विकासन्युज

सानिमा इक्वीटी फण्डका इकाईधनीले १० प्रतिशत नगद लाभांश पाउने

काठमाडौँ । सानिमा इक्वीटी फण्डले आर्थिक वर्ष २०७५/७६ को लागि योजनाका इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सानिमा क्यापिटल लिमिटेड सञ्चालक समितिको मंगलबार बसेको बैठकले सानिमा बैंकद्वारा प्रबद्र्धन गरिएको सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालित सानिमा इक्वीटी फण्डका इकाईधनीलाई नगद लाभांश दिने निर्णय गरेको हो ।

तेश्रो लगानी सम्मेलनमा शो केशमा राखिएका ७७ मध्ये ४ परियोजनाको लगानी स्वीकृत

काठमाडौं । २०७५ चैत १५ र १६ गते सम्पन्न तेश्रो लगानी सम्मेलनमा शो केशमा राखिएका ७७ परियोजना मध्ये ४ वटाको लगानी स्वीकृत भएको छ । लगानी बोर्डको हालै सम्पन्न बैठकले ४ वटा परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । बोर्ड बैठकले झापा जिल्लाको दमकमा बन्ने ‘चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ निर्माणका लागि ६४ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको छ । यो परियोजनामा पूर्ण लगानी चाइनाको हुनेछ । औद्योगिक पार्क निर्माणपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू नेपाल आउन बताइएको छ । यता, विराटनगरमा ‘मल्टी मोडल लजिस्टिक पार्क’ निमार्णका लागि ७ अर्ब १४ करोडको लगानी स्वीकृत भएको छ । यो पार्क रेलबाट आएका सामानहरु (कार्गो) राख्ने र भन्सार पास गरेर सामान सप्लाई गर्नका लागि प्रयोग हुनेछ । सीजी ग्रुप र यूएईको सराफबीच भएको सम्झौता अनुसार जनकपुरमा ‘रेल्वे लिङ्क प्राईभेट फ्रेग टर्मिनल’ निमार्णका लागि ७ अर्ब १४ करोडको लगानी स्वीकृत भएको छ । लगानी सम्मेलनकै बेला सो परियोजना सम्बन्धी सम्झौता भएको थियो । यसैगरी, ७६७ मेगावाटको तमोर जलविद्युत आयोजना पनि २ वटा कम्पनीको प्रस्ताव स्वीकृत भएको छ । यो आयोजनाको यसको लागत भने तोकिएको छैन । २ वटा कम्पनीहरु डीपीआर निमार्णका लागि छनोट भएका छन् । ती कम्पनी मध्ये जसले सस्तोमा डीपीआर निर्माण गर्छ, उसले स्वीकृत पाउने लगानी बोर्डले जानकारी दिएको छ । डिपीआरका लागि ग्रीन इन्फास्टक्चर कम्पनी र एचआइडिएसएलको ज्वाइन भेन्चर फुजी इलेक्ट्रिक कम्पनी र जेभी कम्पनीले स्वीकृति पाएका हुन् । लगानी बोर्डका प्रवत्ता बलराम रिजालले डीपीआरका लागि ४ परियोजनाले स्वीकृति पाएको बताए । उनले भने–हाम्रोमा लगानी गर्न आउनेहरुका लागि प्रक्रिया लामो भएकोले थोरै मात्रै परियोजनाको स्वीकृत भएको बताए । बोर्डको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको प्रक्रियामा भएको झन्झटहरुको बारेमा सुझाव दिन निर्देशन दिएको र केही समयमा ती कानूनी झन्झट हट्ने बताए । सरकारले लगानी सम्मेलनमा सरकारी ५० र निजी क्षेत्रका १७ गरी ७७ परियोजनालाई सूचीकृत गरेको थियो । ४ वटा परियोजना अस्वीकृत गोसाईकुण्ड केवलकार प्रालि, अन्डर ग्राउण्ड केवल लिकं, वाटर टिटमेण्ट प्लान प्रोजेक्ट, आई इन्डिष्ट्रिल पार्क एण्ड कर्मसियल कम्प्लेक्सको परियोजना खारेज भएको छ । यी परियोजनाको कामको अनुभव र दक्षता नभएको कारण अस्वीकृत गरिएको लगानी बोर्डले जनाएको छ ।

