विकासन्युज

सानिमा लाइफले ६० करोड रकम बराबरको आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लि.ले साधारण सेयर(आईपीओ) निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । सानिमा लाईफ इन्स्योरेन्स लि.को प्रधान कार्यलय, कमलादीमा असार २५ गते आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोलाप्रसाद पाठकले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाईँ प्रमुख वित्त अधिकृत आर्यकरञ्जन बराल तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुशार सानिमा लाईफले सर्वसाधारणको लागी जारी गर्ने रु ६० करोड रकम बराबरको सेयर सार्वजनिक निष्काशन सम्वन्धि सम्पूर्ण कार्य बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापीटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रहेकोमा सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी नियमनकारी निकाय बीमा समितिले तोके बमोजिम रु २ अर्ब पुग्ने छ ।

सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स, कति पर्यटक नेपाल भित्रिए ?

सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाइन्सलाई उछिन्दै एक नम्बरमा स्थान जमाएको हो । आर्थिक सङ्कटमा परेपछि जेट एयरवेज केही महीनादेखि बन्द रहेको छ । बढी पर्यटक बोक्ने एयरलाइन्सको दोस्रोमा जेट एयरवेज, तेस्रोमा कतार, चौथो स्थानमा फ्लाई दुबई र एयर इन्डिया रहेका छन् । सन् २०१७ मा जेट एयरवेज प्रथम, नेपाल एयरलाइन्स दोस्रो, कतार एयरवेज तेस्रो, एयर अरेबिया चौथो र फ्लाई दुबई पाँचौँ स्थानमा रहेको थियो । निगमको वार्षिक प्रतिवेदन अनुसार सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा प्रदायक कम्पनीमा नेपाल एयरलाइन्स पहिलो स्थानमा पुग्न सफल भएको छ । उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७० यात्रुलाई सेवा दिई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत ओगट्न सफल भएको छ । निगमले भारतका तीन गन्तव्यसहित छ देशका आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमले हाल दुई वाइडबडी ए–३३०, दुई न्यारोबडी ए–३२० जहाजले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ । निगमको एक मात्र बोइङ ७५७ बिक्रीका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । यस्तै सन् २०१८ मा छिमेकी मुलुक भारत र चीनबाट धेरै सङ्ख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्ला वर्षजस्तै नेपालमा बढी पर्यटक भित्रने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा छन् । भारतबाट सन् २०१८ मा एक लाख ९४ हजार ३२३ र सन् २०१७ मा एक लाख ६० हजार १३२ पर्यटक नेपाल आएका थिए । सोही अवधिमा क्रमशः चीनबाट एक लाख ५३ हजार ६३३ र एक लाख चार हजार ६६४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बढी पर्यटक भित्रने मुलुकमा संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा छ भने श्रीलङ्का चौथो र संयुक्त अधिराज्य बेलायत पाँचौँ स्थानमा रहेका छन् । सन् २०१७ मा पनि बढी पर्यटक आउने मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा थिए । अमेरिका तेस्रो र श्रीलङ्का चौथो, बेलायत पाँचौ स्थानमा रहेको थियो । सन् २०१८ मा अमेरिकाबाट ९१ हजार ८९५, बेलायतबाट ६३ हजार ४६६ र श्रीलङ्काबाट ६९ हजार ६४० पर्यटक नेपाल आएका थिए । सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो । यो सङ्ख्यामध्ये पुरुष छ लाख २४ हजार ९२८ र महिला पाँच लाख ४८ हजार १४४ रहेका थिए । अघिल्लो वर्ष सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो हवाई र स्थल दुवै मार्गबाट आउने पर्यटकको सङ्ख्या हो । पर्यटकको सङ्ख्या बढे पनि समग्रमा पर्यटकको बसाइँ अवधि भने थोरै घटेको देखिएको छ । सन् २०१८ मा पर्यटकको बसाइँ अवधि १२.४ दिन रहेको छ । अघिल्लो वर्ष १२.६ रहेको थियो । नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश बिदा मनाउन र मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन् । सन् २०१८ मा सात लाख तीन हजार ८४३ बिदा मनाउन र एक लाख ८७ हजार ६९२ धार्मिक कामका लागि आएका थिए । सन् २०१७ मा छ लाख ५८ हजार १५३ बिदा र मनोरञ्जन र एक लाख ४१ हजार ३३ धार्मिक उद्देश्यका लागि नेपाल आएका थिए । रासस

