चियाको राजधानीमै ५२ चिया उद्योग बन्द हुँदै, असार १२ देखि बन्द गर्ने निर्णय
पशुपतिनगर । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो । गत वर्ष चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ बनाएर नगरपालिकाले न्यूनतम हरियोपत्तीको मूल्य प्रतिकिलो रु ४० कायम गरेको थियो । तर उद्योगीले अहिलेको ‘सिजन’मा उत्पादन भएको चियापत्तीमा गुणस्तरअनुसार तोकेको मूल्य दिन नसक्ने जनाएका छन् । एशोसिएसनले नगरपालिकालाई पत्र पठाएर असार १२ गतेदेखि कारखाना बन्द गर्ने घोषणा गरेको छ । उद्योगीले यसअघि हरियो चियापत्तीको गुणस्तरका आधारमा मूल्य दिँदै आएका थिए । यसपटकदेखि उद्योगीसँग कुनै छलफल नगरी नगरपालिकाले एकलौटी ढङ्गले दरभाउ तोकेको भन्दै विरोधस्वरुप उद्योग बन्द गर्नुपरेको कार्यवाहक अध्यक्ष डिल्लीराम श्रेष्ठले बताए । सरकारले चिया उद्योगीको पीर मर्कालाई कहिल्यै नबुझेको, राज्यले सेवासुविधा दिनुपर्नेमा उल्टै दरभाउ तोकिँदा उद्योगी धराशायी बन्न पुगेको उल्लेख गर्दै पत्रमा एशोसिएसनले यस सम्बन्धमा नगरपालिकाले पनि सम्बोधन गर्नुपर्ने माग गरेको छ । रासस
अष्ट्रेलियामा ७.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस
ईन्डोनेसिया। ईन्डोनेसियामा गएको ठुलो भुकम्पको धक्का अष्ट्रेलियाको उत्तरी क्षेत्रमा पनि पर्न गएको छ। अमेरिकी जिओग्राफिकल सर्वेका अनुसार ईन्डोनेसियाको तानिम्बार टापुको नजिकै ७.३ रेकटर स्केलको भुकम्प गएको हो। सर्वेका अनुसार भुकम्पको गहिराई २०८ किलोमिटर रहेको थियो। उक्त क्षेत्रभन्दा ७२० किलोमिटर टाढा रहेको अष्ट्रेलियाको डार्विण भन्ने ठाउँका बासिन्दाहरुले भुकम्पको धक्क धेरै मिनेटसम्म महसुस भएको थियो। तर अष्ट्रेलियालाई कुनै पनि सुनामीको खतरा भने नभएको त्यहाँका मौसम विभागले जनाएको छ। ( सिएनएन )
सिटिजन्स म्युचुअल फण्ड-२ मा ५५ करोड ९९ लाख संकलन
काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तरगतको दोश्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड-२ मा ५५ करोड ९९ लाख ५५ हजार ३ सय रुपैयाँ संकलन भएको छ । रु. १० अंकित दरको १० करोड इकाई निष्काशन गरिएकोमा १६ हजार ४ सय २६ वटा दरखास्त फारम बराबर उक्त रकम संकलन भएको हो । सिटिजन्स म्युचुअल फण्ड–२ को जेठ ९ गतेदेखि इकाई निष्काशन तथा बिक्री खुला गरिएकोमा असार ८ गते सो इकाईका लागि आवदेन लिने/दिने कार्य बन्द गरिएको निष्काशन तथा बिक्री प्रबन्धक सिबिआइएल क्यापिटल लिमिटेडले जनाएको छ ।
एउटै गाउँमा ४२ टन मह उत्पादन
काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ । जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ । थाकलटार मौरीपालन, तरकारी र च्याउ उत्पादन बहुउद्देश्यीय कृषक समूहका सचिव धर्मराज लामाका अनुसार एक परिवारले २० देखि तीन सय घारसम्म मौरी पालेका छन् । त्यहाँ चिउरीको मह उत्पादन हुने भएकाले डाबर नेपाल, पतञ्जलि र स्थानीय व्यवसायीले त्यहाँको मह उठाउने गर्दछन् । मौरी पालेसँगै धेरैको जीवनस्तर उकासिएको संस्थाका अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिए । उनका अनुसार ५० घार मौरी पाल्नेले वर्षमा रु दुईदेखि तीन लाख आम्दानी गर्ने गरेका छन् । कृषकलाई मौरी पाल्न विभिन्न