विकासन्युज

मौद्रिक नीतिपछि सेयर बजारमा लगातार गिरावट, आइतबार १३६ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजारमा उच्च गिरावट देखिएको छ । आइतबार  नेप्से परिसूचक १७ अंकले घटेर १२५२ राेकिएकाे छ । आज ४९ कराेड २६ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । १६१ वटा कम्पनीको सेयर कारोबार भएकोमा १३६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । थोरै कम्पनीको सेयर मूल्य स्थीर रहेको छ । यूनियन हाइड्रोपवर, युनाईटेड इन्स्योरेन्स, पाँचथर पावर, ग्लोवल आईएमई लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, लगायत जलविद्युत, फाइक्रो फाइनान्स र बीमा कम्पनीहरुको सेयर मूल्य बढी घटेको छ । बजारमा गिरावट उच्च भए पनि केही केही कम्पनीको सेयरधनीले राम्रो लाभ लिएका छन् । सिर्जना फाइनान्स, यूनिभर्वल पावर, नविल इक्वीटि फण्ड, एनएमबी इक्वाटी फण्डको सेयर मूल्य बढेको छ । एनएमबी इक्वाटी फण्डले आइतबार नै लाभांश घाेषणा गरेकाे छ । मौद्रिक नीति सार्वजनिक भएपछि दोस्रो दिन पनि बजारमा मन्दी देखिएको हो । राष्ट्र बैंकले मौद्रिक नीति गत साता बुधबार जारी गरेको थियो । विहीबार पनि १४ अंकले नेप्से घटेको छ । नयाँ मौद्रिक नीतिले सेयर बजारलाई प्रत्यक्ष नकारात्मक असर पर्ने व्यवस्था गरेको छैन । तर बैंकहरुको आम्दानी नियन्त्रण गर्ने, बैंकास्योरेन्सलाई कडाई गर्ने, बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नै पर्ने व्यवस्था गरेकोले त्यसको नकारात्मक असर सेयर बजारमा परेको जानकारहरु बताउँछन् ।

सरकारी गाडी किन्न पाँच वर्षमा २४ अर्ब भन्दा बढी खर्च

काठमाडौं । पाँच वर्षको अवधिमा सरकारी गाडी किन्न नेपाल सरकारको ढुकुटीबाट २४ अर्ब भन्दा बढी खर्च भएको छ । उक्त अवधिमा सरकारले ४९ खर्ब ६२ अर्ब १९ करोड ०६ रुपैयाँको बजेट ल्यायो, त्यसमध्ये रु. २४ अर्ब ९ करोड ९९ लाख ५३ हजार ४ सय ८६ रुपैयाँ सरकारी सवारी साधनमा खर्च भएको हो । कुन आवमा कति खर्च  ? आर्थिक वर्ष २०७१/७२ मा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ६ खर्ब १८ अर्ब रुपैयाँको बजेट घोषणा गरे, जसमा २ अर्ब ७१ करोड ३३ लाख ४० हजार ३५७ रुपैयाँ सवारी साधन खरिदमा खर्च भएको महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, आव २०७२/७३ मा पनि तत्कालीन अर्थमन्त्री डा. महतले नै ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरे, उक्त बजेट मध्ये २ अर्ब २१ करोड ९६ लाख ७१ हजार ८०८ रुपैयाँ गाडी किन्दामा खर्च भयो । यसैगरी आर्थिक वर्ष २०७३/७४ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ९ खर्ब ५३ अर्ब ६६ करोड रुपैयाँको बजेट सार्वजनिक गरे, जसमा ६ अर्ब ७१ करोड ३४ लाख ११ हजार २१७ रुपैयाँ सरकारी गाडी खरिदमा खर्च भएको थियो । यता, २०७४/७५ सालमा अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ८० अर्बको बजेट प्रस्तुत गरेमा सवारी साधन खरिदमा ६ अर्ब ६१ करोड ४५ लाख ३७ हजार ३ सय २४ रुपैयाँ खर्च भएको थियो । गत आव २०७५/७६ मा अर्थमन्त्री डा.युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा ५ खर्ब ८३ करोड ८९ लाख ९२ हजार ७७९ रुपैयाँ सवारी साधनमा खर्च भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

