तातोपानीबाट आयात शुरु, नेपाल भित्रन थाले चिनियाँ सामाग्री
मेलम्ची । एक महिनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामाग्री नेपाल भित्रिन शुरु गरेको छ । पछिल्लो एक साताबाट शुरु आयात कारोबार विस्तारै बढ्दै गएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो । नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोबार हुनसकेको थिएन । “चीनबाट सामग्री भित्रिन थालेको छ”, भन्सार अधिकृत केशवराज ओलीले भने । भन्सारले कारोवार शुरु गरेयता विस्तारै आयात बढ्दै गएको उनले बताए । ओलीका अनुसार यसबीचमा १० कन्टेनर सामान भन्सार जाँचपास भई राजधानी गइसकेको छ । सुक्खा बन्दरगाह भन्सार यार्डमा अझै चार कन्टेनर सामान जाँचपासको पर्खाइमा छन् । रासस
हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै
काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महीनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महीनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । रासस
पहिरोका कारण पाल्पा-बुटवल सडक एकतर्फी सञ्चालन
रामपुर । लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालन भएको छ । जसका कारण सो सडक खण्डमा सवारीको लामो लाम छ । तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ । पहिरोले अवरुद्ध बनेको सडक केहीबेरअघि डोजर लगाएर पहिरो हटाएपछि एकतर्फीरूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । अहिले पनि लगातार पानी परिरहेकाले तत्काल पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । रासस
ग्लोबल मार्केटमा उपस्थित हुने गरी बैंकहरूको पुर्नसंरचना हुनुपर्ने पूर्व गभर्नरको सुझाव
काठमाडौं । मौद्रिक नीतिको संघारमा राष्ट्र बैंकका पूर्व गभर्नरहरूले ग्लोबल मार्केटमा उपस्थित हुने गरी बैंकहरूको पुर्नसंरचना हुनुपर्ने सुझाव दिएका छन् । राष्ट्र बैंकले बिहीबार पूर्व गभर्नरहरूसँग आगामी आर्थिक वर्षको मौद्रिक नीतिका वारेमा छलफल गरेको छ । उक्त छलफल कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक स्थिति तथा विकास क्रमलाई ध्यानमा राखेर राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । सो छलफल कार्यक्रममा पूर्व गभर्नरहरूले वित्तीय क्षेत्र एकीकृत (कन्सोलिडेसन) गर्ने सिलसिलामा मर्जरलाई प्रभावकारी बनाउनु पर्ने बताएका हुन् । अर्थ व्यवस्थाको आन्तरिक र वाह्य क्षेत्र स्थायित्वका लागि आवश्यक उपायहरु अवलम्बन गर्नुपर्ने मार्ग निर्देश गरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । ‘वित्तीय सेवाको लागत घटाउन, वित्तीय सेवा प्रवाहमा गुणस्तर वृद्धि गर्न, वित्तीय उपभोक्ताहरूको हित संरक्षण गर्न आवश्यवक नीतिगत तथा कानूनी व्यवस्था गर्नुपर्ने उहाँहरूको सुझाव छ,’ निरौलाले भने । अर्थ व्यवस्थाको आन्तरिक र वाह्य क्षेत्र स्थायित्वका लागि आवश्यक उपायहरु अवलम्बन गर्नुपर्ने समेत पूर्व गभर्नरहरूले सुझाएका छन् । आयात व्यवस्थापन र आन्तरिक उत्पादन वृद्धिका उपायहरू अपनाई व्यापार घाटा न्यूनीकरण गर्नुपर्नें सुझाव पूर्व गभर्नरहरूले दिएका छन् । सरकारको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी कृषि लगायत अन्य प्राथमिकता प्राप्त क्षेत्रहरूमा वित्तीय स्रोत र साधन थप प्रवाह हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने भनिएको छ । व्यापार घाटाको आकार कम गर्न र शोधनान्तर स्थितिलाई सन्तुलनमा राख्नका लागि स्थायी प्रकृतिको उच्च स्तरीय संरचना स्थापना गरी परिणाममूखी नतिजा निकाल्ने गरी काम गर्ने समेत राष्ट्र बैंकलाई सुझाइएको छ । छलफल कार्यक्रममा पूर्व गभर्नर हिमालय शम्शेर जवरा, भेष बहादुर थापा, गणेश बहादुर थापा, तिलक बहादुर रावल, दीपेन्द्रपुरुष ढकाल र विजयनाथ भट्टराईको उपस्थिति रहेको थियो ।
