१ वर्षमा सम्पन्न भए ५ सय ४५ आयोजना, ५ लाखले पाए खानेपानी
काठमाडौं, २ साउन । खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले असार मसान्तसम्म देशैभरि साना ठूला गरी ५ सय ४५ वटा खानेपानी आयोजनाहरु सम्पन्न गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायहरुले ५ सय २६ वटा साना तथा आधारभूतस्तरका र १९ वटा ठूला गरी ५ सय ४५ वटा आयोजनाहरु सम्पन्न भएको प्रगति विवरण जारी गरेका छन् । यी आयोजनाहरु सम्पन्न भईसकेकाले यसबाट करिब ५ लाख ३३ हजार जनसंख्या खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले २ सय ४२ वटा भूकम्पबाट प्रभावित आयोजनाहरु, २ सय ५० वटा ग्रामीण खानेपानी आयोजनाहरु र ३४ वटा वर्षात्को पानी संकलनमा आधारित आयोजनाहरु गरी ५२६ वटा आधारभूतस्तरका खानेपानी आयोजनाहरु सम्पन्न भएको जानकारी दिए । त्यस्तै खानेपानी विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले १० वटा आयोजनाहरु सम्पन्न गरेको छ भने सहलगानी खानेपानी आयोजना अन्तर्गत ९ वटा आयोजनाहरु सम्पन्न भएका छन् । तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सुर्खेतको बाबियाचौर, रुकुमको मुसिकोट, कपिलवस्तुको चन्द्रौटा, चितवनको बिरेन्द्रनगर, कास्कीको निर्मलपोखरी, कञ्चनपुरको सुडा, तनहुँको डुम्रे र आबुँखैरेनी, रौतहटको कटहरिया र उदयपुरको कटारी खानेपानी आयोजनाहरु सम्पन्न भएका छन् । त्यस्तै सहलगानी अन्तर्गत मोरङको मानगढ र उर्लाबारी, रुपन्देहीको प्रगतिनगर र नयाँगाउँ, चितवनको रत्ननगर, पर्सा र धनगढा, नवलपरासीको जलुके, र दाङको नारायणपुर गरी नौ वटा खानेपानी आयोजनाहरु सम्पन्न भईसकेका छन् । तेस्रो साना सहरी र सहलगानी अन्तर्गत सम्पन्न भएका आयोजनाहरु ठूला आयोजना भित्र पर्दछन् । मन्त्रालयका प्रवक्ता शाक्यले एक घर एक शौचालयको अवधारणा बमोजिम साढे ९९ प्रतिशत जनसंख्या आधारभूतस्तरको सरसफाइ सुविधाबाट लाभान्वित भएको र आगामी असोज मसान्त सम्ममा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको जानकारी दिए । खानेपानी विभागले खानेपानीको गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन २८ वटा आयोजनाहरुमध्ये चालु आर्थिक वर्षभित्र १२ वटा आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । मन्त्रालयको अर्को निकाय आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) अन्तर्गत काठमाडौं उपत्यकाको रिङरोडभित्र लक्षित ७७ किलोमिटर थोक वितरण प्रणाली पाइप लाईन कार्यमध्ये ७५ किलोमिटर पाइप लाइन निर्माण सम्पन्न भएको छ भने उपत्यकामा १० वटा पानीपोखरी निर्माण गर्ने भनिएकोमा ९ वटाको निर्माण कार्य सम्पन्न भईसकेको पिआइडीले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले काठमाडौं उपत्यकाभित्र १७ किमी खानेपानी पाइप लाइन विस्तार गर्ने भनिएकोमा २० किमी सम्पन्न गरेको प्रगति विवरणमा उल्लेख गरेको छ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको निर्माण कार्य अन्तर्गत सुरुङ मार्ग र हेड वक्र्स निर्माण कार्यको बोलपत्र खोली मूल्याङ्कन भईरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्ची आयोजना दोस्रो चरणको लागि याङ्ग्री र लार्केसम्म पहुँच सडक निर्माण कार्य सुरु भएको छ भने दोस्रो चरणको आयोजनाका लागि मुआब्जा वितरणको प्रक्रिया सुरु भएको समितिले जानकारी दिएको छ । मेलम्ची खानेपानी आयोजनाको गत २०७४ चैत २७ गते सुरुङ मार्गको ब्रेक थ्रु भएको थियो । खानेपानी मन्त्रालयले यस अवधिमा खानेपानी तथा सरसफाईको क्षेत्रमा पहिलो पटक मुल विधेयक तयार गरेर प्रतिनिधि सभामा दर्ता गराई पेश गरेको छ । खानेपानी मन्त्री बिना मगरको सक्रियतामा खानेपानी तथा सरसफाई विधेयक तयार भई संसदमा पेश भएको हो ।
