विकासन्युज

इक्यान मेलाको दोस्रो दिन: मुसलधारे पानीमा पनि उत्साहजनक सहभागिता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा राजधानीमा बिहीबारदेखि सुरु १३ औं इक्यान शैक्षिक मेलामा दोस्रो दिन सकिएको छ । इक्यानका अनुसार दोस्रो दिन मुसलधारे पानीमा पनि विद्यार्थीको सहभागिता उत्साहजनक देखिएको छ । शुक्रबार बिहानैदेखि मुसलधारे पानी परेकाले विद्यार्थीको चाप पहिलो दिनको तुलनामा केही कम देखिए पनि सहभागिता भने उत्साहजनक थियो । इक्यानका अनुसार शुक्रबार ५ हजार जनाले मेला अवलोकन गरेका छन् । मेलामा ३०० भन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको छ । असार २९ गते आइतबारसम्म चल्ने मेलामा चार वटै दिन रक्तदान तथा प्राथमिक उपचारको व्यवस्था समेत गरिएको छ । साथै मेलामा नेपाल फोटो पत्रकार महासंघले सुन्दर नेपाल शीर्षकको फोटो प्रदर्शनी गर्नेछ । शुक्रबारको मेलामा विदेशमा उच्च शिक्षा लिएर फर्केका तीन जना यूवाहरुले विद्यार्थीसँग आफ्ना अनुभव समेत साटासाट गरे ।  कार्यक्रममा उच्च शिक्षाका लागि १३ वर्ष विदेशी भूमिमा बिताएका डा. समीरमणि दीक्षितले उच्च शिक्षाका लागि विदेशी मुलुक जान कुनै आपत्ति नमान्न आग्रह गरे । उनले भने, ‘उच्च शिक्षाका लागि विदेश जानु राम्रो हो, तर विदेशमा गुणस्तरीय शिक्षा लिएर नेपाल फर्कन सकियो भने निकै राम्रो हुन्छ ।’ दीक्षितले आफ्नो उदारहण दिँदै भने, ‘विदेशमा पढ्न मात्रै जाने होइन, पढाइसँगै इन्टर्नसिप र काम पनि गर्नुहोस, नेटवर्क बनाउनुहोस, ताकी भविष्यमा नेपाल फर्किसकेपछि त्यसैलाई उपयोग गरी काम गर्न सकियोस ।’ पहिलेको तुलनामा अहिले विदेश गइ पढेर फर्कने विद्यार्थीको संख्या बढीरहेको बताउँदै यो मुलुकका लागि निकै फाइदाजनक भएको बताए । कार्यक्रममा बोल्दै, समाजवादी पार्टीकि नेतृ मानुषी यमी भट्टराईले विद्यार्थीहरु रहरभन्दा बढी बाध्यताले विदेश गइरहेको बताइन् । उनले भनिन, म आफै पनि बाध्यताले जेएनयू पढ्न गएकी हुँ । समयमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरिरहेकी म यहाँ गुणस्तरीय शिक्षा नभएकैल कारणले विदेश गएकी हुँ ।’ भट्टराईले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई अध्ययन पूरा भएपछि फर्काउनका लागि सरकारले समेत वातावरण बनाउनुपर्ने बताइन् । त्यस्तै, कार्यक्रममा बोल्दै बुलबुल चलचित्रका निर्देशक बिनोद पौडेलले आफूले बेलायतमा सिकेको गुणस्तरीय शिक्षा प्राप्त गरेकै भरमा चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकेको बताए । बेलायतमा एमबीए सकाएर नेपालमा फर्की चलचित्र निर्माण क्षेत्रमा हात हालेका पौडेल अहिले राजधानीमा कलेज सञ्चालन गरिरहेका छन् । कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले कन्सलटेन्सी क्षेत्रमा शुद्धिकरणका लागि भएका प्रयासमा इक्यानको भूमिका महत्वपूर्ण भएको भन्दै यसका लागि सरकारले पनि साथ दिनुपर्ने बताए । उनले यस क्षेत्रमा विदेशी लगानी आवश्यक नभएको भन्दै स्वदेशी व्यवसायीहरुले नै यसका लागि पर्याप्त भएको बताए ।

