विकासन्युज

सहकारी ठगी मुद्दाकी दोषी प्रतिमा सिटौला जेल चलान

काठमाडौँ । सहकारी ठगी मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिला आज जेल चलान भएकी छिन् । ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ साल चैत ७ गतेको फैसलाबाट एक महिना कैद र रु १८ लाख ३१ हजार जरिवाना ठहर भएकी काठमाडौँ महानगरपालिका–२६ की प्रतिमा सिटौलालाई जेल चलान गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले सोमबार नुवाकोटको विदुरबाट सिटौलालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरेकामा आजै अदालतले कारागार चलान गरेको हो । काठमाडौँको टोखा नगरपालिका–९ स्थित ‘नाङ्लो दीप सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड’ सञ्चालक सदस्य सिटौलासमेतका पदाधिकारीले आर्थिक वर्ष २०७०/७१ मा २०२ निक्षेपकर्तालाई प्रलोभनमा पारी रु एक करोड ८३ लाख १८ हजार आफूखुशी खाईमासी ठगी गरेको मुद्दामा सिटौला दोषी ठहर भएकी हुन् । ब्यूरोका प्रवक्ता दीपक रेग्मीले अदालतको आदेशअनुसार सिटौलालाई आजै केन्द्रीय कारागार सुन्धारा पठाइएको जानकारी दिए ।

रोपाइँ योग्य १ लाख ९१ हजार हेक्टर जमिन बाँझै, ८६ प्रतिशतमात्र सम्पन्न

काठमाडौं । साउनको तेश्रो हप्ता सकिँदा १ लाख ९१ हजार २१८ हेक्टर जमिन बाँझो रहेको छ । यस वर्ष कुल १३ लाख ७१ हजार ७०६ हेक्टर खेतियोग्य जमिन भएपनि हालसम्म ११ लाख ८० हजार ४८८ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । हाल सम्म देशभरि कुल ८६.०० प्रतिशत रोपाई सम्पन्न भएको छ । गतवर्षको तुलनामा हाल ३.६२ प्रतिशत रोपाइँ कम भएको तथ्याङ्ग कृषि मन्त्रालयले सार्वजनिक गरेको छ । प्रदेशगत रुपमा रोपाइँलाई हेर्ने हो भने सबै भन्दा बढी सुदूर पश्चिम प्रदेशमा हालसम्म ९५.३३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ  भने गत ९८.५६ प्रतिशत भएको थियो । १ लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफल मध्ये १ लाख ५६हजार ९४९ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, यस समयमा गतवर्ष १ लाख ६२ हजार २७४ हेक्टरमा सम्पन्न भएको थियो । त्यस्तै कर्णाली प्रदेश ९४.१० प्रतिशत रोपाइँ सम्पन्न भएको छ, गतवर्ष ९९.५५ प्रतिशत ३८ हजार ३८५ हेक्टर खेतियोग्य जमिनमा ३६ हजार १२२ हेक्टरमा रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष प्रदेश नं. ५ मा ८८.८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, गत वर्ष ९९.३८ प्रतिशत भएको थियो । ३ लाख ०३ हजार ५९३ हेक्टर मध्ये २ लाख ६९हजार ७७४ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने गतवर्ष २ लाख ७७ हजार ४२१ हेक्टर जमिनमा रोपाइँ भएको थियो । प्रदेश नं. ३ मा ८८.६७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, गतवर्ष यो समयमा ८९.३६ प्रतिशत भएको थियो ।  १ लाख १५ हजार २९५ हेक्टर रोपाइँ योग्य जमिनमा हाल १ लाख ०२ हजार २२७ मा रोपाइँ सम्पन्न भएको छ,  गत वर्ष १ लाख ०३ हजार ०२४ हेक्टरमा भएको थियो । गण्डकी प्रदेश हाल सम्म ८६.५९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, गतवर्ष यो अवधिमा ९६.५९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । १ लाख ०८ हजार २७८ हेक्टर जमिन मध्ये ९३ हजार ७५६ हेक्टरमा रोपाइँ सकियो भने गत वर्ष १ लाख ०४ हजार ५८४ हेक्टर जमिनमा रोपाइँ भएको थियो । प्रदेश नं. २ मा गतवर्ष साउन महिनाको १८ गतेसम्म १०७.३२ प्रतिशत रोपाइँ भएको थियो भने हाल ८१.९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गतवर्ष ३ लाख ९२ हजार ३७७ हेक्टर रोपाइँ भएपनि यस वर्ष ३ लाख ६५ हजार ६१५ हेक्टर मध्ये २ लाख ९९ हजार ७७६ हेक्टरमा मात्र रोपाइँ भएको छ । त्यस्तै सबै प्रदेशको तुलनामा प्रदेश नं. १ मा सबैभन्दा कम ८०.१३ प्रतिशत सम्पन्न रोपाई सम्पन्न भएको छ । गतवर्ष ८६.२९ प्रतिशत रोपाइँ भएको थियो । धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७५ हजार ९०१ जम्मा धान रोपाइँ २ लाख २१ हजार ०८७ हेक्टरमा गत वर्ष २ लाख ३८ हजार ०८५ हेक्टरमा सम्पन्न भएको थियो ।

