विकासन्युज

नक्कली प्रहरी बनेर लुट्ने दुई गिरोह पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई आज पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले कास्कीको पोखरा घर भई हाल काठमाडौँ बस्ने ईश्वर घतानेको साथबाट एकथान मोबाइल र रु छ हजार लुटेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिएका छन् । “सिसीटिभीको सहायताले सादा पोशाकमा गएको प्रहरीले तामाङद्वयलाई पक्राउ गरेको हो”, उनले भने । पक्राउ परेकासँग चार थान मोबाइल र एउटा स्कुटर बरामद गरिएको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । रासस

वर्षाका कारण काभ्रेमा २६४ घर र ८५० मिटर पक्की सडक पूर्ण क्षति

बनेपा । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई सय ६४ घर पूर्णरूपमा क्षति हुनुका साथै आठ सय ५० मिटर पक्की सडक क्षति भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३ वटा नै स्थानीय तहमा भएको क्षतिको विवरण सङ्कलन गरी प्रदेश ३ सरकारसमक्ष पेश गरिएको विवरणमा मानवीय क्षतिका साथै भौतिक क्षतिको विवरण पेश गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताएका छन् । अविरल वर्षाका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सहायक प्रमुख जिल्ला अधिकारीले स्थानीय तहहरुलाई पत्राचार गरेको साढे दुई हप्ता बितिसकेको भएपनि अझै यथार्थ विवरण भने नबुझाएको प्रमुख जिल्ला अधिकारी मगरले जानकारी दिएका छन् । “अझै पनि केही स्थानीय तहबाहेक अझैसम्म पनि विवरण प्राप्त भएको छैन”, उनले भने, “हामीले त्यसरी पत्राचार गर्दासमेत विवरण नबुझाएपछि जिल्ला समन्वय समितिमार्फत सो विवरण सङ्कलन गर्न अनुरोध गरेका छौँ ।” यसरी, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो अवस्थामा सङ्कलन गरेको विवरणमा अविरल वर्षाका कारण जिल्लामा बनेपा नगरपालिकामा दुई र रोशी गाउँपालिकामा एक गरी तीन जनाको मृत्यु भएको र दुई घाइते भएको उल्लेख छ । त्यस्तै, घर पूर्ण क्षति भएको मध्ये सबैभन्दा बढी महाभारत गाउँपालिकामा ४७, खानीखोला गाउँपालिकामा ४३ र सबैभन्दा कम धुलिखेल नगरपालिकामा एक घर पूर्णरूपमा क्षति भएको छ भने तेमाल गाउँपालिकामा ४१, रोशी गाउँपालिकामा ३०, पनौती नगरपालिकामा ३०, बेथानचोक गाउँपालिकामा २८, चौरीदेउराली गाउँपालिकामा ११ र नमोबुद्ध नगरपालिकामा १० घर पूर्णरूपमा क्षति भएको छ । त्यसैगरी, जिल्लाभरिमा एक हजार २४१ वटा घर आंशिक क्षति भएको विवरणमा उल्लेख छ । सबैभन्दा बढी रोशी गाउँपालिकामा पाँच सय घर, नमोबुद्ध नगरपालिकामा १ सय ५० घर, चौरीदेउराली गाउँपालिकामा एक सय घर, बनेपा नगरपालिकामा एक सय ३० घर र महाभारत गाउँपालिकामा ९५ घरमा आंशिकरूपमा क्षति भएको हो । सबैभन्दा कम भूम्लु गाउँपालिकामा पाँच घरमा आंशिक क्षति भएको छ । यसरी जिल्लाभरिमा एक सय ८२ वटा गोठ पूर्णरूपमा क्षति भएको छ भने दई सय ६२ वटा गोठ आंशिक क्षति भएको छ । सार्वजनिक संरचना (विद्यालय, स्वास्थ्य चौकी, सरकारी भवन) गरी ९४ वटा भवनमा क्षति पुगेको जनाइएको छ । सडक सञ्जालमा विभिन्न स्थानीय तहका गरी ८ सय ५० मिटर पक्की सडक क्षति भएको छ । रोशी गाउँपालिकाको विपी राजमार्गका विभिन्न स्थानमा गरी दुई सय ६० मिटर, धुलिखेल नगरपालिकामा पाँच सय २० मिटर, बनेपा नगरपालिकामा ३७ मिटर, पनौती नगरपालिकामा २० मिटर र पाँचखाल नगरपालिकामा १३ मिटर सडक बाढी पहिरोका कारण क्षति भएको जनाइएको हो । कच्ची सडकतर्फ तेमाल गाउँपालिकामा सात किलोमिटर, महाभारत गाउँपालिकामा चार किलोमिटर, नमोबुद्ध नगरपालिकामा पाँच किलोमिटर र खानीखोला गाउँपालिकामा दुई किलोमिटर सडक क्षति भएको छ । अन्य गाउँपालिका र नगरपालिकाहरूमा गरी कुल ४३ किलोमिटर कच्ची सडक क्षति भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । यसरी, वर्षाका कारण जिल्लामा ४१ वटा पशु चौपायको मृत्यु हुनाका साथै एक सय ६ वटा पशु चौपाया घाइते भएको समितिले जनाएको छ । रासस

