विकासन्युज

नेपाली रुद्राक्षको बाेटमा चिनियाँ व्यापारीकाे हस्तक्षेप, विषादी हालेर अप्राकृतिक बनाउँदै….

सङ्खुवासभा । चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् । कतिपय बगानमा चिनियाँ व्यापारीे रुद्राक्षको स्वरूप परिवर्तन गरेर आकर्षित पार्न प्लास्टिकका क्लिपसमेत लगाएका छन् । बितेका तीन वर्ष अघिसम्म थोरै माग हुने भएकाले चिनियाँ व्यापारी काठमाडौंसम्म मात्र आउने गर्थे । विगत दुई वर्षदेखि ठूलो संख्यामा चिनियाँ व्यापारी गाउँगाउँमा पुगेको स्थानीयवासी बताउँछन् । चीनमा सजावट र शृंगारिक गहनाका रूपमा रुद्राक्ष प्रयोग गर्ने गरिएको छ । व्यापारीले किसानको बोटबाट नै मोलमोलाई गर्ने गरेका छन् । पूर्वीपहाडी जिल्लामध्ये संखुवासभामा रुद्राक्ष अत्याधिक उत्पादन हुने गर्छ । त्यस्तैगरी, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसँगै सुनसरीको पहाडी क्षेत्रमा पनि रुद्राक्षको व्यावसायिक खेती हुने गर्छ । संखुवासभा र भोजपुरको राम्रो नगदेबालीका रुपमा रुद्राक्ष रहेको छ । ठाउँअनुसार हावापानी फरक हुनाले रुद्राक्ष उत्पादन हुने सिजन पनि फरक छ । पछिल्लो समय रुद्राक्षको बोटमा क्लिप तथा विषादी प्रयोग गर्ने क्रम बढेकाले यसको व्यवसाय नै संकटमा पर्न सक्ने देखिएपछि किसानहरु चिन्तित भएका छन् । रुद्राक्षलाई कृत्रिम बनाउन अहिले बगानै ठेक्का लिएर रुद्राक्षको बोटमा विषादी हालेर अप्राकृतिक बनाउन थालिएको हो । विषादी र मेसिन प्रयोग गरेर रुद्राक्षको कृत्रिम आकार बनाउँदा पनि सम्बन्धित निकाय भने बेखबर देखिएको छ । रुद्राक्षको कृत्रिम उत्पादन गर्दा समस्या भएको भन्दै स्थानीय व्यापारी र कृषकहरु चिन्तित छन् । चिनियाँ व्यापारीले रुद्राक्षलाई आवश्यकताअनुसार क्लिप प्रयोग गरेर थेप्चे, कण्ठे, चिल्लो, मदाने र आकारका दानाहरु उत्पादन गरिरहेका छन् । व्यापारका लागि चिनियाँहरुले दुई वर्षअघिदेखि बोटमै विषादी र क्लिप प्रयोग गरेर कृत्रिम आकार बनाई बेच्ने गरेका छन् । चिनियाँ व्यापारी रुद्राक्षको व्यापार गर्न आठ वर्षअघि सङ्खुवासभा र भोजपुरका विभिन्न क्षेत्रका गाउँबस्तीमा बस्ने गरेका देखिन्छ । दुई वर्षदेखि कृषकका रुद्राक्ष बगान ठेक्का लिएर व्यापारीहरुले जथाभावी क्लिपबाट कृत्रिम दाना उत्पादन गरेको भन्दै केही स्थानमा प्रशासनले रोक लगाएको छ । तर, अझै रुद्राक्षलाई कृत्रिम बनाउने काम भने रोकिएको छैन । व्यापारीले विषादी र क्लिपको सहायताले कृत्रिम दाना उत्पादन गरेका रुद्राक्षले यसको महत्व घट्दै गएको भन्दै कृषकहरु चिन्तित भएका हुन् कृत्रिम उत्पादनले रुद्राक्ष बिक्रीमा समस्या हुन थालेको चैनपुर–६ का टीकादत्त गौतमले दुखेसो पोखे । चिनियाँ व्यापारीले यस वर्ष रुद्राक्षको चिचिलै अवस्थामा बोटमै