विकासन्युज

आईक्यान अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्विरोध

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था( आईक्यान) को अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन् । संस्थाले यहि असार३१ गते चुवानको तयारी गरेको थियो । आचार्य यस अघि उक्त संस्थामा उपाध्यक्ष रहेका थिए । आचार्यले आगामी साउन ७ गतेदेखि आईक्यानमा अध्यक्षको कार्यभार सम्हाल्दै छन् । संस्थाको कार्यसमितिमा १७ जना रहने व्यवस्था छ । आईक्यान २०५३ सालमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था ऐन २०५३ अन्तर्गत स्थापना भएको एउटा स्वायत्त नियमनकारी संस्था हो । यसले नेपालमा लेखा व्यवसायलाई नियमन गर्छ । नेपालमा चार्टर्ड एकाउण्टेन्सी शिक्षाको व्यवस्था गरी परीक्षा सञ्चालन गर्ने हुनाले यसले शैक्षिक संस्थाको समेत कार्य गर्छ ।

रु एक हजारसम्म तिरेर खोला वारपार

बेझाङ । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् । हरेक निर्वाचनमा यो खोलामा पक्की पुल निर्माण गर्ने सबै दलका उम्मेदवारका चुनावी एजेण्डामा समेटिन्छ । तर, पुल बनाउने कार्यमा भने कसैले चासो दिएको पाइँदैन । जोखिम मोलेरै पानीको बहाव बढेको खोलामा पसेर मोटरसाइकल बोकेर खोला वारपार गराएवापत रु ५०० देखि एक हजारसम्म शुल्क लिने गरेको स्थानीयवासी कृष्णबहादुर सुनारीले बताए । “अति आवश्यक काममा निस्केका, बिरामी बोकेर आएका मोटरसाइकल जोखिम मोलेर बोकेर खोला तारिदिने गरेको छु”, उनले भने । पूर्वखोला गाउँपालिकाको सिलुवा बजारबाट सात किमी दक्षिणमा रहेको यस खोलामा पुल नहुँदा वर्षायाम शुरु भएपछि सवारीसाधन नै ठप्प हुँदा स्थानीयवासीले निकै सास्ती खेप्दै आइरहेको स्थानीय व्यापारी विजय सारुले बताएका छन् । “सामान गाडीमा ओसारपसार गर्न, गाउँघरमा उत्पादित वस्तु बजार पुर्याउन खोलामा पुल नभएकै कारण बोकेर जीविका चलाउनुपर्ने बाध्यता छ”, उनले भने । सवारीसाधन ठप्प हुँदा उपभोग्य वस्तु महँगो मूल्यमा खरिद गर्न यस क्षेत्रका स्थानीयवासी बाध्य छन् । पैदलयात्रीका लागि झोलुङ्गे पुल रहे पनि यातायातका साधन वारपार गर्न पक्की पुल नबन्दा जोखिम मोलेरै सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता रहेको होम राईमगर बताउँछन् । यस खोलामा पक्की पुल नबन्दा निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेका सबै भाग, वडा नं ७ को ज्यामिरे र मित्यालका केही भेगका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ । रासस

