आगामी साउन २६ गते राष्ट्रिय शिखर कृषक अवार्ड हुँदै
काठमाडौं । नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैं क्षमताको कदर गर्ने उद्देश्य सहित “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” प्रदान गरिने भएको छ । राष्ट्रिय सभागृह हुने उक्त कृषक अवार्डमा “शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान” भन्ने नारासहित आगामी साउन २६ गते एक भव्य समारोहका विच ७ प्रदेशका ७ जनालाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित अर्वाड प्रदान गरिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयता विगत १ दशकदेखि समाजिक सेवा लोकप्रिय संस्था शिखर नेपालको आयोजना सो अर्वाड प्रदान गरिन लागेको हो । जसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपन्छी विभागको सकृयतामा मुलुकभरका कृयाशिल कृषकहरुको संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्यांकन गरि सातै प्रदेश बाट उत्कृष्ट ५/५ जना कृषकहरुको नामावली सार्वजनिक गरेको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए । एउटा प्रदेशबाट २२ देखी ४२ जना कृषकहरुको काम क्षमता, फर्म र उनीहरुको प्रगतिलाई हेरर उत्कृष्ट ५ जनाबाट पनि सर्वोकृष्ट १ जना छनोट गर्न लागेको उनको भनाई रहेको छ । “मुलुकमा कृयाशिल कृषकहरुको प्रोत्साहन बढाउनुपर्ने अहिलेको आवश्यकता छ अध्यक्ष खनालले भने । मुलुकका सात वटै प्रदेशबाट ५/५ जना प्रतिष्पर्धी कृषकहरुको योग्यता, क्षमता, दक्षता र व्यवसायीक सफलताको मापन गर्दै निर्णायक समितिको मूल्यांकनका आधारमा नै यो नामावली प्रकाशन गरिएको छ ।” राष्ट्रिय सभा गृहमा उत्कृष्ट कृषक घोषणा कार्यक्रम गरिने समेत अध्यक्ष खनालले बताए । सोही दिन “राष्ट्रिय शिखर अनर अवार्ड–२०७६” बाट पनि विभिन्न १२ वटा विधामा १२ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । शिखर नेपाल २०६४ सालदेखि विभिन्न विधामा विभिन्न सम्मान तथा अर्वाड निरन्तर रुपमा गर्दै आएको छ ।
प्राधिकरणले अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम सूचीबाट हटाउने
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन् । पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान लाभग्राहीमा परे पनि ५७ हजार ३ सय ९ ले अनुदान सम्झौता गरेका छैनन् । कूल लाभग्राही ८ लाख २६ हजार ९ सय ३३ भएकोमा ७ लाख ६९ हजार ६ सय २४ ले अनुदान सम्झौता गरेका छन् । यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या ५ हजार ५ सय ४० छ । पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले यसअघि प्राधिकरणले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्ने क्रममा समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाएको जानकारी दिए । प्राधिकरणले २०७६ जेठ मसान्तसम्म लाभग्राही सूचीमा समावेश भएकाले अनुदान सम्झौता गर्ने समयसीमा २०७६ असार २१ गतेसम्मलाई तोकेको थियो । यस्तै अनुदान सम्झौता गरेकाले पहिलो किस्ता लिने समयसीमा ०७६ असार मसान्त तोकेको थियो । प्राधिकरणले समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको अब अनुदान सम्झौता गर्ने र पहिलो किस्ता दिने कार्य स्थगित गर्न सबै निकायहरुलाई निर्देशन दिइसकेको छ । प्राधिकरणले यसरी अनुदान सम्झौता गर्न र पहिलो किस्ता लिन नआएकालाई सुनुवाइको विकल्प भने दिएको छ, जसअनुसार अनुदान सम्झौता गर्न छुटेका र पहिलो किस्ता लिन नआएकाहरुमध्ये कसैले पर्याप्त कारणसहित स्थानीय निकायमा निवेदन दिन सक्नेछन् र प्राप्त निवेदनको विश्लेषण गरी प्राधिकरणले आवश्यक निर्णय लिनेछ । सहप्रवक्ता घिमिरेले गुनासो, जोखिममा परेका लगायतबाट २०७६ जेष्ठ मसान्तपछि पुनर्निर्माण लाभग्राहीमा सूचीकृत भएकाहरुको हकमा भने अनुदान सम्झौता गर्ने र पहिलो किस्ता दिने कार्यलाई निरन्तरता दिइने जानकारी दिए । प्राधिकरणले समयमा अनुदान सम्झौता गर्न र अनुदान किस्ता लिएर समयमा निजी आवास पुनर्निर्माण सम्पन्न गर्न आग्रह गर्दै आएको छ ।