खानेपानी मन्त्रालयका सचिव शर्माको अवकाश, मन्त्री मगरले गरिन् बिदाई

काठमाडौं । निजामती सेवामा सचिव पदबाट अवकास पाएका खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई औपचारिक बिदाई गरिएको छ । मंगलबारदेखि अवकास पाएका सचिव शर्मालाई मन्त्रालयले औपचारिक कार्यक्रम गरी बिदाई गरेको हो । खानेपानी मन्त्री बिना मगरले सचिव शर्मालाई खादा, टोपी र माला लगाई मन्त्रालयबाट औपचारिक बिदाई गरिन् । बिदाई कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणको अभियानमा सचिव शर्माको भूमिका र सहयोग सरकारका लागि महत्वपूर्ण हुने बताइन् । ‘समाज र राष्ट्रका लागि आगामी दिनमा शर्माले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’ उनले भनिन्, ‘प्रशासनिक क्षेत्रमा राष्ट्रले ठूलो लगानी गरेको छ । उहाँ जस्तो व्यक्तित्वका लागि राष्ट्रले लगानी गरेको हुँदा उहाँ आगामी दिनहरुमा थप उर्जाका साथ राष्ट्र निर्माणमा लाग्नु हुनेछ भन्ने विश्वास लिएकी छु ।’ कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले सचिव शर्मा कुशल प्रशासक, क्षमतावान् र काममा लगनशील व्यक्ति भएको टिप्पणी गरे । बिदाई कार्यक्रममा बोल्दै सचिव शर्माले आफू आगामी दिनमा राष्ट्रको सेवा गर्न सधैं तयार रहेको बताए । उनले अवकासपछि पनि मन्त्रालयको कुनै पनि काममा स्वयंसेवक भएर सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाए । विशिष्ठ श्रेणी (सचिव) पदमा पदोन्नति भएको पाँच वर्ष पूरा भएपछि अनिवार्य अवकास हुने कानुनी व्यवस्था छ । शर्माको सचिव पदमा पदोन्नति भएको मंगलबार पाँच वर्ष पुगेकाले अवकास भएका हुन् । उनी निजामती सेवामा २०५२ वैशाख २६ गते प्रवेश गरेका थिए ।

जनसेवी लघुबित्त र मालिका गाउँपालिकाबीच संझौता

काठमाडौँ । जनसेवी लघुवित्त संस्था कूश्मा र मालिका गाउँपालिका म्याग्दीबीच ग्रामीण विपन्न समूदायको क्षमता अभिबृद्धि गर्नका लागि आम्दानीमूलक व्यवसाय संचालनमा वित्तीय सेवा प्रदान गर्ने संझौता भएको छ । मालिका गाउंपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर र जनसेवी लघूवित्तका प्रमूख कार्यकारी अधिकृत कमल खत्रीबीच भएको सहमति अनुसार गाउँ पालिका र जनसेवी दुबैको संयूक्त आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीणा भेगमा क्षमता अभिबृद्धि तथा सीपमुलक विभिन्न तालिमहरु प्रदान गर्ने उल्लेख छ । त्यसैगरी महिला जागरणा, आयआर्जन तथा महिला सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्ने, गाउँपालिकाले उत्कृष्ठ व्यवसायी तथा कृषकहरुलाई अनूदान प्रदान गर्ने तथा आपसी सहकार्यमा भएको परियोजनाहरुलाई नमूना परियोजनाको रुपमा बिकसित हुने गरी कार्य गर्ने सहमति गरिएको बताइएको छ । उक्त कार्यक्रममा गाउँपालिकाको तर्फबाट उपाध्यक्ष खरमाया बिटालू र प्रशासकीय अधिकृत बूद्धिराम उपाध्याय तथा जनसेवी लघुवित्तका तर्फबाट नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डे र सहायक प्रवन्धक हर्षबहादूर स्याङ्तानको उपस्थिति थियो ।