मेडिकल काउन्सिलकाे लाइसेन्स परीक्षाफल प्रकाशित, बिडीएसतर्फ ६१ प्रतिशत अनुत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर्थात् ७८ उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । यसैगरी, बिडीएसतर्फ ३५३ जना सहभागीमध्ये १३८ जना अर्थात् ३९ प्रतिशतमात्र परीक्षार्थी उत्तीर्ण भएको काउन्सिल सदस्य प्रा डा. ढुण्डिराज पौडेलले जानकारी दिएका छन् । काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण नभइकन बिरामी परीक्षण गर्न पाइँदैन । पछिल्लो समय काउन्सिलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुनेको सङ्ख्यामा वृद्धि भइराखेको छ । यसैबीच, नेपाल चिकित्सक सङ्घको आगामी निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको जिम्मा डा. बाबुराम मरासिनीलाई दिइएको छ । निर्वाचन माघ महिनामा हुँदैछ । केन्द्रीय सहकोषाध्यक्ष डा. प्रकाश बुढाथोकीका अनुसार प्रमुख निर्वाचन अधिकृत डा. मरासिनीले समितिमा अन्य दुई चिकित्सक मनोनीत गर्नेछन् । सङ्घको आगामी फागुनको १५ देखि १७ गतेसम्म पोखरामा आयोजना हुने २८औं सम्मेलनपूर्व निर्वाचन कार्यक्रम सम्पन्न हुने उनले जानकारी दिए । सङ्घमा हाल आठ हजारभन्दा बढी चिकित्सक सदस्य रहेका छन् । रासस

क्यानडामा अध्ययनः पढाई पछी सजिलै पीआर

काठमाडौं । क्यानडा उच्च शिक्षा अध्ययनको लागी धेरै राम्रा देशहरु मध्ये एक हो । बर्सेनि हजारौं संख्यामा विद्यार्थीहरू क्यानडामा अध्ययनको लागि जाने गर्दछन् । त्यहाँको विश्वविद्यालयको डिग्री अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अन्य देशहरूको तुलनामा कम शुल्कमा गुणस्तरीय शिक्षा हासिल गर्न सक्छन् । पढाई शुल्क सस्तो मात्र होइन छात्रवृत्ति पनि सजिलै पाईने हुनाले विद्यार्थीले क्यानाडामा न्यूनतम शुल्कमा उत्कृष्ट शिक्षा पाउन सक्छन् । यद्यपि अमेरिकाको तुलनामा विश्वविद्यालयहरूको सङ्ख्या कम भएता पनि विश्वविद्यालयको शिक्षा स्तर अमेरिका र युरोपका विश्वविद्यालयहरू सरह रहेको बताइन्छ । पछिल्लो समय क्यानडा धेरै विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । पढाई पूरा गरिएसकेपछी सजिलै पीआर पाइने भनेकोले धेरै विद्यार्थीको रोजार्इमा क्यानाडा पर्न थालेको हो । शैक्षिक परामर्शदाताहरु मास्टर्स अध्ययनको लागि क्यानडा जान सुझाव दिन्छन् किनभने त्यसरी जाँदा विद्यार्थीलाई क्यानाडामा जीवनयापन गर्न सहज हुन्छ भन्ने उनीहरुको भनार्इ छ। त्यहाँको अध्ययनको खर्च विश्वविद्यालय पिच्छे फरक फरक रहेको छ । यधपी अन्तर्रास्ट्रिय विद्यार्थीले क्यानाडामा मास्टर्स अध्ययन गर्नको लागि १० हजार देखी २० हजार क्यानाडियन डलर अर्थात नेपाली ८ लाख देखी १७ लाख सम्म खर्च गर्नुपर्ने हुन्छ । अहिलेको क्यानाडाको १ बर्षको बसार्इ खर्च १२ हजार क्यानडियन डलर अर्थात नेपाली १० लाख रुपैंया रहेको छ। विद्यार्थीले काम गर्ने प्रावधान कस्तो छ ? क्यानाडामा अध्ययन भिसासँगै काम अनुमति भिसा विद्यार्थीहरूलाई दिइएको हुन्छ । क्यानडामा अध्ययनको क्रममा अन्तर्राष्ट्रिय विद्यार्थीले क्याम्पस भित्र र बाहिर काम गर्न अनुमति दिइएको छ । विद्यार्थीलाई क्याम्पस भित्र काम गर्न कुनै अनुमति आवश्यक पर्दैन । क्यानडा सरकारले उनीहरुलाई हप्ताको २० घण्टा अनुमति दिएको छ । क्याम्पस बाहिर विद्यार्थीहरुको लागि होटलहरू, होस्टल, ट्यूशन टिचरको रुपमा पार्ट टाईम काम उपलब्ध हुन्छन् । स्नातक तह पूरा गरेपछि, विद्यार्थीहरूले दुई वर्षका लागि काम गर्न सक्छन् र काम गरेको एक वर्ष पुगेका विद्यार्थीहरुले क्यानडाको स्थायी निवासी(पीआर) हुनको लागि आवेदन दिन सक्छन् । क्यानाडाको आप्रवासन नियमले सजिलाई भिसा दिने गरेको छ । अध्ययनको क्रममा विद्यार्थीहरूले आफ्नो जीवनको आवश्यकतालाई पूरा गर्न हप्तामा २० घण्टासम्म काम गर्न सक्छन्। यस्तै जाडो र गर्मी बिदामा विद्यार्थीहरुले फुल टाईम काम गर्न पाउँछन् । क्यानडाका विश्वविद्यालय भित्र पनि थुप्रै अवसरहरू उपलब्ध छन्, जुन विद्यार्थीहरूको लागि धेरै धेरै उपयोगी छन् । यस्तै क्यानडामा स्नातकोत्तर पछि विद्यार्थीहरुलाई रोजगारको क्षेत्रमा धेरै अवसर रहेको छ। राम्रो सिप र ज्ञान भएका विद्यार्थीहरुले प्रतिष्ठित कम्पनीहरुमा काम पाउने सम्भावना एकदमै बढी हुन्छ। कति कमाउँछन् ? क्यानाडामा अन्तर्रास्ट्रिय विद्यार्थीहरुलाई घण्टाको १० क्यानाडियन डलर पे गरिने प्रावधान रहेको छ। यसको अर्थ विद्यार्थीहरुले हप्तामा २ सय क्यानाडियन डलर कमाउँछन् र महिनामा ८ सय क्यानडियन डलर कमाउँछन् । ८ सय क्यानाडियन डलर भन्नाले करिब नेपाली ७० हजार हो । यसको साथै जाडो, गर्मी बिदामा विद्यार्थीहरुले फुल टाईम काम गरेर आफ्नो जिविकोपार्जन गर्न सक्छन् । कस्तो छ क्यानाडाको मौसम ? क्यानडाको मौसमको कुरा गर्नु गर्मी मौसम धेरै नै राम्रो हुन्छ । जाडो भने अलिक धेरै नै हुने गरेको छ । गर्मीको समयमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस सम्म माथि जान्छ । तर, जाडोको समयमा कम्तीमा २० डिग्री सेल्सियस सम्म पुग्नेछ । त्यसैले क्यानडामा मानिसहरु जाडो महिनामा धेरै समय घरभित्र नै बिताउँछन् । (ड्रिम डेस्टिनेसन एजुकेसन फाउन्डेसनको लागि क्यानडाको शैक्षिक परामर्शदाता कपिल उप्रेतीसँग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानीमा आधारित )

