बीमा समितिका ४ निर्देशकलाई नयाँ जिम्मेवारी, कसले के पाए ?
काठमाडौं । बीमा समितिका चार जना निर्देशकहरुले नयाँ जिम्मेवारी पाएका छन् । बीमा समितिमा चार जना निर्देशक रहने व्यवस्था छ । बीमा समितिमा लामो समयदेखि दरबन्दी अनुसार निर्देशक पदपुर्ति हुन सकेको थिएन् । कार्यकारी निर्देशक पद रिक्त भएको करिब ६ बर्षपछि राजुरमण पौडेलले जिम्मेवारी पाएका छन । त्यस अघि ४ वटा निर्देशक दरबन्दीमा पौडेल र कमलराज रेग्मी मात्रै कार्यरत थिए । समितिले पछिल्लो पटक जेठ २३ गते दिनेशकुमार लाललाई प्रतिष्पर्धाद्धारा निर्देशक पदमा बढुवा गरेपछि दरबन्दी अनुसार ४ जना निर्देशकको पदपुर्ति भएको हो । अब बीमा समितिमा कमलराज रेग्मी, सुशिल सुवेदी, पुजन अधिकारी र दिनेश कुमार लाल गरि ४ जना निर्देशक भएका छन् । उनीहरुलाई समितिले जिम्मेवारी समेत तोकिदिएको छ । निर्देशक कमलराज रेग्मीलाई अनुसन्धान, विकास तथा बीमालेख महाशाखाको नेतृत्व दिईएको छ । अर्का निर्देशक सुवेदीले सुपरिवेक्षण, कृषि तथा लघु बीमा तथा पुनर्बीमा शाखाको जिम्मेवारी पाएका छन् । त्यस्तै, दिनेश कुमार लाललाई कानुन महाशाखा प्रमुख बनाईएको छ । पुजन अधिकारीले भने नियमन तथा मानव संसाधन महाशाखाको नेतृत्व पाएकी छिन् । बीमा समितिले पछिल्लो पटक दरबन्दी अनुसार धमाधम कर्मचारी भर्ना गरिरहेको छ ।
२५ लाखको तरबार तेस्र्याएपछि धमाधम इआइए गराउँदै तारे होटल
काठमाडौं । लालबाबु पण्डित जनसंख्या तथा वातावरणमन्त्री भएका बेला होटल द्वारिकाज् र शंकरलाई एक लाख रुपैयाँ जरिवाना गरेपछि तारे होटलहरूले धमाधम वातावरण प्रभाव मूल्यांकल (ईआईए) गराउन थालेका हुन् । देशमा सञ्चालित १३ वटा ५ तारे होटलमध्ये ११ वटाले ईआईए गराइरहेको पर्यटन विभागले जानकारी दिएको छ । वातावरण संरक्षण (पहिलो संशोधन) ऐन २०७५ र वातावरण संरक्षण (पाँचौ संशोधन) नियमावली २०७३ कार्यान्वयनमा आएपछि सबै साना होटलहरूले अनिवार्य प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) र ठूला होटलले ईआईए गराउनु पर्ने व्यवस्था छ । मन्त्री पण्डितले जरिवाना गराउनु अघि कुनैपनि होटलले ईआईए गराएका थिएनन् । यदि २०७५ असोज २ पछि कुनै पनि होटलले नयाँ पूर्वाधार संरचना तयार गरे तथा संचालनमा ल्याए पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । वातावरण संरक्षण ( पाँचौ संशोधन) नियामावलीको २०७३ कार्यान्वयनमा आएपछि सबै साना होटलहरू आईर्ई र पाँचतारे होटलले ईआईए परीक्षण गराउन थालेका हुन् । साना होटलले आइईई र एक सयभन्दा बढी बेडसिट भएका होटलले ईआईए गराउनु पर्ने कानुनी व्यवस्था छ । हाल ५ तारेलगायत अन्य होटलहरूले एक लाख रुपैयाँ शुल्क तिरेर वातावरण प्रभाव मूल्यांकन गराइरहेका प्राकृतिक कन्सल्टेन्ट प्रालिका म्यानेजिङ डाइरेक्टर माधव गिरीले बताए । ‘हाल सोल्टी क्राउन प्लाजा, अन्नपूर्ण, मल्ल, याक एण्ड यति, सांग्रिलालगायतका ११ वटा पाँच तारे होटलले हाल ईआईए गराइ रहेका छन्,’ उनले भने ‘यो परिक्षणमा विशेष गरी हामी तीन पक्षलाई हेर्ने गर्छौँ ।’ उनका अनुसार होटलको भौतिक तथा वाह्य वातावरण, जैविक वातावरण र सामाजिक, आर्थिक तथा साँस्कृतिक वातावरण हेर्ने गरिन्छ । ‘पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७०’ ले गरेको व्यवस्था पछि होटललाई वातावरणीय प्रभाव मूल्यांकन गराउन सूचना जारी गरिएकोे थियो । सो सूचनापछि हालसम्म ईआईए नगराएका होटलहरू धमाधम पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागको सम्पर्कमा आएर ईआईए गराइरहेका छन् । पर्यटन मन्त्रालयको उक्त निर्देशिकको ८१ (४) (क)ले ५० शैया देखि १०० शैयासम्मको भए प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) र १०० शैयाभन्दा माथिको क्षमताको भएमा ईआईए प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरेको छ । सोही व्यवस्था अनुसार नयाँ होटलको स्तर निर्धारण गर्न र नवीकरण गर्न आउँदा अनिवार्य उक्त प्रतिवेदन ल्याउनुपर्छ । पुराना होटलको हकमा नवीकरण गर्न आउँदा वा सो भन्दा अगावै उक्त प्रतिवेदन तयार पार्नु पर्ने व्यवस्था गरिएको छ ।
नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढः अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढ रहेको बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोष भवनको मंगलबार शिलान्यास गर्दै उहाँले सम्पूर्ण बैंकिङ प्रणालीलाई बलियो बनाउन बैंकको क्षमता बढाउने, कारोबारलाई सुरक्षित बनाउँदै बैंकप्रति विश्वसनीयता बढाउन तथा परदर्शीता ल्याउन विभिन्न कदम चालिएको बताए । उनले भने, “निष्क्रिय कर्जा एक प्रतिशतको हाराहारीमा रहेको छ, सम्पूर्ण परिसूचकमा नेपालको बैंकिङ प्रणाली राम्रो छ ।” अर्थमन्त्री डा. खतिवडाले नेपालको बैंकिङ प्रणाली सक्षम भएकाले नै विदेशी बैंकले नेपाली बैंकलाई ऋण दिन पत्याएको बताए । उनले कोष स्थापना भएपछि बैंकको निक्षेप डुब्यो भन्नु पर्ने अवस्थाको अन्त्य भएको बताए । अर्थमन्त्री डा. खतिवडाले भने, “पछिल्लो १० वर्षमा कुनै पनि बैंकको काउन्टरमा निक्षेप कर्ताले निक्षेप लिन भिड लागेको छैन् किनभने अहिले साना लगानीकर्ताको रु तीन लाखको निक्षेप बीमा गरिएको छ, आफ्नो पैसा डुब्दैन भनेपछि लगानीकर्ता ढुक्कले बस्नुभएको छ ।” निक्षेप बीमाको रकम र बीमा दायित्व बढ्दै गएकाले कोषको जिम्मेवारी बढेको उल्लेख गर्दै उनले कोषलाई रु १० अर्बको चुक्ता पूँजी भएको बलियो निक्षेप बीमा गर्ने र कर्जा सुरक्षण गर्ने संस्थाका रुपमा लैजाने बताए । “कोषको व्यवस्थापनलाई बलियो बनाउँदै जनशक्ति विकास गर्ने, संस्थागत सुदृढीकरण, सूचना प्रविधिमा आधारित कारोबारलाई बढाउँदै लैजाने र जोखिमको निरन्तर अनुगमन, विश्लेषण र जोखिम व्यवस्थापन गर्ने बीमा संस्थाका रुपमा कोष रहेको छ”, अर्थमन्त्रीले भने, “जोखिमको निरन्तर अनुगमन, विश्लेषण गरी त्यसका आधारमा कोषले कार्ययोजना बनाउनुपर्छ ।” प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाहमा हुने जोखिम न्यूनीकरण गर्ने अभिप्रायले सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको व्यवस्था गरेको हो ।
