राष्ट्रिय वाणिज्य बैंकले बढायो निक्षेपको ब्याजदर, २ देखि ११ प्रतिशतमा ऋण
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा दिने ब्याजदर बढाएको छ । बैंकले असार महिनाको लागि प्रकाशन गरेको ब्याजदर तालिकाअनुसार बैंकले बचत खातामा पाउने ब्याजदरमा ०.५० प्रतिशत र मुद्दती खातामा पाउने ब्याजदर नेपाल बैंकर्स संघले निर्धारण गरेको ९.२५ प्रतिशत नघाघ्ने गरी ०.२५ प्रतिशतदेखि ०.५० प्रतिशतसम्म बढाएको हो । चैत महिनामा ४.७० प्रतिशत स्प्रेडदर रहेको उक्त बैंकले असार मसान्तमा स्प्रेडदरलाई ४.५० प्रतिशतमा झार्न निक्षेपमा बढी ब्याजदर दिने बाटो रोजेको हो । नेपाली बैंकिङ क्षेत्रमै सबैभन्दा सस्तो ब्याजमा ऋण प्रवाह गर्ने राष्ट्रिय वाणिज्य बैंकले कर्जाको ब्याजदरमा भने कुनै परिवर्तन गरेको छैन । ५.३८ प्रतिशत आधार ब्याजदर रहेको बैंकले जोखिम प्रिमियमवापत २ प्रतिशतदेखि ५.६७ प्रतिशतसम्म ब्याजदर थप गरेको छ । यसले राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिनेहरुको ब्याजदर ७.६७ प्रतिशतदेखि ११ प्रतिशतसम्म रहने देखाएको छ । सहुलियतपूर्ण कर्जाका हकमा भने ५ वा ६ प्रतिशत ब्याज अनुदानको ब्यववस्था गरिएकोले उक्त ऋणको ब्याजदर १.६७ वा २.६७ प्रतिशतसम्म हुनेछ ।
शेयर बजारमा एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्डको ‘लुकामारी’, ७ हप्तापछि फेरि अघि बढ्यो एभरेष्ट
काठमाडौं । बजार पुँजीकरणमा को अघि र को पछि भन्ने सन्दर्भमा एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीच लामो प्रतिस्पर्धा छ । चौथो र पाँचौं स्थानमा को रहने भन्ने सम्बन्धमा यी बैंकहरुको प्रतिस्पर्धा लामो समयदेखि चलेको हो । सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा बढी बजार पुँजीकरण भएको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लामो समयदेखि आफ्नो विरासत कायम गर्दै आएको छ । १ खर्ब ५ अर्ब बजार पुँजीकरण रहेको टेलिकमले दोस्रो स्थानमा रहेको नबिल बैंकसँग ३० अर्ब भन्दा बढीको फरक कायम गर्दै आफ्नो विरासत कायम राखेको छ । नबिलको हालको बजार पुँजीकरण ७४.४६ अर्ब छ । तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको पूँजीकरण ६६.५७ अर्ब रहँदा रहँदा दोस्रो स्थानमा रहेको नबिललाई तत्काल जित्नसक्ने अवस्था देखिँदैन सोभन्दा १० अर्ब भन्दा बढी पुँजीकरण अन्तर रहेकोले यो बैंकलाई पनि अहिलै कसैले उछिन्ने सम्भावना पनि छैन । तर चौथो र पाँचौं नम्बरमा रहेका एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक भने एक आपसमा निरन्तर प्रतिस्पर्धामा छन् । यी दुई कम्पनीको प्रतिस्पर्धामा कहिलेकाँही नेपाल लाईफ इन्स्योरेन्स पनि बीचमा आउने गरेको छ । विगत ७ हप्तादेखि निरन्तर रुपमा माथि रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई एभरेष्टले बजार पुँजीकरणमा फेरि उछिनेको छ । नेपाल स्टक एक्सचेञ्जको शुक्रबारसम्मको तथ्याङ्क अनुसार एभरेष्टको ५३ अर्ब २१ करोड रुपैंया बजार पुँजीकरण हुँदा स्ट्यान्र्डर्डको ५२ अर्ब ६९ करोडमा सीमित भएपछि यो अवस्था देखिएको हो ।
११ महिनामा जम्मा ६३ प्रतिशत खर्च, पुँजीगत खर्च साढे ४७ प्रतिशतमात्रै