सिराहाका बाढी प्रभावितलाई आइएमई फाउन्डेसनद्वारा राहात वितरण
काठमाडौं । असारको अन्तिम साताआएको अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका विभिन्न वडामा आइएमई फाउन्डेसनले राहत सामाग्रीहरु वितरण गरेको छ । दैनिक उपभोगका लागि आवश्यक पर्ने सामाग्री सहितको एक-एक प्याकेट बाढी प्रभावित उक्त क्षेत्रका कूल एक सय घरमा वितरण गरिएको हो । स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमा गरिएको राहात सामाग्री वितरण कार्यक्रममा आइएमई ग्रुपमा कार्यरत स्थानीय प्रतिनिधिहरू एवम् व्यवसायिक साझेदारहरू समेतको उपस्थिति रहेको थियो । आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान दिँदै आएको यस फाउन्डेसनले प्राकृतिक विपत्तीबाट प्रभावितहरूको पुर्नस्थापनामा विशेष योगदान पुर्याउँदै आएको छ ।
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मत गरिने
काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी सहजरुपमा यातायात सञ्चालन गराएर कालोपत्र गर्ने काम अघि बढाउन जनप्रतिनिधि सहमत भएका छन् । गत भदौमै कालोपत्र भइसक्नुपर्ने गरी ठेक्का भएको सडक थपिएको म्याद सकिन लाग्दासमेत काम शुरु हुन सकेको छैन । गत वर्ष सकिएर थपिएको म्याद पनि आगामी भदौमा सकिँदैछ तर सडक सार्वजनिक जग्गा भएको स्थानमा मात्र विस्तार गर्न लागेजस्तो देखिन्छ । जीर्ण बनेको सडकका कारण यातायात सञ्चालनमा समस्या आउन थालेपछि सोमबार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामा जनप्रतिनिधिसँग छलफल भएको थियो । छलफलमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानालगायतका जनप्रतिनिधिको सहभागिता थियो । जीर्ण सडक मर्मतका लागि ग्राभेल भनेर माटो हालेर हिलो बनाइएको भन्दै स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेपछि आयोजना कार्यालयमा बैठक भएको हो । बैठकमा दुई बुँदे सहमति भएको नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष ढुङ्गानाले बताएका छन् । त्यसैगरी, नगरपालिकाले सार्वजनिक पर्ती जग्गा खाली गर्न गराउन पहल गर्दै सार्वजनिक सूचना जारी गर्ने जीर्ण सडकमा तत्काल मर्मतसम्भार शुरु गर्ने सहमति भएको उल्लेख गरेको छ । यसरी, आयोजना प्रमुख अर्जुन अर्यालले सार्वजनिक स्थलमा बनेका संरचना हटाएर विस्तारमा सहयोग गर्ने विषयमा जनप्रतिनिधिसँग सहमति भएको सुनाएका छन् । नाली बनाएर ठूला खाल्डा भएका स्थानमा मर्मतको काम शुरु भइसकेको आयोजनाको दाबी छ । करिब सात किमि सडक रु ५४ करोडको लागतमा विस्तार गरी कालोपत्र गर्न चार वर्ष अघि ठेक्का सम्झौता भएको थियो । दुई खण्डमा ठेक्का सम्झौता भएकामा दुवैतिरका काम अलपत्र छ । सडक नबन्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोले किनारा क्षेत्रमा बस्न नसकिने स्थानीयको गुनासो छ । रासस
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको असन्तुष्टी,‘तत्काल ५ सय कर्मचारी नदिए काम गर्न सकिँदैन’
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै बिनाकुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने बताए । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेशहरुमा कर्मचारी अभाव हुँदा विकास निर्माणका काम अगाडि बढ्न नसकिरहेको बताए । कर्णालीप्रदेशलाई तीनहजार देखि ३५ सय कर्मचारी आवश्यक रहेकोमा त्यसको पूर्तिका लागि ढिलासुस्ती भइरहेको बताए । लोक सेवा आयोगमा कर्मचारी दरबन्दीका लागि लेखिपठाए पनि समय लाग्ने देखिएको बताए । कर्मचारी करारमा नियुक्ति गर्ने कानुनी व्यवधान रहेको र लोक सेवाले पनि ढिलासुस्ती गरिदिंदा समस्यामा परेको बताए । कर्मचारी समायोजनपछि अधिकांश कर्मचारीले कर्णाली रोज्न नमानेको भन्दै कर्मचारी अभाव भोगिरहेको बताए ।
