बाढी पहिरोले १ अर्बको अन्नबाली नष्ट
वीरगञ्ज । बाढीबाट पर्सा र बारामा रु एक अर्बभन्दा बढीको अन्नबाली नष्ट भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र पर्साका अनुसार बाढीबाट जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलमा लगाइएको रु ४४ करोड ८८ लाख बराबरको चैतेधान नष्ट भएको छ । यस्तै २७१ हेक्टरमा लगाइएको धानको बेर्ना, १०७ हेक्टरमा लागाइएको तरकारीबाली, २३१ हेक्टरमा लगाइएको अन्नबाली तथा ४६ हेक्टरमा लगाइएको मकैबाली नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो । बाढीका कारण २६७ हेक्टरमा रोपाइँ गरेको धानबाली, धानको बेर्ना र सञ्चित गरिएको मकैसमेत नष्ट भएको छ । बाढीबाट सबैभन्दा बढी पर्साको पकहामैनपुर, ठोरी, विन्दबासिनी र छिपहरमाई गाउँपालिका तथा बहुदरमाई, पोखरीया र पर्सागढी नगरपालिकामा अन्नबाली र तरकारीबाली नष्ट भएको छ । यस्तै बाढीबाट बारामा रु ५० करोडभन्दा बढीको अन्नबाली र तरकारीबाली नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । बाढीबाट आठ हजार हेक्टरमा लगाइएको चैतेधान, १५ हजार हेक्टरमा लगाइएको वर्षेधान, दुई हजार हेक्टरमा लगाइएको मकैबाली तथा दुई हजार ५०० हेक्टरमा लगाइएको तरकारीबाली नष्ट भएको छ । रासस
अनेरास्ववियुमा विवाद, माधव नेपाल र प्रचण्ड पक्षको बहिस्कार
काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूमा चरम विवादमा फसेको छ । विवादका कारण बिहिबार आयोजित पत्रकार सम्मेलनलाई माधव नेपाल र प्रचण्ड पक्षधर नेताहरुले बहिस्कार गरेका हुन् । संयोजक ऐन महरले एक लौटी कार्यकर्ता भेला आयोजना गरेपछि माधव नेपाल र प्रचण्ड पक्षधर विद्यार्थी नेताहरुले बहिस्कार गरेका हुन् । प्रचण्ड निकट सह संयोजक रञ्जीत तामाङ विदेशमा छन भने सुरेन्द्र बस्नेतले पत्रकार सम्मेलन बहिस्कार गरे । त्यस्तै, माधव नेपाल पक्षधर सुदेश पराजुली लगायत पनि पत्रकार सम्मेलनमा गएनन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको जोडबलमा मापदण्डै मिचेर महरलाई एकिकृत अनेरास्ववियूको अध्यक्ष बनाईएको थियो । एमाले अखिल अध्यक्ष नविना लामा र माओवादी अखिल अध्यक्ष रञ्जित तामाङलाई बाइपास गरेर एमाले अखिलका महासचिव महरलाई संयोजक बनाएर तामाङलाई सह संयोजक बनाईएको थियो । एकिकृत संगठनको संयोजक बने लगत्तै महरले माधव नेपाल र प्रचण्ड समूहलाई बाईपास गरेपछि अनेरास्ववियुको विवाद सतहमै आएको हो ।
नेपाल एयरलाइन्सको व्यवस्थापन सञ्चालन करारमा दिने तयारी
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ ।निगमको हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा प्रभावकारी बन्न नसकेको भन्दै निगमले व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरिएको हो । निगमले विशेषगरी मुख्य तीन विभाग ‘अपरेशन’, ‘इञ्जिनीयरिङ’ र बजार व्यवस्थापनलाई करारमा जानका लागि निगम सञ्चालक समितिले निर्णय गरिसकेको छ । व्यवस्थापन सञ्चालन करारमा दिने निगम व्यवस्थापनबाट निर्णय भई विश्वव्यापी बोलपत्र ‘ग्लोबल टेण्डर’ को प्रक्रिया शुरु भइसकेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । “व्यवस्थापन करारका लागि हामी ग्लोबल टेण्डरमा जान लागेका