विकासन्युज

सरकारले दर्ता गरेको नेपाल पूर्वाधार निर्माण कम्पनी निर्देशिका विपरीत

  काठमाडौं । सरकारले ठेकेदारको काम गर्ने उद्देश्यले खोलिएको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ कम्पनी निर्देशिका विपरीत दर्ता भएको छ । कम्पनी निर्देशिको अनुुसूचि ३ मा कम्पनीको नाम दर्ता गर्दा ध्यान दिनु पर्ने विषयहरूको ३ नम्बरमा कम्पनीको नाम नेपाली र अंग्रेजीमा एउटै हुनु पर्ने भनेर उल्लेख गरिएको छ । तर, सरकारले दर्ता गरेको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’को नाम नेपाली र अंग्रेजीमा फरक छ । कम्पनी निर्देशिका अनुसार नेपाल इन्फास्टक्चर कन्स्ट्रक्सन कम्पनी हुनु पर्ने थियो । सर्वसाधारले कम्पनी दर्ता गर्दा भने नेपाली र अंग्रेजीमा एउटै नाम हुनुपर्ने व्यवस्था छ । कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोष दहालले भने ‘मन्त्री परिषदको निर्णयले नै नाम पास गरेकाले सरकारले गठन गरेको कम्पनीमा कम्पनी रजिष्ट्रारले निर्देशिका बमोजिम नाम सच्याउन नमिल्ने बताए । सरकारले गरेको निर्णयमा कर्मचारीले केही पनि बोल्न नमिल्ने दहालले बताए । अन्य निजी कम्पनीले जस्तै ठेक्का व्यवसाय संचालन गर्ने उद्देश्यसहित सरकारले कम्पनी दर्ता गरेको थियो । चार मन्त्रालयको संस्थापक सेयरधनी रहनेगरी कम्पनी दर्ता भएको हो । मन्त्रालयहरूको उक्त कम्पनीका २५/२५ प्रतिशत सेयर रहेको छ । २१८६३३ दर्ता नम्बर रहेको उक्त कम्पनीको नाम ‘नेपाल पुर्वाधार निर्माण कम्पनी लिमिटेड’ राखिएको छ । कम्पनीको ३० अर्ब अधिकृत पूँजी रहेको उक्त कम्पनीमा ४ मन्त्रालयको बराबर सेयर रहेको छ । कम्पनी रजिष्ट्रार कार्यालयले दिएको जानकारी अनुसार संस्थापक सदस्यमा अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय छन् । कम्पनीमा सबै संस्थापक मन्त्रालयको समान ७५/७५ लाख कित्ता शेयर हिस्सा छ । काठमाडौं वडा नम्बर १० मा कार्यालय हुने भनिएको उक्त कम्पनीमा अन्य तीन मन्त्रालयलाई समेत थपेर ७ सदस्यीय संचालक समिति बनाइएको छ । कम्पनीले विशेष गरि संरचना निर्माणका क्षेत्रमा सम्भाव्यता अध्ययन प्लानिङ, डिजाईन, निर्माण तथा त्यसको व्यवस्थापन सम्बन्धि व्यवसाय संचालन गर्ने उद्देश्य राखिएको छ । कम्पनीले भवन, हवाईमैदान, द्रुतमार्ग, राजमार्ग, सडक, सहायक मार्ग, रेलमार्ग, सुक्खा बन्दरगाह, ड्याम, लघु रेलमार्ग, पुल, सुरुङमार्ग, जलमार्ग, रोपवे, नहर, घाट, पाईपलाईन, जलमार्ग, जलाशयको अध्ययन तथा निर्माण गर्नेछ । पानी ट्याङकी, पोखरी ,गोदाम, भण्डार, एकीकृत शहरी विकास आवास, नयाँ शहर लगायत सिभिल इन्जिनियरिङ सम्बन्धी सबै काम गर्न पाउने गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट दर्ता प्रमाण पत्र लिएको हो । कम्पनी निर्माण उपकरण खरिद गरी निजी तथा सरकारी कम्पनीलाई भाडामा लगाउन पाउने समेत व्यवस्था गरिएको छ ।

