भदाै १२ देखि नेपाल एअरलाइन्सकाे जापान उडान, ७० हजारमा दुईतर्फी यात्रा
काठमाडाैं । नेपाल वायुसेवा निगमले भदाै १२ देखि जापानको ओसाका उडान भर्ने भएको छ । निगमले मंगलबार पत्रकार सम्मेलन गर्दै जापानको ओसाकामा अगष्ट २९ अर्थात भदौ १२ गते उडान भर्ने जनाएको हो । यो भन्दा अगाडी उडान गर्ने भनिएपनि केहि अन्यौल रहेकोमा अब भने उडान भर्ने निश्चित भएकाे निगमले जनाएकाे छ । निगमका अध्यक्ष मदन खरेलले सबै तयारी पुरा भएको बताउँदै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज जापानको ओसाकामा जाने बताए । निगमले ओसाकामा हप्ताको तीन उडान गर्ने जनाएको छ । पहिलो उडानमा त्यति यात्रुहरु नभएपनि विस्तारै व्यापार प्रवद्र्धन गर्दै लैजाने उनले बताए । नेपाल नागरिक उडड्यन प्राधिकरणले रुट प्रमिटको अनुमति दिएसँगै जापान उड्ने बाटो खुल्ला भएको उनले बताए । पहिलो अगष्ट महिनामा त्यति यात्रुहरु नभएपनि पछिल्ला महिनाहरुमा यात्रुको संख्या राम्रै हुने निगमले जनाएको छ । निगमका कमरसियल म्यानेजर टंकनिधी दाहालले हाल सम्म १ सय ५० को हाराहारीमा टिकट बुकिङ भएको बताए । उनले टुवेका लागि प्रति टिकटको ७० हजार रुपैयाँ पर्ने बताए ।
मर्मत हुँदै पूर्वपश्चिम राजमार्ग, सडक कार्यालयले उपलब्ध गरायो साढे २७ करोड
भिमदत्तनगर । मुलुककै जेठो पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि अत्तरियासम्म ‘पाइलोट सडक मर्मत’ कार्यक्रमअन्तर्गत महेन्द्र राजमार्ग मर्मत शुरु भएको छ ।डिभिजन सडक कार्यालयले राजमार्ग मर्मतका लागि रु २७ करोड ७३ लाख ७७ हजार बजेट उपलब्ध गराएकामा रु १७ करोड ९६ लाखमा मर्मत गर्ने गरी कालिका–जोशी जेभी निमार्ण कम्पन्नीसँग गत फागुनमा ठेक्का सम्झौता भएको थियो। उक्त कार्यालयका सूचना अधिकारी लक्ष्मीदत्त जोशीले कैलालीको चिसापानीदेखि अत्तरीया बजारसम्मको नियमित मर्मत सो कम्पनीले गर्नेछ । सो योजनाअन्तर्गत सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पर्खाल बनाउने, नाला मर्मत, रेलिङ मर्मत, कल्भर्ड मर्मत र सडक बन्द भए अवरोध पनि हटाउने कार्यसमेत हुने उनको भनाइ थियो ।“गत फागुनदेखि पाइलोट सडक मर्मत कार्यक्रमअन्तर्गत राजमार्ग मर्मत हुँदैछ ।” सूचना अधिकारी जोशीले भने, “राजमार्ग जीर्ण हुनाका साथै दुर्घटना पनि बढ्न थालेपछि मर्मत गर्न लागिएको हो ।” त्यसैगरी, पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकीदेखि भीमदत्तनगर बजारसम्म पाँच किलोमिटर सडक दुवैतर्फ चौडा गरिएको उनले जानकारी दिए । चालू आवमा गड्डाचौकीदेखी कैलालीको अत्तरियासम्म सडक मर्मतका लागि रु पाँच करोड विनियोजन गरिएको थियो ।“पश्चिमी सिमानादेखि नै राजमार्ग मर्मत शुरु गर्छौ ।” उनले भने, “नेपाल भ्रमण वर्षलाई पनि टेवा पुगोस् भन्ने हाम्रो पनि उद्देश्य हो ।” कार्यालयले चालू आवमा राजमार्ग छेउमा रहेका बिजुलीका पोल र रुख हटाउने कार्य गर्ने जनाएको छ । रासस