चुक्ता पूँजी नपुर्याउने र सुशासनमा नबस्ने कम्पनीप्रति कठोर बन्दै बीमा समिति

काठमाडौ । तोकिएको न्यूनतम चुक्ता पुँजी नपुर्याउने, बीमा समितिले दिएको निर्देशनहरु बारम्बार उल्लघंन गर्ने, दुई भन्दा बढी बीमा कम्पनीमा एउटै प्रवद्र्धक भएका र व्यवसाय विस्तारपनि राम्रोसँग गर्न नसकेका बीमा कम्पनीहरुप्रति बीमा समिति कठोर बन्ने भएको छ । त्यसका लागि बीमा समितिले आन्तरिक गृहकार्य थालेको छ । सरकारले बजेटमार्फत बीमा कम्पनीहरुलाई मर्जमा जान प्रोत्साहित गर्ने घोषणा गरेका, बीमा समितिले पनि मर्जमा जान बीमा कम्पनीहरुलाई केही सहुलियत घोषणा गरेको, बैंकिङ क्षेत्रमा मर्जरको विषयमा व्यापक छलफल भईरहेको समयमा बीमा समितिले कसिलो नीति लिन खोजेको हो । जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन दिएको समय तीन पटक थपेको समय यहि असार मसान्तमा सकिन लागेपछि बीमा समिति त्यसपछि लिने निर्णयको तयारीमा जुटेको हो । बीमा बजारमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धालाई कसरी रोक्ने भन्ने विषयमा पनि बीमा समिति चिन्तित देखिएको छ । साउन पहिलो साता नै बीमा समितिले नयाँ कदम चाल्न सक्ने स्रोतले बताएको छ । बीमा कम्पनीहरुको नियामक बीमा समितिले आफूले तोकेको समयमा चुक्तापूँजी नपुर्याउने कम्पनीलाई कारबाही गर्ने जनाएको छ । समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई २ अर्ब तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई १ अर्ब चुक्तापूँजी पुर्याउनु पर्ने निर्देशन दिंदै आएको थियो । कम्पनीले चुक्तापूँजी नपुर्याउने कम्पनीलाई विकल्पको रुपमा कारवाही गर्नु पर्ने जनाएको हो । यता, नियामक बीमा समितिले तोकेको म्याद नाघ्न लागेको अवस्थामा कतिपय कम्पनीहरु अझै समय थप गर्न पाए हुन्थ्यो भन्ने पक्षमा छन् । तर, नियामक बीमा समितिले भने अब समय थप गर्ने पक्षमा नरहेको बुझिन्छ । समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँ भन्छन्-‘ तोकेको पूँजी नपुर्याउने कम्पनीहरुलाई कारबाही गर्छौँ ।’ कारबाही कस्तो किसिमको हुन्छ भन्ने कुरा आगामी साउनपछि मात्र थाहा हुन्छ-उनले भने ।

एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले बताएका हुन् । साउन २६ देखि २८ सम्म लालितपुरमा आयोजना हुने उक्त सम्मेलनमा १२५ भन्दा बढी कृषक, उद्यमी तथा कृषि व्यवसायीको उपस्थिति रहने आयोजक संस्था फोर एच नेपालका संयोजक लोकराज अवस्थीले जानकारी दिएका छन् । सम्मेलनमा नेपालका १० उत्कृष्ट कृषक तथा कृषि व्यवसायीलाई पुरस्कृत गरिनेछ । फरक–फरक छ विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै कृषि वस्तुको विश्वबजारीकरणमा एशिया, कृषिमा नयाँ प्रविधिको प्रयोग तथा कृषिको गुणस्तरीय उत्पादन र बजारीकरण तथा कृषिनीतिमा खुला छलफल गरिनेछ । साथै, कृषि योगा, कृषि थेरापी तथा अरु विभिन्न क्रियाकलाप सञ्चालन समेत गरिने आयोजकले जनाएका छन् । रासस

ईक्यानको १३ औं शैक्षिक मेला आजबाट शुरू, ४ दिन सम्म चल्ने

काठमाडौं । ईक्यानको १३ औं शैक्षिक मेला आजबाट सुरु भएको छ। नेपाल शैक्षिक परामर्श संघ ईक्यानले काठमाडौंको भृकुटीमण्डपमा आउँदो ४ दिन सम्मको लागि मेला आयोजना गरेको हो । मेला असार २९ गते आईतबाटसम्म संचालन हुँदैछ । शैक्षिक मेलाको उद्घाटन पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गरेका थिए। मेलाको उद्घाटनमा बोल्दै भट्टराईले नेपाली युवायुवतीहरु अध्ययनको लागि जुनै पनि देश जानलाई स्वतन्त्र भएको बताए । ज्ञान र विज्ञान नै बिकासको मुलधारा भएकोले विदेश पढ्न गएपछी नेपालमा आएर आफ्नो ज्ञानको उपयोग गर्न आग्रह गरे । राज्यले गुणस्तरिय शिक्षा दिन नसकेकोले पनि आफुहरुले विद्यार्थीहरुलाई नरोक्ने भट्टराईले बताए। मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स,अमेरिका, बेलायत, न्युजील्यान्ड, अष्ट्रेलिया, नर्वे लगायतका देशका कलेज तथा विश्वविद्यालयका अधिकारिक प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको सम्भावना तथा अवसरहरु जस्ता बिषयमा पर्याप्त गरी स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रव्रिती, सुविधा एवंम गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुलाई समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उत्तरदायित्व रहेको ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए । यस्तै ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा रक्तदान कार्यक्रम गरिनुको साथै प्राथमिक उपचार तथा डेन्टल क्याम्पको पनि व्यवस्था पनि गरेको छ । यस्तै मेलाका अवलोकनलाई लक्षित गरेर मुख्य रुटहरुमा नि:शुल्क बससेवा व्यवस्थापन गरेको ईक्यानले जानकारी दिएको छ ।

