प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवः प्रदर्शनीमा बिक्री भए सात लाखको पुस्तक
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री भएको छ । यही असार ८ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा रु तीनदेखि रु एक हजार ४०० सम्मका कृति बिक्री भएका थिए । रु तीनको महेन्द्र प्रकाशन मालादेखि रु एक हजार ४०० को प्रज्ञा–अङ्ग्रेजी–नेपाली शब्दकोष राखिएकामा रु एक हजार ३५० मूल्यको ‘शब्दकोष’ २०० प्रति बिक्री भएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिएका छन् । विभिन्न समयमा प्रकाशित भएका कृति तथा पत्रपत्रिका समेत गरी करिब ४०० कृति बिक्रीका लागि राखिएको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । विभिन्न उमेर समूहका विद्यार्थी, शिक्षक, पुस्तकका पारखी, साहित्यकारका साथै पुस्तक व्यवसायीले अवलोकन गरेको प्रदर्शनीमा करिब १० हजारले अवलोकन गरेका थिए । निजी क्षेत्रका पुस्तक प्रकाशन गृहले करिब रु चार लाख बराबरको पुस्तक खरिद गरेको जनाइएको छ । नेपालका विभिन्न जाति, संस्कृतिका इतिहास, परम्परा तथा संस्कारकाबारे प्रतिष्ठानले प्रकाशित गरेका कृतिका साथै स्वदेशी साहित्यकारका महत्वपूर्ण कृतिलाई अङ्ग्रेजी, हिन्दी भाषामा तथा विदेशीका कृतिलाई नेपालीमा अनुवाद गरी प्रदर्शनीमा राखिएको थियो । प्रतिष्ठानको शुरुआतदेखि विसं २०६७ सम्मका कृतिलाई ६० प्रतिशत र ०६८ देखि हालसम्मका प्रकाशित कृतिमा ४० प्रतिशत छुटमा उपलब्ध गराइएको थियो । प्रतिष्ठानले वार्षिकोत्सवका साथै राष्ट्रिय महत्वका विभिन्न कार्यक्रम र ठूला साहित्यकारको स्मृतिमा समेत यस किसिमका प्रदर्शनी गर्ने गरेको छ । रासस
सवारी दुर्घटनामा तीव्र वृद्धि, ज्यान गुमाउनेमा पुरुष बढी
सिरहा । सिरहा जिल्लामा आर्थिक वर्ष २०७५/७६ को ११ महिनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा पुरुष ६४, महिला १० र बालबालिका पाँच गरी जम्मा ७९ ले विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले जनाएको छ । चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, ट्राफिक नियमको उल्लङ्घन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमताभन्दा बढी यात्रु बोक्ने, साँघुरो सडक, सवारी चालक अनुमतिपत्रविना सवारी चलाउनु सवारी दुर्घटनाको प्रमुख कारण रहेको जिल्ला ट्राफिक कार्यालय लहान सिरहाका ट्राफिक प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन् । जिल्लामा ट्राफिक जनशक्ति अपुग भएर सबै ठाउँमा ट्राफिकपोष्ट नभए पनि ‘सरप्राइज’ चेकिङ, जेब्राक्रसिङ निर्माण, सवारी चालकको स्वास्थ परीक्षण, विद्यालय सम्पर्क कार्यक्रम, सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम गरी सडक दुर्घटना न्यूनीकरणका लागि लगातार प्रयास गरिरहेको ट्राफिक प्रहरी निरीक्षक बस्नेतले बताउँछन् । ट्राफिक नियमको उल्लङ्घन गरी चलाएको बस, ट्रक, कार, जिप, ट्र्याक्टर, मोटरसाइकल तथा अन्य सवारीसाधनलाई कारवाही गर्दा आर्थिक वर्ष २०७५/७६ मा रु एक करोड ५० लाख ६१ हजार जरिवानावापत राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय लहानका ट्राफिक प्रहरी नायब निरीक्षक मनोजकुमार चौधरीले बताए । गत आर्थिक वर्ष २०७४/७५ मा रु एक करोड ९८ लाख ८९ हजार विभिन्न सवारीसाधनलाई कारवाही गर्दा राजश्व सङ्कलन भएको थियो । जिल्लामा सदरमुकाम सिरहा, बन्दीपुर, मिर्चैया, गोलबजार, धनगढी, ठाडी र सुखीपुर गरी नौ स्थानमा ट्राफिक प्रहरी चेकपोष्ट कायम गरी ट्राफिक जाँच हुँदै आएको छ । रासस