रङ्गशाला बनाउन महानगरका कर्मचारी र जनप्रतिनिधिद्वारा साढे ५१ लाखको सहयोग

रत्ननगर । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस¬–सुन्तली फाउण्डेसनलाई रु ५१ लाख ५० हाजर सहयोग गरेका छन् । महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । महानगरपालिकाका २९ वटै वडाका कर्मचारी र जनप्रतिनिधिबाट सो रकम सङ्कलन गरिएको थियो । उनले रङ्गशाला निर्माणका लागि जिल्लावासी जुरमुराएका छन् भन्दै यो रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पनि माहोल सिर्जना गर्नुपर्नेमा जोड दिइन् । सो रङ्गशाला निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु पाँच करोड ४५ लाख विनियोजन गरिसकेको छ भने प्रदेश नं ३ बाट पनि रु पाँच करोड विनियोजन भएकाले अहिले डिपिआर निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिएका छन् । गत माघ १६ गते उक्त फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो । रासस

लोकदोहोरी क्षेत्रका पाँच कलाकार सम्मानित

लमजुङ । लोकदोहोरी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत पाँच जना कलाकारलाई यहाँ सम्मान गरिएको छ । शनिबार बेँसीशहरमा आयोजित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा लमजुङको सातौँ अधिवेशन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा माया गुरुङ, विमाकुमारी दुरा, अनुज अधिकारी, प्रशान्त तामाङ र प्रिती गिरी रहेका छन् । प्रतिष्ठान केन्द्रीय प्रथम उपाध्यक्ष तथा गायक पशुपति शर्मा, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरेको हो । सो अवसरमा उपाध्यक्ष शर्माले कलाकारिता क्षेत्रको विकास, विस्तार र उन्नयनमा सम्बन्धित सबै पक्ष इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी, नगरप्रमुख अर्यालले कलाकारले गीतमार्फत समाजलाई परिवर्तन गर्नसक्ने भएकाले सोही अनुरुपको गीत गाउनुपर्ने बताउँदै कलाकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले सहयोग गर्ने धारणा व्यक्त गरेका हुन् । यसैगरी, प्रतिष्ठानको सातौँ अधिवेशनले अनुज अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा टसबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा शर्मिला थापा, प्रथम महिला उपाध्यक्षमा प्रिती गिरी, सचिव प्रशान्त तामाङ, कोषाध्यक्ष पूजा गुरुङ, सहसचिव सबिन गुरुङ र सहकोषाध्यक्षमा लक्ष्मी तामाङ सर्वसम्मत रुपले चयन भएको प्रतिष्ठानले जनाएको छ । रासस