लिलामी नहुँदा कराेडाैं मूल्यका सवारी साधन अलपत्र

बाँके । सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी साधनको लिलाम प्रक्रिया शुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करिब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधन अझै लिलाम बिक्री हुन सकेका छैनन् । लिलाम हुन नसक्दा भन्सार कार्यालय परिसरमा थन्काइएका सवारी साधन पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेका छन् । चलाउन सकिने सवारी साधन पनि थोत्रिएर काम नलाग्ने भएका छन् । राजस्व त गुमेको छ नै, सवारी साधन पनि खेर गएका छन् । यी साधनको लिलाम गर्नका लागि भन्सार कार्यालयले सक्रियता देखाउन सकेको छैन । प्रक्रिया अघि नबढेकाले लिलाम हुनुपर्ने सवारी साधन घामपानीले जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका हुन् । यातायात व्यवस्था कार्यालयको समन्वयमा मेकानिकल इञ्जिनियरले बरामद सवारी साधनको मूल्याङ्कन र रकम तोकेपछि लिलाम हुने व्यवस्था छ । कर्मचारी अभावका कारण जनाउँदै मूल्याङ्कन गर्न ढिलाइ भएको जनाइएको छ । समयमै लिलाम गरेको भए ती सवारी साधनबाट रु दुई करोड राजस्व उठ्ने अनुमान भन्सार कार्यालयको छ । तीन वर्षअघि मात्र चोरीका सवारी साधन लिलाम गरी नेपालगञ्ज भन्सारले रु दुई करोड ४३ लाख ८६ हजार राजस्व सङ्कलन गरेको थियो । यातायात कार्यालयले २० वर्ष पुराना गाडी दर्ता नगर्ने भएकाले त्यसैलाई आधार बनाएर उत्पादन वर्ष नखुलेको भन्दै नयाँ र चालू अवस्थाकै गाडी लिलाम गर्न नसकेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । भारतीय र नेपाली नम्बर प्लेट लगाएर नियमविपरीत गुडेका मोटरसाइकल र जिप प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएका हो । भन्सार कार्यालय परिसरमा करिब २५० थान मोटरसाइकल र दुई वटा जिप रहेका छन् । लिलाम हुन नसक्दा ती सवारी जीर्ण बनेका छन् । मूल्याङ्कन र रकम तोकिएपछि लिलाम प्रक्रिया अघि बढाउने तयारी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले बताएका छन् । सुरक्षाकर्मीले नियन्त्रणमा लिएका चोरीका सवारी साधनको मूल्याङ्कन गरी लिलाम बिक्री प्रक्रिया लथालिङ्ग भएपछि भन्सार कार्यालय परिसरमै त्यसै थोत्रिएका छन् । धेरै सवारीका कागजपत्र नभेटिएकाले लिलामीमा जान कठिनाइ भएको भन्सार कार्यालयका सूचना अधिकारी जोशीले बताए । उनले भने, “सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हामी त्यसलाई खुला गर्दैछौँ ।” उनले पुराना फाइल खोजेर जीर्ण अवस्थामा रहेको सवारी साधनलाई सफासुग्घर गरेर मात्र प्रक्रिया अघि बढाउने तयारी गरिएको जानकारी दिए । त्यस्तै, सम्पूर्ण कानूनी प्रक्रिया पुर्याएर लिलाम गर्ने तयारी भइरहेको जनाउँदै उनले यसले राजश्व सङ्कलनमा वृद्धि हुने बताए । “सबै काम सकिए जति सक्यो छिटो लिलाम प्रक्रिया अगाडि बढाउने तयारी भएको छ”, सूचना अधिकारी जोशीले भने । बरामद गरिएका सवारी थोत्रा भइसकेकाले सोचेअनुरुप राजस्व सङ्कलन भने नहुने देखिएको छ । लिलाम नभएकै कारण भन्सार कार्यालयमा सवारी साधन राख्ने ठाउँसमेत नभएपछि बरामद भएका सवारी प्रहरीले आफ्नै नियन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, “भन्सारमा राख्ने ठाउँ नभएपछि बरामद गरिएका सवारी साधन प्रहरी कार्यालयमै राख्नुपर्ने बाध्यता छ ।” यसरी, सवारी साधन लिलाम मूल्याङ्कन समितिमा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, यान्त्रिक कार्यालय, कोष लेखा तथा नियन्त्रण कार्यालय र उद्योग वाणिज्य सङ्घ प्रतिनिधि रहने प्रावधान रहेको छ । उक्त समितिले लिलाम बिक्रीमा चासो नदेखाउँदा बरामद भएका सवारी साधन लिलाम हुन नसकेको भन्सार कार्यालयले जनाएको छ । रासस

