लालीगुराँसले पायो प्रदेश ३ को उत्कृष्ट सहकारी पुरस्कार
ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षको उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार-२०७५ प्राप्त गरेको छ । ९७ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ बाट श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठलाई २० हजार रुपिया नगद सहित सम्मन पत्र प्रदान गरेकी हुन् । गएको चैत २० गते राष्ट्रिय सहकारी दिवसको दिन घोषणा गरिएको पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको प्रदान गर्ने निर्णय अनुसार शनिबार पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीले अब कृषी क्षेत्रमा सहभागिता बढाउनु पर्ने बताइन् । राष्ट्रिय सहकारी महांसघद्वारा आयोजित कार्यक्रममा सात प्रदेशबाट सात र संस्थागततर्फ ललितपुर बहुउद्देश्यीय संघलाई सम्मान गरिएको थियो । महासंघले श्री लालीगुराँस सहकारी संस्था लि लाई प्रदेश ३ को उत्कृष्ट सहकारी घोषणा गरेको हो । कार्यक्रममा प्रदेश १ बाट झापाको शुभलक्ष्मी सकारी संस्था, प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था, गण्डकी प्रदेशबाट बाग्लुङको आदर्श सञ्चार सहकारी संस्था, ५ बाट रुपन्देही सामुहिक विकास साकोस, कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था र सुदुरपश्चिम प्रदेशबाट कैलालीका किसान बहुउद्देश्यीय सहकारी संस्थालाई नगद २० हजार पुरस्कार सहित सम्मान गरिएको छ । त्यसैगरी सो अवसरमा विभिन्न १० जिल्लास्तरीय संघहरुलाई कार्यालय उपकरण समेत वितरण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले मर्यादित काम सिर्जना गर्न सहकारीले युद्धस्तरमा काम गरेको र आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अछामका महिलालाई घरेलु सेनिटरी प्याड उत्पादन तालिम
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुलाई सेनिटरी प्याड उत्पादन तालिम सुरु भएको छ । पुनः प्रयोग गर्न मिल्ले गरी प्याड उत्पादन गर्ने तीन दिने तालिम आइतबारदेखि सुरु भएको हो । छाउपडी प्रथाबाट प्रभावित नगरका महिलाहरुलाई नौ वटा समूह बनाएर तामिल दिन लागिएको छ । यो तालिमले महिलाहरुलाई महिनावरी हुँदा सुरक्षित बनाउको साथै उद्दमशीलता समेत बनाउने छ । नगरपालिकाको आर्थिक सहयोग र संवाद डबलीको समन्वयमा सुरु भएको तालिममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको छ । नगरपालिकाका ९ वटै वडामा एउटा–एउटा समूह बनाइएको छ । प्रत्येक समूहमा तीन-तीन जना महिला हुने संवाद डबलीका सचिव धनन्वय बुढाले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख देवराज देबकोटाले सहभागिले बढीभन्दा बढी महेनत र क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे । देबकोटाले विगतमा पनि यस्ता धेरै कार्यक्रमहरु हुँदै आएको भएपनि यो कार्यक्रबाट क्षमताको विकास गरेर विशेष उपलब्धि हुनुपर्ने धारणा राखे । समूहले उत्पादन गरेको प्याड वडाका महिलाहरुको साथै आसपासका क्षेत्रमा पनि बजारीकरण गर्नेछन् । जसले छाउपडी प्रथाविरुद्धको अभियानसँगै महिलाहरुलाई उद्यमशील समेत बनाउने छ ।
सबैको लघुवित्तको आइपीओ साउन १ गते खुल्ने, ५ गते भरिसक्नु पर्ने
काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) साउन १ गतेदेखि खुल्ने भएको छ । तनहुँ बन्दीपुर १ डुम्रे केन्द्रीय कार्यालय भई तनहुँ, चितवन, रुपन्देही, दाङ, नवलपरासी, नवलपुर, गोरखा, पर्सा, बारा, रौतहट, बाँके, बर्दिया, सर्लाही, सिरहा, सप्तरी, सुर्खेत, कञ्चनपुर, कैलाली, रसुवा, धनुषा, महोत्तरी र कास्की कार्यक्षेत्र भएको सबैको लघुवित्तको ५ लाख ३० कित्ता सेयर खुल्न लागेको हो । जसमध्ये ४ लाख ९५ हजार कित्ता सर्वसाधारणलाई, ८ हजार २ सय ५० कित्ता कम्पनीका कर्मचारीलाई र २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि २००० कित्तासम्म आवेदन दिन सकिने छ । साउन १ गतेदेखि खुल्ने सेयर छिटोमा साउन ५ गते र ढिलोमा साउन ३० गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
तनहुँ जलविद्युत् आयोजना: बाँध निर्माण गर्न चार कम्पनीको बोलपत्र पेश
काठमाडौँ । इटालियन कम्पनी सिएमसीले छाडेर हिँडेको तनहुँ जलविद्युत् आयोजनाको बाँधलगायतका संरचना निर्माणका लागि विभिन्न चार कम्पनीले बोलपत्र पेश गरेका छन् । कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बाँध लगायतका संरचना निर्माणका एक नेपाली कम्पनीको संयुक्त उपक्रमसहित चार कम्पनीले बोलपत्र पेश गरेका हुन् । आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आज ती कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् । दातृ निकाय एशियाली विकास बंैकको खरीद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र पेश गर्ने कम्पनीमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र सोङ डा कर्पोरेशन भियतनाम/कालिका कन्सट्रक्शन, नेपाल जेभी छन् । कम्पनीहरुले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङकन गरी सारभूत रुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए । प्राविधिक बोलपत्रको मूल्याङ्कन आगामी भदौको दोस्रो साताभित्रमा सम्पन्न गरी सहमतिका लागि एशियाली विकास बैंकमा पठाइने र त्यहाँबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोलिने उनले जानकारी दिए । आगामी कात्तिकको दोस्रो साताभित्रमा ठेक्का सम्झौता गर्ने र आगामी पुसको दोस्रो साताभित्रै आयोजनास्थलमा निर्माण व्यवसायी परिचालन गर्ने लक्ष्य रहेको छ । पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । शुरुमा बोलपत्र पेश गर्ने अन्तिम दिन गत २६ जेठसम्म तोकिएकामा सम्बन्धित कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो । छनोट हुने निर्माण व्यवसायी कम्पनीले आयोजनाको कूल १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम शुरु गरिरहेको छ । सो कम्पनीले हाल आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासगृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइनलगायतका काम गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको अवस्था छ । आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ । दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस
राजधानीमा अहिलेसम्म छैन पर्यटकीय बसपार्क, कसरी सफल होला भ्रमण वर्ष २०२० ?
