विकासन्युज

रामग्राम नगरपालिकामा बौद्ध सङ्ग्रहालय स्थापना हुँदै, प्रदेश सरकारले दियाे एक करोड

परासी । महामानव गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप क्षेत्रमा प्रदेश ५ सरकारले स्थापना गर्ने उक्त सङ्ग्रहालयका लागि प्रक्रिया पनि शुरु गरिएको छ । प्रदेश सरकारले चालू आव को बजेटमा उक्त स्तूपमा बुद्धकालीन सङ्ग्रहालय स्थापना गर्ने घोषणा गर्नाका साथै रु एक करोड विनियोजन गरेको छ । अहिले सङ्ग्रहालय निर्माणका लागि आवश्यक जग्गा खोजी भइरहेको रामग्राम नगरपालिकालाई जग्गा उपलब्ध गराउन पत्राचार गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले राससलाई जानकारी दिएका छन् । उनले भने, “नगरपालिकाले जग्गा उपलब्ध गराएपछि सूचना प्रकाशन गरिन्छ, यसै वर्ष निर्माण हुने उक्त सङ्ग्रहालयमा बुद्धकालीन पुरातात्विक वस्तु तथा चित्र सङ्ग्रह गरिनेछ, त्यसबाट बुद्धकालीन अवस्थाबारे देशविदेशबाट आउने पर्यटकले जानकारी पाउनाका साथै पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको छ ।” सङ्ग्रहालयमा बुद्धको जीवनीसँग सम्बन्धित वस्तु तथा बुद्धकालमा प्रयोग हुने गरेका भाँडाकुँडा, सिक्का, इँटा, त्यसबेलाका घरका आकृत्तिलगायत पुरातात्विक वस्तु राखिनेछ । प्रदेश सरकार लुम्बिनी भ्रमण वर्षका अवसरमा रामग्रामलाई उच्च महत्व दिएर यसको प्रवद्र्धनमा लागेको हो। सन् १९९९ देखि २००२ सम्म स्तूप वरिपरि उत्खनन गरिएकामा त्यसपछि लामो समयसम्म यहाँ थप उत्खनन हुन सकेको छैन । उत्खननका क्रममा मौर्यकालदेखिका इँटाका विभिन्न खण्डहर, कुषाणकालीन तामाका मुद्रा, खैरो रङका माटाका भाँडावर्तनका टुक्रा, बालाका टुक्रा, माटाका मूर्ति, धातुका रड, बहुमूल्य पत्थर, जनावरका बङ्गारा, मानव अस्थिपञ्जरका साथै कला र अस्मिभूतका अवशेष भेटिएका थिए । पछिल्लो समय उक्त स्तूपको विकासमा प्रदेश सरकारले चासो लिन थालेपछि यहाँका नागरिक पनि उत्साहित छन् । मन्त्री चौधरीको पहलमा पूर्व–पश्चिम राजमार्गबाट रामग्राम स्तूपलाई जोड्ने गरी दुई वडास्तरीय सडकमार्ग निर्माण गरिएको छ । स्तूप र देउरवा जोड्ने पुल नहुँदा त्यहाँको विकास पछि परेको गुनासो आएकाले अहिले उनकै पहलमा पुल बनाउन पनि