नेपाल कतारसँग ४ विकेटले पराजित
काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले कतारलाई जीतका लागि १२३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा कतारले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । यसरी, कतारको जीतमा इनाम उल हकले सर्वाधिक ४१ रन बनाए भने कम्रान खानले २२, जाहिर इब्राहिमले १२ तथा मुहमद तानभिरले ११ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीले १ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको साझेदारी गरे तापनि त्यो जितका लागि पर्याप्त भएन । कप्तान खड्काले व्यक्तिगत २८ बनाउँदा उपकप्तान मल्लले २३ रन जोडे । यस्तै, सोमपाल कामीले ११ सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन जोडे । कतारका इकबाल हुसेनले ३ विकेट लिए भने तमोर साजाद र नुमान सर्वारले दुई/दुई विकेट लिए । इनवाल हुसेनको नाममा भने एक विकेट रह्यो । अब नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ । यसखेलसँगै दुई खेल खेलेको कतारको यो पहिलो जीत हो । हिजो भएको पहिलो खेलमा कतार सिङ्गापुरसँग ३३ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनौटमा सहभागिता जनाउनेछन् । रासस
जीआईसीको एजीएम साउन २९ गते, ३० करोड रुपैयाँको आइपीओ निष्काशन गर्ने प्रस्ताव
काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी(जीआइसी)ले साउन २९ गते वार्षिक साधारण सभा(एजिएम) गर्ने भएको छ । साधारण सभामा ३० करोड रुपैयाँको प्राथमिक सेयर(आइपीओ) निष्काशन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । जनरल इन्स्योरेन्स कम्पनीका जेनरल म्यानेजर एस.के. टमोटले भने-‘हामीले साभारण सभाबाट आर्थिक बर्ष २०७४/७५ को व्यालेन्सिट पास गर्ने छौँ, साथै प्राथमिक सेयरको पनि प्रस्ताव साधारण सभामा पेश गर्छौ ।’ उनले बीमा समितिमा व्यालेन्सिट पठाए पश्चात प्राथमिक सेयर निष्काशन हुने बताए ।
गुल्मीमा पहिरोले पुरिएर छ जनाको मृत्यु, पाँच बेपत्ता
बुटवल । गुल्मीमा पहिरोमा पुरिएर छ जनाको ज्यान गएको छ । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा एकै परिवारका दुई जना र वडा नं ४ का तीन घर पुरिँदा चार जनाको ज्यान गएको छ । पहिरोमा अन्य पाँच जना हराइरहेका छन् । सत्यवती गाउँपालिका–४ लिम्घामा खसेको पहिरोले स्थानीय दलित बस्तीका तीन घरमा क्षति पुर्याएको सोही वडाका वडा सदस्य डिल्लीराज भट्टराईले जानकारी दिएका छन् । “मृतकको शरीरको भाग क्षतविक्षत अवस्थामा रहेकाले पहिचान हुन कठिनाइ भएको छ, कसैको टाउको थिचिएको छ, कसैको शरीर नै चुडिएको छ”, सदस्य भट्टराईले टेलिफोनमा भने । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार सो गाउँपालिका–३ मा एकै परिवारका आमा छोरा गरी दुई जनाको र वडा नं ४ मा चार जनाको शव स्थानीय र प्रहरीको प्रयासमा निकाल्ने काम भएको र अन्य पाँच जना बेपत्ता भएको पुष्टि गरेका छन् । प्रजिअ पौडेलका अनुसार वडा नं ३ मा ३४ वर्षीया तिलकुमारी तरामु र उनका नौ वर्षीय छोरा दर्शनको मृत्यु हुनुका साथै वडा नं ४ मा हेमन्त विक, पङ्खु विक, अञ्जली विक र छली विकको शव निकालिएको र अन्य पाँच जनासमेत हराइरहेकाले पहिरोमा खोज्ने काम भइरहेको जानकारी दिए । पहिरो खस्ने क्रम नरोकिएको र पहिरोबाट अन्य घरसमेत