भक्तपुरको राधेराधेमा कामना सेवाकोे ९३औं शाखा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुर जिल्लाको मध्यपूर ठिमी नगरपालिका वडा नं. २६ राधेराधेमा शुक्रबार ९३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुरुवात गरेका हुन् । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत ग्राहकलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जनाएको छ ।

सहुलियतपूर्ण कर्जामा ३४ अर्ब ४१ करोड ऋण स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्षको यो अवधिसम्म सहुलियतपूर्ण कर्जामा ३४ अर्ब ४१ करोड ऋण स्वीकृत गरिएको छ । सहुलियतपूर्ण कर्जा दिन स्वीकृत गर्नेमा वाणिज्य बैंक अग्रणी स्थानमा रहेको छ । वाणिज्य बैंकहरूले ३२ अर्ब २३ करोड सहुलियत कर्जा प्रवाह गर्न स्वीकृत गरेका छन् भने विकास बैंकले दुई अर्ब आठ करोड दिन प्रदान गर्ने भएको छ । सरकारले सो कर्जाको लागि एक अर्ब १५ करोड ७४ लाख ब्याज अनुदान प्रदान गरेको छ । फाइनान्स कम्पनीले नौ करोड ३२ लाख ९० हजार कर्जा प्रवाह गर्न स्वीकृत गरेका छन् । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ आए यता ७ सय ४९ जनाले अनुदान कर्जा लिएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ३३ अर्ब ९४ करोड कर्जा स्वीकृत भएको छ । १५ हजार ४१२ जना कृषि उद्यमीले कर्जा लिन स्वीकृत गराएका हुन् । त्यसैगरी शिक्षित युवा स्वरोजगार कर्जा ९३ करोड ३५ लाख स्वीकृत भएको छ । १६ जनाले कर्जा स्वीकृत गराएका हुन् । त्यसैगरी विदेशबाट फर्केका युवा परियोजना कर्जा २ करोड ३१ लाख ५० स्वीकृत भएको छ, ३२ जना युवाले कर्जा स्वीकृत गराएका हुन् । यता, महिला उद्यमशीलता कर्जा ३७ करोड २३ लाख ३५ हजार स्वीकृत भएको छ । ५३५ जना महिला उद्यमीले सो कर्जा स्वीकृत गराएका हुन् । दलित समुदाय व्यवसाय कर्जा २ करोड ७२ लाख २० स्वीकृत भएको छ । ५० जनाले यो कर्जा स्वीकृत गराएका हुन् । यसैगरी उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५७ जनाले १ करोड ५८ लाख ६६ हजार र भूकम्प पीडिहरुको निजी आवास निर्माण कर्जातर्फ ७६ जनाले २ करोड १८ लाख ७० हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ ।

पर्यटनमन्त्रीकाे निधनसँगै सेलायो भरतपुर विमानस्थल विस्तारको प्रक्रिया

चितवन । तराईको लुक्ला भनेर चिनिने निकै जोखिमपूर्ण मानिएको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनसँग सेलाएको छ । अधिकारी आफैँ भरतपुर आएर सरोकारवालासँग छलफल गरी तत्काल विमानस्थल विस्तारका लागि गृहकार्य अघि बढाउन निर्देशन दिएका थिए । अधिकारीले प्रक्रिया अगाडि बढाइरहेको बेला फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी उनको निधनसँगै विमानस्थल विस्तार प्रक्रिया सेलाएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार मन्त्री अधिकारीले विमानस्थललाई विस्तार गर्न आवश्यक पर्ने सम्पूर्ण विवरण स्थानीय तहमार्फत पठाउन निर्देशन दिए थिए । सोहीअनुरुप कार्यालयले भरतपुर महानगरपालिकालाई आवश्यक धावनमार्गका बारेमा खुलाएर पठाइएको थियो । सोही पत्रका आधारमा महानगरपालिकाले पर्यटन मन्त्रालयमा कार्यपालिकाको बैठकले निर्णय गराई पठाएको हो । भरतपुर महानगरपालिकाले विमानस्थल विस्तारका क्रममा नेपाली सेनालाई अन्यत्र स्थान दिन सकिने जनाएको छ । महानगरपालिका प्रमुख रेणु दाहालले विमानस्थल विस्तारको प्रक्रियामा सोझै मन्त्री अधिकारीसँग छलफल गरी काम अघि बढाएको जनाएकी थिइन् । भरतपुर विमानस्थलको अहिलेको धावनमार्ग एक हजार २०० मिटर लामो छ । जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र बिजुलीका पोल÷तार भएकाले पूरै क्षेत्र जहाजले लिन पाउने अवस्था छैन । जसका कारण लुक्लामा झैँ छोटो ठाउँमा एक्कासि अवतरण गर्नुपर्ने बाध्यता छ । जसका कारण जहाजभरि यात्रु राख्नसमेत नसकिएको विमान कम्पनीले जनाउँदै आएका छन् । धावनमार्गसँग जोडिएको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेमा ६०० मिटर धावनमार्ग थप गर्न सकिने गौतमले बताए । जसले गर्दा सुरक्षित तवरबाट ७२ सिटका जहाज अवतरण गर्न सकिने गौतमको भनाइ छ । महानगर प्रमुख दाहालले अब मन्त्री नियुक्त भएसँगै अघि बढेको प्रक्रियालाई गति दिने बताइन् । भरतपुरबाट काठमाडौँ र पोखरा हवाई सेवा रहेको छ । रासस