बजेट विनियोजन गरिएको छ । लुम्बिनी विकास कोषले स्तूपको चौतर्फी विकासका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाएको छ । कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीका अनुसार स्तूपलाई ५०० मिटर रेडियसमा राखेर जग्गा अधिग्रहणको काम शुरु गर्न लागिएको हो । सो स्तूप पश्चिम नवलपरासी जिल्लाको प्रमुख पर्यटकीयस्थल हो । हालै १०० गन्तब्य सूचीमा समावेश यो स्थल विश्वसम्पदा सूचीमा सूचीकृतका लागि पर्खाइमा छ । धार्मिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्व रहेको सो स्तूप झरही नदी किनारमा अवस्थित छ । सुन्दर बगैँचा एवं वनभोजका लागि उचित स्थान रमणीय पनि छ । रामग्राम बुद्धको अष्तुधातु यथास्थितिमा राखिएको स्थल भएको र बुद्ध धर्मावलम्बीले बुद्ध त्यहाँ जीवित रहेको मान्यता राख्ने गरेको स्तूप संरक्षण समितिका अध्यक्ष शम्भु उपाध्यायले बताए । “यसलाई बुद्धको महत्वपूर्ण धामका रूपमा लिने गरिएको छ, बौद्ध भिक्षु–भिक्षुणी तथा बौद्ध धर्मावलम्बी यहाँ प्रार्थना गर्दा शान्ति मिल्ने विश्वासले आउने गरेका छन्”, उपाध्यायले भने । रामग्राम महामानव गौतमबुद्धको मावली गाउँ भएको र उनको बाल्यकालको क्रिडास्थल तथा प्राचीन कोलीय गणराज्यको राजधानी रहेको विश्वास गरिन्छ । सो स्तूप पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा पर्दछ छ । झरही खोलाको किनारको समतल मैदानमा रहेको थुम्को नै रामग्राम स्तूप हो । असी फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको यो स्तूप माटोबाट बनेको छ । बौद्ध गन्थ्रअनुसार भगवान् गौतमबुद्धको महापरिनिर्वाण भएपछि उनको शवलाई दाहसंस्कार गराउँदा भस्म नभई मोतीको आकारमा चम्किलो दाना बनेका थिए । तिनै दानालाई अस्तु धातु भनिएको हो । यी अस्तुधातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शाक्य, कोलीय, गवराज र मल्लसमेत आठ राज्यका राजा आई बाँडेर लिएको र विभिन्न स्थानमा आठ वटा स्तूप निर्माण गरिएको ऐतिहासिक आख्यान छ । यहाँ आन्तरिक तथा बाह्य गरी वार्षिक ३० हजार बढी पर्यटक आउने गरेका छन् । स्तूपको विकास, प्रवद्र्धन र संरक्षणको जिम्मेवारी लुम्बिनी विकास कोषको अधिनमा छ । रासस

