सनराइज बैंकको ११५ औं शाखा बाराको निजगढमा
काठमाडौं । सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा बाराको निजगढमा ११५ औं शाखा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र सन्राइज बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले गरेका हुन् । हालसम्म सनराइस बैंकको ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
युवा उद्यमलाई प्रोत्साहन गर्न युवा उद्यमशीलता सम्मेलन हुदैं
काठमाडौं । युवाहरुलाई उद्यमशीलताका लागि आवश्यक पर्ने स्रोत, साधन र सोचको विकास गराउने उद्धेश्यका साथ प्रदेश नं. ३ सरकारको अगुवाईमा काठमाण्डौमा साउन २७ गते युवा उद्यमी सम्मेलन हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश ३ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्यमशीलताको सम्भावना, आवश्यक स्रोतको व्यवस्थापन र सरकारी सहयोगका बारेमा जानकारी दिएका थिए । उनले प्रदेश नम्वर ३ सरकार युवा उद्यमीहरुको लगानी बढाउन र समस्याहरु समाधान गर्न प्रतिवद्ध रहेको जानकारी दिए । सोहि समारोहमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अन्तराष्ट्रि युवा दिवशको अवशरमा आयोजना हुने युवा उद्यमशीलता सम्मेलन २०१९ उद्यम गर्न चाहने नेपाली युवाहरुका लागि महत्वपुर्ण प्लेटफम भएको उल्लेख गरे । स्थानीय सरकार, प्रदेश सरकार, सरोकारवाला निकाय र निजी क्षेत्रको सहकार्यमा हुन लागेको कार्यक्रमले नेपाली युवा उद्यमीहरुलाई प्रोत्साहन मिल्नुका साथै उद्यम गर्न चाहनेहरुका लागि लगानीको क्षेत्र पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सोही समारोहमा युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजक समेत रहेको राष्ट्रिय बाणीज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्मेलनले ७७ वटै जिल्लामा रहेका युवाहरुका माझ सकारात्मक सन्देश जाने र यस्ता खाले सम्मेलनले देशभित्र र बाहिरका युवाहरुमा उद्यम गर्ने उत्साह र आत्मबिश्वास बढ्ने भएकाले बाणीज्य बैंक यो सम्मेलनमा साझेदार भएको जानकारी दिए । सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले प्रादेशिक संरचनाभित्र युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने बिश्वास ब्यक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त दुई दिने सम्मेलमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, अर्थमन्त्री युवराज खतिवडा, शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोख्रेल, सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, युवा तथा खेलकुदमन्त्री जगत् बिश्वकर्मा, बरिष्ठ उद्यमी हरिभक्त सर्मा, भवानी राणा, चन्द्र ढकाल, सुरज बैद्य, हेमराज ढकाललगायत उद्यमीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । यसरी, ११ वटा सेसन रहने सम्मेलनमा देशभरबाट आवेदन दिएका ११०५ जनामध्ये छनौट भएका ५०० युवाहरु र ४० भन्दा बढि स्पीकरको प्रस्तुती रहने सम्मेलनको समापन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल गर्ने भएका छन् । उक्त सम्मेलनमा उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटप कम्पनीलाई प्रोत्साहन गर्ने र उद्यमशीलताको सोच भएका तर लगानीका लागि पर्याप्त पुँजी नभएका युवाहरुका लागि लगानीबारे लगानीकर्तासँग छलफल गर्न उपयुक्त प्लेटफर्म हुने आयोजकले विश्वास लिएको छ ।