नेपालगञ्जका नौ पसलबाट लाखौंका धनमाल चोरी

राँझा । अबिरल वर्षा परिरहेको मौका छोपी गए राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका नौ पसलबाट लाखौँको धनमाल चोरी भएको छ । प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा टे«डर्स, प्रभा किराना पसल, कुञ्ज टे«डर्स र शोभा टे«डर्समा चोरी भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिएका छन् । उनका अनुसार, तीन किराना पसलबाट झण्डै रु एक लाख नगद र मोबाइल रिचार्जकार्ड चोरी भएको खुल्न आएको छ । “के कति चोरी भएको छ भन्ने यकिन भइसकेको छैन, मुचुल्का उठाउने काम भइरहेको छ”, उनले भने, “चोरले नगद मात्र उठाएको छ, जहाँ नगद भेटिएको छैन, त्यहाँबाट अन्य कुनै सामान नलगेको पाइएको छ ।” दुई÷दुई वटासम्म बलिया ताल्चा लगाएको सटरसमेत फोडेको भेटिएको छ । जिल्ला र वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख फेरबदल भएको बेला नेपालगञ्जमा चोरीका घटना बढेका छन् । शहरमा चोरीका घटना बढेपछि शनिबार साँझ मात्र नेपालगञ्जका इलेक्ट्रोनिक्स व्यवसायी सुरक्षा माग गर्दै जिल्ला प्रहरी कायालय बाँके पुगेका थिए । गए राति एकैपटक नौ पसलमा चोरी भएपछि व्यवसायी त्रसित बनेको नेपालगञ्जका इलेक्ट्रोनिक्स एशोसिएसनका अध्यक्ष चिरञ्जीवी वलीले बताए । एशोसिएशनले नेपालगञ्जको धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, सेतुविक, विपीचोकजस्ता मुख्य ठाउँमा रहेका प्रहरीलाई सक्रिय बनाउन र अन्य क्षेत्रमा नियमित गस्ती गर्न माग गरेको छ । सिसीटिभी क्यामेरा जडान गरिए पनि काम नगरेको भन्दै व्यवसायीले त्यसलाई सुधार गर्न माग गरेका छन् । रासस

मलेसिया विरुद्धको टि २० सिरिजमा नेपालको क्लिन स्विप

काठमाडौं । टि २० मा नेपालले मलेसियालाई पुनः पराजित गरेको छ । मलेसियाको घरेलु मैदानमा भएको दोश्रो खेलमा १७४ रनको लक्ष्य पछ्याएको मलेसिया ७ विवेकको क्षतिमा १६७ रनमै समेटिएको हो । नेपालले मलेसियालाई ६ रनले पराजित गरेको हो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । शनिबारको पहिलो खेलमा पनि नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । टि २० सिरिजमा नेपालले मलेसिया विरुद्धका दुबै खेल जितेर क्लिन स्विप गरेको हो ।

चीनको वैदेशिक व्यापार १४६ खर्ब यूआन, गत वर्षको तुलनामा ३.९ प्रतिशत वृद्धि

बेइजिङ । चालू वर्षमा कूल १४६ खर्ब ७० अर्ब युआन चीनको वैदेशिक व्यापार भएको चिनियाँ भन्सार विभाग (व्यूरो) ले जनाएको छ । विभागले शुक्रबार यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । गत वर्षको सोही अवधिको तुलनामा यो ३.९ प्रतिशतको वृद्धि हो । विश्व व्यापारमा पछिल्लो समय संरक्षणवाद चर्केर गएको र विश्वमा आर्थिक वृद्धि पनि मन्द भएको दवाव चिनियाँ अर्थतन्त्रमा समेत परिरहेका समय चीनले यति राम्रो वैदेशिक व्यापार उपलब्धि हासिल गर्नु सजिलो काम नभएको भन्सार विभागले जनाएको छ । यसबाट चीनको वैदेशिक व्यापारमा व्यापक लचिलोपना भएको र चीनको आर्थिक वृद्धि स्थिर तथा दीर्घकालीन रूपमा राम्रो दिशातिर जाने प्रवृत्तिको परिवर्तन नहुने देखिएको चीनको निष्कर्ष रहेको छ । चालू वर्षको पूर्वार्धमा चीनको वैदेशिक व्यापार समष्टिगत रूपमा स्थिरतासाथ अघि बढ्दै गइरहेको पनि बताइएको छ । वैदेशिक व्यापार वृद्धिको जीवन्त शक्ति रहिरहेको साथै गैर–सरकारी उद्यमको आयात निर्यात वृद्धि दर ११ प्रतिशत भएको र चीनको वैदेशिक व्यापार वृद्धिको मुख्य शक्ति बनेको चीनको ठहर छ । चीनको मध्य तथा पश्चिमी भागको आयात निर्यात वृद्धि दर समस्त चीनको भन्दा उच्च भएको बताइएको छ । त्यस्तै व्यापार साझेदारीमा विविधिकरण देखिएको बताउँदै विभागले चालू वर्षको पूर्वाद्र्धमा चीनबाट अमेरिकालाई गरिने निर्यात नौ प्रतिशतले घटेको भएपनि यूरोपेली संघ, आशियान तथा जापान आदि मुख्य व्यापार साझेदारसँगको निर्यात आयातमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ । चीनको यूरोपेली संघसँगको कारोबारमा ११.२ प्रतिशतले वृद्धि भएको, आशियान मुलुकसँगको कारोबार मा १०.५ प्रतिशतको वृद्धि भएको र जापानसँग १.७ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ । चीनको विशेष गरी बीआरआई सम्बद्ध मुलुकसँगको कारोबार वृद्धि दर ९.७ प्रतिशत भएको र वैदेशिक व्यापारको कूल रकमध्ये यो २८.९ प्रतिशत रहेको बताइएको छ । चीनको निर्यातजन्य उत्पादित वस्तुको बनौट अझ अनूकुल भएको पनि विभागले जनाएको छ । समग्रमा विश्व व्यापारमा समस्या देखिएको भन्दै कतिपय मुलुकले संरक्षणवादी नीतिलाई रणनीतिक रूपमा अघिसारेका वेला चीनको वैदेशिक व्यापारको विकासमा सुधार देखिनु सकारात्मक भएको चीनको निष्कर्ष छ । रासस/सिन्ह्वा

