विकासन्युज

अण्डाको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौँ । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७० कायम गरिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट रु २०० र मध्यम अण्डाको प्रति क्रेट रु ११५ पाउँदै आएका थिए । सङ्घका अध्यक्ष कँडेलले बजारमा अण्डाको भण्डार कम भएपछि मूल्य वृद्धि गरिएको बताए । जिल्लामा लामो समयदेखि मागभन्दा बढी अण्डा उत्पादन भएपछि भाउ घटेको थियो । अण्डाको भाउमा गिरावट आएसँगै लेर्यस कुखरापालकहरु लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्दै आइरहेका थिए । कँडेलका अनुसार प्रति अण्डाको लागत मूल्य रु १० पर्न जान्छ तर कृषकले रु सातमा वितरकलाई बिक्री गर्दै आएका थिए । यो अण्डा बजारमा एउटाको रु १५ मा पाइन्छ । नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा सङ्लग्न छन् । देशमा कुखुरापालन व्यवसायमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । यो व्यवसायमा ७० अर्बभन्दा बढी लगानी रहेको छ । रासस

थाई एयर एशिया बैंकक-काठमाडौँ उडानको पहल गर्दै, प्राधिकरणमा दियो निवेदन

काठमाडौँ । एयर एशिया ग्रुपअन्तर्गतको वायु सेवा प्रदायक कम्पनी थाई एयर एशियाले बैंकक–काठमाडौँ गन्तव्यमा उडान विस्तार गर्न पहल थालेको छ । थाई एयर एशियाले नेपाल उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिएको हो । बैंकक–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने इच्छा जनाउँदै थाई एयर एशियाले हालै निवेदन दिएको र सम्पूर्ण कागजातबारे अध्ययन भइरहेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । “थाई एयर एशियाले काठमाडौँ उडान गर्ने योजना अनुरुप प्राधिकरण समक्ष निवेदन दिएको छ । उसको एयर एशिया एक्ससँगको सम्बन्ध, अन्तर्राष्ट्रिय उडानका मापदण्ड पूरा गरेको छकी छैन यो सबै विस्तृत अध्ययन गरेपछि मात्र उडान अनुमति दिइन्छ । अहिले कम्पनीले पेश गरेको कागजातको अध्ययन प्रक्रियामा छ”, उनले भने । प्रारम्भिक काजजात बुझाएको छ । सबै प्रक्रिया पूरा गरेको भए दुई महीनाभित्र उडान अनुमति पाउने प्राधिकरणले जनाएको छ । थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज र निजी क्षेत्रको थाई लाइन एयरले बैंकक–काठमाडौँ गन्तव्यमा सातामा समान सात उडान गर्दै आएका छन् । नेपालबाट राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बैंकक सातमा तीन उडान गर्दै आएको छ । अहिले नेपाल आउन चाहेको थाई एयर एशिया पनि निजी क्षेत्रको संयुक्त लगानीको कम्पनी रहेको छ । बैंकक मुख्यालय रहेको यो कम्पनी मलेसियाको एयर एशियासँग ‘ज्वाइन्ट भेन्चर’ को रुपमा रहेको छ । यसको एयर एशिया एक्ससँगको सम्बन्धका बारेमा नेपालले अध्ययन गरिरहेको छ । एयर एशियाले क्यानलाई करोडौँ बक्यौता नतिरी काठमाडौँ उडान केही महिना अगाडि बन्द गरेको थियो । प्राधिकरणको व्यवस्था बमोजिम नयाँ वायु सेवा प्रदायक कम्पनीले उडान अनुमतिका लागि बुझाउनुपर्ने सम्पूर्ण कागजात विस्तृत अध्ययन गरेपछि मात्र प्राधिकरणले उडान अनुमति दिन्छ । थाई एयर एशियाको मलेसियाको एयर एशिया एक्ससँगको सम्बन्ध भए नभएको पनि अध्ययन भइरहेको क्यानले जनाएको छ । यदि उक्त कम्पनीसँगको संयुक्त लगानी रहेमा एयर एशियाको बाँकी बक्यौता तिरिदिने सम्झौता भएको खण्डमा थाई एयर एशियालाई उडान अनुमति दिन सकिने क्यानले जनाएको छ । त्यतिमात्र नभई थाई एयर एशियाको सञ्चालन, व्यवस्थापन सुरक्षा र नेपालको कानूनसँग सञ्चालन योग्य हुन्छ की हुँदैन यो सबै हेरेर मात्र उडान अनुमति पाउनेछ । कम्पनीका कागजात नेपाली पाइलट र इञ्जिनियरले अध्ययन गरेर उडान योग्य भएको सिफारिस गरेपछि मात्र प्राधिकरणले अनुमति दिने बताइएको छ । नेपालमा उडान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मूल्याङ्कनका लागि पनि थाई एयर एशियाले प्राधिकरणलाई पत्र पठाएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार थाई एयर एशियाले विमानस्थलको सुरक्षा मूल्याङ्कनका लागि पत्र पठाएको छ । उक्त कम्पनीको टोलीले नेपालमा उडान गर्नुअघि विमानस्थलको सुरक्षा मूल्याङ्कन गर्न पाँच वटा पास पनि मागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल तीन नेपालीसहित २८ वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । रासस

आज धान दिवस, असार १५ दही च्यूरा खाने पर्वका रुपमा पनि मनाइदै

काठमाडौँ । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ । रासस

काठमाडौँको बार अध्यक्षमा घिमिरे, पूरै प्यानल लोकतान्त्रिक समूहले जित्यो

काठमाडौँ । काठमाडौँ अदालत जिल्ला बार एकाइको अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार जगदीश घिमिरे विजयी भएका छन् । नयाँ नेतृत्वका लागि सम्पन्न भएको मतदानमा अध्यक्षका उम्मेदवार घिमिरेले एक हजार तीन मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रगतिशील समूहका उम्मेदवार कुमार आचार्यले ११० मत प्राप्त गरेको काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए । अध्यक्षसहित पूरै प्यानल नै लोकतान्त्रिक समूहका उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा सुवोधबाबु चिलुवाल, सचिवमा दमनकुमार चन्द, सहसचिवमा लक्ष्मी सापकोटा (निर्विरोध), कोषाध्यक्षमा विश्वास आचार्य विजयी भएका छन् । महिला सदस्यमा अञ्जना अर्याल र प्रमिला कायस्था निर्विरोध, खुला सदस्यमा अञ्जन धिताल, दिवाकरराज पाण्डे, ज्ञानेन्द्रप्रसाद दाहाल, राजुकुमार अधिकारी, जयबहादुर भुजेल (गणेश), विनु श्रेष्ठ, विश्वरमण सिंह, विष्णुप्रसाद ढकाल, वीरेन्द्र पाठक, वासुदेव रिजाल, डा शिवकुमार यादव र दीपेन्द्र अधिकारी विजयी भएका छन् । नेपालकै सबैभन्दा धेरै दुई हजार ६०८ मतदाता रहेको सो बारमा एक हजार १९८ मत मात्र खसेको थियो ।

कामना सेवाको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न, ९ प्रतिशत बोनस पास

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारणसभा असार १४ गते काठमाडौं सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत बोनस सेयर दिने बैंकको प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४/०७५को वासलात, नाफा/नोक्सान हिसाब, नगदप्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७५/७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावीकार्य योजना समेत प्रस्तुत गरेका थिए । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दे यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापति गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

भीम रावलले गरे आईफा अवार्डको बिरोध, उद्योगी पनि अचम्मित !

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भिम रावलले आईफा अवार्डको विरोध गरेका छन् । उनले भारतीय चलचित्र अवार्डको बिरोध गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आइफा अवार्डमा काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैंयाँ उपलब्ध गराउने कुराको बिरोध गरेका हुन् । नेपालले एक अर्ब खचृ गरेर भारतीय चलचित्र अवार्डको आयोजना हुनु गम्भिर बिषय भएको पनि बताएका छन् । रावलले यस्तो निर्णय कस्को उक्साटमा भएको हो भनी प्रश्न समेत गरेका छन् । रावलले स्थायी कमिटी बैठक मार्फत थप जानकारी प्राप्त हुने आसा समेत गरेका छन् । उनी मात्रै होइन, उद्योगी उमेशलाल श्रेष्ठले पनि आईफा अवार्डमा नेपाल सरकारले लगानी गर्ने कुुराको बिरोध गरेका छन् । श्रेष्ठले आईफा अवार्ड नेपालमा हुनु राम्रो भए पनि सरकारले रकम उपलब्ध गराउनु भने उपयुक्त नभएको धारणा फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।सरकारले केहि दिन अघि मात्रै पर्यटन बोर्डको नेतृत्वमा काठमाडौं महानगरपालिका सहय आयोजक हुने गरि आईफा अवार्ड गर्ने निर्णय गरेको थियो ।

