मौद्रिक नीतिबारे राष्ट्र बैंकले लियो सुझावः ‘मर्जरमा बल नगर्नोस’
काठमाडौं । बैंकर्सहरूले बैंक तथा वित्तीय संस्थालाई बलपूर्वक मर्जरमा नलैजान सल्लाह दिएका छन् । राष्ट्र बैंकले सोमबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि छलफल कार्यक्रममा नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बलपूर्वक मर्जरमा नलैजाने सुुझाव दिएका हुन् । यदि मर्जरको आवश्यकता हो भने राष्ट्र बैंकले प्रोत्साहन गर्ने गरी मौद्रिक नीति ल्याउनु पर्छ, उनले भने– ‘बलपूर्वक मर्जरको नीति लिन नपरोस् ।’ सुझाव संकलन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले बैंकहरूलाई बलपूर्वक मर्जरमा लान नहुने बताए । बैंकहरूबीच विहे गराउने विषयलाई अग्रवालले मर्जर विवाह भन्दापनि संवेदनशील भएको बताए । मर्जर भनेको आत्मा शरीर दुबै एक हुने हो, उनले भने– ‘ यस्तो संवेदनशील विषयलाई बलपूर्वक मर्जरमा लानु हुँदैन ।’ फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले मर्जर स्वतफूर्त हुुनुपर्ने धारण राखे । नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले राष्ट्र बैंकले सहुलियत दिए लघुवित्तलाई पनि मर्जर गरेर ५० वटामा झार्न सक्ने बताए । हाल नेपालमा एक सय वटा लघुवित्त छन्, यसलाई आधामा झार्न सकिन्छ। उनले भने– ‘राम्रो सेवा, सुविधा र प्रोत्साहन पाए हामी ३०-३५ वटामा पनि झर्न सक्छौं ।’ राष्ट्र बैंकले मौद्रिक नीतिसम्बन्धि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निक्षेप तथा कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ३ प्रतिशतमा झार्न सुझाएकी छिन् । अहिले बैंकहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर अन्तर साढे चार प्रतिशतसम्म राख्न पाउने व्यवस्था गरिएको छ । महासंघले यसअघि नै मौद्रिक नीतिका लागि २१ बुँदे सुझाव दिइसकेको छ । वित्तीय बजारमा लगानी योग्य पुँजी नहुँदा यसको चाप ब्याजदर परेको बताउँदै बैंकर्स संघका अध्यक्ष ढुंगाना भने– ‘आगामी वर्षमा ब्याजदरका लागि सहमति र सम्झौता गर्न नपरोस् ।’ खुला अर्थको विशेषताअनुसार ब्याजदर बजार निर्देशित होस् । भरसक ब्याजदर एकल अंकमा ल्याउने हाम्रो पनि चाहना हो ।’ कार्यक्रममा चेम्बरका उपाध्यक्ष अग्रवालले कर्जाको ब्याजदर ७ देखि ९ प्रतिशतमा राख्नुपर्ने बताए । कर्जामा कार्टेलिङ गर्दै आएका बैंकहरूलाई ब्याज सस्तो बनाउन राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । पुनरकर्जा कोष १ खर्बको बनाउनु पर्नेमा पनि अग्रवालले जोड दिए । सुझाव संकलन कार्यक्रममा बैंक अफ काठमाण्डुका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले मर्जर बजारमा तरंग ल्याएको बताए । मर्जरले बैंकलाई सुदृढीकरण गर्ने बताउँदै उनले भने ‘अब पश्चाताप नगर्ने गरी तथा पछि पछुताउनु नपर्ने गरी कार्य सम्पादन गर्नुपर्ने बताए । यसअघिको मर्जरमा हकप्रद सेयर निष्कासन गर्न नपाउने व्यवस्था गरिएको भए अहिले फेरि यो कदम चाल्नु पर्ने अवस्था आउन थिएन, उनले भने- ‘मर्जरमै जानुपर्ने भए लाइसेन्स किन दिएको त ?’
