नेपाली चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि
भद्रपुर । भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ प्रतियोगिताको उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता निकिता निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन् । उनले काँकरभिट्टा क्याम्पसमा कक्षा १२ को भर्खरै परीक्षा दिएकी छिन् । भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो । तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै रहेको नेपाल मगर सङ्घ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताएका छन् । निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन् । रासस
तत्कालका लागि विषादी परीक्षण रोक्न कृषिमन्त्रीको आग्रह
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले विषादी चेकजाँच जारी रहेको स्पष्ट पार्दै हालका लागि रोक्नु पर्ने बताए । अन्तर्राष्ट्रिय प्रचलनमा नाकामा परीक्षण नहुने भएकोले तत्काललाई विषादी परीक्षण रोक्नु उचित हुने रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भने । नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न रहेको सुनाउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नती गर्नेपनि उनले विश्वास दिलाए । उनले भने, ‘हामीले २०७१ साल असारदेखि विषादी परीक्षणको सुरु गरेका हौं, त्यतिवेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो ।’ उपत्यका बाहिर अहिलेपनि ६–७ वटा ल्याबहरु रहेका मन्त्री खनालले सुनाए । ‘अन्तर्राष्ट्रिय प्रचलन अनुसार पनि नाकामा चेकजाँच हुँदैन । र, अहिले हामीसँग भएका ल्यावहरुलाई हामी छिट्टै अन्तर्राष्ट्रियस्तरको बनाउँछौं ।’ अहिलेपनि अर्गानो फोस्फेट र कार्वोनोमेट दुई वटा विषादी परीक्षण हुने गरेको र परीक्षण हुन नसक्नेलाई काठमाडौंमा ल्याउन सकिने उनको भनाई छ । भारतबाट मात्रै नभएर भुटानबाट आयात हुने आलुलगायतका वस्तु र चीनबाट आयत हुने स्याउ परीक्षण हुने गरेको मन्त्री खनालले जनाए । सर्वोच्च अदालतले हिजोमात्रै विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरुले पालना गर्नेपनि उनले विश्वास दिलाए । उनले भने,‘अहिले हामीसँग भएका सबै ल्याव र साधन र स्रोत परिचालन गरेर हामी परीक्षणको काम गर्छौं ।’ विषादी परीक्षणलगायत अन्य पूर्वाधार निर्माणको लागि चाहिने बजेटको लागि आफूले अर्थ मन्त्रालयसँग छलफल गरेर पत्र पठाईसकेको र खरिद प्रक्रिया पूरा गर्न अझै कम्तिमा पनि ६ महिना र बढिमा दश महिना लाग्छ । मन्त्री खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा ६ महिना लाग्ने बताए । केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भएपनि बाकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको र चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफुले खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्र्तगतका १४ वटा क्वारेन्टाईन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको स्पष्ट पारे ।
नेपाल इन्जिनियरिङ्ग कलेजमा टक कार्यक्रम सम्पन्न
काठमाडाैं । नेपाल इन्जिनियरिङ्ग कलेज, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ्ग विभागमार्फत आयोजित टक कार्यक्रम सम्पन्न भएको छ । चाँगुनारायणमा अवस्थित एक दिने कार्यक्रम इन्जिनियरिङ्ग स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरिएको विभिन्न क्षेत्रका अनुसन्धानकर्ताहरूले आफ्नो अनुसन्धानले समाजमा पार्ने सकरात्मक प्रभावको बारेमा धारणा राखेका थिए । विभागीय प्रमुख ई. रुपेशदहि श्रेष्ठको अध्यक्षतामा संचालित सो कार्यक्रममा फुटुङ्ग रिसर्च इन्स्टिच्युट, गोल्डुङ्गाका अनुसन्धानकर्ता डा. रिजन महर्जनले आफ्नो अनुसन्धान ‘ चिप् बेस्स ओसीटि मेजरमेन्ट सिस्टम’ नामक विषयमा प्रस्तुतिकरण दिए । डा. महर्जनले नेपालमा बढ्दै गैरहेको श्वास प्रश्वास सम्बन्धी बिरामीहरूको संख्या प्रति इङ्गित गर्दै ओप्ट्किल