८ वटा औषधी नमुना परिक्षणमा फेल, बजारबाट फिर्ता मगाईयो
काठमाडौं। ८ वटा औषधीहरु नमुना परिक्षणको क्रममा फेल भएका छन्। परिक्षणमा फेल भएको कारण ति ८ वटा औषधीहरुलाई बजारबाट फिर्ता मगाईएको छ। फेल हुनेम औषधीमा २ वटा भारतिय र ६ वटा नेपाली कम्पनीको रहेका छन्। विभागका अनुसार जीडी फर्मास्यूटिकल्स प्रालिले उत्पादन गरेको PITI-1702 Pantona, गोरखा आयुर्वेद कम्पनीका 1351 Avipattikar churna, Pet safa गरी दुईवटा, नेपाल फर्मास्यूटिकल्स लेब्रोटरी बीरगञ्जले उत्पादन गरेको LPN-74165 Formin -GI forte, आरोग्य भवन वर्क प्रालि र सगरमाथा आयुर्वेदिक औषधि उद्योगका क्रमश 0169 Aarogya Balbel churna, 014 Pushyanug churna सहित छ नेपाली उद्योगका औषधि रिकल गर्न भनिएको हो । यस्तै अलकेम लेब्रोटरिज मुम्बई भारत 8282346 Almok-500 , सागा लेब्रोटरिज अमदावाद भारत बाट Ex-014018 Amoxyn-500 आएका क्रमश व्याजका औषधि पनि गुणस्तरमा फेल भएका छन । नमूना परीक्षणका क्रममा फेल भएपछि बजारमा गएका सबै औषधिहरु रिकल गर्न निर्देशन दिइएको विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले जानकरी दिए। उक्त औषधीहरु माईक्रोवेल टेष्ट र घुलनसिल क्षमतामा फेल भएको उनले बताए ।
द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला, अवैध महसहित दुई पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएको टोलीले चिङ्गाड गाउँपालिका–७ वडाकाँडास्थित बाटोको एक मिटर छेउमा ढुङ्गामुनि प्लाष्टिकको पोकामा लुकाएको अवस्थामा फेला पारेको थियो । पोकामा बम बनाउन प्रयोग हुने सकेट ७८ थान, गन्धक दुई केजी, सेफ्टीफ्यूज आठ थान, डेटकड एक मिटर र केप ६० थान फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । फेला परेका सबै विष्फोटक पदार्थको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको उनले बताए । त्यसैगरी, प्रहरीले आइतबार नै १४५ लिटर अवैध मह बरामद गरेको छ । वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी ४२ वर्षीय लक्ष्मी विक र १८ वर्षीय सुरेन्द्र सुनारले खाद्य पदार्थमा फिट्कीरी जस्तो अखाद्यवस्तु मिसाइ लुकाइछिपाई राखेको अवस्थामा मह बरामद गरेको हो । बरामद गरिएको १४५ लिटर अवैध महसहित विक र सुनार दुवैलाई आवश्यक कारवाहीका लागि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जानकारी दिएको छ । रासस
सुविधा सम्पन्न होटल खुल्नेक्रम बढ्दैः राज्यको नयाँ संरचनाले भने लगानी डुब्ने चिन्ता
पर्यटन व्यवसायलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा ठूला सुविधा सम्पन्न होटल खुल्नेक्रम बढ्दै गएको छ । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल र डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँच तारेसहितका सुविधा सम्पन्न होटल खुल्नेक्रम बढेको होटल व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले बताएका छन् । झण्डै एक दशकयता नेपालगञ्जमा पाँचतारे, चारतारे र तीनतारेसहित दर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, सिटी प्यालेस र किचन होटललगायत सुविधा सम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएको उनले बताए । अध्यक्ष काफ्लेका अनुसार एक दशकयता नेपालगञ्जमा ठूला होटल