कृषि सहकारी भक्तपुरद्वारा ‘खाद्यान्न प्याकेज’ सार्वजनिक
भक्तपुर । शिलादेवी कृषि सहकारी संस्था लिमिटेडले उपभोक्ताका लागि खाद्यान प्याकेज सार्वजनिक गरेको छ । उक्त संस्थाको नेतृत्वमा भक्तपुरका चार सहकारी संस्थाका सदस्यलाई बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न उपलब्ध गराउने गरी ल्याइएको खाद्य प्याकेज आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । गुण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गतिशील बचत तथा ऋण सहकारी संस्था, चापा ख्वाल बहुउदेश्ययी सहकारी संस्था लिमिटेडका सदस्यका लागि खाद्य प्याकेज ल्याइएको उक्त लिमिटेडका प्रबन्ध निर्देशक गोकुल बनले जानकारी दिएका छन् । सहकारीका सदस्यले एकमुष्ट रूपमा रु १५ हजार बुझाएपछि सहकारीले एक महिनाका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ । सो अनुसार एक सदस्यलाई सोना मन्सुली चामल २० केजी, मासको दाल एक केजी, मुसुरोको दाल एक केजी, सोयाविन तेल डेढ लिटर, नून एक प्याकेट, जिरा, खुर्सानी र बेसार २०० ग्राम प्याकेज स्वरूप उपलब्ध गराइने उनले बताएका हुन् । यसरी, सहकारीले दिने खाद्य प्याकेजमा अहिलेको बजार मूल्यअनुसार वार्षिक रु २१ हजार ४५३ पर्ने भए पनि सहकारीले भने आफ्ना सदस्यलाई रु १५ हजारमै उपलब्ध गराउने भएको हो । पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक बनले भने, “बजारमा आउने खाद्यान्न तीन पटकसम्म व्यापारीहरुको नाफा पार गरेर मात्रै उपभोक्ताकोमा पुग्ने हुँदा मङ्हगो हुन्छ, हामीले छ महिना बजार सर्वेक्षण गरेर सिधैँ उत्पादकसँग खाद्यान्न ल्याई सदस्यलाई दिँदा वार्षिक बजार मूल्यभन्दा रु छ हजार ४५३ सस्तोमा दिन सक्ने भयौं, त्यसैले यो खाद्य प्याकेज ल्याएका हौं ।” उनले यो प्याकेज स्वेच्छिक भएकाले सबै सदस्यका लागि अनिवार्य नभएको र प्याकेज लिएर बीचमा छाड्न चाहनेलाई बाँकी रकम फिर्ता गरिने बताए । प्याकेजमा गुणस्तरीय खाद्यान्न मात्रै वितरण गरिने जानकारी दिँदै प्रबन्ध निर्देशक वनले यस वर्ष परीक्षणका रुपमा १० हजार सदस्यलाई खाद्यान्न उपलब्ध गराइने लक्ष्य लिइएको जानकारी दिएका छन् । गुण बचतका प्रबन्ध निर्देशक प्रबन्ध निर्देशक राजु सुवालले यस वर्ष परीक्षणका रूपमा सञ्चालन गरे पनि आगामी वर्ष चामलदेखि सबै खाद्यान्नहरु कृषि सहकारीले नै उत्पादन गर्ने योजना रहेको जानकारी दिएका छन् । उनले आफ्ना सदस्यलाई भक्तपुरको जगाती, खरिपाटी, वागिश्वरी, सुडाल र दुवाकोटबाट पनि खाद्यान्न वितरण गरिने बताए । रासस
बैङ्किङ ठगीमा वृद्धि, उपत्यकामा मात्र दुई हजार ५६६ विरुद्द मुद्दा
काठमाडौं । काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको हो । जसमा काठमाडौँमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको छ । बैङ्किङ कसुरमा काठमाडौँमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ । उपत्यकामा आव २०७४/०७५ मा ४८७ र आव २०७३/०७४ मा १० जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको थियो । यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैङ्किङ कसुरमा मुद्दा चल्दै आएको थियो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताउँछन् । “पहिला सहमतिमा कारोबार गर्यो, पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा हाल्ने प्रचलन बढेको छ,”–उनले भने । खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैङ्किङ कसुरमा मुद्दा चलाइने गरेको छ । केही समय अगाडि देवानी हक अन्तर्गत बैङ्किङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैङ्किङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो । मुलुकभर आर्थिक वर्ष २०७५/०७६ मा दुई हजार ६२० जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको थियो । यस्तै आव २०७४/०७५ मा ७७६ र आव २०७३/०७४ मा ९३ जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस
खुट्टा एउटा मात्रै भए पनि सुन्दर नृत्य गर्ने सरिताको डाक्टरलाई प्रश्न, ‘म बाँच्दिन भन्नु भएको होइन ?’