बालुवाटारको सुबिसु प्रालीमा आगलागी, नियन्त्रण प्रयास जारी

तस्विर: अभिनाश झा काठमाडौं। काठमाडौंको बालुवाटारमा रहेको ईन्टरनेट सेवा प्रदायक संस्था सुबिसु प्रालीमा आगलागी भएको छ। महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले बालुवाटारको चोकैमा रहेको सुबिसुको कार्यलयमा आगलागी भएको जानकारी दिएका हुन्। घटनास्थलमा सुरक्षाकर्मी पुगिसकेको उनले जानकारी दिएका छन्। नजिकै रहेको पेट्रोलको रिजर्भ ट्यान्कीको कारण आगलागी भएको स्थानियले बताएका छन्।

बिआरआई विश्वकै लागि महत्वपूर्ण परियोजना, नेपाल ल्याण्ड लकबाट ल्याण्ड लिङ्क कन्ट्री बन्ने

काठमाडौं । पराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनद्धारा अघि सारिएको महत्वकांक्षी परियोजन बेल्ड एण्ड रोड इनिसियटिभ(बिआरआई) विभिन्न देशहरूबीचको क्षेत्रीय सम्बन्ध र विश्वलाई जोड्ने महत्वकांक्षी परियोजना भएको बताएका छन् । साउथ एसिया इन्स्टिच्युट अफ एडभान्स स्टडीज्ले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले उक्त महत्वपूर्ण परियोजना अब सर्वस्वीकार्य परियोजना भैसकेको बताएका हुन् । मन्त्री ज्ञवालीले राष्ट्रिय प्राथमिकता निर्धारण गरेर नेपालले पनि यसबाट लाभ लिने गरि तयारी अघि बढाएको बताए । बिआरआईमा सहभागिता जनाएपछि नेपाल ल्याण्ड लक कन्ट्रीबाट ल्याण्ड लिङक कन्ट्रि बन्ने उनले बताए । नेपालले हवाई रुट, रेल, ट्रान्समिसन लाइन र सडक सञ्जाल लगायका क्षेत्रलाई बिआरआईमा समावेश गरेको उनले जानकारी दिए । उनले केरुङ–काठमाडौं रेलवे नेटवर्क गेम चेञ्जर प्रोजेक्ट हुने जानकारी दिए । बिआरआईले एसिया, युरोप र अफ्रिकासहित दक्षिण अमेरिकाका १३० वटा देशले बिआरआईमा सहभागी हुने घोषणा गरिसकेका छन् । कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले पनि बिआरआई विश्वका लागि सर्व स्वीकार्य परियोजना भइसकेको बताए । उनले ढिलो छिटो भारत र अमेरिका पनि बिआरईमा समावेश हुने बताए ।

सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीले ११ प्रतिशत प्रतिफल पाउने, भदौ १ गते बुक क्लोज

काठमाडौँ । सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीहरुले ११ प्रतिशत प्रतिफल पाउने भएका छन् । सिद्धार्थ क्यापिटल सञ्चालक समितिको बैठकले आव २०७५/७६ को लागि १६ करोड ५० लाख बराबरको प्रतिफल वितरण गर्ने भएको हो । प्रतिफल प्रयोजनका लागि भदौ १ गते दर्ता किताब बन्द गर्न लागिएको कम्पनी सचिव सन्दीप कार्कीले बताए ।

बैंकर्स संघले राष्ट्र बैंकलाई पत्र पठाउने, ‘नयाँ व्यवस्थामा पुनर्विचार गर्न अनुरोध’