जोखिममा रहेकाले त्यहाँका सम्पूर्ण जनतालाई नजिकैको विद्यालयमा राखिएको समेत उनले जानकारी दिएका छन् । प्रजिअ पौडेलका अनुसार भौगोलिक विकटताका कारण सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलमा केही समयमै पुग्ने र पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भएको बताए । लगातार पानी परिरहेकाले उद्धार गर्न कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाल बताउँछन् । लगातार पानी परिरहेको र ठाउँठाउँमा पहिरोले बाटोसमेत भत्किएकाले घटनास्थलमा पुग्न समय लाग्ने अध्यक्ष ढकालले जानकारी दिएका छन् । रासस
कहिले आउँछ मौद्रिक नीति ? राष्ट्र बैंक भन्छ-‘अन्तिम तयारी हुँदैछ’
काठमाडौं । अन्य आर्थिक वर्षमा भन्दा फरक ढंगबाट प्रस्तुत गर्ने भनिएको यस वर्षको मौद्रिक नीति कहिले आउँछ भन्ने टुंगो अझैसम्म लागेको छैन । बिग मर्जरदेखि ट्रष्ट रिसिट(टिआर)मा लोन नदिने, अनुत्पादक क्षेत्रलाई कस्दै उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याउन लागिएको यस वर्षको मौद्रिक नीति सार्वजनिक गर्न के कारणले ढिला हुँदै गएको छ ? यसबारेमा मंगलबारसम्म राष्ट्र बैंकले स्पष्ट पारेको छैन । अर्थमन्त्री खतिवडाले चालू आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशत मूल्य वृद्धिको सिमाभित्र रहेर मौद्रिक नीति ल्याउन निर्देशन दिएका थिए । राष्ट्र बैंकले सोही अनुसारको मौद्रिक नीति तयार पारेको छ । गर्भनर खतिवडाले पनि सरकारले ल्याएको बजेटलाई सघाउने, वित्तीय स्थायित्व कायम गर्ने, मुद्रालाई बढी भन्दा बढी परिचालन गर्ने गरी मौद्रिक नीति आउने बताएका थिए । सामान्य तय साउन पहिलो साता र देश संघीयतामा गएपछि बजेट जेठ १५ मै आउन थालेपछि असार अन्तिममा ल्याउने गरिएको मौद्रिक नीति यस वर्ष भने ढिला भएको हो । यस वर्षको मौद्रिक नीतिको तयारी अन्तिम चरणमा पुगेको छ । गत शनिबार राष्ट्र बैंक संचालक समितिको बैठकले गरेका संशोधनका विषयमा अनुसन्धान विभागले कार्य सम्पादन गरिसकेको छ । विभागका अनुसार मौद्रिक नीति अन्तिम चरणमा पुगिसकेको छ । बिग मर्जरका विषयलाई लिएर बैंकिङ क्षेत्रमा आएको तरङ्गलाई सेलाउन नदिन राष्ट्र बैंकले फोर्स फूल्ली मर्जरलाई थाति राखेर मर्जरलाई प्रोत्साहित गर्ने हिसावले यस विषयलाई अगाडि बढाउने भएको छ । यद्यपि राष्ट्र बैंक बोर्ड बैठकले अनुमोदन भने गर्न बाँकी रहेको विभागले बताएको छ । राष्ट्र बैंक बोर्ड बैठकले स्वीकृति प्रदान गरेको भोलि या पर्सी पल्टसम्म मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । तर, बोर्ड बैठकले कहिले स्वीकृति दिन्छ त्यो स्पष्ट भइसकेको छैन । बैंकको संख्या धेरै भएकोमा सबै सहमत भएपनि बिग मर्जर कतिको प्रभावकारी बन्न सक्छ भन्ने विषयमा भने राष्ट्र बैंकसँग कुनै ठोस आधार छैनन् । नेपाली अर्थतन्त्र अनुसार ठूला बैंकको संख्या धेरै भएको अन्तर्राष्ट्रिय वित्तीय संस्थाले पनि सुझाव दिँदै आएका छन् । यसकै कारणले राष्ट्र बैंकलाई नियमन गर्न समेत अप्ठ्यारो परेको छ । यद्यपी सोमबार बस्ने भनेको राष्ट्र बैंक संचालक समितिको बैठक मंगबारसम्म बस्न सकेको छैन । आज यतिबेलासम्म पनि बैठक कति बजे बस्ने भनी टुंगो लागेको छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो । बैठकले मौद्रिक नीति स्वीकृत गरेपछि होटल बुकिङ गर्नुपर्ने हुन्छ । अहिलेसम्म होटल बुकिङ पनि भएको छैन ।
