विकासन्युज

मलेसियाको विस्टर्न कम्पनीले शून्य लागतमा ८०० नेपाली लैजाने

काठमाडौ । मलेसियामा रहेको विश्वकै ठूलो आईटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच शून्य लागतमा कामदार पठाउने सम्बन्धमा द्विपक्षीय सम्झौता छ ।  सम्झौताअनुसार दुई मेनपावर कम्पनीमार्फत उक्त कम्पनीका लागि ८०० जना नेपाली कामदार शून्य लागमा जान पाउने आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णुबहादुर केसीले बताए ।  उनका अनुसार आकर्षण इन्टरनेशनलबाट ३०० महिला र १०० पुरुष गरी ४०० जना तथा लालधनुषबाट समेत ३०० महिला र १०० जना पुरुष गरी ४०० जना मलेसिया जाँदैछन् ।  श्रमिक छनोटका लागि अन्तर्वार्ता प्रक्रिया अगाडि बढिसकेको समेत उनले जानकारी दिए ।

चुनावी मैदानमा पूर्वऊर्जामन्त्रीहरू, को कहाँबाट भिड्दै ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मीले देशैभरि छपक्कै छोपेको छ । प्रत्यक्षतर्फका १६५ सिटका लागि ३ हजार ४०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिँदा सबैको नजर भने ‘हाई प्रोफाइल’ उम्मेदवारमा अडिएको छ । विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलमिल भएकादेखि पहिलोपटक आकांक्षी देखिएकासम्मबाट मनोनयन दर्ता भएको छ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिँदा ८ पूर्वऊर्जामन्त्री र एक पूर्वभौतिक पूर्वाधार यातायातमन्त्री सङ्घीय सांसद बन्ने प्रतिस्पर्धामा होमिएका छन् । सबैभन्दा बढी चर्चामा रहेका निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले सोही ठाउँबाट उम्मेदवारी दर्ता गराएका छन् । यी दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।  यस्तै, यस क्षेत्रबाट एमालेका रामेश्वर फुयाल, नेकपाका निरज लामा तथा राप्रपाबाट डा. सुन्दर बोहरा चुनावी मैदानमा छन् ।  प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा रुकुम–पश्चिमबाट चुनावी प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रबाट अलग भएर नयाँ दलमार्फत मैदानमा उत्रिएका शर्मा यसअघि सोही क्षेत्रबाट ५ पटक विजयी भइसकेका छन् । यसपटक उनको मुख्य प्रतिस्पर्धा नेकपाका नेता गोपाल शर्मा तथा एमालेका नन्दराम देवकोटासँग हुनेछ ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वऊर्जामन्त्री गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट फेरि चुनाव लड्दैछन् । उनको प्रतिस्पर्धा रास्वपाका नेता गोविन्द पन्थी तथा नेपाली कांग्रेसका नेता भुवन श्रेष्ठसँग हुनेछ ।  यस्तै, अर्का पूर्वऊर्जामन्त्री शक्ति बहादुर बस्नेत जाजरकोटबाट मैदानमा छन् । उनलाई कांग्रेसका खडक बिसी, एमालको डम्मरबहादुर सिंह र रास्वपाका राघव कार्कीले चुनौती दिनेछन् । नेपाली कांग्रेसका डा. प्रकाशशरण महत नुवाकोट–१ बाट चुनावी मैदानमा छन् । सोही क्षेत्रमा रास्वपाका डा. विक्रम तिमिल्सिना र एमालेका बद्री मैनालीले उम्मेदवारी दर्ता गराएका छन् । २०७९ को प्रतिनिधिसभा चुनावमा महत समानुपातिक कोटाबाट सांसद बनेका थिए भने २०७४ मा काठमाडौं– ५ मा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए । ज्ञानेन्द्रबहादुर कार्की नेपाली कांग्रेस सुनसरी–४ बाट पुनः निर्वाचित हुने दाउमा छन् । उनी रास्वपाका दीपककुमार शाह तथा एमालेकी भगवती चौधरीसँग भिड्दैछन् । वर्षमान पुन नेकपाबाट रोल्पाको विरासत जोगाउन मैदानमा छन् । उनको प्रतिस्पर्धा रास्वपाका बलराम थापा, एमालेका गोकुल घर्ती मगर र नेपाली कांग्रेसका सुदनकुमार ओलीसँग हुनेछ । नेकपाका महेन्द्रबहादुर शाही कालिकोटबाट उम्मेदवार बनेका छन्, जहाँ उनले रास्वपाका प्रकाश न्यौपाने, एमालेका नागेन्द्र शाही (नेशनल) र नेपाली कांग्रेसका हर्षबहादुर बमसँग प्रतिस्पर्धा गर्नेछन् । यता एमाले उपमहासचिव तथा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ धनुषा–४ बाट चुनाव लड्दैछन् । उनलाई कांग्रेसका महेन्द्र यादव र रास्वपाका राजकिशोर महतोले चुनौती दिनेछन् । सबै पूर्वमन्त्रीहरू भने यसपटकको प्रतिस्पर्धामा देखिएका छैनन् । नेपाली कांग्रेसका नेता दीपक खड्का, पूर्वऊर्जामन्त्री तथा नेकपाकी नेत्री पम्फा भुसाल, एमालेका नेता देवेन्द्र दाहाल, एमालेकै नेता वसन्त नेम्वाङ, नेकपाका प्रकाश ज्वाला, कांग्रेसका रमेश लेखक र वीरबहादुर बलायर यसपटकको चुनावी मैदानमा उत्रिएका छैनन् ।