कृषि विकास बैंकको नाफा ५७ करोड
विराटनगर । कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा कूल रु ५७ करोड ५२ लाख १२ हजार नाफा आर्जन गरेको छ । बैंकले रु १४ अर्ब ७५ करोड ९२ लाख लगानी गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा रु १४ अर्ब ५२ करोड ३१ लाख लगानी गरी ९८ प्रतिशत प्रगति हासिल गरेको बैंकले जनाएको हो । अघिल्लो आवमा बैंकले रु १२ अर्ब ८९ करोड ९४ लाख ४७ हजार लगानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष रु एक अर्ब ६२ करोड ३६ लाख ६५ हजारभन्दा बढी रकम लगानी गरेको बैंकका सूचना अधिकारी जीवन घिमिरेले जानकारी दिएका छन् । गत आर्थिक वर्षमा रु आठ अर्ब ४३ करोड ३४ लाख निक्षेप सङ्कल गर्ने लक्ष्य लिएको बैंकले सो अवधिमा रु सात अर्ब ४२ करोड ९६ लाख निक्षेप सङ्कलन गरी ८८ प्रतिशत प्रगति हासिल गरेको थियो । यो लक्ष्यको तुलनामा रु एक अर्ब तीन करोड ३८ लाख कमी हो । बैंकले गरेको लगानीमा शङ्कास्पद नेक्सानी व्यवस्थामा रु ३३ करोड ४९ लाख ८२ हजार रकम राखेको छ । उक्त बैंकले गत आर्थिक वर्ष कृषि कर्जातर्फ इलाममा रु चार अर्ब ३५ करोड ६५ लाख, झापामा रु आठ अर्ब ६५ लाख ८५ करोड, धनुकटा र तेह्रथुममा रु एक अर्ब ८९ करोड, सुनसरीमा रु एक अर्ब २० करोड र मोरङमा रु एक अर्ब २७ करोड लगानी गरेको थियो । त्यस्तै, उद्योगतर्फ इलाममा रु एक करोड १७ लाख, झापामा रु सात करोड ७७ लाख, धनकुटा र तेह्रथुममा रु ७१ लाख, सुनसरीमा रु सात करोड ९३ लाख र मोरङमा रु दुई करोड ६० लाख लगानी गरेको सो बैंकले जनाएको छ । यसरी, कूल एक लाख ४६ हजार ४३० सेवाग्राही रहेको बैंकमा ५४ हजार १६७ जना सक्रिय छन् । मेची र कोशी अञ्चल कार्यक्षेत्र रहेको बैंकमा ३३ वटा शाखा, एक क्षेत्रीय कार्यालय र मोरङमा एक तालिम केन्द्र छन् । बैंकले खानी, कृषि, उद्योग, होटेल तथा पर्यटन, निर्माणसम्बन्धी, घरायसी कर्जा, आयात–निर्यात कर्जा, जलविद्युत्, चिया र अलैँची, नगदेबाली जस्ता क्षेत्रमा लगानी गर्नुका अतिरिक्त सरकारको अनुदानको काम, सरकारी कारोवार, स्थानीय निकायको खाता, सामाजिक सुरक्षा भत्ता वितरण, वन र विद्यालयमा संस्थागत उत्तरदायी निर्वाह गर्दै विदेशी मुद्रा खरिद– बिक्री गर्ने गरेको छ । रासस
एभिसी सेन्ट्रल जोन भलिबलमा आज तीन खेल हुँदै
