विकासन्युज

बैंकमा भएको क्रस होल्डिङ ‘मर्जर कि एक्जिट’, यसो भन्छ राष्ट्र बैंक

काठमाडौं । स्वेच्छिक मर्जर नीति अवलम्वन गरेको राष्ट्र बैंकले पछिल्लो समय वाणिज्य बैंकसँग क्रस होल्डिङको विवरण माग गरेको छ । बैंकले शुन्य दशमलव १ प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएका बैंकहरूबाट उक्त विवरण माग गरेपनि लगानीकर्ताको सेयर स्वामित्व उक्त बैंकबाट निकाल्ने लगाउने वा मर्जरमा जान बल गर्ने भने विषयमा भने केही बोलेको छैन । यसको अर्थ यस्ता बैंक तथा वित्तीय संस्थालाई कुन मोडलमा लैजाने अर्थात यस्ता बैंकलाई मर्जर जान फोर्स गर्ने वा उक्त बैंकबाट सेयर स्वामित्व झिक्न लगाउने भन्ने विषयमा भने राष्ट्र बैंकले कुनै छलफल नै गरेको छैन । क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थासँग हाल विवरण मात्र माग गरिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘सात दिनको अवधि दिएर बैंकहरूसँग वित्तीय विवरण माग गरिएको छ,’ उनले भने-‘त्यसपछि यस्ता बैंकलाई मर्जरमा जान प्रोत्साहन गर्ने विकल्पको रुपमा क्रस होल्डिङको विवरण माग गरिएको हो ।’ उक्त बैंकबाट सेयर झिक्न लगाउन पनि सकिन्छ ।’ यद्यपी राष्ट्र बैंकको दिशा भनेको मर्जन नै हो,’ उनले थपे । यसबारे विवरण आएपछि पुनः छलफल हुन्छ । अहिले बैंकहरूबाट विवरणमात्रै माग गरिएको छ । एक्जिट गर्न लगाउने अर्थात मर्जरमा जान बल गर्ने केही भनिएको छैन । राष्ट्र बैंकको नीति भनेको अन्ततः मर्जन नै हो, यद्यपि देशको अर्थतन्त्र र वित्तीय बजारको अवस्था हेरेर जे गर्दा उपयुक्त हुन्छ त्यहि नीति राष्ट्र बैंकले लिनेछ । राष्ट्र बैंकले बिहीबार सबै बैंक तथा वित्तिय संस्थाहरुलाई पत्र लेखेर आ–आफ्नो सेयरधनीहरुको विवरण मागेको हो । विवरण प्राप्त भएपछि मर्जरको मोडालिटी तयार पारिने राष्ट्र बैकले जानकारी दिएको छ । दुई प्रतिशतभन्दा कम सेयर स्वामित्व भएको थाहा नहुने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘हामीलाई दुई प्रतिशतभन्दा माथिको सेयर स्वामित्वको बारेमा मात्र जानकारी हुन्छ,’ उनले भने ‘कसमा कसको कति सेयर स्वामित्व छ भनेर बैैकहरूबाट विवरण नै आउनु पर्छ ।’ कुनै पनि वित्तीय संस्थाको स्रोतका अनुसार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक र एनआईसी एसिया बैंक, एनबी बैंक र एनसीसी बैंक, नविल बैंक र युनाइेटड फाइनान्स, सानिमा बैंक र माछापुच्छ्रे बैंकमा क्रस होल्डिङ रहेको हुन सक्ने अनुमान राष्ट्र बैंकले गरेको छ । सरकारी स्वामित्व रहेका बैंकहरू भने यो विषय (क्रस होल्डिङ) का बारेमा राष्ट्र बैंकले समेत केही नगर्ने भएको छ । नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकमा सरकारी लगानी रहेको छ ।

मिर्गौलाका बिरामीको चाप बढ्दै भेरी अस्पतालमा

राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने मिर्गौलाका बिरामीको चाप बढ्दो रहेको छ । अस्पतालमा अहिले दैनिक तीन चरणमा नौ जना मिर्गौलाका बिरामीको डायलासिस सेवा हुने गरेको अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा २३ जना मिर्गौलाका बिरामी डायलासिस सेवाका लागि आउने गरेका छन् । अस्पतालमा रहेका तीन वटा डायलासिस मेसिनमार्फत एक चरणमा तीन जनाको मात्रै डायलासिस हुने भएकाले अन्य बिरामी पालो कुर्न बाध्य छन् । अस्पतालमा डायलासिसका लागि आउने मिर्गौलाका बिरामीको चाप बढ्दो भएको जानकारी दिँदै अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डा. श्रेष्ठले भने, “अहिलेसम्म हामी कहाँ पालो पर्खेर बस्नुभएको बिरामीको सङ्ख्या २३ रहेको छ । बिरामीका आफन्त हरेक दिनजसो आउनुहुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य छौँ ।” बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । चार वटा मेसिन रहेकामा एउटा मेसिन बिग्रिपछि तीन वटा मेसिनले मात्र सेवा दिने गरिएको डा. श्रेष्ठले बताए । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रुपानन्द अधिकारीले बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको बताए । उनले बिग्रिएको मेसिन एक÷दुई दिन भित्रैमा मर्मत भई सञ्चालन हुने उल्लेख गर्दै मिर्गौलाका बिरामीलाई अस्पतालले सहजरुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएका छन् । रासस