झापाबाट बेपत्ता दिदीबहिनी भारतको पूर्णियामा फेला

सुरुंगा । यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यालय हिँडेका थिए । विद्यालयबाट घर नफर्केपछि उनीहरुको परिवारले प्रहरीलाई खबर गरेको र सूचना पाएलगत्तै उनीहरुको खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । बेपत्ता बनेका किशोरी दिदी बहिनी हुन् । मानव बेचबिखन गर्नेको हात पर्न सक्ने सम्भावना भएकाले घटनालाई संवेदनशील रुपमा लिएर आफूले अनुसन्धान अघि बढाइएको बताउँदै भारतीय प्रहरी र माइती नेपालसँग सहकार्य गरी उनीहरुको खोजी गरेको नायब उपरीक्षक थापाले बताएका छन् । “बेपत्ता बनेका दिदी बहिनीले बोकेको मोबाइलमा भारतको लखनउ ट्रयाक गरेपछि भारतीय प्रहरीसँग समन्वय गर्न प्रहरी प्रधान कार्यालय र नेपालको इन्टरपोलले भारतको इन्टरपोलसँग सम्पर्क गरेको थियो”, प्रहरी नायब उपरीक्षक थापाले भने, “लखनउमा छन् भन्ने भएपछि हामीले तत्काल भारतीय प्रहरीलाई जानकारी गरायौँ, जसका कारण उनीहरु मानव दलालीको पञ्जामा पर्न सक्ने भएकाले सचेत भई उनीहरुको सम्पर्कमा पुगेका हौँ ।” भारतको पूर्णियामा फेला परेका किशोरीलाई आज नेपाल ल्याइने प्रहरीले जनाएको छ । रासस

सुन तोलाको ६७ हजार ८ सय, एकै दिन १५ सय रुपैयाँले बढ्याे

काठमाडौं । सोमबार प्रतितोला सुनको मूल्य ६७ हजार ८ सय पुगेको छ । आइतबार प्रतितोला ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार एक्कै दिनमा १ हजार ५ सय रुपैयाँले बढेर ६७ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जानकारी दिएको छ । । शुक्रबार ६५ हजार ८ सयमा कारोबार भएको सुन आइतबार ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै यसको असर घरेलु बजारमा परेको महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए । चीन र अमेरिकी व्यापार विवादका कारण सुनको मूल्य उकालो लागेको हो,’ उनले भने ‘बजार भन्न सकिने अवस्थामा छैन ।’ अझै उकालो लाग्न सक्छ ।’ महासंघका अनुसार यस अघि २०७० साउनमा एकै दिन प्रतितोला सुनमा ३ हजार ५ सय रुपैयाँले बढेको थियो । सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन १२ अमेरिकी डलरले बढेर १ हजार ४ सय ५३ डलर पुगेको छ । आइतबार बाह्य बजारमा प्रतिऔंस सुनको भाउ १ हजार ४ सय ४१ अमेरिकी डलर थियो । अमेरिकी फेडल रिजर्भ बैंकले गत जुलाई ३१ मा ब्याजदर घटाएर ०.२५ प्रतिशतमा झारेपछि लगानीकर्ताको ध्यान सुनमा आकर्षण हुँदा मूल्य बढेको हो । त्यसरी अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ३ अर्ब मूल्य बराबरको सामानमा १० प्रतिशतले भन्सार महसुश बढाएका कारण यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्दा सुन बजार मह्गिएको उनले बताए । ‘पछिल्लो अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको छ,’ शाक्यले भने ‘यसले पनि घरेलु बजारमा सुनको मूल्य बढाउन सहयोग गरेको हो । ३० प्रतिशतपनि छैन सुन व्यापार पछिल्लो समय सुन मह्गो भएपछि सुन बजार घट्दै गएको छ । बजारमा ग्राहकको चहलपहल घट्दा त्यसको प्रत्यक्ष असर सुन बजारमा परेको हो । बिहीबार ६५ हजार रुपैयाँमा कारोबार भएको प्रतितोला सुन सोमबारसम्म आइपुग्दा चार दिनको अवधिमा दुई हजार ८ सय रुपैयााँले वृद्धि भएको छ । साउन महिना त्यसै पनि सुन कारोकारका त्यति राम्रो मानिदैन,’ उनले भने ‘अझ भाउ उकालो लागेपछि बजार ३० प्रतिशतमा सीमित भएको छ ।’ भाउ माथि जाँदा कारोबार तल ओर्लिएको छ उनले भने ‘अहिले अन्य समयको भन्दा ३० प्रतिशतभन्दा कम सुन बिक्री हुन थालेको छ ।’ चाँदीको मूल्य पनि बढ्यो चाँदीको मूल्य पनि एक्कै दिन २० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य सात सय ९५ रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला चाँदी ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