काठमाडौं । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने उक्त प्रतियोगिताअन्तर्गत पहिलो खेलमा समूह ‘बी’ को बङ्गलादेश र सोही समूहको अफगानिस्तानबीच खेल हुनेछ । खेल ३ बजेपछि शुरु हुनेछ । हिजो भएको पहिले खेलमा ती दुवै टोली पराजित भएका थिए । अफगानिस्तान तुर्कमेनिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो भने बङ्गलादेश उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । त्यस्तै, आजै हुने दोस्रो खेलमा समूह ‘बी’ मा नै रहेको तुर्कमेनिस्तान र उज्वेकिस्तानबीच हुनेछ । खेल ५ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा दुवै टोली लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछन् । आजै हुने तेस्रो तथा अन्तिम खेलमा समूह ‘ए’मा रहेको कीर्गिस्तान र माल्दिभ्सबीच खेल हुनेछ । खेल ७ बजेपछि हुनेछ । सोमबार भएको पहिलो खेलमा कीर्गिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । रासस
नियमित विद्यालय जानुहोस्, तेल उपहार पाउनुहोस्
नेपालगञ्ज उपमहानगरपालिकाले छात्राहरुलाई तेल उपहार प्रदान गरेको छ । नेपालगञ्ज–४ सल्यानीवागमा सञ्चालित आधारभूत छात्रा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाने तेल उपहार प्रदान गर्न थालेको हो । “विद्यालयमा विद्यार्थी टिकाउन अभिभावकलाई खाने तेल उपहार दिन थालिएको हो”, नगरप्रमुख डा धवलशमशेर राणाले भने, “अभिभावकले आफ्ना छोरीलाई नियमित विद्यालय पठाउन प्रेरित गर्ने उद्देश्यले तेल उपहार दिन थालिएको छ ।” विद्यालयमा मासिक ८५ प्रतिशतभन्दा बढी हाजिरी हुने छात्राका अभिभावकलाई तेल दिन शुरु गरेको हो । प्रति विद्यार्थी दुई लिटरका दर खाने तेल वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ । “अभिभावकलाई प्रोत्साहित गर्न खोजेका हौँ”, नगर उपप्रमुख उमा थापा मगरले भनिन्, “यसले छात्राहरुको कक्षामा उपस्थिति प्रतिशत बढ्ने विश्वास लिएको छ ।” विद्यालयमा हाल २४५ विद्यार्थी भर्ना भएका छन् । जसमध्ये ८५ प्रतिशत हाजिरी नाघ्ने विद्यार्थीको सङ्ख्या भने ८६ मात्रै रहेको छ । तिनै ८६ जना विद्यार्थीका अभिभावकलाई दुई लिटरका दरले तेल वितरण गरिएको हो । विद्यालयका परामर्शदाता किरण आचार्यले छात्राहरुको शिक्षामा अभिभावक गम्भीर हुनुपर्ने बताए । “शिक्षाको महत्व अभिभावकले नबुझ्दा विद्यार्थीको उपस्थिति न्यून हुन पुगेको हो”, उनले भने, “छोरी विद्यालय पठाऊ उपहार दिन्छु भन्ने अवस्था विडम्बनापूर्ण हो ।” नगरप्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा, वडाध्यक्ष सफिक बेहना, नगर शिक्षा अधिकारी गोरखबहादुर थापा, विद्यालयका शिक्षक, व्यवस्थापन समितिका सदस्य लगायतले सो विद्यालयको अनुगमन समेत गरेका छन् । रासस
कर बुझाउन फिल्म हलहरुलाई काठमाडौँ महानगरको १५ दिने उर्दी