ज्योति लाइफको ‘ज्योति केयर्स’ बजारमा, थपियो बिमितले पाउने सुविधा

काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति केयर्स’ नामक प्रडक्ट बजारमा ल्याएको छ । शुक्रबार कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले उक्त प्रडक्टको औपचारिक शुभारम्भ  गरेका हुन् । ज्योति लाइफका बिमितहरुले अबदेखी घातक रोग लाग्दा अस्पतालबाट वित्तीय छुट प्राप्त गर्न सक्ने छन् । कार्यक्रममा बोल्दै कम्पनी सञ्चालक समिति अध्यक्ष शर्माले भने-‘जीवन बीमा सेवामूलक क्षेत्र भएकाले हामीले बिमितको हितमा काम गर्नु पर्छ भन्ने लक्ष्य राखेका छौँ, सोही उद्देश्यका साथ ‘ज्योति केयसर्’ कार्ड बजारमा आएको हो ।’ उनले आफूहरुले सहकार्य गर्दै आएका संस्थाहरुमा थप वृद्धी गर्ने र सो कार्यपनि बिमितिको हितमै केन्द्रीत हुनेमा जोड दिए । कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीले भने-‘हामी सञ्चालनमा आएको २ वर्षपनि पुगेको छैन, तर हामीले बजार ल्याएका कतिपय प्रडक्टहरु पहिलो नै बनेका छन् ।’ उनले आगामी दिनमा समेत त्यस्ता नौला प्रडक्टहरु ल्याएर बिमित हितमा काम गर्ने बताए । के हो त ज्योति केयर्स ? ‘ज्योति केयर्स’ सुविधा ५ लाख रुपैयाँ वा सो भन्दा बढीको बीमाङ्क बराबर सावधिक जीवन बीमा गर्ने सबै बिमितलाई उपलब्ध हुन्छ । बिमितलाई ५ प्रतिशतदेखी ३० प्रतिशत सम्म नगद छुट हुने व्यवस्था छ । साथै, बिमितले ईमेलको माध्यमबाट ज्योति केयरको बारेमा सूचना आदान–प्रदान गर्न सक्ने कार्यक्रममा बताइयो । हाल ७ वटै प्रदेशका कार्यालयहरुमा ‘ज्योति केयर्स’ को कार्ड तथा चिठ्ठी पुगिसकेको कम्पनीले जनाएको छ । कम्पनीले कार्ड पाउने बिमित तथा सबै सरोकारबालाहरुले यो सेवा प्राप्त गर्ने जनाएको छ । कम्पनीले आफ्नो स्थापनाको २० महिनामा १ सय ५ भन्दा बढी शाखा सञ्जाल बिस्तार गरेको जनाएको छ ।

विश्व बैंकले नेपाललाई दियो ११ अर्ब सहुलियत ऋण, सार्वजनिक वित्त व्यवस्थापनमा खर्च गरिने