महालक्ष्मी विकास बैंकको नयाँशाखा ठमेलमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौं जिल्लाको, काठमाडाैं महानगरपालिका वडा नम्बर २९, ठमेलमा नयाँशाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखाबिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवाउपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
४ अंकले घट्यो नेप्से, ४४ करोडको कारोबार
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गरिरावट आएको छ । नेप्से परिसूचक ४.५५ अंकले घटेको छ । ०.३६ प्रतिशतले घट्दा नेप्से परिसूचक १२५५.०९ बिन्दुमा पुगेको हो । सोमबार सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । १५ लाख ५ हजार ५ सय ६ कित्ता सेयर किनबेच हुँदा ४४ करोड ३२ लाख ५ हजार ४ सय ८१ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सेका २ सूचक मात्र हरियो देखिएका छन् भने अन्य सूचक राता छन् । बैक समूह २.८३, होटल समूह ३.८६, विकास बैक समूह ३.४४,जलविद्युत समूह १.८२, वित्तीय समूह ३.५२, उत्पादन मूलक समूह १६.०९, अन्य समूह २.९१, माईक्रोफाईनान्स समूह २७.०२, जीवन बीमा समूह २१.८४ अंकले घटेका छन् । निर्जीवन बीमा समूह ३.४९ अंकले बढेका छन् भने म्युचुअल फण्ड समूह ०.११ अंकले बढेका छन् । स्वाभिमान लघु वित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै आर्जन गरेका छन् । त्यस्तै, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
नेको इन्स्योरेन्सको सिईओमा अशोककुमार खड्का,‘अनलाइनबाट बीमा पोलिसी किन्न सक्ने बनाउँछु’
काठमाडौं । नेको इन्स्योेरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा अशोककुमार खड्का नियुक्त भएका छन् । खड्का यसअघि सोही कम्पनीको डेपुटी सिईओको रुपमा कार्यरत रहेका थिए । उनको कार्यकाल ४ वर्षको लागि तोकिएको छ । उनलाई बुधबारदेखि सिईआको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो । साढे तीन वर्षदेखि नेको इन्स्योरेन्स डेपुटी सिईओको पद सम्हाल्दै आएका खड्काले आफ्नो बीमा बजारलाई डिजिटाइजेशन गर्ने बताए । ‘आम उपभोक्ताले घरमै बसेर बीमा पोलिसी किन्न सक्ने वातावरण बनाउने छु,’ उनले भने- ‘ मेरो प्राथमिकता भनेकै बीमा बजारलाई डिजिटाइजेशन गर्नु हो ।’ साथै नयाँ/नयाँ पोलिसी ल्याएर आम जनमानसलाई सेवा दिने छु ।’ निर्जीवन बीमा क्षेत्रको पहुँच विस्तार गर्न नयाँ क्षेत्रमा प्रवेश गर्ने समेत उनको योजना छ । उनले सरकारले लिएको नीति बमोजिम मर्जर प्रक्रियालाई अघि बढाउने योजना सुनाए । ‘नेको अन्य कम्पनीसँग गएर गाभिदैन,’ उनले भने-‘हामी अन्य कम्पनीलाई गाभ्ने छौं । सरकारले लिएको नीतिलाई सघाउन म सधै अग्रसर रहने छु ।’ वि.सं २०५० सालमा तत्कालिन इन्डोसिज बैंक, हालको नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबीएल) मा असिटेन्टबाट बैंकिङ करियर शुरु गरेका खड्काले १२ वर्ष सोही बैंकमा काम गरे ।अधिकृतमा काम गर्दै गर्दा एनआईबीएल छाडेका उनले त्यसपछि प्राइम कमर्सियल बैंकमा असिस्टेन्ट म्यानेजरको रुपमा प्रवेश गरेका हुन् । प्राइममा साढे दुई वर्ष काम गरेपछि खड्का स्टाण्डर्ड फाइनान्समा डिजीएम भए । स्टाण्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा मर्ज भएपछि त्यहाँ खड्का चिफ म्यानेजर थिए । २०७१ सालमा सल्लाहकार बनेर नेको इन्स्योरेन्स प्रवेश गरेका खड्काले डेढ वर्ष सोही पदमा रहेर कार्य सम्पादन गरे । त्यस यता उनी डेपुटी सिइओ थिए । हाल नेको इन्स्योरन्सको चुक्ता पुँजी एक अर्ब १७ करोड रहेको छ भने कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस दिने निर्णय गरिसकेको छ । उक्त कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ४८३ रुपैयाँ रहेको छ ।
