दादुरा संक्रमण बढेपछि न्युयोर्कमा आपत्काल घोषणा
काठमाडौं । अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपत्काल घोषणा गरिएको छ । न्युयोर्कको गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढेपछि आपत्काल घोषणा गरेका छन् । यस वर्ष न्युयोर्क राज्यमा अहिलेसम्म १०८ जनामा दादुरा पुष्टि भएको छ । तीमध्ये ९२ जना जुलाई १५ पछि संक्रमित भएका हुन्। धेरैजसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा छन् । न्युयोर्क सहरमा पनि ७ जनामा दादुरा पुष्टि भएको छ । छिमेकी राज्य पेन्सिलभेनियामा पनि दादुराको संक्रमण बढिरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म ३९ जिल्लामा १ हजार ४ जनामा दादुरा पुष्टि भएको छ । दादुरासँग सम्बन्धित ५ जनाको मृत्यु भएको जनाइएको छ । न्युयोर्क सरकारले दादुराविरुद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्यकर्मीको संख्या बढाएको छ । साथै, नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । घोषणा गरिएको आपत्काल नोभेम्बर ४ सम्म लागू हुने बताइएको छ । अमेरिकामा अक्टोबर १ सम्म यस वर्ष ३ हजार ८८७ जनामा दादुरा पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूले दादुराबाट सुरक्षित रहन दुई मात्रा दादुरा, गलगण्ड र रुबेलाविरुद्धको खोप लगाउन सुझाव दिए । अमेरिकाका विद्यालय जाने बालबालिकामा खोप लगाउने दर पछिल्ला वर्षमा घटेको छ । सन् २०२५–२६ को शैक्षिक वर्षमा खोप लगाउने दर ९२.४ प्रतिशत रहेको छ । स्वास्थ्य अधिकारीहरूले कम्तीमा ९५ प्रतिशत बालबालिकाले खोप लगाउनुपर्ने लक्ष्य राखेका छन् ।
एकै दिन विपद्का १७ घटना, तीन जनाको मृत्यु, १४ जना घाइते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर विभिन्न विपद्का १७ वटा घटना भएका छन् । ती घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब ५० लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिन अनुसार असोज १९ गते बिहान १० बजेदेखि असोज २० गते बिहान १० बजेसम्म उक्त घटना भएका हुन् । प्राधिकरणका अनुसार डडेल्धुरामा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ । परशुराम नगरपालिका–१२ की १७ वर्षीया बालिकाको सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । त्यस्तै, बागलुङको निसीखोला गाउँपालिका–३ मा बाटो स्तरोन्नतिको क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी सहायक ठेकेदार र एक मजदुरको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । सिरहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेल्धुरामा गरी सर्पदंशका पाँच वटा घटना भएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१७ मा भने जन्मदिन मनाइरहेको स्थान नजिकै चट्याङ पर्दा सात जना घाइते भएका छन् । घाइते हुनेमा एक बालक, तीन बालिका र तीन महिला रहेका छन् । यस्तै, भक्तपुर, चितवन र लमजुङमा तीन वटा आगलागीका घटना भएका छन् । भक्तपुरमा भएको आगलागीबाट मात्रै करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । पहिरोका कारण सल्यान र प्युठानमा सडकसमेत अवरुद्ध भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित राप्ती राजमार्ग र प्युठानको बहाने–बाग्दुला सडकखण्डमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।
