जनप्रतिनिधिसहितको आक्रमणपछि डडेल्धुरा अस्पताल अनिश्चतकालीन बन्द
अमरगढी । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. जीवन खरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि उपचारको क्रममा जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो । असार १२ गते नागरिक समाज डडेल्धुराको सर्वपक्षीय बैठकमा चिकित्सकमाथि कुनै खाले धरपकड नहुने भन्दै चिकित्सक काममा फर्के पनि पुनः बुधबार दिउँसो १२ बजेतिर स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले जानकारी दिए । वडाध्यक्ष खड्काले शव परीक्षण नगरी लगेको अपस्पतालले जनाएको छ । यसरी, बारम्बारको आक्रमणपछि चिकित्सकले विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर आकस्मिक बाहेकका सेवा बन्द गरेका घोषणासमेत गरेका थिए । प्रहरीले बुधबार बिहान ११ः३० बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका मृतक रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पुर्याएको थियो । चिकित्सकहरूले ११ः३५ तिर शव परीक्षण शुरु गरेका थिए । वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली गर्दै हातपात र ढुङ्गा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा. खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चिकित्सकमाथि आक्रमण हुदाँ डा. दिनेश उपाध्यलाई घुँडामा चोट लागेर घाइते भएपछि आक्रमण गर्नेलाई कारवाही नहुञ्जेल नियमित काममा नफर्किने डडेल्धुरा अस्पतालका निमित्त प्रमुख मेसु डा. जितेन्द्र कँडेलले बताएका छन् । पटक–पटक चिकित्सकमाथि आक्रमण भइरहेकाले राज्यले सुरक्षाको प्रत्याभूति नगरेसम्म नियमित सेवामा नफर्किने कँडेल बताउँछन्। घटनाको नेपाल चिकित्सक सङ्घले पनि विरोध गरेको छ । रासस
सप्तकोशी डेभलपमेन्ट बैंकको सिइओमा सुवेदी नियुक्त
काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नबिन सुवेदी नियुक्त भएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र काबेली विकास बैंक आपसमा गाभिएर ७ जिल्ला कायम भई सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट कारोबार गर्न राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको जनाइएको छ । सञ्चालक समितिको बैठकले तत्कालीन सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका कार्यकारी अधिकृत सुवेदीलाई नै असार २२ गतेदेखि ४ वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।
मोटर बीमामा पटक पटक देखिन्छ समस्या, समाधान गर्ने कसरी ?
काठमाडौँ । बीमा व्यवसायमा बीमित र बिमकमा खासै समस्या छैन । तर मोटर बीमामा भने केही समस्या देखिएका छन् । बीमा समितिले हालै राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मोटर बीमाको समस्या समाधान गर्न सके समग्र बीमा क्षेत्र नै लाभदायी हुने विषयमा चर्चा गरिएको थियो । बीमा बिज्ञ शेखरकुमार अर्यालले बीमा क्षेत्रमा मोटर बीमाले छवि धमिल्याउने काम गरिरहेको बताए । यसमा रहेका समस्या समयमै समाधान गर्न सकेमा बीमामा खासै अन्य समस्या रहन्न-उनले भने । यता, बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले कार्यक्रममा उठान भएको कुराहरु हामीले आगामी दिनमा कार्यन्वयन गर्ने बताए । अध्यक्ष चापागाईले आवश्यक परे न्यायाधीश र कानून व्यवसायीहरुसँग छलफल गर्न तयार रहेको बताए । मोटर बीमाको समस्या बारे के भन्छन् बीमा कम्पनीहरु ? मोटर बीमाका समस्याबारे जेनेरल इन्स्योरेन्स कम्पनीका जेनेरल