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
सर्लाही । छुट्टाछुट्टै दुर्घटनामा परेर सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । खाल्डोमा डुबेर लालबन्दीमा एक बालकको मृत्यु भएको छ भने ईश्वरपुर नगरपालिकामा दुर्घटनामा परेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । लालबन्दी नगरपालिका–२ सिटोल पुर्नवास निवासी सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवानको डुबेर मृत्यु भएको छ । मृतकको घरभन्दा ५०० मिटर दक्षिणपूर्व रहेको सूर्य इँटाभट्टाका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेको अवस्थामा गए राति ९ बजे बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाल्डोबाट बालकलाई तत्काल उद्धार गरी उपचारका लागि लालबन्दीस्थित टेक्सास अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । यसैबीच ईश्वरपुर नगरपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । नरेशखोरबाट बयलवास बजारतर्फ आउँदै गरेको ना२३प नंको मोटरसाइकलले बाटो छेउमा बसिरहेका दुई महिलालाई सोमबार ठक्कर दिएको थियो । ठक्करबाट ईश्वरपुर नगरपालिका–५ नरेशखोरकी ४५ वर्षीया कवुतरदेवी महतोको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएकी अर्की ३८ वर्षीया शान्तिदेवी महतोको उपचार भइरहेको छ । गम्भीर घाइते दुवैलाई उपचारका लागि धनुषास्थित लालगढ अस्पताल पठाइएको थियो । घाइतेमध्ये कवुतरदेवीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । रासस
साउन महिनामा हरियो चुरा किन लाउने र माछामासु/मदिरा किन नखाने ?
काठमाडौं । साउन महिनामा धेरै युवती(महिला)हरुले हरियो चुरा, पोते र हरियो पहिरन लगाउने गरेका छन् । चुरा र लत्ता कपडाका पसलहरुमा जाने युवतीहरु रोजाई हरियो रंग कै सामाग्रीमा हुने गरेको छ । एकातिर हरिया चुरा, पोते र हरिया पहिरनको ब्यापार बढेको छ भने युवा(पुरुष)हरुले भने साउन १ गतेदेखि माछामासु र मदिरा सेवा १ महिनाका लागि छाडेका छन् । यसरी हेर्दा साउन महिनामा माछामासु र मदिराको ब्यापार भने केही खस्किएको ब्यापारीहरु बताउँछन् । साउन महिनामा हरिया चुरा र पहिरन लगाउने अनि मदिरा र माछामासु नखाने नेपाली संस्कृति हो कि नक्कल ? कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष धर्मसंस्कृतिका जानकार चैतन्य कृष्ण भन्छन्–‘साउन महिनामा हरियो रंगका कपडा, चुरा तथा पोते लगाउनु पर्छ भन्ने कुरा कुनै पनि धर्मशास्त्रमा समावेश छैन ।’ उनका अनुसार भारतबाट आएको संस्कृतिलाई नेपालीले पछ्याएका हुन् । धर्मसंस्कृतिका जानकार चैतन्य कृष्णका अनुसार करिब ३५ हजार वर्ष पुरानो जंगली युगबाट हाल आधुनिक सभ्यता आइपुगेका हौँ । धर्म, संस्कृति, रितिरिवाज, परम्परा आदीको विकास तथा विस्तार करिब ७ हजार वर्षदेखि शुरु भएको हो । धातु, सुनचाँदीका गरगहना लगाउने चलन प्राचीन कालदेखि चल्दै आएको हो । तर, चुरा, पोते र हरियो कपडाको चर्चा त्यो समयमा थिएन्–चैतन्य कृष्णले भने । यस्तो छ चुराको इतिहास चुरा लगाउने प्रचलन इजिप्टबाट सुरु भएपनि नेपालमा भने भारतीय संस्कृति र बजारबाट प्रवेश गरेको पाइन्छ । धार्मिक ग्रन्थ अनुसार हरियो चुरा लगाउनु पर्ने र यसको