काठमाडौँ । फुलबुट्टे गुन्यु र रातो चोली । शिरमा रातो फूल अनि शिरबन्दी। हातमा बैशाखी र मुहारमा मीठो मुस्कान । एकजना महिलाको सहयोगमा उनी स्टेजको बीच भागमा आईपुगिन् । नेपथ्यमा गीत बज्यो ‘मै छोरी सुन्दरी, कसरी भरु पानी ।’ सँगै आएको सहयोगी बहिनीले उनको बैशाखी स्टेजबाट आँफैसँग लगिन् । अनि त्यहाँ जे देखियो, त्यसले सबैको मनलाई एउटा खुशीको अनुभूति गरायो । नेपाल क्यान्सर अस्पतालले केही दिन अघि आयोजना गरेको चाईल्ड र्याम्प शो कार्यक्रममा देखिएको दृश्य हो यो । संसारमा यति धेरै मानिसहरु छौं, जो आफ्नो खुट्टा राम्रो अवस्थामा हुँदाहुँदै पनि नाच्नलाई राम्रोसँग खुट्टा चलाउन जान्दैनौं । तर, ती बहिनीले यसरी नाचिन कि सायद कहिले पनि ननाचेको व्यक्तिलाई पनि नाँचौ नाँचौ भयो । एउटा खुट्टा नभएकी र भएको एउटा खुट्टा कै सहारामा कार्यक्रममा उपस्थित दर्शकहरुको मन लोभ्याउने ती व्यक्ति हुन् सरिता मगर । धादिङ जिल्ला घर भएकी १८ वर्षीय सरितालाई १० बर्षको हुँदा एक्कासी बायाँ खुट्टामा गाँठा आयो । उनको सम्झना अनुसार त्यो चैते दशैँको समय थियो। गाँठो आएपनि केही असजिलो भएको थिएन । तर पनि उनले आफ्नो आमासँग नजिकैको सानो अस्पतालमा गएर जाँच गराईन् । १ महिनासम्म कुरिन्, तर रिपोर्ट नै आएन । उनको बुवाआमालाई डर लाग्यो । त्यसैले उनीहरु समय मिलाएर जाँच गराउन काठमाडौं आईहाले । सबैभन्दा पहिला उनी कान्ति बाल अस्पताल आईन् । त्यहाँबाट उनलाई टिचिङ अस्पतालमा रिफर गरियो । अस्पतालले सरिताको खुट्टाको क्यान्सर भएको घोषणा गर्यो । सायद सरिता र उनका आमबुबाले यो कुरा सोचेकै थिएनन् । खुट्टामा क्यान्सर भएको थाहापाएपछि सरिताकी आमा रुइन्, आमसँगै सरिता पनि रोइन्, अस्पतालले सरिताको खुट्टा काट्नु भन्ने सल्लाह दियो, तर सरिताका आमाबुवालाई आफ्नो छोरीको खुट्टा त्यति सजिलै काट्न मन लागेन । त्यसैले उनीहरु पहिला औषधी उपचारबाट प्रयास गरौं भन्ने मनसाय लिएर भरतपुर अस्पताल पुगे । औषधी मार्फत उपचार गर्ने क्रममा अन्त्यमा सरिताले आफ्नो खुट्टा काट्नु पर्यो र २ बर्ष पछि १२ बर्षको उमेरमा धुलिखेल अस्पतालमा उनको खुट्टा काटियो । उपचारको क्रममा एकपटक उनी बाँच्छिन् भनेर परिवार र आफन्त सबैले आशा गुमाइसकेका थिए । डाक्टरले पनि अब उनी बाँच्छिन् भन्ने आशा नगर्नु भनेका थिए । सरिता भन्छिन्, ‘गाउँघरको सबैले यो त मर्छे भनेका थियो, तर आमाले मात्र हरेस खानु भएको थिएन ।’ तर आज उनी स्वस्थ छिन् र बाँचिरहेकी छिन् । सबैले उनलाई दोस्रो जन्म लिएको भन्छन् । उनी अहिले फलोअपका लागि समयसमयमा अस्पताल गएको डाक्टरलाई सोध्छिन्-‘म बाँच्दिन भन्नु भएको होइन ?’ डाक्टर मात्र मुस्कुराउँछन् । सरिताको बुवा आमा तरकारी खेती गर्छन् । उपचारको क्रममा उनीहरुको लाखौँ खर्च भयो । आमाबुवाले धेरैसँग सापटी लिएर उनको उपचार गराइ छाडे । उनका काका र मामाहरुले पनि उनको उपचारमा धेरै सहयोग गरेको उनी बताउँछिन् । उनी अहिले फलोअपका लागि समयसमयमा अस्पताल गएको बेला डाक्टरलाई भेट्छिन् । डाक्टरलाई सोध्छिन् –‘म बाँच्दिन भन्नु भएको होइन ?’ डाक्टर मात्र मुस्कुराउँछन् । सरितालाई पहिला पहिला मानिसहरुसँग बोल्न, घुलमिल हुन साह्रै गार्हो लाग्थ्यो, तर उनलाई अहिले कसैसँग पनि बोल्न डर लाग्दैन । उनले साथी पनि काठमाडौं आएर धेरै बनाईसकेकी छिन् । यस्तै उनी समय समयमा आफै नै भरतपुर अस्पतालमा फलोअपका जान्छिन् । सरिता अहिले चाबाहिलको होस्टलमा बस्छिन् । त्यहाँ उनी जस्ता धेरै बालबालिकाहरु छन् । चाबाहिलको सुप्रिम ईन्टरनेसनल स्कुलमा कक्षा ८ मा पढ्दै गरेकी सरितालाई फिल्ममा खेल्ने ठूलो ईच्छा छ । उनले ८ बर्षको उमेरमा पहिलो पटक फिल्म ‘गोर्खा पल्टन’ हेरेकी थिईन् । त्यसपछी उनलाई फिल्म खेल्ने ठूलो ईच्छा जाग्यो । बाँया खुट्टा काट्ने बेला उनलाई आफ्नो सपनाको खुब माया लागेर आयो । उनलाई अब आफ्नो सपना त्याग्नु बाहेक बिकल्प देखेकी थिईनन्, तर अहिले उनलाई त्यस्तो लाग्दैन । त्यही सपनालाई पूरा गर्न अहिले सरिता नृत्यलाई आत्मासाथ गरेर अगाडि बढ्ने कोसिसमा छिन् । उनी एउटा खुट्टा कै सहारामा फिल्मी क्षेत्रमा आफ्नो पाइला राख्न चाहन्छिन् । सरिता बर्षमा एकपटक घर जान्छिन् । उनलाई सबैले माया गर्छन् । उनलाई सानासाना भाईबहिनीले जिस्काउने गर्छन्, तर बालबालिकाको बोलीले कत्ति पनि चित्त दुखाउँदिनन् । उनलाई आफ्नो खुट्टा काटिनु परेकोमा पनि केही दुःख छैन । उनी भन्छिन्, ‘मलाई कहिले अरु भन्दा कमजोर महसुस भएन किनभने म उनीहरु भन्दा चाँडो हिंड्न सक्छु ।’
मन्दिर क्षेत्रमा पसलका लागि सटर नबनाउन मन्त्रालयको पत्र
मन्दिर व्यवस्थापन समितिले भने त्यहाँको सडक विस्तारको क्रममा उक्त मन्दिरको व्यापारिक सटरहरु भत्काइएकाले व्यवसायीको अनुरोधमा नयाँ भवन निर्माण शुरु गरिएको जनाएको छ । प्रदेश सरकार र विभिन्न धर्मावलम्बीहरुको सहयोगमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तलामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख राणाले बताए । यसैबीच शहरी विकास मन्त्रालयले बागेश्वरी मन्दिरमा सटर बनाउने कार्य रोक्न गृह मन्त्रालयलाई लेखेको पत्रको बोधार्थ बाँके जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । नागरिकको विरोधकै बीच उक्त मन्त्रालयले मन्दिर क्षेत्रमा सटर नबनाउन हिजो पत्र लेखेको हो । नेपालगञ्ज निवासी सो मन्त्रालयका मन्त्री मोहमद इश्तियाक राईको निर्देशनमा मन्त्रालयका इञ्जिनीयर सौगात थापाको हस्ताक्षरमा कम्पलेक्स निर्माणको काम रोक्न पत्र लेखिएको थियो । रासस
साल्ट ट्रेडिङका सेयरधनीले २ आर्थिक वर्षको लाभांश पाएनन्, अर्थले दिएन स्वीकृति