म्यानेजर एसके टमोटले मोटर बीमामा समस्या देखिनुमा मेडिकल रिर्पोटमा ढिलाई, बिमितले तयार पार्ने कागजात तथा सर्भे रिपोर्टमा लाग्ने समयले समस्या ल्याउने गरेको बताए । उनले यस्ता समस्याको समयमै समाधान गर्न आवश्यक रहेको बताए । तर, आफ्नो कम्पनीमा भने मोेटर बीमामा खासै समस्या नरहेको दाबी गरे । यस्तै, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) कुमारबहादुर खत्री भन्छन्–‘नक्कली कागजात बनाएर बीमा क्षेत्रलाई समस्या बनाउनेमा केही हिस्सा मोटर बीमाको छ, यसलाई सुधार गर्न सरकारी संयन्त्रले दह्रो पाईला चाल्न आवश्यक छ ।’ बीमा क्षेत्रमा इमान्दारिताको बाटो अपनाउन आवश्यक रहेको उनको बुझाई छ । यसैगरी सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चंकी क्षेत्रीले मोटर बीमाको सम्बन्धमा केही समस्या देखिनुमा बिमितलाई दुर्घटनाको अवस्थामा पैसाको आवश्यकता पर्ने र एकाउण्ट बन्द भएको अवस्थामापनि पुनः पैसाको माग गर्दा समस्या हुने गरेको बताए । उनले पछिल्लो समयमा त्यस्ता कुरा सुधारको अवस्थामा रहेकोमा जोड दिए ।
स्याङ्जाको बिर्घामा आशा लघुवित्तले सञ्चालन गर्यो सिपमूलक तालिम
काठमाडोँ । आशा लघुवित्त वित्तीय संस्थाले असार २४, २५ र २६ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय बिर्घा स्याङ्जामा आबद्ध सदस्यहरु मध्ये ८१ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुनेसर्फ तथा साबुन बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमको उद्घाटन गर्दै कालिगण्डकी गाउँपालिका वडा नं. ४ का अध्यक्ष चक्रपाणी पाण्डेले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशील बन्न थप सहयोग पुग्ने बताए । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै १,५५६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
प्रधानमन्त्रीलाई सचिवहरुको ‘ब्रिफिङ’: १९५ मेगावाट विद्युत् थप, ९१५ किमी सडक कालोपत्रे
काठमाडौँ । चाल आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा १९५ मेगावाट विद्युत् थप भएको छ भने ९१५ किलोमिटर सडक कालोपत्रे भएको छ । सो विद्युत् थप भएसँगै मुलुकको कुल विद्युतजडित क्षमता एक हजार ३२५ मेगावाट पुगेको छ जुन अघिल्लो आवको तुलनामा ७७ प्रतिशतले वृद्धि हो । त्यस्तै ६६ केभीभन्दा बढी क्षमताको ७५७ किमी प्रसारण लाइन निर्माण सम्पन्न भएको सरकारले जनाएको छ । प्रधानमन्त्रीबाट चालु आवमा ‘जनताको जलविद्युत् कार्यक्रम’ शुभारम्भ गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विहीबार भएको मन्त्रालयगत वार्षिक समीक्षा बैठकमा चालु आवमा चार लाख २० हजार घरधुरीमा विद्युत् सेवा पुर्याइएको सम्बन्धित मन्त्रालयका सचिवले जानकारी दिए । पूर्वाधारतर्फ यस अवधिमा एक हजार ५० किमी सडक ग्राभेल भएको र ठूला साना गरी कूल २४३ पुल बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । त्यस्तै माटे सडक ३१५ किमी बनेको र ४२१ किमी रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएको मन्त्रालयले जनाएको छ । जयनगर–जनकपुर–कुर्था ३५ किमी रेललाइन तथा रेल्वे स्टेशन तयार भई आगामी असोजसम्म सञ्चालन हुने अवस्थामा पुगेको छ भने बथनाहा–विराटनगर १८ किमी रेल सञ्चालनका लागि तयार भएको छ । रक्सौल–काठमाडौँ १३५ किमी र काठमाडौँ–रसुवागढी ७२ किमी रेलमार्ग निर्माणको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । कृषितर्फ यस अवधिमा अघिल्लो आवको तुलनामा खसीबोका आयात ४६ दशमलव