विकासन्युज

भाटभटेनीबाट पठाएको पैसाको भुक्तानी एनसीसी बैंकबाट हुने

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्ने छन् । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।

सङ्घीयता अनुकूल नयाँ पाठ्यक्रमकाे छनाेट, १०३ विद्यालयमा नमूना परीक्षण

काठमाडाैं । मुलुकको सङ्घीय संरचना अनुकूल निर्मित नयाँ पाठ्यक्रम विद्यालय तहमा परीक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले चालू शैक्षिक सत्रमा सातै प्रदेशमा दुई जिल्लाका दरले १८ जिल्लाका १०३ विद्यालयमा नमूना परीक्षण शुरु गरेको हो । प्रदेश नं ३ अन्तर्गत काठमाडौँ उपत्यकाका थप तीन जिल्लालाई परीक्षणमा समावेश गरिएको छ । केन्द्रले प्रारुपअनुसार कक्षा १ को गणित, नेपाली, अङ्ग्रेजी, मेरो सेरोफेरोलगायत विषयम एकीकृत पाठ्यक्रमको कार्यपुस्तक र मार्गदर्शन विद्यालयमा पठाएको छ । नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तु तथा विश्वव्यापीकरणको प्रभावलाई प्रारुपले आत्मसात् गरेको छ । त्यसैगरी, सरकारले नेपालको संविधान, सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरी कार्यान्वयनमा ल्याउन निर्णय गरेपछि केन्द्रले यो वर्षबाट नमूना परीक्षण आरम्भ गरेको हो । केन्द्रका महानिर्देशक डा लेखनाथ पौडेलले परीक्षणबाट प्राप्त सुझावका आधारमा त्यसलाई परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि सो कक्षाको नयाँ पाठ्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइने बताएका छन् । संविधानअनुसार स्थानीय तहले स्वीकृत गरी स्थानीय पाठ्यक्रम कार्यान्वयनको क्रम पनि शुरु भइसकेको छ । विसं २०६३ मा लागू गरेको सो प्रारुप यसअघि २०७१ मा परिवर्तन भएको थियो । नयाँ व्यवस्थाले कक्षा ११ र १२ लाई एकल पथीय बनाउँदै कक्षा ९ र १० मा पाँच अनिवार्य र दुई वटा व्यावसायिक ऐच्छिक विषय राखेको छ । यी तहका नमूना पाठ्यक्रम बन्ने प्रक्रियामा छन् । यसरी, नयाँ प्रारुपले संविधानको मौलिक हक, सङ्घीय, प्रदेश र स्थानीय तहको संरचना, आर्थिक सामाजिक रुपान्तरणका सवाल, विद्यालय क्षेत्र विकास कार्यक्रम, मुलुकको दीर्घकालीन विकासमा शिक्षाको योगदानका पक्षमा ध्यान दिई सक्षमता र बाल मनोवैज्ञानिकलगायत सिद्धान्तलाई आधार बनाएको छ । केन्द्रका निर्देशक गणेश भट्टराईले तोकिएका १८ मध्ये मुस्ताङ जिल्लामा गत फागुनमै नयाँ शैक्षिक सत्र शुरु भएकाले यो सत्रमा परीक्षण गर्न नसकिएको बताउँदै जारी परीक्षणबारे आगामी असारको अन्तिममा पहिलो र मङ्सिरमा दोस्रो अनुगमन गरी सबै सुझाव सङ्कलन गरिसक्ने बताएका हुन् । कर्णालीका केही जिल्ला र हिमाली जिल्लामा फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुने भएकाले त्यसअघि परीक्षित पाठ्यक्रमअनुसार नयाँ सत्रका लागि पाठ्यपुस्तक तयार हुने र आगामी शैक्षिक सत्रमा कक्षा २, ३ र ६ को परीक्षण हुने भट्टराईले जानकारी  दिएका छन् । केन्द्रले कूल पाँच वर्षमा नयाँ प्रारुपबमोजिम कक्षा १० सम्मका नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइसक्नेछ । सामान्यतः हरेक पाँच वर्षमा विषयगत र तहगत पाठ्यक्रम परिमार्जन हुने प्रणाली छ । हाल मुलुक ३५ हजार ५५ मध्ये २७ हजार ७२८ सामुदायिक विद्यालय छन् । परीक्षणका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई तालिम  दिइएको छ भने सम्बन्धित जिल्ला शिक्षा तथा समन्वय एकाइमा एक फोकल पर्सनको प्रबन्ध गरिएको छ । साथै तत्काल बुझ्नुपर्ने कुरा भएमा केन्द्रमा सिधै सम्पर्क गर्न समन्वय तथा प्रकाशन शाखामा संयन्त्र खडा गरिएको छ । समाजवादोन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघण्टा (क्रेडिट आवर) को संरचना र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिई शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले एकल पथीय नयाँ प्रारुप सिफारिस गरेको थियो । यो प्रारुप शिशु कक्षादेखि कक्षा १२ सम्मका लागि लागू हुनेछ । केन्द्रले चालू सत्रका लागि पाठ्यपुस्तकको मूल्यसूचीमा परिवर्तन गरेको छैन भने आगामी तीन वर्षसम्मका लागि विभिन्न प्रकाशनका ११९ अतिरिक्त पाठ्य सामग्रीलाई स्वीकृत गरेको छ । रासस

