विकासन्युज

सगरमाथा इन्स्योरेन्सको साधारण सभाले पारित गर्यो ८६ प्रतिशत बोनश सेयर दिने प्रस्ताव

काठमाडौ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८६ प्रतिशत बोनश सेयर दिने भएको छ । शुक्रबार सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट बोनश सेयर दिने प्रस्ताव पारित भएको हो । उक्त ईन्स्योरेन्स कम्पनीले ८० भन्दा बढी शाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले फायर इन्स्योरेन्स, मोटर इन्स्योरेन्स, म्यारिन इन्स्योरेन्स, एभियसन इन्स्योरेन्स, माईक्रो इन्स्योरेन्स, ईन्जिनियरिङ इन्स्योरेन्स, मनी इन्स्योरेन्स शीर्षकमा बीमा गराउँदै आएको छ । यस्तै, लायबलिटी इन्स्योरेन्स, एक्सीडेन्टल इन्स्योरेन्स, मिस्चीलिनिअस इन्स्योरेन्स, बैंकर्स ब्लाङ्केट इन्स्योरेन्स, हाउस होल्ड पोलिसी, थेप्फट बल्गरी इन्स्योरेन्स र ट्राभल मेडिकल इन्स्योरेन्स शीर्षकमापनि कम्पनीले बीमा सेवा दिँदै आएको छ । कम्पनीको १ करोड १२ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छ । बिहीबार बजार बन्द हुँदा सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रति कित्ता ६ सय १३ रुपैयाँ छ । कम्पनीका संचालक समिति अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा सम्पन्न भएको वार्षिक सधारण सभामासोही कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायत सञ्चालकहरुको उपस्थिति थियो ।

उद्योग क्षेत्रमा विदेशी लगानी ६८ प्रतिशतले घट्यो, किन आकर्षित भएनन् लगानीकर्ता ?

काठमाडौं । पछिल्लो समय नेपालमा उद्योग क्षेत्रमा हुने लगानी खस्किँदै गएको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा विदेशी लगानीको अवस्था निराशाजनक छ । उद्योग विभागको तथ्याङ अनुसार अघिल्लो वर्षको ११ महिनाको तुलनामा विदेशी लगानी पछिल्लो ११ महिनामा ३६ अर्बले लगानी घटेको छ । गत वर्षको तुलनामा यस वर्ष उद्योग क्षेत्रमा विदेशी लगानी झण्डै ६८ प्रतिशतले घटेको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७४/७५ को असारसम्ममा उद्योग क्षेत्रमा विदेशी लगानी ५२ अर्ब करोड ८७ लाग ८० लाख रुपैयाँ भित्रिएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा यो लगानी घटेर २७ अर्ब ७९ करोड ३० लाख रुपैयाँमा झरेको छ । गत वर्षको तुलनामा यस वर्ष विदेशी लगानीका उद्योग दर्ताको संख्यापनि १४ दशमलव ६६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७४/७५ को असारसम्ममा ३४१ उद्योग दर्ता भएका थिए भने सोही अवधिमा चालू आर्थिक वर्षमा २९१ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागमा विदेशी लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवामूलक तथा पर्यटन उद्योगमा बढी आकर्षण देखिन्छ । चालू आर्थिक वर्षको असार १३ गतेसम्मको तथ्यांकनुसार विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगमा सबैभन्दा धेरै पर्यटन र सेवामूलक छन् । विभागमा दर्ता विदेशी लगानीका २९१ उद्योगमध्ये पर्यटन उद्योगका ९९ वटा दर्ता छन् । सेवामूलक उद्योग भने ९४ वटा दर्ता भएका छन् । यसैगरी, उत्पादनमूलक उद्योग ५८ वटा, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा २३ वटा, कृषिजन्यमा १५ वटा र खनिजमा २ वटा उद्योग दर्ता भएका छन् । पछिल्लो समय उद्योग व्यवसायमा लगानी घटेको सम्बन्धमा उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने-‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन(फिटा) निर्माण हुन २ महिना लाग्यो र सो समयमा विदेशी लगानी स्विकृती नभएकाले पनि नेपालमा आउने लगानीमा कमी देखिएको हो ।’ अहिले १० करोड भन्दा तलको लगानी प्रदेश सरकारले र ६ अर्बभन्दा माथिको लगानी उद्योग विभागले नहेर्ने भएकाले पनि कमी देखिएको सिंहले बताए । यस सम्बन्धमा विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले भने- ‘हामीले अहिले १० करोडदेखि ६ अर्बसम्मको मात्रै लगानी स्विकृत गरिरहेका छौ ।’ फिटाले कृषिजन्य क्षेत्रमा लगानी रोकेकाले पनि विदेशी लगानीमा केही प्रभाव परेको बताए । विदेशी लगानीको नियमावली आउने क्रममा रहेको र यो आइसकेपछि लगानी वृद्धि हुने जानकारी दिए । उद्योगी उमेशलाल श्रेष्ठले भने पछिल्लो समयमा उद्योग क्षेत्रमा विदेशी लगानी घट्नु र नेपालको समग्र उद्योग क्षेत्रको लगानीमा कमी आउनुमा उपयुक्त नीति नहुनु कारक रहेको बताए । नेपालमा उद्योग सञ्चालन गर्दा मुनाफा कम भएरपनि विदेशी लगानीकर्ताको लगानीमा कमी आएको श्रेष्ठले बताए । समग्र लगानी ११ प्रतिशतले घट्यो गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा उद्योग क्षेत्रमा ११ प्रतिशतले लगानी घटेको छ । गत आवमा ३ खर्ब ५ अर्ब ६६ करोड १० लाख लगानी आएको थियो भने चालु आर्थिक वर्षमा २ खर्ब ११ अर्ब २४ करोड ४७ लाख मात्रै लगानी आएको छ ।

