गरिमाका ग्राहकलाई मनमोहन मेमोरियल पूर्वाञ्चलमा विशेष छुट
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल विर्तामोडमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । आईतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालको तर्फबाट अस्पताल संयोजक रोमनी भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडमा बचत खाता रहेका ग्राहकहरु तथा भिजा कार्ड होल्डरहरुले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालमा उपचार गराउँदा अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, फिजियो थेरापी, पूर्ण शारीरिक परीक्षण, डेण्टल सेवालगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन् ।
स्मार्ट लाइसेन्स पुनः छपाइ गर्दा कार्यालयकाे गल्तीमा सेवाग्राहीले जरिवाना तिर्न नपर्ने
काठमाडौं । चालक अनुमतित्रपत्र छपाईमा कार्यालयकै गल्तीका कारण पुनः छपाइ गर्दासमेत सेवाग्राहीले जरिवाना तिर्दै आएकामा सो जरिवाना हटाउने तयारी भएको छ । नयाँ चालक अनुमतिपत्र वा नवीकरण गर्दा ‘स्मार्ट’ चालक अनुमतिपत्रमा फोटो वा विवरण स्पष्ट नहुँदा दिइएको प्रतिलिपिका लागि पनि चालक रकम तिर्न बाध्य थिए, यसैगरी सेवाग्राहीको गल्ती नभए पनि विगतमा पुनःछपाइ गर्दा उनीहरुसँग रकम लिने गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले बताए । उनले भने, “चालक आफ्नै कारण प्रतिलिपि लिँदाजस्तै गरेर हाम्रै कारणले प्रतिलिपि दिँदा दस्तुर लिनुहुँदैन भनेर हटाएका छौँ ।”प्रवक्ता खनालका अनुसार विभागले छपाइ चाँडो गर्न भन्दै गतवर्ष निजी कम्पनीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने जिम्मेवारी दिएको थियो । उक्त कम्पनीले रङ्गिन छपाइ गर्दा कतिपयमा सेवाग्राहीको फोटो त कतिमा नाम, ठेगाना, रक्त समूहलगायत विवरण स्प्रष्ट बुझिने थिएन । अहिले विभाग आफैँले छापिरहेकाले यी समस्या नरहेको जानकारी दिँदै उनले भने, “हामीले उक्त परिचयपत्र श्यामस्वेत नै छापिरहेकाले नबुझने समस्या छैन ।” निजी कम्पनीले चालक अनुमतिपत्र छपाइ गर्दा झण्डै १३ हजार कार्डमा समस्या भएको थियो । तीमध्ये कतिपयले प्रतिलिपि लिइसकेका छन् भने कतिपयले लिन बाँकी छ । कार्यालयले अहिले ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै नौ लाख ५४ हजार कार्ड छाप्न बाँकी छ । दैनिक झण्डै तीन हजारले चालक अनुमतिपत्रका लागि आवेदन दिइरहेका छन् । रासस
एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रालिसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसीड्यूर र फार्मेसीमा १०% छुट पाउने छन् । साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १०% छुट पाउनेछन् । एभरेष्ट बैंकको ग्राहक संख्या १० लाख भन्दा बढी रहेको र ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
एनएमबी र ओमलाई मर्जरमा जान राष्ट्र बैंकको सहमति
काठमाडौँ । एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंकले सहमति प्रदान गरेको छ । राष्ट्र बैंकको असार ८ गतेको पत्रबाट सहमति प्राप्त भएको कम्पनी सचिव प्रमोदकुमार दाहालले जनाएका छन् । यो समाचार पनि पढ्नुहोस् एनएमबि र ओम २ महिनाभित्र मर्ज भइसक्ने, डीडीएअघि ओमका शेयरधनीलाई १२ प्रतिशत बोनस