काठमाडाैं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चलचित्र घरले बुझाउनु पर्ने मनोरञ्जन कर बापतको बक्यौता भुक्तानीका लागि १५ दिने सूचना प्रकाशन गरेको छ । चलचित्र घरलाई बारम्बार जानकारी दिँदै आएता पनि आर्थिक वर्ष २०७५/७६ मा मनोरञ्जन करबापत दर्शकबाट संकलन गरेको कर हालसम्म पनि स्थानीय सरकारलाई नबुझाएको र १५ दिन भित्रमा बिक्री गरेको टिकटको विवरणसहित बक्यौता कर तिर्न काठमाडौं महानगरले सूचना प्रकाशित गरेको छ । कर भुक्तानी नगरेमा कानुन अनुसार कारबाही गरिने महानगरपालिकाले सूचनामा उल्लेख गरेको छ । हाल नेपाल भरि १८५ चलचित्र घर रहेको भने प्रदेश काठमाडौं उपत्यका मात्र करिब ६० वटाभन्दा बढी हल रहेको नेपाल चलचित्र विकास बोर्डले जानकारी दिएको छ । उपत्यका भित्र रहेका अधिकांश चलचित्र घरहरु काठमाडौं महानगरमा रहेको बोर्डले जनाएको छ । प्रदेश ३ को आर्थिक ऐन २०७६ ले व्यवस्था गरेबमोजिम चलचित्र प्रदर्शन गर्दा प्रतिटिक बिक्रीमा आउनु मनोरञ्जन करबापत ५ प्रतिशत रकम बुझाउन महिना समाप्त भएको २५ दिनभित्र बुझाइसक्न पर्ने महानगरपालिको निर्देशन गरेकाे थियाे । महानगरपालिकाले प्रदेश ३ को आर्थिक ऐन २०७६ ले व्यवस्था गरेबमोजिम चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरन्जन करबापत लिइएको ५ प्रतिशत हुन आउने रकम बुझाउनु पर्नेछ ।
डाक्टरी पेशामा जागेश्वरका २७ वर्ष: ‘रु. ३१०० पहिलो तलब, २७ हजारको मेजर सर्जरी’
काठमाडौं । नेशनल एकेडेमी अफ मेडिकल साइन्सका प्राध्यापक तथा परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल निर्देशक डा. जागेश्वर गौतमको डाक्टरी पेशाको यात्रा २७ बर्ष नाघिसकेको छ । पर्वतको राम्जा देउरालीमा २०१९ साल साउन २९ गते जन्मिएका गौतम ६ बर्षको उमेर देखी विद्यालय जान थालेका थिए । घरको जेठो छोरा जागेश्वरले कक्षा ३ सम्म घर नजिकैको विद्यालयमा पढे । उनले कक्षा ४ देखी १० सम्म चाँही पशुपती उच्च माध्यमिक विद्यालयमा पढे । उक्त विद्यालय उनको घरभन्दा १ घण्टा टाढा थियो । गौतम सानैदेखि निकै नै मिहिनेती थिए । उनको बुवा भारतमा काम गर्थे, त्यसैले उनको बाल्यकालको अधिकांश समय आमासँग बिताए । उनी आमालाई घरको काममा खुब सघाउँथे । बिहान स्कुल जानुभन्दा पहिला र साँझ घर आएपछि उनी घरको काममा आमालाई काममा सघाउँथे । अन्य बालबालिका बाहिर घाँसदाउरा गर्न जान्थे, तर उनी भने घरमै बसेर खाना बनाउने र सरसफाई गर्ने काम गर्थे । एसएलसी पास गरेपछी उनले पर्वतमै २ बर्ष विद्यालयमा पढाए । त्यसपछी उनी १८ बर्षको उमेरमा काठमाडौँमा पढ्न आए । उनका एकजना दाई काठमाडौंमा बस्थे । काठमाडौँमा उनी