नेशनल माइक्रोफाइनान्सले हावाहुरी पीडितलाई वितरण गर्यो राहत
काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वितीय संस्था लि शाखा कार्यालय गेटाद्धारा बिनासकारी हवाहुरी प्रभावित सदस्यहरुको लागी राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । समुह न ८४ की सदस्य रोमादेबी कटेलको अध्यक्षतामा संचालित कार्यक्रम प्रमुख अतिथि धनगढी स्थित नेपाल राष्ट्र बैङ्खका प्रमुख निर्देशक निश्चल अधिकारी र बिशिष्ट अथिति सस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा धनगढी स्थित नेपाल राष्ट्र बैंकका सहायक निर्देशक दोर्णबहादुर सिंह, बिभिन्न शाखा कार्यालयका प्रमुख, समाजसेवी, अभिभावकहरुको उपस्थिति रहेको थियो । राहतवितरण अन्तर्गत गेटा कैलाली शाखामा आवद्ध रहेका ग्राहक सदस्यहरु मध्ये १३० जना सदस्यहरुलाई जनही चामल १ बोरा, दाल ३ किलो, तेल ३ लिटर, नुन १ पोका,हल्दी १ पोका, र मिक्स मसाला १ पोका समाग्रीहरु वितरण गरिएको वित्तीय संस्थाले जनाएको छ ।
श्री सम्पन्न बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र माछापोखरीमा
काठमाडौं । श्री सम्पन्न बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौंको माछापोखरीमा सेवा केन्द्र संचालनमा ल्याएको छ । २०६४ साल फागुनमा स्थापना भएको सो सहकारीले आफ्ना सदस्यहरुको सेवालाई मध्यनजर गर्दै सेवा केन्द्र खोलेको हो । सेवा केन्द्रको सोही काठमाण्डौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले एक समारोहबीच उद्घाटन गरे । उनले सहकारी संस्थाहरु नाफामुलक भन्दा पनि सहकारीको मर्म अनुसार चल्न आग्रह गरे । सहकारीका अध्यक्ष बलराम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालले स्थानीय तहमा रहेको पुँजीलाई उत्पादनसँग जोड्न आग्रह गरे । समारोहमा सहकारीका सचिव तथा प्रवन्धक निर्माल गुरुवाचार्यले सहकारीको वित्तिय विवरणबारे प्रकाश पारेका थिए । जेठ मसान्तसम्म सहकारीको १ करोड २५ लाख सेयर पुँजी तथा निक्षेप १६ करोड ९ लाख रहेको छ । कर्जा लगानी १२ करोड ९८ लाख तरलता २ करोड २५ लाख रहेको र कुल वासलात २० करोड २१ लख रहेको बताइयो । राजधानीको महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको श्री सम्पन्न सहकारीको नुवाकोटको बट्टार र ढिकुरेमा पनि शाखा संचालन गरिरहेको छ ।
सूर्योदय लघुवित्तको ३ लाख २३ हजार कित्ता बोनस सेयर सूचिकृत
काठमाडौँ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख २३ हजार १९० कित्ता सेयर सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा बोनस सेयर सूचीकृत भएको हो ।
सहयोगी विकास बैंकको सिइओमा सुन्दर खड्का नियुक्त
काठमाडौँ । सिटिजन्स बैंकसँग गाभिने समझदारी गरेको सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार २२ गते बसेको बैठकले कामु प्रमुख कार्यकारी अधिकृत खड्कालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजेशकुमार मल्किकले जनाएका छन् । सिइओ खड्काले असार २९ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।
मलेसियालाई पराजित गर्दै क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश नेपाल
काठमाडौं । एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । साविक विजेतासमेत रहेको नेपालले अब उपाधिका लागि सिङ्गापुर र हङ्कङबीचको विजेतासँग खेल्नेछ । सिङ्गापुर र हङ्कङवीच दोस्रो सेमिफाइनल खेल अहिले भइरहेको छ । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्यलाई नेपालले १५ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । नेपालको जितमा भीम सार्कीले अविजित ३३ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले अविजित ३१ रन जोडे । त्यसैगरी पवन सर्राफले १८ रन तथा रित गौतमले तीन रन जोडे । बलिङतर्फ मलेसियाका हैकल मोहमद खेरले दुई विकेट लिए भने मुहमद आमीरले एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो । उसका लागि मुहमद आमिरले सर्वाधिक २४ रन जोडे । त्यस्तै हैकल मोहमद खेरले १२, वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन जोडे । मलेसियालाई सस्तैमा समेट्नेक्रममा नेपालका सागर ढकाल एक्लैले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए । उक्त प्रतियोगिताको उपाधि विजेता टोलीले श्रीलङ्कामा आयोजना हुने यु–१९ एशिया कपमा छनोट हुनेछन् । फाइनल खेल मङ्गलबार हुनेछ । रासस
राष्ट्रिय सभामा उद्योग मन्त्री यादवले भने-‘प्रयोगशालाको अभावमा विषादी परीक्षण गर्न सकिएन’
काठमाडौँ । विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर विभागमा मात्र परीक्षण गर्ने प्रभावकारी प्रयोगशाला रहेको र कृषि मन्त्रालयअन्तर्गत त्यससम्बन्धी प्रविधि कमजोर रहेका कारण पूर्ववत् अवस्थामा फर्कनुपरेको जानकारी दिए । मन्त्री यादवले सरकारले उद्योगको विकास गर्ने, उत्पादन बढाउने र आयात घटाउने नीति बनाएर काम गरिहेको बताउँदै सरकारमाथि निजीकरण गरी उद्योग बेचेर खान थाल्यो भन्ने आरोप छ, त्यसो होइन, उद्योग खोल्न भनी सरकारले उपलब्ध गराएको जमीन दुरुपयोग हुन नदिनेतर्फ सचेत र चनाखो छ भने । विदेशबाट कच्चा पदार्थ ल्याउँदा भन्सार छुट दिने वा नदिने भन्ने विषयमा दुई खाले सुझाव आए पनि सरकारले मुलुकको हितलाई ध्यानमा राखेर काम गर्ने उनले बताए । रासस