नौ प्रतिशतले घटेको र रसुवा तथा थानकोट नाकामा अस्थायी क्वारेन्टाइन चेकपोष्ट स्थापना गरी सञ्चालन गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयले जानकारी दिएको छ । शहरी विकास कार्यक्रमअन्तर्गत तराई–मधेशका २० जिल्ला सदरमुकामका नगरपालिकामा शहरी पूर्वाधार विकासअन्तर्गत कूल २३० किमी शहरी सडक, ३३३ किमी सतही ड्रेन, १३ किमी ढल र तीन बसपार्क (इनरुवा, सिद्धार्थनगर र धनगढी) निर्माण सम्पन्न भएको छ । यस अवधिमा भूकम्प प्रभावित, ग्रामीण खानेपानी, वर्षात्को पानी सङ्कलनलगायत गरी कुल ५२६ आयोजनाको निर्माण सम्पन्न भई दुई लाख ८० हजार ८३९ जनसङ्ख्या आधारभूत तहको खानेपानी सेवाबाट लाभान्वित भएका छन् । सरकारले असोज मसान्तसम्म नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने गरी काम भइरहेको जनाएको छ । यस आवमा काठमाडौँ उपत्यकाका सबै चलचित्र घरमा बक्स अफिस प्रणाली लागु गरिएको, नेपाल टेलिभिजनलाई एचडी प्रणालीमा रुपान्तरण गरिएको र रु पाँच करोड ३२ लाख ७४ हजार ८७७ को पत्रकार वृत्तिकोष स्थापना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । गौतमबुद्ध विमानस्थलको प्रगति ७३ प्रतिशत बैठकमा पर्यटनतर्फ १०० नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी त्यसको विकास निर्माण सम्बन्धित स्थानीय तहबाट भइरहेको जानकारी दिइएको छ । त्यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नतिअन्तर्गत ६० प्रतिशत, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ७३ प्रतिशत र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको ४२ प्रतिशत निर्माण सम्पन्न भएको छ । भैरहवा विशेष आर्थिक क्षेत्रको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गरी २२ उद्योगीलाई सञ्चालनका लागि अनुमतिपत्र प्रदान गरिएको र एक उद्योगको परीक्षण उत्पादन शुरु गरिएको सम्बन्धित मन्त्रालयले जनाएको छ । यस अवधिमा सिमरा विशेष आर्थिक क्षेत्रभित्रको ब्लक ‘ए’ मा निर्माणाधीन गार्मेन्ट प्रशोधन क्षेत्रको निर्माणमध्ये आन्तरिक बाटो शतप्रतिशत, प्रशासनिक भवन तथा अन्य भवन ७० प्रतिशत, डिप बोरिङ ६० प्रतिशत र पानी ट्यांकी निर्माण शतप्रतिशत सम्पन्न भएको छ । रसुवाको टिमुरेमा चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहको निर्माण शुरु भएको, चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा सिन्धुपाल्चोकको लार्चामा सुख्खा बन्दरगाह निर्माण सम्पन्न भई तातोपानी नाका खुलेको र मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएको सरकारले जनाएको छ । भूमि व्यवस्थाअन्तर्गत सगरमाथाको उचाइ मापनको फिल्ड कार्य सम्पन्न भएको, नापनक्शा र भूसूचना प्रविधिमा अत्याधुनिक प्रविधिको शुरुआत भएको र जग्गाको स्वामित्व परिवर्तन हुँदा सम्बन्धित जग्गाधनीलाई एसएमएस एलर्ट दिने व्यवस्था मिलाइएको जनाइएको छ । वनतर्फ दुई हजार ४४ हेक्टर अतिक्रमण हटाई वनको पुनस्थापना गरिएको, एक हजार पानी पोखरी निर्माण तथा सिमसार व्यवस्थापन गर्ने लक्ष्य लिइएकामा ९४१ वटा व्यवस्थापन भएको तथा चार हजार हेक्टर क्षेत्रफल वृक्षरोपण गर्ने लक्ष्य लिइएकामा चार हजार १०० हेक्टर वृक्षरोपण भएको बैठकमा जानकारी दिइएको छ । यस वर्ष ५६ लाख ३८ हजार २७० विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गरेको, चिकित्सा शिक्षा आयोग गठन भई कार्य प्रारम्भ भएको र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकसहितको टोलीद्वारा