महत्व खासै बर्णन भएको देखिदैन । साउन महिनामा भगवान शिवको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, समृद्धि, शान्ती, धन, विद्या आर्जन हुने विश्वास वैदिक शास्त्रमा वर्णन गरिएको छ । शिवको आरधना गर्दा साउनको सोमबार जल, दूध, भाङ्, धतुरो चढाउने वैदिक परम्परा रहेकामा हाल हरियो जुरा र हरियो वस्त्र लगाएर शिवजीको ध्यान गरे विवाहित महिलाहरुले आफ्नो पतिको आयु बढ्ने र अविवाहित महिला आफुले खोजेजस्तो पति पाइने भन्ने जनविश्वास रहेको छ । हिन्दु संस्कृतिमा हरियो चुराको यर्थाथ महत्व नबुझी टोल, छिमेकीको वातावरणको प्रभावले गर्दा देखासिकीलाई अंगालेको धर्मसंस्कृतिका जानकारहरुको भनाई छ । युवा पुस्ताले हरियो रंगलाई प्रेम र वातावरणको प्रतीक मानेका छन् । त्यसैकारण हरियो लुगा लगाएसँगै प्रकृतिको सम्मान गरेको भन्ने भनाई पनि रहेको छ । हरियो रंग भित्र प्रकृतिको सम्मानका साथै प्रेम झल्कन्छ भन्ने बुझाई छ । मासु र मदिरा किन नखाने ? बैशाख, साउन, माघ महिनालाई विशेष गरी धार्मिक महिनाको रुपमा लिइन्छ । पशुपन्छीको हत्या गर्नु पर्छ कुनै पनि धर्मशास्त्रमा छैन् । जसका कारण माछामासु खाने कुरालाई हिन्दु धर्म अनुसार राम्रो मानिदैन । साउन महिनामा धेरै महिला पुरुषहरुले मासु नखाने र मदिरापनि नपिउने गरेको भेटिएको छ । युवा उद्यमी प्रतापजंग पाण्डेले आफु साउन महिना भर मादक पदार्थ सेवन नगर्ने बताए । त्यस्तै आइएमई ग्रुपका राजु पौडेलले पनि आफुले साउन महिना माछामासु तथा मादक पदार्थ नखाने बताए ।
मुद्दा फछ्र्योटबाट रु तीन करोड बढी राजश्व
भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिएका छन् । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट सरी आएका १७ तथा गत आव २०७५/७६ मा दर्ता भएका ५३२ गरी कूल ५४९ मुद्दामध्ये ५३० फछ्र्योट भएका थिए । झापाका विभिन्न नाकाबाट अवैधरूपमा हुने चोरीका मुद्दामा निकासी भन्दा पैठारीका बढी हुने गरेको भन्सार मुद्दा शाखाका नायवसुब्बा छत्रबहादुर आलेमगरले बताए । चोरीपैठारीमा यातायातका साधनदेखि मोटरपार्ट्स, खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान रहेका छन् । अवैधरूपमा हुने चोरीपैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारीसमेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए । रासस
फेस अफ मारवाडीको उपाधि राहुल र निशालाई
काठमाडौं । फेस अफ मारवाडीको विजेता घोषणा भएको छ । फेस अफ मारवाडीको उपाधि पुरुष तर्फ मिस्टर मारवाडी २०१९ मा धरानका राहुल अग्रवालले जितेका छन्, भने महिला तर्फ काठमाडौंकी निशा अग्रवालले जितेकी छिन् । त्यसगरी पुरुषतर्फ शिवम् अग्रवाल फस्ट रनर अप रहे भने अजय खण्डेलवाल सेकेन्ड रनर अप रहेको थिए । त्यसै महिला तर्फ सिम्रन सबू फस्ट रनर अप र विराटनगरकी सुनिता वरमा सेकेन्ड रनर अप रहेका थिए । उक्त फेस अफ मारवाडी विजेतालाई नगद ५० हजार रुपैयाँ साथै अन्तराष्ट्रिय पल्टीमा भाग लिने मौका प्राप्त गरेका छन् भने फस्ट रनर अप र सेकेन्ड रनर अपले क्रमश ३० हजार र २० हजार प्राप्त गरेका छन् । उक्त प्रतियोगिताका निर्णायकका रुपमा कारण कुन्द्रा र नायिका रेखा थापा रहेका थिए । सो कार्यक्रम नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतिथ्य सम्पन्न भएको थियो ।