व्यवसायमा झण्डै रु पाँच अर्ब लगानी भएको छ । यसरी, साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा राष्ट्रिय, अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको नेपालगञ्जका ठूला होटल व्यवसायीलाई राज्यको नयाँ शासकीय संरचनाले भने झस्काएको छ । सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश नं ५ र यसको राजधानी बुटवल हुनुले नेपालगञ्जमा ठूलास्तरका कार्यक्रम नहुँदा लगानी डुब्ने चिन्ताले होटल व्यवसायीलाई पिरोल्न थालेको छ । “पुरानो संरचना हुँदासम्म होटल भरिभराउ हुन्थे, नयाँ संरचनापछि त प्रायःहोटलका कोठा खाली हुने गरेका छन् । सरकारी तथा गैरसरकारी निकायका कार्यक्रमले भरथेग हुने अवस्था पनि अब रहेन”, नेपालगञ्जस्थित होटल इन्द्रेणीका सञ्चालक घनश्याम थापा बताउँछन् । अर्कोतर्फ, नयाँ सुविधा सम्पन्न होटल थपिँदै गएपछि सञ्चालनमा रहेका पुराना होटललाई भने व्यवस्थापन खर्च धान्न नै मुस्किल परेको अवस्था छ । “अन्य व्यापारबाट कमाएको धन होटल व्यवसायमा लगानी गर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण नेपालगञ्जको होटल व्यवसाय कतै धरापमा पर्ने त होइन भन्ने चिन्ता बढाएको छ”, होटल व्यवसायी सङ्घ प्रदेश ५ का अध्यक्ष काप्mलेको भनाइ छ । उनका अनुसार, नेपालगञ्जका ठूला सुविधा सम्पन्न होटलको मुख्य स्रोत मानिएको मानसरोवरका अधिकांश भारतीय तीर्थयात्री ट्राभल एजेन्सीमार्फत आउने र ट्राभल एजेन्सीले उधारोमा व्यापार गर्दा अपेक्षितरुपमा लाभान्वित हुन नसकेको अवस्था पनि यहाँ छ । यो वर्ष मानसरोवरका तीर्थयात्री घटेकाले यहाँका ठूला होटल व्यवसायी दोहोरो मारमा परेको अध्यक्ष काप्mलेले बताए । मानसरोवरका तीर्थयात्रीबाहेक बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली क्षेत्रको रारा र शे–फोक्सुण्डो ताल, प्यूठानको स्वर्गद्वारी लगायतका पर्यटकीय क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटक यदाकता आउने भएकाले होटल व्यवसायीलाई केही राहत मिलेको व्यवसायीको भनाइ छ । रासस
इण्डिगोले बजारमा ल्यायो वालमेट लोटस इफेक्ट्स पेन्टस्
काठमाडौं । इण्डिगो पेन्ट्सले वालमेट लोटस इफेक्ट्स एक्सटेरियर पेन्ट्स बजारमा ल्याएको छ । १० वर्षको प्रफमेन्स वारेन्टीका साथ ल्याइएको यो एक्सटेरियर पेन्ट्स सेल्फ क्लीरेङ्ग, वाटर रेपेलेन्ट, हाइ ग्लस्, डस्ट प्रूफ, इको फ्रेन्डली जस्ता विशेषता युक्त रहेको छ । वालमेट लोटस इफेक्ट्स वाटर वेस्ड इक्स्टिअरिअर पेन्ट हो । यो उत्पादन उच्च गुणस्तरीय त छ नै सँगसँगै मूल्यका हिसावले समेत प्रतिस्पर्धी छ । त्यसैले उपभोक्ताहरुले यो रंग मनपराउने विश्वास कम्पनीले लिएको छ । वि.सं. २०६५ सालमा उत्पादन शुरु गरेको यस कम्पनीले डिस्टेम्पर, इमल्सन, वेदरकोट, प्राइमर, वालपुट्टी लगायतका तीन दर्जन बढी सेगमेन्टमा रंगहरुको उत्पादन गर्दै आइरहेको छ । कम्पनी उत्पादन वातावरण मैत्री रहेका छन् । वार्षिक २५ सय टन उत्पादन गर्दै आइरहेको इण्डिगो पेन्ट्सले उद्योगको क्षमता विस्तार गरी आगामी वर्ष ३५ सय टन उत्पादन पुर्याउने लक्ष्य लिएको छ । प्रदेश नं. १,३,४,५,७ लगायतका प्रमुख शहरहरुमा ३ सय ५० डिलरहरुबाट कम्पनीका उत्पादन विक्री वितरण भइरहेका छन् । रंग उत्पादनको क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिद्धारा प्रवद्र्धित सो कम्पनीले ६० जनालाई रोजगारी प्रदान गरेको छ । गुणस्तरीय र सुलभ मुल्यमा इण्डिगोका रंग उपलब्ध हुँदा नयाँ नयाँ उत्पादन बजारमा ल्याइरहेको कम्पनीले जनाएको छ ।