एघार निर्माण कम्पनी परे कारबाहीमा, दुई करोड बढी हर्जाना असुल

भीमदत्तनगर । डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष्मीदत्त जोशीले जानकारी दिएका छन् । “सम्झौतामै समयमा काम नसक्ने निर्माण पक्षलाई पूर्व निर्धारित क्षतिपूर्ति उल्लेख हुन्छ ।” सूचना अधिकृत जोशीले भने, “कारवाहीमा परेका अधिकांश निर्माण व्यवसायी सुदूरपश्चिमकै छन् ।” उनले ११ निर्माण कम्पनीबाट हर्जानास्वरुप रु दुई करोड ११ लाख ६६ हजार असुल गरिएको बताए । “सचेत गराउनेदेखि पटक÷पटक ताकेदा गर्दासम्म कामबारे आनाकानी गर्ने कम्पनीबाट हर्जाना लिइन्छ ।” जोशीले भने, “समयमा काम सक्नेलाई पुरस्कृत पनि गरिन्छ ।” त्यसैगरी, गत वर्ष कैलाली र कञ्चनपुरमा साना र ठूला गरी ५४ वटा पुल निर्माणाधीन अवस्थामा रहेको जोशीको भनाइ छ । गत वर्ष ५४ मध्ये नौ वटा पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालयले जनाएको छ । “११ वटा पुल निर्माणको अन्तिम चरणमा छन् ।” जोशीले भने, “कैलालीको चिसापानीदेखि गड्डाचौकीसम्म पूर्व पश्चिम राजमार्ग मर्मतको कामसमेत भएको छ ।” यहाँको दोदा नदी, ओदाल क्षेत्रमा निर्माण हुनुपर्ने केही पुल भने अलपत्र अवस्थामा छन् । यसरी, कैलाली र कञ्चनपुरमा सडक कार्यालयले तराई, मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत २४ वटा सडक निर्माणाधीन अवस्थामा छन् । रासस

आईसीएफसीले १३ करोड ८९ लाख नाफा कमायो

काठमाडौं । आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७५/७६ मा १३ करोड ८९ लाख ८६ हजार रुपैयाँ कमाएको छ । फाइनान्सले अघिल्लो आव २०७४/७५ मा ९ करोड ५५ लाख नाफा कमाएको थियो । कम्पनीले गएको आवमा ३५ करोड ४६ लाख खुद ब्याज आम्दानी गरेको छ । फाइनान्स कम्पनीको बोनस र राजस्व तिर्नुअघिको नाफा २२ करोड रहेको थियो । गएको आवमा फाइनान्स कम्पनीले १० अर्ब ९३ करोड निक्षेप संकलन गरेर विभिन्न क्षेत्रमा ८ अर्ब ७१ करोड लोन र एडभान्स प्रदान गरेको छ । कम्पनीको ८८ करोड २१ लाख चुक्ता पुँजी रहेका फाइनान्स कम्पनीको रिजर्भ ३५ करोड १४ लाख रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १०.६६ रुपैयाँ रहेको छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५ सय ८८ रुपैयाँ पुगेको छ । कष्ट अफ फन्ड ९.२३ रुपैयाँ रहेको छ । खराव कर्जा ०.०८ प्रतिशत रहेको छ । कम्पनीको बेस रेट ११.९३ रुपैयाँ र सीडी रेसियो ७१.७७ प्रतिशत रहेको छ । प्रतिसेयर नेटवर्थ १३९.८४ रुपैयाँ रहेको छ ।

नवलपरासीका ७० उद्योग खारेज, बढी पर्यटन उद्योग

परासी । घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५/०७६ मा खारेज गरेको छ । खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन् । कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन् । औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ तर अहिले खारेज भएका उद्योग उद्योगी स्वयंको आग्रहमा खारेज गरिएको कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताएका छन् । कार्यालयका अनुसार गत एक वर्षको अवधिमा जिल्लामा एक हजार ७५ लघु तथा साना उद्योग पनि थपिएका छन् । कच्चा पदार्थ उपलब्ध हुने भएकाले ती उद्योगतर्फ लगानीकर्ता आकर्षित देखिएको कार्यालयले जनाएको छ । पछिल्लो समय औद्योगिक वातावरण बन्दै जानुका साथै सानो पूँजीबाट राम्रो आम्दानी हुने गरेपछि जिल्लामा साना उद्योगको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । विशेषगरी लगानीको वातावरण जिल्लामा राम्रो रहेको र विदेशबाट फर्किने धेरैले साना उद्योगमा लगानी गर्न थालेका छन् । थोरै लगानीबाट आम्दानी पनि राम्रै हुने भएकाले यसतर्फ आकर्षण बढेको देखिन्छ । भुसालका अनुसार हाल जिल्लामा १०७ लघु उद्योग र छ हजार ६११ साना उद्योगसहित कूल छ हजार ६४८ साना उद्योग सञ्चालनमा छन् । गत आवमा दर्ता भएका उद्योगमा चार हजार ५८२ ले रोजगारी पाएका छन् । रासस

कुमारी बैंकले कमायो १ अर्ब ३३ करोड नाफा, प्रतिसेयर आम्दानी १५.३६ रुपैयाँ 

काठमाडौं । कुमारी बैंकले  गत आर्थिक वर्ष २०७५/७६ मा राम्राे प्रगति गरेकाे छ । बैंकले गत वर्ष १ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आव २०७४/७५ मा १ अर्ब ४ करोड १८ लाख खुद नाफा गरेको थियो । नाफासँगै बैंककाे व्यवसाय विस्तार पनि राम्राे देखिएकाे छ । तरलता संकटकाे वर्षमा बैंकले निक्षेप करिब २३ प्रतिशतले र कर्जा करिव २२ प्रतिशतले वृद्धि गरेकाे छ । असार मसान्तसम्ममा बैंकले ७३ अर्ब २० करोड निक्षेप संकलन गरेर ७३ अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ । एक वर्षमा बैंकले १४ अर्ब निक्षेप वृद्धि गरेकाे छ भने १३ अर्बले वृद्धि गरेकाे छ । विभिन्न क्षेत्रमा बैंकले ९ अर्ब १२ कराेड लगानी गरेकाे छ । बैंकले चुक्ता पुँजी ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । विभिन्न काेषमा रहेकाे रकमसहित बैंककाे कुल पुँजी काेष ११ अर्ब ९२ कराेड रूपैयाँ छ ।  पुँजी काेष पर्याप्तता अनुपात १२.०७ प्रतिशत रहेकाे छ । गत वर्ष झै व्यवसाय विस्तार गर्न बैंकले सेयरधनीलाइ बाेनस सेयर दिएर पुँजी वृद्धि गर्नु पर्ने देखिएकाे छ । तर राष्ट बैंककाे निर्देशन बमाेजिम पुँजीकाे २५ प्रतिशत ऋणपत्र जारी गर्दा पुँजी काेष वृद्धि हुने भएकाेले नगद लाभांश मात्र पनि दिन सक्छ । बैंकको खराब कर्जामा पनि सुधार भएकाे छ । अघिल्लाे असार मसान्तसम्ममा १.०१ प्रतिशत रहेकाे खराव कर्जा गत असार मसान्तमा ०.९७ प्रतिशतमा झरेकाे छ । बेस रेट भने अाैसतभन्दा बढी अर्थात १०.८२ प्रतिशत रहेको छ । व्याजदर अन्तर ३.५४ प्रतिशत मात्र रहेकाे छ । सीडी रेसियाे ७८ प्रतिशत रहेकाे छ । बैंकले अघिल्लो आवको भन्दा प्रतिसेयर आम्दानी बढाएको छ । अघिल्लो आवको तुलनामा प्रतिसेयर आम्दानी ८२ पैसाले बढेर १५.३६ रुपैयाँ पुगेको छ । कुमारी बैंकको प्रतिसेयर नेटवर्थ १३६.६४ रुपैयाँ छ ।