पानी पठाएर पेट्रोलियम पाइप लाइनको परीक्षण, यसै महिनाभित्र सञ्चालन हुने
काठमाडौं । नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ । भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि प्राविधिकले यसै महिनाभित्र सो पाइपलाइन सञ्चालनमा आउन सक्ने आँकलन गरेका छन् । परीक्षणको क्रममा नेपाल आयल निगम र इण्डियन आयाल कर्पोरेशनका प्राविधिकको संयुक्त टोलीले भारतको मोतिहारीबाट सो पाइपलाइनमा पानी पठाएर गरेको परीक्षण सफल भएपछि अब निकट भविष्यमै उक्त पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालको लाइफ लाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भई पाइपमार्फत पठाएको पानीको प्रेसर बाराको अमलेखगञ्जसम्म सफल रुपमा आइपुगेकाले परीक्षण सफल भएको प्राविधिकले जनाएका छन् । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि पहिलो खेपमा भारत विहारको राजधानी पटनाबाट मोतिहारी रक्सौल हुँदै अमलेखगञ्जसम्म डिजेल ल्याउने पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताएका छन् । रासस
राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण खर्च एक महिनाकै ५ करोड २२ लाख रूपैयाँ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भियतनाम तथा कम्बोडिया भ्रमणका बेला ५ करोड २२ लाख खर्च भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधि मण्डलले चीन भ्रमणका बेला तीन करोड नौ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले बताएको छ । अर्थले भ्रमण खर्च वियमावली २०६४ ले गरेको व्यवस्था अनुसार अतिविशिष्ट तहको भ्रमणका लागि सो खर्च गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ देखि चीनको ९ दिने राजकीय भ्रमण गरेकी थिइन् । भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिने र सम्बोधन गर्ने कार्यक्रम चीन गएकी हुन् । राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडललगायत अधिकारीहरू चीन भ्रमणमा सहभागि भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुराको जानकारी गराएका हुन् । प्रधानमन्त्रीले वैशाख २६ देखि ३० सम्म भियतनाम र त्यसपछि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमण गरेका छन् । प्रम ओलीले भियतनामका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणमा सो भ्रमण गर्न लागेका हुन् । भियतनामाले लामो युद्धपछि तीव्र विकास र प्रगति गर्नुका साथै लगानीका लागि विश्वको ‘वेस्ट प्लेस’ भएको चर्चा गर्दै भ्रमणका क्रममा भियतनामले हासिल गरेको उपलब्धिको जानकारी लिने उद्देश्यले सो भ्रमण तय गरिएको थियो । सो भ्रमणमा दुई करोड १२ लाख रुपैयाँ खर्च भएकाले अर्थले जेठ महिनामा सो रकम निकासा गरेको हो ।
तीव्र गति कारवाही अभियान : ९४० चालक परे कारवाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारवाही गरेको हो । महाशाखाले यही जेठ २८ देखि उक्त नियम लागू गरेर कारवाही गर्दै आएको छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना नियन्त्रणका लागि समय तोकिएको जानकारी दिएका छन् । “कलङ्कीदेखि कोटेश्वरसम्म र भक्तपुर सडकखण्डमा ५० भन्दा बढी स्पिड चलाउने सवारी साधनलाई कारवाही गर्दै आएका छौँ”, उनले भने । चालू आर्थिक वर्षमा मात्र उपत्यकामा २३० व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । जसमा अधिकांश मोटरसाइकल चालक रहेको महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् । रासस
विदेशमा मृत्यु भएका ११४ जनालाई ६ करोड ६६ लाख उपलब्ध गराइने