महिलामाथिको आक्रमण गर्ने गिरोह पक्राउ, सिरिञ्ज हैन काँटी !

काठमाडौं । रातिको करिब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै थिइन् । अगाडिबाट मोटरसाइकलमा आएका एक व्यक्तिले नजिकै पुगेर महिलामाथि केही चिजले प्रहार गरेर भागे । त्यसपछि महिला फनक्क फर्किंदा मोटरसाइकल भागिसकेको थियो । पछिल्लो केही महिनामा उस्तै प्रकृतिका छ घटना भए । चार घटना प्रहरीमा आइपुग्यो भने दुई घटना अनुसन्धान कै चरणमा छ । उक्त घटना कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सिरिञ्ज आक्रमण भनेर सार्वजनिक भयो । प्रहरीले सिरिञ्ज नभएको बताए पनि जनमानसमा फैलिसकेका कारण त्रास रोकिएको थिएन । घटनामा संलग्न रामेछाप घर भई हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की बा ४७ प १३३१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेपछि उक्त घटनामा सिरिञ्जको प्रयोग नभएको थप पुष्टि भएको महानगरीय प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए । उनले प्रयोग गरेको वस्तु फलामको काँटी भएको प्रहरीले पुष्टि गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका कार्की महाराजगञ्जमा फाष्टफुड पसल सञ्चालन गर्दै आएका व्यक्ति हुन् । “हामीले शुरुदेखि नै स्पष्ट पार्न खोज्यौँ, सिरिञ्ज होइन भनेर, चिकित्सकले सिरिञ्ज देखिएको छैन भनेकै थिए, मिडियाले किन भन्यो थाहा भएन, तर उनी पक्राउ परेपछि सामाजिक सञ्जालमा फैलिएको त्रास हट्ने विश्वास छ”, सुवेदीले प्रष्ट्याए । “उनले एउटा घटना चिर्कटोजस्तो काठको सानो टुक्रा प्रयोग गरेको र अरुमा चाहिँ ढलानमा ठोक्ने किला प्रयोग गरेको हुँ, त्यो किला त्यहीँ फालेको छु भन्ने बयान दिएका छन्, हामीले त्यो ठाउँमा सर्च गर्दै छौँ”, सुवेदीले घटनाबारे थपे । प्रहरीसँग कार्कीले ‘किन–किन गरेँ, आफूलाई नियन्त्रण गर्न सकिन’ भन्ने बयान दिएका छन् । नियन्त्रणनै गर्न नसक्ने अवस्था किन सिर्जना भयो भन्नेतर्फ पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पीडित परिवारका सदस्य लक्ष्मण देउला यति सानो घाउ किलाले हानेको होलाजस्तो चाहिँ नलाग्ने जिकिर गर्नुहुन्छ । सार्वजनिक स्थानमा महिलाप्रति अभद्र व्यवहार गरेको भन्ने मुद्दा रहेको र अर्को समाजमा