पोखरामा दक्षिण एशियाली खेलका लागि ह्याण्डबल प्रशिक्षणको शुभारम्भ

चिप्लेढुंगा । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन् । उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिँदै राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । गुरुङले तोकिएकै समयमा नेपालमा साग हुने बताएका हुन् । उनले खेलाडी र प्रशिक्षकलाई भत्तालगायतका सुविधा थप गर्न परिषद्ले गृहकार्य थालेको समेत जानकारी दिए । कार्यक्रममा नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नो अनुशासनमा रही पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलाडीलाई आग्रह गरेका छन् । सागअन्तर्गत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरी ५६ खेलाडी पहिलो चरणको छनोटमा परेका छन् । सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा २०७६ मङ्सिर १५ देखि २४ सम्म हुनेछ । रासस

रामपुरमा ६० परिवारलाई गोबरग्यास वितरण गरिँदै

चितवन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्ने गरी २०० घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो । कार्यक्रमका प्रमुख डा. माधवप्रसाद आचार्यका अनुसार गोबरग्यास प्लान्ट निर्माण गरी घर–घरमा पाइप लाइन विस्तारको कामसमेत भइसकेको छ । त्यहाँ उत्पादित ग्यास कार्यक्रमका कर्मचारीको आवास, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका कर्मचारीका आवास, प्रयोगशाला, गेष्टहाउस, खाजाघरमा जडान गरिएको हो । त्यहाँ चाहिने चुलो, लाइटर, सवमिटरसमेत खरिद गरिसकेको छ । आचार्यले दुई महिनाभित्र परीक्षणका रूपमा ग्यास वितरण गरिने बताए । प्लान्टको ट्याङ्कीमा शुरुमा दुई लाख किलो गोबर आवश्यक पर्ने भएकाले केही दिन समय लागेको उनको भनाइ छ । फार्ममै रहेका गाईको गोबर सङ्कलन गरी ट्याङ्की भर्ने काम भइरहेको छ । ती गाईको दैनिक तीन हजार किलो गोबर सङ्कलन हुने गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८० लाख र कार्यक्रमको रु ६५ लाख लागतमा गोबर ग्यास प्लान्ट निर्माण गरिएको हो । यो सफल भएमा कार्यक्रमका अन्य सात ठाउँमा ग्यास उत्पादन गर्ने तयारी गरिएको छ । यसरी, छ महिनासम्म परीक्षणका रूपमा निःशुल्क ग्यास वितरण गरिने भए पनि त्यसपश्चात सवमिटर हेरेर राजश्व असुल गरिनेछ । यसले राष्ट्रियरूपमा महत्व र सन्देश दिने भएकाले सरकारका उच्च अधिकारी निम्ता गरेर औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । रासस

नहर बगाउँदा विद्युत् सेवा अवरुद्ध, कार्यालयको दैनिक कामकाज ठप्प

मार्तडी । जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको बाउलीखोलाले नहर बगाउँदा शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । लेकाली भेगमा अविरल वर्षापछि खोलामा बाढी बढेकाले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताएका छन् । उनले खोला एकतर्फी बगिरहेकाले आइतबार साँझसम्म विद्युत् सेवा सञ्चालन हुनसक्ने बताए । एकसातादेखि अनियमित हुँदै आएको विद्युत् पुनः खोलाले नहर बगाउँदा सेवाग्राही अझै मारका परेका छन् । विद्युत् सेवा नहुँदा यहाँका सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न इलेक्ट्रोनिक सञ्चारमाध्यमसमेत ठप्प भएका छन् । एकसाता अघि विद्युत्को जेनेरेटरमा आगलागी हुँदा अनियमित हुँदै गएको विद्युत् खोलाले नहर बगाउँदा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा यहाँ कार्यालयको दैनिक कामकाज ठप्प हुनुका साथै सेवाग्राही मर्कामा परेका छन् । जलविद्युत् केन्द्रमा हाल १३ सय बढी ग्राहक छन् । रासस

एभरेष्ट बैंकद्वारा टिच फर नेपाललाई ५ लाख सहयोग

काठमाडौँ । एभरेष्ट बैंकले शिक्षा क्षेत्रतर्फको संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत टिच फर नेपाललाई सहयोग निरन्तरता दिँदै चेक हस्तान्तरण गरेको छ । बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको हो । टिच फर नेपाल विश्वविद्यालयका उत्कृष्ट स्नातक र अनुभवी युवाहरुको मुभमेन्ट हो जो शिक्षामा भएको असमानतालाई अन्त्य गर्न प्रतिबद्ध रहेका छन् । उनीहरुले विगत २ वर्षदेखि नेपालका सार्वजनिक विद्यालयहरुमा अध्यापन गराइरहेका छन् । एभरेष्ट बैंकले नेपालका सरकारी तथा सार्वजनिक विद्यालयहरुमा शिक्षा, सरसफाई तथा खानेपानीमा सहयोग पुर्याइरहेको छ ।

जङ्गली जनावर धपाउन हानेको गोली लागेर एक युवकको मृत्यु

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो । गए राति करिब १०ः४५ बजेको समयमा सलामी डाँडावनमा आएका जङ्गली जनावर धपाउनलाई गोली हान्दा तपेशको टाउकोमा उक्त गोली लागेर मृत्यु भएको भन्ने खबर आएको प्रनाउ धामीले बताएका छन् । उनले भने, “जङ्गली जनावर धपाउन हानेको गोली लागेर मृत्यु भएको भन्ने खबर आएको छ, जिल्लाबाट थप अनुसन्धानका लागि प्रहरी टोली गएको छ, टोली पुगेपछि बाँकी विवरण भन्न सकिनेछ ।” गोली प्रहार गर्ने जङ्गे भुल र उनले प्रयोग गरेको भरुवा बन्दुक प्रहरी चौकीमा नियन्त्रणमा लिएको बताइएको छ । रासस