सिभिल बैंकले पायो आईएसओ ९००१ः२०१५, बैकिङ व्यवसाय साग जस्तो हुन्न, काफल जस्तो हुन्छ

काठमाडौं । सिभिल बैंक लिमिटेडले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र पाएको छ । बेलायतको यूनाईटेड रजिष्ट्रार सिस्टमले बैंकको संस्थागत संरचना, कार्यप्रणाली, सेवास्तर, संस्थागत सुशासन लगायतको विधामा ६ महिना लामो अध्ययन र तीन चरणको सुधारपछि आईएसओ ९००१ः२०१५ प्रमाणपत्र दिइएको नेपालका लागि देशीय प्रमुख प्रकाश पौडेलले बताए । ‘हामीले पहिलो र दोस्रो चरणमा अडिट गरेर सुधारका निश्चित सुझावहरु दियौं । तेस्रो चरणमा अडिट गर्दा बैंकको सस्थागत ग्रोथ राम्रो पायौ । ग्राहकको सन्तुष्टिका लागि बैंकले निरन्तर काम गरेको पायौं । बैंकको व्यवस्थापन संरचना पनि राम्रो पायौं । संस्थाको उदेश्य प्राप्तिको लागि व्यवस्थापन समूहले सक्रियता पूर्वक काम गरिरहेको पायौं’, उनले भने–‘बैंकको लिडरसिप पनि राम्रो छ । बैंकको पोलिसी, गाईडलाईन्स सबै राम्रो पायौ । सबै मापदण्ड पूरा भएपछि यो प्रमाणपत्र दिईएका हौं ।’ प्रकाश पाैडेल आईएसओ ९००१ः२०१५ पाउन बैंकको लागि ठूलो उपलब्धि भएको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताए । ‘मर्जरको तयारीमा रहेको बेलामा हामीले आईएसओ ९००१ः२०१५ पाएका छौं । यसले मर्जरको क्रममा नेगोसियसशनको लागि प्वाइट थपेको छ । सेयरधनी सबैको लागि यो खुशीको कुरा हो’ उनले भने–‘यसले बैंकले दिने सेवा स्तर राम्रो छ, बैंकको गुडविल राम्रो छ भन्ने सन्देश दिएको छ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकिङ व्यवसाय सागखेती जस्तो नभई काफलखेती जस्तो भएको बताए । ‘साग रोपेको केही दिनमा नै खान मिल्छ । केही महिनामै सागखेती सकिन्छ । काफल रोपेपछि केही वर्ष कुर्नुपर्छ । तर १५० वर्षसम्म फलिरहन्छ’–उनले भने ।

प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष महर्जनले राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट लिए सपथ

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेड सञ्चालक समितिका अध्यक्ष किशोरकुमार महर्जनले आज सपथ लिएका छन् । असार २९ गते सम्पन्न बार्षिक साधारण सभाबाट निर्वाचित ६ जना निर्वाचित संचालकहरु मध्येबाट अध्यक्षमा महर्जन चयय भएको हुन् । साउन २ गते नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले एक कार्यक्रम बीच उनलाई शपथ ग्रहण गराएका हुन् । सो अवसरमा नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु, संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो । अध्यक्षको शपथ ग्रहण गरे लगत्तै उनले नवनिर्वाचित अन्य संचालकहरुलाई विधिवत रुपमा शपथ ग्रहण गराएको कम्पनी सचिव विशाल हुमागाईँले जनाएका छन् ।

प्रभु वेलकम र प्रभु स्यालरी खातामा बीमा सुविधा, कति पाइन्छ ?