राजधानीमा जेठ ३१ र ३२ गते भारतीय शैक्षिक मेला हुँदै
काठमाडौं । ‘भारतीय शैक्षिक मेला २०१९’ जेठ ३१ र ३२ गते राजधानीमा आयोजना हुने भएको छ । भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तलामा उक्त शैक्षिक मेला आयोजना हुन लागेको हो । ‘स्टडी इन इण्डिया’ भन्ने स्लोगनका साथ आयोजना हुन लागेको शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी दिएको छ । प्लस टु तथा स्नातक दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरिएको एक्स्पो दुई दिनसम्म सञ्चालन हुने छ । एक्स्पोमा भारतमा अध्ययन गर्न उपयुक्त विषय, त्यसको प्रभाव र अध्ययनका लागि आवश्यक तयारीका बारेमा जानकारी दिइने आयोजक संस्था इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले जानकारी दिए। बिहान १०.३० देखि बेलुकी ५.३० बजेसम्म चल्ने भारतीय शैक्षिक मेलामा उच्च शिक्षा अध्ययनको लागि भारतको एनएएसि, एबिईटि, एनबिए लगायतबाट मान्यताप्राप्त उत्कृष्ट विश्वविद्यालय तथा कलेजको बारेमा नेपाली विद्यार्थीहरुलाई जानकारी दिइने छ । ईन्जीनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल, फेसन डिजाईन, आईटी, पाईलट ट्रेनिङ र आयुर्वेदिक लगायतका संकायका बारेमा जानकारी दिइने उहाँले बताउनुभयो । एक दशकभन्दा लामो समय व्यवसायिक ढंगले काम गरेका परामर्शदाताहरुले एउटै थलोमा बसेर सत्यतथ्य तथा भरपर्दो जानकारी उपलब्ध गराउने भएकाले मेला नेपाली विद्यार्थीको लागि विशेष रहने आयोजकको अपेक्षा रहेको छ । मेलामा विद्यार्थीले निःशुल्क रुपमा भारतबाट आउने ठूला र उत्कृष्ट विश्वविद्यालयबाट परामर्श, शुल्क संरचना, कलेजको वातावरण, छात्रबृत्ति, भारतीय शिक्षाका प्रावधान र व्यवस्था, भर्ना हुने तरिका, होस्टेल, खानालगायतको बारेमा प्रत्यक्ष र विस्तृत रुपमा जानकारी दिइने ट्रेड शोका कार्यकारी निर्देशक महर्जनले जानकारी दिए। एकै थलोमा चालिस भन्दा बढी भारतीय कलेज र विश्वविद्यालयको प्रतिनिधित्व रहने सो मेलामार्फत विद्यार्थीले भारतसम्म पुगेर सबै कलेज र विश्वविद्यालय घुमिरहने झन्झटबाट मुक्त हुने आयोजक पक्षको भनाई छ ।
नेपाल र लेवनानबीच श्रम सम्झौता, मरिसससँग पनि हुँदै
काठमाडौं । नेपाल र लेवनानबीच श्रम सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र लेवनानका श्रम मन्त्री मोहम्मद क्यामिल अवुसेलेमनबीच श्रम सम्झौता भएको हो । मन्त्री विष्ट अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन हाल स्विटजरल्याण्डको जेनेभा रहेका छन् । मन्त्री विष्टले साउदी अरब र लेवनानका समकक्षीसँग छलफल गरेका थिए । यसैबीच नेपाली समय अनुसार साँझ ७ः४५ बजे मरिसससँग श्रम सम्झौता हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।
मोन्डे सेलेक्सन २०१९ मा रुस्लानले जित्यो ग्रान्ड गोल्ड क्वालिटी अवार्ड
