोन्नतिको काम सकिने श्रेष्ठको भनाई छ । धावनमार्ग मर्मतको पहिलो चरणमा तल्लो ‘लेयर’ को काम सकिएको छ । यसमा २० सेन्टिमिटर कालोपत्र गरिएको छ । अब दोस्रो चरणमा ६.५ सेन्टिमिटर कालोपत्र थपिनेछ । धावनमार्गको मर्मतसँगै पहिलो पटलक ‘रनवे सेन्टरलाइन लाइट’ जडान गरिएको छ । बत्ती जडानको अहिलेसम्म ‘डट’ हाल्ने काम सकिएको छ । यसअघि विमानस्थलमा रनवेको ‘एज लाइट’ मात्र थियो । स्तरोन्नतिको शुरुआती चरणमा एक-दुई दिनबाहेक बिना अवरोध तीव्र गतिमा काम भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । नेपाली तथा चिनियाँसहित २५० भन्दा बढी जनशक्तिले काम गरिरहेका छन् । धावनमार्गको पिच परिवर्तनका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा पर्याप्त जनशक्ति परिचालन गरिएको छ । धावनमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेकाले निर्धारित समयअगाडि नै काम सकिने आयोजना निर्देशक पौडेलको भनाइ छ । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनाका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विमानस्थलले जनाएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा खासगरी वर्षा याममा बढी समस्या उत्पन्न हुने गरेको थियो । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनाका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विमानस्थलले जनाएको छ । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएको थियो । धावनमार्ग मर्मत जिरो टूबाट शुरु गरिएको थियो । हरेक दिन ८० देखि १०० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर बिहान ८ बजे सञ्चालनका लागि तयार गरिन्छ । धावनमार्ग स्तरोन्नतिका लागि क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशनसँग निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग परिवर्तनका लागि सम्झौता गरेको छ । उक्त कार्यको प्राविधिक रेखदेखका लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनियरिङ कर्पोरेशन कोरियाले जिम्मा पाएको छ । गौचरनबाट शुरु भएको विमानस्थलको ७० वर्षे इतिहासमा निकै उतारचढाव व्यहोरिसकेको छ । सन् १९७५ मा स्तरीकरण गर्दै धावनमार्गलाई तीन हजार ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बनाएपछि उक्त विमानस्थलमा प्रायः सबै प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान उडान र अवतरण गर्न सकिएको हो । हरेक दिन ८० देखि १०० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर बिहान ८ बजे सञ्चालनका लागि तयार गरिन्छ । हाल यो विमानस्थलबाट साना १९ सिटरदेखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् । सन् २०१९ देखि २०११ सम्म विमानस्थलको धावनमार्गको ‘ओभर ले’ गरिएको थियो । सन् २०१३ देखि पिच उप्किने समस्या आयो । त्यसको अस्थायी समाधान गरिरहेका बेला सन् २०१५ को भूकम्पले सतहमा खासै क्षति नपु¥याएको भए पनि भित्री तहमा समस्या उब्जेको विज्ञहरुले बताएका थिए । अन्तर्राष्ट्रिय परामर्शदाताबाट पनि रनवे तथा ट्याक्सी वेका ‘पेभमेन्ट’ उप्काएर अन्तर्राष्ट्रियस्तरमा प्रचलनमा रहेको नयाँ प्रविधि प्रयोग गरी नयाँ पेभमेन्ट राखी रिह्याब गर्न सुझाएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । रासस
जलबिरे झरनामा रक क्लाइम्बिङ, पर्यटकको आवागमन बढ्ने
चितवन । पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको चितवनको इच्छाकामना–६ स्थित जलबिरे लामो झरनामा ‘रक क्लाइम्बिङ’ गर्न सकिने भएको छ । एसेट इन्टिग्रिटी ग्रुपको १० जनाको टोलीले चट्टान आरोहणको परीक्षण गरेका हुन् । ग्रुपका प्रबन्ध निर्देशक एवं प्रशिक्षक रुद्रबहादुर गुरुङले यहाँ चट्टान आरोहण सञ्चालन गर्न सकिने बताए । आफ्नो टोलीले शनिबार सफल परीक्षण गरेको गुरुङले बताए । गुरुङले भने, “यहाँ रक क्लाइम्बिङ सञ्चालन गर्न सकिनेछ, हामीले गत शनिबार मात्र सफल परीक्षण गरेका छौँ, यहाँ सुरक्षाका लागि ‘सिब्राकेट’, ‘रक एङ्गल’ र ‘मङ्की लेडर’ प्रयोग गर्न सकिनेछ भने ढुङ्गा झर्ने समस्या रोक्न ‘रक नेट’को प्रयोग गर्न सकिनेछ ।” बालबालिकाको मनोरञ्जनका लागि छुट्टै क्यानोनिङको व्यवस्थासमेत गर्न सकिने बताइएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जलबिरे झरनाको विकासका लागि जिल्ला विकास समिति हुँदादेखि नै विभिन्न काम हुँदै आएको र अहिले समन्वय समितिले प्रदेश सरकारसँग पूर्वाधार निर्माणका लागि पहल गरिरहेको बताए । चट्टान आरोहण सञ्चालन गरेपछि पर्यटकको आवागमन बढ्नेछ । गर्मी बढेसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा बढेको जलबिरे लामो झरनाका अध्यक्ष देवकुमार गुरुङले बताए । इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिले एक वर्षदेखि घुमौँ इच्छाकामना अभियान सञ्चालन गरिरहेको छ । यस अवसरमा जलबिरे झरनामा चट्टान आरोहणको परीक्षण गरिएको हो । सो झरनामा पर्यटक आकर्षित गर्न के कस्ता सम्भावना छन् भनेर पत्ता लगाउन उक्त आरोहणको परीक्षण गरिएको इच्छाकामना घुमौँ अभियानका चित्रबहादुर गुरुङले बताए । गुरुङका अनुसार यसअघि झरनाको तल्लो भागमा मात्र क्यानोनिङ गरिँदै आएको थियो । चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्न यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । यहाँ प्रवेश गर्न स्वदेशी पर्यटकलाई रु ५० र विदेशीका लागि रु १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि स्वदेशीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रु ५०० लिने गरिएको छ । यहाँ विसं २०६९ देखि पर्यटन विकास शुरु भएको हो । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ । साठी मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ । झरनामा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिनबाट सात किलोमिटर नारायणगढतर्फ जलबिरेबाट आधा घण्टा हिँडेर वा सवारीसाधनबाटै पनि पुग्न सकिन्छ । रासस
नेपाली स्याट-१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने
काठमाडौँ । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने र नेपाली समयानुसार सो दिन उक्त भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । “नाष्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजेदेखि कार्यक्रम शुरु हुनेछ । भू उपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण देखाउनेछ”, ढकालले भन्नुभयो, “जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा)का दुई जना विज्ञ नेपाल आउने तयारी भइरहेको छ ।” त्यस दिन २० मिनेटको अन्तरमा पहिला नेपालको नेपाली स्याट–१ त्यसपछि श्रीलङ्काको रावन–१ अन्तिममा जापानको युवुसु भूउपग्रह प्रक्षेपण हुने बताइएको छ । डेढ महिनाअघि नै उक्त भूउपग्रह ४०० किलोमिटर माथि आकाशबाट अन्तरिक्ष यान पृथ्वीको सतहमा जोडिन सफल भइसकेको छ ।जाक्साले सो भूउपग्रह निर्माणका लागि नमूना तयार गरी सफल बनाएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । यस भूउपग्रहको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुनेछ । सरकारले नेपालमा सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो । मङ्गलबारदेखि विज्ञान सडक मेला हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पहिलो पटक नेपालमा संयुक्त रुपमा दुईदिने ‘विज्ञान सडक मेला–२०१९’ आयोजना गर्ने भएका छन् । समाजमा भएका अनुसन्धान र परिवर्तनका कुरालाई जनमानसमा प्रचार गरी विज्ञान र प्रविधिका माध्यमलाई मनोरञ्जनका साथ अघि बढाउने उद्देश्यका साथ मङ्गलबारबाट जावलाखेलमा उक्त सडक मेला आयोजना हुन लागेको हो । सो मेलाले सबै उमेर समूहका मानिसलाई विज्ञान देशव्यापी रुपमा आवश्यक रहेको जानकारी दिने नाष्टका प्रविधि सङकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । “मेलामा वैज्ञानिक र सर्वसाधारणबीच विज्ञान, प्रविधि, नवीनता र परिवर्तसम्बन्धी विभिन्न विषयमा चर्चा परिचर्चा हुनेछ”, ढकालले भने, “मेलामा उपस्थित सबै उमेरका मानिससँग दोहोरो छलफल गरी धेरैभन्दा धेरै उपयोगी जानकारी हासिल गर्नेछौँ ।” सो मेलामा विज्ञान र प्रविधिका क्षेत्रमा गरिएका कामको दस्तावेज, दूरदर्शनका कार्यक्रम, विज्ञानका धुन, खानाका पसल राखिनाका साथै उपस्थित व्यक्तिको जनआवाज सङ्कलन गरिने बताइएको छ । रासस
पुनःनिर्माणको लागि भारतले नेपाललाई दियो १ अर्ब ६० करोड
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले अर्थसचिव डा राजन खनाललाई रु एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका छन् । भारत सरकारले आवास पुनःनिमाणका लागि नुवाकोट र गोरखा जिल्लाका ५० हजार लाभग्राहीलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको हो । हालसम्म भारतले नेपाललाई रु चार अर्ब ५० करोड प्रदान गरिसकेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप घरधनीहरुले घर पुनःनिमाण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न युएनडिपी तथा युएनओप्ससँग साझेदारी गरिरहेको छ । उक्त कार्यक्रममा सरकारले भूकम्प पश्चातको पुनःनिमाणमा भारत सरकारले प्रदान गरेको अटुट तथा उदार मानवीय सहयोगका लागि सराहना व्यक्त गरेको छ । सोही अवसरमा उक्त साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै राजदूत पुरीले भारत सरकार तथा भारतीय जनता नेपालमा भूकम्प पश्चातको पुनःनिमाण परियोजना पूरा गर्न प्रतिबद्ध रहेका दोहोर्याउनुभयो ।