काठमाडौँ । प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले साउन १ गतेदेखि प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ बचत खाताहरुमा औषधोपचार र दुर्घटना बीमा सुविधा दिने भएको छ । यो सुविधाको माध्यमबाट प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बीमा बापत रु. ३ लाख र दुर्घटना बीमा बापत रु १० लाख सम्मको जोखिम बैंकले वहन गर्नेछ । प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने छन् । अकल्पनीय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बीमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।

प्राविधिक शिक्षालयलाई एनसीसी बैंकको ५ लाख सहयोग

काठमाडौं । एनसीसी बैंकले प्रदेश नं. ३, भक्तपुर जिल्लाको सानोठिमी स्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सानोठिमी प्राविधिक शिक्षालयको हाताभित्र रहेको खुल्ला मञ्चमा ट्रष्ट र छाना निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए । न्यूनतम सुविधाविहीन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम(युसेप नेपाल)द्वारा सञ्चालित सानोठिमी प्राविधिक शिक्षालयका लागि युसेप नेपालका कार्य समितिका उपाध्यक्ष पूर्णभद्र पौडेललाई रकम हस्तान्तरण गरिएको हो ।

सिभिल बैंक मर्जरको अन्तिम तयारीमा, हिमालयन बैंकसँग सहमति नजिक

काठमाडौं । सिभिल बैंक लिमिटेड मर्जरको तयारी अन्तिम चरणमा पुगेको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताएका छन् । नयाँ मौद्रिक नीति आएपछि नयाँ व्यवस्थाभित्र रहेर मर्जरको सम्झौता हुने उनले बताए । बैंकले आईएसओ २००९ः२०१५ प्रमाणपत्र पाएको अवसरमा विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने-‘हामी मर्जरको अन्तिम तयारीमा छौं । मौद्रिक नीतिमा कस्तो व्यवस्था आउँछ भनेर कुरिरहेका छौं । मौद्रिक नीति आएपछि हामी फ्याट्ट क वर्गको बैंकसँग मर्जरको सहमति गर्छौ ।’ क वर्गका बैंकमा पनि विशेषगरी पहिलो पुस्ताको बैंकसँग मर्जरको तयारी भईरहेको उनले बताए । ‘कि मर्ज नै नगर्नु, मर्ज गरिसकेपछि राम्रोसँग मर्ज गर्नुपर्छ भनेर हामी लागेका छौं । हामी भन्दा राम्रो बैंकसँग मर्जमा जान्छौं’ उनले भने-त्यसो त सिभिल बैंक पनि नराम्रो छैन । नराम्रो बैंक भएको भए आईएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाउने नै थिएन ।’ मर्जरको तयारी भईरहेको बेलामा सिभिल बैंक आईएसओ ९००१ः२०१५ बाट सर्टिफाईड भएकाेले बैंकको नेगोसिएशनको प्वाइट बढेको उनले बताए । स्रोतका अनुसार सिभिल बैंक र हिमालयन बैंकबीच मर्जरको विषयमा सहमति नजिकिदै गएको छ । यद्यपि अध्यक्ष तामाङले दोस्रो र तेस्रो पुस्ताका बैंकसँग पनि मर्जरको विषयमा छलफल जारी रहेको बताए । यी २ बैंकका धेरै प्रमाेटर एउटै व्यक्ति तथा संस्था रहेका छन् । दुबै बैंकमा नागरिक लगानी काेषकाे ठूलाे लगानी रहेकाे छ भने सिभिलमा मर्ज भएकाे आइएलएफसी फाइनान्स हिमालयन बैंकका प्रमाेटरले खाेलेका थिए । ‘हामी चाडैनै मर्जरको फाइनल स्टेजमा पुग्दैछौं’ अध्यक्ष तामाङले भने-‘बजार सानो छ । अर्थतन्त्र सानो छ । सानो सानो समाचारले पनि सेयरको मूल्यमा उचार चढाव हुन्छ । त्यसैले मैले अहिले नै फ्याट्ट यहि बैंकसँग हुँदैछ भन्यो भने अर्को समस्या आउँछ ।’ अनौपचारिक रुपमा ६ वटा वाणिज्य बैंकसँग कुरा चलिरहेको, तर मर्जर कमिटि तहमा ३ वटा बैंकसँग बैठकहरु बसिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विकासन्युजसँग भने । तर, उनले मर्जर कमिटि तहमा छलफल भएका बैंकहरुको नाम खुलाउन चाहेनन् ।