डाँफे टोल विकासलाई मुक्तिनाथद्वारा डस्टबीन हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखालाई डस्टबीन हस्तान्तरण गरेको छ । टोखा-६, डाँफे बजार वरिपरिको सरसफाईमा ध्यान दिँदै बैंकले डस्टबीन वितरण गरेको हो । उक्त डस्टबीन मुक्तिनाथ विकास बैंक लि. टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका थिए ।

चेम्बरले लर्डबुद्धको सहकायर्मा सातै प्रदेशका १-१ छात्रालाई छात्रबृत्ति दिने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट एक-एकजना स्नातक तहका छात्रालाई छात्रवृत्ति दिने भएको छ । छात्रबृत्ति प्रदान गर्न चेम्बरले आवेदन आह्वान गरेको छ । आर्थिक अवस्था कमजोर भई उच्चशिक्षा हासिल गर्नबाट बञ्चित भएका मिहनति तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निःशुल्क पढ्ने वातावरण प्रदान गरी उनीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु हो । यो छात्रवृत्ति प्राप्त गर्र्ने विद्यार्थीले एपीयूसँग आबद्ध एलबीइएफ(लर्डबुद्ध) क्याम्पस मैतिदेबिमा ४ वर्षे बीए बिजनेस म्यानेजमेन्ट (बीबीएम–ई) स्नातक तह पढ्न पाउने छन् । +२ पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिन पाउने छन् । यो योजनाबाट महिला विद्यार्थीहरुले लाभ लिन सक्ने छन् । यो विषय अध्ययन गर्न चाहने छात्रा छात्रवृत्तिमा परेमा ६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्रदान गरिने चेम्बरले जनाएको छ ।

चार हजार मकवानपुरवासीले पाए नागरिकता

हेटौडा । घरदैलो सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा दुर्गम तथा ग्रामीण क्षेत्रमा शिविरमार्फत चार हजार ३७३ व्यक्तिलाई नागरिकता प्रदान गरेको छ । स्थानीय निकाय तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला बालबालिका वृद्धवृद्धा अशक्त, आर्थिक अभावग्रस्त तथा पिछडिएको समुदायलाई नागरिकता प्रदान गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार पुरुषभन्दा महिलाले बढी नागरिकता लिएका छन् । शिविरमा महिलाले दुई हजार ७२१ र पुरुषले एक हजार ६५२ वटा नागरिकता लिएको बताइएको छ । आर्थिक वर्ष २०७५/७६ मा विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा १२ पटक शिविर गरी नागरिकता वितरण गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा १६ हजार ६५९ वटा नयाँ नागरिकता वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा वंशजका आधारमा १६ हजार ६१३ जनालाई नयाँ नागरिकता वितरण गरेको हो । नागरिकता प्राप्त गर्ने पुरुष सात हजार १९ जना र महिला नौ हजार ५९४ जना छन् । वैवाहिक अङ्गीकृत नागरिकता १६ जनाले प्राप्त गरेका छन् भने ३० जनाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । मकवानपुरमा गत वर्ष सात हजार ६८६ वटा प्रितिलिपि नागरिकता वितरण गरिएको प्रजिअ तामाङले जानकारी दिए । सेवा प्रवाहलाई जनताको घरदैलोसम्म पुर्याउने उद्देश्यले कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गरिएको उनले बताएका छन् । जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था मिलाई नागरिकको शान्ति सुरक्षा र अमनचयनको व्यवस्था पूर्णरुपमा मिलाइएको, जिल्लाको सुरक्षामा एकीकृत रणनीतिक सुरक्षा योजना तयार गरिएको र त्यसअनुसार काम गरिएको प्रजिअ तामाङ बताउँछन् । जिल्ला सुरक्षा समितिको बैठकलाई गतिशील, नतिजामुखी र प्रभावकारी बनाउँदै जिल्ला सुरक्षा समितिको बैठक ३३ पटक स्पष्ट एजेण्डासहित सञ्चालन गरिएको उनले बताए । मकवानपुर क्षेत्रमा पर्ने राजमार्गलाई निर्वाधरुपमा सञ्चालन हुने व्यवस्था मिलाउँदै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको नियमितरुपमा निरीक्षण गरिएको उनको भनाइ छ । गुण्डागर्दी, सङ्गठित अपराध, जबर्जस्ती असुली, महिला हिंसालगायतका र अपराधलाई नियन्त्रणमा महत्वपूर्ण काम भएको उनको दाबी छ । रासस

२० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बैंकहरूमा ८० अर्ब तरलता

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले वित्तीय बजारमा अधिक तरलता देखिएका कारण प्रशोचन गर्न निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार आज साउन १९ गते १५ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता भएका बेला तरलता प्रशोचन गर्न ‘रिभर्स रिपो र न्यून तरलता भएका बेला बजारमा पैसा पठाउन रिपो जारी गर्ने गर्दछ । आज आइतबार बैंक तथा वित्तीय संस्थासँग ८० अर्ब तरलता रहेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए । वित्तीय बजारमा अधिक तरलता भएकोले हामीले तरलता प्रशोचन गर्न लागेका हौं,’ उनले भने । यद्यपि बैंकले त्यसलाई निक्षेप संकलन उपकरणको नाम दिएको छ । घटीमा पाँच करोड र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने र बहुब्याजदरमा पनि गर्न सकिने व्यवस्था गरिएको छ । उक्त बोलकबोल प्रक्रियामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बैंकले जनाएको छ ।

एनसीसी बैंकको एजीएम भदौ २३ गते, १५.८९ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव

काठमाडौँ । नेपाल क्रेडिड एण्ड कमर्श बैंक लि(एनसीसी बैंक) को २० औँ र २१ औँ बार्षिक साधारण सभा(एजीएम) भदौ २३ गते हुने भएको छ । साउन १७ गते बसेको सञ्चालक समितिको बैठक राष्ट्रिय सभा प्रदर्शनीमार्गमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले आव २०७३/०७४ र २०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र साही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट बैंकको हालको चुक्ता पूँजी रु. ७ अर्ब १ करोड, ८५ लाख ८७ हजार ३ सय को १५.८९ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ । बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिला सहित ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन पनि हुने छ । साधारण सभाले एनसीसी बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाम्ने र गाभिने(मर्ज गर्ने) वा प्राप्ति(एक्वीजिशन)गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति तथा दायित्व तथा कारोबार मूल्याङ्कन(डीडीए) गर्ने, अन्तिम सम्झौता गर्ने र सो प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने कम्पनी सचिव कपिल ज्ञवालीले जनाएका छन् । साधारण सभा प्रयोजनका लागि बैंकको सेयर दाखिला खारेजको काम साउन २६ गते १ दिन बन्द रहने छ । साधारण सभामा एफपीओ निष्काशन गर्ने, सहायक कम्पनी स्थापना गरी धितोपत्र व्यवसायीको कार्य गर्ने विशेष प्रस्ताव पारित गर्ने कम्पनी सचिव ज्ञवालीले जनाएका छन् ।

एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला परेको उक्त नगरपालिकाले पुष्टि गरेको छ । डेङ्गु सङ्क्रिमतको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको इनरुवा अस्पताल आकस्मिक कक्षले जनाएको छ । नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको सङ्क्रमण फेला परिसकेको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेब गुणानन्द झाले बताए । ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको भएकाले उक्त रोगको सङ्क्रमितको सङ्ख्या बढ्नसक्ने स्वास्थ्यकर्मीको अनुमान छ । यसरी, नगर क्षेत्रभित्र एकसाथ डेङ्गुका बिरामी फेला परेपछि नगरपालिकाको आपत्कालीन बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेङ्गु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेकोे छ । संयोजक निरौलाका अनुसार इनरुवा– ४ मा सात, वडा नं ५ मा चार र वडा नं ३ मा एक जनामा उक्त सङ्क्रमण देखिएकोे हो । जिवाणुका कारण सङ्क्रमण फैलने भएकाले बैठकको निर्णयअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नाका साथै जनचेतना फैलाउन समितिले तत्कालै काम थालिने उनले जानकारी दिएका छन् । इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी चौबिसै घण्टा रहने गरी ‘हेल्प डेस्क’ राख्ने तयारीसमेत थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडामा विषादी छिट्ने कामसमेत शुरु गरिसकेको छ । वडातहसम्म जनचेतना फैलाउनका लागि अभियान थालिसकिएको नगरप्रमुख राजन मेहताले बताए । विद्यार्थी, शिक्षक हुँदै अभिभावकसहित स्थानीय सङ्घसंस्थालाई डेङ्गु नियन्त्रण र सचेतना अभियानमा सक्रिय सहभागिताका लागि आह्वानसमेत गरिएको उनको भनाइ थियो । रासस