सङ्क्रमण फैलाउने प्रयास हो कि भन्ने आशङ्का भएकाले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको जानकारी दिँदै प्रहरीले प्रमाण र घटनाक्रमले पुष्टि गरेको आधारमा मुद्दा चल्ने जनाएको छ । शृङ्खलाबद्ध घटना २०७६ साल लागेपछि शृङ्खलाबद्ध रुपमा घटना भएको छ । वैशाख १ मा पहिलो घटना भएको थियो । जेठको १८, २० र ३२ गते तीन घटना भयो । अहिलेसम्म चारवटा घटनाको उजुरी परिसरमा परेको छ । अन्य दुई घटनाको अनुसन्धान जारी छ । सबै घटनामा कार्की नै संलग्न रहेको घटनाको अनुसन्धान र खोजतलासमा लागेका परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । सबै घटना काठमाडौँको ठमेल, ढल्कु, पक्नाजोल, विष्णुमती कोरिडोरको स्वयम्भू र सोह्रखुट्टे क्षेत्रमा भएका छन् । राति ९ बजेपछि मात्रै घटना दोहोरिएको छ । हरेक घटनामा, कुनै व्यक्ति मोटरसाइकलमा आउने, छुँलाछुँलाजस्तो गरेर जाने र महिलालाई चसक्क भएर शरीरमा केही घोपेजस्तो हुने एउटै प्रकृतिका छन् । ती घटना सर्वसाधारणमा त्रास फैलने गरी आएकाले महानगरीय अपराध महाशाखा र परिसरले गम्भीर अनुसन्धान थालेको थियो । बनेपामा समेत यस्तै घटना भएको भन्ने विषयमा भने परिसरका प्रमुख सुवेदीले बनेपामा भएको घटनासँग यसको प्रकृति नमिल्ने बताएका छन् । प्रहरीका अनुसार यस्ता घटनामा संलग्न हुनेको मानसिक अवस्था ठीक नभएको, कुनै कुराले आघात भएको वा दुव्र्यसनको कारणले पनि हुनसक्ने भएकाले त्यतातर्फसमेत अनुसन्धान केन्द्रित गरिएको छ । सिसी क्यामराबाटै पहिचान उक्त घटना ढल्कुमा राखिएको सिसी क्यामरामा कैद भएको थियो । त्यसमा एक महिला कुकुर डुलाउँदै सडकमा हिँडिरहेको देखिन्छ । एक्कासि अगाडिबाट आएको मोटरसाइकल उनको नजिकै आइपुग्छ र एक हातले केही हानेजस्तो गरेको देखिन्छ । त्यसपछि ती महिला फनक्क फर्किएको देखिन्छ । त्यही सिसी क्यामराको आधारमा मोटरसाइकल पहिचान भएको हो । स्थानीयले चक्रपथमा मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धान गर्दै जाँदा त्यही मोटरसाइकल भएको पुष्टि हुन पुग्यो । पीडित परिवारका एकजना सदस्य लक्ष्मण देउलाका अनुसार सिसी क्यामरामा देखिएको हुलियाको आधारमा उस्तै मोटरसाइकल सडकमा देखेपछि प्रहरीलाई खबर गरेर पक्राउ गर्न सफल भएको हो । रासस