टाउकोमा गोली लागेका रामजी चेपाङको नर्भिकमा उपचार
काठमाडौं । टाउकोमा गोली हानिएको र अत्यन्त जटिल अवस्थामा गजुरी हस्पिटल धादिङबाट रिफर गरी असार १९ गते नर्भिक इन्टरनेशनल हस्पिटल पुर्याइएका ३६ बर्षिय रामजी चेपाङको स्वास्थ्य अवस्थासुधारोन्मुख रहेको छ । कञ्चटमा गोली हानी टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्क भित्रसम्म छरिएर रहेको उनको बरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा राजीव झाको टोलीले सोही दिन सफल शल्यक्रिया गरेको थियो । अर्धचेत रहेको, टाउकोबाट प्रशस्तै रक्तस्राव भएको मस्तिकमा गोली लागेकै कारण निजले बारम्बार वान्ता गर्ने गरेका थिएभने, उनको दाहिने मस्तिष्कको धेरै भाग क्षत–विक्षत भएको अवस्था थियो । उनलाई असार १८ गते बुधवार साँझ ८ः०० बजेतिर गोली हानिए र असार १९ गते विहीबार विहान ५ः२५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । सोही दिन उनको शल्यक्रिया सम्पन्न भएको हो ।
एनआईसी एशियाको एकैसाथ तीनवटा शाखारहित बैंकिङ सेवा सञ्चालन
काठमाडौँ । एनआईसी एशिया बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका, वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मोग्लाह र मोरङ्ग जिल्लाको सुनबर्षी नगरपालिका वडा नं. २, अमरदहमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ्ग सेवाको अर्जुनधारा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रघुनाथ खनालले उद्घाटन गरे । यसैगरीे मोग्लाह शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष खुर्सेद आलमले र अमरदह शाखारहित बैंकिङ्ग सेवाकोसुनबर्षी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर विष्ट उद्घाटन गरेका हुन् । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।
महिला उद्यमीहरूको कोरिया भ्रमण, व्यवसायमा सहकार्य गर्ने सहमति
काठमाडौं । महिला उद्यमशीलताको विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र कोरियन महिला उद्यमी संघबीच हालै कोरियाको राजधानी सिओलमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र कोरियन महिला उद्यमी संघको इन्चोन शाखाका सभापतिले हस्ताक्षर गरे । महिला उद्यमीहरूद्वारा संचालित व्यापार व्यवसायमा सहयोग एवं सहकार्य गर्ने, आपसी सम्पर्क विस्तारका माध्यमबाट सहकार्यका क्षेत्रहरू पहिचान गरी सहयोग बढाउने, सूचना तथा व्यवसायिक भ्रमणको आदान प्रदान गर्ने, महिला उद्यमीहरूद्वारा सञ्चालित उद्योग व्यवसायको क्षमता अभिवृद्धिका लागि सम्भाव्य क्षेत्रमा प्राविधिक सहयोग उपलव्ध गराउने कुरा सहमतीपत्रमा उल्लेख गरिएको छ । नेपाल र कोरिया बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले महासंघको महिला उद्यमी समितिका सभापति श्रेष्ठको नेतृत्वमा कोरियाको भ्रमणमा गएको महासंघको प्रतिनिधिमण्डलले भ्रमणका दौरानमा कोरियाको साना तथा मझौला उद्यमीहरूको संस्थासंग आवद्ध उद्यमी व्यवसायीहरू, गैह्र आवासीय नेपालीहरू, नेपाली राजदूतावासका पदाधिकारीहरू समक्ष भेटवार्ता गरी दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, सहकार्यका सम्भाव्य क्षेत्रका विषयमा गहन छलफल गरेको थियो । भेटवार्ता फलदायी हुनुको साथै भ्रमणका दौरानमा भएका भेटवार्ता तथा छलफल कार्यक्रममा कोरियाका उद्यमी व्यवसायीहरूले नेपालको आर्थिक विकासमा सहयोग, सहकार्य गर्न र महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा सघाउने इच्छा प्रकट गरेका थिए । प्रतिनिधि मण्डलले भ्रमणका दौरानमा कोरियन उद्योग प्रतिष्ठानहरूको स्थलगत अवलोकन समेत गरेको थियो । प्रतिनिधि मण्डलका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू राजकुमार न्यौपाने, सुनिलगोपाल श्रेष्ठ, महिला उद्यमीहरू र महासंघका उपमहानिर्देशक मीना श्रेष्ठ थिए । महासंघको प्रतिनिधि मण्डल साताव्यापी भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएको छ ।
जिल्ला अस्पताल एम्बुलेन्सविहीन, गण्डकी प्रदेश सरकारसँग माग