महिला उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकले १.३८ प्रतिशतमै कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले महिला उद्यमीलाई १.३८ प्रतिशतमा सहुलियत कर्जा प्रदान गर्ने भएको छ । महिला उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउन आज राष्ट्रिय वाणिज्य बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महासंघका तर्फबाट अध्यक्ष श्याम गिरीले हस्ताक्षर गरेका छन् । अहिले राष्ट्रिय वाणिज्य बैंकको आधार दर (वेस रेट) ५.३८ प्रतिशत छ । यसमा दुई प्रतिशत प्रिमियम थपेर ७.३८ प्रतिशतमा कर्जा प्रवाह गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए । बैंकको ब्याज ७.३८ प्रतिशत पुग्दा महिला उद्यमीले १.३८ प्रतिशतमै सहुलियत कर्जा पाउने हुनुभएको छ,’ उनले भने ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधिअनुसार सरकारले महिला उद्यमीलाई ६ प्रतिशतसम्म ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।’ सरकारले ६ प्रतिशत ब्याज अनुदान प्रदान गर्ने भएपछि महिला उद्यमीले १.३८ प्रतिशतमै कर्जा पाउनु हुनेछ ।’ पुरुष उद्यमीले भने २.३८ प्रतिशत ब्याजमा सहुलियत कर्जा पाउनु हुनेछ । पुरुष उद्यमीका लागि सरकारले ५ प्रतिशतमात्रै ब्याज अनुदान दिने व्यवस्था गरेको छ । ब्याज अनुदान कार्यविधि लागू भएयता विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ सय ३५ उद्यमी महिलाले ३७ करोड २३ लाख ३५ हजार रुपैयाँ कर्जा स्वीकृत गराएका राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । सो स्वीकृत कर्जामध्ये ४ करोड ७४ लाख २४ हजार भने उपयोग गरिसकेका छन् । कुल स्वीकृत कर्जामध्ये ५ सय २९ महिला उद्यमीले विभिन्न वाणिज्य बैंकबाट ३६ करोड ८३ लाख कर्जा स्वीकृत गराएका छन् । विकास बैंकबाट ५ जना महिला उद्यमीले २९ लाख ८० हजार कर्जा स्वीकृत गराएका छन् भने एक महिला उद्यमीले फाइनान्स कम्पनीबाट पाँच लाख ३५ हजार कर्जा स्वीकृत गराएकी छिन् । बैंकको उद्देश्यनै सरकारको नीति अनुरुप समृद्ध राष्ट्र निर्माण लगानी गर्ने भएकोले बैंकको प्राथमिकता सहुलियत कर्जा प्रवाहमा भएको सीईओ श्रेष्ठले बताए । ‘वाणिज्य बैंकको ७७ जिल्लामा दुई सय २१ वटा शाखा कार्यालय, एक सय ७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंयाँ कर्जा लगानी गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्धारा बर्दियाकोे बांसगढीमा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आफ्ना नयाँ शाखा विस्तारका क्रममा बर्दियाको बांसगढी नगरपालिका वडा न.५ मा बांसगढी शाखाको स्थापनासँगै कारोबार शुरु गरेको छ । उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताएका छन् । बैंकको देशको सातै प्रदेश, ७७ वटै जिल्लामा गरी २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।

कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा, कूल बजेट करिब साढे दुई अर्ब 

सुर्खेत । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिशका आधारमा मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका ७९ र सङ्घीय सरकारले घोषणा गरेका १७ गरी १०१ गन्तव्यको पूर्वाधार विकासका साथै प्रर्वद्धनात्मक क्रियाकलापमा जोड दिएको छ । मन्त्री नन्दसिंह बुढाले आर्थिक वर्ष २०७६/७७ मा महत्वपूर्ण ३८ गन्तव्यमात्र पूर्वाधार विकासमा बजेट विनियोजन गरेको जानकारी दिएका छन् । “प्रदेश पर्यटन बोर्डको गठनपश्चात् नयाँ पर्यटकीय गन्तव्यको गुरुयोजना बनाएर बजेट परिचालन गर्नेछौँ”, मन्त्री बुढाले भने, “सीमित बजेटका कारण सबै गन्तव्य क्षेत्रमा बजेट विनियोजन गर्न सकिएन, आगामी वर्षहरुमा क्रमशः बजेट विनियोजन गरिनेछ ।” मन्त्रालयले चालू आर्थिक वर्षमा सञ्चालन गरेको हुम्ला, मुुगु र डोल्पाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई हवाई टिकटमा सहुलियत अनुदान दिने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ भने आव २०७६/७७ मा मन्त्रालयको कूल बजेट रु दुई अर्ब ४५ करोड छ लाख ७८ हजार रहेको छ । रासस