काबेली करिडोर प्रसारण लाइन सकिनै लाग्दा अवरोध, कुलमान भन्छन्-नियोजित रुपमै ढिलाइ
काठमाडौँ । तोकिएको समयमा विद्युत् उपलब्ध गराउन नसक्ने भएपछि केही ऊर्जा उद्यमीले काबेली करिडोर प्रसारण लाइनमा नियोजित रुपमा अवरोध गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको बेला भारतीय ठेकेदार कम्पनीको पेटी ठेक्का लिएका ऊर्जा उद्यमीसमेत सहभागी स्थानीय ठेकेदारले काममा अवरोध गरेको प्राधिकरणको भनाइ छ । सो प्रसारण लाइनमा जोडिने जलविद्युत् आयोजनाका प्रवद्र्धकले प्रसारण लाइन निर्माणको आफैँ पेटी ठेक्का लिएर नियोजित रुपमा निर्माणमा ढिलाइ गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना तिर्नुपर्ने अवस्था आएपछि उनीहरुले नियोजित रुपमा काममा अवरोध गरेको देखिन्छ”, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, “बाहिर बाहिर प्राधिकरणले प्रसारण लाइन समयमा नबनाई दिँदा बिजुली खेर जाने भयो भन्दै हल्ला गर्ने तर भित्र भने आफैँ पेटी ठेक्का लिने र जरिवानाबाट बच्न नियोजित रुपमा काममा अवरोध गर्ने, योभन्दा ठूलो अराजकता अरू के हुन्छ रु” उक्त प्रसारण लाइनको क्षमता १३२ केभी रहेको छ । आयोजनाको तेस्रो खण्ड निर्माणमा ‘नियोजित अवरोध’ उत्पन्न भएको प्राधिकरणको दाबी छ । आयोजनाको ठेकेदार कम्पनी ज्यागुर ओभरसिज एण्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्सट्रक्सन कम्पनीले काममा लगाएका केही व्यक्तिले निर्माणमा विगत पाँच दिनदेखि अवरोध गरेको काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो तर भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरुले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेको आयोजना प्रमुख द्विवेदीको भनाइ छ । प्रसारण लाइनको फिदिम–अमरपुर तेस्रो खण्डमा पर्ने कूल १३ किलोमिटर प्रसारण लाइनमा करीब दुई किलोमिटर मात्रै तार तान्न बाँकी छ । सो आयोजनाको लखनपुर–गोदक पहिलो र सोयाक–फिदिम खण्ड सञ्चालनमा आइसकेको छ । खनपुर गोदक, थापाटार र अमरपुरमा १३२÷३३÷११ केभी सबस्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । तेस्रो खण्ड यही असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो । पलाञ्चोक भगवती कन्सट्रक्शन रैराङ हाइड्रोपावर डेभलपमेण्टको सहायक कम्पनी हो । रैराङले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने इवाखोलामा ९.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत् कावेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेशनमा जोडिने गरी ‘कनेक्शन एग्रिमेण्ट’ भएको छ । प्राधिकरणसँग भएको विद्युत् खरीद–बिक्री सम्झौताअनुसार आयोजनाले विद्युत् उत्पादन गर्नुपर्ने मिति अगामी साउन १ गते रहेको छ । यसैगरी अमरपुर सबस्टेशनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजना जोडिनेछ । प्राधिकरणसँगको सम्झौताअनुसार आयोजनाको आरसिओडी गत ९ वैशाख हो । दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफैँले काम लगाएका व्यक्तिलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख द्विवेदीले बताए । उनले समस्या समाधानका लागि पहल भइरहेको उल्लेख गरे । पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो । कावेली करिडोर प्रसारण लाइन निर्माण करीब १० वर्षअघि शुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयवासीको अवरोध, रूख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो । कूल तीन करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । रासस