राष्ट्रिय गौरवका आयोजनामा ‘सिंहदरबार लाइभ’, प्रधानमन्त्रीको प्रत्यक्ष निगरानी
काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको सीसीटिभीबाट निगरानी गर्ने भएको छ । हाल धमाधम निर्माणको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुमा सीसीटीभी जडान गरेर प्रधानमन्त्री केपी ओलीले सिंहदरबाटै प्रत्यक्ष निगरानी गर्न लागेका हुन् । त्यसका लागि हालसम्म ११ वटा आयोजनाहरुमा सीसीटिभी जडानको कार्य सम्पन्न भैसकेको छ । ‘११ वटा आयोजनामा सीसीटीभी जडानको काम सम्पन्न भएको छ, एक साताभित्रै प्रधानमन्त्रीज्यूले निगरानी थाल्नु हुनेछ’, मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगानाले विकासन्युजसँग भने । उनका अनुसार प्रधानमन्त्री कार्यालयमा स्थापना भएको ‘एक्सन रुम’बाट प्रधानमन्त्री ओलीले ११ आयोजनाहरु लाइभ हेर्नेछन् । यस अघि नै एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सात वटै प्रदेशका मुख्य मन्त्रीहरुसँग भिडियो लाइभ गरेका थिए । प्रत्येक आयोजनामा कम्तिमा ६ वटा सीसीटीभी जडान गरिएको छ । सम्वद्ध आयोजनाले सिफारिस गरेका ठाउँमा सीसीटीभी जडान गरिएको हो । सरकारले नयाँ घोषणा हुने गौरवका आयोजनामा भने सीसीटिभी अनिवार्य गरिएको छ । ‘नयाँ गौरवका आयोजनामा सीसीटिभी सर्भिलेन्स राख्नै पर्छ भन्ने नियम नै बनेको छ, पुरानाका हकमा पनि क्रमशः जडान गर्दै जाने हो’, सचिव ढुंगानाले भने । यी हुन प्रधानमन्त्रीले सिंहदरबारबाटै लाइभ हेर्ने ११ वटा आयोजना १) सिक्टा सिँचाई आयोजना २) रानी–जमरा–गुलरिया सिँचाई आयोजना ३) भेरी–बबई बहुउदेश्यिय डाइभर्सन आयोजना ४) अपर तामाकोशी जलविद्युत आयोजना ५) काठमाडौं–तराई मधेश द्रुत मार्ग ६) पोखरा क्षेत्रिय विमानस्थल ७) भैरहवा अन्तराष्ट्रिय विमानस्थल ८) पुष्पलाल(मध्यपहाडी) राजमार्ग ९) राष्ट्रपति चुरे संरक्षण कार्यक्रम १०) मेलम्ची खानेपानी आयोजना ११) हुलाकी राजमार्ग मेलम्ची खानेपानी आयोजनाको सुन्दरजलस्थित पानी प्रशोधन केन्द्रमा सीसीटीभी जडान गरिएको छ भने मुहानको हेडवक्र्स लगायतका ठाउँ पनि जडान गरिएका छन् । पुष्पलाल(मध्य पहाडी) राजमार्गको बाग्लुङ बुर्तिवाङ खण्डमा सीसीटीभी जडान गरिएको छ । प्रधानमन्त्री कार्यालयमा सीसीटिभीले लाइभ गर्नेछ भने त्यसको रेकर्ड समेत गरिएको हुनेछ । प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा निगरानी गर्नेछन् । पहिलो चरणमा ११ वटा आयोजनामा सीसीटीभी जडान गरेपछि बाँकी आयोजनामा पनि आवश्यकताका आधारमा क्रमशः जडान गर्दै जाने योजना सरकारले बनाएको छ ।
बीमामा किर्तेः सर्भेयरको क्षमतामाथि न्यायाधीशको र न्यायाधीशको निर्णयमाथि वकिलको प्रश्न
काठमाडौं । बीमाको दाबी भुक्तानीको क्रममा उत्पन्न हुने विवादको न्यायिक निरूपणको क्रममा सुधार आवश्यक देखिएको सरोकारवालाहरूले बताएका छन् । आइतबार बीमा समितिले आयोजना गरेको बीमा विवादको न्यायिक निरूपणका चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा पाटन उच्च अदालतका न्यायाधीशहरू, कानून व्यवसायीहरू र बीमा समितिका अधिकारीहरूले न्यायिक निरूपणको क्रममा हुने गम्भीर त्रुटिहरू औल्याएका छन् । न्यायाधीशहरूले बीमा सर्भेयरले बनाउने रिर्पोटको विश्वसनियतामा प्रश्न गरेका छन् । ‘बीमितको नोक्सानीको मूल्याङ्कन कसरी हुन्छ ? यसको