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । ललितपुर क्षेत्र नं. १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १२ जना स्वतन्त्र उम्मेदवार छन् । यस क्षेत्रमा २५ जना पुरुष र तीन जना महिला उम्मेदवार छन् । ललितपुर क्षेत्र नं. २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २३ मध्ये सात जना स्वतन्त्र छन् भने १६ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार दर्ता गराएका छन् । यस क्षेत्रमा दुई जना महिला उम्मेदवार छन् । त्यसैगरी ललितपुर क्षेत्र नं. ३ मा पनि २३ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये १६ जना विभिन्न राजनीतिक दलबाट र सात जना स्वतन्त्र उम्मेदवार छन्। यस क्षेत्रमा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर क्षेत्र नं. १ मा प्रमुख दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट उदय शमशेर राणा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बुद्धरत्न महर्जन र नेपाल कम्युनिस्ट पार्टीबाट सुनिल महर्जनलगायत उम्मेदवार चुनावी मैदानमा छन् । त्यसैगरी ललितपुर क्षेत्र नं. ३ बाट रास्वपाकी डा. तोसिमा कार्की, कांग्रेसबाट जितेन्द्र श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीबाट राजकाजी महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर क्षेत्र नं. २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलसहित नेपाल कम्युनिस्ट पार्टीबाट राजेन्द्र अमात्य र कांग्रेसबाट राजेन्द्र अमात्य उम्मेदवार बनेका छन् । साथै अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच पनि प्रतिस्पर्धा रहने देखिएको छ । रासस

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेद्वारमध्ये पाँच उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ ।  देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रारम्भिक जानकारी अनुसार पाँच उजुरी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।         बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो ।         सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो । उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरी कर्तालाई दिएको जनाइएको छ ।   निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन् । यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने व्यवस्था छ ।       बुधबार दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने उनले बताए । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।    माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ ।  