बिमितलाई कम्पनीको भुक्तानी सही नलागेमा के गर्ने ? बीमा समितिले गर्छ सहजीकरण

काठमाडौं । बिमितहरुलाई बीमा कम्पनीले गर्ने भुक्तानी सही नलागेमा के गर्ने ? तपाईँहरु सबैजनालाई थाहा नहुनपनि सक्छ । यदी तपाईँलाई थाहा छैन भने बीमा समितिको साहारा लिन सक्नु हुनेछ । समितिले आवश्यक कागजात र निवेदनको आधारमा मिलापत्र समेत गर्दै आएको छ । पछिल्लो समय बीमा समितिले बिमितको मुद्दा फछ्र्यौटमा सक्रियता देखाएको जनाएको छ । पहिलो चरण बीमा समितिले पहिलो चरणमा बिमितको निवेदन हेर्ने गर्छ । निवेदनमा उल्लेख भएको व्यहोरा अनुसार बीमा समितिले निर्णय गर्ने गर्छ । यस्ता मुद्दामा सर्वप्रथम बीमित र कम्पनीहरुलाई समितिले वार्ता गराउने पहल गर्छ । सोही क्रममा दुबैको सहमती भएमा मुद्दा त्यहीँ सकिने गर्छ । तर, यदी सो निर्णयबाट समेत बीमा समिति वा कम्पनीमा चित्त नबुझ्ने अवस्था रहेमा उनीहरुले अदालतको सहारा लिन्छन् । यस्तो अवस्थामा बिमित र कम्पनीहरुमा बीमा रकमको विषयलाई लिएर विवाद हुने गरेको पाईन्छ । कतिपय अवस्थामा भने रकमको रेन्ज बीमा समितिले तोक्दा समेत बिमित र कम्पनीहरुका बीचमा सहमति जुट्ने गरेको छ । बीमा समितिले कम्पनीको भनाई कतिपय अवस्थामा लिखित रुपमा माग्दै सहजीकरण गर्दै आएको छ । दोस्रो चरण बीमा समितिले कतिपय अवस्थामा बीमितले बीमाको प्रकृती नबुझ्दापनि मुद्दा ल्याउने गरेको बताएको छ । निर्जीवन बीमामा रहेको ‘स्यालभेसन क्लज’ को बारेमा बीमितले प्रष्ट जानकारी नपाएको समेत पाईन्छ । यसरी कम्पनी र बिमित दुवैले ५०-५० प्रतिशतले जोखिम बहन गर्ने भनेको अवस्थामा समेत बिमितहरुले नबुझेर दाबी माग्दै गरेको पाईन्छ । तेस्रो चरण बिमितले सन्तुष्टी नदेखाएमा वा मुद्दाको किसिम केही जटिल प्रकृतीको रहेमा बीमा समितिले सुनुवाई मार्फत छिनोफानो गर्छ । यो प्रकृया भने उच्च अदालतको प्रक्रियामा अधारित हुन्छ । चौथो चरण बीमितलाई बीमा कम्पनीहरुले गरेको निर्णय मन नपरेमा उनीहरुले बीमा समिति समक्ष जाने गर्छन् । यदि समितिको निर्णयमापनि न्याय नपाएको भन्ने लागेमा बीमित न्यायालय(अदालत) सम्म पुग्न सक्छन् । अदालतबाट बीमा ऐनले व्यवस्था गरे अनुसार बिमितले न्याय पाउने गर्छन् ।

