निक्षेप तथा कर्जा सुरक्षण कोषको चुक्ता पुँजी १० अर्ब पुग्ने, अर्थ मन्त्रालयले र राष्ट्रले पुँजी थपिदिने
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको चुक्ता पुँजी १० अर्ब पुग्ने भएको छ । विश्व बैंकले कोष जोखिमपूर्ण व्यवसाय गर्ने संस्था भएकोले चुक्ता पुँजी १० अर्ब पुर्याउन प्रतिवद्ध गराएको थियो । सोही प्रतिवद्धता पुरा गर्न सरकारले कोषको चुक्ता पुँजी १० अर्ब पुर्याउने निर्णय गरेको हो । यहि जुलाई ११ गतेसम्म नेपालले कोषको चुक्ता पुँजी बढाएर १० अर्ब पुर्याउने प्रतिवद्धता विश्व बैंक समक्ष गरेको थियो । हाल कोषको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ रहेको छ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालले विश्व बैंकसँग चुक्ता पुर्याउन गरेको प्रतिवद्धता जनाएको मितिको ठिक चार दिन अघि मन्त्रीपरिषदको निर्णय सार्वजनिक गरेका हुन् । सो प्रतिवद्धता पुरा गर्न अर्थ मन्त्रालयले एक अर्ब ८० करोड रूपैयाँ र नेपाल राष्ट्र बंैकबाट २० करोड प्रदान गर्ने भएका छन् । कोष निक्षेप तथा कर्जा सुरक्षण गर्ने जोखिमपूर्ण व्यवसाय गर्ने संस्था भएकोले विश्व बैंकले कोषको पुँजी बढाउन सुझाएको थियो,’ कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले भने ‘साधारणतया निक्षेप सुरक्षणको ५ प्रतिशत कोषको चुक्ता पुँजी हुुनुपर्ने भन्ने व्यवस्था छ । हाल कोषमा ६ खर्बभन्दा बढी निक्षेप र २५ अर्ब कर्जा सुरक्षण भएको मिश्रले बताए । कोषले चालु आवमा आफ्नो नाफा बढाएर करिब दुई अर्ब पुर्याउने भएको छ ।
कास्मेको अन्तर्राष्ट्रिय सल्लाहकारमा नेपालका मदन मित्तल मनोनित
काठमाडौं । चीनको साना तथा मध्यम आकारका व्यवसायिक प्रतिष्ठानहरुको संस्थाले एकजना नेपालीलाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा मनोनित गरेको छ । चाइना एसोसिएसन फर स्मल एन्ड मिडियम कमर्सियल इन्टरप्राइजेज (कास्मे) ले नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कोषाध्यक्ष मदन मित्तल (अग्रवाल)लाई विज्ञ सल्लाहकार परिषद्को अन्तर्राष्ट्रिय सल्लाहकार सदस्य मनोनित गरेको हो । गत जुन २१ देखि २३ सम्म चीनको बेइजिङमा आयोजित दोस्रो विश्व एसएमई सम्मेलनका क्रममा संस्थाले मित्तललाई अन्तर्राष्ट्रिय सल्लाहकार मनोनित गरेको हो । विश्वभरका साना र मध्यम आकारका व्यवसायीबीचको सञ्चार र विकासलाई सहजीकरण गर्ने उद्देश्यले आयोजना गरेको सम्मेलनमा मित्तलले समेत सम्बोधन गरेका थिए । मित्तल नेपाल समुद्रपार निकासी पैठारी संघमा पनि कार्यसमिति सदस्य छन् ।
सनराइज बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत
काठमाडौँ । सनराइज बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लि. बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००० कायम भएको सनराइज बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरेका छन् ।
बेष्ट फाइनान्सका अध्यक्ष प्रधानले लिए पद तथा गोपनियताको शपथ
काठमाडौँ । काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीको अध्यक्षमा चयन भएका अमीरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ लिएका छन । बिहिबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कामु कार्यकारी निर्देशक बमबहादुर मिश्रले अध्यक्षमा चयन भएका प्रधानलाई शपथ ग्रहण गराएका हुन् । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको तर्फबाट निर्देशकहरु नरेन्द्र सिंह विष्ट, विरेन्द्र दत्त अवस्थी, दीपक पोखरेल तथा बेष्ट फाइनान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी लगायतको उपस्थिति रहेको थियो । असार २२ गते बसेको फाइनान्स कम्पनीको संचालक समितिको ४७६औं बैंठकबाट संचालक समितिको अध्यक्षमा प्रधानलाई सर्वसम्मत चयन गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
सिंगटी हाईड्रोको आइपीओ निष्काशन हुने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त
काठमाडौँ । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको प्राथमिक शेयर(आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरिएको छ । दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधिन २५ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको शेयर निष्काशन तथा बिक्रीका लागि भएको सम्झौता पत्रमा हाईड्रो ईनर्जी कम्पनीका तर्पmबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटल मार्केट्सका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले एक समारोहबीच हस्ताक्षर गरे । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडले सर्वसाधारणका लागि ४३ करोड ५० लाख रुपैंया बराबरको १०० रुपैयाँ अंकित दरको ४३ लाख ५० हजार कित्ता शेयर आगामी असोजसम्ममा निष्काशन तथा बिक्री गर्ने तयारी गरेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता रहेको छ । २०७६ साल भदौसम्म बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अहिले यस जलविद्युत आयोजनाको अन्तिम चरणको निर्माण कार्य भइरहेको छ ।
प्रभु लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारणसभा विहीबार होटल याक एण्ड यति, दरबारमार्ग, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले कम्पनीका सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ । सो साधारण सभा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा संचालन भएको थियो ।
युवा उद्यमशीलता सम्मेलनको सह-आयोजकमा आइएमई फाउण्डेसन
काठमाडौँ । आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ मा आइएमई ग्रुप अन्तर्गत रहेर संस्थागत सामाजिक उत्तरदायित्वमा विभिन्न भूमिका निर्वाह गर्दै आइरहेको आइएमई फाउण्डेसन सह–आयोजक रहने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२ को अवसर पारेर आयोजित उक्त सम्मेलनमा नेपाल सरकारअन्तरगर्तको राष्ट्रिय युवा परिषद्, प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, बन तथाबातावरण मन्त्रालय रबिशाल मिडिया ग्रुपआयोजककारुपमा र आइएमई फाउण्डेसन सह–आयोजकका रुपमा रहने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्मेलनमा सह–आयोजक रहने सम्वन्धमाबिहिवार आइएमई ग्रुपकाप्रवन्धनिर्देशक हेमराज ढकाल र सम्मेलन मूल आयोजक समितिका संयोजक बिशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गर्नु गरेका छन् ।
एनआईसी एशियाका ग्राहकलाई विराटनगर अस्पतालमा विशेष छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल प्रालि मुनालपथ, विराटनगरबीच सम्झौता भएको छ । बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट र बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्णलाई विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा. सुशील परियारले हस्ताक्षर गरेका छन् ।