दुग्धजन्य पदार्थको बजार गुम्ने चिन्ता छः सुमित केडिया

सरकारले तीन वर्षमा देशलाई दूधबाट आत्मनिर्भर बनाउने लक्ष्य अघि सारेको छ । यस परिस्थितिमा विभिन्न समस्याको बाबजुत पनि उद्योगहरू स्थापित बन्दै गएका छन् । गुणस्तरीय दूध उत्पादन व्यवसायीकोमात्र नभइ समग्र सरोकारवालाको हात रहेको बताउने डेरी एशोशिएसनका पूर्व अध्यक्ष तथा सिताराम गोकुल मिल्क लिमिटेडका प्रवन्ध निर्देशक सुमित केडियासँग गरिएको विकास बहसः पछिल्लो समय दूध डेरीको बजार कस्तो छ ? पछिल्लो समय दूध डेरीको बजार राम्रो बन्दै गएको छ । समय अनुसार दुध तथा दुग्धजन्य पदार्थबाट उत्पादित वस्तुप्रति आम उपभोक्ताको हेर्ने दृष्टिकोण फरक आएकोे छ । नेपाल सरकारको सहयोग र सहकार्यले नै डेरी व्यवसाय यस अवस्थामा पुगेको हो । नेपालमा शुरुमा औषधी उत्पादन हुँदा आम ग्राहकले त्यसको अर्थ बुझेका थिएनन् । त्यसको मर्म बुझेपछि नेपाली औषधीले बजारमा जसरी प्रभाव जमायो । डेरी क्षेत्र पनि विस्तारै त्यसरी नै अघि बढ्दै छ । हरेक वस्तुमा गुणस्तरियतामा प्रश्न चिन्ह लाग्दै आइरहेको छ ? दूधको गुणस्तर वारे आम उपभोक्तालाई के भन्नु हुन्छ ? नेपालीे दूध तथा दुग्धजन्य पदार्थ सेवन गर्न अयोग्य छैनन् । आम उपभोक्ताले उमालेर ढुक्कका साथ दुध पिउन सक्नु हुन्छ । गुणस्तरमा मात्र नभई मूल्य निर्धारणको विषयमा समेत किसान र व्यवसायीबीच हरेक विषयमा हामी स्पष्ट हुँदै गएका छौं । हामी व्यवसायी किसानबाट दुध किन्छौ र पैसा पठाउँछौं । उद्यमी र किसानबीच आ– आफ्नो क्षेत्रबाट के कसरी राम्रो गर्न सकिन्छ, दुधको गुणस्तर कसरी कायम गर्न सकिन्छ भनेर सरोकारवाला पक्ष समेत सचेत छ । यस हामीबीच सहकार्य गर्ने अभ्यासको विकास भएको छ । जुन अत्यन्त सकारात्मक हो । २० वर्षे कृषि रणनितिमा ३ वर्षभित्र दुधबाट देशलाई आत्मनिर्भर बनाउने उल्लेख गरिएको छ ? के यो सम्भव छ ? सरकारले तीन वर्षमा दुध, दुई वर्षमा मासु र एक वर्षमा अण्डाले नेपाललाई आत्मनिर्भर बनाउने रणनीति अघि सारेको हो । अण्डामा नेपाल अत्मनिर्भर भएसँगै मासुमा पनि आत्मनिर्भरको बाटो खोजिरहेको छ । यस अवधिमा दुध उत्पादनमा केही सुधार आएको छ । तै पनि यहि मितिबाट हामी आत्मनिर्भर हुन्छौं भन्न सक्ने अवस्था छैन । यस भित्र भएका विभिन्न कमी कमजोरीहरुलाई सुधार गर्दै अगाडी बढ्नु पर्ने देखिन्छ । मुख्यत अहिले दुध उत्पादनमा नै समस्या देखिएको छ । किसानले जबसम्म राम्रो दुध उत्पादन गर्न सक्दैनन् तबसम्म हामी जस्ता व्यवसायीले बजारमा गुणस्तरीय