मापदण्ड के हो ? विश्वसनियता के हो ? सर्भेयरले जति नोक्सानी भएको रिपोर्ट गरेको हुन्छ, बीमकले त्यसमापनि घटाएर क्षति र भुक्तानी दिने रकम निर्धारण गरिएको हुन्छ । त्यसमा बीमित असन्तुष्ट भएर अदालतसम्म आएपुग्छ’-न्यायाधीश अग्नी थपलियाले भने । एक जना सर्भेयरले गरेको रिर्पोटमा विवाद भए सर्भेयरहरूको समूहले पुन सर्भे गर्ने अभ्यास गर्न न्यायाधीशहरूले बीमा समितिलाई सुझाव दिएका छन् । यता, बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँले न्यायाधीशहरुको सुझाव राम्रो भएको भन्दै विवादित केसमा समूहले सर्भे गर्ने गरी आवश्यक कानून संशोधन गरिने बताए । त्यस्तै, अर्धन्यायिक निकायको भूमिकामा रहेको बीमा समितिले गर्ने न्याय निरोपणको विधि, संगठनिक संरचनामा पनि सुधार गर्न सुझाव दिएका छन् । बीमा समितिको सञ्चालक, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले बीमा समितिमा न्यायिक निरूपणका लागि उचित संरचना नभएको बताए । बीमा दाबी सम्बन्धि विवाद ज्यादै प्राविधिक भएको, तर बीमा समितिमा यस प्रकारका काम गर्ने जनशक्ति ज्यादै कम भएको, यस्ता जनशक्ति टिकाउनपनि बीमा समिति सफल नभएको उनले बताए । सर्भेयरको व्यक्तिगत क्षमताको मापदण्ड बनाउन नसकिएको, टाठाबाठाले बीमामा किर्ते गरी कमाउ धन्दा गरेको बताउँदै यसलाई रोक्न सरोवारवाला सबै जिम्मेवार बन्न पर्ने बताए । अध्यक्ष चापागाईँ प्रस्तावित बीमा विधेयकमा सर्भेयरलाई थप जिम्मेवार बनाउने, उनीहरूको क्षमतामा विशिष्टिकरण गर्ने, व्यक्तिगत क्षमताको मापदण्ड तोकेर नियमावली संशोधन गर्ने तर्फ बीमा समितिले काम गरिरहेको बताए । उता, कानून व्यवसायीहरूले बीमा दाबी विवादबारे अदालतले विवादस्पद फैसला गर्ने गरेको, फैसलाको कार्यान्वयन ढिला भएको भन्दै आलोचना गरेका छन् । उच्च अदालतका प्रमुख न्यायाधीश कुमार चुडाल प्रमुख अथिति रहेको र उच्च अदालतका अन्य न्यायाधीशहरू सहभागी कार्यक्रममा अधिवक्ता शेखर अर्यालले भने–‘बीमितलाई क्षतिपूर्ति दिने विषयमा कुनै फैसलामा ब्याजसहित क्षतिपूर्ति दिन भनिएको हुन्छ । कुनैमा ब्याज पर्दैन । बास्तविक क्षतिको मात्र भुक्तानी गर्न बीमकलाई निर्देशन दिएको हुन्छ ।’ त्यस्तै मादक पदार्थ खाएर सवारी दुर्घटना भएको केसहरूमा कुनैमा चालकलाई दोषी ठहर गरी उसैले क्षतिपूर्ति दिनु पर्ने फैसला आएका छन् । कुनैमा बीमा कम्पनीले क्षतिपूर्ति दिनु पर्ने गरी फैसला भएको उनले सुनाए । अधिवक्ता तिलक पाण्डेले बीमितले बीमाका दावी गर्ने हदम्याद विवादास्पद भएको बताए । ‘बीमा समितिले ७ दिनभित्र बीमा कम्पनीमा दाबी गर्नुपर्छ भन्छ । बीमा करारमा कसैले १५ दिन, कसैले ७ दिन राखेका छन् । यहि विषय अदालतमा पुगेपछि देवानी संहिता लागू हुन्छ । त्यसमा पीडितले क्षतिको दावी जहिलेसुकै गर्न सक्ने व्यवस्था गरेको छ,’ उनले भने । त्यस्तै, अदालतको फैसलापछि पनि बीमितले भुक्तानी पाउन नसकेको कानून व्यवसायीहरूले बताएका छन् । उनीहरूले बीमा समितिले मध्यस्तताको भूमिका पनि निर्वाह गर्नुपर्ने सुझाव दिएका छन् । समितिका अध्यक्ष चापागाईँले एउटै गाडी ६ वटा बीमा कम्पनीमा बीमा गर्ने र दुर्घटना गराएर ६ वटै बीमा कम्पनीमा दाबी माग्ने जस्ता गम्भीर समस्या रहेको, बीमा पोलिसी नै नक्कली बनाएर बेच्ने गरेको, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालयले अधिकार क्षेत्र बाहिर गएर निर्णय गर्ने गरेको समस्याहरू सुनाए ।