लोकसेवाको विज्ञापनमा तेस्रोलिङ्गीलाई समावेश गर्न माग

काठमाडौं । सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार निलहिरा समाजले आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समसामयिक अन्र्तक्रिया तथा छलफल’मा समाजबाट अपहेलित भएको तेस्रोलिङ्गी समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्नुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समस्या समाधानका लागि नेपाल प्रहरी तत्पर छ”, उनले भने । नेपाल प्रहरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समुदाय–प्रहरी साझेदारीमा समावेश गरेको उनको भनाइ थियो । महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले कानूनको पालना गरेर अगाडि बढे प्रहरीले सहयोग गर्ने विश्वास व्यक्त गरे । “संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारलाई ‘ग्यारेन्टी’ गरेकोले सम्मानित भएर बाँच्नका लागि बाटोमा होइन, नयाँ जागिरको खोजी गर्नुपर्छ”, उनले भने । टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले खुलारूपमा यौन व्यवसाय सञ्चालन गर्न कानूनले नदिएको भन्दै व्यापार व्यवसाय गरेर अगाडि बढ्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सुझाव दिए । खुर्सानीटार टोल सुधार समितिका उपाध्यक्ष हरिश चन्दले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राज्यले हेर्नुपर्ने बताएका हुन् । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका तर्फबाट जिया केसी, अस्मिता श्रेष्ठ, अनिशा सुवेदी, सुनिता लामा लगायतले आफ्नो समुदाय प्रहरी र समाजबाट अपहेलित हुनुपरेको बताउँदै आफूहरु सम्मानित भएर बाँच्न चाहेको बताएका थिए । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हक र हितका लागि काम गर्दै आएको निलहिरा समाजले देशभरका २७ जिल्लामा शाखा विस्तार गरेर काम गरिरहेको समाजका अध्यक्ष पिङ्की गुरुङले जानकारी दिएका छन् । रासस

२५ वर्ष भन्दा बढी सेवा पुर्याएका कर्मचारीलाई नबिल बैंकले गर्यो सम्मान

काठमाडौँ । नबिल बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर २५ वर्षदेखिसेवा पुर्याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ । नबिल बैंंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले हालै आयोजित एक भव्य समारोहमा कर्मचारीहरुलाई कदर स्वरुप स्मारिका प्रदान गरी सम्मान गरे । उक्त समारोहमा बैंकको पूर्व अध्यक्ष, सञ्चालक समितिका निर्देशकहरु, पूर्व सञ्चालक समितिका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुको समेत भव्य उपस्थिति रहेको थियो ।

मलेशियामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु

कञ्चनपुर । सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताएका छन् । आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ । मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ । मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताए । रासस