राष्ट्र बैंकको भवन शिलान्यास, ‘बैंकिङ प्रणाली ठीक नभए प्रतिकूल असर’
काठमाडौँ । दुई अर्ब आठ करोडको लगानीमा नेपाल राष्ट्र बैंकको नयाँ भवन बन्ने भएको छ । बालुवाटारस्थित नयाँ बन्ने भवनको सोमबार एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरिन् । उक्त अवसरमा राष्ट्रपति भण्डारीले भण्डारीले राष्ट्र बैंक स्वायत्त संस्था भएपनि सरकारले अगाडि सारेका विकास र सुशासनका एजेण्डालाई कार्यान्वयनमा लैजानु पर्ने बताइन् । बैंक तथा वित्तीय संस्थाहरुले आम जनताबाट संकलन गरेको बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गरी मुलुकमा रहेको मानवीय साधन र प्राकृतिक स्रोत र ब्यवसाय प्रवर्द्धन गर्न राष्ट्र बैंकले भूमिका खेलोस्-उनले बताइन् । राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने कामना गरिन् । उक्त भवन विसं २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित भएको थियो । उनले आम नेपालीमा विश्वास र भरोसा भएको बैंकले आगामी दिनमा जारी गर्ने मौद्रिक नीतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई साकार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । “कृषि, उद्योग, जलस्रोत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर मुलुकको छिटो आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्छ”, राष्ट्रपति भण्डारीले भनिन्, “ऐतिहासिक विरासत बोकेको यो बैंक र यसको भवन समग्र बैंकिङ प्रणालीमा अत्याधुनिक र मौलिक प्रतिबिम्ब बन्न सक्नुपर्छ ।” यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकले आफ्नो स्वायत्तताको प्रयोग जबाफदेही ढंगले गर्नु पर्ने बताए । उनले भने- ‘केन्द्रीय बैंक एउटा स्वायत्त संस्थाको रुपमा अघि बढ्नु पर्छ। नेपाल राष्ट्र बैंक ऐनले नै केन्द्रीय बैंको स्वायत्तता सुनिष्चित गरेको छ ।’नेपालको वित्तीय प्रणाली भनेको बैंकिङ प्रणालीकै आधिपत्य भएको प्रणाली भएको बताउँदै अर्थमन्त्री खतिवडाले यदि बैंकिङ प्रणाली ठीक भएन भने बीमा, धितोपत्र बजार, सहकारी प्रणालीहरुमा पनि प्रतिकूल असर पर्ने बताए । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुक अहिले आर्थिक क्षेत्रकै पुनःनिर्माणको चरणमा रहेको उल्लेख गर्दै सरकारले आर्थिक वृद्धिका साथै सामाजिक न्यायमा आधारित वितरणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ भने । लगानीको वातावरणका लागि सरकारले काम गरिरहेको भन्दै मुलुकलाई विद्युतीय र बैंकिङ कारोबारयुक्त बनाउन अभियान सञ्चालन गरिएको बताए । अर्थमन्त्री डा खतिवडाले वित्तीय स्थायित्वको चरणमा मुलुक पुगेकाले मूल्यवृद्धि र व्यापार घाटा घटाउन तथा लगानीको प्रतिफल ल्याउन बैंकले प्रभावकारी भूमिका खेल्न सक्ने बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुनःनिर्माणले पछिल्लो समयमा गति लिएको उल्लेख गर्दै नेपालले पुनःनिर्माणका क्षेत्रमा प्राप्त गरेका उपलब्धि र अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विनाशकारी भूकम्पबाट बालुवारटारस्थित केन्द्रीय कार्यालय, थापाथलीस्थित कार्यालयलगायत प्रभावित भएपनि भूकम्प गएको दोस्रो दिनदेखि सेवालाई निरन्तरता दिएको जनाए । लागत २ अर्ब ८ करोड, २ वर्षमा बन्ने कूल रु दुई अर्ब आठ करोडको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो ।
डिएपी मलको आपूर्ति, धनगढी र बौनियाबाट बिक्री शुरु
धनगढी । कैलाली जिल्लामा रासायनिक मल डिएपीको अभावका कारण कृषक समस्यामा परेपछि सरकारले रासायनिक मल आपूर्ति गर्न पहल गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारको पहलमा डिएपी मल आपूर्ति भई सोमबारबाट कैलालीको धनगढी र बौनिया गरी दुई ठाउँबाट बिक्री वितरण शुरु गर्न लागिएको साल्ट ट्रेडिङ कर्पोरेशनको धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिएका छन् । वीरगञ्जस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा मौज्दात रहेको डिएपी मलमध्ये ५०० मेट्रिक टन मल कैलालीमा आपूर्ति गरिएको पाण्डेले बताए । सरकारको अनुदानित उक्त ५० किलो प्रतिबोरा मलको रु दुई हजार २७६ मा बिक्रीवितरण गर्न लागिएको जनाइएको छ । रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मलको अभाव हुँदा किसान समस्यामा छन् । यस वर्ष मनसुन अहिलेसम्म सक्रिय हुन नसक्दा कैलालीलगायतका जिल्लामा असार तेस्रो हप्तासम्म अधिकांश जग्गामा रोपाइँ हुनसकेको छैन । सरकारी अनुदानको मल विक्रेता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित गोदाममा डिएपी मलको मौज्दात जेठ महिनामै सकिएको थियो । रासस