चिट्ठासहित भारतीय पक्राउ

काठमाडौं । चिट्ठासहित एक भारतीय नागरिक शुक्रबार भद्रपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बगाल दार्जिलिङ जिल्ला डेङगुजोत निवासी २० वर्षीय मोहमद एनसउल रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिएका छन् । विशेष सूचनाको आधारमा उनलाई भद्रपुर–६ स्थित भानुनगर नजिकैबाट पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले पश्चिम बगाल र नागालैण्ड स्टेट कम्पनीको १२० ठेली चिट्ठा (लट्री) बरामद गरेको छ । पछिल्लो समय नेपाली सीमावर्ती बजारमा भारतीय चिट्ठा (लट्री) बेचविखन गर्ने कारोवारीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा प्रतिबन्धित मानिएको भारतीय चिट्ठाको कारोवार बढेसँगै नेपालीको लाखौँ रुपैयाँ भारत गइरहेको छ । चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमतिमाबाहेक कसैले पनि चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन नपाइने उल्लेख गरिएको छ । रासस

एसईईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले गएको बिहीवार एसईईको नतिजा निकालेसँगै एसईई दिएका भाईबहिनी र उनिहरुका अभिभावकको एसईईको नतिजालाई लिएर तनाव सिद्दिएको छ। यो तनावको अन्त्यसँगै अब कुन विषय पढ्ने र पढाउने भन्ने अन्यौलमा धेरै विद्यार्थी र अभिभावक पर्नु भएको छ। यसपटकको नतिजामा जिपीए ३ दशमलब ६० देखि ४ सम्म प्राप्त गर्ने विद्यार्थीको संख्या १७५८०, यस्तै ३ दशमलब २० देखि ३ दशमलब ६ शुन्य जिपीए ल्याउने विद्यार्थीको संख्या ५११३७, २ दशमलब ८० देखी ३ दशमलब २० जिपिए ल्याउने विद्यार्थी संख्या ६३७४१, २ दशमलब ४० देखी २ दशमलब ८० जिपिए ल्याउने विद्यार्थी सख्या ७६५६४, २ दशमलब शुन्य देखी २ दशमलब ४० जिपिए ल्याउने विद्यार्थी संख्या ९८२०७, १ दशमलब ६० देखी २ दशमलब जिपिए ल्याउने विद्यार्थी संख्या ९५३०७, १ दशमलब २५ देखी १ दशमलब ६० ल्याउने विद्यार्थी संख्या ४३८४१ र ० दशमलब ८० देखी १ दशमलब २० ल्याउने विद्यार्थी संख्या ४४२९ रहेको छ। अंकहरु जिपिए सिस्टमा गईसकेपछी विभिन्न प्लस टु र प्राविधिक कलेजहरुमा कति जिपिए ल्याएकोले के पढ्न पाउने भन्ने व्यवस्था गरेको छ। विद्यार्थीले राम्रो जिपिए ल्याएको खण्डमा आफुले मनलागेका बिषय पढ्न पाउँछन् तर कम जिपिए आएको खण्डमा विद्यार्थीले आँफैसँग समझौता गरेर पढ्नु पर्ने हुन्छ। यस्ता छन् तपाईको जिपिएको आधारमा पढ्न पाउने बिषय : कक्षा ११ मा भर्ना हुनलाई के-कस्तो प्रावधान छ ? नियम अनुसार एसईईमा १ दशमलव ६ सम्म जीपीए ल्याएका विद्यार्थीले ११ कक्षामा भर्ना हुन पाउने प्रावधान रहेको छ तर यसका लागि अरु पनि प्रावधान पूरा गर्नुपर्ने हुन्छ। जस्तै प्लस २ विज्ञान संकायमा ११ कक्षामा भर्ना हुन २ जीपीएका साथमा विज्ञान र अनिवार्य गणितमा सी प्लस तथा सामाजिक, अंग्रेजी र नेपालीमा डी प्लस आएकै हुनुपर्छ। विज्ञान विषय अध्ययन गर्नका लागि एसईईको परीक्षामा कम्तीमा २.० जीपीए ल्याउनुपर्छ। साथै गणित र विज्ञान विषयमा सी साथै अंग्रेजी, नेपाली र सामाजिकमा डि प्लस हुनुपर्छ । यसैगरी व्यवस्थापन विषय अध्ययनका लागि विद्यार्थीले १.६ जीपीए ल्याउनुपर्छ साथै अंग्रेजी, नेपाली, गणित र सामाजिकमा डी प्लस हुनुपर्छ। मानविकी र शिक्षा संकाय अध्ययन गर्नका लागि विद्यार्थीको १.६ जीपीए हुनुपर्ने साथै नेपाली, सामाजिक र अंग्रेजीमा डी प्लस हुनुपर्ने प्रावधान रहेको छ। प्राविधिक बिषय पढनलाई के-कस्तो प्रावधान रहेको छ ? यदी तपाई प्राविधिक विषय अध्ययन गर्न चाहानुहुन्छ भने तपाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् मार्फत आफूले प्राप्त गरेको ग्रेड अनुसार २९ वटा विषय अध्ययन गर्न सक्नुहुनेछ। प्राविधिक शिक्षा तर्फ स्वास्थ्य, इञ्जिनियरिङ, कृषि तथा वनविज्ञान, आतिथ्य सत्कार र सामाजिक विषय अध्ययन गर्न पाइन्छ। यी कार्यक्रमको अवधि ३ वर्षे हुने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) का सूचना अधिकारी अनिल मुनी बज्रचार्यले जानकारी दिए । उनका अनुसार एसईईपछि अध्ययन गर्न सकिने प्राविधिक कोर्स विभिन्न अवधिको हुने छन्। माथिल्लो तहको अध्ययनमा अघि बढ्न सकिने र मध्यमस्तरको जनशक्तिको मान्यता पाउने तीन वर्षे डिप्लोमा नै भएको उनले बताए । प्राविधिक शिक्षा दुई र तीन महिने, १० महिने, १८ महिने पनि हुन्छ। यी छोटा अवधिका तालिमबाट सीप मात्र सिकिन्छ, माथिल्लो तहको स्नातक पढ्न भने पाईन्न। तीनवर्षे डिप्लोमा तह कोर्ष पढेपछि भने उच्च शिक्षा अध्ययनको अवसर पनि पाइन्छ । १। स्वास्थ्य यस्तै विद्यार्थीले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा १० वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह नेत्रविज्ञान, प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह डायाग्नोष्टिक रेडियोग्राफी, प्रमाणपत्र तह दन्तविज्ञान, प्रमाणपत्र तह सामान्य आयुर्वेद चिकित्सा, प्रमाणपत्र तह अक्कुपन्चर एण्ड अकुप्रेसर र डिप्लोमा इन फिजियोथेरापी पढ्न सकिन्छ । प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्य तर्फका सम्पुूर्ण कार्यक्रमका लागि अंग्रेजी, गणित र विज्ञानमा न्युनतम सी ग्रेड र जीपिए २ अंक प्राप्त गरेको हुनुपर्ने छ । २। ईन्जिनियरिङ इञ्जिनियरिङ सम्बन्धित कार्यक्रमा १२ वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ र डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डीसनिङ रहेका छन् । डिप्लोमा इञ्जिनियरिङ् तर्फका सम्पुूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्युनतम सि ग्रेड र अग्रेजि न्युनतम डि प्लस ग्रेट हुनुपर्ने छ । ३। कृषि तथा वनविज्ञान कृषि तथा वनविज्ञानसँग सम्बन्धित कार्यक्रमा ४ वटा विषयको अध्ययन गर्न सकिन्छ। जसमा डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर( पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री छन्। डिप्लोमा तहका कृषि, फुड/डेरी टेक्नोलोजी र फरेष्ट्रिका लागि अग्रेजि, गणित र विज्ञान मध्ये कुनै २ विषयमा न्युनतम सि र कुनै एक विषयमा न्युनतम डि प्लस गे्रड आएले पढ्न पाउने छन् । हस्पिटालिटी डिप्लोमा होटल म्यानेजमेन्ट विषयको अध्ययन गर्न सकिने छ । जसका लागि अंग्रेजि, विज्ञान र गणितमा न्युनतम डि प्लस ग्रेड आएको हुनुपर्ने छ । ४। सोसल वोर्क सोसल वर्क तर्फ डिप्लोमा इन इन्टरप्रेनर्शिप डेभलेपमेन्ट र डिप्लोमा इन सोसियल वर्क्स विषय छन् । सो पढ्नका लागि विज्ञान र गणितमा न्युनतम डि प्लस ग्रेड आएको हुनुपर्ने छ । व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना लिन आधार तय गरेको छ । तीनवर्षे डिप्लोमा तह अध्ययन गर्न कम्तीमा २ जीपीए ल्याउनुपर्ने हुन्छ । सिटिईभिटी मार्फ संचालीत आङ्खिक शिक्षालय, साझेदारी शिक्षालय, सामुदायिक विद्यालय र नीजि स्तरबाट संचालित शैशिक संस्थामा कक्षा संचालन हुने छन् । सबै गरेर ४९६ शैक्षिक संस्था र १९ हजार ७४१ जना विद्यार्थी पढाउने क्षमता रहेको बज्रचार्यले जानकारी दिए । उनले भने प्राविधिक विषय अध्ययन गर्न प्रवेश परीक्षामा नाम निकालन पर्छ । प्राविधिक शिक्षा लिए पछि बेरोजगार बस्नु पर्दैन । सिटिभिटीले शुल्क निधारणका लागि समीति गठन गरेको छ । समितिले केही दिन पछि शुल्क तोक्ने पनि बज्रचार्यले बताए ।

२० जना अपाङ्ग विधार्थीलाई नेपाल टेलिकमले दियो सिमकार्ड सहितको एण्ड्रोइड स्मार्टफोन

काठमाडौँ । नेपाल टेलिकमले सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पुर्याउने उद्देश्यले एण्ड्रोइड स्मार्टफोन सिमकार्डसहित वितरण गरेको छ । सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टि सम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराइएको हो । कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप–प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरे । सो अवसरमा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीहरुको पढाईमा सहयोग पुर्याउनुका साथै सहज जीवन यापनमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । उनले विद्यार्थीहरुले ब्रान्ड एम्बेसडरको रुपमा रहेर कम्पनीको सेवाको बारेमा जानकारी प्रवाह गर्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले सरकारको लगानी र राष्ट्रियताले ओतप्रोत कम्पनीको तर्फबाट गरिएको सानो सहयोगले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो कार्यक्रमका लागि सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्ने मैत्री समाज नेपालका अध्यक्ष प्रमेन्द्र ढकालले दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुलाई नेपाल टेलिकमले सूचना प्रविधिमार्फत एउटा अवसरको सिर्जना गरिदिएको बताउँदै परीक्षणको रुपमा सहयोग प्रारम्भ गरेकोमा कम्पनीप्रति आभार प्रकट गरे । मोबाइल प्राप्त गर्ने पदम ठटालले विभिन्न सेवासहितको मोबाइल प्राप्त गरेपछि भने– एमपी थ्री बोक्नुपर्ने वाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले हामीलाई निकै हौसला मिलेको छ । पदम महेन्द्र बहूमुखी क्याम्पस धरानमा शिक्षा संकाय तर्फ स्नातक चौथो वर्षका विद्यार्थी हुन् । ‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रम मार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका जम्मा २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो । विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।

बढ्न छाड्यो लघुवित्तको आईपीओको मूल्य, कुन शेयरको मूल्य कतिमा रोकिए ?