अब जुम्लाका गर्भवती र सुत्केरीलाई पूर्ण निःशुल्क हवाईसेवा

खलंगा । जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि नै पूर्ण रूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । तत्कालीन कर्णालीका पाँच जिल्लासहित ३४ जिल्लामा पूर्ण र आंशिक रूपमा निःशुल्क हवाई उद्धार सेवा सञ्चालनमा आएको हो । लगातार लामो प्रसव व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात अत्याधिक रक्तश्राव भएको अवस्थामा पूर्णरूपमा निःशुल्क हवाईसेवामार्फत उद्धार गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले रक्तअल्पता भएका गर्भवती, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई अब सहजै रूपमा निःशुल्क हवाईसेवाबाटै उद्धार गर्न सकिने बताएका छन् । उहाँले भन्नुभयो, “अब ग्रामीण क्षेत्रमा सुत्केरी तथा गर्भवती महिलालाई ज्यानको जोखिम परेको खबर आउनेबित्तिकै उद्धार गर्न सकिने अवस्था छ । दुर्गमका कुनै पनि जोखिमखालका गर्भवती सुत्केरी स्वास्थ्य उपचार अभावमा मृत्युका मुखमा पर्नबाट बच्न सफल हुनेछन् ।” यसरी, हवाई उद्धार गरिएकी महिलाको नागरिकताको प्रमाणपत्र, स्थानीय तहको हवाई उद्धार समन्वय समितिको बैठकको निर्णय र स्थानीय स्वास्थ्य संस्थाको प्रमुखसहित दुई स्वास्थ्यकर्मीको सिफारिसपत्र मन्त्रालयमा पेश गर्नुपर्ने प्रावधान छ । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएको पायक पर्ने अस्पतालमा पुर्याइने व्यवस्था मिलाइएको छ । सबै जिल्ला समन्वय समितिमार्फत तिला गाउँपालिकाको वडा नं ५ कनकासुन्दरी र पातारासी गाउँपालिकाको चुकेनीमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा हेलिप्याड बनेका छन् । अन्य स्थानीय तहमा नजिकैको प्रहरी चौकीको सहायतामा प्रत्येक वडामा हेलिप्याड तयार भइसकेका छन् । गर्भवती र ठूलो विपद्को उद्धारका लागि ती हेलिप्याड निकै प्रभावकारी हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । नेपालका दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, पूर्वीरुकुम, रुकुमपश्चिम, सल्यान र रसुवा जिल्लामा हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ पूर्णरूपमा लागू भएको छ । यसैगरी सिन्धुपाल्चोक, धादिङ, गोरखा र बागलुङ जिल्लामा आंशिक रूपमा लागू भएको हो । रासस

टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर

काठमाडौं । सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको हो । यस हारसँगै नेपाल विश्वकपको ग्लोबल छनौटमा पुग्न असफल भएको छ । यता विजयी हासिल गरेको सिङ्गापुर समूह विजेता बन्दै ग्लोबल छनौटमा पुगेको छ । सिङ्गापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०९ रनमा समेटियो । नेपालले २७ रन जोड्दा पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमायो । त्यस्तै, नेपालका दीपेन्द्र सिंह ऐरीले २३ र सोमपाल कामीले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई यस्तै समेट्ने क्रममा सिङ्गापुरका सिलाडोरे विजयकुमार एक्लैले ४ विकेट लिए भने भिनोद भास्करणले २ झारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको सिङ्गापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको योगफल बनायो । उसका लागि टिम डेभिडले सर्वाधिक ७७ रनको योगदान दिँदा रोहन रङ्गराजनले ४९ रन जोडे । त्यस्तै मनप्रीत सिंहले ४२ रन जोडे । नेपालका अविनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट हात पारे । रासस