पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः ‘लक्ष्यभन्दा ६ महिना अगावै सकिन्छ काम’
काठमाडौँ । राष्ट्रिय गौरबको आयोजना पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य रफ्तारमा भइरहेको छ । हालसम्म विमानस्थलको भौतिक प्रगति ४२ प्रतिशत भएको छ । विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन, ट्याक्सी पार्किङ, नाला लगायतका संरचनाहरु निर्माणको काम सम्पन्न भएको भइसकेको छ । आर्थिक वर्ष २०७८/०७९ भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको र चालु आर्थिक वर्षमा ७० प्रतिशत भन्दा बढी काम सकिने गरी काम भइरहेको आयोजनाका निर्देशक प्रदीप अधिकारीले बताए । अहिले विमानस्थल निर्माण कार्यमा ४ सय ५० जना खटिइरहेका छन् । करिब २२ सय करोड लगानीमा निर्माण हुने विमानस्थलको हालसम्म ६ सय करोड वित्तीय प्रगति भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा आयोजनाका लागि ६ सय ३० करोड विनियोजन गरिएको थियो, जसको ६९ प्रतिशत अथवा ४ सय ३५ करोड बजेट खर्च भएको हो । आर्थिक वर्ष २०७५/०७६ मा नेपाल सरकारको स्रोतबाट ५० करोड छुट्याएको थियो, त्यसको ८५ प्रतिशत अथवा ४२ करोड वित्तीय प्रगति नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्नेछ । चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले सन् २०१४ मे मा विमानस्थल निर्माणको ठेक्का पाएको थियो । अन्तराष्ट्रिय उडड्यन संस्था(आइकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७ सय ५७ एयरबस वा सो सरहका जहाज आवतजावत गर्न सक्ने प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले बताए । पौड्यालले हाल आयोजना कार्यान्वयनमा आउटर पेरिफेरी रोडको लागि अधिग्रहणमा परेको जग्गामा सुकुम्वासीलाई हटाउन, आयोजना सञ्चालनमा आवश्यक फ्युल फाम र डेडिकेटेड फिडर लाईनको ब्यबस्था हुन समय लाग्ने लगायतका समस्याहरु रहेको बताए । उनले स्थानीय वडा कार्यालयसँग समन्वय गरी सुकुम्वासी व्यवस्थापनको लागि पहल गरिएको र फ्युल फामको लागि नेपाल आयल निगमलाई हाल १४ रोपनी जग्गामा कार्य गर्न पत्राचार गरेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले केही दिन अघि मात्रै विमानस्थलको अनुगमन गरेका थिए । अनुगमनपछि विमानस्थलको काम सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन् । पोखरा विमानस्थलको कार्य तीव्र गतिमा भइरहेको छ, उनले भने-‘सन् २०२१ डिसेम्बरमा निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको छ, यदि अहिलेकै अवस्थामा काम निरन्तर भयो भने हामी लक्ष्य भन्दा ६ महिना अगाडि नै काम सम्पन्न गरी सक्छौं ।’
आज गाईजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देख्न सकिन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही कूपछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्य व्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको बताउँछन् । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
एनसेल लाभकर विवादको निर्णय भदौ ५ मा, लाभकर छली मुद्दाको सुनुवाइ सकियो
काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकरसम्बन्धी विवादको फैसला आगामी भदौ ५ गतेका लागि सरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले फैसला लेख्नको काम नसकिएको उल्लेख गर्दै आगामी भदौ ५ गते निर्णय सुनाउने तय गरेको हो । एनसेल प्रालिको ८० प्रतिशत सेयर खरीद बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । त्यसको फैसला मात्र आउन बाँकी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत पूर्ण इजलासले गत माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गर्दै कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री अनुमति नदिनु भन्ने पूर्ण इजलासले परमादेश जारी गरेको थियो । अदालतले ठूला करदाता कार्यालयले एनसेलमाथि रु ६२ अर्ब ६३ करोड कर निर्धारण गरेको थियो । यसमध्ये करीब रु साढे ३९ अर्ब एनसेलले बुझाउन बाँकी छ ।
नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पक्राउ पूर्जी पछि मन्त्री पदमुक्त
सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए । मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनलाई पदमुक्त गरिएको हो । रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले सम्हाल्ने बुढाथोकीले जानकारी दिए । उच्च अदालत पाटनले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले पक्राउ गर्न आदेश जारी गरेको थियो । रासस
एनआईसी एशियाले कमायो ३ अर्ब ५ करोड, नाफा १२९ प्रतिशतले बृद्धि