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सेयरधनीको २ आर्थिक वर्षको नगद लाभांश पाउन सकेका छैनन् । कर्पोरेशनको ५१ औँ साधारण सभाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को नाफाबाट २ करोड २५ लाख ६८ हजार ८१० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । तर, अर्थ मन्त्रालयले स्वीकृति प्रदान नगर्दा लाभांश पाउन नसकेका हुन् । उद्योग मन्त्रालयका उप-सचिव उर्मिला केसीले आर्थिक बर्ष २०७३/७४ को ९८ लाख २३ हजार ४२० रुपैयाँ र आव २०७४/७५ को १ करोड २५ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश वितरणका गर्न स्वीकृतिका लागि अर्थमन्त्रालयमा पत्र पठाएको बताइन् । उनले भनिन्-तर अहिलेसम्म अर्थबाट स्वीकृति पाएका छैनौँ । यता, अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नगद लाभांश वितरणको प्रक्रिया नपुगेकाले रोकिएको र प्रक्रिया पूरा भएपछि स्वीकृति प्रदान गरिने बताए । तर, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलका प्रवक्ता कुमारराज भण्डारीले अर्थ मन्त्रालयबाट प्रक्रिया नपुगेकोबारे आधिकारिक जानकारी नपाएको बताए । उनले भने-‘अर्थबाट स्वीकृति नपाई लाभांश वितरण गर्न सकिंदैन ।’ २०७४ फागुन १६ गते नै साल्ट ट्रेडिङले उद्योग मन्त्रालयलाई पत्राचार गर्दै लाभांश वितरणका लागि स्वीकृति दिन माग गरेको थियो । सोहीअनुसार मन्त्रालयले पुसमा अर्थ मन्त्रालयलाई स्वीकृतिका लागि पत्राचार गरेको थियो । तर, अर्थ मन्त्रालयले अहिलेसम्म लाभांश वितरण गर्ने स्वीकृति दिएको छैन । कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा (२) अनुसार सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका कम्पनीले लाभांश वितरणका लागि सरकारको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । सरकारका तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नगद लाभांश वितरणका लागि सहमति दिए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा लाभांश वितरण रोकिएको हो । अर्थ मन्त्रालय श्रोतका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनमा सेयर स्वामित्वका विषयमा उठेको विवादमाथि छानबिन भइरहेका कारण लाभांश बाँढ्न स्वीकृति दिन ढिलाई गरिएको हो । साल्ट टेड्रिङमा सर्वसाधारणको २० प्रतिशत र सरकारको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
रारा राष्ट्रिय निकुञ्जले उठायो ३८ लाख राजश्व