विषादी छर्किएर राम्रा दाना उत्पादन गर्न लागिपरेका छन् । चिनियाँ व्यापारीले गत वर्ष सङ्खुवासभाको चैनपुर–११ लोहाकोटमा रु १५ लाखको ठेक्कामा लिइएको रुद्राक्षमा विषादी प्रयोग गरिएको रहस्यसमेत खुलेको छ । विषादी प्रयोग गरिएको रुद्राक्ष चिल्लो हुने भए पनि एक महिना नबित्दै त्यसको रङ खुइलिने, हलुका हुने र कालो देखिने समस्या देखिएको छ । त्यसले बहुमूल्य रुद्राक्षसमेत बिक्री गर्न समस्या भएको रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष चक्र बिसुन्केले जानकारी दिएका छन् । विषादी प्रयोग गरी उत्पादन भएका रुद्राक्ष बिक्री हुन समस्या भएको समेत उनले बताए । गत वर्ष परीक्षण गरिएका रुद्राक्षको बोटमा यस वर्ष राम्रा रुद्राक्ष फल्न छाडेको उनको भनाइ छ । विषादी र क्लिप प्रयोग भएका रुद्राक्ष नयाँ तथा पुराना व्यापारीले खरिद गरेर बिक्रीका लागि अन्य देश लैजाँदा नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मै धमिल्याउन चिनियाँ व्यापारी लागिपरेको सङ्घका अध्यक्ष बिसुन्के बताउँछन् । विषादी प्रयोग गरेर गुणस्तरीय दाना उत्पादन गर्न अहिले भोजपुर, सङ्खुवासभासभा र धनकुटामा यसको लहर चलेको छ । कृत्रिम उत्पादनले चिनियाँ र भारतीय व्यापारीलाई समेत रुद्राक्ष निर्यातमा समस्या हुन थालेको व्यवसायीको गुनासो छ । रुद्राक्षले कृषकका वर्षौँसम्म आम्दानी दिनसक्ने बोटसमेत बिग्रिएको उनीहरुको भनाइ छ । बिगारिएको रुद्राक्ष अहिले झुक्याएर चीन र भारत बिक्री भए पनि त्यो लामो समय कायम हुन नसक्ने बताए । विषादी प्रयोग गरेर आवश्यकताअनुसार जति पनि रुद्राक्ष उत्पादन गर्न सकिने भएकाले आगामी दिनमा रुद्राक्ष व्यवसाय बन्द हुनसक्ने अवस्था आएको छ । विगतमा इण्डोनेशियामा यसरी नै विषादी प्रयोग गरेर कृत्रिम बनाइएको रुद्राक्ष बहुमूल्य रह्यो । तर अर्को पटक गुणस्तरीय रुद्राक्ष उत्पादन नहुँदा व्यवसाय नै बन्द भएको व्यापारीहरु बताउँछन् । रुद्राक्षको उत्पत्ति रुद्रःआक्ष मिलेर बनेको रुद्राक्ष शब्दसँग यसका उत्पत्तिका विभिन्न कथा पुराणहरूमा वर्णित छन् । रुद्र भगवान् शिवकै एक नाम तथा आक्षको अर्थ आँसु हो । रुद्राक्षलाई कतै भगवान् शिवको आँसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ । रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाइने एक प्रकारको वनस्पतिको बोटमा फल्ने घेरादार दाना हो । यसको दानामा हुने प्राकृतिक घेरालाई मुख भनिन्छ, हालसम्म एकमुखेदेखि एक्काईसमुखे रुद्राक्षका दाना फेला परेका छन् । एकमुखे रुद्राक्षलाई साक्षात् शिवस्वरूप मानिने भएकाले यो अमूल्य हुन्छ । रुद्राक्ष भगवान् शिवसंग सम्बन्धित भएकाले यसलाई धागोमा उनेर वा मालाका रूपमा धारण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै धार्मिक एवं शारीरिक लाभ हुने विश्वास छ । रुद्राक्ष धारण गर्ने व्यक्तिले त्यसबाट समुचित लाभ प्राप्त गर्न मद्य, मांस, लसुन, प्याजजस्ता तामसी भोजन गर्न नहुने मान्यता छ । विज्ञानका दृष्टिमा रुद्राक्ष रुद्राक्षका विषयमा वैज्ञानिक अध्ययन समेत भएका छन् भने थप शोध अनुसन्धान जारी छ । रुद्राक्षलाई नीलो संगमरमर पनि भनिन्छ । यसको रुख नेपाल, पूर्वोत्तर भारत, इन्डोनेसियाको जकार्ता एवं जावामा पाइन्छ । नेपालको रुद्राक्षलाई उत्तम मानिन्छ । वनस्पतिशास्त्रमा रुद्राक्षलाई इलियोकार्पस गेनिट्रस भनिन्छ । गोलो, खस्रो, कठोर एवं लामो समयसम्म नबिग्रने रुद्राक्ष वास्तवमा एक प्रकारको बीज हो । पांचमुखी रुद्राक्ष बढी संख्यामा पाइन्छ भने एक र चौधमुखी रुद्राक्ष दुर्लभ हुन्छ । प्राचीन ग्रन्थहरुमा यसलाई चामत्कारिक तथा दिव्यशक्ति स्वरूप बताइएको छ । मान्यताअनुसार रुद्राक्ष धारण गर्नाले मुटुसम्बन्धी समस्या, रक्तचाप एवं घबराहट आदिबाट मुक्ति मिल्छ । रुद्राक्षका विषयमा बताइएका चामत्कारिक गुण वास्तविक हुन् वा होइनन् भन्ने कुरा पत्ता लगाउने उद्देश्यले गरिएका आजसम्मका शोध कार्यबाट कतिपय गुणहरुको पुष्टि भएको पाइन्छ । विद्युतीय शक्ति अध्ययनहरुबाट यसमा विद्युत् चुम्बकीय, अर्धचुम्बकीय तथा औषधीय गुण भएको कुरा पुष्टि भएको छ । वैज्ञानिकहरुका अनुसार यसको औषधीय क्षमता विद्युत् चुम्बकीय प्रभावबाट पैदा हुन्छ । रुद्राक्षको विद्युत् चुम्बकीय क्षेत्र एवं तेज गतिको कम्पन आवृत्ति स्पन्दन देखेर वैज्ञानिक समेत आश्चर्यचकित भए । यसकारण घनत्व बढी वैज्ञानिकहरुबाट गरिएको बायो केमिकल विश्लेषणमा के देखियो भने रुद्राक्षमा कोबाल्ट, जस्ता, निकल, फलाम, म्याग्नीजÞ, फस्फोरस, एल्युमिनियम, क्याल्सियम, सोडियम, पोटासियम, सिलिका एवं गन्धकजस्ता तत्व पाइए । यी तत्वको उपस्थितिका कारण रुद्राक्षको घनत्व बढी हुन्छ, फलतः यो पानीमा राख्दा डुब्छ । पानीमा डुब्ने रुद्राक्षलाई सक्कली मानिन्छ । कतिपयको मान्यतामा यसलाई दुईवटा तामाको सिक्काको बीचमा राखियो भने यसमा कम्पन उत्पन्न हुन्छ । वैज्ञानिकका अनुसार रुद्राक्षमा ब्याक्टेरिया, भाइरस एवं फंगस प्रतिरोधी गुण पाइन्छ । कतिपयले यसमा क्यान्सर प्रतिरोधी क्षमता पाइने आकलनसमेत गरेका छन् । चीनमा गरिएको अध्ययनअनुसार रुद्राक्ष यिन—यांग ऊर्जाकाबचि सन्तुलन कायम राख्न सहयोगी हुन्छ । नगर कार्यसमिति चयन यसैबीच, रुद्राक्ष कृषक र व्यापारीहरुको एक भेलाले १३ सदस्यीय नगर कार्यसमिति चयन गरिएको छ । समितिको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, उपाध्यक्ष मिलन राई, महासचिवमा महेश तामाङ, सचिव सुवास श्रेष्ठ र कोषाध्यक्षमा बिन्दा शर्मा भण्डारी चयन भएकी छिन् । रासस