एशियाली सेयर बजार घट्दा सुनको मूल्य पहिलो पटक ४ हजार ८०० डलर नाघ्यो

वासिङ्टन । एशियाली सेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निरासा छाएको छ । टोकियोको निक्की २२५ सूची ०.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.५ प्रतिशतले घटेको छ भने हङकङको हाङ सेनग ०.२ प्रतिशतले घटेको छ । शाङ्घाई सूची भने ०.२ प्रतिशतले बढेको छ । सुनको मूल्य पहिलो पटक प्रति तोलामा चार हजार ८०० डलर नाघेको छ । लगानीकर्ताले अनिश्चित समयमा सुरक्षित सम्पत्तिमा पैसा लगाउने प्रवृत्ति देखाएका छन् । अमेरिकी सेयर बजारमा उतार–चढाव मंगलबार वॉल स्ट्रिटमा ठूला गिरावट आएपछि बुधबार अमेरिकी शेयर भविष्यका मूल्यहरू केही बढेका छन् । एस एण्ड पी ५०० को भविष्य मूल्य ०.३ प्रतिशतले बढेको छ भने डाउ जोन्स औद्योगिक सूची ०.२ प्रतिशतले बढेको छ । मंगलबार एस एण्ड पी ५०० २.१ प्रतिशतले घटेर ६ हजार ७९६.८६ मा पुगेको थियो । ठूला कम्पनीहरूको मूल्य घट्यो एनभिडिया कम्पनीको सेयर ४.४ प्रतिशतले घटेको छ । एप्पल ३.५ प्रतिशतले घटेको छ । खुद्रा विक्रेता, बैंक र औद्योगिक कम्पनीहरू पनि घाटामा रहेका छन् । जेपीमॉर्गन चेइस ३.१ प्रतिशत र क्याटरपिलर २.५ प्रतिशतले घटेको छ । अमेरिकी र जापानी नीतिगत बैठकको प्रतीक्षा अमेरिकी फेडरल रिजर्भले अर्को हप्तामा आफ्नो नीतिगत बैठक गर्ने तय गरेको छ । बजारले अनुमान प्रमुख ब्याजदरमा कुनै परिवर्तन नहुने लगाएको छ । जापानको केन्द्रीय बैंकले शुक्रबार आफ्नो पहिलो मौद्रिक नीतिगत बैठक सम्पन्न गर्नेछ । तेल र मुद्रा बजारको स्थिति तेल बजारमा अमेरिकी क्रूड तेल प्रति ब्यारेल ५६ सेन्टले घटेर ५९.८० डलरमा पुगेको छ । ब्रेन्ट क्रूड तेल ७० सेन्टले घटेर ६४.२२ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ । विदेशी मुद्रा बजारमा अमेरिकी डलर जापानी येनको सापेक्ष १५८.०८ मा आएको छ भने युरो स्थिर रहि १.१७१९ डलरमा कारोबार भइरहेको छ । रासस