सेयर बजारमा १६९ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३५९ कम्पनीको ८९ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै लिबर्टी इनर्जीको १३ करोड, हिमाल दोलखाको ९ करोड र लक्ष्मी सनराइजको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारका अधिकांश उपसूचक बढेका छन् । ट्रेडिङ उपसूचक सबैभन्दा धेरै ०.८२ प्रतिशतले बढेको छ । बैंकिङ उपसूचक ०.६५ प्रतिशतले बढेर १,४९३.४३ अंकमा पुगेको छ । विकास बैंक ०.५५ प्रतिशतले बढेर ५,३३९.४४ अंकमा पुगेको छ । हाइड्रोपावर उपसूचक ०.६२ प्रतिशतले बढेर ३,५११.४१ अंकमा पुगेको छ । होटल तथा पर्यटन ०.५३ प्रतिशतले बढेर ६,९४०.७७ अंकमा पुगेको छ । जीवन बीमा उपसूचक ०.३५ प्रतिशतले बढेर ११,६०३.२५ अंकमा पुगेको छ । उत्पादन तथा प्रशोधन ०.२७ प्रतिशत र लगानी उपसूचक ०.४३ प्रतिशतले बढेको छ । यस्तै, अन्य उपसूचक ०.३९ प्रतिशत र वित्त उपसूचक ०.१५ प्रतिशतले बढेका छन् । म्युचुअल फन्ड ०.२० प्रतिशतले बढेको छ । लघुवित्त उपसूचक भने सामान्य घटेको छ । यो ०.१७ अंकले घटेर ४,४४६.८३ अंकमा कायम भएको छ। गैरजीवन बीमा उपसूचक पनि ०.०६ प्रतिशतले घटेर ९,४०६.२८ अंकमा झरेको छ ।
हिम पर्वत हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले ५९ करोड १५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले असोज २० गते आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । सिटिजन्स क्यापिटलका अनुसार पछिल्ला केही महिनायता प्रारम्भिक सार्वजनिक निष्कासनका लागि अनुमति पाउनेमध्ये यो पहिलो निष्कासन हो, जसको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । अनुमति पाएसँगै हिम पर्वत हाइड्रोपावरले विभिन्न समूहका लागि सेयर निष्कासन गर्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीका लागि सेयर निष्कासन गर्नेछ । त्यसपछि सर्वसाधारणका लागि समेत आईपीओ जारी गरिनेछ ।
एनआरएनलाई आईपीओ बिक्रीको बाटो खुल्यो, ८५ प्रतिशतसम्म जारी गर्न सक्ने
काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई लक्षित गरेर नेपालमा विदेशी मुद्रामा आईपीओ जारी गर्ने बाटो खुलेको छ । सरकारले ‘धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गर्दै एनआरएनलाई लक्षित गरी सेयर निष्काशन तथा कारोबारको कानुनी आधार तयार गरेको हो । संशोधित नियमावलीअनुसार निश्चित प्रकृतिका कम्पनीले आफ्नो जारी पुँजीको न्यूनतम १० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर निष्काशन गर्न सक्नेछन् । त्यस्तो सेयरमा प्रिमियम थपेर निष्काशन गर्न भने नपाइने व्यवस्था गरिएको छ । यस्तै, यस्तो सेयरको कारोबार प्रणाली धितोपत्र बजारले निर्धारण गरेबमोजिम हुनेछ भने कारोबारको न्यूनतम इकाइ १ हजार कित्ता कायम गरिएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का एक अधिकारीका अनुसार कानुनी बाटो खुलेसँगै अब आवेदन दिने कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिइनेछ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३ दर्ता भएसँगै आजदेखि लागू भएको उनले बताए । बैंकिङ विज्ञ तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराईका अनुसार यो व्यवस्था विशेषगरी गैरआवासीय नेपालीलाई लक्षित गरेर विदेशी मुद्रामा लगानी भित्र्याउन महत्वपूर्ण हुनेछ । ‘गैरआवासीय नेपालीबीच कारोबार गरेर विदेशी मुद्रामा भुक्तानी हुने गरी आईपीओ जारी गर्न माग गरेका थियौँ । विश्वभर छरिएर रहेका नेपालीलाई सहभागी गराउन न्यूनतम १० प्रतिशतदेखि ८५ प्रतिशतसम्म सेयर निष्काशन गर्न सकिने व्यवस्था हुनुपर्ने हाम्रो माग थियो । सोही बमोजिम नै व्यवस्था