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले गत आव २०७५/७६ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । उक्त बैंकको वित्तीय विवरणका परिसूचकहरु उत्साहजनक देखिएको छ । बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कुल आम्दानी वार्षिक विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् रु ४ अर्ब १५ करोडले वृद्धि गरी रु ९ अर्ब ५१ करोड आर्जन गर्न सफल भएको छ । सोही अवधिमा बैंकले खुद ब्याज आय ६५ प्रतिशत अर्थात् रु.२ अर्ब ७५ करोडले वृद्धि भई रु.६ अर्ब ६९ करोड आर्जन गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालन मुनाफामा वार्षिक विन्दुगत आधारमा १३९ प्रतिशत अर्थात् रु.२ अर्ब ६६ करोडले वृद्धि गरी रु.४ अर्ब ५८ करोड आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १२९ प्रतिशत अर्थात् रु. १ अर्ब ७२ करोडको वृद्धि सहित रु. ३ अर्ब ५ करोड आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. १ अर्ब ३३ करोड रहेको थियो । बैंकलेसमीक्षा आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २७ प्रतिशत अर्थात् रु. ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार रु. २१७ अर्ब ७० करोड पुर्याउन सफल भएको छ । जस अन्तर्गत कुल कर्जातर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २५ प्रतिशत अर्थात् रु. २९ अर्ब ५४ करोडको वृद्धिसहित रु. १५० अर्ब तथा निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा १९ प्रतिशत अर्थात् रु. २९ अर्ब ३६ करोडको वृद्धिसहित रु.१८० अर्ब ५८ करोड पुर्याउन सफल भएको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १०८ प्रतिशतले वृद्धि भई रु. ३४.५६ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम वित्तीय विवरणमा उल्लेख छ ।
पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ
काठमाडौँ । पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले विहीबार साँझ राजधानी काठमाडौँबाट पक्राउ गरेको छ । उनीहरु न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न चितवन र काठमाडौँको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ । पक्राउ परेका लामिछाने र कँडेल दुबैलाई चितवन पठाई हिरासतमा राखी अनुसन्धान गरिने प्रहरी श्रोतले बताएको छ ।
ग्यालेक्सी नोट १०ः उत्पादकत्व र सिर्जनात्मकतामा बृद्धि हुने
काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० सार्वजनिक गरेको छ । प्रीमियम स्मार्टफोहरुको नयाँलाइन, जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पुर्याउने कम्पनीले जनाएको छ । ग्यालेक्सीनोट १० संँग सामसङ प्रयोगकर्ताहरुलाई आफूले चाहेको भन्दा बढी गर्न मद्दत गर्ने विश्वास लिइएको सामसङ नेपालका मोबाइल विजिनेश हेड प्रणयरत्न स्थापितले बताए । दुईभिन्न साइजमा उपलब्ध शक्तिशाली ग्यालक्सी नोटमा भएको एस पेन, प्रो–ग्रेड क्यामेरा र अन्य टुल्सहरुको साथ उत्पादकत्व र सिर्जनात्मकतामा वृद्धि कम्पनीले जनाएको छ ।
२८ वाणिज्य बैंकको नाफा ६५ अर्ब ३० करोड, कुन बैंकको कति ?(सूची सहित)
काठमाडौं । गएको आर्थिक वर्षमा २८ वटा वाणिज्य बैंकले ६४ अर्ब ५० करोड रुपैयाँ नाफा गरेका छन् । बैैंकहरूले गएको आवमा गरेको नाफा अघिल्लो आव २०७४/७५ को भन्दा २५.१९ प्रतिशतले बढी हो । बैंकहरूले अघिल्लो आवमा ५२ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका थिए । बैंकहरूले साउन ३० गतेसम्म प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो तथ्यांक देखाएको हो । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये सेन्चुरीको नाफा मात्रै अर्बभन्दा कम छ । अन्य बैंक सबै अर्बपति क्लबमा प्रवेश गरेका छन् । बैंकहरूको चुक्ता पुँजी बढेसँगै व्यवसायमा गरेको कर्जा प्रभाव वृद्धिका कारण नाफा बढेको हो । मुलुकमा स्थायी सरकार स्थापना भएपछि बैंकबाट कर्जा लिएर भौतिक पूर्वाधार निर्मााणलगायत व्यापार व्यवसाय गर्नेको संख्या पनि थपिदै भएको छ । गएको आवमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले गएको आवमा ५ अर्ब ३२ करोड नाफा कमाएर देशकै अग्रणी बैंक बनेको छ । अघिल्लो वर्ष उक्त बैंकले ३ अर्ब ६५ करोड नाफा कमाएको थियो । निजी बैंकतर्फ नविल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले गएको आवमा ४ अर्ब २९ करोड नाफा कमाएर बढी नाफा कमाउने निजी बैंकतर्फ पहिलो र समग्र बैंकमा तेस्रो स्थानमा रहेको छ । बढी नाफा कमाउने बैंकको दोस्रो सूचीमा कृषि विकास बैंक परेको छ भने अर्को सरकारी स्वामित्वको नेपाल बैंकले निजी बैंक सहर है नाफा आर्जन गरेको छ । गत आवमा कृषि विकास बैंकले चार अर्ब ३५ करोड नाफा कमाएको हो । बैकले अघिल्लो आवमा तीन अर्ब ६५ करोड नाफा कमाएको थियो । त्यसरी नै नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया र एभरेष्ट बैंकको नाफा ३ अर्बभन्दा बढी छ भने १० वटा वाणिज्य बैंकले २ अर्बभन्दा माथि र तीन अर्बभन्दा कम नाफा गरेका छन् । अन्य १० वाणिज्य बैंकको नाफा भने एक अर्बभन्दा माथि र दुई अर्बभन्दा कम रहेको छ । सिभिल र सेन्चुरी बैंकको नाफा भने अर्बभन्दा कम छ । गत आर्थिक वर्षमा २८ वाणिज्य बैंकले गरेका नाफा यस्तो छः स्रोतः बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण