विकासन्युज

रुकुमपूर्वको तीनवटै स्थानीय तहमा बैंक स्थापना, आर्थिक गतिविधिमा वृद्धि

काठमाडौं । तीन वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वको सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि बढ्न थालेको छ । सरकारले प्रत्येक स्थानीय तहमा बैंक पुर्याउने नीति अवलम्बन गरेपछि बैंकका शाखा स्थापना भएसँगै स्थानीय तहबाटै कारोवार गर्न सजिलो भएको छ । भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले भने, “बैङ्क स्थापना भएसँगै बैङ्किङ कारोवार गर्न सजिलो हुनाका साथै ग्रामीण अर्थतन्त्रमा पनि सुधार हुँदै गएको छ ।” गाउँपालिका भरको ८० प्रतिशत काम बैङ्कबाटै हुने गरेको र गाउँपालिकामा बाँकी रहेका काम सदरमुकाम रुकुमकोट तथा अन्य क्षेत्रबाट पनि हुँदै आएको उनले बताए । विगतमा चेतनाको अभावका कारण सर्वसाधारणले बैङ्किङ प्रणाली झन्झटिलो मान्दै आएकामा त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन बैङ्कले सहजीकरण गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठको भनाइ थियो । गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता बैङ्कबाटै लिन अनिवार्य बनाइएपछि वृद्धभत्ता अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर बैङ्कले सेवा पुर्याउँदै आएको छ भने वित्तीय सुशासनमा समेत सहयोग पुगेको उनले जानकारी दिए । प्रदेश नम्बर ५ को एक मात्र हिमाली तथा विकट जिल्ला रुकुमपूर्वको तीनवटै स्थानीय तहमा बैङ्कको शाखा स्थापना भएपछि स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्था लगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ । स्थानीय तहमा खुलेका बैङ्कले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लागानी वृद्धि र व्यावसायिक कृषिको वातावरण बनाएको बताइएको छ । भौगोलिक दृष्टिकोणले विकट क्षेत्र रुकुमपूर्वमा भने पर्याप्त मात्रामा बैङ्क स्थापना हुन सकेको छैन । एक गाउँबाट अर्को गाउँ पुग्न पनि एकदेखि दुई दिनसम्म लाग्ने ठाउँका बासिन्दा भने अझै पनि बैङ्कको पहुँचबाट टाढा छन् । यसरी, जिल्लाको सिस्ने गाउँपालिकामा नेपाल बैङ्क लिमिटेड, वाणिज्य बैङ्क, प्रभु बैङ्क भूमे गाउँपालिकामा सिटिजन बैंक र पुथा उत्तरगङ्गा गाउँपालिकामा सिद्धार्थ बैङ्कका शाखा स्थापना भएका हुन् । रासस

पानीको बहाव थुन्ने गरी शहीद स्तम्भ निर्माण, औद्योगिक क्षेत्र डुबानको खतरामा

लहान । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको छ । औद्योगिक क्षेत्र स्थापनाकालदेखि पानी बहावका लागि बनाइएको नाला र पोखरीलाई थुन्दै स्थायी संरचना निर्माण गर्न थालेपछि सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र वर्षायाममा डुबानमा पर्ने र सञ्चालित उद्योगधन्दा धरासायी हुने खतरा बढेको हो । औद्योगिक क्षेत्रको पूर्व–दक्षिण छेउमा पानी बहावलाई थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यालयले शहीदस्तम्भ निर्माणका लागि माटो पुर्ने र इँटाको पर्खाल निर्माण गरिरहेको छ । तत्कालीन नेकपा ९एमाले०को मेची–महाकाली अभियानका क्रममा प्रहरीसँगको झडपमा पाँचको मृत्यु भएको स्थानमा अहिले शहीदगेट, शहीद उद्यान र शहीदस्तम्भ निर्माणको काम भइरहेको छ । निर्माणाधीन शहीदस्तम्भ पानी बहावको मूल नै थुन्ने गरी बनाउन थालेकाले वर्षात्को समयमा औद्योगिक क्षेत्र डुबानमा पर्ने र औद्योगिक क्षेत्र धरासायी हुने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दीपकराज आचार्यले बताए । “औद्योगिक क्षेत्रको पूर्वतर्फबाट पानीको बहाव भइरहेको थियो”, प्रमुख आचार्यले भने, “तर अहिले त्यो बहावलाई नै थुन्ने गरी स्थायी संरचना बनाइएकाले पानीको निकास रोकिएर, सबै पानी औद्योगिक क्षेत्रभित्र जम्छ र उद्योगधन्दाको मेसिनलगायतमा क्षति पुर्याउँछ ।” अघिल्लो वर्षको बाढीले औद्योगिक क्षेत्रको पर्खाल भत्काएको थियो भने औद्योगिक क्षेत्रभित्र लामो समयसम्म पानी जमेकाले लामो समयसम्म उद्योग सञ्चालन हुनसकेको थिएन । औद्योगिक क्षेत्रको स्थापनाकालमै पानी निकासका लागि विसं २०४४ मा निर्माण गरिएको पोखरीमा माटो पुरेर शहीदस्तम्भ बनाउन कार्य गरिएकाले औद्योगिक क्षेत्र थप समस्यामा परेको प्रमुख आचार्यको भनाइ छ । औद्योगिक क्षेत्रलाई डुबानमा पार्ने गरी शहीदस्तम्भ निर्माण भइरहेको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्र्यालयले सरोकारवाला निकायलाई गुहारेको छ । औद्योगिक क्षेत्रको दक्षिणतर्फ निर्माणाधीन संरचनाका कारण त्यहाँ असर पर्ने भन्दै व्यवस्थापन कार्यालयले शहरी विकास कार्यालय, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरी र रुपनी गाउँपालिकालाई पत्राचार गरी ध्यानाकर्षण गराएको छ । बिजुली, खानेपानी र सुरक्षालगायतका समस्यै समस्याले जुध्दै आएको औद्योगिक क्षेत्रलाई थप समस्या हुनेगरी स्थायी संरचना निर्माण गर्न थालेपछि उद्योगीसमेत चिन्तित बनेका छन् । औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्डष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगका सञ्चालकले केही दिनअघि व्यवस्थापन कार्यालयलाई ध्यानाकर्षण गराउँदै पानीको बहाव थुन्ने गरी बनाइरहेको संरचनाले औद्योगिक क्षेत्र डुबानको खतरामा रहेको र यसबाट उद्योगमा क्षति पुग्नसक्ने भन्दै चिन्ता जनाएका थिए । यता शहीदस्तम्भ निर्माण गरिरहेको शहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले शहीदस्तम्भ निर्माणस्थलमा कहिले पनि पानीको प्राकृतिक बहाव नरहेको जिकिर गर्दै पानी बहावको समस्या नहुने बताए । “पहिलो कुरा त हामीले पानी बहावको मुहानै थुनेका छैनौँ, हामीलाई राजविराज नगरपालिकाले जहाँ जग्गा दियो, त्यहाँ हामीले बनाउँदैछौँ”, उनले भने, “यदि यसबाट मुहान थुनेर औद्योगिक क्षेत्र डुबानमा पर्यो भने त्यसको निकास त औद्योगिक क्षेत्रले आफैँ खोज्छ नि, हामीले के गर्न सक्छौँ र ?” प्रमुख झाको भनाइ छ । रासस

म्याग्दीका ३३ वटा वडामा हेलिप्याड निर्माण, विकट र दुर्गम क्षेत्रका बस्तीले पाए सुबिधा

काठमाडौं । हिमाली जिल्ला म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण भएको छ । म्याग्दीका छ वटा स्थानीय तहका ४५ वडामध्ये ३३ वडामा हेलिप्याड निर्माण भएको हो । बाँकी १२ वटा वडामा पनि हेलिप्याड निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । भौगोलिक रुपमा विकट, दुर्गम र सहज यातायात सुविधा नभएको बस्तीमा आपत्कालीन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले गत मङ्सिरदेखि हेलिप्याड बनाउने योजना अघि सारेको हो । आठ महिनाको अवधिमा जिल्लाका ३३ वटा वडामा हेलिप्याड निर्माण गरिएको र आगामी दशैँसम्ममा सबै स्थानीय तहका सम्पूर्ण वडामा हेलिप्याड निर्माण भइसक्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताएका छन् । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्थानीय तहले बजेट व्यवस्थापन गरेर हेलिप्याड बनाएका हुन् । सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवाक्लब र आमासमूहको सहयोगमा हेलिप्याड बनाएका छन् । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकममा हेलिप्याड निर्माण गरिएको अध्यक्ष थमसरा पुनले जानकारी दिए । हेलिप्याड निर्माणका लागि धवलागिरि गाउँपालिकाले रु सात लाख खर्च भएको जनाएको छ । हेलिप्याड बनाउन भिरालो जमिन सम्याइएको छ । त्यहाँसम्म पुग्ने बाटो बनाइएको छ । अन्नपूर्णको दोवा, भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तानको घराम्दी र राम्चेमा स्वास्थ्य चौकी परिसरमा हेलिप्याड बनाइएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको प्रजिअ अधिकारीले बताए । नेपालमा नै पहिलोपटक म्याग्दीमा ‘एक वडा एक हेलिप्याड’ निमार्ण गर्ने अभियान सञ्चालन गरिएको थियो । सो अभियानअन्तर्गत अहिलेसम्म ३३ वटा वडामा हेलिप्याड बनाएको प्रजिअ अधिकारीले जानकारी दिएका छन् ।“म्याग्दीका सबै वडामा आगामी तीन वर्षभित्रमा हेलिप्याड बनाइसक्ने योजना बनाएका थियौँ तर आठ महिनामा नै ३३ वटा बनिसकेका छन् । अब दशैंसम्ममा सबै वडामा हेलिप्याड निर्माण गरिसकिनेछ”, उनले भने । बेनी नगरपालिकाको गलेश्वर र भकिम्लीको डोलेमा हेलिप्याड बनाइएको छ । अर्थुङ्गेको श्रीबक्स गुल्मीभित्र रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नसक्ने नाइटभिजन हेलिप्याड निर्माण भएको छ । पुतलाचौरको धार्मिकस्थल जगन्नाथ मन्दिर परिसरमा स्थानीयको सक्रियतामा हेलिप्याड निर्माण भएको छ । मङ्गला गाउँपालिकाको हिदी, कुहुँ र बरङ्जामा हेलिप्याड निर्माण भएको छ । मङ्गलाको दुई वटा वडामा हेलिप्याड बनाउन बाँकी छ । आठ वटा वडा रहेको रघुगङ्गाको पिप्ले र दग्नाम बाहेकका सबै वडामा हेलिप्याड बनिसकेको छ । हेलिप्याडबाट आकस्मिक बिरामी, दुर्घटनाका घाइतेलाई तत्कालै अस्पताल पुर्याउन सहज हुने प्रजिअ अधिकारीले बताएका छन् । हेलिप्याड निर्माणले धवलागिरि, अन्नपूर्ण, गुर्जा, पुथालगायत म्याग्दीमा हिमाल आरोहण र पदयात्रामा आउने पर्यटकलाई पनि सुविधा पुग्ने जनाइएको छ । हिमआँधी, हिमपहिरो, पहिरो, बाढी, कटान, आगलागीका साथै दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत तत्कालै अस्पताल पुर्याउन सकिने अपेक्षा गरिएको छ । यसरी,  सडक सुविधा नपुगेको र सडक अवरुद्ध भएको अवस्थामा तत्काल खोज, उद्धारका लागि विकल्पका रुपमा हेलिकप्टरको प्रयोग हुने गरेको छ । गुर्जा, कुइनेमङ्गले जस्ता दुर्गम बस्तीका बासिन्दा आकस्मिक बिरामी पर्दा हेलिकप्टरमार्फत अस्पताल पुग्ने गरेका छन् । रासस

स्वदेशी उद्योग व्यवसाय सञ्चालनमा युुवाको आकर्षण बढ्दै

काठमाडौं । युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित हुन थालेका छन् । पुस्तौनी व्यापारदेखि नयाँ उद्योग, कलकारखाना, व्यापार गर्ने युवाको सङ्ख्या बढ्दै गएको छ । विदेशमा सिकेको सीप र स्वदेशमा नै व्यवसायमा काम सिकेर आफैँले व्यापार गर्ने पनि बढ्दै गएका छन् । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष दाताराम घिमिरेका अनुसार सानादेखि ठूला उद्योग व्यापारसम्म युवाको नेतृत्वमा हुने क्रम बढेर गएको छ । विदेशमा भन्दा यहाँ अवसर राम्रो देखेर पनि मेहनत गर्न चाहनेले उद्योग व्यवसाय गर्न थालेको घिमिरे बताउँछन् । सरकारले युवा उद्यमीलाई लक्षित गरी अहिलेको दर्ता प्रक्रियाको झण्झटिलो अवस्था सहजीकरण गरिदिने, ऋणमा अनुदान दिने, युवालाई उत्प्रेरणा दिन सकेमा युवाको आकर्षण नेपाल बन्ने घिमिरेको ठम्याइ रहेको छ । मञ्चका निवर्तमान अध्यक्ष नीरञ्जन न्यौपानेले उद्योग व्यवसायमा अहिले ७५ प्रतिशत युवा रहेको बताए । विदेशमा सिकेको सीपलाई यहाँ फर्किएर उद्योग व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको न्यौपानेको भनाइ छ । वैदेशिक रोजगारतर्फको आकर्षणभन्दा यहीँ केही गरौं भन्ने भावनाको विकास हुँदै जाँदा पनि युवा उद्यमी व्यवसायी बन्दै गएको देखिन्छ । न्यौपाने सरकारले उद्योग व्यवसायको सुपरीवेक्षण गरी आवश्यक सहयोग गर्ने र युवा उद्यमीलाई परियोजनाका आधारमा लगानी गरेर ब्याजमा अनुदान दिन सकेमा विदेश जाने युवाको सङ्ख्यामा कमी आउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानका अनुसार राजनीतिक अन्योल हटेसँगै उद्योग व्यवसाय सञ्चालन गर्नेक्रम बढेकाले युवाको आकर्षण बढाएको हो । लगानीको वातावरण बन्दै जाँदा युवा आकर्षित बन्दै गाएका छन् । उनले लगानीको सुरक्षा सरकारले गरी दिनुपर्ने भन्दै सहयोग गर्न सकेमा स्वदेशमा युवाको लगानी बढेर जाने बताएका हुन् । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने भावनाको विकास युवामा हुन थालेको प्रधानको भनाइ छ । उद्योग सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले सङ्घमा पछिल्लो समय ४० जना नयाँ उद्यमी थपिएको बताए । विदेशमा हुने दुःखका बारेमा जानकारी भएसँगै यही केही गर्नुपर्छ भन्ने भावनको विकास युवामा हुन थालेको उनको भनाइ छ । युवामा राष्ट्रवादको भावनाको विकासले पनि यही उद्योग व्यवसाय गर्नेक्रम बढेको पौडेलको धारणा छ । उत्पादनका आधारमा ब्याजमा अनुदान दिन सकेमा युवा थप आकर्षित हुने उनको बुझाइ छ । स्वदेश फर्किएर आफूले जानेको सीपअनुसार काम गर्नेको सङ्ख्या जिल्लामा उल्लेख्य बढ्दै गएको छ । स्वदेशकै उद्योग व्यवसायमा काम सिकेर आफैं उद्यमी बन्ने युवाको सङ्ख्या पनि दिनानुदिन बढ्दो छ । नारायणगढको भेटघाट रेष्टुरेन्टमा १० वर्ष काम गरेका स्थानीय कृष्ण भट्टले त्यहीको अनुभवले दुई वटा होटल सञ्चालनमा ल्याएका छन् । भट्टले भने, “मेहनतका साथ काम गर्यो भने यहीँ धेरै गर्न सकिन्छ ।” युवा उद्यमी मञ्चका वरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटा बुबाको पुरानो व्यवसायलाई विस्तारका क्रममा जुटेका छन् । उनको बुबाले थालेको नारायणगढको वैष्णव मिष्ठान्न भण्डारको शाखा विस्तार गर्दै सापकोटाले चार वटा पुर्याएका हन्। यो सङ्ख्या निकट भविश्यमा नै पुर्याउने सापकोटाको भनाइ छ । युवाले अवसर पाए भने गर्न सक्छन् भन्ने गतिलो उदाहरण सापकोटाले पनि दिनुभएको छ । रासस