मेगा बैंकका अध्यक्ष शाहले भने-‘मर्जर कमिटी बनाएर अघि बढेका छौँ’
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले दशौँ वर्षमा प्रवेश गरेको छ । मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा एक समारोहकाबीच नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले राष्ट्र बैंकको निर्देशन अनुसार मर्जर कमिटी बनाएर अघि बढेको बताए । मर्जरलाई हामीले नजिकबाट नियालिरहेका छौँ, सोही अनुरुप मर्जर कमिटी बनिसकेको उनले बताए । मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचयलाई तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न हामीसँग सामिप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थाहरुलाई आवद्ध गर्दै अझ शसक्त र व्यवस्थित ढंगले अगाडि बढनुको विकल्प हामीसँग छैन’-अध्यक्ष शाहले भने । अध्यक्ष शाहले विगत ९ बैंकले प्रगति गर्दै आएको र आगामी वर्षहरुमा पनि प्रगतिपथमा लम्किरहने बताए । त्यसैगरी बैंककी प्रमुख कार्यकारी अधिकृत(सिईओ) अनुपमा खुञ्जेलीले विगत नौ वर्षसम्मको समीक्षा गर्दै स्थापनाकाल देखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताइन् । उनले भनिन्-एक दशकमै समकालीन बैंकहरु भन्दा व्यवसायिक हिसाबमा अघि भएका छौँ ।’ बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन रु. १९ अर्ब बढेर करिब ८२ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह,पनि १५ अर्ब ५० करोड बढेर ७३ अर्ब पुगेको जनाइएको छ । ग्राहक संख्यापनि झण्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको बैंकले जनाएको छ । एक शाखा, एक छोरी छात्रबृत्ति घोषणा उक्त कार्यक्रममा सिइओ खुञ्जेलीले एक शाखा, एक छोरी छात्रवृत्ति घोषणा गरिन् । छोरीको उज्वल भविश्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैंकले शिक्षा नै ज्योति अभियान अन्तर्गत प्रत्येक शाखाबाट १-१ जना छात्रालाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहयोग गर्ने गर्नेछ । यस्तै, कार्यक्रममा बैंकले उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरियो ।
शैक्षिक छात्रवृत्ति स्थापनाका लागि ग्लोबल आइएमई बैंकको सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृति कोष स्थापनार्थ रु दुई लाख सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक आरती राणाले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक राणाले देशको आर्थिक तथा सामाजिक विकासमा शिक्षाको योगदानको चर्चा गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कामले समाजलाई प्रत्यक्ष फाइदा पुगेकोे जानकारी दिए । त्यस्ता सामाजिक कार्यले बैंकलाई जनता माझ पुर्याउन सहयोग पुगेको बताउँदै उग्रचण्डी नाला समाजलाई सहयोग गर्न पाएकोमा खुशी समेत व्यक्त गरे । उग्रचण्डी नाला समाजका अध्यक्ष श्रेष्ठले बैंकबाट प्राप्त रकमबाट शैक्षिक छात्रवृत्ति कोषको स्थापनामा प्रयोग गरिने र त्यसबाट प्राप्त व्याज रकमबाट चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिकरुपमा छात्रवृत्तिप्रदान गरेका हुन् । बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
सप्तरीमा चट्याङ् लागेर दुई जनाको मृत्यु
राजविराज । आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताएका छन् । खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने क्रममा पण्डितको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसरी, चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगेकामा उपचारका क्रममा मृत्यु भएको छ । खेतमा काम गरिरहेका आफ्ना पतिलाई खाना पुर्याएर घर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको ज्यान गएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए । रासस