रारा । आर्थिक वर्ष २०७५/७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले रु ३८ लाख राजश्व सङ्कलन गरेको छ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजश्व सङ्कलन गरिएको हो । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाका अनुसार गत आवमा ४६५ बाह्य तथा १२ हजारभन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आएका थिए । बाह्य पर्यटकका लागि रारामा प्रवेश शुल्क पहिलेदेखि नै लागू गरिएको थियो । “आन्तरिक पर्यटकका लागि गत कात्तिकदेखि प्रवेश शुल्क लिन थालिएको हो”, रोकायाले भने । गत कात्तिकदेखि आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति रु १०० तथा बाह्य पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार ३९० प्रवेश शुल्क तोकिएको छ । सार्क राष्ट्रको नागरिकका लागि प्रवेश शुल्क रु एक हजार ५०० तोकिएको छ । कर्णाली राजमार्गको स्तरोन्नति नहुनु र रारा विमानस्थलमा हवाईसेवा नियमित नभएका कारण पर्यटकको आगमनमा कमी आएको रोकायाले बताए । रारामा पर्यटकको सङ्ख्या बढाउन र पर्यटन वर्ष २०२० लाई सफल बनाउन सुविधा सम्पन्न होटेल बनाउनु पर्ने, आसपासमा रहेको अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने, पर्यटकको बसाई लम्बाउन रारालाई पर्यापर्यटनका साथै धार्मिक पर्यटनमा जोड दिनुपर्ने पर्यटन व्यवसायी पूर्णादेवी बम बताउँछन् । रासस
६५ हजार घुस रकमसहित प्रधानाध्यापक र अध्यक्ष पक्राउ
परासी । रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन् । अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको भुसालले बताएका छन् । रासस
बैंक तथा वित्तीय संस्थाहरुको मर्जर सहज र सरल हुन्छः गभर्नर नेपाल
रुपन्देही । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्ने बताएका छन् । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिकोत्सव समारोहको विहीबार बुटवलमा उद्घाटन गर्दै गभर्नर नेपालले शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिए । “देशभर पाँच हजार ५६४ शाखा छन् तर ग्रामीण क्षेत्रमा अझै पुग्न सकेका छैनन् । ग्रामीण भेगमा पैसा छ तर लगानी र बचत के हो थाहा छैन”, उनले भने । ५५ प्रतिशतले मात्रै बैंकबाट ऋण लिने गरेको गभर्नर नेपालले बताए । उनले बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभिएका कारण वित्तीय सबलीकरण र संस्थात्मक व्यवस्थापनमा सहज भएको बताए । “हिजो मर्ज प्रक्रिया पीडादायी भए पनि जर्जर अवस्थामा पुगेका संस्था मर्ज गर्दा परिणाम राम्रो आएको छ । आगामी दिनमा मर्ज सहज र सरल हुन्छ”, उनले भने । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कार्कीले वित्तीय संस्थामा बढेको अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्ने बताए । “वित्तीय क्षेत्रमा चुनौती बढी छन् । ऋणी कसलाई पत्याउने नपत्याउने भन्नुे कुरा जटिल छ”, उनले भने । चौतारी विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जगत पोखरेल, कर्मचारी सङ्घका अध्यक्ष नवराज ढकाल, वित्तीय कर्मचारी सङ्घका अध्यक्ष रमेश जिसी लगायतले बोल्दै वित्तीय संस्था सफल बनाउने हात कर्मचारीको रहेको धारणा राखे । रासस