कृषि विकास बैंकद्वारा १५० थान डस्टबीन हस्तान्तरण

काठमाडौँ । मदनवाटिका पार्क महादेवस्थान कोटेश्वर काठमाडौँमा कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय काठमाडौँले १५० थान डस्टबीन उपभोक्ता समितिलाई हस्तान्तरण गरेको हो छ । शनिवार कार्यक्रममा प्रमुख अतिथि पूर्व कानून मन्त्री तथा महान्यायाधिवक्ता अग्नि खरेल र विशिष्ठ अतिथि तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले डस्टबीन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिकाबारे चर्चा गरे । एकिृत उपभोक्ता समितिका अध्यक्ष मदन सिवाकोटी र सामुदायिक विकास समितिका अध्यक्षसुमित्रा खरेलले कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै कृषि विकास बैंक लि.ले पुर्याएको सहयोगको सराहना गरी बैंकको उच्च प्रगतिको कामना गरे । उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेड कामु उप–महाप्रबन्धक प्रताप सुवेदी, क्षेत्रीय कार्यालय काठमाडौका कामु निर्देशक करुणचन्द्र घिमिरे, कामु निर्देशक अनिल यादव, कामु विभागीय प्रमुख अजय रिमाल, मुख्य शाखा प्रबन्धक गोकुल पनेरु, बैंकका प्रवक्ता हिमलाल पौडेल, बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, कामु प्रबन्धक यादव पोखरेल, खेटराज दहाल लगायतका अन्य कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

प्रधानमन्त्रीले गरे श्रम सम्मेलनको उद्घाटन, सन् २०३०सम्म ६८ लाख जनशक्ति उत्पादन गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गरेका छन् । काठमाडौंमा भएको उक्त सम्मेलनमा प्रधानमन्त्रीले २ देखि ५ वर्षको अवधिमा नेपाली कृषि तथा श्रम बजारमा ठूलो रुपान्तरण हुने प्रधानमन्त्रीले बताए । उक्त सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले विकास गर्ने चाहाना हुँदा पनि अवसरको अभावका कारण प्रत्येक वर्ष लाखौं युवा विदेशीन बाध्य रहेको हुँदा अब आकर्षक रोजगारीको अवसर सिर्जना गरि रोजगारी भित्र नै उपयुक्त पारिश्रमिक, सम्मानित काम गर्दै अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सन् २०३० सम्ममा ६८ लाख जनशक्ति उत्पादन गर्नु पर्ने आवश्यकता रहेको र सोही अनुसार कार्य विधिको तयारी भईरहेको बताए । उनले भने ‘नेपालमा नौं लाख युवा वेरोजगार रहेको र ५ लाख युवा वार्षिक रुपमा बाहिरी रहेको छन् , श्रम बजार हालसम्मपनि सुरक्षित, व्यवस्थित, पारदर्शी बन्न सकिरहेको छैन, त्यसलाई व्यवस्थित बनाउन मन्त्रालयले तयारी गरिरहेको छ ।’ माग अनुकुल जनशक्ति उत्पादन हुन सकेको छैन्, कामका लागि दिन प्रतिदिन युवा विदेशीयका छन्, त्यसकारण सरकारी स्तरबाट मात्र नभई प्रदेश, स्थानिय तथा नीजि क्षेत्रको सहकार्यमा श्रम बजारमा नेपाली श्रमिक मात्र नभई नेपालमा नै श्रम उत्पादन गर्न सकिने मन्त्री विष्टले बताए । श्रम रोजगार तथा सुरक्षा मन्त्रालयका सह सचिव नारायणप्रसाद रेग्मीले स्वागत मन्तव्य राख्दै उत्पादनशिल रोजगार विस्तार गर्न मन्त्रालय तत्पर रहेको जानकारी दिँदै मर्यादित काम र रोजगारी वृद्धि गरि आत्मनिर्भर बनाउन उक्त सम्मेलन आयोजना गरेको बताए । दुई दिनसम्म हुनेउक्त सम्मेलनमा रोजगार सम्बन्धि नीतिको समीक्षा, श्रम आप्रवासन र उद्यमी प्रदर्शनी कक्ष गरि दुई ढाँचामा कार्यक्रम प्रस्तुत भईरहेको छ । नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले उक्त सम्मेलनले रोजगारी क्षेत्रको विस्तार गर्नका लागि लेश भित्रको रोजगारीको अवसरको बारे जानकारी दिनुका साथै वैदेशिक रोजगार नेपालीको बाध्यतालाई विस्तारै निराकरण गर्ने सहयोगीको भूमिका खेल्ने बताए । श्रम रोजगार तथा सामाजिक मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणा, प्रदेश नं १ का श्रममन्त्री जिवन घिमिरे तथा मन्त्रालयका उच्च पदस्थ कर्मचारी, विषय विज्ञ, अनुसन्धानकर्ता, रोजगारदाताका प्रतिनिधिको उपस्थिति रहेको छ ।