झापाको हलदीबारीमा सनराइज बैंकको ३८ औं शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने क्रममा झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरु गरेको छ । हलदीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । सो समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सर्बधन तामाङ्लाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् ।

कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंक लि.को चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय मंगलबार स्थानान्तरण भएको छ । हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको हो । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीज्यूले उक्त शाखाको कारोबार शुभारम्भ गरिन् । स्थानान्तरण भई कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भीमप्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रीय प्रमु्ख सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा एक लाख ११ हजार सहयोग हस्तान्तरण

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुनसरी जिल्लाको धरान–१४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ । एक लाख एघार हजार रुपैयाँको चेक बैंकको तर्फबाट धरान शाखाका प्रबन्धक विप्लवराज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्तरण गरेका हुन् । उक्त आर्थिक सहयोगले सिंहदेवी मन्दिरदेखि दुई धारे पथ हुँदै विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढासुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्ने बताइएको छ ।

‘निर्दयी’ निर्देशिकाले बैंकको नाफा ३५% सम्म घट्न सक्ने, राष्ट्र बैंकलाई साँचो बुझाउनेबारे छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ३० बुँदे निर्देशिका जारी गर्यो । त्यसमा बैंकको सीईओ र सञ्चालकको उमेर हद तोक्ने विषय मात्र नयाँ विषय थिए । अधिकांश मौद्रिक नीतिमा आएका विषयलाई प्रष्ट पारिएको थियो । तर, निर्देशिकाको बुँदा नम्बर २० बैंकर्सहरुको शब्दमा ‘निर्दयी’ आयो, जसले बैंकहरुको नाफा कम्तिमा २० प्रतिशत र बढीमा ३५ प्रतिशत खोसिदिएको छ । एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नाम नखुलाउने सर्तमा भने-‘अहिले नै स्प्रेडदर साढे ४ प्रतिशत रहेको हाम्रो बैंकको नाफा २१ प्रतिशतले घट्ने छ ।  सबैभन्दा कम स्प्रेडदर भएका बैंकको २० प्रतिशत र स्प्रेडदर ५ प्रतिशतभन्दा माथि रहेका बैंकको नाफा ३५/३७ प्रतिशतले घट्ने छ ।’ यस्तो छ कारण बुँदा नम्बर २० व्याजदर अन्तर (स्प्रेडदर) गणनाको विधि उल्लेख गरिएको छ । पुरानो विधिमा सरकारी सुरक्षणपत्रमा गरिएको लगानी समावेश गरिएको थियो भने अहिले सरकारी सुरक्षणपत्रमा गरिएको लगानीलाई समावेश गरिएको छैन । राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले कुल निक्षेपका १८ देखि २० प्रतिशत सरकारी सुरक्षणपत्रमा अनिवार्य लगानी गर्नुपर्छ र त्यसको व्याजदर निकै कम हुन्छ । यसरी सस्तोमा गरिएको लगानीको व्याज आम्दानीलाई स्प्रेडदरमा बाँध्न नपाउने राष्ट्र बैंकको नीतिले बैंकहरुको नाफा घटाउने बैंकर्सको भनाई छ । त्यस्तै, विदेशी मुद्रामा ल्याएको निक्षेपको व्याज