विज्ञापन रद्द गर्ने निर्देशनविरुद्ध उत्रिए परीक्षार्थी सडकमा

काठमाडाैं ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध आज विरोध जनाइएको छ । लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उक्त समितिले गरेको अमान्य निर्णयविरुद्ध लोकसेवा तयारी तदर्थ सङ्घ समितिले बिहान १० देखि १२ बजेसम्म आन्दोलन तथा दबाबमूलक कार्यक्रम आयोजना गरेको थियो । सोमबार उक्त समितिले सरकारलाई स्थानीय तहका लागि लिइएकोे विज्ञापन रद्द गरेर करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो । उनीहरुले ‘लोकसेवामा हस्तक्षेप चाहिँदैन’, ‘नातावाद र कृपावाद भित्र्याउन पाइँदैन’ ‘दिनैपर्छ आयोगलाई संवैधानिक अधिकार, हुनैपर्छ स्वतन्त्र प्रशासनिक सरकार’, ‘लोकसेवा आयोग सबैको सरोकार, स्वस्थ निष्पक्ष पारदर्शिता आधार’ लगायत नारा लगाएका थिए । प्रशासन सेवा समूहको नायब सुब्बाको तयारी गरिरहनुभएका बर्दिया गेरुवा गाउँपालिका–३ का लक्ष्मण अधिकारीले विज्ञापन रद्द गर्ने निर्णयले सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकार कुष्ठित गराउने भएकाले आन्दोलन गर्नुपरेको बताएका हुन्  । “गत वर्ष पनि आयोगले विज्ञापन गरेन । अहिलेको विज्ञापनमा धेरै बेरोजगार विद्यार्थीलाई रोजगार बनाउन खोजेकोे थियो”, उनले भने, “तर समितिले एक्कासि विज्ञापन रद्द गर्ने निर्णयले हामीजस्ता धेरै आयोगका तयारी गरिरहेका विद्यार्थी रोजगारको अवसरबाट वञ्चित हुन पुगेका छौँ ।” यस्तै बाजुरा बडिमालिका नगरपालिकाका मार्तडीकी चन्द्रा खड्काले आफूले क्याम्पसको परीक्षा नै नदिएर स्थानीय तहको तयारीमा लागेकामा अहिले आएर समितिका मान्छेले आफ्नालाई करारमा नियुक्त गरेर हामीलाई वञ्चित गराउन लागेको हुँदा आन्दोलन गर्नुपरेको बताएका छन् । “बरु हामीहरुको नाम ननिस्कियोस् । हामी विज्ञापन रद्द गर्ने निर्देशन र करारमा राख्ने निर्णयको विरुद्ध आन्दोलन गरिरहन्छौँ”, उनले भने, “कर्मचारीलाई करारमा होइन प्रतिस्पर्धा गरेर स्थानीय तहमा भर्ना गरियोस् ।” सरकारले लोकसेवा आयोगमार्फत् स्थानीय तहमा रिक्त दरबन्दी पूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । आयोगले विज्ञापन गरेपछि लाखौँ विद्यार्थी परीक्षाको तयारीमा थिए । रासस

महासंघको नेतृत्व लिन चलखेल, यूरोप भ्रमणमा के हुँदैछ ‘सेटिङ’ ? (भ्रमण टोलीको नामावली सहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चैतमा नयाँ नेतृत्व चयन हुँदैछ । चुनावी वर्षमा प्रवेश गर्दै गर्दा महासंघले मतदातालाई रिझाउन युरोप भ्रमणको कार्यक्रम गरेकोे छ । चुनावमा मत तान्ने प्रयोजनसहित महासंघले मतदाता खुशी गराउन भ्रमणको आयोजना गरेको बुझिएको छ । चुनावमा मतभार अधिक भएको जिल्ला तथा नगर उद्योग वाणिज्य संघको नेतृत्वलाई प्रभावमा पार्ने तयारीका साथ महासंघको टोली कार्यक्रमहरू बनाएर भ्रमणमा निस्केको हो । भ्रमण टोलीमा ५९ जना रहेका छन् । भ्रमणको उद्देश्य युरोपको आर्थिक तथा व्यवसाय अध्ययन, प्रवद्र्धन र अवलोकन गर्नु रहेको महासंघले जानकारी दिएको छ । महासंघ स्रोतका अनुसार आगामी चुनावलाई आफ्नो पक्षमा पार्नको लागि रणनीतिक योजना तयार पार्ने उद्देश्य सहित भ्रमणको आयोजना गरिएको हो । भ्रमण टोलीको नेतृत्व महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले गरेका छन् । भ्रमणमा टोलीमा समावेश हुनेहरुको सूची अध्यक्ष भवानी राणा र उपाध्यक्ष प्रधानले तय गरेका हुन् । युरोप भ्रमणमा रहेको ५९ सदस्यीय टोली यस्तो छ: [pdf id=155348] चुनावी वर्षमा प्रवेशसँगै महासंघको सक्रियता बढ्यो, १०० जना चीनमा र ९० जना यूरोप भ्रमण जाँदै

  मोटरसाइकल चोरी गर्ने पाँच पक्राउ

काठमाडाैं । मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ । नेपाल–भारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा भारतमा बिक्री गर्ने ती गिरोहका व्यक्तिलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिएका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–९ बस्ने वर्ष १९ का श्यामसुन्दर यादव, १८ वर्षीय गुलशनप्रसाद यादव, बारागढी गाउँपालिका–२ मलाही बस्ने वर्ष २० का सुरेश मुखिया विन, सोही ठाउँ बस्ने १८ वर्षीय धर्मेन्द्र मुखिया विन र १९ वर्षीय नन्दकिशोर सहनी रहेका छन् । यसरी  जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त गस्ती टोलीले बारागढी गाउँपालिका–२ दौरवा मठअगाडि चोकबाट एक थान चोरीको अपाची गाडी, बीआर०५आर ७३३८ नंको गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो । पछिल्लो समय बारामा मोटरसाइकल चोरी गर्नेहरुको बिगबिगी बढेको छ । रासस

टीभीएस स्ट्र्याकर मेलामा सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका 

काठमाडौँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस स्ट्र्याकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस्’ योजना अघि सारेको छ । जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको बिरगञ्जको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टरप्राइजेज, निजगढको मा अजिमा ट्रेडर्स, चन्द्रपुरको गणपति अटो एण्ड सेन्टरबाट टिभीएस स्ट्याकर १२५ सीसीको ग्राहकलाई लक्षित गरी मेला आयोजना गरेको जनाएको छ । टिभीएस स्ट्याकर १२५ मेला शोरुम नजिकैको स्थानहरुमामा जेठ ३१ गतेबाट असार ३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा टिभीएस टिभीएस स्ट्याकर १२५ को खरिद क्यास , फाइनान्स र एक्सचेन्जको माध्यम बाट गर्न सक्ने कम्पनीले जनाएको छ । मेला अबधि भर टिभीएस स्ट्याकर १२५ खरिद गर्ने ग्राहकलाई कम्पनिले २ आर्थिक बर्षसम्म २०७५ र ७६ को कर फ्री साथै रेनकोट पनि कम्पनीले उपलब्ध गराउने भएको छ । मेलामा टिभीएस स्ट्याकर १२५ खरिद गर्ने ग्राहकहरुले असार ३ गते बिरगञ्ज, जितपुर र कलैयामा र असार ४ गते निजगढ र चन्द्रपुरमा ग्राहकहरुलाई नेपाली नायक सुपरस्टार निखिल उप्रेतीसंग भेटघाट तथा दुःखशुख हासो खुशी बाँड्ने छन् । मेला अवधिमा ४०० वोटा टिभीएस स्ट्याकर १२५ बेच्ने लक्ष राखेको जगदम्बा मोटर्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताए । विश्व विख्यात टिभीएस कम्पनीका मोटरसाईकलहरु तथा स्कूटरहरु नेपालमा पनि रुचाइएका छन् । विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा उपलब्ध यी मोटरसाईकल तथा स्कूटरहरु टिभिएसले आफनो नेपाल भरिको ९० भन्दा बढी ठाउबाट थ्री एस सर्भिस सहित बिक्री वितरण गर्दै आइरहेको छ । बिभिन्न सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टीको सेवापनि दिदै आएको छ ।