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र विरामी भै स्वदेश फर्किएर उपचारको क्रममा मृत्यु भएका तथा विदामा स्वदेश फर्किएको अवस्थामा विरामी भै उपचारको क्रममा मृत्यु भएका ११४ जना कामदारका परिवारका नजिकका हकदारलाई नियमानुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । वैदेशिक रोजगार बोर्डका अध्यक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको अध्यक्षतामा आइतबार नियमित बैठकले यस्तो निर्णय भएको हो । सचिवालयले दर्ता भएका निवेदनहरु र संलग्न कागजातहरुको छानविन गरी बोर्ड बैठकमा निर्णयार्थ पेश गरेको थियो । ११४ जनालाई आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले थप ६ करोड ६६ लाख व्यवस्था गरेको छ । यसैगरी, वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्र दूर्घटनामा परी गम्भिर चोटपटकका कारण कोमामा उपचाररत् तथा पक्षधातबाट हिँडडूल गर्न नसक्ने अवस्थामा दक्षिण कोरिया, साउदी अरव, कतार, कुवेत, युएई लगायतका मुलुकहरुका विभिन्न अस्पतालमा उपचाररत् २८ जना नेपाली विरामीहरुलाई स्वदेशमा ल्याई उपचार गराउने सन्दर्भमा गम्भिर छलफल गरेको छ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सकहरु, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियकका तर्फबाट सदस्य रहने गरी तथा वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने गरी एक कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत् गम्भिर प्रकृतिका विरामीहरुको संकलित तथ्यांकहरु उपर छानविन गरी नेपाल ल्याउने प्रकृया÷मापदण्डहरु सम्बन्धमा र नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र लगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सुझाव पेश गर्नेछ । वैठकले बागलुङका तेजेन्द्र भण्डारीको सवारी दुर्घटनामा परी साउदी अरेवियामा मृत्यु भएको, तर अस्पतालवाट शव पठाउदा शव चिन्न नसकिने अवस्थामा रहेकोले मोरङका सुवास तामाङ्ग भनी पठाएकोे र सुवास तामाङको परिवारले तामाङ संस्कार अनुसार दाह संस्कार गरि नियमानुसार सचिवालयवाट आर्थिक सहायता समेत प्राप्त गरिसके पश्चात सुवास तामाङ्ग जीवितै नेपाल फर्केको सन्दर्भमा समेत गम्भिर रुपमा छलफल गरेको छ । मृतक तेजेन्द्र भण्डारीको हकमा निजको वृद्ध आमा र नावालकलाइ क्षतिपुर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने, सोही घटनामा अर्को पीडित सुवास तामाङको परिवारले नियमानुसारको प्राप्त गरेको आर्थिक सहायताको सम्बन्धमा निजको स्वास्थ्य अवस्थालाई मध्येनजर गरी स्वास्थ्य उपचार खर्चमा रुपान्तरण गर्ने निर्णय गरेको छ । यसका साथै, पीडित सुभास तामाङको हकमा समेत उचित निर्णयका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत्र सम्बद्ध निकायमा अनुरोध गर्ने निर्णय गरिएको छ । बोर्ड बैठकमा राष्ट्रिय योजना आयोगका डा. रामकुमार फुयाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दहालका साथै बोर्ड सदस्यहरुको सकृय सहभागिता रहेको थियो ।
‘गौतमबुद्ध’ रङ्गशालालाई प्रदेश सरकार र स्थानीय तह रकम छुट्याउँदै
काठमाडौं । राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले रु पाँच करोड रकम विनियोजन गरिसकेको छ । काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी दिएका छन् । मंगलबार परिषद् गर्न लागेको महानगरले रङ्गशालाका लागि रु पाँच करोड विनियोजन गर्ने तयारी गरेको छ । महानगरभित्र रहेका २९ वटा वडाले रु पाँच लाखका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन् । बहुवर्षीय योजना भएकाले महानगरले शुरुआती रकमका रुपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ । महानगर प्रमुख दाहालले निजी क्षेत्रसँगै सङ्घ, प्रदेश र स्थानीय तहले रङ्गशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम शुरु भएको जानकारी दिए । जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं रङ्गशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन सबै स्थानीय तह सकारात्मक देखिएको बताएका छन् । कतिपयले बजेटमा नै राखेर र कतिपयले कोषको पूँजीबाट सहयोग गर्ने उनले जानकारी दिए । गत जेठ १५ गते स्थानीयले बाटो विस्तारको माग गर्दै रङ्गशालाको टिनको बार भत्काएपछि काम रोकिएको छ । रङ्गशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनका पदाधिकारी काठमाडौँमा रहेका छन् । डल्लाकोटीका अनुसार एक दुई दिनमा उनीहरुको उपस्थितिमा बैठक बसी काम अघि बढाइने छ । फाउण्डेशन र सरकारी निकायले के के गर्ने भन्ने टुङ्गो लगाएर कामलाई अघि बढाइने डल्लाकोटीको भनाइ छ । जिल्लाका सबै राजनीतिक दलसहित जिल्लावासी रङ्गशाला निर्माणका लागि सकारात्मक रुपमा अघि बढेका छन् । रङ्गशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको थियो । भरतपुर महानगरपालिका–१५ मा दुई वर्ष छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न रु तीन अर्ब खर्च हुने अनुमान गरिएको छ । उक्त रङ्गशाला निर्माणका लागि निजी क्षेत्रबाट रु छ करोडभन्दा बढी रकम सङ्कलन एवं आश्वासन प्राप्त भइसकेको छ । रासस
