इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडिदै
फिदिम । ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाको प्रवर्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको आन्तरिक रूपमा विद्युत् उत्पादनको परीक्षण कार्य सम्पन्न भएको हो । आन्तरिक परीक्षण सम्पन्न भएसँगै आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्रीका लागि निवेदन दिएको छ । “हामीले आयोजनालाई ग्रिडमा जोड्नका लागि निवेदन दिइसकेका छौँ”, नेपालले भने “यसका लागि प्राधिकरणले तयारी अघि बढाएको जानकारी पाएका छौँ ।” आगामी हप्ता ९.९ मेगावाटको आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपालको विश्वास छ । विसं २०७३ मङ्सिरमा निर्माण शुरु भएको यो आयोजना २०७५ मङ्सिरमै पूरा हुनुपर्ने प्राधिकरणसँगको सम्झौता थियो । तर आयोजना जोडिने नेपाल विद्युत् प्राधिकरणको काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजना समयमा निर्माण सम्पन्न नहुँदा आफूहरूले निरन्तर काम गर्न नसकेको प्रबन्धक नेपालको भनाइ छ । “हामीलाई निर्धारित समयमा काम पूरा गर्न कुनै समस्या थिएन । तर विद्युत् जडान गर्ने ग्रिड निर्माण नहुँदा काममा ढिलाइ गर्नुपर्यो”, नेपालले भने । काबेली करिडोरको तेस्रो खण्डसमेत निर्माण पूरा भई परीक्षण भइरहेकाले परीक्षण सकिने बित्तिकै आयोजना करिडोरमा जोडिने प्रबन्धक नेपालले बताएका छन् । यो आयोजना काबेली करिडोरको पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरको दुवीचौरमा रहेको सवस्टेशनमा जोडिनेछ । आयोजनाले वर्षायामको ६ महिना १० मेगावाटसम्म तथा हिउँदका केही महिना ३.५ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने प्रबन्धक नेपालले जानकारी दिएका हुन् । इवाखोला आयोजना ताप्लेजुङ तथा पाँचथरको जिल्लाको सिमाना भएर बहने इवाखोलाको बायाँ किनारामा निर्माण सम्पन्न भएको हो । यो आयोजना पाँचथरको साविक थर्पु गाविस तथा ताप्लेजुङको साविक साब्लाखु गाविसमा अवस्थित छ । रासस
सन्जिव मानन्धर प्राइम बैंकको निमित्त सिईओमा नियुक्त
काठमाडौं । राष्ट्र बैंकले लगाएको उमेर हदका कारण प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर पदमुक्त भएपछि बैंक संचालक समितिको बैठकले जनरल म्यानेजर सन्जिब मानन्धरलाई निमित्त सीईओमा नियुक्त गरेको छ । मानन्धरलाई यसअघि नै उक्त बैंकको सिईओ बनाउने प्रक्रिया अघि बढाइएको थियो । वहालवाला सिईओ पदमुक्त भएपछि अहिले निमित्त सिईओको कार्यभार दिइएको छ । मंगलबार साँझ बसेको संचालक समितिको बैठकले सन्जिब मानन्धरलाई निमित्त सीईओको जिम्मेवारी दिएको बैंकका सञ्चालक गजेन्द्र बुढाथोकीले जानकारी दिए । नव नियुक्त मानन्धर यसअघि प्राइम बैंकमै जनरल म्यानेजरको भूमिकामा रहेका थिए । नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गरी बैंकका संचालक तथा सीईओहरुलाई उमेर हद लागू गरेको थियो । सो निर्देशन पश्चात नारायणदास मानन्धर सीईओबाट पदमुक्त भए र मानन्धरलाई निमित्त सिईओको कार्यभार दिइएको हो । सीईओ र सञ्चालक हुन उमेर हद तोकियो, सीईओको ६५ वर्ष र सञ्चालकको ७० वर्ष
यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक परे कारबाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रुसँग मोलमोलाई गरी बढी भाडा लिने ट्याक्सी चालकलाई कारवाही गरिएको जानकारी दिए । “ यात्रु ठग्ने दैनिक ४०/५० चालकलाई कारवाही गर्दै आएका छौँ”, उनले भने । बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले तीन हजार जरिवाना गर्ने गरेको छ । त्यस्तै, पाँच पटकभन्दा बढी भाडा लिएर कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गरिएको महाशाखाले जनाएको छ । मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने रु ५०० देखि एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको पन्तले जानकारी बताएका छन् । महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकको कारवाहीका लागि दैनिक ३० देखि ५० ट्राफिक प्रहरी उपत्यकाका विभिन्न स्थानमा खटाउँदै आएको छ । यसरी, ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नं १०३ मा खबर गर्न सबै यात्रुलाई महाशाखाले आग्रह गरेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजारभन्दा बढी ट्याक्सी सञ्चालनमा रहेका छन् । रासस
नगरपालिकाकाे जमानीमा खानेपानी उपभोक्तालाई दुई करोड ऋण
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई रु दुई करोडको ऋणी बनाइएको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखालका करिब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो । पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । कूल उपभोक्ता परिवार सङ्ख्यामध्ये करिब एक हजार ४०० परिवारले उक्त रकम जम्मा गर्न नसक्ने भएपछि नगरपालिकाले गत जेठ महिनामा नगरसभाबाटै पास गरी उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको थियो । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानी व्यवस्थापन गर्न लागिएको हो । स्थानीय सहकारीले भने चलनचल्तीभन्दा न्यूनतम ब्याजदरमा खानेपानी उपभोक्तालाई ऋण प्रवाह गरेका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नगरपालिका कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाइएको नगरप्रमुख महेश खरेलले बताएका छन् । उनले भने, “न्यूनतम ब्याजदरमा एक वर्षका लागि किस्ताबन्दीमा सहकारीमार्फत ऋण दिलाइयो ।” उक्त ऋण रकम उपभोक्ताले एक वर्षभित्र तिर्न नसके नगरपालिकाले तिरिदिने उनले बताउँदै आएका छन् । आयोजनाका लागि हाल रु दुई करोड उपभोक्ताले सहकारीबाट लिएको ऋण तथा आठ करोड अन्य उपभोक्तामार्फत बैंक खातामा जम्मा भएको छ । परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ । सम्झौतामा कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त छ । “बाँकी एक करोड सम्झौतापछि पनि जम्मा गर्न सकिनेछ, खानेपानी अभावले आक्रान्त पाँचखालमा जसरी पनि आयोजना सम्पन्न गर्न हरेक तरिका अपनाइयो”, लामिछानेले भने । उनका अनुसार सहकारीमा सदस्य भएकालाई सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर ऋण दिलाइएको हो । परियोजनाबाट करिब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् । दातासँग आयोजनाको सम्झौता यही महिनाको अन्त्यसम्ममा हुने लामिछानले जानकारी दिएका हुन् । सम्झौताअनुसार समितिले निर्धारित समयमा रकम जम्मा गर्न नसके परियोजना कार्यान्वयन गर्न नसकिने भएकाले तीन महिनादेखि माइकिङ तथा वडाका गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गरिएको अध्यक्ष लामिछानेले जानकारी दिएका छन् । आयोजनाका