अनिरुद्र शर्मा दाईसँग बसेर पढेका हुन् । अंग्रेजी नजान्दाको त्यो दुःख काठमाडौं आएर पढाई अघि बढाउँदै उनलाई शुरुमा धेरै नै सकस पर्यो । सरकारी विद्यालयमा पढेका जागेश्वरलाई अंग्रेजी नजान्दा अध्ययनलाई अघि बढाउन हम्मेहम्मे परेको थियो । पर्वतबाट पढेर आएका उनलाई आइएमा काठमाडौंको निजी विद्यालयका विद्यार्थी, दार्जेलिङ, देहरादुनबाट पढेर आएका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न निकै नै गार्हो भयो। कलेजमा सबै अंग्रेजी माध्यमबाट पढाई हुन्थ्यो । त्यसैले शुरुको ६-८ महिना त उनले केही पनि बुझेनन् । कुनैबेला उनलाई अब म पढ्न सक्दिन भन्ने पनि नलागेको होइन, तर पहिलो बर्षको परीक्षाको नतिजा उनको निकै राम्रो आयो । उनले सोचेको भन्दा धेरै राम्रो गरे । यसले उनलाई हौसला मिल्यो, आत्माबिश्वास पनि बढ्यो र केही गर्न सकिन्छ भन्ने भाव आयो र क्रमशः राम्रो गर्दै गए। एमबीबीएस सपना गौतम १५-१६ बर्षको हुने ताका उनकी आमा बिरामी भइरहन्थिन । आमालाई मुटुको समस्या थियो । उनी आमालाई अस्पताल लिएर जान्थे र अस्पताल जाँदा डाक्टर, नर्सहरुको रुखो बोली सुन्दा उनलाई नरमाइलो लाग्थ्यो । यस्तो व्यवहार उनलाई फिटिक्कै मन पर्दैनथ्यो । उनले त्यही समय आफु चाँही डाक्टर भएर बिरामीहरुलै राम्रो व्यवहार गर्छु भन्ने सोचे । उनी आफुलाई बिरामीको ठाउँमा राखेर कुरा गर्छु भन्ने सोच्थे । गौतम बिरामीलाई सम्मानसाथ र मायाले जाँच्नु पर्छ भन्ने सोच राख्छन् । दुईजनाबीच राम्रो सम्बन्ध भएमात्र उपचार पनि राम्रो हुने उनी बताउँछन् । उनी जहिले पनि मानिसहरुसँग कसरी नजिक रहेर सेवा दिउँ भन्ने सोच्थे । उनले यस बिषयमा धेरै सोचे र अन्त्यमा एमबीबीएस पढ्ने निधो गरे। कलेजमा सबै अंग्रेजी माध्यमबाट पढाई हुन्थ्यो । त्यसैले शुरुको ६-८ महिना त उनले केही पनि बुझेनन् । डाक्टर बन्न पाइयो भने मानिसहरुको अलिक बढी सेवा गर्न सकिँदो रहेछ भन्ने सोच आयो । उनी एरोनेटिकल ईन्जिनियरिङ्ग पनि पढ्ने तयारिमा थिए । तर, अन्त्यमा ईन्जिनियरिङ्गहरु भन्दा पनि डाक्टरी सेवाबाट बढी मानिसहरुको पहुँचमा पुग्न सकिने सोचले उनले एमबिबिएस पढ्ने प्लान गरे। श्रीमतीको सहयोग महाराजगञ्ज टिचिङ अस्पतालमा ३ बर्ष हेल्थ एसिस्टेन्ट पढेपछी गौतमले २ बर्ष टिचिङ अस्पतालमै काम गरे । त्यसपछी उनले २४ बर्षमा एमबिबिएसको प्रवेश परीक्षा दिए जसमा उनले पूर्ण छात्रवृतिमा नाम निकाले । छात्रवृतिमा एमबीबिएस पढेका गौतमलाई कलेज शुल्कको त चिन्ता थिएन, तर उनलाई ५ बर्ष अध्ययनको क्रममा बस्ने, खाने, किताब किन्ने र पकेट खर्च व्यवस्थापन गर्न निकै गाह्रो थियो । तर, श्रीमतीको सहयोगले उनलाई धेरै सजिलो गराईदियो । एमबिबिएस पढ्दा पढ्दै काम गर्नु सम्भव थिएन । यो समयमा उनकी श्रीमतीले काम गरेर उनलाई अध्ययनमा सहयोग गरेकी थिईन् । उनी भन्छन्– ‘म श्रीमतीको सहयोग नभएको भए डाक्टर हुँदैन थे ।’ एमबिबिएस सकेपछी गौतमले ४ महिना कान्तीबाल अस्पतालमा काम गरे र त्यस लगत्तै एमडी पढनको लागि भर्ना भए । एसएलसी पछि २ बर्ष र एमबिबिएस अगाडि २ बर्ष खेर गएको समयलाई विचार गर्दै उनले एमबीबिएस सिद्धिने बित्तिकै एमडी परीक्षाको लागि तयारी गरेर पहिलो स्थानमा नाम निकाल्दै पढाई शुरु गरिहाले । प्रसुती गृह र एमडी एमडीको लागि अमेरिका गएर पढ्ने तरखरमा थिए, तर नेपालमा महिलाहरु उपचार नपाएर अकालमा मरिरहेको खबरहरु धेरै आए । त्यसकारण उनले विदेश जाने मोह त्यागेर नेपालमै पढेर नेपालमै सेवा गर्नुपर्छ भन्ने सोच राखेर नेपालमै बस्ने निधो गरे । त्यतिबेलाको भाडा ५०० थियो र महिनामा सामान्यतया ३००–४०० ले एकजनालाई राम्रोसँग खान पुग्थ्यो । त्यस समयमा एमडी गर्न ५-६ वटा विकल्पहरु थिए, जसमा गौतमले स्त्री रोगलाई चुने । तीन बर्षको एमडी पढाईमा उनको ३ महिना टिचिङ अस्पतालमा पोस्टिङ् भएको थियो भने बाँकी २ बर्ष ९ महिना परोपकार प्रसुती गृहमै पोस्टिङ् भएको थियो। उनले त्यहीँ बसेर आफ्नो एमडी पूरा गरेका हुन् । उनले उत्कृष्ठ नतिजा ल्याए र एमडी उत्तीर्ण गर्दा स्वर्ण पदक सहित सम्मानित भए । उनले एमडी गर्दै गर्दै लोकसेवाको जाँच दिए र नाम पनि निकाले । पढाई अन्त्य भएसँगै उनले काठमाडौं बाहिर पोस्टिङ् मागे । एमडी सकिएपछी मात्र उनलाई डाक्टर भएको जस्तो लाग्यो । त्यससमयको उनको तलब ३ हजार १ सय थियो । उनले आफ्नो पहिलो तलब श्रीमतीलाई लगेर दिए किनभने उनी त्यो स्थानमा पुग्न सबैभन्दा ठूलो हात उनकै श्रीमतिको थियो । उनी दुईवटा कोठा भएको फ्ल्याट लिएर बस्थे, त्यतिबेलाको भाडा ५०० थियो र महिनामा सामान्यतया ३००–४०० ले एकजनालाई राम्रोसँग खान पुग्थ्यो । काठमाडौं बाहिरको पोस्टिङको क्रममा गौतमले सबैभन्दा लामो समय चितवनमा बिताए । चितवनमा उनले १५ बर्ष बिताए । त्यस्तै उनले राजविराज, भद्रपुर, सुर्खेत र अन्त्यमा गोरखामा १ बर्ष बिताएर काठमाडौं फर्के । उनी ११ औं तहमा पुगे र मन्त्रालय फिर्ता आए । स्वास्थ्य मन्त्रालयमा बसेर उनले १ बर्ष बिताए, त्यसलगत्तै प्र्सुती गृहमा आए र ५ बर्ष देखी प्रसुती गृह मै छन् । डाक्टर भएपछि सबैभन्दा गर्व लागेको क्षण एमडी गर्ने क्रममा गौतम प्रसुती गृहमै इन्टर्नशिप गरिरहेका थिए । त्यससमयमा एकजना एचआईभी संक्रमित महिला अस्पतालमा डेलिभरीको लागि आएकी थिइन् । बिरामी अस्पतालको क्याबिन नम्बर ८ मा भर्ना भएकी थिईन् । त्यससमयमा एचआईभी लागेको महिलालाई कसैले पनि उपचार गर्न