चेम्बर प्रतिनिधिले अर्थ समितिका सभापति दाहाललाई भेटे
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले संघीय संसद अर्थ समितिका सभापति कृष्णप्रसाद दहालसंग भेट गरेको छ । प्रतिनिधि मण्डलले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन- २०५२ लाई शंसोधन गर्न बनेको बिधेयक माथि सुझाव दिंदै राजस्व चुहावट नियन्त्रण गर्न कठोर ऐन प्रस्तावित बतायो । अध्यक्ष श्रेष्ठले आर्थिक अपराधमा आर्थिक जरीवाना मात्र हुनुपर्नेमा भुलवस हुन जाने अवस्थामा समेत कैद सजायको ब्यवस्थाले नेपालमा उद्योग ब्यावसाय सञ्चालन गर्ने वातावरण समाप्त गर्ने नै हो भन्ने ब्पावसायीहरुको निक्र्यौल रहेको अध्यक्ष श्रेष्ठले सभापति दहालसमक्ष बताए । बिद्यमान बिधेयकले आगामी दिनमा सुराकी प्रणाली ब्यवसायको रुपमा बिकास हुने, थुनामा राख्ने प्रावधान खारेज गरिनु पर्ने, बिगोको परिभाषामा थप दस्तुर, ब्याज जरिवाना रकम उल्लेख हुनु सान्दर्भिक नभएको, घर वहाल कर स्थानीय निकायको दायरामा परेको, नियतको ठाउँमा जानीजानी शब्द राखिनु पर्ने, कर्मचारी अधिकृतस्तरको हुनुपर्ने, राजस्व चुहावटको छानवीनको सिलसिलामा बैंक खातातथा सम्पत्ति रोक्का राख्नु पर्ने भएमा अदालतको आदेशमा मात्र गर्नुपर्ने बिषयवस्तु चेम्बरका अध्यक्ष श्रेष्ठले राखे । सो अवसरमा बोल्दै संघीय संसद अर्थ समितिका सभापति कृष्णप्रसाद दहालले चेम्बर एक सशक्त संस्था भएको हुँदा चेम्बरबाट दिइएको सुझाबहरुलाई सम्बोधन गर्न आफ्नो प्रयास रहने बताए ।
चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान
काठमाडौं । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बेग्लाबेग्लै भेटेर समसामयिक राजनीतिक परिस्थितिबारे विचार विमर्श गरेका थिए । त्यसअघि दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका थिए । रासस
नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न
काठमाडौं । विगत १९ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले गरेका हुन् । कम्पनीले यही भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गर्दै सम्पन्न भएको हो । बाजागाजाका साथ शुरू गरिएको कार्यक्रममा आगामी दिनका लागि कम्पनीको स्ट्राटेजी निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो । देशभरिका एजेन्ट, एजेन्सी म्यानेजर, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरियो । त्यसैगरी कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना कर्मचारीहरूलाई पनि सम्मान गरेको छ । कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको ‘एजेन्सी म्यानेजर अफ इयर’ अवार्डका लागि पहिलो हुने बिर्तामोड शाखाकी निर्मला खत्रीले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् । त्यस्तै, एजेन्टतर्फको ‘एजेन्ट अफ द इयर’ अवार्डका लागि पहिलो हुने नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने बिर्तामोड शाखाकी प्रमिला बस्नेतले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् । कर्मचारीतर्फको ‘वेष्ट पर्फमेन्स अफ द इयर’ अवार्ड विर्तामोड शाखाका अमेन्द्र कुमार कर्ण र ‘वेस्ट रिजनल म्यानेजर अफ द इयर’ अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेललाई प्रदान गरिएको छ । नेपालको जीवन बीमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजारहिस्सा ओगटेको यस कम्पनीले आफ्ना कर्मचारी तथा एजेन्टहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मान तथा उत्प्रेरण मूलक कार्यक्रमहरु गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत झाका अनुसार नेपालको इन्स्योरेन्स क्षेत्र विस्तारकै क्रममा रहेकाले हामी पनि देशैभरी जीवन बीमाको सहज पहुँच पु¥याउन शाखा विस्तारको रणनीतिमा रहेको बताएका