एसिसी यु–१९ क्रिकेट खेल्न मलेशिया जाँदै नेपाली टोली

काठमाडौं । मलेशियामा यही असार १७ गतेदेखि आयोजना हुने एसिसी १९ वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी हुन १४ सदस्यीय नेपाली युवा टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन् । कप्तान रोहितकुमार पौडेलले नेतृत्व गरेको सो टोलीमा रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद खान, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, कमलसिंह ऐरी, खडक बोहरा, तिलक भण्डारी र लोकेश बम छन् । त्यस्तै टोलीको प्रशिक्षकमा विनोद दास छन् भने व्यवस्थापकमा राजु खड्का र फिजियोमा विक्रम न्यौपाने छन् । प्रतियोगितामा समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल यही असार १८ गते चीनसँग खेल्नेछ । नेपालको समूहमा चीन र सिङ्गापुर छन् । त्यसैगरी नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिङ्गापुरसँग खेल्नेछ । प्रतियोगितामा यसअघि आठ टोलीले सहभागिता जनाउने भनिए तापनि प्रतियोगिता शुरु हुनु केही दिनअघिमात्रै म्यान्मारले नाम फिर्ता लिएको थियो । समूह ए रहेको म्यान्मारले नाम फिर्ता लिएपछि उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका हुन् । अर्को समूहमा भने चार टोली छन् । अर्को समूहमा आयोजक मलेशियासँगै, भूटान, हङ्कङ र थाइल्याण्ड रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउने छन् । नेपाली टोली आइतबार दिउँसो २ बजे त्यसतर्फ प्रस्थान गर्नेछ । प्रतियोगिता यही असार २५ गतेसम्म चल्नेछ । रासस

चिकित्सकको नाम दर्ता परीक्षामा उत्तीर्ण भए ६३ प्रतिशत चिकित्सक र ३५ प्रतिशत नर्स

काठमाडौं । विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये २१७ जना मात्र उत्तीर्ण र १२५ जना अनुत्तीर्ण भएका काउन्सिलले जनाएको छ । नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित सो परीक्षामा तीन जना चिकित्सक अनुपस्थित रहेका थिए । यसैगरी, नेपाल नर्सिङ परिषद्ले शनिबार नै लिएको नर्सिङ दर्ता प्रमाणपत्र परीक्षा लाइसेन्सिङ इक्जामिनेशनमा ३५ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । परिषद्का अनुसार सो परीक्षामा एक हजार ५०१ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ५२६ जना मात्र उत्तीर्ण भएको परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष प्रा. गोमा निरौलाले यसपटकको परीक्षामा अपेक्षाकृत नतिजा नआएको तर यसैका आधारमा नर्सिङको शैक्षिक गुणस्तर खस्केको भन्न नमिल्ने बताए । रासस