छौँ, विश्वभरका जुनसुकै कम्पनी पनि आउनसक्छन्, चाहे नेपाली कम्पनी नै किन नहुन् अहिले टेण्डरको कागजात धमाधम बनिरहेको छ”, उनले भने । व्यवस्थापन करारमा जान व्यवस्थापन समितिले ग्लोबल टेन्डर आह्वानका लागि तयारी गर्न निगमका विज्ञ राजुबहादुर केसीको नेतृत्वमा विभिन्न विभागका प्रमुख रहने गरी सात सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिले आवश्यक कागजपत्र र प्रक्रिया पूरा गरेपछि एक साताभित्रै निगम व्यवस्थापकले सञ्चालक समितिको बैठकमा प्रस्ताव लैजाने जनाइएको छ । सञ्चालक समितिको बैठकबाट निर्णय भएपछि त्यो प्रस्तावलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने छ । मन्त्रालयले पेश गरेको सोसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र निगम व्यवस्थापन करारका लागि ग्लोबल टेन्डर आह्वान गर्ने बाटो खुला हुनेछ । निगम व्यवस्थापन करारमा दिनुको मुख्य उद्देश्य कमजोररुपमा रहेका विभागको कार्यलाई चुस्त र प्रभावकारी बनाउनुभएको सहायक प्रवक्ता कोइरालाले बताए । बढीमा चार महीनाभित्र व्यवस्थापन करारको काम सकिनेछ । उनका अनुसार अहिलेकै जनशक्तिलाई प्रभावकारी परिचालन गरिने र आवश्यक परेमा बाहिरबाट पनि जनशक्ति व्यवस्थापन गरिनेछ । निगमसँग हाल सबै सेवाका गरी एक हजार ६०० कर्मचारी छन् । त्यसमा एक हजार १०० स्थायी तथा करारका विमान चालक (पाइलट), इञ्जिनियरिङलगायत ५०० को हाराहारीमा अस्थायी कर्मचारी छन् । निगमसँग अहिले १०५ पाइलट छन् । निगमलाई जम्मा १५० पाइलट आवश्यकपर्ने बताइन्छ । निगममा कार्यकारी अध्यक्षको सचिवालयसहित ११ विभाग छन् । मुख्य विभागमा अपरेशन, इञ्जिनियर, आर्थिक, व्यापारिक, संस्थागत, आन्तरिक लेखा परीक्षण, यात्रु सेवा, गुणस्तर, उडान सुरक्षालगायत विभाग छन् । नयाँ सडकमा रहेको निगमको केन्द्रीय कार्यालयबाटै अधिकांश काम हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पाँच वटा विभाग, यात्रु सेवा, उडान सुरक्षा, गुणस्तर, भूमिस्थ सहयोग र इञ्जिनीयरिङ मर्मत विभाग रहेका छन् । निगमका अन्तरराष्ट्रिय गन्तव्यमा पनि प्रत्यक्ष र अनलाइन अफिस रहेका छन् । मलेसिया, हङ्कङ र थाइल्याण्डको बैंककमा अनलाइन अफिस छन् भने जिएसए अफिस भारतमा बर्ड, दुबईमा आन्टा र कतारमा जिएसए अफिस छन् । निगममा पछिल्लो समयमा देखिएका समस्याको सामाधान गर्दै संस्थालाई माथि उठाउने उद्देश्यले विदेशी साझेदार ९व्यवस्थापन करारमा० भित्र्याउन लागिएको निगमले जनाएको छ । निगमको व्यवस्थापन करार विदेशीलाई दिने विषय विगतमा पनि पटकपटक उठ्दै आएको थियो । तर, त्यसले सार्थक पाउन सकेको थिएन । निगमले विशेषतः इञ्जिनीयरिङ र सञ्चालन विभागमा नयाँ जनशक्ति व्यवस्थापन गर्नेछ । अहिले खड्किएको प्राविधिक जनशक्ति पूर्ति गर्न तथा विश्व बजारमा चलिआएका प्राविधिक कुरा र व्यवस्थापनमा अपनाइएका नयाँ आयामलाई समेट्नसमेत करार प्रक्रिया अघि बढाइएको हो । निगमले यसअघि पनि व्यवस्थापन सञ्चालन विदेशी कम्पनीलाई करारमा दिएको थियो । सन् १९७१/७२ तिर एयर फ्रान्सको व्यवस्थापन समूहले निगमको व्यवस्थापन सञ्चालनको जिम्मेवारी पाएको थियो । त्यतिबेला निगमले बोइङ ७२७ लगायत विमान पनि खरीद गरेको थियो । व्यवस्थापन करारको