तयार गरिएको ‘नेप्स्याट १’ नामक न्यानो स्याटलाइट प्रक्षेपण भएको सरकारले जनाएको छ । यस अवधिमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७४ तथा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तयार भएको छ । हरेक नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने नीतिअनुरूप गत आवको अन्त्यसम्ममा ३३९ स्थानीय तहमा स्वास्थ्य बीमा लागू भएकामा यस आवमा ४६ जिल्लाका ४५६ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार भई बीमित हुनेको सङ्ख्या १८ लाख नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ज्येष्ठ नागरिक वार्ड स्थापना तथा सञ्चालन कार्यान्वयन निर्देशिका उपप्रधानमन्त्रीस्तरबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, हरेक प्रदेशमा कम्तीमा एक विशिष्टीकृत सेवासहितको अस्पताल रहने नीतिअनुरूप पाँच उपक्षेत्रीय अस्पताललाई सङ्घीय सरकारअन्तर्गत रहने गरी विशिष्टीकृत सेवा सञ्चालन गर्ने गरी तृतीय तहको अस्पतालमा स्तरोन्नति गरिएको जनाइएको छ । राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम गत आवमा १४ जिल्लामा सञ्चालन भएकामा यस आवमा २९ जिल्लामा विस्तार गरिएको सम्बन्धित मन्त्रालयले जनाएको छ । त्यस्तै दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका विभिन्न जिल्लाका २५ गर्भवती तथा सुत्केरीको हवाइ उद्धार गरिएको पनि जानकारी दिइएको छ । युवा तथा खेलकुद मन्त्रालयतर्फ यस अवधिमा रु एक अर्ब ४६ करोड ८० लाख ५० हजार कर्जा लगानी गरी ११ हजार ८७९ जना स्वरोजगार भएको, इन्डोनेसियामा आयोजना भएको १८ औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाल सहभागी भई प्याराग्लाइडिङमा रजत पदक प्राप्त गरेको र थाइल्याण्डमा भएको विश्व शारीरिक सुगठनमा स्वर्णपदक प्राप्त गरेको सो मन्त्रालयले जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अवधिमा कर्मचारी समायोजन तथा जनशक्ति व्यवस्थापनअन्तर्गत कुल ९९ हजार ५७२ कर्मचारी समायोजन भइसकेको र सात प्रदेशका ६०३ स्थानीय तहबाट विभिन्न पद गरी १५ हजार ९११ जनशक्ति पदपूर्तिका लागि माग भएबमोजिम लोकसेवा आयोगबाट विज्ञापन भइसकेको जनाएको छ । यस अवधिमा परराष्ट्र सम्बन्धमा दोस्रो बिआरआई फोरमको बैठकबाट अन्तर–हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल र नेपाल–चीन सीमापार रेलमार्ग समावेश भएको, नेपाल–चीन पारवहन तथा यातायात अभिसन्धिमा हस्ताक्षर भई सम्झौता कार्यान्वयनमा आएको, बङ्गलादेशसँग ऊर्जा व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस अवधिमा कम्बोडिया, भियतनाम, म्यान्मालगायत मुलुकसँग द्विपक्षीय तथा सहयोग सम्झौता भएको सरकारले जनाएको छ । रक्षा मन्त्रालयअन्तर्गत काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य शतप्रतिशत सम्पन्न भई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको, जग्गा अधिग्रहण हालसम्म ९६ प्रतिशत सम्पन्न भएको र शान्ति सेनामा भाग लिन जाने सकल दर्जाका सैनिकको छनोट प्रक्रियालाई थप निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन नयाँ ‘शान्ति सेना छनोट कार्यविधि, २०७५’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको सरकारले जनाएको छ । यसैगरी जाजरकोट–डोल्पा (दुनै) सडक निर्माण आयोजनाअन्तर्गत नेपाली सेनालाई जिम्मेवारीप्राप्त १०३ किमी सडकको ट्रयाक(साधारण बाटो) सम्पन्न गरी उद्घाटन भएको छ । गृह मन्त्रालयतर्फ राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी रणनीतिक योजना तर्जुमा गरी लागू गरिएको, राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली स्थापना गर्ने प्रथम चरणको कार्य सम्पन्न गरी ८० हजार नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको, ७२३ स्थानीय तहको केन्द्रमा नेपाल प्रहरीका एकाइ रहेकामा यस वर्ष ३० स्थान थप गरी ७५३ स्थानीय तहमा नै विस्तार गरी शान्ति सुरक्षाको व्यवस्था मिलाइएको जनाइएको छ । साथै सशस्त्र प्रहरी बल नेपालका गण एवं गुल्म ५६ स्थानमा थप गरी हाल ७७ जिल्लामा विस्तार भई मुलुकको शान्ति सुव्यवस्थालाई थप सुदृढ र प्रभावकारी तुल्याइएको गृह मन्त्रालयले जनाएको छ । समीक्षा बैठकमा प्रधानमन्त्री ओलीसहित उपस्थित सबैले प्रधानमन्त्री कार्यालयस्थित एक्सन रुममार्फत राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे कार्यस्थलको प्रत्यक्ष भिडियो अवलोकन गरेका थिए । बैठकमा प्रधानमन्त्रीसहित मन्त्री, सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायत सदस्यको उपस्थिति थियो । अठार मन्त्रालयले विहीबार प्रगति विवरण प्रस्तुत गरे भने बाँकी मन्त्रालयले शुक्रबार प्रगति विवरण प्रस्तुत गर्ने र प्रधानमन्त्रीले निर्देशन दिने जनाइएको छ । रासस
सहकारीमार्फत कृषकको आय वृद्धि गरिँदै, १४ हजार ४०० कृषक लाभान्वित
काठमाडौँ । फलफूल तथा तरकारी उत्पादनमा आबद्ध कृषकलाई सहकारी बजार प्रणालीमार्फत आय वृद्धि गर्ने उद्देश्यले ‘सहकारी बजार विकास कार्यक्रम’ सञ्चालन गरिएको छ । सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँग समन्वय गरेको उक्त कार्यक्रममा कृषकको जीविकोपार्जनमा सुधारका साथै उपभोक्तालाई सुलभ मूल्यमा फलफूल तथा तरकारी उपलब्ध गराउने लक्ष्य राखिएको छ । ग्रामीण क्षेत्रमा किसानले उत्पादन गरेका फलफूल, तरकारी, खाद्यान्न अस्वभाविक नाफा तथा कमिसन खाएर उपभोक्तासम्म बिक्री गर्ने विभिन्न तहका बिचौलियाको प्रभावलाई न्यून गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । काठमाडौँ उपत्यका, हेटौँडा, भरतपुरजस्ता ठाउँका बजारलाई लक्षित गरिएको यस कार्यक्रमले पहिलो चरणमा ललितपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, मकवानपुर र चितवनलाई समेटेको छ । पाँच वर्षको समयअवधि रहेको कार्यक्रम गत वर्षदेखि शुरु भएको हो । कार्यक्रमका राष्ट्रिय परियोजना प्रबन्धक सुमनशेखर मानन्धरका अनुसार स्थानीय तहसँग समन्वय गरी स्थानीय सहकारी परिचालन गरी कृषकका उत्पादनको वैज्ञानिक मूल्याङ्कन गरी खरीद गरिने छ । प्रशासनिक खर्च सञ्चालनका लागि वस्तुमा न्यूनत्तम नाफा लिएर उपभोक्तालाई सर्वसुलभ मूल्यमा वस्तु उपलब्ध गराइने यस कार्यक्रमअन्तर्गत रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ । यसबाट १४ हजार ४०० कृषक लाभान्वित हुनेछन् । विभिन्न ७२ वटा सहकारीमार्फत उत्पादित वस्तु खरीद बिक्री गर्दा बिचौलिया नहुने हुँदा कृषक र उपभोक्तालाई सहयोग पुग्ने छ । उत्पादनको वास्तविक मूल्य प्राप्त हुने भएपछि कृषकको आम्दानीमा वृद्धि हुनुका साथै उपभोक्ताले पनि अनावश्यक कमिसनको भार बहन गर्न नपर्ने हुँदा दुवै पक्ष लाभान्वित हुने छन् । कृषकलाई प्रारम्भिक सहकारीमा आबद्ध गराउँदै कृषकबाट उत्पादित फलफूल तथा तरकारी पकेट क्षेत्र, स्थानीय तह, जिल्ला र केन्द्रीयस्तरमा सञ्चालन हुने सहकारी बजारसम्म पुर्याउन पूर्वाधार विकास तथा नीतिगत सहयोग प्रदान गर्नेछ । कृषि प्रधान मुलुक भएर पनि