काठमाडौं । विश्व बैंकले वित्तीय सङ्घीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका निम्ति नेपाल सरकारलाई रु ११ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस एच हादादजार्भोस र अर्थसचिव लालशङ्कर घिमिरेले अर्थ मन्त्रालयमा आज हस्ताक्षर गरेका हुन् । नेपाल सरकारको सङ्घीयताको कार्यसूची कार्यान्वयन, नीति, नियम र ऐन कानूनका माध्यमबाट वित्तीय सङ्घीयता स्थापना, सङ्घीय कानुन, सङ्घीयस्तरमा समग्र कानुन निर्माण, बजेट तर्जुमा तथा कार्यान्वयन, लेखा प्रणाली सुधारका साथै स्थानीय सरकारका बजेट प्रक्रियामा सघाउन उक्त सहायता उपयोग गरिनेछ । त्यस्तैगरी, पारदर्शिताको सुनिश्चितता, नागरिकप्रति जवाफदेहिता, अनावश्यक खर्च नियन्त्रण, कर सङ्कलन प्रणालीमा सुधार, मध्यकालीन खर्च ढाँचा तयारी, सुधारका कार्यक्रममा दिगोपन सुनिश्चिततामा पनि सहयोग रकम खर्च हुनेछ । सचिव घिमिरेले सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारलाई विकासका साझेदारबाट प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् । नेपालको सङ्घीयताको अभ्यासमा सघाउन बैंकले सहुलियतमा ऋण उपलब्ध गराएको देशीय प्रबन्धक हादादजार्भोसले बताए । उनले विभिन्न चुनौतीलाई चिर्दै सफलतातर्फ उन्मुख यो सङ्घीय संरचनालाई सुदृढ तुल्याउन बैंक प्रतिबद्ध छ भन्छन् । उनले नेपालको सङ्घीयताको अभ्यास र सरकारीस्तरबाट भएका कामको पनि प्रशंसा गरेका थिए । रासस

बर्दियाकोे बाँसगढीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

काठमाडौँ । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा न. ५ मा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय बिस्तार भएको छ । बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।

मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण हुँदै, लागत लक्ष्य तीन करोड

दमौली । तनहुँको व्यास नगरपालिका–४ मा निर्माण हुँदै गरेको प्यागोडा शैलीको मन्दिरका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिले रु ११ लाख सहयोग गरेका छन् । बागभञ्ज्याङ सामुदायिक वनभित्र निर्माण हुँदै गरेको तनहुँ कालिका मन्दिरका लागि तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ, बागभञ्ज्याङ सामुदायिक वन, शीतलचोक राधाकृष्ण आमा समूहलगायतले रु ११ लाख ५५ सहयोग गरेका हुन् । मन्दिर निर्माणका लागि एकाइ र सामुदायिक वनले रु चार/चार लाख सहयोग गरेको छ भने आमा समूहले रु दुई लाख ७५ हजार सहयोग गरेको तनहुँ कालिका शहीद शान्ति पार्क उपभोक्ता समितिका कोषाध्यक्ष एकबहादुर रानाले जानकारी दिए । उनका अनुसार हरिओम टोल आमा समूहले पनि रु २५ हजार ५५ सहयोग गरेको छ । मन्दिर निर्माण सम्पन्न गर्नका लागि प्राप्त भएको रकमले सहयोग पुग्ने समितिका अध्यक्ष मोतीकुमार श्रेष्ठले बताएका छन् । कालिका मन्दिर निर्माणका लागि हालसम्म रु एक करोड ४३ लाख खर्च भएको छ । मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माणको कार्य ७० प्रतिशत पूरा भएको छ । तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको टुँडाल हाल्ने क्रम जारी छ । मन्दिर तामाको छानोले छाइनेछ । “विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगबाट नै मन्दिर निर्माण सम्पन्न हुनेमा विश्वस्त छौँ”, समितिका कोषाध्यक्ष रानाले भने, “दाताको सहयोग प्राप्त नभएको मन्दिर आज यो अवस्थासम्म आइपुग्न गाह्रो हुन्थ्यो ।” तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठले मन्दिरले दमौली बजारको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताएका छन् । करिब रु तीन करोडको लागतमा मन्दिरको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहे पनि मन्दिर निर्माणका लागि रकम अपुग हुने पार्कले जनाएको छ । रासस