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुस्– शिक्षामन्त्री पोखरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा सोमबार मन्त्री पोखरेलले प्रभावकारी शिक्षण सिकाइ गर्न नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्न नहुने बताए । मन्त्री पोखरेलले भने, “शिक्षा क्षेत्र जागिर खाएर बस्ने ठाउँ होइन, यो सक्षम नयाँ पुस्ता बनाउने र भोलिको देश बनाउने ठाउँ हो, अबको सार्वजनिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाकोठामा प्रभावकारी शिक्षण सिकाइ गर्नुस्, पढाउन सक्दिन भन्ने लाग्छ भने ठाउँ खाली गरिदिनुस्, नयाँ पुस्ता आउँछन्” । शिक्षामा क्रान्ति र सुधार गर्दै परिवर्तन गर्ने हो भने कक्षाकोठा सिकाइ केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले विद्यार्थीको क्षमताको पहिचान गरेर शिक्षकले पढाउनुपर्ने औँल्याएका छन् । गुणस्तरहीन भयो भनी सार्वजनिक शिक्षाको निकै आलोचना भएको भन्दै उनले कमजोर विद्यार्थीको जिम्मा अब शिक्षकले लिनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले देशभर अहिले पनि करिब सात लाख शिक्षण अध्यापन अनुमतिपत्र लिएर बसेका शैक्षिक बेरोजगार भएको बताउँदै उनले शिक्षकले अधिकार मात्रै खोज्ने नभई कक्षाकोठाको सिकाइ उपलब्धि वृद्धि गर्नुपर्ने बताएका हुन् । नेपालको शिक्षा प्रणाली अझैपनि घोकन्ते विद्यामै सीमिति रहेको गुनासो गर्दै मन्त्री पोखरेलले भने, “एउटा विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मूल्याङ्कन गर्ने शिक्षा प्रणाली नै गलत छ ।” स्थानीय तहलाई खल्तीबाट शिक्षक भर्ना नगर्न आग्रह गर्दै उनले भने, “शिक्षक भर्ना गर्दा शिक्षक सेवाबाट उत्तीर्ण भएकालाई गर्नुस्, आफन्त, नातागोता र खल्तीबाट झिकेर शिक्षक भर्ना नगर्नुस् ।” देशभरका सार्वजनिक विद्यालयमा प्राविधिक शिक्षा पुर्याएर ८० प्रतिशत विद्यार्थीको हातमा सीप पुर्याउने, ३५ हजार विद्यालयमा बिरुवा रोपेर हरित विद्यालयको अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले चाँगुनारायण इञ्जिनियरिङ कलेज सरकारले लिन नसके चाँगुनारायण नगरपालिकालाई जिम्मा दिन मन्त्रीसँग माग गरेका छन् । उनले शिक्षा मन्त्रीले खुट्टा कमाउँदा यहाँका विद्यार्थी र यहाँका सम्पत्ति अलपत्र परेको भनाइ राख्दै चाँगुनारायणको सम्पत्ति नगरपालिकालाई सुम्पन आग्रह गरे । कार्यक्रममा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिकाले ‘हाम्रो चाँगुनारायण’ नामक एक सय पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी कक्षा–६, ७ र ८ मा एकै पटक लागू गरेको बताएका हुन् । चालु शैक्षिक सत्रबाट लागू गरिएको पाठ्यक्रम आगामी वर्षबाट थप परिस्कृत र परिमार्जनसहित अन्य कक्षामा समेत लागू गरिने उनले बताए । रासस
सप्तरीको बिद्यालयलाई कृषि विकास बैंकको ९ लाख सहयोग, राष्ट्रपति भण्डारीबाट सम्मानित
काठमाडौँ । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको जनता माध्यमिक बिद्यालय तरहीको हिरक जयन्ती तथा अभिभावक दिवश २०७६ असार ७ गते सम्पन्न भएको छ । कार्यक्रमलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेकी थिइन् । उक्त अवसरमा कृषि बिकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त बिद्यालयको बिभिन्न कक्षा कोठाहरुलाई शैक्षिक बाताबरण अनुकुल हुने गरी मर्मत तथा निर्माण, ६० जोडा डेस्क बेञ्च, १० वटा कक्षा कोठाको सिलिङ्ग लगाउने, २ वटा बाल मैत्री कक्षा कोठामा कार्पेटिङ्ग गर्ने तथा २ वटा ४३ ईञ्चको एलईडि टेलिभिजन र ३० थान पङ्खा लगायतका बिद्युतीय सामाग्रीहरुका लागि नौ लाख ७५ हजार रुपैयाँ बरावरको आर्थिक सहयोग गरेको छ । सोही समारोहमा शैक्षिक बिकासमा महत्वपूर्ण सहयोग पुर्याए बापत बैंकलाई राष्ट्रपति भण्डारीले सम्मान तथा प्रमाणपत्र प्रदान