मान्दैनथे । तर डा. जागेश्वर गएर उक्त एचआईभी पोजिटिभ महिलाको डेलिभरी गराए । उनले डबल पन्जा लगाएर उक्त महिलाको डेलिभरी गरे । त्यो क्षण सम्झँदा उनलाई धेरै खुशी लाग्छ । यस्तै एकपटक उनी चितवनमा काम गर्ने क्रममा एउटा महिला अस्पतालमा जचाँउन आईन् । उनले डाक्टरलाई आफ्नो रगत बगिरहने बताईन्, तर उनलाई जाँच्दा उनको रगत बगिरहने कारण देखिएन । गौतम छक्क परे । त्यसको १५ दिन पछी उक्त महिला आफ्नो श्रीमान्सँग फेरी आईन् । बल्ल श्रीमानले रहस्य खोले । महिला दुईवटा बच्चाकी आमा रहिछिन् र उनले परिवार नियोजन गरिसकेकी रहिछिन् । पहिलो श्रीमान्ले उनलाई घरबाट निकालिदिएका रहेछन् । उनले अर्को केटासँग विवाह गरिन्, तर अब बच्चा कसरी पाउने भन्ने कुराले दुविधामा पारेको रहेछ। डा. गौतमको त्यो पहिलो परिवार नियोजन उल्टाउने अप्रेसन थियो र उनी सफल पनि भए । यसअघि उनले डा. भोली रिजाललाई २०० भन्दा बढी यस्ता अप्रेसनमा साथ दिएका थिए र त्यही क्रममा उनले उक्त विधि जानेका थिए । त्यसको एक बर्षमा उक्त महिलाले छोरा जन्माईन् र अर्को २ बर्ष पछी अर्को छोरी पनि पाईन् । त्यसरी घरबाट निकालेको महिलालाई नयाँ जिन्दगीमा साथ दिन पाउँदा आफुलाई निकै नै खुशी महसुस भएको उनी बताउँछन् । २७ बर्षको अवधिमा कति बिरामीलाई जाँचे भन्ने गौतमलाई ठ्याक्कै यकिन छैन, तर उनले हालसम्म २७ हजार भन्दा बढी मेजर सर्जरी गरिसकेका छन् । त्यसपछी उनले परिवार नियोजन उल्टाउने विधिको मार्फत ५०० जनाको अप्रेसन गरेर बच्चा पाउन सक्ने बर्ना । यसमा उनलाई निकै नै गर्व लाग्ने गरेको बताउँछन् । सबैभन्दा दुःख लाग्दो क्षण चितवनमै हुँदाको समयमा गौतमले १४–१५ बर्षको हुँदा देखी नै एक बालिकाको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । पछि उनको बिहे भयो र उनले छोरी पाईन् । त्यसबेला पनि उनले नै उनको नर्मल डेलिभरी गरिदिएका थिए । दोस्रो पटक पनि उनको गर्भ रहेको अवस्थामा उनी गौतमको मै जाँच्न आइन् । ४० हप्ता पुगिसकेको थियो । उनले बेथा लगाए । वार्डमा ८ वटा बेड थिए । उनी ६ नम्बरको बेडमा थिईन् । बिस्तारै सबैलाई हेर्दै गए । उनको पाठेघरको मुख ६ सेन्टिमिटर खुलेको रहेछ । केही समयमा उनको डेलिभरी हुने कुरा सुनाए। बिरामी जाँच्दै ८ औं बेडमा पुगे तर ती महिला बेहोस् भईन् । उनको पाठेघरमा भएको पानी रगतको नशामा गएर फोक्सोमा गएछ । कयौं प्रयास गरे, तर ती महिलालाई बचाउ सकेनन् । उनका परिवारसँग गौतमको राम्रो चिनजान थियो । उनका परिवारले अरुले आएर निहुँ खोजे, हामी हाम्रो छोरीको लास लैजान्छौं, हाम्रो छोरी त मरेर गई, तर तपाईँलाई पनि समस्या हुन्छ भन्दै उनीहरुले छोरीको लासलाई लगेर गए । यस घटनाले