विकासन्युज

पानीको बहाव बढ्दै, कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताए । नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो । यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् । पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ । बाढीपीडितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह यसैबीच, प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल वर्षा र त्यसले पुर्याएको जनधनको क्षतिप्रति दुःख प्रकट गरे । शनिबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री तुम्बाहाङले वर्षा र पहिरोले ज्यान गुमाएका, बेपत्ता भएका र घरबारविहीन परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनशीलता देखाउँदै सहयोग गर्न सबै पक्षसँग आग्रह गरे । बाढी, पहिरोले प्रदेश नं १ उच्च जोखिममा परेको भन्दै उनले विज्ञप्तिमा पीडितपरिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुट्न सबै पक्षसँग आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुबानले प्रभावित भएको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रका सबैमा उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् ।

ग्लोबल आइएमईको विशेष साधारण सभा साउन १४ गते, हाथवेलाई एक्वीजिशन गर्ने प्रस्ताव पारित हुने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारणल सभा साउन १४ गते हुने भएको छ । असार २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभामा बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई एक्वीजिशन गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिविदन माथि छलफल गर्ने जनाइएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक लिमिटेडबीच मर्जर गर्ने प्रयोजनका लागि असार २२ गतेबाट सेयर कारोबार बन्द रहेको छ । तसर्थः असार २१ गतेसम्ममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा नियमानुसार कारोबार भई साउन ५ गतेसम्म बैंकको रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडौँमा प्राप्त सेयर नामसारी लिखतको आधारमा सेयरधनी किताबमा कायम सेयरधनीहरुले सो सभामा भाग लिन र मतदान गर्न पाइने जनाइएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक र जेबिल्स फाइनान्सको एकीकृत कारोबार असार ३० देखि

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र जेबिल्स फाइनान्स लिमिटेडको एकीकृत कारोबार असार ३० गतेदेखि हुने भएको छ । असार ६ गते सम्पन्न विशेष साधारण सभाबाट नेपाल इन्भेष्टमेण्टले जेबिल्सलाई एक्वीजिशन गर्ने विशेष प्रस्ताव पारित पारित भएको तथा नेपाल राष्ट बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत एकीकृत कारोबारका लागि पत्र प्राप्त भइसकेको जनाइएको छ ।

देवः र वेष्टर्न बैंक आइतबार बन्द, सोमबारदेखि एकीकृत कारोबार

काठमाडौँ । देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार असार २९ गते १ दिन बन्द हुने भएको छ । असार ३० गतेदेखि दुबै वित्तीय संस्थाले एकीकृत कारोबार गर्ने भएकाले डाटा म्याग्रेशन प्रयोजनका लागि १ दिन सम्पूर्ण कारोबार बन्द गर्न लागेको देवः विकास बैंक लिमिटेडले जनाएको छ । असार १२ गते दुबै कम्पनीको वार्षिक साधारण सभाबाट देवः विकास बैंक लिमिटेडले वेष्टर्न डेपलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गरेको नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत एकीकृत कारोबारका लागि स्वीकृत प्राप्त भइसकेको जनाइएको छ ।

सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पाैड्याल

काठमाडाैं । सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पाैड्याल नियुक्त हुने भएका छन् । पाैड्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्तावसहित बैंक सञ्चालक समितिकाे बैठक आज बस्दैछ । शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकमा यसअघि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका निरज श्रेष्ठले पद अस्वीकार गर्दै लेखेकाे पत्र पेस भएकाे थियाे । निरजकाे नियुक्ती प्रति सञ्चालकद्वय शैलेन्द्र गुरागाई र मालचन्द दुगड असन्तुष्टि व्यक्त गरेका थिए । प्रमुख कार्यकारी अधिकृत नियुक्ति जस्ताे महत्वपूर्ण निर्णयमा सर्वसम्मति नभएकाे र यस विषयलाई  विवादकाे विषय बनाई सञ्चार मध्ययमा फैलाएकाे, राष्ट्र बैंकमा उजुरी गरेकाेले यस्ताे अवस्थामा पदभार समाल्दा राम्राे काम गर्न गाह्राे हुने भन्दै निरजले जिम्मेवारी नलिने पत्र लेखेका थिए । स्राेतका अनुसार जनक शर्मा पाैड्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने भन्नेमा शुक्रबारकाे बैठकमा समझदारी बनेकाे छ । तर शुक्रबारकाे बैठकमा प्रमुख कार्यकारी अधिकृत नियुक्ती सम्बन्धि प्रस्ताव नभएकाेले लिखित निर्णय भएकाे छैन । आइतबारकाे बैठकमा माइन्युट गरिने र निर्णय आइतबार नै सार्वजनिक गर्ने याेजना रहेकाे स्राेतले बतायाे । जनकराजसँग करिब तीन दशक लामाे बैंकिङ अनुभव छ । नविल बैंकबाट बैकिङ करिअर शुरू गरेका पाैड्यालले एनआइसी एशिया, लक्ष्मी बैंक हुँदै ग्लाेवल आइएमइ बैंककाे प्रमुख कार्यकारी अधिकृत भएका थिए । उनले गत माघकाे पहिलाे साता ग्लाेबल आईएमई बैंककाे प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा गरेका थिए । राष्ट्र बैंककाे नियम अनुसार ६ महिनाकाे कुलिङ पिरियड पार भइसकेकाे छ ।