काठमाडौँ । रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७ औं मोन्डे सेलेक्सन अवार्डमा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ । अवार्ड स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुप जस्ता पाँच विभिन्न मापदण्डमा आधारित थियो । मोन्डे सेलेक्सन विश्वभरिका प्रसिद्ध विशेषज्ञहरू, सेफहरू, वाइन विज्ञहरू (ओनोलोजिष्ट र सोम्मेलेयरहरू), मदिरा उत्पादन विज्ञ इन्जिनियर (ब्रुइङ इन्जिनियर) र मास्टर ब्लेन्डरहरूको सहभागितामा उत्पादनको भित्री गुणस्तरको अन्तर्राष्ट्रिय वैज्ञानिक र कानुनी दृष्टिकोणबाट आँकलनका लागि सन् १९६१ मा सुरु गरिएको हो । रुस्लान अल्ट्रा प्रिमियम भोड्का हालैमात्र अर्थात २०७५ मंसिर (सन् २०१८ डिसेम्बर)मा मात्र बजारमा ल्याइएको हो । भोड्का उपभोक्ताबीच पहिलो रोजाईको रुपमा बजारमा तीव्र रूपमा कारोबार भइरहेको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने । ग्रुपका कार्यकारी निर्देशक सशीन जोशीले भने–“हामी स्रोतबाट उत्तम कच्चापदार्थहरू ल्याएर उत्कृष्ट मदिराजन्य उत्पादनको ब्लेन्डिङ तयारी गर्नका लागि निकै समय लगाउनुका साथै धेरै मेहनत गर्ने गर्छौं । यो अवार्ड गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू प्रतिको हाम्रो प्रतिबद्धता र नेपाली मदिराजन्य उत्पादनमा उत्कृष्टताको उदाहरण हो ।”
लुम्बिनी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच सम्झौता
काठमाडौँ । लुम्बिनी विकास बैंक लि. र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा ग्राहकहरmले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
शुरु भयो कर्जाबजारडटकम, व्यक्तिगत कर्जाबारे जानकारी पाइने
काठमाडौँ । व्यक्तिगत कर्जाको लागि नेपालकै प्रथम डिजिटल बजारको रुपमा कर्जाबजारडटकम शुरु भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिरव घोष दस्तीदारले कर्जाबजारडटकमको उद्घाटन गरेका हुन् । कर्जाबजारका प्रयोगकर्ताहरुले प्रमाणपत्र प्राप्त बित्तीय संस्थाहरुबाट प्रदान गरिने विभिन्न खालका खुद्रा कर्जाहरु (घर,सवारी साधन, अचल सम्पत्तिकर्जा, क्रेडिट कार्ड आदि) का बारेमा व्याजदर, कार्यान्वयनका शर्तहरु, प्राप्त गर्नका लागि बैंकले तोकेका मापदण्डका बारेमा जानकारी प्राप्त गर्न सक्ने छन । साथै, वेवसाईटमा व्यक्तिगत कर्जा र क्रेडिट कार्डका लागि चालिने प्रकृयाका बारेपनि हेर्न सकिने छ । कर्जाबजारलाई नेपालका प्रमुख बाणिज्य बैंकहरुसंग विस्तृत परामर्श र प्रकृया प्रवाह समायोजन गरेर मात्र अनलाईन रिलिज गरिएको हो । तीनवटा बाणिज्य बैंकहरु(स् स्ट्याण्डर्ड चार्टर्ड, एनएमबि बैंक र लक्ष्मी बैंक) र क्षेत्रीय विकास बैंक(सिन्धु विकास बैंक) ले कर्जाबजारसंग सम्झौता गरिसकेका छन् । कर्जाबजारले ग्राहकलाई आकर्षण गर्न लागत प्रभावी र नविन माध्यमका रुपमा कार्य गर्ने हुँदा अझै बढी बैंक र बित्तीय संस्थाहरुपनि यसमा संलग्न हुने अपेक्षा गरिएको फोनिक्स क्यापिटल प्रालिले जनाएको छ ।