गत आवमा ९२ खर्ब २० अर्बको कारोबार गर्यो एनसीएचएलले, आईपीएसबाट मात्रै साढे १५ खर्ब

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल क्लियरिङ हाउस( एनसीएचएल) ले ९२ खर्ब २० अर्ब रुपैयाँको कारोबार गरेको छ । गत आवमा एनसीएचएलले गरेको कारोबार अघिल्लो आवको भन्दा करिब ३१ प्रतिशतले बढी हो । एनसीएचएलले अघिल्लो आवमा जम्मा ७० खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँको कारोबार गरेको थियो । गत आवमा गरेको कारोबारमध्ये ७६ खर्ब ६७ अर्ब ३३ करोड विद्युतीय चेक राफसाफ (ईसीसी) प्रणालीबाट हो भने १५ खर्ब ५९ अर्ब १५ करोड अन्तर बैंक भुक्तानी प्रणाली (आईपीएस)मार्फत भएको एनसीएचएलकी प्रमुख संचालन अधिकृत मुन्नीराज राजभण्डारीले जानकारी दिइन् । एनसीएचएलले अघिल्लो आवमा ६३ खर्ब ४१ अर्ब ७३ करोड ईसीसीमार्फत र ७ खर्ब ११ अर्ब ९५ करोड आईपीएसमार्फत कारोबार भएको हो । गत आवमा ईसीसी, आईपीएस र कनेक्ट आईपीएसमार्फत कुल एक करोड ६८ लाख ७३ हजार ६२ करोड भएको छ । क्लियरिङ हाउसले गएको आवमा ईसीसी प्रणालीमार्फत एक करोड १७ लाख ५५ हजार ७२ वटा चेक राफसाफ गरेको छ भने ४९ लाख ३१ हजार ९ सय ४९ कारोबार आईपीएसमार्फत गरेको छ । अघिल्लो आवमा ईसीसी ९६ लाख ८६ हजार २ सय ७७ वटा चेक साटिएका थिए । आईपीएसमार्फत १८ लाख ७९ हजार ६ सय ६३ वटा कारोबार भएको एनसीएचएलले जानकारी दिएको छ । एनसीएचएलले असार ३१ गते मंगलबारमात्रै एक खर्ब एक अर्ब ५६ करोडको कारोबार गरेको छ । कारोबारमध्ये ८५ अर्ब २५ करोड ईसीसीबाट भएको हो भने १६ अर्ब १६ करोड आईपीएसमार्फत भएको हाउसले जानकारी दिएको छ । हाउसले मंगलबार एक दिनमामात्रै एक लाख ६ हजार चेक क्लियरिङ गरेको छ भने आईपीएसमार्फत १४ हजार चार सय ५९ पटक कारोबार भएको छ । औसतमा दैनिक ४०/४५ हजार चेक क्लियरिङ गर्दै आएको एनसीएचएलले आर्थिक वर्षको अन्त्यको पछिल्लो साता र दशैंका बेला बढी प्रेसरमा काम गर्नुपर्ने हुन्छ । अन्य समयमा औसतमा ४० हजार चेक क्लियरिङ गर्ने गरेको नेपाल क्लियरिङ हाउसले आर्थिक वर्षको अन्त्यमा एक लाख ६ हजारभन्दा बढी चेक क्लियरिङ गरेको राजभण्डारीले बताइन् ।

साउन ८ गते अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर, शैक्षिक कर्जा र हवाइ टिकेटमा बिशेष छुट