तत्काल प्यान दर्ता र बैंक मार्फत तलब भुक्तानी गर्ने अवस्था छैनः महासंघ
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको जनाएको छ । महासंघले विहीबार विज्ञप्ती प्रकाशित गरी थप समय उपलब्ध गराउन आग्रह गरेको हो । आर्थिक वर्ष २०७६/७७ देखि निजी क्षेत्रमा काम गर्ने सवै कर्मचारी र मजदुरहरुलाई समेत अनिवार्य प्यान दर्ता गरी बैंक मार्फत तलव भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागु गर्ने अवस्था नरहेको महासंघले विज्ञप्तीमा उल्लेख गरेको छ । साथै सामजिक सुरक्षा कोषको व्यवस्था पनि पहिले ठूला र मझौला उद्योगमा लागु गरी त्यसको व्यवहारिक अनुभववाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागु गर्न श्रम मन्त्रालय र निजी क्षेत्रका बीच मौखिक सहमति भएको पुष्ठभूमिमा यस्ता उद्योगमा काम गर्ने कर्मचारी र मजदुरलाई प्यान दर्ता गर्ने प्रयोजनको तयारीका लागि ६ महिना अवधि उपलब्ध गराउन महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले आग्रह गरे । आन्तरिक ढुवानीमा गरेको काम तर्फ आव २०७६/७७ देखि लागु गर्न खोजिएको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) र ढुवानीमा मुल्य अभिबृद्धि कर लगाउने व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगका कच्चा पदार्थ र उत्पादनको ढुवानी ओसार र पोसारमा प्रतिकुल प्रभाव पारी त्यसको उत्पादन प्रणालि लाईनै तहस नहस पार्ने हुँदा मुलुककै आपुर्ति व्यवस्था, बैदेशिक निर्यात व्यापार र रोजगारीमा समेत नकारात्मक प्रभाव पर्नेतर्फ महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । भिसिटिएसका लागि मोबाईल एप र अनलाईन पोष्टिङ्ग गर्ने जनशक्तिलाई सक्षम बनाउन र भरपर्दो ईन्टरनेट सेवा उपलब्ध गराउन समय लाग्ने हुँदा ढुवानीमा मुल्य अभिबृद्धि कर कार्यान्वयनका तयारीका लागि कम्तीमा १(एक) वर्षको समय उपलब्ध गराउन महासंघको आग्रह छ । मैदा, चिनी लगायतका थप विभिन्न खाद्य पदार्थमा लगाईएको मूल्य अभिबृद्धि करले स्वदेशी खाद्य वस्तुको मूल्य बृद्धि हुन गई साधारण जनताको जनजीवनमा प्रतिकुल प्रभाव पर्ने हुँदा बाढी पहिरो र प्राकृतिक विपत्तीको यस परिस्थितीमा यसलाई स्थगित गर्न पनि महासंघले आग्रह गरेको छ ।
मेभोक्स हेलमेट नेपाली बजारमा, मूल्य २६ सयदेखि ५१ सय रुपैयाँसम्म