काम सकिएपछि निगमको रणनीतिक साझेदारको विषयमा अघि बढ्ने निगमको तयारी छ । रणनीतिक साझेदारको विषय निकै जटिल छ, किनकी अहिले निगमको आर्थिक अवस्था कमजोर रहेकाले यो प्रक्रिया अघि बढाउन केही समय लाग्छ । “रणनीतिक साझेदार दुई÷तीन वर्षमा पुरा हुने काम हैन, पूर्णरुपमा साझेदारीमा गएर लाम हासिल गर्न कम्तीमा सातदेखि बढीमा १० वर्ष लाग्छ, संस्थाको वित्तीय कुरा महत्वपूर्ण हुन्छ, अहिले निगमको आर्थिक अवस्था कमजोर छ, यही अवस्थामा रणनीतिक साझेदार आउन गाह्रो हुन्छ”, सहायक प्रवक्ता कोइरालाले भने । निगमले हाल दुई वाइडबडी (ए ३३०–२००) र दुई न्यारोबडी (ए ३२०–२००) विमानबाट छ देशका विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ । आन्तरिकतर्फ दुई वटा एम ६०, चार वटा वाई १२ र तीन वटा डिएसी छ विमानबाट २२ वटा विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ । रासस
बीस हजार इञ्जिनियरको सामूहिक बीमा गरिँदै
काठमाडौँ । बीस हजार इञ्जिनियरको एकै पटक सामूहिक दुर्घटना बीमा हुने भएको छ । जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले नेपाल इञ्जिनियर्स एशोसिएशनबाट आयोजना हुने ५७औँ इञ्जिनीयर दिवसका अवसरमा प्रतिव्यक्ति रु १० लाखका दरले दुर्घटना बीमा गर्न गर्न लागिएको हो । विहीबार आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष प्राडा त्रिरत्न बज्राचार्यले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा इञ्जिनीयरको सामूहिक दुर्घटना बीमा गर्न लागिएको जानकारी दिए । बीमाङ्कबापतको पहिलो किस्ता रकम भने एशोसिएशन आफैँले उपलब्ध गराउने भएको छ । त्यसमा रु ५० लाख उपलब्ध गराएर बीमा शुरु गरिनेछ । पहिलो चरणमा शुरु गरिएको बीमालाई विस्तार गर्दै लैजाने सोचमा रहेको जानकारी दिँदै अध्यक्ष बज्राचार्यले भने, “जुन स्थानमा हाम्रा इञ्जिनियरले काम गर्नुहुन्छ, सोही स्थानमा नै एक प्रकारको समझदारी गरी बीमा रकम उपलब्ध गराउन प्रयास गरिनेछ ।” प्रगतिशील गठबन्धन बनाएर निर्वाचनमा गएको वर्तमान कार्यसमितिले निर्वाचनका समयमा गरिएकोे प्रतिबद्धता पूरा गर्न लागेको अध्यक्ष बज्राचार्यको भनाइ थियो । एशोसिएशनका महासचिव छविराज पोखरेलका अनुसार इञ्जिनीयरलाई थप व्यावसायिक एवं दक्ष बनाउने र जीवन सुरक्षाका लागि समेत बीमा कार्यक्रम अगाडि बढाउन लागिएको हो । “सकेसम्म कुनै पनि इञ्जिनीयर दुर्घटनामा नपरून् भन्ने नै हाम्रो कामना छ । काम गर्दै जाँदा दुर्घटना नै परिहालेको अवस्थामा पनि उपचारका लागि सहज होस् भन्ने लक्ष्य राखिएको छ”, महासचिव पोखरेलले भने । नेपाल इञ्जिनीयरिङ परिषद्का अनुसार हाल देशभर ५० हजार इञ्जिनीयर छन् भने एशोसिएशनमा आबद्ध भएका इञ्जिनीयरको सङ्ख्या २७ हजार छ । एशोसिएसनमा आबद्ध नभएका इञ्जिनीयरलाई पनि सङ्गठित गर्ने प्रयासमा लागिएको महासचिव पोखरेलको भनाइ थियो । यस्तै एशोसिएशनले इञ्जिनीयरलाई थप दक्ष र पेशाप्रति इमान्दार बनाउने लक्ष्यका साथ परीक्षा लिएर प्रमाणपत्र लिने व्यवस्था गर्न लागेको छ । इञ्जिनीयरिङ सेवा ऐनको तयारीमा समेत लागिएको जनाइएको छ । सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सम्पूर्ण इञ्जिनीयरका तर्फबाट पनि साथ र सहयोग रहने