ज्योति लाईफका ग्राहकलाई काठमाडौं ग्रुप अफ होटल्सको सेवामा विशेष छुट
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले काठमाडौं ग्रुप अफ होटल्स काठमाण्डौसंग होटल तथा रिसोर्ट सेवामा साझेदारी गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले काठमाडौं ग्रुप अफ होटल्सको सञ्जाल भित्र आबद्ध भएका ७ वटा होटल तथा रिसोर्टमा उपलब्ध हुने फुड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौतापछि कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु काठमाडौं ग्रुप अफ होटल्स अन्तर्गतका काठमाडौं गेष्ट हाउस (ठमेल), मायामनोर बुटिक होटल, (हात्तिसार), पार्क भिलेज रिसोर्ट (बुढानिल्कण्ठ) वाटर फ्रन्ट रिसोर्ट (पोखरा) हिमालय फ्रन्ट रिसोर्ट (सराङकोट), बुद्धमाया गार्डेन होटल (लुम्बिनी) र मारुनी स्यानचुरी लज(चितवन) गरी विभिन्न स्थानहरुमा अवस्थित सातवटा होटल तथा रिसोर्टहरुमा प्राप्त हुने सेवा सुविधाहरुबाट लाभान्वित हुने जनाइएको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र काठमाडौं ग्रुप अफ होटल्सका प्रबन्ध निर्देशक दिवाकर राजकर्णिकरले हस्ताक्षर गरेका छन् ।
एकैदिन दुई गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ
काठमाडाैं । सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने मूल नारा साथ तनहुँको बन्दीपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको मंगलबार बन्दीपुर गाउँपालिका–२ मोहोरियामा गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले नाला निर्माणको शुभारम्भ गरेका छन् । अध्यक्ष थापाले विकास सँगसँगै रोजगारी दिने सरकारको कार्यक्रम सकारात्मक रहेको चर्चा गर्दै बेरोजगारको सूचीमा सूचीकृत भएकालाई गाउँपालिकाको विकास निर्माणमा खटाइने बताए । उनले भने, “आगामी वर्ष गाउँपालिकाले सञ्चालन गर्ने आयोजनामा पनि बेरोजगार सूचीमा सूचीकृतलाई खटाउँछाैं ।” प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बन्दीपुर गाउँपालिका–१ स्थित पिप्ले गुर्दुम नाला निर्माण, बन्दीपुर गाउँपालिका–२ स्थित गुर्दुम बन्दीपुर नाला निर्माण तथा बन्दीपुर गाउँपालिका–४ स्थित तीनधारे पर्यटकीय पुन्टे खोला नाला निर्माण योजनामा ४१ जनालाई रोजगारमा खटाइएको जानकारी दिएका छन् । उनले भने, “पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ पारित एवं लागू भइसकेको हुँदा सोही कार्यविधिमा आधारित भई सञ्चालन गर्न सम्भावित श्रमप्रधान आयोजनामा बेरोजगारलाई खटाएका छौँ ।” रोजगारमा खटिनेलाई दैनिक करसहित ६२५ रूपैयाँ प्रदान गरिने रोजगार सेवा केन्द्र प्रमुख शरणसिंह गुरुङले जानकारी दिए । उनका अनुसार न्यूनतम रोजगारीको लागि सरकारले चालू आर्थिक वर्षमा बन्दीपुरलाई ११ लाख रूपैयाँ विनियोजन गरेको छ । जसअनुसार पिप्ले गुर्दुम नाला निर्माणमा खटिनेलाई चार लाख रूपैयाँ, गुर्दुम बन्दीपुर नाला निर्माणमा खटिनेलाई चार लाख रूपैयाँ र तीनधारे पुन्टे खोला नाला निर्माणमा खटिनेलाई तीन लाख रूपैयाँ पारिश्रमिक दिइनेछ । बन्दीपुर गाउँपालिकामा ६१४ ले न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिएका थिए । अन्यलाई समेत आगामी वर्षका योजनामा काममा खटाउने गाउँपालिकाको तयारी छ । त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्कीचोक तिलबारी हुँदै नयाँ गाउँ जाने बाटो मर्मतका लागि १६ जना बेरोजगारलाई खटाइएको रोजगार सेवा केन्द्र प्रमुख कमला गैह्रेले जानकारी दिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकालाई चालू आर्थिक वर्षमा १२ लाख रूपैयाँ विनियोजन गरेको छ । सोही बजेटबाट वडा–वडामा नै बेरोजगारलाई खटाउने तयारी गरिएको गैह्रेले जानकारी दिए । उनले भने, “आयोजना छनोट गरेर १०/१२ जनालाई वडा तहमा नै रोजगारी दिने लक्ष्य छ ।”रासस
पोखरामा गण्डकी विकास बैंकले दियो निःशुल्क सिपमूलक तालिम