छन् । साथै नेपाल लाइफले समय सापेक्ष छिटो–छरितो, सरल र सहज रुपमा सेवा प्रदान गर्नको लागि प्रविधि मैत्री बीमा कारोबार अघि बढाउने छ, जसमा एप्स मार्फत बीमितलाई कुनै पनि समय कुनै पनि स्थानबाट सहज पुहँच प्राप्त हुनेछ । हाल यस कम्पनीको चुक्तापूँजी जीवन बीमाक्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ४९ करोड रहेको छ भने लगानी रू. ७२ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ६७ अर्ब रुपैयाँ रहेको छ । १ लाख २८ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ८४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २६ लाख ३० हजार बढी व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘द ब्रिटिस कलेज’को पाँचौ दीक्षान्त समारोहमा दीक्षित भए ३२९ विद्यार्थी
काठमाडौँ । ‘द ब्रिटिस कलेज’ले आयोजना गरेको पाँचौ दीक्षान्त समारोहमा ३२९ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बौद्धस्थित हायत रिजेन्सीमा भएको उक्त समारोहमा द एमस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट एण्ड बिबिए (हन्स) बिजनेस एण्डका विद्यार्थीलाई यूनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारी डिन म्याक’डोउलले दीक्षित गरेका थिए । त्यस्तै, बिएएस्सी (हन्स) कम्प्युटिङ) लाई लिड्स बेकेट यूनिभसिर्टीका उपकूलपति तथा प्रोफेसर एन्ड्रीउ स्लेड्सले दीक्षित गरेकी थिइन् । दीक्षित हुनेमा ५१ जना बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट, ४८ जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), २३० जना बिएस्सी (हन्स) कम्प्युटिङका विद्यार्थी लिड्स बेक्केट युनिभर्सिटीबाट दीक्षित भएका हुन् । यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीहरु दीक्षित भएको वर्ष रहेको र यसले कलेजको सफलताको पक्षलाई दर्शाएको कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कडेँलले बताए । यस दीक्षान्त कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरु, एकेडेमिसियनहरु, विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथिमा बेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौ अर्लअफ स्याण्डवीच जोन एडवर्ड हलिस्टर मोन्टागु रहेका थिए । त्यस्तै, अन्य अतिथिहरुमा माइकल रटल्याण्ड ओबिइ (भुटानका लागि ब्रिटिस अनरी काउन्सेल तथा द ब्रिटिस कलेजका सल्लाहाकार), द ब्रिटिस कलेजका सिइओ तथा संस्थापक राजन कँडेल, कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कडेँल उक्त कार्यक्रममा सहभागी थिए । त्यसैगरी, पाउल क्लिभेस (इटोन कलेजका पुर्व भुगोल प्रमुख तथा द ब्रिटिस कलेजका सल्लाहाकार), डाक्टर चिरन थापा (मान्यताप्राप्त शिक्षाविद् तथा द ब्रिटिस कलेजका सल्लाहाकार), पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर, एच. ही रिचार्ड मोरिस (नेपालका लागि बेलायती राजदूत), अनुबन्ध प्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुमा लिड्स बेकेट यूनिभसिर्टीका डेपूटी उपकूलपति तथा प्रोफेसर एन्ड्रीउ स्लेड्स, यूनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारी डिन रेमण्ड म्याक’डोउलको उपस्थिति रहेको थियो । कार्यक्रम सुरुवातमा ‘द ब्रिटिस कलेज’का प्रिन्सिपल जोए फोस्टर एलिसले सम्बोधन गरेका थिए । ‘द ब्रिटिस कलेज’का सिइओ तथा संस्थापक राजन कँडेलले नेपालको शैक्षिक क्षेत्रको विकासको लागि नेपालभरी गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेका बारेमा प्रष्ट पारेका थिए । साथै उनले भूतपूर्व विद्यार्थीहरुको लागि कलेजले सँधै सहयोग गर्ने वाचा गरेका छन् । उनले कलेजमा रहेको ‘अल्मुनाई’मा आबद्ध हुनको लागि समेत विद्यार्थीहरुलाई अनुरोध गरेका थिए । त्यस्तै, नेपालका लागि राजदुत रिचार्ड