८.३८ प्रतिशत बोनस सेयर दिने गुराँस लघुवित्तको घोषणा

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को संचित मुनाफाबाट चुक्तापूँजी ७ करोड ७५ लाखको ८.३८ प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणका गर्ने निर्णय गरेको हो । उक्त बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृतिपछि साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव नरेन्द्र मिश्रले जनाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झौता, कर्मचारीको दक्षता अभिबृद्धि गरिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्मचारीहरुको दक्षता अभिबृद्धिबाट नै बैंकले दिगो प्रगति हासिल गर्न सक्ने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक मार्गदर्शनको रुपमा रहेकोले बजारले रावा बैंकलाई नियालिरहेको बताए । उक्त सम्झौतापछि आब २०७६/०७७ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्ने छ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कविराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापाको उपस्थिति रहेको थियो ।

२५ प्रतिशतले बढ्यो एनएमबीको नाफा, प्रतिसेयर मूल्य २.२३ रुपैयाँले बढ्यो

काठमाडौंः एनएमबी बैंकले गएको आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गएको आवमा कमाएको नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.८६ ले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब २७ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दनी ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षमा ९७ अर्ब ८९ करोड निक्षेप संकलन गरेर ८८ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा पनि १ प्रतिशतभन्दा कम ०.८२ प्रतिशत रहेको छ । सीसीडी रेसियो ७६.८८ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड छ भने रिर्जभ फन्ड ३ अर्ब ५३ पुगेको छ । एनएमबीको बेसरेट ९.८६ प्रतिशत रहेको छ भने बैंकको कस्ट अफ फन्ड ७.२६ प्रतिशत रहेको छ । एनएमबीको प्रतिसेयर आम्दानी २४.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८१.४९ रुपैयाँ छ । बैंकको सेयर मूल्य ३८२ रुपैयाँ रहेको छ ।

कोका-कोलाको प्रोमोस्नल क्यामपेन, बम्पर उपहारमा टाटा टियागो गाडी जित्ने मौका

काठमाडौँ । कोका–कोला नेपालले सबैभन्दा ठूलो प्रोमोस्नल क्यामपेन ‘कोका–कोला क्यापमा कार अफर’ ल्याएको छ । यस पटक कोका–कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिदैँ आफ्नो सवारी अप्ग्रेड गर्ने अवसर प्रदान गरेको छ । प्रोमोस्नल क्यामपेन अन्तर्गत उपभोक्ताहरुले ५०० एमएल, १.१५ लिटर र २.२५ लिटरको कोका–कोला, स्प्राईट र फ्यान्टा किनेर यसको मज्जा लिनुका साथै लक्की ड्र का लागि कन्टेस्टमा सहभागी हुन सक्नेछन् । लक्की ड्र हरेक दिन आयोजना गरिनेछ र उपभोक्ताहरुले हरेक घण्टा एलजी एलईडी टिभी र बम्पर उपहारमा टाटा टियागो गाडी जित्न सक्नेछन् । क्यामपेनमा सहभागी हुन उपभोक्ताहरुले बिर्को मुनि रहेको ८ अंकको यूनिक कोड टाइप गरेर ३६७६८ मा एसएमएस गर्नुपर्ने हुन्छ । उक्त म्यासेज भेरिफाई गरेर प्रत्येक घण्टा आयोजना गरिने लक्की ड्र का लागि पठाइनेछ र त्यसपश्चात मात्र बम्पर लक्की ड्र का लागि पठाइनेछ । उपभोक्ताहरुलाई वैध पुष्टिकरण पठाइनेछ र विजेताहरुलाई पनि छिट्टै सूचित गरिने कम्पनीले जनाएको छ । उपभोक्ताहरुले पुरस्कार दावी गर्न कोड प्रिन्ट भएको बोतलको बिर्को पनि राख्नु पर्नेछ । यो योजना ३१ अगष्ट २०१९ सम्म मात्र मान्य हुने जनाइएको छ ।

मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब २२ करोड नाफा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आव ०७५/०७६ सम्ममा रु. ४६ अर्ब १३ करोड निक्षेप संकलन र रु.३७ अर्ब ९५ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा रु. १ अर्ब २२ करोड गरेको छ । बैंकले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी रु २७.८४ रुपैया रहेको छ । बैंकले नियमित कारोबारबाट नै सञ्चालन मुनाफा रु १ अर्ब २२ करोड गरी निक्षेप र कर्जातर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

गुणस्तर र ताैलमा उपभाेक्ता ठगि गर्ने एशियन पेन्टस् उद्योग माथि मुद्दा दायर

हेटौंडा । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ । नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो । उद्योगले नापतौल यन्त्रको खरिद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर, त्यसअनुसार नगरेकाले मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले जानकारी दिएका छन् । सो कार्यालयले एक वर्ष कैद र १० हजार जरिवानाकाे माग सहित मुद्दा दायर गरेको बताएको छ । यस्तै सो कार्यालयले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लामा सञ्चालित पेट्रोलपम्पहरुको अनुगमन र निरीक्षण गर्दा एक दर्जनभन्दा बढी पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा कैफियत देखिएकाले समेत कारवाही गरेको सो कार्यालय जनाएको छ । पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा तौलमा ठगी गरेको पाइएपछि कारवाही गरिएको प्रमुख यादवको भनाइ छ । रासस