काठमाडौं । नेपाल बैंकर्स संघको आज बिहान बसेको बैठक राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थामा पुनर्विचार गर्न अनुरोध गर्ने निर्णयका साथ टुंगिएको छ । मौद्रिक नीति पछि आएको राष्ट्र बैंकको निर्देशनलाई पुनर्विचार गर्न अनुरोध गर्ने निर्णय भएको हो । यो हतारमा गरिएको निर्णय भएको जस्तो देखिएको छ,’ त्यसैले यसमा पुनर्विचार गर्न अनुरोध गर्न लागिएको हो,’ एक बैंकर्सले भने । बैंकहरूले इन्ट्रेस्ट स्पेडदर गणना विधि, काउण्टर साइकल बफर तथा बैंकास्योरेन्सको विषयलाई लिएर पुनर्विचार गर्न राष्ट्र बैंकलाई पत्र पठाउने भएका हुन् । राष्ट्र बैंकले २ प्रतिशतले बफर बढाएर पूँजी कोष अनुपात १३ प्रतिशत कायम गर्नु पर्ने नयाँ व्यवस्था लागू गरेको छ । यसअघि उक्त पुँजीकोष अनुपात ११ प्रतिशत थियो । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको काउण्टर साइकल बफर लागू गर्दा १ खर्ब ५० अर्ब कर्जा संकुचन आउने बैकर्सहरूले ठम्याएका छन् । कर्जा प्रवाहमा संकुचन आउँदा मुलुक लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धि र २१ प्रतिशतको कर्जा वृद्धिदर हासिल गर्न चुनौती हुने एशोशिएसनले जानकारी दिएको छ । राष्ट्र बैंकले गरेको यो निर्देशनले समग्र अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने बैकर्सले बताए । स्प्रेडदरको गणना विधिमा परिवर्तन गरेपछि यसको असर बैंकहरूको आम्दानीमा पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै बैंकहरुको ब्याज आम्दानी २५ प्रतिशतले घट्ने गरी स्प्रेड दरको गणना विधि परिवर्तन गरेको छ । बैठकले अहिलेको व्यवस्था लागू भए हाल भएको आम्दानीमा करिब २४-२५ अर्ब आम्दानी घट्न सक्ने बैंकर्सहरूले निष्कर्ष निकालेका छन् । राष्ट्र बैंकले सोमबार नयाँ निर्देशन दिएपछि एशोशिएसनले बुधबार बिहान बैठक डाकेको थियो । आज बसेको बैठकले डेढ वर्षदेखि निक्षेपको ब्याजदरमा गरेको भद्र सहमतिलाई खारेज गरेको छ । बैंकहरूले भद्रसहमति गरेर ब्याजदरका विषयमा कार्टेलिङ गरेका थिए । एशोशिएसनले व्यक्तिगत मुद्दतिमा ९.७५ प्रतिशत, संस्थागत मुद्दतिमा ९.६ प्रतिशत र बचतमा ६.५ प्रतिशतसम्म ब्याज दिने सहमति गरेका थिए । राष्ट्र बैंकको निर्देशनपछि आज बैंकर्स संघको बैठक बस्दै, आक्रोशित बैंकरहरुले कस्तो निर्णय गर्लान ?

उपत्यकाकै लामो झोलुङ्गे पुलको शिलान्यास

भक्तपुर । सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको रु एक करोडको लगानीमा आगामी सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं १० चित्तपोल जोड्ने उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको हो । पुलको लम्बाइ २२५ मिटर रहेको छ । यस क्षेत्रबाट सिङ्गो उपत्यका तथा करिब २२ वटा हिमाल हेर्न सकिने भएकाले देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास गरिएको छ । पुल निर्माणपछि कैलाशनाथ महादेवको मन्दिरमा आउने भक्तजनलाई सहज हुनेछ । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उक्त झोलुङ्गे पुलको आज शिलान्यास गर्दै भक्तपुरमा अब धमाधम राष्ट्रिय गौरवका आयोजना निर्माण हुने बताए । उनले भने, “अबको तीन वर्षमा भक्तपुरको मुहार फेरिने छ, भक्तपुरको विकास तीव्रगतिमा अगाडि बढेको छ, साना योजनाका विकास मात्रै होइन, अब राष्ट्रिय गौरवका आयोजनाहरु धमाधम निर्माण हुनेछन् ।” उनले भक्तपुरमा प्राणी उद्यान, आधुनिक वीर अस्पताल, अन्तर्राष्ट्रिय रङ्गशाला, आधुनिक सभागृह, चार हजार क्षमताको कभर्डहल, स्मार्ट सिटी, सडक, खानेपानी, ढललगायतका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रक्रियामा रहेको बताउँदै यी आयोजनाले भक्तपुरको मुहार फेर्ने बताएका हुन् । देशकै पर्यटकीय क्षेत्रको रुपमा भक्तपुरले आफ्नो छुट्टै पहिचान स्थापित गरेको बताउँदै सांसद बस्नेतले भक्तपुर उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सिलसिलामा निर्माणाधीन झोलुङ्गे पुल मितेरी पुलका रुपमा रहने पर्यटकको आगमन बढ्ने बताए । त्यस्तैगरी, यस क्षेत्रमा मानवनिर्मित ताल बनाउने, साँगादेखि फुलचोकीसम्म पदमार्ग निर्माण गर्ने, काँक्राबारीलाई ‘अर्ग्यानिक इको भिलेज’को रूपमा विकास गर्ने योजनाका साथ काम भइरहेको उनको भनाइ छ । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुुदेव थापाले सूर्यविनायकका सबै वडाहरु जोड्ने गरी शिव परिपथ बनाउने घोषणा गरेका छन् । त्यसअवसरमा वडा नं ८ का वडाध्यक्ष किरण थापा, वडा नं ९ का वडाध्यक्ष उपेन्द्रराज केसी र वडा नं १० का वडाध्यक्ष शिवराम थापाले सूर्यविनायकको विकासमा सबै वडाहरु सक्रिय रहेको चर्चा गरेका थिए । रासस