खर्चलाई पनि स्प्रेडदर निर्धारण विधिमा समाबेश गरिएको छैन । स्प्रेडदर गणना गर्दा स्वदेशी निक्षेप र कर्जा मात्र समावेश गरिएकाे छ । विदेशी मुद्रामा ल्याएको निक्षेप रकम नेपालमा मात्र लगानी गर्न पाइन्छ । यस्ताे कर्जा लगानी गर्दा स्वेदशी मुद्रामा नै हुन्छ । ‘राष्ट्र बैंकको विधिअनुसार नेपाली मुद्रामा प्रवाह गरिएको कर्जाको आम्दानी देखिने भयो, विदेशी मुद्रामा लिएको निक्षेपको व्याज खर्च देखाउन नपाइने भयो’ एक प्रमुख कार्यकारी अधिकृतिले भने । यसअघि स्प्रेडदर ४.५ प्रतिशत हुनेपर्ने नियम थियो । नयाँ मौद्रिक नीतिले स्प्रेडदर ४.४ प्रतिशतमा झारेको छ । स्प्रेडदर गणना सम्बन्धी नयाँ विधिपछि वास्तविक स्प्रेडदर साढे ३ प्रतिशत मात्र हुने बैंकर्सको भनाई छ । शुन्य दशमलव १ अंकको स्प्रेडदर घटाउने मौद्रिक नीतिप्रति बैंकर्सहरुको सामान्य असन्तुष्टि थियो । तर, स्प्रेडदर गणना विधिमा आएको परिवर्तनपछि बैंकर्सहरुले तिब्र असन्तुष्टि जनाएका छन् । मौद्रिक नीतिले स्प्रेडदर ४.४ प्रतिशतमा झारेपछि खुलेकाे सेयर बजार १४ अंकले घटेकाे थियाे । स्प्रेडदर गणना सम्बन्धी नयाँ विधि जारी भएपछि खुलेकाे सेयर बजार १० अंकले घटेकाे छ । राष्ट्र  बैंकको नेतृत्वप्रति आक्रोस राष्ट्र बैंकको नेतृत्वप्रति बैंकर्सहरुले तिब्र असन्तुष्टि जनाएका छन् । ‘राष्ट्र बैंकको नेतृत्व बैंकर्सप्रति प्रतिशोधपूर्ण भावना लिएर प्रस्तुत भयो । बैंकलाई गैरसरकारी संस्थाजस्तो बनाउन खोजियो । राष्ट्र बैंक नेतृत्वले नरुचाएको बैंकका सीईओ, सञ्चालक र अध्यक्षहरुलाई कसरी हटाउने भनेर नीति बन्न थाले’ एक बैंकका सञ्चालकले भने–व्यवासाय गरेर नाफा नै नहुने गाउपालिकामा पनि बैंकले गएर सेवा दिनुपर्ने । नाफामा नियमअनुसार लाग्ने कर तिरेपछि पनि फेरी नाफाको १ प्रतिशत सामाजिक सेवामा खर्च गर्नै पर्ने । सरकारले भनेको क्षेत्रमा नोक्सान भए पनि बैंकले लगानी नै गर्नुपर्ने । यो कस्तो नियम हो ? यो कस्तो देश हो ?’ राष्ट्र बैंक नसच्चिए सबै बैंकहरुले सामूहिक रूपमा राष्ट्र बैंकमा साँचो बुझाउने स्थिति आउने उनले बताए । ‘हामी नयाँ निक्षेप लिन बन्द गर्छौ, कर्जा असुली गर्दै जान्छौं । बैंक बन्द गरेर रेष्टुरेन्ट खोल्छौ, डान्सबार खोल्छौ, क्यासिनो चलाउँछौं’–उनले भने ‘यस्तो काम गर्नेले हिसाव पनि पारदर्शि राख्नु पर्दैन । सामाजिक काममा खर्च पनि गर्नु पर्दैन । नाफा नहुने ठाउँमा शाखा खोल्नु पनि पर्दैन ।’ राष्ट्र बैंक नसच्चिए साँचो बुझाउने गरी बैैंकका अध्यक्ष, सञ्चालक र सीईओहरुबीच अनौपचारिक छलफल चलेको बताइएको छ । निक्षेपमा १० प्रतिशतभन्दा बढी व्याज नदिने बैंकर्स संघको भद्र सहमति पनि तोडिने भएको छ । बैंकर्स संघले बुधबार बस्ने बैठकमा सबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाइ बाेलाएकाे छ । यस विषयमा छलफल गर्न सबै बैैंकका अध्यक्षहरूकाे बैठक पनि बस्ने तयारी भइरहेकाे छ । सम्बन्धित समाचार बैंकको आम्दानीमा राष्ट्र बैंकले लगायो थप ४ अंकुस, बैंकर्स भन्छन्-‘अब नाफा घट्छ’ बैंकको व्याजदर घट्दैन, बैंकर्स संघको भद्र सहमति तोडिन्छ-बैंकर्स रत्नराज बज्राचार्यको विश्लेषण बैंकहरुले अझै १.२ प्रतिशत स्प्रेड घटाउनु पर्ने, मौद्रिक नीतिको यो व्यवस्थाले यसरी घट्दैछ नाफा