गोदावरीमा छ करोडको योजना सम्पन्न
ललितपुर । आर्थिक वर्ष २०७५/०७६ मा गोदावरी नगरपालिका–३ ले रु छ करोड ३६ लाख ५० हजार ३६० को योजना सम्पन्न गरेको छ । सो वडाले आज आव २०७५/०७६ को वार्षिक समीक्षा’ कार्यक्रमको आयोजना गरी गत आवमा रु ६० लाख बजेट छुट्याएकामा दाता, स्रोत, प्रदेश र सङ्घको तर्फबाट दिएको रकमबाट नगरपालिका र वडा मिलेर ४९ योजना तथा कार्यक्रम सम्पन्न गरिसकेको वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी गराए । वडाले गोदावरी कुण्ड मर्मत, साविकको गोदावरी बसपार्कमा ट्रष्ट र शौचालय, फुल्चोकी पैदलमार्ग र दृश्यावलोकन स्तम्भ निर्माण, लेलिनथोकको सडक विस्तार, गोदावरी किटिनीस्थित पानी प्रशोधन केन्द्र, वडा तीनको सामुदायिक भवनमा तला थप्ने, स्थानीय श्याम पौडेलको घरदेखि अमृत श्रेष्ठको घरसम्म गोदावरी खहरे सडक ढलान तथा टेवा पर्खाल निर्माण, नौधारामा सत्तल र किरियापुत्री भवन निर्माण, कोट्टारको सार्वजनिक जग्गा र कुवा संरक्षण सम्पन्न गरिसकेको बताएको छ । त्यसैगरी, वडाले सार्वजनिक गरेको पत्रअनुसार वडा अध्यक्षको स्वेच्छिक योजनाअन्तर्गत गोदावरीको शान्तिवनदेखि तान्चिनटार जोड्ने गोरेटो बाटो, गोदावरी पुल ठाडो बाटो हुँदै बुद्धटोल जाने सडक, मेतीचउरबाट खहरे जाने बाटो, पाटीबाट पौडोल जाने मोटरबाटो, टुपिखेल ढाँड जाने कच्ची मोटरबाटो, ड्रेन र पाटीबाट जीवनको घरसम्मको बाटो स्तरोन्नति, गोदावरीका स्थानीय राजन सिल्वालको घरदेखि क्षेत्रबहादुरको घर हुँदै पन्थटोल , थापाचउर र बडिखेल जाने बाटो विस्तार भएको छ । यसैगरी, टौखेल सुन्दर बस्तीमा तीन फिटको बाटो कायम, स्थानीय रमेशको घर अगाडि ठाडो उकालो ढलान, कच्ची बाटोमा ग्राभेलिङ, वडा तीनको चारघरेटोल जाने गोरेटो बाटोमा सिमेन्ट ब्लक छाप्ने तथा कुलोमा ह्युम पाइप राख्ने, रोक्का टोल जाने बाटोको पहिरो व्यवस्थापन, लेलिनथोक लप्सीगैरामा ट्रष्ट निर्माण, पौडोल चियाडाँडा जाने बाटो पिसिसी र गौरीकुण्ड मर्मत भइसकेका छन् । यसरी वडाले महिलाका लागि क्रिस्टलको चुरा भर्ने र मोजा पञ्जा तथा टोपी बुन्ने, कानूनसम्बन्धी तालीमका साथै महिला स्वास्थ्य स्वयंसेविकालाई अवलोकन भ्रमण गराएको छ । वडाले ज्येष्ठ नागरिकका लागि दिवा भवन, पश्चिमतर्फ मोतिचउरमा शिवलिङ्ग प्रतिस्थापन, निःशुल्क रगत परीक्षण सामग्री खरिदका साथै औषधि वितरण, ज्येष्ठ नागरिक प्रतिक्षालय भवन निर्माण सम्पन्न गरेको छ । यसैगरी, वडाले बालबालिकाको हितमा शैक्षिक भ्रमण, खोप क्लिनिक, शिविर सञ्चालन गर्नुका साथै थापाचउरमा बालउद्यान निर्माण गरिसकेको छ । वडा नं ३ ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गोदावरीको नहरदेखि खानेपानी मुहानसम्म सरसफाइ, भू तथा जलाधार व्यवस्थापन कार्यालयअन्तर्गत टौखेल र बडिखेलमा पहिरो उपचार कार्यक्रम सम्पन्न गरेको छ । कार्यपालिकाको तर्फबाट वडा कार्यालय भवनमा रङरोगन तथा मर्मत, कृषि ज्ञानकेन्द्रको बजेटमार्फत भ्याल्कु डोलमा धान पकेट क्षेत्रद्वारा आयोजित तालीम, भ्रमण र टनेलका लागि पाल वितरण, ग्वालीन्द दहबाट टौखेल आउने धाराका लागि पाइप खरीद, पौडोलस्थित ललित घुम्तीमा ड्रेन नभएकाले पानी निकासका लागि पाइप तथा सकेट खरीद, पुल निर्माण गर्नुका साथै गोदावरीमा खेलको विकासका लागि गोदावरी बाटो तेस्रो प्रतियोगिता र स्थानीय पर्वमा टेवा पुर्याउन स्थानीय शीर्षकअन्तर्गत नहरमा ल्होसार पर्वमा रकम खर्च गरेको जानकारी गराएको छ । रासस
बीमा पहुँच १९ प्रतिशत पुग्यो, ‘कलकारखानादेखि राष्ट्रिय गौरवका आयोजनाको पनि बीमा’