संस्थाले सहयोग समेत गर्दै आएका छन् । कृषकले यस वर्ष रु २५० प्रति किलोमा मह बिक्री गरेको जनाएका छन् । हालै मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण मौरी जोन, हरियो वन कार्यक्रम र डाबर नेपालको सहयोगमा गाउँमा मह सङ्कलन केन्द्रसमेत स्थापना गरिएको छ । केन्द्र भवन निर्माण गर्न मौरी जोनले रु १० लाख, हरियो वन कार्यक्रमले रु १० लाख १२ हजार र डाबर नेपालले रु दुई लाख ४० हजार सहयोग गरेका छन् । किसानको मह सङ्कलन गरेर सोही ठाउँमा राखिने अध्यक्ष मोक्तानले जानकारी दिएका छन् । वि.सं २०६० पछि स्थानीयवासीले त्यहाँ मौरी पाल्न शुरु गरेका हुन् । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले स्थानीय मौरीपालनमा लागेपछि जीवनस्तरमा सुधार आएको जानकारी दिए । यसले ग्रामीण क्षेत्रबाट शहर पस्नेहरुलाई रोकेको उनको भनाइ छ । मौरीबाट आम्दानी गर्न थालेपछि स्थानीय तरकारी र पशुपालनतर्फ पनि केन्द्रीत हुन थालेका छन् । मौरीपालक सङ्घ चितवनका अध्यक्ष रोशन पण्डितले जिल्लामा एक वर्षमा पाँच सयदेखि छ सय टनसम्म मह उत्पादन हुने बताए । ग्रामीण बस्ती थाकलटार मौरीको पकेट क्षेत्र रहेको भन्दै उनले चिउरीको महका लागि सो क्षेत्र प्रख्यात रहेको जानकारी दिएका हुन् । रासस
एनसीसी बैंक र आइएमईबीच डिजिटल वालेट सेवा प्रदान सम्बन्धी सम्झौता
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी बैंक) र आइएमई डिजिटल सोलुसनको आइएमइ पे बीच डिजिटल वालेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीचका सहमति पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र आइएमइ पे का तर्फबाट संचालक खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौतापछि एनसीसी बैंकका ग्राहकहरुले इन्टरनेट बैकिङ तथा मोबाइल बैंकिङद्वारा आफ्नो खातामा रहेको रकम खल्तिमा लोड गरी मोबाइल टप अफ, एयर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महशुल भुक्तानी, सिनेमा, टिकट भुक्तानी जस्ता बिभिन्न अन्य सुबिधाहरु प्राप्त गर्न सक्ने छन् । बैंकले आफ्ना १२० शाखाहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै देशभर ८१ एटीएमहरु सञ्चालनमा रहेको जनाएको छ ।
नुवाकाेटका आर.बि.लामा गायनमा सक्रिय, पछिल्लाे समय ‘सीमसीम लाबा’ भिडियो सार्वजनिक
काठमाडौं । नुवाकोट किमताङ्गमा स्थाई घर भई साउदी अरबलाई कर्मथलो बनाएका आर.बि.लामाको ‘सीमसीम लाबा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा स्वर आर.बि.लामा र मिना लामाको स्वरमा रहेको सो गीतको शब्द/संगीत, राजु खडकाको रहेको छ । गायक लामा पछिल्लो समय आफ्नो भाषा तथा सांस्कृतिको जगेर्ना गर्दै गीत संगीतको क्षेत्रमा आफुलाई स्थापित गर्न लागि परेका छन् । सन्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियोमा रन्जिता लामा, म्हेन्दामायाका चर्चित मोडेल याङछु तामाङ्गको अभिनय रहेको छ । तामाङ्ग भाषाका विभिन्न ८ वटा र नेपाली भाषाका ३ वटा गीतहरु रेकर्ड गरिसकेका गायक लामाले ३ वटा तामाङ्ग भाषाका गीतमात्र सार्वजनिक गरेका हुन् । गीतहरुबाट सोचे भन्दा बढीनै सकारात्मक प्रतिक्रिया पाएकोले पनि यस क्षेत्रमा लाग्न अझ उत्साह मिलेको उनले बताए। सार्वजनिक भएका गीतमा सीमसीम लाबा, किम्ताङ्ग स्योङ, कोशिङ रो रो गीतहरु तामाङ्ग भाषीहरुका बीच अत्यधिक लोकप्रिय छन् । सर्वप्रथम रिलिज भएको गीत सीमसीम लाबा अरु सबै गीतभन्दा पनि उत्कृष्ट रहेको र युवा अवस्थामा रसरंगमा रमाउने प्रेमजोडीहरुका प्रेममय भावहरुका विचमा रहेका परिघटनामा आधारित गीत भएकोले पनि यो गीतको लोकप्रियता चुलिएको छ भन्ने बुझाइ रहेको छ। भिडियो हेर्न क्लिक गर्नुहोस् ।