मोरिसले ब्रिटिस कलेजले नेपालमा नै अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त बेलायती विश्वविद्यालयहरुको सम्वन्धन लिएर नेपालमै विदेशी डिग्री प्रदान गरेर उल्लेखनीय काम गरेको बताए । द एमस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट तर्फबाट दीक्षित भएकी कुसुम निरौलाले द ब्रिटिस कलेजले दिएको अवसर र अनुभवलाई धन्यवाद दिइन् । प्रमुख अतिथि मोन्टागुले ब्रिटिस कलेजले भौतिक परिवर्तन भन्दा पनि दिमाग र हृदयमा हुने परिवर्तनलाई बुझेको बताए । उनले दीक्षित भएका विद्यार्थीहरु कर्मशिल भएर काम गर्नको लागि प्रेरणा समेत दिए । त्यस्तै, उनले कलेजले दिएको गुणस्तरीय शिक्षाको तारिफ गर्दै सिइओ कँडेल तथा कलेज परिवारलाई पनि बधाइ समेत दिए ।
शेयर बजारबारे अर्थमन्त्री-अब शेयर कारोबार र राफसाफको शुल्क घटाउनुपर्छ
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अब शेयर कारोबार र राफसाफमा लाग्दै आएको मूल्य घटाउनुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अधिकारीसँग अर्थमन्त्री खतिवडाले अब त्यस्तो लागत घटाउनुपर्ने बताएका हुन् । मंगलबार राजधानीमा सुरु भएको एशिया प्यासिफिक राष्ट्रहरुको केन्द्रीय निक्षेप प्रणाली र राफसाफसम्बन्धी सेवा प्रदायकहरुको संस्था एशिया प्यासिफिक सेन्ट्रल डिपोजिटरी ग्रुपको २३ औं साधारणसभामा अर्थमन्त्री खतिवडाले स्टक बजार र डिपोजिटरी र क्लियरिङ एजेन्टहरुले शुल्क घटाएर बजारमा तरलता प्रवाहमा सहजीकरण गर्नुपर्ने बताएका हुन् । देशको उत्पादकत्व बढाउन पुँजी बढाउने र उत्पादकत्व बढाउने विकल्प भएको भन्दै उनले बजारको पुँजी र उत्पादकत्व बढाउन स्रोतहरुको मोबिलाइजेसन हुनुपर्ने र यो जति छिटो भयो स्रोत धेरै जुट्ने समेत बताए । ‘पुँजीबजारको लागत कम हुँदा लगानीकर्ताहरुलाई बजारमा थप सक्रिय बनाउँछ, यसले गर्दा बजारको कारोबार पनि बढ्छ यसले गर्दा बजारको तरलतालाई सहज गर्न मद्दत गर्छ, केन्द्रीय बैंकलाई सिस्टममा थप मुद्रा प्रवाह गर्ने वाध्यता पनि हुँदैन ।’ उनले भने । खतिवडाले पुँजीबजारमा नयाँ जमानाका लगानीकर्ताहरु स्मार्ट रहेको र उनीहरुले नयाँ प्रविधिलाई आत्मसात गर्दै गएको अवस्थामा नयाँ टेक्लोलोजीहरुको प्रयोग गर्दै जानुपर्ने समेत बताए । उनले बजारमा स्रोत संकलनको माध्यम ऋण बजार र इक्विटी बजार भएको भन्दै सरकारले दुुवै किसिमका बजारहरुलाई उत्तिकै महत्व दिएको बताए । ‘ऋण बजारलाई बैंकले हेर्छ, इक्विटी बजारलाई पुँजीबजारले हेर्छ, हामी दुबै बजारलाई उत्तिकै महत्व दिन्छौं’ उनले भने । अर्थमन्त्री खतिवडाले अब सरकारी बण्डहरुलाई पनि अभौतिकीकरण गर्ने घोषणा समेत गरे । उनले कृतिम बजार घटनाले बजारको डाइनामिक्स परिवर्तन गर्न नसकोस् भन्नेमा समेत सचेत हनुपर्ने समेत बताए ।
महालक्ष्मी नगरपालिकाको लक्ष्य अनुसार भएन राजश्व सङ्कलन
ललितपुर । महालक्ष्मी नगरपालिकाको आव २०७५ ०७६मा लक्ष्य अुनसारको राजश्व सङ्कलनमा कमी आएको छ । नगरपालिकाका कर्मचारीले आफ्नो क्षेत्रको अनुगमन, निरीक्षण र जनचेतना फैलाउने काममा ढिलाइ गरेका कारण अपेक्षा गरेअनुरुपको राजश्व सङ्कलन गर्न नसकिएको बताइएको छ । गत आवमा रु १९ करोड ८७ लाख १४ हजार राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु नौ करोड ८४ लाख ९४ हजार राजश्व सङ्कलन भएको लेखा अघिकृत शिवकुमार घिमिरेले जानकारी दिएका छन् । उनले भने, “यस क्षेत्रमा ढुङ्गा तथा बालुवा खानी, इँटाभट्टालगायत आयआर्जनको स्रोत नभएका कारण नगरपालिकाले अपेक्षा गरेअनुरुपको राजश्व सङ्कलन हुन नसकेपनि चालू आवमा सो कुरालाई दृष्टिगत गर्दै मर्यादित तरिकाबाट राजश्व सङ्कलन गर्ने योजना अघि बढाएको छ। ” उक्त नगरपालिकाका अनुसार अन्य शीर्षकमा रु सात करोड ४५ लाख ३७ हजार राजश्व सङ्कलन गर्ने अनुमान गरिएकामा केवल