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ११ महिना आठ खर्ब २६ अर्ब रुपैयाँ (६२.८४ प्रतिशत)मात्रै खर्च गरेको छ । सरकारले चालु आवको लागि कुल १३ खर्ब १५ अर्ब १६ करोड बजेट विनियोजन गरेको थियो । अहिलेसम्म भएको खर्चमा चालु खर्चको हिस्सा बढी छ भने मुलुकमा पुँजी निर्माण गर्न विनियोजन गरिएको पुँजीगत विनियोजन भने आधा पनि खर्च हुन सकेको छैन । सरकारले चालु आवमा तीन खर्ब १३ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने तयारी गरेको थियो । यस अवधिमा जम्मा एक खर्ब ५१ अर्बमात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । देशमा स्थायी सरकार गठन भएपछि पनि पुँजीगत खर्च गर्ने प्रक्रियामा खासै परिवर्तन हुन नसक्दा खर्च थोरै भएको जानकारहरू बताउँछन् । अघिल्ला वर्षमा जस्तै असार नजिकिदै जाँदा खर्च पनि बढ्दै गएको छ । असारमा कुल पुँजीगत खर्चको आधा रकम खर्च गर्ने अभ्यास एक दशक यताकै अभ्यास हो । कुल बजेटमा दैनिक चार अर्बजति खर्च भएको छ भने पुँजीगततर्फ दैनिक एक अर्बको हाराहारीमा खर्च हुने गरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले जानकारी दिए । ‘जेठ र असार महिना अन्य महिनाभन्दा बढी खर्च हुने समय हो ।’ हालसम्म भएको खर्चको प्रकृति हेर्दा यस वर्षपनि अघिल्ला वर्षमा जस्तै असारे विकासले प्राथमिकता पाउने देखिएको छ । महालेखा परीक्षक कार्यालयले पनि असारमा मात्रै धेरै परियोजनामा ४० देखि ६० प्रतिशतसम्म खर्च हुने गरेको देखाएको छ । महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा गत वर्ष असारमात्रै दुई खर्ब २२ अर्ब रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । सो खर्चमध्ये असार २५ देखि ३१ सम्म एक खर्ब १७ अर्ब रुपैयाँ खर्च भएको थियो । अर्थ मन्त्रालयले आवमा ठूलो रकम थप निकासा दिने र सोमध्येबाट कार्यालयहरूले पेश्की लिने दिने तथा बजेट फ्रिज नहुने खातामा ट्रान्सफर गर्ने प्रवृत्तिमा परिवर्तन हुन नसकको महालेखा परीक्षक टंकमणि शर्माले टिप्पणी गरेका थिए । आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३३(क) बमोजिम असार २५ मै सरकारी खाता बन्द गरिसक्नु पर्ने उल्लेख गरिएको छ । अर्थ मन्त्रालयले बजेट अर्धवार्षिक समीक्षामा संशोधन गरेको बजेटलाई नै आधार मान्ने हो भने पनि असार एक महिनामा एक खर्च १३ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ । सरकारले बजेट संशोधन गर्दै साढे ८४ प्रतिशत ( २ खर्ब ६५ अर्ब) मात्रै पुँजीगत खर्च गर्ने बताएको छ । सरकार एकातिर खर्च गर्न नसकेर खर्च बढाउन धमाधम असारे विकास गर्दैछ भने अर्कोतर्फ खर्च गर्न नसक्ने आयोजनाको बजेट रकमान्तर गरेर बजेट नपुग भएका परियोजनामा खर्च जुटाउन लागि परेको छ । अर्थमन्त्री खतिवडाले खर्च नपुग भएका आयोजनालाई बजेट रकमान्तर गर्न बजेट फिर्ता मागेपनि असारमा गरिएको कामले खासै औचित्य नराख्ने र हतारमा खर्च गर्ने प्रवृत्ति वित्तीय अनुशासन विपरित भएको जानकारहरूले बताउदै आएका छन् । अर्धबार्षिक समीक्षामा अर्थमन्त्री डा.युवराज खतिवडाले खर्च हुन नसकेका आयोजनाका बजेट फिर्ता गर्ने निर्देशन समेत दिएका थिए । महालेखा परीक्षकको कार्यालयले पनि असार तथा अन्तिम असारमा खर्च गर्ने कार्य नियन्त्रण गर्नुपर्ने सुझाएको छ ।
कृषि उद्यमीलाई बैंकहरुको प्रतिव्यक्ति २० लाख, तपाईँपनि लिने कि ?