भारतीय सडकका कारण बाँकेको सीमावर्ती क्षेत्रमा सयौँ नेपालीका घर डुबानमा
काठमाडौं । बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताएका छन् । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् भने सय भन्दा बढी घर डुबेको र झण्डै एक दर्जन घर भत्किएको अध्यक्ष शाहले जानकारी दिए । वर्षात्ले निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पुर्याएको छ । पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको छ । गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । घरहरुमा पानी पसेपछि गाउँपालिका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ । अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । यसरी, बाँकेमा आइतबार १६० दशमलव आठ मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालय राँझाका निमित्त फिल्ड इञ्चार्ज पहलबहादुर विश्वकर्माले जानकारी दिएका छन् । यसरी, अविरल वर्षाले नेपालगञ्जको मुख्यबजार क्षेत्र घरबारीटोल, गणेशपुर क्षेत्र, बसपार्क लगायतका बजार क्षेत्र डुबानमा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले डुबानबाट जनधनको क्षति नभए पनि जनजीवन प्रभावित भएको बताए । रासस
डेंगुको प्रकोप बढ्दै छ, यसबाट बच्न वातावरणीय सरसफाईमा ध्यान दिन जरुरी: डा. अनुप बास्तोला
काठमाडौं। डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यसको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। पछील्लो केही हप्ता देखी पुर्वको तराई क्षेत्र धरान, ईटहरीमा डेंगु महामारीको रुपमा फैलिएको छ। डेंगु पोजिटिभ देखिएको बिरामीको संख्या दिनप्रति बढ्दो छ र यसको जाँचको लागि स्वास्थ्य सेवा विभाग र शुक्रराज ट्रपिकल अस्पतालको बिशेषज्ञ टोली उक्त स्थान प्रस्थान गरिसकेको छ। सरकारले यस बर्ष सरुवा रोग नियन्त्रणको लागि कुल ४२ करोड ५२ लाख छुट्टाएको छ जसमा डेङु नियन्त्रणको लागि मात्र १ करोड ६६ लाख छुट्टाएको छ। जनमानसमा चेतनाको कमी भएको कारण यो रोगले अहिले आएर माहमारीको रुप लिईसकेको छ यधापी कसैको मृत्यु भने भएको छैन तर हुँदैन भन्न पनि सकिन्न। काठमाडौंमा डेंगु देखिने सम्भावना शुक्रराज ट्रपिकल अस्पतालका डा. अनुप बास्तोलाको अनुसार काठमाडौं पनि डेंगु देखिने सम्भावना बढी भएको बताउँछन्। काठमाडौंमा एजिप्टाई जातको पोथी लामखुट्टे भएको र यसले बिशेष गरेर बर्षायाममा फुल पार्ने र त्यो फुल बनिसकेपछी संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने सम्भावना भएको बताउँछन्। यधापी अहिलेकोबर्ष भने डेंगुका त्यस्तो बिरामो नआएको उनको दाबी छ। उनी भन्छन्,’हामीसँग भेक्टर छ र भेक्टरको गतिविधीले अहिल्को मौसममा डेंगु लाग्ने सम्भावना कति छ भन्ने कुरा बताउँछ र अहिलेसम्म त्यस्तो केही पनि देखिएको छैन। तापक्रमको हिसाबले हेर्ने हो भने काठमाडौंको हालको तापक्रम २८ देखी ३२ डिग्री सेल्सियस भित्र रहेको छ। यो तापक्रम एक लाम्खुट्टेको लागि एकदमै राम्रो व्रिद्दिबिकास हुने अवस्था हो।’ ‘यधापी अहिले सम्मको लागि काठमाडौंमा भने डेंगुको माहामारी हुने अवस्था भने छैन तर भबिस्यामा नहोला भन्न सकिन्न।’ डेंगुको यस बर्ष र पछील्लो बर्षको अवस्था ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको असार २ गतेको डाटाको अनुसार ६०४ जना डेंगुको बिरामी धरान, सुनसरी, मोरङ र ईटहरीमा पाईएको थियो जसमा धरानको बिपी कोइराला मेमोरियल अस्पतालबाट ५०५ जना मानिसमा डेंगु पोजिटिभ देखिएको थियो। त्यसमा पनि डेंगु लागेका मुख्य मानिसहरु धरान उपमहानगरपालिकाको वडा नं ८ र १५ का रहेका छन्। पछिल्लो बर्ष धरानमा ८ जना डेंगुका बिरामी देखिएका थिए। महाशाखाको अनुसार २०७५ सालमा काठमाडौंको ठुलोभर्याङबाट १६ जना डेंगुका बिरामी भेट्टाईएको थियो। २०७४ मा भने यो १ जना मानिसमा मात्र देखिएको थियो। कुन समयमा लामखुट्टे बढी सकृय हुन्छन्? लामखुट्टेहरु बिशेष गरेर दिउँसोको समयमा सकृया हुन्छन्। अझै दसैंको समयमा यो बढी सकृया हुने गर्दछ। उक्त समयमा लामखुट्टेको अण्डाहरु पानीसँग बगेर ठाउँठाउमा पुग्ने, मानिसहरु अत्याधिक आवतजावत गर्ने समय भएको कारण मानिसहरुबाट सर्ने गर्दछ। कसरी लाग्छ डेंगु ? कुनै पनि क्षेत्रमा डेंगु देखिनको लागि उक्त क्षेत्रमा संक्रमित लामखुट्टे हुन जरुरी छ। जब ति संक्रमित लामखुट्टेले फुल पार्छ त्यसमा भएको डेंगुको संक्रमण बच्चामा सर्न गई मानिसलाई टोकेको खण्डमा सर्न जान्छ। । साथै यदी कोही संक्रमित मानिस आवातजावत गर्छ र उसलाई आवतजावतको क्रममा कुनै लामखुट्टेले टोकेको अवस्थामा उक्त लामखुट्टे संक्रमित भई अन्तत अन्य लामखुट्टेमा उनको संक्रमण सर्न जान्छ। एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो प्रजातिका लामखुट्टेले मुख्यत सफा जमेको पानिमा अण्डा पार्दछ र दिउँसोको समयमा मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातीका लामखुट्टेमा पाइदैन। लक्षण डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ । – असाध्यै टाउको दुख्ने – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने – ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने – शरीरमा विमिरा आउने – वाकवाकी लाग्ने – पेट दुख्ने – नाक वा गिजाबाट रगत बग्ने – रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ । कसरी बच्ने ? – पानी जमेको ठाँउमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्ने – ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बग्ने बगाउने। यसले लामखुट्टेको प्रजननमा बाधा पुर्याई नियन्त्रण गर्न सजिलो बनाउँछ। – जुनै समयमा पनि सुत्दा अनिवार्य झुल प्रयोग गर्ने, बजारमा अहिले झुलमा पर्नेबितिकै लामखुट्टे मर्ने झुल पाइन्छ, यसको प्रयोग गर्ने – घरका झ्याल–ढोकामा लामखुट्टे भित्र जान नदिन जाली प्रयोग गर्न – लामखुट्टेको टोकाइबाट बच्न पाइने क्रिमको प्रयोग गर्ने, सुत्ने वेलामा जिउमा क्रिम लगाएर बिहान नुहाउने – घर बाहिर जाँदा लामो बाहुला भएको कपडाको प्रयोग गर्ने ( सरुवा रोग बिशेषज्ञ अनुप बास्तोलासँगको कुराकानीमा आधारित )