काठमाडौं । नेपाली बजारमा मेभोक्स हेलमेट औपचारिक रुपमा भित्रिएको छ । मेभोक्स हेलमेटका लागि नेपालको आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलले रिटेलर मिट कार्यक्रमको आयोजना गरी हेलमेट सार्वजनिक गरेको हो । सो अवसरमा मेभोक्स हेलमेटको उत्पादक सन्धार एमकिन इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर आयुषमान मेहताले कम्पनीले विशेष महत्व दिएकै कारणले भारतपछि नेपालमा पहिलो पटक मेभोक्स हेलमेट उपलब्ध गराइएको बताए । सुरक्षित मात्र होइन, यी हेलमेट सुविधाजनक र स्टाइलिस समेत भएको र ‘प्रोडक्ट स्पिक्स इटसेल्फ’ भने जस्तै ब्रान्ड र उत्पादन राम्रो भएकाले मेभोक्स हेलमेट नेपाली राइडरहरुले रुचाउने कुरामा विश्वस्त भएको बताए । कम्पनीको सेल्स एन्ड मार्केटिङका जनरल म्यानेजर अर्नव भट्टाचार्यले कम्पनीले उत्पादन गरेको हेलमेटको प्राविधिक पक्ष वारेमा जानकारी प्रस्तुत गर्दै राइडरको सुरक्षाका लागि धेरै फिचरको प्रयोग गरिएको बताए । माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराईले मोटरसाइकलको बढ्दो प्रयोगसँगै चुनौती समेत थपिएको बताउँदै सेफ्टी हेलमेट र गियर प्रयोग नगर्दा नै दुर्घटनाबाट धेरै राइडरको मृत्यु हुने भएकाले सुरक्षित हेलमेट प्रयोग गर्नुपर्ने बताए । सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र तथा मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमालले नेपाली राइडरहरुलाई गुणस्तरीय हेलमेट उपलब्ध गराउने लक्ष्यका साथ मेभोक्स ब्रान्ड भित्र्याएको बताए । सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा उपलब्ध गराएको हो । फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ६ सयदेखि ५ हजार १ सय रुपैयाँसम्म छ । मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षातको मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ । हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ । अगाडिको दृश्य राम्रो देख्न र हेलमेट कोरिनबाट बचाउनका लागि समेत यसमा विशेष व्यवस्था गरिएको छ ।
गुराँस लाइफ इन्स्योरेन्सको बोनस दर ८७ रुपैयाँ कायम
काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक बोनस दर रु.८७ सम्म कायम भएको छ । आव २०७४/०७५ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिको असार २९ गतेको पत्रबाट स्वीकृत भएको भएको हो । स्थापनाकालदेखि नै विभिन्न किसिमका बीमितहरुको चाहना बमोजिम जीवन बीमा योजना ल्याउँदै ८० कार्यालयहरु मार्फत जीवनबीमाको सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले बिमितहरुलाई सर्वाधिक बोनस दर रु.८७ घोषणा गरेर बोनस वितरणमा अब्बल प्रमाणित गरेको दाबी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले न्यून बीमा शुल्क दरमा नयाँ–नयाँ बीमा योजना मार्फत सुलभ, सरल एवम् आधुनिक सेवा प्रदान गरिरहने र भविष्यमा पनि उच्चतम बोनस दर कायम गरी बीमितहरुलाई अझ बढी लाभान्वित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भन्सारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन
भीमदत्तनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन । आव ०७५/७६ मा रु ४० करोड १२ लाख ६२ हजार राजश्व सङ्कलनको वार्षिक लक्ष्य लिएको भन्सारले रु ३६ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ । आर्थिक मसान्तको अन्तिमतिर भारतबाट तरकारी, चिनीलगायतका वस्तु कम भित्रिएकाले राजश्व सङ्कलनमा कमी आएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए । “विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न भनेकाले पनि राजश्वमा गिरावट आयो”, प्रमुख भन्सार अधिकृत अधिकारीले भने, “तर