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल १० खर्ब ८१ अर्ब चार करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा सात खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कूल वैदेशिक व्यापार १७ दशमलव ३६ र व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेको छ ।      गत पुस मसान्तसम्ममा कूल नौ खर्ब ३९ अर्ब दुई करोड २८ लाख रुपैयाँको वस्तु आयात हुँदा एक खर्ब ४२ अर्ब एक करोड ८० लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको विभागले जनाएको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ८६ र निर्यातको हिस्सा १३ दशमलव १४ प्रतिशत छ ।      वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदारका रूपमा रहेको भारतसँग पछिल्लो छ महिनामा पाँच खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने एक खर्ब १५ अर्ब ७४ करोड ३६ लाख रुपैयाँको निर्यात भएको छ । यो अवधिमा भारतसँगको व्यापार घाटा मात्र चार खर्ब १६ अर्ब ७१ करोड ३० लाख रुपैयाँ रहेको छ ।      अर्को छिमेकी मुलुक चीनसँगको पछिल्लो छ महिनाको व्यापार घाटा एक खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख  रुपैयाँ छ । चीनबाट एक खर्ब ९६ अर्ब ९४ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ६४ करोड नौ लाख  रुपैयाँ बराबरको मात्र निर्यात भएको विभागले जनाएको छ ।      नेपालको व्यापार घाटा बढी रहेका मुलुकहरुमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्डलगायत छन् । त्यस्तै, व्यापार नाफा रहेका मुलुकको शीर्ष स्थानमा डेनमार्क छ । पछिल्लो छ महिनामा नेपालले डेनमार्कसँग नौ करोड १५ लाख रुपैयाँको आयात र ५१ करोड दुई लाख रुपैयाँको निर्यात गर्दा ४१ करोड ८६ लाख  रुपैयाँ व्यापार नाफा देखिन्छ । रोमानिया, स्वीडेन, इराक, नर्वेलगायत मुलुकसँग नेपालको नाफा छ ।      यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ । चालु आवको पुस मसान्तसम्ममा ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजार रुपैयाँको डिजेल, ३३ अर्ब सात करोड २१ लाख ६८ हजार रुपैयाँ बराबरको पेट्रोल र २७ अर्ब चार करोड २० लाख २६ हजार  रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।      त्यसैगरी यो अवधिमा २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँको स्मार्टफोन, ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार  रुपैयाँ बराबरको अप्रशोधित सोयाविन तेल, १४ अर्ब चार करोड ९३ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु आयात भएको छ । वस्तु आयातबाट सङ्कलिन यो अवधिको भन्सार राजस्व दुई खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबर छ ।      त्यस्तै, नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाविन तेल मात्रै ५६ अर्ब आठ करोड २४ लाख २६ हजार रुपैयाँ रहेको छ भने सात अर्ब १९ करोड ९५ लाख रुपैयाँको अलैँची, चार अर्ब ७८ करोड ४४ लाख रुपैयाँको सूर्यमुखी तेल, तीन अर्ब ११ करोड रुपैयाँको कार्पेटलगायत छन् ।    

प्रिमियर डिस्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । प्रिमियर डिस्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।  आईपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।  सम्झौतापत्रमा प्रिमियर डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक गौरव शारडा र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दिप कार्कीले हस्ताक्षर गरे । विसं २०६९ सालमा सुनसरीको दुहबीमा एक अर्बभन्दा बढी लगानीमा स्थापना गरिएको प्रिमियर डिस्टिलरी नेपालका सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो । यसले भोड्का, ह्विस्की, रम र जीनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल उत्पादन गर्दै आइरहेको छ । यस डिस्टिलरीमा ‘द हिमालयन रिजर्भ’ ह्विस्की र भारतको मोहन मिकिन लिमिटेडसँग फ्रेन्चाइज सम्झौता अन्तर्गत उत्पादन गरिने  ‘ओल्ड मङ्क रम’ सहित अन्य विभिन्न ब्रान्डहरू उत्पादन हुँदै आएका छन् । 

माछापुच्छ्रे क्यापिटलको २ वटा विद्यालयमा सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले छैठौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूका लागि न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको छ । क्यापिटलले माघ ६ गते लायन्स क्लब अफ काठमाडौं नमस्तेसँगको सहकार्यमा नुवाकोटको तादी गाउँपालिका–५, अत्मारास्थित श्री हेमवतेश्वर वेद विद्याश्रम (गुरुकुल) मा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो लुगा तथा खाद्यान्न सामग्री प्रदान गरेको हो । त्यसैगरी, माघ ७ गते काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४, पासीकोटस्थित श्री श्रीराम आधारभूत विद्यालयलाई तीन थान कम्प्युटर सेट सहयोग गरिएको छ । यसका साथै, दुवै विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको क्यापिटलले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको यस सहयोगले विद्यार्थीहरूको पठन–पाठनमा सहजता ल्याउनुका साथै दैनिक आवश्यकताको परिपूर्तिमा सहयोग पुग्ने र विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन योगदान पुग्ने क्यापिटलको विश्वास छ । साथै, कम्प्युटर वितरणले विद्यार्थीहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, डिजिटल सिप र व्यवहारिक क्षमता विकासमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । सार्वजनिक लिमिटेड कम्पनीका रूपमा स्थापित मर्चेन्ट बैंकर माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।