बनेको छ,’ उनले भने । उनका अनुसार विदेशबाट लगानी गर्दा सानो परिमाणमा सेयर खरिद गर्दा रकम पठाउने लागत तुलनात्मक रूपमा बढी पर्ने भएकाले न्यूनतम १ हजार कित्ताको व्यवस्था गरिएको हो । एक हजार कित्तालाई करिब १ लाख रुपैयाँ बराबरको न्यूनतम लगानीको एकाइका रूपमा लिन सकिने उनले बताए । ‘बाहिरबाट माग गर्दा १० कित्ता थोरै हुन्छ । पैसा पठाउनका लागि पनि लागत लाग्छ । त्यसैले १ लाख रुपैयाँलाई न्यूनतम लगानीको एकाइका रूपमा लिइएको हो,’ भट्टराईले भने । यो व्यवस्थामार्फत नेपाली मूलका विदेशी नागरिक तथा विदेशमा बस्ने गैरआवासीय नेपालीले विदेशी मुद्रामा नेपालमा लगानी गर्न सक्नेछन् । लगानीका लागि विदेशी मुद्रामा रकम ल्याउने र आवश्यक प्रक्रियामार्फत लगानी व्यवस्थापन गर्ने प्रणालीसमेत विकास भइरहेको भट्टराईले बताए । भट्टराईका अनुसार गैरआवासीय नेपालीको लगानीलाई सहज बनाउन विदेशी मुद्रासँग सम्बन्धित खाता र लगानी व्यवस्थापन प्रणाली विकास भइरहेको छ । ‘रुपी डिनोमिनेटेड फरेक्स एकाउन्ट अर्थात् विदेशी मुद्रासँग सम्बन्धित नेपाली खाताको व्यवस्था हुन्छ । त्यसमा पैसा आउने–जाने व्यवस्था हुनेछ,’ उनले भने । यसका लागि ‘डायस्पोरा व्यवस्थापन प्रणाली’ निर्माण भइरहेको र त्यसबाट लगानीका लागि रकम भित्र्याउनेदेखि लगानी गर्ने प्रक्रियासम्मलाई सहज बनाइने उनले बताए । उनका अनुसार नेपाल राष्ट्र बैंकले नीतिगत सुधार गरिसकेको छ भने नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडले पनि आवश्यक प्रक्रिया अघि बढाएका छन् । ‘यसमा लगानी गर्ने, पैसा भित्र्याउने सबै बन्दोबस्त भइसकेको छ । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले नीतिगत सुधार गरिसकेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पनि व्यवस्था अगाडि बढाइसकेका छन्’, उनले भने । भट्टराईका अनुसार अब गैरआवासीय नेपालीले विदेशी मुद्रामा लगानी गर्ने र लगानीबाट प्राप्त प्रतिफलसमेत विदेशी मुद्रामा लैजान सक्ने व्यवस्था कार्यान्वयनमा आएमा यो एनआरएन लगानीका लागि नयाँ आयाम हुनेछ । ‘विदेशी मुद्रामा भुक्तानी हुने र विदेशी मुद्रामै प्रतिफल लैजान पाउने गरी पहिलोपटक आईपीओ जारी हुन्छ र कारोबार पनि सुरु हुन्छ,’ उनले भने । गैरआवासीय नेपाली र नेपाल सरकारको संयुक्त लगानीमा स्थापना भएका कम्पनीले समेत यस्तो आईपीओ जारी गर्न सक्ने बाटो खुलेको उनले बताए । ‘गैरआवासीय नेपाली र नेपाल सरकारको संयुक्त लगानीमा स्थापना भएको कम्पनीले आईपीओ जारी गर्न पाउने बाटो खुलेको छ । अब आगामी दिनमा कार्यान्वयन सुरु भएपछि यो अझ विस्तार हुँदै जानेछ,’ उनले भने । विश्वका १७८ देशमा गैरआवासीय नेपाली रहेको उल्लेख गर्दै भट्टराईले ठूलो संख्यामा रहेका नेपालीलाई नेपालको पुँजी बजारसँग जोड्ने अवसर सिर्जना भएको बताए । उनका अनुसार एक जना गैरआवासीय नेपालीले न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्ने गरी व्यवस्था अघि बढाउने लक्ष्य छ । तर, ठूलो लगानीकर्ताभन्दा धेरैभन्दा धेरै गैरआवासीय नेपालीलाई सहभागी गराउनु महत्वपूर्ण हुने उनको भनाइ छ । ‘यसमा धेरैभन्दा धेरै गैरआवासीय नेपालीलाई समेट्नुपर्ने हुन्छ । पहिलो पुस्ता, दोस्रो पुस्ता र तेस्रो पुस्तालाई जोड्नुपर्छ,’ उनले भने । एनआरएनको ठूलो संख्यालाई सहभागी गराउन आवेदनको सीमा र लगानीको आकारलाई व्यवस्थित गर्नुपर्ने उनले बताए । विदेशबाट हुने लगानीमा माग अत्यधिक हुन सक्ने भएकाले धेरैभन्दा धेरै व्यक्तिलाई अवसर दिने