वर्षाका कारण अवरुद्ध उदयपुरको पहाडी सडक खुल्यो, धमाधम खाद्यान्न ढुवानी

गाईघाट । वर्षाका कारण भत्किएर एक महिनासम्म अवरुद्ध बनेको उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको सडक खुलेपछि खाद्यान्न ढुवानी शुरु भएको छ । सदरमुकाम गाईघाट बजार र रौतामाइ गाउँपालिकाको व्यापारिक केन्द्र मुर्कुचीबजारबाट उदयपुरको मध्यउत्तरी पहाडी क्षेत्रका विकट गाउँहरु जाँते, लाफागाउँ, बराह, बासबोटे, बलाम्ता, ताम्लिछा, छताङ, माझखर्क, इनामेसहित गाउँ जोड्ने सडक मर्मतका साथै खसेको पहिरो हटाइएकाले सवारीसाधानबाट खाद्यान्न पनि ढुवानी गरिएको लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष रमिलाकुमारी राईले जानकारी दिएका छन् । सडक खुलेसँगै बुधबार बिहानैदेखि ट्र्याक्टरबाट जिल्लाको सदरमुकाम गाईघाट र रौताको मुर्कुची बजारबाट झण्डै २० ट्र्याक्टर लिम्चुङबुङको माझखर्क, बासबोटे र बराहमा खाद्यान्न ढुवानी गरिसकिएकाले ती स्थानमा खाद्यान्नको समस्या समाधान हुन थालेको उक्त गाउँपालिकाका कार्यकारी अधिकृत खम्बराज राईले बताए । गत असारको अन्तिम हप्ता आएको भीषण बाढी र पहिरोका कारण सदरमुकाम गाईघाट र व्यापारिक केन्द्र मुर्कुचीदेखि जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रका गाउँहरु जोड्ने सम्पूर्ण सडक ठाउँ–ठाउँमा पहिरोले पुरिएको र भत्किएपछि सवारीसाधन सञ्चालन हुन नसकेकाले खाद्यान्न र दैनिक उपभोग्य वस्तुको अभाव भोग्दै आउनुपरेको सो क्षेत्रका बासिन्दाको गुनासो थियो । प्रदेश नं १ को सरकारले हेलिकोप्टरबाट ४१ क्विन्टल चामल सो स्थानमा ढुवानी गरेपनि अपर्याप्त हुँदा यहाँका बासिन्दा असन्तुष्ट थिए तर बल्ल एक महिनापछि सवारीसाधनले खाद्यान्न धुवानी गर्न थालेकाले जनजीवन सहज हुन पुगेको लिम्चुङबुङ बराहका कृष्णराज बरालले बताएका हुन् । रौतामाई गाउँपालिकाले रु १५ लाख, लिम्चुङबुङ गाउँपालिकाले रू २५ लाख र प्रदेश नं १ सरकारले रु २० लाख गरेर कूल रु ६० लाखको लागतमा रौतामुर्कुची डिल्लीबर हुँदै लिम्चुङबुङसम्मको सडक खुलाइएको सडक व्यवस्थापन समितिका संयोजक मनोज बुढाथोकीले बताए । साउनको ३ गतेदेखि आधादर्जन स्काभेटर तथा जेसिभी र दैनिक पचासौँ मजदुर प्रयोग गर्नाका साथै दिनरात काम गरेर ठाउँठाउँमा भत्किएको तथा पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन आफूहरु सफल भएको उनको भनाइ थियो । लिम्चुङबुङ बराहका देवेन्द्र बरालले भने, “यस पटक फागुनदेखि खडेरी परेकाले मकैबाली सबै नष्ट हुँदा गाउँघरमा अन्य जगेडा अन्न नभएकाले अन्यत्रबाट चामल ढुवानी गर्दै ल्याउनुपरेको थियो । असार अन्तिम सातादेखि वर्षाका कारण एक महिनासम्म सडक अवरुद्ध भएकाले अन्नको अभावमा कष्टपूर्ण तरिकाले दिनरात काट्दै आउनुपरेको थियो तर अब सडक सञ्चालन भएकाले चामल–दाल त किनेर ल्याई खान सकिने भयो ।” रासस