रु दुई लाख ८२ हजार ५१० सङ्कलन भएको थियो भने नक्सापास दस्तुरबाट रु पाँच करोड ५० लाख राजश्व उठाउने अनुमान गरिएकामा रु चार करोड ९० लाख ६८ हजार ६८० सङ्कलन भएको थियो । व्यक्तिगत सम्पत्तिमा लाग्ने वार्षिक करतर्फ नगरपालिकाले रु दुई करोड ४४ लाख ४७ हजार उठाउने लक्ष्य लिइएकामा रु २८ हजार उठेको छ भने सिफारिश दस्तुरतर्फ रु दुई करोड राजश्व उठाउने अनुमान गरिएकामा रु एक करोड ७९ लाख ५५ हजार १३८ उठेको छ । प्रदूषण नियन्त्रण शुल्कतर्फ रु २५ लाख, पार्किङ शुल्क रु एक लाख, अन्य प्रशासनिक सेवा शुल्क रु तीन लाख, सेवामूलक निकायबाट प्राप्त लाभांश रु २० हजार, कृषि तथा पशुपक्षी कारोवारमा रु दुई लाख, स्वास्थ्य सेवा कर बापत रु पाँच लाख र घर बहाल करबापत रु ५० हजार उठाउने अनुमान गरिएकामा एक रुपैयाँ पनि सङ्कलन नभएको बताइएको छ । रासस
कोहलपुर–सुर्खेत १ सय ३२ केभी विधुत बिस्तार हुने, आयोजनामा एक अर्ब ८० करोड लागत लाग्ने अनुमान
काठमाडाैं । कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार गरिने भएको छ । लामो समयदेखि चर्चा भए पनि अलपत्र पर्दै आएको १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजना अब भने अघि बढ्ने भएको हाे। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) सम्पन्न भएसँगै क्षमता विस्तार कार्य अघि बढ्ने बाटो खुलेको हो । नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले आयोजनाले पार्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन अनुसार आयोजना बाँकेको कोहलपुर सव–स्टेशनबाट प्रारम्भ भइ सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित प्रस्तावित सुर्खेत सव–स्टेशनमा गएर टुङ्गिने छ । प्रस्तावित प्रसारण लाइन आयोजनाको लम्बाई करिब ५१ किलोमिटर हुनेछ भने डबल सर्किटको हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनाको कुल लम्बाई करिब ५१.४६२ किलोमिटर रहने छ । एंगल टावरहरू २६ वटा रहने छन् भने आयोजनाको कुल टावरहरूको संख्या एक सय ४५ वटा रहने जनाइएको छ । सुर्खेतमा रहने सव–स्टेशनको क्षेत्रफल ३.७२४९ हेक्टर रहने छ । आयोजनाको अनुमानित लागत एक अर्ब ८० करोड लाग्ने जनाइएको छ । प्रस्तावित वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार यस आयोजना क्षेत्रको उचाईगत फरक एक सय ६० मिटरदेखि एक हजार एक सय १५ मिटरसम्म रहेको छ । आयोजना प्रदेश नं. ५ को बाँके, बर्दिया तथा कर्णालीको सुर्खेतभित्र अवस्थित रहनेछ । यस आयोजनाबाट तीन जिल्लाहरूका पाँच नगरपालिका तथा एक गाउँपालिका प्रभावित हुने जनाइएको छ । जसमा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतको भेरीगंगा, लेकवेशी तथा वीरेन्द्रनगर नगरपालिकाहरू प्रभावित हुने ईआईए प्रतिवेदनमा उल्लेख गरिएको छ । १३२ केभी विद्युत प्रसारण लाइन विस्तार नहुँदा सुर्खेतसहित कर्णालीवासीले सास्ती भोग्दै आएका छन् । कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको हो ।
ओली र माेदीद्वारा पेट्रोलियम पाइप लाइन परियोजनाको उद्घाटन
काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ । आजै मध्याह्नदेखि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको हो । परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्जमा रहेको छ । निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिरहेका थियो । सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो । सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा पाइप लाइन परियोजनाको शिलान्यास गरेका थिए । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सो कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायत नेपाल सरकरका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।