काठमाडौं। अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर साउन ८ गते हुने भएको छ । अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी यस बर्षको मेला अल्फा बिटा इन्ष्टिच्युटको कार्यालय बुद्धनगरमा फेयर हुन लागेको हो। फेयर बिहान ८ बजेदेखि सुरु हुनेछ। एकै छानामुनी अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने भएकाले यस मेलाको विशेष महत्व रहेको अल्फा बिटा इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष द्धिराज शर्माको भनाई छ । मेलामा प्रमुख अथितिको रुपमा नेपालका लागि अष्ट्रेलियाका राजदूत रहेका छन्। मेलामा सहभागी विद्यार्थीहरुलाई अल्फाविटाले थुप्रै सुविधा र उपहार दिने योजनासमेत बनाएको छ । मेलाको प्लाटिनम स्पोन्सरको रुपमा रहेको सिल्क एयरले मेलामा आएकामध्ये एक जना विद्यार्थीलाई मेल्बोर्नसम्मको हवाई टिकट निःशुल्क र दुई जनालाई विशेष छुटमा टिकट उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । त्यस्तै, डायमण्ड स्पोन्सरको रुपमा रहेको एनएमबि बैंकले मेलामा आफ्नो स्टल नै राखेर अष्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थीलाई सहज र छिटो प्रक्रियाबाट शैक्षिक कर्जा के कसरी दिने रु भन्ने बारेमा एनएमबि बैंकका प्रतिनिधिहरुले जानकारी दिने शर्माको भनाई छ । उनले भने, ‘बैंकको प्रक्रियाका बारेमा जानकारी नहुँदा धेरै विद्यार्थी र अभिभावकले दुःख पाउने गरेको देखिन्छ । त्यो नहोस भन्नका लागि एनएमबिले स्टल नै राखेर विद्यार्थीहरुलाई सहज प्रक्रियाका लागि जानकारी दिने, निवेदन लिने जस्ता कुराहरु गर्नेछ ।’ अध्ययनका लागि अष्ट्रेलिया जाने इच्छा भएका विद्यार्थीहरुको लागि पहिलो शर्त भनेको आईईएलटीएस, पीटीई जस्ता भाषा परीक्षा हो । शर्मा भन्छन्, ‘अष्ट्रेलिया जाने मात्रै भनेर भएन्, आईईएलटीएस, पीटीई कसरी पास गर्ने रु के के गर्नुपर्छ त्यसका लागि रु यस्ता कुराहरु बुझ्नु जरुरी छ । त्यो सबै कुरा बुझ्ने उपयुक्त फोरम पनि हो अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर ।’ अल्फाबिटा फेयरमा आईईएलटीएस, पीटीई दुवैका स्टल बस्दैछन् । दुवैबाट प्रतिनिधिहरु आएर विद्यार्थीलाई परामर्श दिनेछन् । पियर्शनको इण्डियाबाट प्रतिनिधि आउने कार्यक्रम छ भने आइडीपी तथा पियर्सन दुईले गिफ्ट भौचरहरु दिईनेछ। भौचर प्राप्त गर्नेले १९ हजार रुपियाँ नतिरीकन आईईएलटीएस तथा पीटीई परीक्षा दिन पाउनेछन् । मेलामा बैंकदेखि युनिभर्सिटीसँगको कुराबाहेक हवाई भाडादर बुझन सकिन्छ । मेलामा आउने विद्यार्थीलाई आकर्षणको रुपमा गिफ्ट भौचरहरु पनि प्राप्ति हुनेछ । त्यसबाहेक अष्ट्रेलिया विद्यार्थी गईसकेपछि काम के गर्ने रु भन्ने अन्योलता हटाउन अधिकांश नेपाली विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको कफि मेकिङ सम्वन्धी क्लासका लागि हिमालयन जाभालाई पनि मेलामा सहभागी गराइने छ । कफि मेकिङ सजिलो पनि काम भएकाले यसमा नेपाली विद्यार्थीको आकर्षण बढि देखिएको भन्दै शर्माले तीन हजार रुपियाँ लाग्ने १५ दिनको उक्त कोर्षका लागि हिमालयन जाभाले एक जना भाग्यशाली विजेता निःशुल्क तालिम पनि दिने जानकारी दिए