लागि रु १८ हजार जम्मा गर्न नसक्दा सहकारीबाट ऋण लिएर बुझाइएको एक स्थानीयवासीले बताए । उनले भने, “एक वर्षका लागि ऋण लिएँ, अब विस्तारै तिर्दै जान्छु ।” पाँचखालका व्यवसायीद्वय राजकुमार श्रेष्ठ र प्रभाकर अधिकारीले भने जनही रु दुई लाख सहयोग गरेका छन् । स्थानीय सहकारी खानेपानी उपभोक्तालाई ऋण दिलाउन प्रतिस्पर्धामा उत्रिएका थिए । पाँचखालस्थित बिन्धवासिनी सहकारी ऋण समितिका कुमार दङ्गालले भने, “हामीले खानेपानी उपभोक्तालाई सेवाभावले एक प्रतिशत सेवा शुल्क लिएर अधिकतम सहुलियत दर पाँच प्रतिशतमामा ऋण प्रवाह गर्यौँ ।” रासस
आजपनि १५ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
काठमाडौं । सुनको मूल्य पछिल्लो समयमा निरन्तर बढ्दो क्रममा छ । साताको चौथो दिन बुधबार ६९ हजार ५ सयका कारोबार भईरहेको छ । मंगलबार ६८ हजारमा कारोबार भएको सुन प्रतितोला आज १५ रुपैयाँले बढेर कारोबार भएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६९ हजार २ सयमा कारोबार भईरहेको छ भने मंगलबार ६७ हजार ७ सयमा बिक्री भएको थियो । त्यस्तै चाँदी पनि पछिल्लो समय उच्च मूल्य कायम गर्दै प्रतितोला ८१० रुपैयाँमा बिक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सम्बन्धित समाचारः पछिल्लो समय सुनको मुल्य निरन्तर बढ्दो, ६८ हजारमा कारोबार सुन तोलाको ६७ हजार ८ सय, एकै दिन १५ सय रुपैयाँले बढ्याे नयाँ रेकर्डमा सुन, तोलाको ६६ हजार ३ सय, अझ बढ्ने संकेत
प्रहरीद्वारा छ लाख बराबरको मरिच बरामद
गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित तीन घरबाट तस्करीका लागि राखिएको अवस्थामा प्रहरीले गए राति करिब छ लाख मूल्य बराबरको मरिच बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी नपा–८ को तीन जनाको घरबाट गए राति करिब रु पाँच लाख ७० हजार मूल्य बराबरको ३८ बोरामा राखिएको ९५० किलो मरिच बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मटिहानी नपा–८ बस्ने रहिम लहेरीको घरबाट २५० किलोे, त्यस्तै जवान दर्जीको घरबाट ४७५ किलो र हकिम दर्जीको घरबाट २२५ किलो मरिच बरामद गरेको जनाएको छ । बरामद मरिच आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस
सनराइज बैंकका अध्यक्ष दुगडलाई पदबाट हटाउन चलखेल शुरु, मंगलबार नै राष्ट्र बैंक पुर्याए नागरिकता
काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडलाई पदबाट हटाउने चलखेल शुरु भएको छ । दुगड विदेश गएको बेलामा सनराइज बैंकका असन्तुष्ट पक्षका सञ्चालकहरु आफ्ना स्वार्थ बोकेर सलबलाउन थालेका छन् । मंगलबार दुगड बैंङ्लोर उडेकै दिन असन्तुष्टहरुले उनी विरुद्ध राष्ट्र बैंकमा चुक्ली लगाउन भ्याएका छन् । नियमन विभाग प्रमुख तथा कार्यकारी निर्देशन देवकुमार ढकालको भाइवरमा दुगडको नागरिकताको फोटोकपी पठाएका छन् । यसरी भाइवर गर्ने व्यक्ति को हुन् भन्ने कुरा स्रोतले खुलाउन मानेन् । तर, दुगडलाई अध्यक्षबाट बिदा गर्दा आफू अध्यक्ष बन्न सकिन्छ भन्ने आकांक्षीहरुको पहलमा यस्तो भएको अनुमान गरिएको छ । नागरिकता अनुसार २०७६ जेठमा दुगडको उमेर ७४ वर्ष पूरा भएको जनाउँदै अब उनी पदमा बस्न पाउँछन् कि पाउँदैनन् भनेर प्रश्न समेत गरिएको स्रोतले बतायो । मोतिलाल दुगडले २०२१ फागुन १३ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट नगरिकता