दुध वितरण गर्न सकिदैन । गाई भैंसीमा नश्ल सुधारका साथै सन्तुलित आहारको व्यवस्थापन गर्न सकियो भने कम समयमा नै लक्ष्य हासिल गर्न सकिन्छ । त्यसो भए हामी प्राविधिक विषयमा हामी निकै पछाडि छौ भन्ने होइन त ? हाल नेपाल सरकारले लाइभ स्टक इनोभेसन प्रोजेक्ट अगाडी सारेको छ । आठ अर्बको उक्त प्रोजेक्ट ४ अर्ब नश्ल सुधारका लागि र ४ अर्ब आहार व्यवस्थापनका लागि छुट्याएको छ । यसलाई सही ढंगले कार्यान्वयनमा लगियो भने समस्या समाधान सम्भाव छ । यस क्षेत्रमा अझै प्राविधिकको ठूलो समस्या छ । राम्रो प्राविधिक पाउन नसक्दा यसको असर व्यवसायमा समेत पर्ने गरेको छ । अब सिटीभिटीले प्राविधिक तालिम दिनको लागि जुन पाठयक्रम बनाउँदै आएको छ, त्यसमा सम्बन्धित क्षेत्रका विज्ञ तथा व्यवसायीलाई समावेश गरेर पाठ्यक्रम बनाउनु पर्छ भन्ने हाम्रो मुख्य आवाज हो । यस क्षेत्रमा अध्ययनरत विद्यार्थीहरु सैद्धान्तिक ज्ञान भएपनि प्रयोगात्मक ज्ञान हुँदैन । यससँग सम्बन्धित विज्ञको सल्लाह बमोजिम पाठयक्रम बनाउनु आवश्यक छ । सिताराम डेरीको शुरुवात गर्नु भएको कति वर्ष भयो ? सुरुवातको समय कस्तो थियो र आज कुन रुपमा स्थापित भएको छ ? सिताराम डेरी स्थापना भएको २४ वर्ष पुरा भई २५ वर्षमा प्रवेश गर्दैछ । काठमाडौंको मच्छेंगाउँमा यसको प्लान्ट छ । ठूलो मेहनतले आज आम उपभोक्ता समक्ष पुग्ग सफल भएका छौं । दूध पेरिसियल गुडस् भएकोले लामो समयसम्म टिक्न र टिकाउन गाह्रो हुन्छ । गोठदेखि ओठसम्म हरेक कुरालाई ध्यानमा राख्नु पर्ने भएकाले चुनौती धेरै छ । अश्वस्त बजारले डेरी व्यवसायलाई टिकाउन, विस्तार गर्न गाह्रो भईरहेको छ । बजारमा गुणस्तर भन्दा पनि कमिशले प्राथमिकता राख्छ । धेरै कमिसन दिनेको सामान बजारले सहजै स्वीकार्छ कम दिनको सामान राम्रो भएपनि ओझेलमा पर्छ । बजारको यो प्रवृतिले हामी जस्ता गुणस्तरलाई ध्यानमा राखेर अघि बढ्नेलाई व्यवसाय टिकाउन छ । सहुलियत पाएका वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्दा हरेक पाइलामा चुनौती छ । बजारलाई व्यवस्थित बनाइ, उपभोक्ताको चुलोमा गुणस्तरीय दुध पुर्याउन सरकारले पोका दुधलाई नियन्त्रण गर्ने नीति ल्याएको थियो । यसको कार्यान्वयनको पछिल्लो पछिल्लो अवस्था कस्तो छ ? कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याएको पोका दुध नियन्त्रण सम्बन्धी नीतिमा किसानले आफ्नो गोठबाट उपभोक्ताको घर–घरमा लैजाने विषयमा कुनै गुनासो छैन । बिक्री वितरणको प्रक्रियामा गएपछि अनिवार्य प्याकेजिङ्मा