चिप् प्रयोग ल्याउन सकेको खण्डमा सुरुवाती रोगको पहिचान गर्नका पर्ने बताए । त्यस्तै इन्जिनियरिङ्गका अनुसन्धानकर्ता नरेन्द्र बज्राचार्यले यस क्षेत्रको विषयमा धारण राखेका थिए भने अनुसन्धानकर्ता दिपङ्कर शाक्यले टेलिमेट्री बेस्ड वाटर लेभल मोलयटोरिङ्ग सिस्टम लगायतका रिसर्च बारेमा जानकारी दिएको थियो । कार्यक्रममा इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग बिभागका तेश्रो र चौथो बर्षका विद्यार्थीहरू तथा शिक्षकहरूको सहभागी थियो । कार्यक्रमको समापन गर्दै विभागीय प्रमुख ई. श्रेष्ठले नेपाल इन्जिनियरिङ्ग कलेजले स्थापना कालदेखि नै अनुसन्धान मूलक शिक्षामा जोड दिदै आएको र आफ्नो विभागले यस्ता कार्यक्रमहरू भविष्यमा पनि आयोजना गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
आज विश्व जनसङ्ख्या दिवसः जनसङ्ख्याको व्यवस्थापनमा ध्यान दिन केपी ओलीको अनुरोध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा बिहीबार दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा ध्यान दिन जोड दिएको हो । हरेक जुलाई ११ का दिन संयुक्त राष्ट्र सङ्घको आह्वानमा आज संसारभर जनसङ्ख्या दिवस मनाइँदैछ । प्रधानमन्त्री ओलीले जनसङ्ख्यासँग जोडिएका अत्यन्त महत्वपूर्ण पक्षले समग्र आर्थिक वृद्धि तथा विकासका योजना र कार्यक्रममा प्रभाव पार्ने भएकाले आर्थिक विकास, निर्माण र सामाजिक रुपान्तरणका लागि यस अवसरलाई सदुपयोग गर्न आग्रह गरेका छन् । सन्देशमा भनिएको छ, “नेपालमा शिशु तथा बाल मृत्युदर र सबै उमेरका जनसङ्ख्याको मृत्युदरमा आएको उल्लेख्य कमीका कारण औसत आयुमा वृद्धि भएको छ र श्रम शक्ति बहुल उमेरको उल्लेख्य उपस्थिति भएको अवस्था सिर्जना भएको छ । यस अवस्थालाई हामीले उपयोग गर्न सक्नुपर्छ ।” उनले सन्देशमा बालिकामाथि हुने लैङ्गिक विभेदमा कमी आउन थालेको तर छोरी शिशुप्रति गर्भमै वा जन्ममै विभेद गर्न थालिएको लक्षण देखिन थालेको जनाउँदै शिशु जन्मको लैङ्गिक अनुपातले भविष्यमा जनसाङ्ख्यिक असन्तुलन निम्त्याउने सम्भावनाप्रति सचेत हुन आग्रह गरेका छन् । त्यस्तैगरी, ज्येष्ठ नागरिकको आर्थिक स्वावलम्बन कायम गराउँदै उनीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउन सरकार सजग रहेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, पारिवारिक र आवासको सुरक्षाका साथै उनीहरुको स्वास्थ्य सेवा र तन्दुरुस्ती सरकारको प्राथमिकतामा परेको जनाएका हुन् । “कुनै पनि प्रकारको बालश्रम र बाल दुव्र्यवहारप्रति सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको छ । बालविवाहजस्तो विकासको प्रतिफलको नकारात्मक सूचकमा परिवर्तन ल्याउन प्रयासहरु भइरहेका छन्, कुनै पनि प्रक्रियाबाट हुने गरेका बालविवाहको रोकथामका लागि वर्तमान सरकार कटिबद्ध छ ।” सन्देशमा भनिएको छ । यसरी, प्रधानमन्त्री ओलीले युवा जनशक्तिको बसाइँसराइका प्रवृत्तिलाई नियमन गर्दै कामको खोजीमा बाह्य मुलुक जान लालायित युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने र उनीहरुको क्षमता यहीँ परिचालन गर्ने सोचका साथ काम हुन थालेको सन्दर्भमा सरकार किशोरकिशारीको अपेक्षा र आकाङ्क्षालाई सम्बोधन गर्दै देशको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय उमेर समूहका जनशक्तिले अधिकतम योगदान पुर्याउन सक्ने वातावरण बनाउन तल्लीन रहेको पनि स्पष्ट गरेका छन् । रासस
राजदूत सुन्दासद्वारा पत्र हस्तान्तरण
काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइन अधिराज्यका काउन्सिल अफ रिप्रेजेन्टेटिभकी चेयर फावजिया बिन्ट अब्दुल्ला जाइनलसँग नेपालको पर्यटन विकासबारे छलफल गरेका छन् । दई देशको संसद्बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सङ्घीय संसद् सचिवालयबाट पठाइएको नेपालतर्फको प्रस्तावित सांसदको नामावलीसहितको पत्र हस्तान्तरण गर्ने क्रममा बुधबार नेपालमा महिलाको नेतृत्व र विकासका सम्बन्धमा एवं द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको मनामास्थित नेपाली दूतावासले जनाएको छ । यसरी , दुई देशको संसद्बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने उद्देश्यले राजदूत सुन्दासले नेपाल बहराइन फ्रेण्डसिप ग्रुपसमेत निर्माण गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही अवसरमा रिप्रेजेन्टेटिभकी चेयर अब्दुल्ला जाइनलले नेपाल बहराइन फ्रेण्डसिप ग्रुपको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै बहराइन सासंदहरुको सूची प्रस्ताव उपयुक्त समयमा पठाउने बताएका छन् । उनले नेपाल र बहराइनबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन राजदूतावासलाई आवश्यक सहयोग गर्न आफू सधैँ तत्पर रहेको बताए । भेटका क्रममा काउन्सिल अफ रिप्रेजेन्टेटिभका उच्च पदाधिकारी र नेपाली दूतावासका उपनियोग प्रमुख खगराज पाण्डेको सहभागिता समेत रहेको थियो । रासस
लाजिम्पाटमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते
काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा स्याङ्जा पुतलीबजारका सन्तोष घर्ती गम्भीर घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले तीव्र गतिमा आएको कारले स्कुटरलाई ठक्कर दिँदा गुरुङको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन् । घाइते घर्तीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुन नसकेपछि भेनस अस्पताल मध्यबानेश्वर पठाइएको र उक्त स्थानमा पनि उपचार हुन नसकेपछि हाल दीर्घायु अस्पताल चाबहिलमा उपचार भइरहेको राठौरले बताए । दुर्घटना गरेर फरार कार र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
एनआईसी एशियाको डिम्याट खाता र मेरो सेयर नबीकरण शुल्क अब ‘खल्ती’बाटै
काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेड मार्फत हितग्राही खाता खोली कारोवार गर्दै आएका खातावालाहरुको हितग्राही खाता तथा मेरो शेयरको बार्षिक नविकरण शुल्क खल्ती डिजिटल वालेट मार्फत भुक्तानी गर्न सकिने भएको छ । साथै, उक्त नविकरण शुल्क ई–सेवामार्फत समेत भुक्तानी गर्न सकिने जनाइएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । एनआईसी एशियाम्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना ‘एनआई सी एशियाग्रोथ फण्ड’ सञ्चालन गरिरहेको जनाएको छ ।
न्यून शूल्कमा बीमा गराउँदै एभरेष्ट इन्स्योरेन्स, बीमा समिति भन्छ-‘स्वस्थ्य प्रतिस्पर्धाको विकल्प छैन’
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको सुनसरीस्थित इटहरी शाखाले न्यून बीमा शुल्क लिएर बीमा गरेको छ । कम्पनीले ३८ लाख ९६ हजार रुपैयाँ पर्ने गाडीलाई ३५ हजार १ सय ४४ रुपैयाँ मात्र लिएर बीमा गरेको छ । बीमा समितिले ताेकेका बीमा दर अनुसार कम्पनीले सो गाडी बीमा गरेवापत ४४ हजार २ सय २० रुपैयाँ बीमा शुल्क लिनुपर्ने थियो । कुनै पनि बीमा कम्पनीले बीमा पोलिसी बिक्री गर्दा बढी वा कम प्रिमियम शुल्क लिनु स्वस्थ्य मानिदैन । कम्पनीहरूले लहडमा बीमा गराउनुभन्दा पनि स्वस्थ्य प्रतिस्पर्धा गरी बीमा पोलिसी बिक्री गर्नुपर्ने बीमा समितिले बताएको छ । एभरेष्ट इन्स्योरेन्सले असार १८ गते बीमा पोलिसी बिक्री गरेको थियो । बीमा अवधि २०७७ साल साउन ५ गते सोमबारसम्म छ । बजारमा स्वस्थ्य प्रतिस्पर्धा होस भनेर बीमा शुल्क कम वा बढी नलिन बीमा कम्पनीहरूलाई बीमा समितिले निर्देशन दिँदै आएको छ । समितिले सुपरीवेक्षणको क्रममा यस्ता क्रियाकलाप भए गरेको पाइएमा बीमा कम्पनीहरूलाई सचेत पनि गराउँदै आएको छ । मोटर बीमा दर सम्बन्धि निर्देशिका २०७३ मा बीमा लेख चालू रहेको अवस्थामा बीमा गरिएको सवारी साधनको घोषित मूल्यमा थपघट गर्ने सक्ने व्यवस्था गरेको छ । निर्देशिकामा बीमा लेखको अवधि समाप्त हुने मितिसम्म समानुपातिक हिसाबले लाग्ने अतिरिक्त बीमा शुल्कको बारेमा चर्चा गरिएको छ । निर्देशिका अनुसार समानुपातिक रुपले लाग्ने अतिरिक्त बीमा शुल्क लिई वा फिर्ता दिई उक्त मूल्यमा थपघट गर्न सकिन्छ ।