काठमाडौं । कृषि उद्यम गर्ने भन्दै ऋणका लागि बैंकमा जाने कृषकहरुलाई बैंकले औसत २० लाख रुपैंया दिएर पठाउँछन् । झट्ट सुन्दा पत्याउन नसकिए पनि यसलाई तथ्याङ्कले नै पुष्टि गरेको छ । वैशाख मसान्तसम्म बैंकहरुले कुल ३१ अर्ब ४६ करोड रुपैंया ऋण प्रवह हुँदा बैंकहरुले सो ऋण १५५४७ जनालाई दिन सकेका छन्, यो प्रतिऋणी २० लाख २४ हजार रुपैंया हो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् ल्याएको ब्याज अनुदानसहितको कर्जा कार्यक्रममार्फत् यस्तो करिब ६ महिनाको अवधिमा सो. संख्यामा ऋण प्रवाह गरिएको नेपाल राष्ट्र बैंकले जनाएको हो । कुल प्रवाहित ३१ अर्ब ७२ करोड कर्जा प्रवाह भई १६ हजार २३ जनाले उक्त ऋण पाउँदा कृषि कर्जातर्फ सो परिमाण र संख्यामा ऋण प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कृषि ऋणको यो मात्रा आकारका आधारमा ९९ प्रतिशत भन्दा बढी र ऋणीको संख्याका आधारमा ९७ प्रतिशत कर्जा कृषि उद्यमीलाई नै प्रदान गरिएको छ । बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित ब्याज अनुदानसहितको सहुलियतपूर्ण कर्जा । स्रोत : नेपाल राष्ट्र बैंक कसरी प्रवाह हुन्छ कर्जा ? सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत्को कृषि तथा पशुपन्छी कार्यक्रममा कर्जा प्रवाहको लागि १० लाखसम्मको ऋण सामूहिक जमानीमा र सोभन्दा बढी ५ करोड रुपैंयासम्म कर्जाको हकमा परियोजना धितोमा कर्जा दिने व्यवस्था कार्यविधिले गरेको छ जसमा परियोजनाको सम्भाव्यतालाई मुख्य आधार बनाउनुपर्ने व्यवस्था गरिएको छ । १० लाख रुपैंयाभन्दा कम कर्जाका लागि सामान्य परियोजना प्रस्ताव र सोभन्दा बढीका लागि विस्तृत परियोजना प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो ऋण तरकारी, फलफुल, जडिबुटी लगायतको उत्पादन, प्रशोधन र भण्डारण तथा पुशपालन तथा उनीहरुका दाना उद्योगका लागि समेत दिने व्यवस्था गरिएको छ । उद्यमीहरुले कृषि उपकरण र भण्डारण निर्माणका लागि त्यस्तो ऋण लिने गरेको बैंकहरुले जनाएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशित कर्जा कार्यक्रमअन्तर्गत कृषि कर्जा रहेकोले कृषि क्षेत्रमा कर्जा प्रवाहको अवस्था भने उत्साहजनक देखिएको हो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा जाने कर्जालाई सीसीडी अनुपातमा गणना गर्न नपर्ने व्यवस्था गरिदिएपछि बैंकहरुले कृषि क्षेत्रमा जाने यस्तो कर्जा बढाएका हुन् । सरकारलाई गिज्याउँदै बाँकी कार्यक्रम सरकारले ब्याज अनुदानसहितको ७ ओटा ऋण कार्यक्रम ल्याएकोमा बाँकी ६ ओटा कार्यक्रम भने असफलसिद्ध भएका छन् । ती कार्यक्रमहरुमा उक्त अवधिमा कुल ४७६ जनाले २६ करोड रुपैंया मात्रै ऋण लिएका छन् जुन कृषि कर्जाको तुलनामा १ प्रतिशत भन्दा पनि कम हो । त्यस्ता कार्यक्रमहरुमार्फत् प्रवाहित कर्जाको उपयोगिताबारे बैंकहरुको अविश्वासका कारण यी कार्यक्रमहरु असफल भएका हुन् ।
कोपा अमेरिका कपमा नेइमार बिनै ब्राजिलको सानदार जीत, काउटिन्होको २ गोल