काठमाडौ । पछिल्लो समय बीमा गराउनेव्यवसायिक कम्पनी बढेसँगै बीमा पहुँच पनि विस्तार भएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशतमात्रै रहेको बीमा पहुँच गत आवको अन्त्यसम्म आएर १९ प्रतिशत पुगेको हो । बीमा समितिले गत आर्थिक वर्षको अन्त्यसम्म २० प्रतिशत बीमा पहुँच पुग्ने अनुमान गरेको थियो । गत वर्ष माघ महिनामा बीमा पहुँच १६ प्रतिशतमै सिमित थियो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच बढ्दो क्रममा रहेको र सो वृद्धि आगामी दिनमा अझ बढ्दै जाने बताए । कार्यकारी निर्देशक पौडेलले भने-‘अब बीमा कम्पनीबीच स्वच्छ प्रतिस्पर्धा गराएर बीमा बजार बढाउँदै जान आवश्यक छ ।’ आगामी दिनमा बीमा कम्पनीहरुले नयाँ नयाँ बीमा लेख समेत जारी गर्नु पर्ने उनले बताए । अब बिमकहरुले समेत बीमाको पहुँचलाई तिव्र गतिमा प्रचार-प्रसार गर्नु पर्ने देखिएको छ । सर्भेयरहरूले घटना घटेपछि त्यसको मूल्याङ्कन गर्छन् । मूल्याङ्कन गर्दा कहिल्यै पनि बिमितलाई मर्का पार्न नहुने पौडेलको भनाई छ । बीमाको दायरा बढाउन अभिकर्ताको ठूलो सहयोग रहँदै आएको छ । बीमा कम्पनीहरुको शाखा कार्यालयहरू वृद्धि गर्दै स्वच्छ प्रतिस्पर्धामा लान आवश्यक रहेको बीमा समितिले जनाएको छ । बीमा समितिले समेत आफ्नो तर्फबाट बीमा बजार सुधारका लागि काम गर्ने प्रतिवद्धता जाहेर गर्दै आएको छ । बिमितहरूको समस्या समाधान गर्न बीमा समिति सधैँ तत्पर रहेको छ । बीमा इतिहासको काल खण्ड हेर्दा केही उत्तर चढावहरु आएका छन् । अहिले जीवन बीमा भनेको बचत तथा जोखिम बहन दुबै हो । यस विषयमा बिमितले जानकारी पाइसकेका छन् । अहिले बीमा व्यवसाय विश्वासिलो बन्दै गएका छन् । विश्वास भनेको बीमा व्यवसाय चल्नको लागि मुख्य आधार समेत हो । देश विकासको क्रममा रहेकाले यहाँ रहेका कलकारखाना देखि राष्ट्रिय गौरवको आयोजनासम्मलाई बीमा कम्पनीहरूले सुरक्षण दिन सक्छन् । ‘भोलिका दिनमा पुन र्निमार्णको काम धेरै हुन बाँकी रहेकाले बीमाको पहुँच बढ्दै जान्छ’-पौडेलले विकासन्युजसँगसँग भने । हाल नेपालमा १९ जीवन, १९ निर्जीवन र पुर्नबीमा कम्पनी गरी जम्मा ४० वटा बीमा कम्पनी रहेको छ ।
भदौदेखि सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागु गरिने
चिप्लेढुंगा । पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताए । कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उनले भने, “अबको छ महिनामा योजना तयार हुन्छ र योजनाअनुसार नै पोखरामा यातायात व्यवस्थापन गरिनेछ”, महानगरप्रमुख जिसीले दक्षिण एशियाली खेलकूद (साग)लाई दृष्टिगत गरेर पोखराका चार वटा चोकमा ट्राफिक लाइट जडान गरिने जानकारी दिएका छन् । उनले आगामी मङ्सिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर शहरका मुख्य ठाउँमा सिसिटिभी जडानको योजनासमेत बनाइएको जानकारी दिए । ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि सुधार गरेर लैजान महानगर लागिपरेको छ भन्दै महानगरप्रमुख जिसीले यहाँका केही सडकमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि उल्लेख गरे । । महानगरले उपलब्ध गराएको ४९६ थान ‘ट्राफिक कोण’ ले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सहयोग पुग्ने बताउँदै गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जनशक्ति व्यवस्थापनमा ध्यान दिइरहेको बताउँछन् । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १०० ट्राफिक प्रहरी कार्यरत रहे पनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २५० जनशक्ति आवश्यक भएको बताए । रासस