जनाउँदै एशोसिएसनले गुणस्तरीय भौतिक निर्माणका लागिसमेत आफूहरु परिचालन भइरहेको बताएको छ । हरेक वर्ष साउन ३ गते ‘इञ्जिनीयर दिवस’ मनाउने निर्णय गरेको एशोसिएसनले यस वर्ष इञ्जिनीयर दिवसको नारा ‘समृद्ध नेपाल निर्माणका लागि इञ्जिनीयरिङ सेवा’ तय गरेको छ । दिवसका अवसरमा ऊर्जा, सिँचाइ तथा खानेपानी, यातायात पूर्वाधार, सङ्घीयता कार्यान्वयन, सुशासन र सूचना प्रविधिका क्षेत्रमा तीन प्राविधिक सत्रको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा इञ्जिनीयरिङ क्षेत्रमा लामो समयदेखि योगदान गर्ने इञ्जिनीयरलाई समेत सम्मान गरिने भएको छ ।
नयाँ आर्थिक वर्षको दोश्रो दिन नै घट्यो नेप्से, ४१ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ । बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २७३.८४ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता शेयर रु ४१ करोड १३ लाख ६९ हजार २९९ मूल्यमा खरीद बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । त्यसमा वित्त ३.०३, उत्पादन ५.३९ र लघुवित्त ०.१८ विन्दुले बढेको छ । यस्तै बैंकिङ १.३५, होटल २५.८८, विकास बैंक ४.३६, जलविद्युत् ७.५८, अन्य ०.७४, जीवन बीमा २७.६७ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकले रु पाँच करोड १७ लाख ६८ हजार ५०० बराबरको कारोवार गर्यो । यस्तै शिवम् सिमेन्ट रु दुई करोड ६१ लाख ५५ हजार ३६२, नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ४५ लाख ९७ हजार १२, नेपाल बैंक लिमिटेड रु दुई करोड २८ लाख नौ हजार ६१५, प्रभु बैंक रु एक करोड ७९ लाख ६६ हजार ३३९ र एनआइसिएशिया बैंकको रु एक करोड ३० लाख ५१ हजार ८८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले ९.२४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.९४, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४.८९, दिव्येश्वरी हाइड्रो ४.२३ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६३ प्रतिशतले कमाए । त्यस्तै मेरा माइक्रोफाइनान्स वित्तीय संस्था ६.८१, नविल इक्विटी फण्ड ५.५७, एशियन लाइफ इन्स्योरेन्स ३.२९, ज्योति विकास बैंक २.९४ र पाँचथर पावर कम्पनीका शेयरधनीले २.८७ प्रतिशतले गुमाए ।
अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले बीमा समिति समक्ष लिए सपथ
काठमाडौ । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको अध्यक्षमा चयन भएका आजाद श्रेष्ठले बीमा समिति समक्ष सपथ ग्रहण गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) कुमारबहादुर खत्रीका अनुसार बुधवार श्रेष्ठले अध्यक्ष पदको सपथ लिएका हुन् । अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित
३ सय विद्युतीय बसका खरिद गर्न सरकारले साझालाई दियो ३ अर्ब