हुनु पर्छ भन्ने विषयमा नीतिमा स्पष्टता पारिएको छ । दुध तथा दुग्धजन्य पदार्थको स्वच्छता सम्बन्धी निर्देशिकामा लेखिएका कुराहरु कार्यान्वयन हुन सकिरहेको छैन । डेरी एशोशिएसन भित्रकै पदाधिकारीहरुको मिलिमत्तोमा निर्देशिकामा लेखिएका विषयलाई कार्यान्वयमा लैजान रोकावट भइरहेको छ भन्ने कुरा बाहिर आइरहेको छ,  आखिर कुरा के हो ? सरकारले व्यवसायीको हकहितका लागि नीति ल्याउँछ भने हामीले त्यसलाई स्वीकार गर्दिन भन्न मिल्दैन । सरकारले ल्याएको नीति नियमहरू मान्नु हामी व्यवसायीको दायित्व हो । नेपाल डेरी एशोशियसनमा हाल पाँच सयभन्दा बढी सदस्य रहेका छन् । एशोशियसनले आफ्ना सदस्यहरुलाई मात्र नीति नियममा राख्न सक्छ । अन्यलाई सरकारलेनै लगाम लगाउनु् पर्ने हुन्छ । एसोशियसनले सातै प्रदेशमा डेरी शाखा विस्तार गरेको छ । दैनिक कति दुध उत्पादन हुन्छ, बजारको माग कति हो ? नेपालमा प्रत्येक दिन ४८ लाख लिटर दुध उत्पादन हुने गरेको छ । ५० प्रतिशत दुध किसान आफुले नै उपभोग गर्छ भने १५ प्रतिशत दुधमात्र औपचारिक क्षेत्र .(फर्महरू) मा पुग्छ । ३५ प्रतिशत किसान आफैले प्रत्यक्ष पसल, होटल तथा रेष्टुरेन्टमा पुराउँछन् । हाल दैनिक ७ लाख लिटर दुधको माग छ । यो क्रम दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । सरकारले पाउडर दुध प्रतिवन्द लगाएको छ । यसबाट हामीलाई फाइदा/बेफाइदा के हुन्छ ? जाडो मौसममा दुध उत्पादन बढ्छ भने गर्मीमा दुधको उत्पादन घट्छ । गर्मी महिनामा नै दुधजन्य उत्पादनको माग बढी हुन्छ । यो मौसममा दुध पुग्दैन । यस्तो अवस्थामा संसार भरि नै बजारको मागलाई परिपूर्ति गर्न पाउडर दुध नै प्रयोग हुने हो । नेपालको सदन्र्भमा सरकारले आवश्यकता अनुसार बजारमा दुध पूर्ति गर्न सकेको छैन । पाउडर दुध बन्द हुँदा बजारको आवश्यता परिपूर्ति गर्न गाह्रो भएको अवस्था छ । यस्तो अवस्थामा हामी जस्तो उद्यमीले बजार पहुँच घटाउनुको विकल्प छैन । यस विषयलाई लिएर कुरा उठिरहेको छ । भोलिका दिनमा बजारमा विदेशी उत्पादनले बजार पहुँच बढाउन सक्छन् । बजार गुम्ने चिन्ता आम व्यवसायी रहेको छ । उत्पादन तथा वितरणमा समस्या भईरहँदा यो विषयमा सरकार गम्भिर हुनु पर्ने देखिन्छ । बजारमा हाल कति उत्पादन तथा वितरणको अवस्था कस्तो रहेको छ ? पहिला ४० प्रतिशत उत्पादन रहेको थियो । हाल अस्वस्थ बजारका कारण २५ प्रतिशतमा झरेको छ । दोस्रो कारण स्पष्ट सरकारको नीति नियम नहुँदा उपभोक्ताले दुधको माग गरिरहे पनि वितरण गर्न सकिरहेका छैनौं । विभिन्न कारणले उत्पादन भएको दुधमध्ये २५ देखि ३० प्रतिशत मात्र बजारमा पुग्छ । पछिल्लो समय बजारमा मात्र नभई किसानमा पनि अस्वस्थ प्रतिस्पर्धा भईरहेको छ । यसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ध्यान दिनु पर्ने अवस्था रहेको छ । सिताराम डेरीको दुधभन्दा घ्यू बजारमा राम्रो मानिन्छ, के छ यस भित्रको राज ? किसानले नै दुध उत्पादन गर्ने हुँदा त्यस भित्रको गुणस्तर किसानमा नै निर्भर हुन्छ । तर, हाम्रो डेरीको मुख्य चाहना तथा उद्देश्य गुणस्तरयुक्त दुधजन्य उत्पादन उपभोक्ता सामु पुर्याउनु हो । घ्यू आम ग्राहकले मन पराउनु भएको छ । हाम्रा सबै उत्पादन उस्तै छन् । उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने हाम्रो प्रयास अहिलेसम्म पनि जारी छ र भोलिपनि रहिरह्ने छ । कृषकबाट ल्याउने दुधमा थप सुधारको आवश्यकता रहेको हामीले महसुस गरिरहेका छौं । हालै मात्र विशालनगर र महारानगञ्ज भाटभटिनीमा पनि सीताराम दुध तथा दुग्धजन्य पदार्थ राख्न थालिएको छ । दुधको वितरण उपत्यकामा मात्र रहेको छ भने घ्यूको वितरण उपत्यका बाहिर राम्रो छ । पछिल्लो समय समग्र डेरीमा दुग्धजन्य पदार्थको गुणस्तर कस्तो रहेको पाउनु भएको छ ? प्याकेटको दुध सिधै पिउन सकिन्छ भन्ने सुनिएको थियो यो साच्चै हो ? स्पष्ट पारिदिनुस् न ? पहिलाको तुलनामा दुधको गुणस्तरमा धेरै सुधार भएको छ । दुधसँग पटक पटक कोलिफर्म (जीवाणु)को कुरा जोडिएर आउने गरेको छ । यो विषादी होइन, दुधलाई उमालेर खाए कोलिफर्मले कुनै असर गर्दैन । भौगोलिक बनावट अनुसार वस्तु उत्पादनको मापदण्डतय गर्नु पर्छ । विदेशी नीति नियमलाई नक्कल गर्नु भन्दा वातावरण अनुसार उत्पादित वस्तुअनुसारको नीति बनाउनु पर्छ । गुणस्तरिय दुध भएपनि उपभोक्तालाई उमालेरै प्रयोग गर्न हाम्रो सल्लाह रहेको छ । सिधै प्याकेटबाट काटेर पिउने अवस्था हामीले सिर्जना गर्न सकिरहेका छैनौ । सबैको साथ र सहयोग भए हामी यसबाट पनि मुक्त हुन सक्छौ । केडिया समूहको आगामी दिनका योजनाहरु के छन् ? कसरी अगाडी बढ्दै हुनुहुन्छ ? कृषि क्षेत्र प्रति मेरो भिन्न प्रकारको आत्मियता गाँसिएको हुँदा म यस क्षेत्रलाई निरन्तर रुपमा अगाडी बढाउने छु । पछिल्लो समय दैनिक जीवनका उपभोग्य वस्तुहरु दुधसँगसँगै तरकारी फलफुलको क्षेत्रमा केहि गर्नु पर्छ भन्ने सोच पनि विकास भएको छ । आफुलाई यसै क्षेत्रमा स्थापित गर्ने तयारीमा छु । हामी आफ्नै उत्पादनमा आत्मनिर्भर हुनसक्ने सम्भावना हुँदा हु्ँदै पनि किन प्रयास नगर्ने