काठमाडौं । केही समय अघिसम्म लघुवित्तको शेयरलाई सुनको फुल पार्ने हाँसको रुपमा लिइन्थ्यो । एक हजार रुपैंयाको लगानी ५/६ महिनामै २०/२५ गुणासम्म पुग्थ्यो । कुनै कम्पनीको शेयरमूल्य त ४ हजार रुपैंयाभन्दा माथिसम्म पनि पुगेको थियो । कुनै कम्पनीले हकप्रद वा बोनस जारी गर्न समायोजन गरेको मूल्यले २/४ दिनमै ‘रिकभरी’ लिन्थ्यो फलस्वरुप दिइएको हकप्रद वा बोनस सित्तैमा पाइएजस्तो हुन्थ्यो । तर, समय बदलियो, अहिले बल्लबल्ल परेको आईपीओको भाऊ पनि ५०० रुपैंया माथि जाँदैन, हकप्रद र बोनसको मूल्य समायोजन भएपछि शेयरमूल्य बढ्ने त कुरै छैन, बरु दिनदिनै घट्न थाल्छ । हालसम्म दोस्रो बजारमा सूचीकरण भएको सबैभन्दा पछिल्लो लघुवित्त कम्पनी गणपति माइक्रोफाइनान्स हो । अधिकतम ४३८ रुपैंयामा कारोबार भई ४३६ रुपैंयामा कारोबार रोकियो । उक्त शेयरको कारोबार बिहीबार मात्रै ६ हजार कित्ताभन्दा बढी भयो । बजारमा जब खरिद चाप बढी हुन्छ र बिक्रीको चाप कम हुन्छ, यसले मूल्य बढ्ने आधार तय गर्छ र यसको ठीक विपरित बिक्रीको चापले मूल्य घटाउने आधार तयार गर्छ । अझ उच्च मूल्यवृद्धिको क्रममा रहेका शेयरहरुमा त बिक्री फाट्टफुट्ट मात्रै भेटिन्छन् । गणपतिको यति धेरै कारोबार हुनु र अधिकतम मूल्यबाट घटेर कारोबार हुनुले अब सो कम्पनीको शेयरमूल्य यही आसपास अडिने सम्भावना देखिन्छ । गणपति भन्दा केही दिनअघि मात्रै सूचीकरण भएको आशा लघुवित्तको शेयरमूल्य अधिकतम ५१० रुपैंयासम्म पुग्यो, त्यसपछि घट्न थालेको शेयर बिहीबार ४०१ रुपैंयामा झरेको छ । नेपाल एग्रोको शेयरमूल्यले ५०० को विन्दुलाई त छोएको छ, यसको पनि बिहीबार मात्रै १२ हजार कित्ता भन्दा बढी शेयर कारोबार भयो, यसको अर्थ अब यसको मूल्य पनि धेरै माथि जाँदैन । त्यसो त केही समय अधिक माथि शेयरमूल्य पुगेका उन्नति, नाडेप, सपोर्ट, आरम्भ लगायतका माइक्रोफाइनान्सहरुको शेयरमूल्य समेत अहिले सोही हाराहारीमा आएको छ । नाडेप, उन्नति र सपोर्टले यसअघि हकप्रद शेयर जारी गरेर शेयरमूल्य केही समायोजन गरेको भएपनि समायोजित मूल्यभन्दा यी शेयरहरुको भाऊ निकै तल गइसकेको छ । २००० रुपैंया नजिक रहेको उन्नतिले दिएको २० प्रतिशत हकप्रद र ४० प्रतिशत बोनस शेयरको मूल्य समायोजन भएको थियो, तर मूल्य भने १९५९ रुपैंयाबाट ८३० रुपैंयामा झरेको हो । त्यस्तै, ३ बराबर २ अनुपातमा हकप्रद जारी गरेको सपोर्टको मूल्य १२४१ रुपैंयाबाट ४०० मा झरेको छ । त्यस्तै शतप्रतिशत हकप्रद जारी गरेको नाडेपको मूल्य सामान्यतया ५० प्रंतिशत भन्दा कमले मात्रै घट्नुपर्नेमा १५५० सम्म पुगेको शेयरमूल्य ४६४ मा सीमित रहन गएको छ । किन बढ्न छाड्यो मूल्य ? बजारमा दिनप्रतिदिन लघुवित्तको शेयर आउनु तथा नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको पुँजी वृद्धिसम्बन्धी दिएको नीतिका कारण पछिल्लो समय लघुवित्त समूहका शेयरमूल्य घट्न थालेको सरोकारवालाहरु बताउँछन् । सानो पुँजीबाट सुरु भएका लघुवित्तलाई पुँजी पर्याप्तता अनुपात कायम गरी व्यवसाय विस्तार गर्न थप पुँजी आवश्यक भएकोले लघुवित्तको शेयरको आपुर्ति बढ्दै गएको र यसैको प्रभाव शेयरमूल्यमा देखिएको उनीहरु बताउँछन् । यसले गर्दा लघुवित्तकाे शेयरमा आकर्षण समेत कम देखिन थालेकाे छ । त्यसो त, स्थानीय तहहरुमा वाणिज्य बैंक नै पुग्नु र विपन्न वर्ग कर्जाबाहेक अन्य कर्जाको स्रोत नहुने कारणले पनि उनीहरुको नाफा विस्तारमा संकुचन हुने अवस्था देखिएको छ । यसका कारण लघुवित्त बैंकर्स संघले कृषि कर्जालाई पनि लघुवित्त कम्पनीमार्फत् लगानी गर्नुपर्ने व्यवस्था गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत् गर्नुपर्ने माग गर्दै आएको छ ।