काठमाडौँ । गण्डकी विकास बैंक लि.ले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागी ७ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ । उक्त सिपमूलक तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, प्रशिक्षक तथा ज्येष्ठ महिलाद्धारा संयुक्त रुपमा प्रमाण पत्र हस्तान्तरण गरियो । सो समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत थापाले महिलाहरुले सिपमूलक तालिम मात्र लिएर नभई त्यसबाट सिकेको सिप तथा ज्ञान आत्मनिर्भर र स्वरोजगार तर्फ लागाउन अनुरोध गरे । त्यसका लागी आवश्यक परेमा बैंकले वित्तिय सहयोग समेत प्रदान गर्ने बताए । कार्यक्रममा ज्येष्ठ महिला तथा समाजसेवी शुभद्रा कोइराला, स्वस्तिक हस्तकलाकी प्रोपाइटर रिता गुरुङ्ग, प्रशिक्षक लक्ष्मी शर्मा तथा सहभागिका तर्फबाट कल्पना क्षेत्री र पार्वती देवी कोइरालाले मन्तव्य राख्दै तालिमले महिलाहरुलाई स्वरोजगारमा लाग्न उत्पे्ररित गरेको बताउँदै बैंक परिवारलाई धन्यवाद दिए । कार्यक्रममास्वागत मन्तव्य बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन बैंकको पस्र्याङ्ग शाखाका प्रमुख प्रमोद ओझाले गरेका थिए ।
सलाम एयरको कार्यक्रममा ७५ जनाले गरे रक्तदान
काठमाडौँ । आइएमई ट्राभल्स जिएसए भई विगत सेप्टेम्बरदेखि संचालनमा रहेको सलाम एयरको आयोजनामा लाजिम्पाटस्थित कार्यालय प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा कूल पचहत्तर (७५) जनाले रक्तदान गरेका थिए । दुर्लभ रक्त समुह भएका भोला सापकोटा, पर्यटन व्यवसायी तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेका थिए । रक्तदान जस्तो पबित्र सामाजिक कार्यमा सरिक हुने सवैलाई अध्यक्ष ढकालले धन्यवाद दिए । सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौँका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले बताए ।
नेपाल टेलिकम अत्याधुनिक सञ्चारसेवा बिस्तार गर्दै, २६० वटा बीटीएस टावर निर्माण
काठमाडौँ । नेपाल टेलिकम हिमाली क्षेत्रका विकट वस्तीदेखि पहाडी भेगका दुर्गम स्थानमा समेत आफ्ना सेवाहरु पुर्याएर सम्पूर्ण मुलकलाई अत्याधुनिक सञ्चार सेवाहरुमार्फत लाभ पुर्याउन लागिरहेको छ । कम्पनीले मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका योजनाहरु तराईका जिल्लाहरुमा पनि प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । तराई तथा मधेश क्षेत्रमा मोबाइलको बीटीएस टावर निर्माण कार्यलाई तीव्रता दिइएसँगै ती भेगका ग्रामीण वस्तीका वासिन्दालाई कम्पनीको सेवामार्फत सस्तो दरमा नेपाल तथा विदेशमा भएका आफन्तसँग कुराकानी गर्न र अन्य सुविधा लिन सहज भएको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षमा हालसम्म कम्पनीले तराईका १७ जिल्लामा २ सय ६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याएको जनाएको छ । तराई क्षेत्रका मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा, सर्लाही, धनुषा, बारा, रौतहट, सिराहा, कञ्चनपुर, बर्दिया, दाङ, कैलाली, महोत्तरी लगायत जिल्लामा कम्पनीले बीटीएसहरु सञ्चालनमा ल्याएको हो । तराईका अधिकांश जिल्लामा कम्पनीका सेवा उपलब्ध भए तापनि दुर्गम र कम जनघनत्व भएका कतिपय वस्तीमा सेवाको पहुँच स्थापित भएको थिएन । पछिल्लो समयमा धेरै बीटीएस थप गरिएपछि तराईका ग्रामीण भेगमा पनि मोबाइल र इन्टरनेट सेवा सहज रुपले उपलब्ध भएको जनाइएको छ । जतिसुकै दुर्गम र विकट स्थानमा रहेका भएपनि सबै नेपालीबीच कम्पनीको सेवा पुर्याई अत्याधुनिक सञ्चार सुविधा प्रदान गर्ने लक्ष्य बमोजिम ती स्थानमापनि टुजी र थ्रीजी बीटीएस स्थापना गरी सेवा उपलब्ध गराइएको हो । धेरै जनघनत्व भएका तराईका जिल्लाहरुमा उपभोक्ताको मागअनुसार कम्पनीका सेवाको पहुँच थप विस्तार गर्नका लागि पनि कम्पनीले बीटीएस निर्माणलाई तीव्रता दिएको हो । नेपाल टेलिकमको एक करोड जीएसएम आयोजना अन्तर्गत ‘प्याकेज ए’ को कार्य लगभग सम्पन्न हुने क्रममा छ । प्याकेज ए को ५२ लाख क्षमताको नेटवर्क विस्तार योजना अन्तर्गत काठमाडौं उपत्यकाबाहेक मध्यमाञ्चल, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल क्षेत्रका विभिन्न स्थानमा बीटीएस टावर स्थापना गर्ने कार्य जारी रहेको जनाइएको छ । कम्पनीको एक करोड जीएसएम आयोजनाका दुई प्याकेजमध्ये प्याकेज बी अन्तर्गत काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य पहिले नै शतप्रतिशत सम्पन्न भइसकेको छ । मुलुकभर गुणस्तरीय अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने लक्ष्यसहित यस आर्थिक वर्षभित्र थप स्थानमा बीटीएस टावर निर्माण गरी सेवा विस्तार गर्ने लक्ष्यका साथ तीब्र रुपमा कार्य भइरहेको छ । मुलुकका सातै प्रदेशमा फोरजीरएलटीई सेवा विस्तार गर्ने कार्य पनि द्रुत गतिका साथ भइरहेकोे कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधिहरु उपयोग गर्दै कम्पनीले जीएसएम विस्तारको कार्यलाई थप चुस्त पार्ने लक्ष्य लिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनाएकी छिन् ।