भन्ने हिसावले यस क्षेत्रमा केहि गर्ने विचार आइरहेको छ । कति लगानी तथा रोजगारी सिर्जना भएको छ डेरी उद्योगमा हाल ? डेरी व्यवसायमा करिब २० अर्ब लगानी रहेको छ । पाँच लाख किसानहरु यसमा आवद्ध छन् भने उद्योग स्तरमा हाल २० हजार भन्दा बढी आवद्ध छन् । कुल ग्रार्हस्थ्य उत्पादनको ९ प्रतिशत यस क्षेत्रले सहयोग पुराएको छ । कृषि क्षेत्रमा विदेशी लगानीको सम्भावना कस्तो छ ? यस क्षेत्रमा विदेशी लगानीको सम्भावना जति पनि छ । नेपाल कृषि उपजमा आत्मनिर्भर हुँदै गइरहेको अवस्था छ । यसलाई अगाडी बढाउने दायित्व हाम्रो हो । त्यो क्षेत्रमा बाहिरी कम्पनीहरुले नेपालको बजारलाई धोस्त बनाउन लाग्दै गरेको अवस्था छ । अहिले मौरी, माछा र दुधमा ८०-९० प्रतिशत आत्मनिर्भर भईसकेको अवस्था छ । फेरि पनि विदेशी कम्पनीहरु विभिन्न तवरले प्रवेश गरिरहेका छन् । यसको असर हाम्रा आम किसान तथा उद्योगमा पर्न जाने देखिन्छ । आफ्नै माटोमा केहि गर्नु पर्छ भन्ने कुरालाई उनीहरुको लगानी तथा प्रविधिले साँघुरो बनाउँछ । टिक्न सकिदैन । त्यसकारण अब नेपाल सरकारले आफ्नो स्पष्ट नीति र नियम अनुसार नेपाली आत्मनिर्भर बनाउने हो कि अझै पनि विदेशीको पछि लाग्ने हो त्यसमा ध्यान दिनु पर्ने समय आएको देखिन्छ । उद्योगलाई मात्र स्थापित गर्ने हो कि हजारौं र लाखौ किसान र सयौं उद्योगलाई स्थापित गर्ने हो त्यो सरकारले तय गर्नु पर्छ । यसका राम्रा नराम्रा पक्षहरु सरकारका अगाडि राख्न हामी तयार छौं ।

महोत्तरीको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न, यातायात सञ्चालन

गौशाला । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएपछि गए रातिदेखि यातायात सञ्चालन भएको छ । असार २८ गते आएको भीषण बाढीले भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुलमा यातायात अवरुद्ध हुँदै आएको थियो । पुल बगाएपछि खोलामै डाइभर्सन भएर वा २५/३० किलोमिटर टाढाबाट घुमेर जङ्गलको बाटो हुँदै यातायात सञ्चालन हुँदै आएको थियो भने बाढी आएको बेला पटक–पटक डाईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएकामा गए राति सो खोलामा ४८.८ मिटर लामो बेलिब्रिज निर्माणकार्य सम्पन्न भएको र यातायात सेवा पनि सञ्चालन भएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख विनोदकुमार मौवारले बताएका छन् । उनका अनुसार सो बेलिब्रिजको क्षमता ९८ टन बोक्ने रहे पनि त्यसमाथिबाट अहिले एक पटकमा ३५ टन बोकेका यातायातका साधनलाई मात्रै इजाजत दिइएको हो । रासस