स्याङ्जा । जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स करिब एक वर्षदेखि बिग्रिएर थन्किएको छ । सदरमुकाम नजिकै रहेको जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने अवस्थामा पुगे पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । बिरामीको उपचारका लागि एक ठाउँबाट अर्का ठाउँमा लैजानका लागि सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स व्यवस्था गरिए पनि लामो समयसम्म बिग्रिएर थन्किँदा बिरामीलाई समस्या हुने गरेको छ । पुतलीबजार नगरपालिका ३ का रवीन्द्र श्रेष्ठले एम्बुलेन्सको अभावमा विरामीले सास्ती भोग्नु परेको बताए । जिल्ला अस्पतालमा गएका विरामीलाई थप उपचारको लागि अन्यत्र लैजानु पर्ने अवस्था आउदा एम्बुलेन्स र अन्य सवारी साधनमा लगिएका विरामीलाई अस्पतालले हेर्ने दृष्टीकोणमा समेत फरक हुने गरेको श्रेष्ठ बताउँछन् । जटिल स्वास्थ्य अवस्था भएका बिरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर पनि लैजानु पर्ने हुन्छ तर टयाक्सीमा यो सुविधा हुदैन यसले गर्दा पनि एम्बुुलेन्सको अभावमा विरामी मर्कामा परेको श्रेष्ठले बताए । जिल्ला अस्पतालका प्रमुख चिकित्सक अमृत पोख्रेलले करिब एक वर्षदेखि एम्बुुलेन्स बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको बताएका हुन् । पोख्रेलले भने, “यहाँ उपचारका लागि आउने बिरामीहरु अन्यत्र रिफर गर्नुपर्ने अवस्था आयो भने ट्याक्सी खोजेर जाने गरेका छन् ।” अस्पतालका समस्या समाधानका लागि सबैले आश्वासन मात्रै दिने गरेको र अहिलेसम्म कहीँ कतैबाट त्यस्तो सहयोग नभएको उनले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर जेनतेन सञ्चालनमा ल्याइए पनि पछिल्लो समय धेरै बिग्रिन थालेपछि मर्मत गर्न नसकिएको स्पष्ट दिए । शर्माले भने“ एक पटक मर्मत गर्दा डेढ दुई लाख खर्च हुन्छ, मर्मत गर्यो, फेरि केही दिनमा बिग्रिएर हैरान पारेपछि मर्मत गर्न छाडिएको हो, अहिले त्यसै थन्किएर बसेको छ ।” मर्मतसम्भार गरेर पार लाग्ने नदेखिएपछि गण्डकी प्रदेश सरकारसँग एम्बुुलेन्स माग गरिएको जानकारी उनले दिए ।
२५ घरबास सञ्चालकले पाए खाद्य स्वच्छतासम्बन्धी तालिम
खलङ्गा । जुम्लामा पर्यटकको सङ्ख्या बढ्न थालेपछि त्यहाँका २५ वटा होमस्टे (घरबास) सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले आयोजना गरेको तीनदिने सो तालिममा होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटनको बसाइँ बढाउन र स्वच्छ परिकार बनाई उनीहरुको मन लोभ्याउनका लागि अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताएका छन् । यसरी, जुम्ला पर्यटनको लागि आकर्षणको क्षेत्र भएकाले यहाँको प्राकृतिक वातावरणसँगै उनीहरूको बसाइँ लम्ब्याउन खाना, खाजा र बसोबासको व्यवस्थाबारे ध्यान दिन तालिम आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अमित भुषण सुमनले जानकारी दिए । जय होमस्टेका सञ्चालक मागे रावतले पर्यटक खानादेखि बाससम्म आकर्षण गर्न सक्नुपर्नेमा जोड दिएका छन् । रासस
ज्योति लाईफका ग्राहकलाई बुद्ध एयरमा विशेष छुट
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा बुद्ध एयरसंग साझेदारी सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहकहरुले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिद गर्दा विशेष प्राथमिकता तथा छुट प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ज्योति लाईफइन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र बुद्ध एयरका बिक्री तथा बजारीकरण विभागका निर्देशकरुपेश जोशीले हस्ताक्षर गरेका छन् ।
उद्योग मन्त्री यादवले भने-‘सरकार पछि हटेको छैन, तरकारी र फलफूलको विषादी जाँच गर्छौँ’
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विषादीयुक्त तरकारी र फलफूलको विषादी जाँचमा सरकारपछि नहट्ने बताएका छन् । प्रयोगशालाको व्यवस्था गरेर भारतबाट आयात हुने र नेपालमा नै उत्पादन हुने तरकारी तथा फलफूलमा विषादी जाँचमा कडार्इ गर्ने बताएका छन् । यसको लागि कतैबाट पनि पत्र नआएको पनि मन्त्रीले बताए । सोमबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले भने-‘ आफूहरु निर्णयबाट ब्याक भएको नभई उल्टो नाकाबन्दी हुने अवस्था भएकाले पूर्ववर्ती अवस्थामा फर्केको हो ।’ जनतालाई सरकारले स्वच्छ तरकारी तथा फलफूल खुवाउनका लागि क्याविनेटमा छलफल गरेर चाँडै नै प्रयोगशालाको व्यवस्था गरेर विषादीको जाँचमा कडाई गर्ने उनको भनाई थियो । मन्त्री यादवले वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवले धोका दिएको बताए । सचिवहरुले गर्दा नै मलाई गाह्रो भयो, सचिवहरुले सबै मिलाउनु पर्ने थियो, सचिवहरुको गडवडी छ– मन्त्री यादवले भने । सचिवहरुप्रति पूर्ण विश्वास गरेकाले पनि अहिले मन्त्री बद्नाम भएको गुनासो गरे । सचिवले धोका दिएको कारण विषादी परीक्षणको निर्णय कार्यान्वयन हुन नसकेको पनि उनले बताए ।