सङ्घर्ष समिति र नगरपालिकाकाे सहमतिमा तत्काल सडक स्तरोन्नति गर्ने अठाेट
काठमाडौँ । चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिकासँग विद्यार्थी र स्थानीयवासीको सहमतिपछि आन्दोलन फिर्ता लिएको हाे । चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि बिहान अनिश्चित समयसम्म बन्दको आह्वान गर्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासीले सडक खण्डको विभिन्न ठाउँमा टायर बान्दै आन्दोलन गरेका थिए । सडक निर्माणमा विलम्ब गरिएको भन्दै आक्रोशित युवाले सवारी आवागमन ठप्प पार्दै ठेक्का लिएर काम नगर्ने ठेकेदारविरुद्ध कारवाही गर्न पनि माग गरेका थिए । स्थानीयवासीको आन्दोलनपछि भएको छलफलमा सङ्घर्ष समिति र नगरपालिकाबीच तीनबँुदे सहमति भएको छ । सम्झौतापत्रमा तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुख बिन्दु सिम्खडा पुडासैनी, नगर कार्यपालिका सदस्य बबिता दाहाल कुइँकेल र सङ्घर्ष समितिका तर्फबाट पवोल बज्राचार्य, निराजन नेपाल, मनिष सिम्खडालगायतबीच सहमति भएको हो । यसअघि पनि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा विलम्ब भएपछि यसैगरी प्रदर्शन भएको थियो । स्मरण रहोस् सरकारले गत २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि टेण्डर आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीहरुले यो सडकको विस्तारको जिम्मा पाएका थिए । अहिलेसम्म उक्त सडकखण्डले सम्पन्नता पाउन सकेको छैन । रासस
जाइका दक्षिण एशिया महानिर्देशकसँग ऊर्जामन्त्रीको आग्रह-‘उर्जा क्षेत्रमा थप सहयोग होस्’
काठमाडौँ । सरकारले नेपालको ऊर्जा क्षेत्रमा थप लगानीका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)लाई आग्रह गरेको छ । जाइकाको लगानी रहेको तनहुँ सेती जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरेको सन्दर्भमा थप लगानीका लागि सरकारले आग्रह गरेको हो । कूल १४० मेगावाट क्षमताको तनहुँ सेतीमा जाइकाको लगानी रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटका लागि पुगेका जाइकाको दक्षिण एशियाका लागि महानिर्देशक हारा सोहेइसँग उक्त आग्रह गरेका हुन् । मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा जाइकाले पुर्याएको सहयोगको सराहना गर्दै थप लगानीका लागि आग्रह गरे । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भ जोड्दै मन्त्री पुनले थप लगानीका लागि आग्रह गरेका हुन् । भेटवार्तामा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव सागर गौतमका अनुसार नेपाल र जापानबीचको सम्बन्ध पुरानो रहेको सन्दर्भ जोड्दै विभिन्न आयोजनामा गरेको सहयोगको अपेक्षा गरे । नेपालले पछिल्ला दिनमा चीन, भारत, बङ्गलादेश र अष्ट्रियासँग ऊर्जा सहकार्यका लागि द्विपक्षीय संयन्त्र स्थापना भइसकेको सन्दर्भमा जापानसँग पनि त्यस्तो संयन्त्र स्थापनाका लागि आफूहरुले समेत पहल गरिरहेको उनले बताएका थिए । नेपालको ऊर्जा क्षेत्रमा जापानका निजी क्षेत्रलाई लगानीका लागि जाइकाले अभिप्रेरित गर्न सक्नेतर्फ समेत मन्त्री पुनले जाइकाका प्रतिनिधिमण्डललाई आग्रह गरेका थिए । जाइकाले कास्कीलगायतका क्षेत्रमा प्रशारण तथा वितरण प्रणालीको सुधारका लागिसमेत काम गर्न लागेको सन्दर्भमा त्यसलाई अगाडि बढाउन अनुरोध गरेका थिए । नेपालको ऊर्जाको क्षेत्रीय व्यापारमा भइरहेको प्रगति तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा भइरहेको प्रगतिका बारेमा समेत छलफल भएको थियो ।
एनसीसी बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) र ह्याम्स अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ह्याम्स अस्पतालका तर्फबाट अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ह्याम्स अस्पतालका सेवाहरmमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकहरmले उक्त छुट बैैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।