साझा यातायातमा कार्डबाटै भाडा, प्रयोगमा ल्याए पाँच सय जनाले

काठमाडौं । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ । नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा पुर्याउन यो सेवा शुरु गरिएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार संस्थाले अहिले सबै बसहरुमा ‘ई–टिकेटिङ’ सेवा लागू गरिसकेको छ । यात्रुले बसमा कार्यरत सहचालक वा साझा यातायातको पुल्चोकस्थित कार्यलयबाट कार्ड खरिद गर्दा त्यसमा यात्रुले पूरै रकम पाउने उनले बताए । उनले भने, “रु २०० को कार्ड किन्दा यात्रुले रु २०० नै पाउनुहुन्छ ।” कार्डको प्रयोग गर्दा यात्रुसँग सहचालकलाई दिने जति ठिक्क छ छैन वा बसले बढी भाडा लिन्छ भन्ने चिन्ता नहुने साझाले जनाएको छ । यात्रुहरु आकर्षित भइरहे पनि अरू बसले पनि यो सेवा शुरु गरेपछि नै यसको प्रयोग व्यापक बन्दै जाने पाण्डेयले बताएका छन् । नियमित रुपमा बसमा यात्रा गर्ने कर्मचारी, विद्यार्थीलगायतलाई यो सेवाले फाइदा पुर्याइरहेको उनले बताए । उनले भने, “यात्रुले यसबारेमा बुझ्दै जाँदा प्रयोग बढ्दै जाने विश्वास छ ।” नेपालमा सार्वजनिक यातायातमा नयाँनयाँ प्रविधि भित्र्याइरहेको साझा यातायातको अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर चल्ने गरेर ७१ बस सञ्चालनमा छन् । साझाका एउटा ‘लो फ्लोर’ बससमेत सञ्चालनमा छ । साझाले स्थानीय सरकारसँगको सहकार्य बढाउँदै जाँदा उपत्यकाका धेरै पालिकाले साझाको शेयर खरिद गरिरहेका छन् । रासस