गरिन् । कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त सम्मान तथा प्रमाणपत्र ग्रहण गरेका हुन् । उक्त कार्यक्रमलाई बिशिष्ट अतिथिको रुपमा नेपाल सरकारका उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र अतिथिको रुपमा प्रदेश नं. २ का मुख्यमन्त्रि मोहम्मद लालबाबु राउत, राजपा सांसद चन्द्रकान्त चौधरीले समेत कृषि विकास बैंकले उपलव्ध गराएको सहयोगको सराहना गर्दै शुभकामना व्यक्त गरेका थिए । सम्मान कार्यक्रमको समापनपछि कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकको क्षेत्रीय कार्यालय राजबिराज तथा अन्तर्गतको शाखा कार्यालय बोदेबर्साईनबाट आयमूलक कार्यक्रमका लागि नेपाल सरकारको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत सञ्चालन भएको बिनाधितोको अनुदानमूलक कर्जा कार्यक्रमा सम्बद्ध बिभिन्न महिला समूहहरुसंग अन्तरकृया समेत गरेका थिए ।
मौद्रिक नीतिमार्फत् ठूला बैंकलाई पनि मर्जरमा दबाब दिने गभर्नरको संकेत
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीतिमार्फत् ठूला बैंकलाई पनि मर्जरमा जान बाध्य पार्ने कार्यक्रम ल्याउने संकेत गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर नेपालले बैंकहरुबीचको मर्जरलाई ‘लभ’ र ‘बिहे’सँग तुलना गर्दै मौद्रिक नीतिपछि बैंकहरु मर्जरमा जानुपर्ने भएकोले अहिलेदेखि नै त्यसको तयारी (लभ) गर्न भन्दै घुमाउरो पाराले ठूला बैंकहरुलाई समेत मर्जर जान दबाब दिनेगरी व्यवस्था गर्ने संकेत गरेका हुन् । गभर्नर नेपालले यस कार्यक्रममा यसअघि लघुवित्त कम्पनीहरुको मर्जरको बारेमा दिएजस्तो कडा अभिव्यक्ति त दिएनन् तर बैंकहरुलाई दश बर्षदेखि लभ गर्ने समय भएको र त्याे समय मौद्रिक नीतिसम्म मात्रै हुने भन्दै त्यसपछि कुनै न कुनै रुपमा मर्जरमा जान बाध्य पार्ने संकेत गरेका छन् । बजेटमै बैंकहरुको मर्जरबारे व्यवस्था भएपछि उत्साहित भएका गभर्नर नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट्नुको कुनै अर्थ नहुने भन्दै उद्योगीहरुलाई संकेत गर्दै घुमाउरो चेतावनी समेत दिएका छन् । यसअघि प्रधानमन्त्री र अर्थमत्री भेटेर ब्याजदर घटाउन दिएकाे दबाबजस्तै प्रयास नगर्न उनले चेतावनी दिएका हुन् । त्यस्तै, गभर्नर नेपालले बैंक सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालककाे याेग्यता संशाेधन गर्दै अधिकतम उमेरहद ताेक्ने संकेत समेत गरेका छन् । एक विश्लेषकले गभर्नरको यो भनाईलाई ‘मर्जरको लागि बैंकहरुलाई नैतिक दवाव’को अथ्र्याएका छन् । ‘गभर्नरको अभिव्यक्तिले बैंकहरुको संख्या नै तोकेर मर्जरमा जान निर्देशन दिने संकेत त गर्दैन तर बैंकहरु मर्जरमा गइदिए राम्रो हुन्थ्यो भन्ने आशय चाहिँ व्यक्त गर्छ’, कार्यक्रममै सहभागी ती विश्लेषकले भने – ‘उद्योगीहरुलाई बैंकिङ क्षेत्रबाट अलग गर्ने टुल्सको प्रयोग गरेर बैंकहरुलाई मर्जरको बाटोमा लैजानेगरी मौद्रिक नीतिले व्यवस्था गर्ने सम्भावना गभर्नरसा’बकाे भनाइले देखाउँछ ।’ विगतदेखि नै मर्जरकाे पक्षमा वकालत गर्दै आएका गभर्नर नेपालले आफ्नाे कार्यकालकाे अन्तिम माैद्रिक नीतिलाई आफ्नाे एजेन्डा स्थापित गराउने दिशामा बढि केन्द्रित गर्ने सम्भावना रहेकाेले पनि साे सम्भावना रहेकाे उनले बताए ।
प्रिमियर इन्स्योरेन्सको प्रिमियम बुझाउन अब कार्यालय धाउनु नपर्ने, खल्तीबाट सिधै भुक्तानी
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । सो सम्झौता पश्चातग्राहकले नेपालभर कुनैपनि ठाउँबाट खल्तीमार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् ।