उनलाई अझै पिरोल्छ । २७ हजारको मेजर सर्जरी २७ बर्षको अवधिमा कति बिरामीलाई जाँचे भन्ने गौतमलाई ठ्याक्कै यकिन छैन, तर उनले हालसम्म २७ हजार भन्दा बढी मेजर सर्जरी गरिसकेका छन् । त्यसमध्ये करीब ६०० जनाको ल्याप्रोसकोपीको मार्फत गरे । पाठेघर खस्ने समस्याको २५ सय भन्दा बढीको अप्रेसन गरे । उनी लेप्रोस्कोपीको माध्यमबाट नेपालमा सबैभन्दा बढी उपचार गर्ने डाक्टर मध्ये एक हुन् । अवकाश पछी…… गौतमको परोपकारमा अवकाश हुन अझै ३ बर्ष बाँकी छ। अवकाश पछि पनि डाक्टरी पेशालाई निरन्तरता दिएर अन्य कुनै अस्पतालमा काम गर्ने सोच छ । आफ्नो पेशालाई निरन्तरता दिदैँ उनलाई आफ्नो जीवनकथा लेख्ने योजना छ ।
श्रेष्ठद्वारा एक लाखको अक्षयकोष स्थापना
दमौली । तनहुँको व्यास नगरपालिका–३ देउराली नगरस्थित शिवपञ्चायन माविमा रु एक लाखको अक्षयकोष स्थापना भएको छ । सोही ठाउँका कृष्णकुमार श्रेष्ठले आफ्ना बाबु स्व. रेशमलाल श्रेष्ठ र आमा स्व. विष्णुमाया श्रेष्ठको स्मृतिमा रु एक लाख एक हजार एक सय एघारको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यबमोजिम अक्षयकोष स्थापना गरिएको श्रेष्ठले जानकारी दिएका छन् । “विद्यालयमा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न बालबालिकाको शिक्षाका लागि केही गरौँ भन्ने भावनासहित बुबाआमाको स्मृतिमा अक्षयकोष स्थापना गरेको हुँ”, श्रेष्ठले भने, “मेरो सानो सहयोगले बालबालिकाको भविष्य निर्माणका लागि सहयोग पुग्ने विश्वास गरेको छु ।” बाबुआमाको स्मृतिमा फरक–फरक कार्यक्रम गर्ने गरिए पनि शिक्षामा लगानी गर्नुजस्तो पुण्य काम अरू नभएको श्रेष्ठले बताए । दाताले स्थापना गरेको अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक सरिता पौडेलले जानकारी दिएकी छिन् । विद्यालयमा हाल २६० छात्रछात्रा अध्ययनरत छन् । प्रधानाध्यापक पौडेलका अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न दाताले सहयोग गरिरहेका छन् । विद्यालयमा हालै मात्र माध्यमिक तहको पढाइ सञ्चालन भएको हो । विद्यालयले गत असार १४ गते सरोकारवालासँग विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि छलफल गरेको थियो । उक्त छलफलपश्चात् विभिन्न सरोकारवालाले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । माध्यमिक तह सञ्चालन समितिका संयोजक विष्णुभक्त न्यौपानेका अनुसार यस अवधिमा रु १३ लाख ९९ हजार १९३ सहयोग प्राप्त भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर विकले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि स्थानीयवासी, अभिभावक एवं सरोकारवालाहरुको सहयोग आवश्यक पर्ने जानकारी समेत दिएका छन् । रासस