शेयर बजारमा ओरालो यात्रा कायमै, ४६ करोडको कारोबार
काठमाडौँ । बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आजपनि सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अङ्कले घटेर २६८ दशमलव ३२ मा पुगेको छ । परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औषतमा समेटिएको छ । कूल १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता शेयर रु ४६ करोड ३६ हजार ५७१ मा कारोवार भए । कारोवार भएका ११ मध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ एक दशमलव नौ र जलविद्युत् एक दशमलव २७ अङ्कले बढेको छ । यस्तै होटल २० दशमलव ४४, विकास बैंक तीन दशमलव ५२, वित्त शून्य दशमलव ६१, निर्जीवन बीमा २ दशमलव ९९, उत्पादन १९ दशमलव २८, अन्य २ दशमलव १२, लघुवित्त ५ दशमलव ५३, जीवन बीमा २४ दशमलव ४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात अङ्कले घटेको छ । स्टकका अनुसार कारोबार रकमका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रह्यो । सो बैंकको रु पाँच करोड २९ लाख ६२ हजार २७६ मूल्यमा खरीद बिक्री भयो । यस्तै शिवम् सिमेन्ट रु तीन करोड २० लाख दुई हजार १८९, सिभिल बैंक रु एक करोड ७७ लाख ४२ हजार १६७, एनआइसी एशिया बैंक रु एक करोड ७४ लाख १७ हजार ८०७, एनसिसी बैंक रु एक करोड ४६ लाख एक हजार ८१९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ४५ लाख ५३ हजार ४२७ मा कारोवार भई शीर्षस्थानमा रह्यो । परिसूचक घट्दा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलव ७३ प्रतिशतले कमाए । यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स ३ दशमलव २५, घलेम्दी हाइड्रो २ दशमलव ३३, आइएमई जनरल इन्स्योरेन्स २ दशमलव २७, गुँरास लघुवित्त वित्तीय संस्था २ दशमलव शून्य चार र एनआइबीएल समृद्धि फण्ड १ का लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाए । यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनी ५ दशमलव ६७, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५ दशमलव १०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ४ दशमलव ३४, जोशी हाइड्रोपावर ३ दशमलव ७९, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३ दशमलव ६२ र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३ दशमलव ५१ प्रतिशतले गुमाए ।
साझाले शुरु गर्यो रात्रिकालीन बस सेवा
काठमाडौँ । साँझ ६-७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेका हुन् । तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार न्यूरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलङ्की र न्यूरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस शुरु भएको छ । बस विभिन्न स्थानको परिक्रमा गरेर पुनः न्यूरोड गेटमा नै फर्किरहेका छन् । यात्रुलाई रात्रिसेवाका बारेमा जानकारी नभएकाले अहिले यी बसमा यात्रु सङ्ख्या कम भएको उनले बताए । उनले भने, “यात्रुले जानकारी पाएपछि विस्तारै बढ्दै जानेछ ।” अहिले परीक्षणका रुपमा तीन वटा बसबाट शुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ । संस्था गैरनाफामूलक भएकाले आगामी दिनमा यात्रुको सुविधाका लागि बस थप्ने र रुट अन्यत्र फैलाउने व्यवस्थापक पाण्डेयले बताए । उनले भने, “हामीले यात्रुको सुविधालाई ध्यान दिएर सेवा थप गरिरहेका छौँ ।” काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्य बढाउँदै गएको साझाले जनाएको छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकालगायतले साझाको सेयर खरीद गरेको व्यवस्थापक पाण्डेयले बताए । उनका अनुसार संस्थाले प्रदेश नं ३ कामनपा र ललितपुर महानगरपालिकासँगको सहकार्यमा रु ४५ करोडमा विद्युतीय बस खरीद गर्ने भएको छ । विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ सरकारबाट रु ३० करोड, काठमाडौँ महानगरपालिकाबाट रु १० करोड, ललितपुर महानगरपालिकाबाट दुई करोड ५० लाख र साझा आफैँले रु दुई करोड ५० लाख सेयर लगानी गरेर विद्युतीय बस खरीद गर्ने निर्णय भएको हो । विसं २०७० मा सेवा शुरु हुँदा पहिले नगर केन्द्रित साझाका बस अहिले काठमाडौँका ग्रामीण क्षेत्रसम्म विस्तार भइरहेको उनले बताए । उनले भने, “उपत्यकाका अझै धेरै पालिकाले साझासँग सहकार्य गर्न चाहेका छन् ।” अघिल्लो साता मात्रै काठमाडौँ महानगरपालिका र साझा यातायातसँगको सहकार्यमा ‘यूरो ४’ मापदण्डका २० नयाँ बस भित्र्याएको थियो । बस भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेका छन् । यी बस भक्तपुरको नयाँ र पुरानो दुवै बाटो हुँदै परिक्रमा गर्ने गरी रुट अनुमति लिएर सञ्चालन भइरहेको संस्थाका प्रबन्धक पाण्डेयले बताए । नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्को मार्गमा बस सञ्चालन शुरु भएको थियो । दुई दशक पहिलेसम्म सबैभन्दा भरपर्दो र विस्तार भएको सेवा प्रदायकका रुपमा साझा यातायात रहेको थियो । बीचमा केही वर्ष सेवा अवरुद्ध भएर पुनःसञ्चालनमा आएपछि साझाले यात्रुलाई सुविधा दिन विभिन्न कुराको शुरुआत गर्दै आएको छ । ठूला र आरामदायी सिट, टिकट, विद्युतीय कार्ड, अपाङ्गता र ज्यष्ठ नागरिकमैत्री बसको शुरुआत साझाले गरेको हो । विसं २०१६ मा स्थापित उक्त संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि विसं २०७० मा सेवा पुनः शुरु भएको थियो । अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् । यीमध्ये एउटा लो फ्लोर बस ९अपाङ्गता र ज्येष्ठ नागरिकका लक्षित बस० र चार उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेका संस्थाले जनाएको छ । अहिलेसम्म पेट्रोलियम पदार्थबाट चल्ने बसहरु मात्रै भित्र्याइरहेको संस्थाले प्रदेश सरकार र स्थानीय सरकारसँगको सहकार्यमा विद्युतीय बससमेत खरीद र सञ्चालनको तयारीसमेत गरिरहेको छ । रासस
१८ औं तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला २०७६ काठमाडौंसहित अन्य २ शहरमा हुने
काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले साउन र भदौ महिनामा ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’ आयोजना गर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १८ वर्षदेखि संचालन हुँदै आएको तीज फेस्टिवलको यो १८ औं संस्करण नेपालका विभिन्न ३ शहरहरुमा आयोजना हुने भएको छ । सन् २००२ देखि काठमाडौंको भृकुटीमण्डपमा मात्र आयोजना हुने गरेको तीज फेस्टिवल–शिर्जनशिल उद्यमी मेला यो वर्षदेखि प्रदेश नम्बर १ को ईटहरी र प्रदेश नम्बर ३ को हेटौंडामा पनि आयोजना हुने भएको छ । काठमाडौंमा यही साउन १६ गतेदेखि २० गतेसम्म आयोजना हुनेछ भने ईटहरीमा साउन ३० देखि ३२ गतेसम्म संचालन हुनेछ । हेटौंडामा भने तीज मेला भाद्र ५ गतेदेखि ७ गतेसम्म आयोजना हुँदै ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’को समापन पनि हुनेछ । प्रदर्शनीलाई आकर्षक र मनोरन्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निशुल्क मेहन्दी लगाउने कार्यक्रम, निशुल्क कपाल कटिंग कार्यशाला, बालबालिकाहरुका लागि गेमिंग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ । प्रर्दशनीमा विभिन्न व्यवसायीक कम्पनी संघ संस्थाहरुसँग सम्पर्क बिस्तार र व्यवसाय वृद्धिको लागि छुट्टै प्लेटफर्म तयार पारिएको छ भने महिला उद्यमशीलताको लागि सेमिनारको कार्यक्रम पनि राखिएको छ ।