विगतको भन्दा राजश्व सङ्कलनको दायरा पनि बढ्दै गएको छ ।” अघिल्लो आवमा भन्सार कार्यालयले रु ३२ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरेको थियो । गड्डाचौकी भन्सारबाट पिना (तोरीको) अदुवा, राइस ब्रान र जडीबुटीमा तेजपात तथा रिट्ठा निर्यात हुने गरेको छ । गड्डाचौकीपारि भारतको सिमा क्षेत्रमा प्लाण्ट क्वारेन्टाइन नहुँदा पनि यहाँबाट निकासी कम हुने गरेको अधिकारीले बताए । गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामान, तरकारी, लत्ताकपडा र हार्डवेयर सामानहरु बढी मात्रामा आयात हुने गरेको छ । रासस
एनआईसी एशियाका ग्राहकलाई मेघा हस्पिटलमा ३० प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रालि धोबिघाट, ललितपुरबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्म र फार्मेसीमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष किशोरजंग राणाले हस्ताक्षर गरेका छन् ।
ईन्स्टाग्रामले हटायो पोस्टमा देखिने लाईकको संख्या, प्रयोगकर्तालाई सहज हुने
काठमाडौं। ईन्स्टाग्रामले आफ्नो प्रयोगकर्ताहरुको तस्विरमा देखिने लाईकको संख्यालाई नदेखिने बनाएको छ। यसलाई ईन्स्टग्रामले केही समयको परीक्षणको रुपमा लागु गरेको हो। प्रयोगकर्ताहरुले आफ्नो ईन्स्टाग्राममा पोस्ट गरेको तस्विर तथा भिडियोहरुमा कम लाइक आएको कारण तनाव लिने र कम लाईक आएका पोस्टहरु हटाउने गरेकोले ईन्स्टाग्रामले यो कदम लिएको हो। ईन्स्टाग्रामलाई फेसबुकले संचालन गर्दै आएको छ र फेसबुकको लागि अष्ट्रेलिया र न्यूजील्याण्डका नीति निर्देशक मिया गार्लिक भन्छिन्,’प्रयोगकर्ताको भलाइको र ईन्स्टाग्रामलाई प्रयोगकर्ताहरुको आफुलाई अभिव्यक्त गर्न सुरक्षित ठाउँ महसुस गराउनको लागि यो परिवर्तन लागू गरिएको हो।’ ‘आशा छ यो परिक्षणले मानिसहरुलाई धेरै लाईक नआएको कारण प्रयोगकर्ताहरुलाई प्रेसर दिदैंन र उनिहरु खुलेर आफुलाई मनपर्ने कुराहरु पोस्ट गर्न सक्छन्’, गार्लिकले बताईन्। मानिसहरु आजकाल धेर लाईक प्रती ध्यान दिने गरेका छन्। यसमा पनि युवा पुस्ताहरु यस बिषयलाई लिएर दुखी र खुशी हुने गर्दछन्। यधापी प्रयोगकर्ता आँफैले भने आफ्नो तस्विरको लाइक संख्या भन्ने देख्न पाउनेछन् भने उनको फलोअर्सहरुले भने देख्न पाउने छैनन्। ईन्स्टाग्रामको पोस्टामा आएका लाईकको संख्यालाई मानिसहरुले लोकप्रियताको उपमा दिनेगरेका छन्।
गृहमन्त्री थापाद्वारा साउदी अरब जाने १५६ हजयात्रीलाई बिदाइ
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गरेको हो । आज पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताए । उनले मक्कामदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत बताएका छन् । हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार गर्ने धारणा समेत उनले राखे । हजयात्रीलाई बिदाइ गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईसमेत सहभागी थिए । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले सरकारको व्यवस्थापनमा विगत आठ वर्षदेखि हज गर्नका लागि मक्कामदिना पठाउने गरेको बताएका हुन् । उनका अनुसार यस वर्ष करिब एक हजार २६० जना हज गर्नका लागि मक्कामदिना जानेछन् । मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् । रासस