लिएको देखिन्छ । नागरिकता लिँदा उनको उमेर १९ वर्ष ८ महिना भएको जनाईएको छ । सोही आधारमा उनी दुई महिनाअघि नै ७४ वर्ष पूरा भएका छन् । गत सोमबार राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार ७४ वर्ष नाघेको व्यक्ति बैंकको सञ्चालक पदमा वहाल रहन सक्ने छैन । बैंकको सञ्चालक पदमा वहाल रहन नसक्ने व्यक्ति अध्यक्ष पदमा पनि रहन नसक्ने केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् । मोतिलाल दुगड यस बैंकको प्रमुख लगानीकर्ता हुन् । उनी बैंक स्थापनादेखि सञ्चालक छन् भने दुई कार्यकाल अध्यक्ष भएका छन् । उमेर हदका कारण बैंक छोड्नु परेपनि उनले इच्छाएको व्यक्तिलार्इ सञ्चालक बनाउन सक्ने बताइएको छ । जानकारहरुका अनुसार दुगड बैंकका अरु प्रमोटरभन्दा केही उदार छन् । बैंकभित्र आएका फरक मतलाई सकेसम्म समेटेर अगाडि बढ्ने उनको कार्यशैलीलाई धेरैले रुचाउने गरेको जानकारहरु बताउँछन् ।
बैंकास्योरेन्स रोकिएपनि बीमाको दायरा बृद्धि कायमैः बीमा समिति
काठमाडौँ । नेपाल बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकहरु मार्फत हुँदै आएको बीमा(बैंकास्यारेन्स)मा रोक लगाएको छ । गत सोमबार राष्ट्र बैंकले निर्देशिका जारी गर्दै बैक आफैँ अभिकर्ता भएर गर्ने सबै बीमामा रोक लगाएको हो । चालु आवको मौद्रिक नीतिमा बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयमले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनैपनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्देशिका अनुसार बैक तथा वित्तीय संस्थाहरुले बीमा अभिकर्ताको कार्य गर्न पाउने छैनन् । बंैकास्योरेन्समा रोक लगाइएको सम्बन्धमा विभिन्न बैँकका प्रमुख कार्यकारी अधिकृतहरुले बीमा तर्फको व्यवसाय सुरु गरेको छोटो अवधिमा नै रोक लगाएको तर्क दिए । सन नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) राजकुमार अर्यालले बैँकले बीमा क्षेत्रमा देखाएको सक्रियता राम्रै देखिएको बताए । अर्यालले भने–‘बैक मार्फत हुने बीमामा समेत राम्रै सहभागिता हुँदै आएको थियो, बैँकले आम्दानी गर्ने हिसाबले बीमा गर्न पाउँदैन ।’ अहिलेसम्म बंैकले संस्थागत अभिकर्ताको रुपमा काम गरेका थिए । अबको दिनमा बैंकले अभिकर्ता बन्न पाउँदैनन् । तर, बंैकले कोल्याटर, कर्जा तथा कर्जासँग सम्बन्धित टर्म बीमा भने गर्न पाउँछन् । बैंकमा जाने ग्राहकले डिपोडिट राख्दा पाउने बीमा भने अबको दिनमा अन्त्य भएको हो– अर्यालले भने । संस्थागत अभिकर्ता भएर बैंकले बीमा सचेतना समेत व्यापक बनाउन सहयोग गरेको छ । तर, बीमाका पोलिसी जबर्जस्ति भिडाइयो भन्ने ठहर सहित नेपाल राष्ट्र बैंकले सर्कुलर मार्फत बीमा व्यवस्था बन्द गराएको हुन सक्ने बताइएको छ । नयाँ निर्देशन आउनु अघि बीमा गराइसकेका बिमितहरुलाई केही समस्या नहुने सीईओ अर्यालको धारणा छ । बीमा समितिले भने बैंकास्योरेन्स रोकिएकोबारे सकारात्मक प्रतिक्रिया दिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विकासन्युजसँग भने–‘बैंकहरुले बीमा क्षेत्रमा बीमाको पहुँच बढाउन सहयोग गरेका छन्, अबको दिनमा हाम्रा बीमा कम्पनीको अभिकर्ताहरुले बीमा गराउने छन् ।’ उनले नेपाल राष्ट्र बैंक नियामक भएकाले बैंकहरुलाई आवश्यक नीति नियम ल्याउने पाउने अधिकार रहेको र यस कुरामा समेत समिति सकारात्मक रहेको बताए ।