काठमाडौँ-निजगढ फास्ट ट्रयाकको लागत १ खर्ब ७५ करोड, लम्बाई ७२.५ किलोमिटर
काठमाठौँ । काठमाडौँ-निजगढ फास्ट ट्रयाकको लागत १ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ निर्धारण गरिएको छ । भ्याट सहित यो रकम निर्धारण गरिएको हो । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा काठमाडौँ–तराई/मधेश दु्रतमार्गको हालसम्मको प्रगति र डीपीआर सम्बन्धी छलफल कार्यक्रममा सो मार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाका आयोजना प्रमुख सदरलाल श्रेष्ठले यो जानकारी दिएका हुन् । सो मार्गको लम्बाई ७२.५ किलोमिटर निर्धारण गरिएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । द्रुतमार्गको बुदुनेमा इन्टर सेक्सन निर्माण गरिने र ६.४ किलोमिटर लामो सुरुङ बन्ने उनले जानकारी दिए । फास्ट ट्रयाक निर्माण सम्पन्न भएपछि १ घण्टा २ मिनेटमा काठमाडौँबाट बारा जिल्लाको निजगढ पुगिन्छ । आयोजना प्रमुख श्रेष्ठले सो मार्गको हालसम्मको प्रगतिबारे जानकारी दिएपछि समितिका सदस्य सांसद गणेश पहाडीले ११२ अर्बको फास्ट ट्रयाकको लागत कसरी १७५ अर्ब पुग्यो भनी प्रश्न गरे । ४ वर्षमा बन्ने भनिएको फास्ट ट्रयाक निर्माणको २ वर्ष बितिसक्यो, अब २ वर्षमा बन्ने आधार के छ ? पहाडीको प्रश्न थियो । यी समाचारपनि पढ्नु होस् फास्ट ट्रयाकलाई १५ अर्ब, हुलाकीलाई १३ अर्ब ६३ करोड, पुष्पलाललाई १२ अर्ब फास्ट ट्रयाकको डीपीआरमा सेनाले पठायो सुझाव, बुदुनेमा ‘इन्टर सेक्सन’, खोकनामा ‘जिरो किलो’ पहाड फोडेर काठमाडौं र तराई/मधेश जोड्दै फास्ट ट्रयाक, युद्धस्तरमा काम गर्दै नेपाली सेना यस्तो बन्दैछ काठमाडौं-निजगढ फास्ट ट्रयाक (भिडियोसहित) चार बर्षपछि काठमाडौं-निजगढ यात्रा ३८ मिनेटमै, कति भयो फास्ट ट्रयाकको काम ?
जनउत्थान लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरण गर्ने, अधिकृत पूँजी ३० करोड पुर्याउने
काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आठौँ वार्षिक साधारण सभा असार ३० गते हुने भएको छ । असार ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । साधारण सभा बुटवल उपमहानगर ९ स्थित होटल न्यू इरामा बिहान ११ बजे हुनेछ । साधारण सभामा सञ्चालक समितिले शिफारिस गरे बमोजिम आव २०७४/०७५ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी २ करोड ८८ लाखको २० प्रतिशतले हुन आउने ५७ लाख ६० हजार बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश गरिने भएको हो । त्यसका लागि कर प्रयोजनार्थ ३ लाख ३ हजार १ सय ५७ रुपैयाँ नगद लाभांश स्वीकृत गरिने छ । त्यसैगरी संस्थाको अधिकृत पूँजी १० करोडबाट बृद्धि गरी ३० करोड पुर्याउने विशेष प्रस्तावका रुपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ । साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको ६ करोड ३३ लाख ६० हजारको १ः२ अर्थात १ कित्ता बराबर २ कित्ताको अनुपातमा १२ करोड ६७ लाख २० हजार रुपैयाँको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गरिंदैछ । वार्षिक साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब असार १८ गते बन्द गरिने भएकोले असार १७ गतेसम्म कायम रहेका शेयरधनीहरु सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।
अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा असार ३० गते, आइपीओ निष्काशन गर्ने प्रस्ताव
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा असार ३० गते बस्ने भएको छ । सञ्चालक समितिको असार ८ गते बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । वल्र्ड ट्रेड सेन्टर पृथ्वी हल चौथो तला, त्रिपुरश्वर काठमाडौँमा दिउँसो ४ बजे साधारण सभा हुने कम्पनीले जनाएको छ । साधारण सभामा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश हुनेछ ।