माछापुछ्रे बैंकको १२ लाख कित्ता ऋणपत्र साउन ६ देखि, न्यूनतम २५ कित्ता आवेदन गर्न पाइने

काठमाडौं । माछापुछ्रे बैंकको प्रतिकित्ता रु १००० अंकित १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता कित्ता ऋणपत्र साउन ६ गते खुल्ने भएको छ । ‘१०.२५ प्रतिशत माछापुछ्रे बैंक लिमिटेड डिबेन्चर २०८५’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म आवेदन गर्न पाउने जनाइएको छ । साउन ६ गतेदेखि खुल्ने उक्त ऋणपत्र छिटोमा साउन ९ गते र ढिलोमा भदौ ३ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । ९ बर्ष अवधि तोकिएको उक्त ऋणपत्र विसं २०८३ मा परिपक्व हुनेछ भने ऋणपत्रका लगानीकर्ताले १०.२५ प्रतिशत बराबरको ब्याजदर प्राप्त गर्नेछन् । उक्त ३० लाख डिबेञ्चरमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको हो ।

पञ्चकन्याको उत्पादन ‘‘डेकिङ्ग सिट’’ बजारमा

काठमाडौं । निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको नेपालको औद्योगिक घराना पञ्चकन्या समूहले निर्माण कार्यमा प्रयोग हुने “ग्यालभनाइज्ड डेकिङ्ग”सिट नेपाली बजारमा बिक्री वितरण थालेको छ । विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो समेत रहेको पञ्चकन्या समूहका कार्यकारी निर्देशक प्रदीपकुमार श्रेष्ठले जानकारी दिए । यसलाई निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने र मूल्यमा समेत किफायति रहेको उनको भनाई छ । तौलमा हलुका विशेषता रहेका यी सिटहरु मजबुत, खिया नलाग्ने र वाटर प्रुफ समेत रहेको यसको प्रमुख विशेषता रहेको कम्पनीको भनाई छ । कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्ने भएकोले भवनलाई भार कम पर्ने कम्पनीको दावी छ । साथै, यसको प्रयोगले मर्मत सम्भार गरिरहनु पर्ने झन्झट रहदैन, आवश्यकता अनुसार साइजमा उपलब्ध हुने यी निर्माण सामाग्री नेपाल भरी नै उपलब्ध रहेको कम्पनीको भनाई छ ।

गौर डुबान भारतले होइन नेपालले गराएको होः अनिल झा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष मण्डलका संयोजक झाले भने,‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु । भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो । हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन् ।’ उनले लगातारको वर्षाका कारण बाढी, पहिरो पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भने,‘पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ । बेपत्ता भएकाहरुको शिघ्र खोजी कार्य सुरु गर्नुपर्छ । र, घाईतेहरुलाई पनि उपचार गराउनुपर्छ ।’ झाले अहिलेपनि ठूलो संख्यामा बाढि तथा पहिरोमा फसिरहेको सुनाउँदै उनीहरुको तत्काल उद्धार गर्नुपर्ने भनाई राखे । सरकारको विपद व्यवस्थापन समितिको बैठक बसिरहेको भन्ने सुन्नमा आएपनि अहिलेसम्म राहतको घोषणा नभएकोले तत्काल बैठकका निर्णयहरु सार्वजजिनक गर्नपनि उनले सरकारलाई आग्रह गरे । उनले सिंगो रौतहट डुवानमा परेको सुनाउँदै बाढि पीडितलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । उनले थपे,‘ईतिहासमा यो भन्दा ठूलो बाढी कहिल्यै आएको थिएन् । यो वर्ष ठूलो बाढी आयो । ठूलो क्षति भएको छ ।’ बाढि, पहिरो पीडितहरुलाई उद्धारा तथा राहतको लागि राजनीतिक दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु परिचालित गरिरहेको सुनाउँदै राजपा नेपालले पनि ठूलो संख्यामा कार्यकर्ताहरु परिचालित गरिरहेको झापको भनाई छ । उनले पार्टीले आफ्नो हैसियतअनुसार पीडितहरुलाई सहयोग गर्ने घोषणा पनि गरे । उनले आफू हिजोदेखि नै निरन्तर सम्बन्धित निकाय र यसका प्रमुखहरुसँग सम्पर्कमा रहेको पनि सुनाए । उनले भने,‘म काठमाडौंमा छु, म यहीँ बसेरपनि मैले गर्नुपर्ने आफ्नो दायित्व पूरा गरेको छु । सरकारसँग निरन्तर सम्पर्कमा छु । भारतीय राजदुतसँगपनि कुरा गरिरहेको छु । प्रधानमन्त्रीजीसँग कुरा हुन पाएको छैन । तर, आजमात्रै पनि गृहमन्त्रीलाई फोन गरेर विशेष ध्यानाकार्षण गराएको छु ।’