काठमाडौं । कोपा अमेरिका कप फुटबल प्रतियोगीतामा ब्राजिलले शानदार जीत हासिल गरेको छ । स्टार खेलाडी नेइमार बिनै खेलेको ब्राजिलले बोलिभिया विरुद्ध ३ गोलको जित निकालेको हो । पहिलो हाफ बराबरी खेलेको ब्राजिलले दोश्रो हाफको सुरुमै ब्राजिलले पेनाल्टी पायो र काउटिन्होले त्यसलाई सहजै गोलमा परिणत गरे । ५३ औं मिनेटमा काउटिन्होले अर्काे गोल गर्दै ब्राजिललाई २ गोलको अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा इभर्टन सोअर्सले गोल गर्दै ब्राजिलको जीत सुनिश्चित गरे । कोपा अमेरिका कप शनिबारदेखि ब्राजिलमा सुरु भएको हो । ७५ प्रतिशत बल पोजिसन लिएको ब्राजिलले गोल गर्न भने दोश्रो हाफ कुर्नु परेको थियो । लगातार खराब प्रदर्शन गरिरहेको ब्राजिल लामो समयदेखि उपाधी बिहिन बन्दै आईरहेको छ । घरेलु मैदानमा आयोजीत कोपा अमेरिका कप जितेर ब्राजिलले खराब दिनहरुको अन्त्य गर्ने अपेक्षा गरेको छ ।
सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक
काठमाडौं । सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ । वीर अस्पतालमा उपचार गर्ने क्रममा उनकी आमा ८४ वर्षीया लाल माया टण्डनको शनिवार विहान निधन भएको हो । लालमायाको ३ छोरा र ४ छोरी छन् । उनको पार्थिव शरीरलाई शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चन्द्रटण्डन सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक , सिटी एक्सप्रेस फाइनान्सका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध छन् । उनी यसअघि विद्युत प्राधिकरणका पूर्व सञ्चालक, सिटीजन्स बैंकका पूर्व सञ्चालक थिए ।
वाइडबडी खरिद सम्बन्धमा नागरिक आयोगको प्रतिबेदन, साँढे चार अर्बभन्दा बढी भ्रष्टाचार
काठमाडौँ । वाइडबडी खरिदमा साँढे चार अर्बभन्दा बढी अपचलन गरी भ्रष्टाचार गरेको निष्कर्षमा नागरिक आयोग पुगेको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि नेपालीद्वारा गठित वाइडबडी अनुसन्धान सम्बन्धि नागरिक आयोगले दोषीलाई उम्काउन सेटिङमै चलखेल भएकाले कारबाहीको दायरामा ल्याउन ब्यापक जनदबाब सृजना जरुरी भएको औल्याएको छ । पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराई क्षेत्री, पूर्व एआइजी डा. ठाकुरमोहन श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र सामाजिक अभियन्ता रोसा श्रेष्ठ सदस्यसचिव रहेको चार सदस्यीय नागरिक आयोगले १० बुँदे निष्कर्षमा वाइडबडी खरिदको अनियमिततामा ढिलाई भइसकेको उल्लेख छ । आयोगले भनेको छ,‘संसदबाटै छानबिन गरी आफ्नो संवैधानिक र कानुनी कर्तव्य पूरा गर्न नसक्ने पदाधिकारीहरुलाई संवैधानिक र कानूनी कारबाहीको दायरामा ल्याइनु पर्छ ।’ प्रतिवेदनमा रु. चार अर्ब ३५ करोड ५६ लाखभन्दा अधिक अपचलन गरिएको, सार्वजनिक खरिद ऐनले तोकेका प्रक्रियाहरु अबलम्बन गरेको अवस्था नदेखिएको, जहाज खरिद प्रक्रियामा अविश्सनीय कम्पनिहरु रोजिएको, नेपाल राष्ट्र बैंकबाट प्रतितपत्र नखोली रकम निकाशा गरिएको, कमसल सामाग्री जडान गरिएको, खरिद गरिएका बिमानहरु हरेक उडानमा बिश्राम र पुनः उडानको संचालनमा अतिरिक्त भारको कारण आर्थिक रुपमा फाइदाजनक नभएको विषय उल्लेख छन् । पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराईले आयोगको प्रतिवेदनले जहाज खरिद प्रकरणमा चरम भ्रष्टाचार भएको विषयलाई खुलस्त पारेको बताए । गहिरो अध्ययनसहित कारबाही गर्न सकिने विषय समेत उल्लेख गरिएको बताए । उनले भने,‘कारबाहीको निकायमा रहेकाहरुले गरेका र नगरेका कार्यहरुबारे समेत खुलस्त पारिएको छ ।’ आयोगका सदस्य डा. ठाकुरमोहन श्रेष्ठले कारबाही गर्नुपर्नेमा उल्टै संरक्षण गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने माग राखे । राज्यको ढुकुटी रित्याउने गरी भएको भ्रष्टाचारमा संलग्नलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताए । उनले भने,‘यो हदसम्मको भ्रष्टाचार छोप्न खोजे व्यापक जनदबाब सृजना गर्नुको विकल्प छैन ।’ पूर्व सहायकरथी प्रेमसिंह बस्न्यातले भ्रष्टाचारीलाई कारबाही नगरे देश बर्बाद हुने बताए । अन्तर्राष्ट्रिय माफियाको इशारामा चल्नेहरु देशको शासनमा रहेको आरोप लगाए । उनले भने,‘अब देश बेच्न मात्र बाँकी राखे ।’ भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई उन्मुक्ति दिन सत्तामा रहेकाहरु नै सक्रिय रहेको आरोप लगाए । भ्रष्टाचारीलाई उन्मुक्ति दिने गतिविधिविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । आयोगकी सदस्यसचिव रोशा श्रेष्ठले वाइडबडी भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गराएरै छाड्नपर्ने बताइन् । आयोगले नागरिकस्तरमा पहिलो पटक निष्कर्ष निकालेको भन्दै कारबाही गर्ने निकायमा दबाब सृजना गर्नुपर्ने बताइन् । भ्रष्टाचारविरुद्ध अभियान जारी रहेको भन्दै शनिबार साँढे एक बजे माइतीघर मण्डलामा कार्यक्रम राखिएको बताइन् ।
चलचित्र ‘जाइरा’को पोस्टर नम्रताको जन्मदिनमा सार्वजनिक
काठमाडौं । चलचित्र ‘जाइरा’ को पोस्टर अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो ३३ औं जन्मदिनको सार्वजनिक गरे । भाद्र ६ गतेदेखि देशभर प्रदर्शन हुने भनिएको चलचित्र ‘जाइरा’को टिमले अभिनेत्री श्रेष्ठको जन्म दिनसँगै पोस्टर सार्वजनिक गरेको हो । उक्त पोस्टरमा फोकस्ड रहेकी श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको सो चलचित्रमा ‘लभ गर्ल’ को भुमिकामा रुचाइएकी नम्रता श्रेष्ठको विशेष भुमिका रहेको बताईन । जन्मदिनको अवसरमा केक काट्दै भन्छिन् ‘मैले मेरो भुमिकालाई शतप्रतिशत दिन सकिनँ भने दर्शकलाई थाहा हुन्छ, त्यसैले राम्रो अभिनय गर्ने प्रयास गर्छु । हरेक भुमिका चुनौतीपूर्ण र फिल्म ड्रिम प्रोजेक्स लाग्छ ।’ आफुले पुरानो पहिचान मेट्दै नयाँ कार्य गर्ने प्रयास गरिरहेको बताईन । उक्त चलचित्रको अभिनयमा अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरलाई देख्न सकिन्छ ।