गण्डकी प्रदेशका कृषक समूहले पाए हाते ट्र्याक्टर, मन्त्रालयको मात्रै ८५ प्रतिशत लगानी

काठमाडाैं । गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको भानु नगरपालिका–११ बाँसखर्कस्थित कृषक समूहलाई हाते ट्र्याक्टर वितरण गरेको छ । मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषिगाउँको रुपमा छनोट भएको बाँसखर्कको लालीगुराँस कृषक समूहलाई मन्त्रालयले तीन हाते ट्र्याक्टर वितरण गरेको हो । मन्त्रालयको ८५ प्रतिशत र कृषक समूहको १५ प्रतिशत लगानीमा  दुई लाख २५ हजार रूपैयाँ मूल्य बराबरको हाते ट्र्याक्टर वितरण गरिएको मन्त्रालयका कृृषि प्राविधिक बन्दना पुलामी मगरले जानकारी दिएका छन् । हाते ट्र्याक्टर खरिदका लागि कृषक समूहले  ३३ हजार ७५० रूपैयाँ लगानी गरेको छ । यसरी, तरकारी खेतीमा प्रविधिको प्रयोग गरी बढी उत्पादन गर्न सहयोग पुर्रयाउने उद्देश्यले हाते ट्र्याक्टर प्रदान गरिएको हो । उनले भने, “नमूना कृषिगाउँ स्थापना कार्यक्रमअन्तर्गत तरकारी खेतीलाई विशेष प्राथमिकता दिइएको छ, तरकारी खेतीका लागि जोत्न सहज हुने भएकाले हाते ट्र्याक्टर प्रदान गरेका हौँ ।” कृषक समूहमा ५८ सदस्य आबद्ध छन् । प्रदान गरिएका ट्र्याक्टर समूहका कृषकले आवश्यकताअनुसार समय मिलाएर प्रयोग गर्ने समूहका सदस्य कल्पना गुरुङले बताए । उनले भने, “हाते ट्र्याक्टरमार्फत् बारी जोत्न सहज र समयको पनि सदुपयोग हुनेरहेछ ।” मन्त्रालयले यसअघि सोही ठाउँका १५ घरधुरीलाई  सात लाख रूपैयाँ मूल्य बराबरको ६० मौरीसहितको घार वितरण गरेको थियो । मन्त्रालयले ३३ कृषकलाई बाख्रापालन तथा घाँस व्यवस्थापन र प्लाष्टिक घर, थोपा सिँचाइ, ‘मलचिङ’ प्रविधिको तरकारीखेती तालिम प्रदान गरिसकेको छ । त्यस्तै, नमूना गाउँको रुपमा छनोट भएको यस ठाउँलाई हरियाली बनाउन वृक्षारोपण कार्यक्रमलाई तीव्रता दिइएको छ भने सरसफाइका लागि डस्टबिन वितरण गरिएको छ । एभोकाडो, शीतलचिनी रोपणको कार्यक्रम, नर्सरी व्यवस्थापनलगायतका काम पनि भइरहेको छ । रासस