काठमाडौं । विद्युतीय बस खरिद गर्न सरकारले साझा यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिएको छ । विहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको भौगोलिक अवस्था तथा देशको अर्थतन्त्रलाई ध्यानमा राखि असोजको अन्त्यसम्म विद्युतिय बस खरिद गरि संचालन गर्ने बताए । उनले भने ‘सरकारले केहि गरेन भन्दा नि अब गर्दै जाने छ त्यसैले आम जनताहरु विश्वस्त भई ढुक्क हुँदा हुन्छ, अब सरकारले विद्युतियसँगै आगामी दिनमा रेल पनि भित्राउने तयारीमा रहेको छ ।’ पछिल्लो समय देशको स्थिति र आर्थिक उन्नतिका लागि सरकारी निकाय दिनप्रति खटिरहेसँगै आगामी विकासका लागि सकारात्मक ढंगले अगाडी बढ्न पर्ने मन्त्री महासेठले भने । सरकारको ९९ प्रतिशत शेयर रहेको साझा यातायात सहकारी संस्था मार्फत आम जनतालाई सेवासुविधा प्रदान गर्नका लागि सरकारले छनोट गरेको बताउँदै साझा यातायातले नि स्वार्थ ढंगले काम गर्नेछ साझाको सेवाप्रति सरकारी निकायले विश्वस्त रहेको मन्त्री महासेठले बताए । उक्त कार्यक्रममा बोल्दै साझा यातायात सहकारी संस्थाका अध्यक्ष कन्कमणी दिक्षितले परदर्शी हिसाबले नेपालमा फाइदा हुने दिगो खालको विद्युतिय बसको विस्तार गर्ने जसले नेपालको अर्थतन्त्रलाई सुधार गर्नुका साथै वातावरण एवंम सर्वसाधारणलाई सहज हुने जानकारी दिए । असोजको अन्त्य तथा कार्तिकको शुरुवातमा ल्याउने भनेको विद्युतिय बस ठाँउ अनुसार फरक रह्ने छ, जसमा असक्त, जेष्ठनागरिक, बालबालिका तथा महिला पुरुषका लागि फरक एवंम सहज वस ल्याउने मन्त्रालयले जनाएकाे छ ।
मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौं मेरिएट होटल सञ्चालन
काठमाडौँ । नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भने–“हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर राज्य नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं । सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भित्र्याएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिएको छ । हाम्रो होटलले काठमाडौंमा अतिथिहरुलाई उत्कृष्ट बसोबासका साथै अतिथिहरुको स्वभाव अनुसार संस्कृतिक अनुभवहरु प्रदान गर्दछ ।” होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । होटलको सिलिङ्गमा ५०० केजीको घण्टी झुन्ड्याइएको छ र स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाएको छ । होटलको प्याटे«न्ड कार्पेट हुबहु नेपालको राष्ट्रिय पोषक ढाका टोपीमा भएको बुट्टाहरु जस्तै रहेको छ । २१४ वटा व्यवस्थित कोठाहरुले मेरिएटको आधुनिक डिजाइनलाई प्रतिबिम्बित गर्दछ, जुन सुन्दर र इन्ट्युटिभ प्रविधिले अझ पूर्ण बनाएको छ । परम्परागत डेस्कहरुलाई लचिलो सतहले प्रतिस्थापित गरेर काम गर्न र आराम गर्न सहज स्थान बनाएको छ । बस्नका लागि नरम बिछयौना तथा नेस्टिङ कुनाहरुको साथ अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन जसले प्रभावकारी भावना उजागर गर्दछ । काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले भने, “काठमाडौं मेरिएट होटल बस्नको लागि एकदम उत्तम बनाउन अतिथिहरुको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको छ ।” अतिथि र स्थानीयहरुले बहुसंख्यामा रहेको डाइनिंग अनुभव छनौट गर्न सक्छन् जसमा अल डे डाइनिंग रेष्टुरेन्ट, ठमेल किचन रहेको छ जसमा स्थानीय र अन्तर्राष्ट्रिय खानाहरु पेश गर्न अन्तक्रियात्मक लाइभ कुकिङ्ग किचन रहेको छ । ७४० स्क्वायर मिटर भन्दा बढी क्षेत्रफल भएको ब्याङकुइट स्पेससँगै काठमाडौं मेरिएट होटल कन्फेरेन्स र बैठकका लागि सबैभन्दा नयाँ प्रविधि भएको होटल हो ।