नेपालमा किसानलाई बीउबिजन, मल, बजारका पूर्वाधार विकासमा समस्या आइरहने हुँदा यस्ता समस्या समाधानका लागि सहकारीको भूमिका महत्वपूर्ण देखिएको छ । बेलायतको म्यानचेष्टर सिटीमा १८औँ शताब्दीको मध्यतिर ‘रोचडेल इक्विटेबल पायोनियर सोसाइटी’ स्थापना गरी सहकारी शुरु भएको इतिहास पाइन्छ । नेपालमा भने सहकारीको स्थापना भएको करीब छ दशक मात्र भएको छ । सरकारले मुलुकको समृद्धिका लागि सरकारी, निजी र सहकारी क्षेत्र गरी तीन खम्बे अर्थनीतिको अवधारणा बनाएको छ । सामान्यतया सहकारीमा आबद्ध सदस्यले निश्चित रकम उठाएर सङ्कलन भएको रकमलाई आफ्नो समूहभित्रका सदस्यले एकल वा संयुक्त रुपमा आर्थिक लगानी गर्ने र त्यसबाट प्राप्त नाफा नियामनुसार वितरण गर्ने गरिन्छ । कार्यक्रमका संयोजक अनन्तकुमार बस्नेतले सहकारी क्षेत्रबाट सञ्चालन गरिने उक्त परियोजनाले गरीबीको रेखामुनि रहेका वर्ग, भूमिहीन कृषि मजदूरलाई समेटेको बताए । देशभर प्रारम्भिक सहकारी, सहकारी सङ्घ, विषयगत सङ्घ र केन्द्रीय तथा राष्ट्रिय सहकारी सङ्घ गरी जम्मा ३४ हजार ५१२ सहकारी दर्ता भएका छन् । पछिल्लो समय स्थानीय तहलाई सहकारीको दर्ता, नियमन गर्नेलगायत जिम्मेवारी दिइएकाले २०० भन्दा बढी सहकारी स्थानीय तहमा दर्ता भएका छन् । हाल सहकारीमार्फत ६० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । करीब ५० लाख शेयर सदस्यको बचत रु दुई खर्बभन्दा माथि पुगेको छ । रासस
भीमसेन मन्दिर निर्माणका लागि एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठद्वारा एक करोड सहयोग
काठमाडौँ । व्यापारीका आराध्य देवता मानिने पाटनका भीमसेन मन्दिरको पुनर्निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडका अध्यक्ष बिके श्रेष्ठले रु एक करोड सहयोग हस्तान्तरण गरेका छन् । पुख्र्यौली घर पाटनमा भएका श्रेष्ठले बुबा साहु गणेशलाल श्रेष्ठको स्मरणमा रकम हस्तान्तरण गरेका हुन् । उनले चेक ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जन, मङ्गल टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान र काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी)का प्रमुख डा रोहित रञ्जितकारलाई हस्तान्तरण गरे । प्यागोडा शैलीमा निर्मित यो मन्दिर विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त बनेको थियो । मन्दिर दिनदिनै जीर्ण बन्दै गएपछि मङ्गल टोल सुधार समिति, ललितपुर उद्योग वाणिज्य सङ्घ, ललितपुर महानगरपालिका र नेपाल सरकार पुरातत्व विभागको संयुक्त प्रयासमा मन्दिर पुनर्निर्माणका लागि समिति गठन भई काम शुरु भएको थियो । समितिले मन्दिर पुनर्निर्माणमा सुन लेपनबाहेक रु चार करोड त्रियानब्बे लाख लाग्ने अनुमान गरिएको छ । ललितपुर महानगरपालिकाले रु एक करोड र प्रदेश ३ सरकारबाट पचास लाख सहयोग गर्ने निर्णय गरिसकेका छन् ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ८ लाख घूस लिएको आरोपमा पक्राउ
काठमाडौँ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्राडा राजकुमार रौनियार र प्रतिष्ठानका डा रामहरि रौनियार रु आठ लाख घूस लिएको आरोपमा पक्राउ परेका छन् । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनवापत सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बिहीबार निजहरुलाई घूस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रतिष्ठानको परिसरस्थित उपकुलपति निवासबाट रङ्गेहात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।