काठमाडौँ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारी साधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन । मुलुकको आर्थिक मेरुदण्डको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पर्यटकीय बसका लागि बसपार्क नहुँदा सोह्रखुट्टेको सडकबाट सवारी साधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य भएका छन् । काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर लगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सवारी साधन सञ्चालन हुँदै आएका छन् । विगत वर्षमा जमलस्थित कान्तिपथ सडकबाट पर्यटक ओसार्ने गरेपनि गृहमन्त्री रामबहादुर थापाले अगाडि सारेको गृह प्रशासन सुधार योजना अनुरुप गतवर्षको असार १६ गते काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरीलगायतले पर्यटक बसलाई कान्तिपथबाट हटाएर सोह्रखुट्टे सडकमा अस्थायी बसपार्कको रुपमा व्यवस्था गरेको थियो । काठमाडौँ महानगरपालिकाले कान्तिपथ क्षेत्रमा धेरै भिडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएको बताएको थियो । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)का अध्यक्ष प्रल्हाद लोहनी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने बताउँछन् । “सरकार सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भन्छ, तर पर्यटकीय सवारी साधन सडकबाट गुड्नुपर्ने बाध्यता छ,”–उनले बताए । विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारी साधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको उनको भनाइ छ । कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगेपनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष लोहनी बताउँछन् । काठमाडौँबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि तीन महीने कार्ययोजना बनाएर काम गरिरहेको छ । सो कार्ययोजनामा जेब्राक्रसिङ निर्माण, बस पकेट निर्धारण, फुटपाथ व्यवस्थापन, करिडोर निर्माण, सडक विस्तारलगायत रहेका छन् । ट्राफिक प्रहरीले आगामी दिनमा पर्यटकीय सवारी साधन व्यवस्थित गर्न पर्यटकीय बसपार्क निर्माण गर्ने कुरामा सरोकारवाला निकायसँग छलफल गरेर काम गर्ने महाशाखाका प्रमुख वसन्तकुमार पन्त बताउँछन् । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)का महासचिव कृष्ण आचार्य पर्यटक बसपार्क निर्माणका लागि टिवानले पटक÷पटक सम्बन्धित निकायमा छलफल चलाइरहेको बताउँछन् । “सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न सकेको छैन,”–उनले भने । पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता भएको उनको भनाइ थियो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय बसका लागि छुट्टै बसपार्क आवश्यक रहेको बताउँछन् । “पर्यटक बसपार्क निर्माण गर्ने कुरामा सरकार सकारात्मक छ,”-उनले बताए । हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै सय पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टे पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् । रासस
नेशनल लाइफको ३५ लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको ३५ लाख ७७ हजार १३२ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट वितरण गरेको बाृेनस सेयर आइतबार नेप्से सूचीकृत भएको हो ।
सप्तरीको कल्याणपुरमा सनराइज बैंकको शाखा बिस्तार
काठमाडौँ । सनराइज बैंकले सप्तरी जिल्ला खडक नपा वडा नं. ०७ कल्याणपुरमा ११३ औँ शाखा संचालनमा ल्याएको छ । आईतबार आयोजित औपचारिक कार्यक्रममा खडक नगरपालिकाका मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्यश्री बच्छ राजतातेडले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यो समेत गरी बैंकको शाखा संख्या ११३ पुगेको छ ।
ग्लोबल आइएमई र जनता बैंकको सेयर कारोबार रोक्का
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार भईरहेको ग्लोबल आइएमई बैंकको सेयर कारोबार रोक्का भएको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जर कार्य सम्पन्न नहुँदासम्म कारोबार रोक्का गरिएको छ । मर्जरका लागि दुई वटै बैंकले नेपल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दिएका छन् । यस्तै जनता बैंकको समेत सेयर कारोबार रोक्का भएको छ । यता, कैलाश विकास बैंकको पनि आजदेखि शेयर कारोबार रोक्का भएको छ । गत शुक्रबार प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो । यी बैंकहरुको मर्जर तथा एक्विजिशन प्रक्रिया पूरा भएर एकिकृत कारोबार भएपछि नयाँ बन्ने बैंकको नाममा सेयर कारोबार खुला हुने नेप्सेले जनाएको छ ।