उद्देश्यले लगानीको सीमा निर्धारण गर्नुपर्ने उनको भनाइ छ । ‘ओभर सब्स्क्राइब हुने भएकाले लगानीको आकार सानो गरेर धेरै गैरआवासीय नेपाली सहभागी हुन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने । उनका अनुसार यसले विदेशमा रहेका नेपालीलाई नेपालमा आफ्नो लगानी रहेको अनुभूति दिलाउनेछ । ‘नेपालमा मेरो लगानी छ, अब नेपालमा लगानी गर्न पाउँछु भन्ने भावना विकास हुन्छ,’ उनले भने । संशोधित नियमावलीले कानुनी बाटो खोलेसँगै अब एनआरएन लक्षित आईपीओ कार्यान्वयनमा ल्याउन आवश्यक प्राविधिक तथा संस्थागत तयारी पूरा गर्ने चरण अघि बढेको छ । यसले विदेशमा रहेका नेपालीको पुँजीलाई नेपालको पुँजी बजारमा भित्र्याउने नयाँ माध्यम तयार हुने अपेक्षा गरिएको छ ।
सहमहामन्त्रीमा मनोजमणि आचार्यले दिए उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा मनोजमणि आचार्यले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । उनले खस आर्यतर्फ उम्मेदवारी दिएका हुन् । आचार्यले गत पुसमा भएको पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । आचार्य लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेसँग काम गरेका नेता हुन् ।
तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार (आज) राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन् । महरले करिब तीन वर्षअघिदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्दै आएको बताए । उनले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार उम्मेदवार बनेको बताएका छन् । महरले कांग्रेसभित्र विभाजित रहेका विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।
भालुको पित्त र हात्तीको दाह्राजस्तो वस्तुसहित तीन जना पक्राउ
काठमाडौं । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बिक्री गर्न खोजेको आरोपमा तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौं र सिन्धुलीबाट उनीहरूलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टेबाट भालुको पित्तजस्तो देखिने वस्तुसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका–१ सिसनियाका ३१ वर्षीय योगेन्द्रप्रसाद चौधरी छन् । विशेष सूचनाका आधारमा सीआईबीको टोलीले असोज १८ गते चौधरीलाई पक्राउ गरेको हो। उनको साथबाट भालुको पित्तजस्तो देखिने एक थान वस्तु बरामद भएको छ। त्यसको तत्काल तौल १४० ग्राम रहेको सीआईबीले जनाएको छ । बरामद वस्तुसहित चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि असोज १९ गते डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौंमा बुझाइएको छ । त्यस्तै, सिन्धुलीबाट हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित दुई जना पक्राउ परेका छन् । सीआईबीको टोलीले इलाका प्रहरी कार्यालय भीमानसँगको समन्वयमा असोज १९ गते कमलामाई नगरपालिका–१४, तल्लो रानीबास क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१४ का ६० वर्षीय सोमबहादुर माझी भन्ने पोरे माझी र महोत्तरीको बर्दिबास नगरपालिका–५ का ६० वर्षीय चित्रबहादुर विश्वकर्मा छन् । उनीहरूको साथबाट हात्तीको दाह्राजस्तो देखिने एक थान वस्तु बरामद भएको छ। बरामद वस्तुको तौल ६ किलोग्राम रहेको सीआईबीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय सिन्धुलीमाडी, सिन्धुलीमा बुझाइएको छ । सीआईबीले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बिक्रीवितरणविरुद्ध कारबाही जारी रहेको जनाएको छ ।