काठमाडौंमा असार १५ र १६ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुँदै

काठमाडौं । सरकारले काठमाडौंमा असार १५ र १६ गते ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६’ गर्ने भएको छ । दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा हुने सो सम्मेलनको उद्घाट्न प्रधानमन्त्री केपी ओलीले गर्ने तथा कार्यक्रम दुई ढाँचामा हुने जनाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा जनशक्ति उत्पादन गरेको अवस्थामा बाह्य शक्ति कसरी हटाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भई रोजगार प्रवद्र्धन तथा युवालाई जोड्न सरकारले कस्तो खालको नीति नियम बनाउन पर्छ भन्ने विषयलाई ध्यानमा राखि उक्त सम्मेलन हुन लागेको बताए । उनले भने ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले नयाँ आयाम थपेको छ, एक वर्षको अवधिमा ५५ भन्दा बढी रोजगार प्रवद्र्धनको प्रक्रिया तयार गरेको गर्नुका साथै हाल साढे पाँच हजार भन्दाढी स्थानमा साढे पाँच हजार बढी कार्यक्रममा भईरहेको छ ।’ ‘रोजगारका लागि सिपको विकास’ भन्ने नाराका साथ हुने उक्त कार्यक्रममा नेपालमा रोजगारीको सम्भावना, हालको अवस्था, आगामी दिनमा यस क्षेत्रमा चाल्नु पर्ने कदम तथा श्रम बजारको अवस्थाका साथै मागलाई मध्यनजर गरिने मन्त्री विष्टले बताए । प्राविधिक सत्रमा र सीप तथा उद्यमको प्रदर्शनी क्षेत्रमा ५० जना विषय गत विज्ञको टोलीले कार्यक्रममा छलफल गर्नेछन् । निर्माण, घरेलु तथा साना उद्योग, सूचना प्रविधि क्षेत्र भईरहेको गतिविधि र आगामी दिनमा श्रमको व्यवस्थापन, रोजगारीको सम्भावना, चुनौती तथा आगामी दिनमा चाल्नु पर्ने कदमका बारे छलफल हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । केन्द्रिय तथ्याङ्ग विभागको अनुसार हाल नेपालमा ११.६ प्रतिशत बेरोजगार, ३० प्रतिशत अर्ध बेरोजगार र बाँकी ३८.५ प्रतिशत श्रममा सहभागिता दर रहेको छ । श्रम र रोजगारीका नवीनतम र सृजनात्मक भाग उजागर गरी यस क्षेत्रको विकासद्धारा गतिशिल अर्थतन्त्रको निर्माण गरी समग्र समृद्धिमा योगदान पुर्याउने उद्देश्यले मन्त्रालयले उक्त सम्मेलनको आयोजना गरेको हो । ३ सय ५० जना भन्दा बढी आमन्त्रण गरिएको उक्त कार्यक्रमको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, संसदीय समितिका पदाधिकारी, राजनीतिक दल, विषयगत मन्त्रालयका उच्च पदाधिकारी, उद्यमी, रोजगारदाता उपस्थितिमा रहनेछ, भने सय भन्दा बढी विभिन्न क्षेत्र तथा विधाबाट प्रतिनिधि सुनिश्चित हुने गरि सहभागिता गराउने लक्ष्य रहेको जानकारी गराएका छन् ।

अनिल शाहको व्यङ्ग्य, ‘१५ दिनमा बिहे गर्नुपर्छ, लभ गर्न हिँडें’

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आफूहरुले १५ दिनपछि बिहे गर्नुपर्ने भन्दै लभ गर्न हतारो भएको भन्दै गभर्नरप्रति व्यङ्ग्य गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीतिपछि बिहे गर्नुपर्ने भन्दै त्योभन्दा अघि लभ गर्न बैंकहरुलाई निर्देशन दिएका थिए । शुक्रबार नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा सामाजिक सुरक्षा कार्यक्रममा बैंकको सहभागितामा देखिएको अन्यौलबारे बोल्दै शाहले राष्ट्र बैंक र सरकारले दिएको निर्देशन मान्न आफूहरु बाध्य हुने भन्दै सरकारले बैंक तथा वित्तीय संस्थालाई पत्र लेख्नुअघि नै त्यसो सम्बोधन गर्न पहल गर्न भनेका हुन् । ‘सरकारले दिएको निर्देशनलाई हामी कुनै पनि अवस्थामा नमान्न सक्दैनौं, लभ गर्न ७ दिनको समय छ, १५ दिनभित्र बिहे गर्नुपर्छ, म त लभ गर्न हिँडें’ शाहले भने । सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थाअनुसार बैंकका कर्मचारीहरु सो कार्यक्रममा जाँदा हाल पाउँदै आएको सेवासुविधा समेत कटौती हुने अवस्था आएपछि कर्मचारीहरुमा सो कार्यक्रममा जाने कि नजाने भन्ने बारेमा अन्यौलता उत्पन्न भएको छ । बाध्यकारी मानिएको सो कार्यक्रमले हाल बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको स्वायत्त कोषहरुलाई समेत कोषको दायरामा लैजाने व्यवस्था गरेको छ । यसले गर्दा कर्मचारीहरुले पाइसकेको सुविधा समेत गुम्नसक्ने डर कर्मचारीहरुमा छ ।