सिस्डोल र बञ्चरेडाँडाको कथाः ‘माननीयज्यू फोहर र मानिस एकै ठाउँमा रहनसक्छ ?’
ककनी, नुवाकोट । वरिपरी हरियाली डाँडा र राजधानीसँग जोडिएको रमणीय दृश्य हेर्दै सवारीसाधानमा जान सकिने ककनी गाउँपालिकाको सिस्डोल र बञ्चरेडाँडामा झर्ने वित्तिकै नाकमा दुर्गन्ध फैलन्छ । आँखा पोल्न थाल्छन्, नाकबाट लिइने श्वास पनि दुर्गन्धित भएजस्तो लाग्छ । पाँच मिनेटमै टाउको दुखेको अनुभव हुन्छ । हरियो डाँडाबीचको यो गाउँमा बस्नु स्वास्थ्य र वातावरणका लागि चुनौतीपूर्ण छ । देशको राजधानी काठमाडौँले आफू स्वच्छ बन्न यहाँ फोहर पठाउने गरेको १४ वर्ष बितेको छ । तीन वर्षका लागि लैजाने भनिएको सिस्डोलको डम्पिङ साइटमा सरकारले २०६२ जेठ २२ गतेदेखि फोहर फाल्न थालेको थियो । सम्झौता गरेको भन्दा ११ वर्ष बढी समय बिते पनि विकल्प तयार भइसकेको छैन । दुई किमी टाढाको बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न शहरी विकास तथा भवन निर्माण विभागले स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण शुरु गरेपनि गति सुस्त रहेको स्थानीयवासीको गुनासो छ । विभागले शिलान्यास कार्यक्रममा नुवाकोटका तीनै तहका जनप्रतिनिधिलाई थाहा नदिएको भन्दै स्थानीयवासी रुष्ट छन् । पारदर्शी रुपमा काम नगरेकाले सिस्डोलकै नियति बञ्चरेडाँडाले पनि भोग्नुपर्ने जनप्रतिनिधिको आशङ्का छ । फोहर फाल्न थालेको १४ वर्षमा सिस्डोलमा पहाड नै बनेको छ । फोहरको पहाडमा पहिरो गएर सिस्डोलको सडक बिग्रिएको छ । सडककै कारण यस क्षेत्रका करीब ५०० परिवारका ५० हजार मानिसको आवतजावतमा समस्या भएको छ । फोहरबाट निस्कने तरल पदार्थ (लिच्चड)को सिस्डोलमा कुलो नै बगेको छ । लिच्चडबाट तीन वटा पोखरी बनेका छन् । पोखरीमा लामखुट्टे, झिङ्गालगायतका कीटाणु निकै देखिन्छ । राजधानीमा डेङ्गुको सङ्क्रमण फैलिएको समाचार सार्वजनिक भइरहेका बेला यहाँका स्थानीयवासी भयभित छन् । राजधानी नजिकैको यो स्थानबाट अन्य रोगको सङ्क्रमण फैलन सक्ने भए पनि रोकथाममा कुनै निकायको ध्यान नगएको ककनी गाउँपालिका–२ का अध्यक्ष केदार पौडेलले बताए । सिस्डोल जाने बाटो बिग्रिएको तीन महीना बितिसक्दा पनि काठमाडौँ महानगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान नसकेको उनले बताए । सोमबार प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिस्डोल र बञ्चरेडाँडाको स्थलगत अनुगमन गर्ने भनेपछि आइतबार मात्र अर्को बाटोमा माटो हालेर खाल्डाखुल्डी पुरिएको स्थानीयवासी राजाराम खत्रीले सुनाए । वर्षामा बिग्रिएको बाटोमा हालिएको माटोमा समिति सचिवालयको सवारी फसेको थियो । फोहर लैजाने सम्झौता गर्दा गरिएको व्यवस्थाअनुसार महानगरपालिकाले ५० श्यया अस्पताल निर्माण, एक घर एक रोजगार, विद्यालयमा शिक्षक शिक्षिकालगायत जनशक्ति व्यवस्थापन, छात्रवृत्तिको व्यवस्थालगायत बुँदा अझै कार्यान्वयन नभएको गाउँपालिका वडा नं– १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले बताए । फोहर फाल्ने सम्झौता गर्दा महानगरपालिकाले कोल्पुखोलाको पानी पिउन योग्य हुनेगरी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन । लिच्चडको कुलो सिधैँ कोल्पुखोलामा मिसिन्छ । खोलाको पानी प्रदूषित भएपछि घाउ चोट लागेकाले खोला तर्दा रोग लागेर मरेको घटना स्थानीयवासी श्रीराम ढुङ्गानाले समितिको संसदीय टोलीलाई सुनाए । “महानगरपालिकाले पटक÷पटक गरेको सम्झौता कार्यान्वयन नभएकाले बञ्चरेडाँडामा पनि सिस्डोलकै जसरी अव्यवस्थित रुपमा फोहर फाल्न खोजिएको छ, सिस्डोल व्यवस्थित नगरेसम्मका लागि असोज १ गतेदेखि यहाँ काम गरिरहेका सबै यन्त्र काठमाडौँमै फर्काउँदैछौँ”, उनले भने । स्थानीयवासीले समिति सभापति कल्याणीकुमारी खड्कालाई ज्ञापनपत्र पेश गर्दै समस्या समाधानको पहल गरिदिन समेत माग गरे । संसदीय समूह आउने जानकारी समेत प्रभावित जनता एवं जनप्रतिनिधिलाई नदिइएको भन्दै धुनिबेँशी नगरपालिका–१ का अध्यक्ष चन्द्रबहादुर तामाङले गुनासो गरे । कोल्पुखोला वारिपारिका दुई जिल्लाका दुवै स्थानीय तहका गरी चार वडा क्षेत्रमा फैलिएको दुर्गन्ध एवं झिङ्गाका कारण चियाखाजा समेत खान नसकिने गरेको उनले सुनाए । स्थानीय विश्वास ढुङ्गानाले संसदीय समितिबाट स्थलगत अध्ययनमा जानुभएका सांसदहरुलाई प्रश्न गरे ‘माननीयज्यू मानिस र फोहर एकै स्थानमा रहनसक्छ कि सक्दैन ?’ । काठमाडौँमा मानिस र फोहर एकै स्थानमा रहन नसक्ने यहाँ कसरी राख्न सकिन्छ भन्ने यहाँका स्थानीयवासीको भनाइ छ । यस्तो प्रश्न यस क्षेत्रका अधिकांश मानिसले संसदीय समितिलाई सोधेका थिए । स्थानीयवासीको गुनासो सम्बोधन गर्दै सभापति खड्काले फोहर अवरुद्ध भएको सडकमा बिजुलीको पोल ढल्न लाग्दासमेत नउठाएको देखिएको सुनाइन् । “फोहरको थुप्रोले कोल्पुखोला थुनियो भने यस क्षेत्रमा अझ ठूलो समस्या आउन सक्छ, थोरै जनसङ्ख्या भएको स्थानमा रोग र विपत्तिको समस्या आउन नदिन बेलैमा उपयुक्त कदम चाल्न समितिका तर्फबाट पहल गर्छौँ”–उनले भनिन् । फोहर लैजाने बेलामा एक गाडी फोहर हालेपछि माटोले पुरेर व्यवस्थापन गर्ने उल्लेख गरिएको थियो । तर अहिले सिस्डोलमा भने मरेका जीवको लादीसमेत दुर्गन्धित अवस्थामा सडकमै फालेको देखिन्छ । गन्ध हटाउन कुनै औषधिजन्य पदार्थ पनि हालिएको छैन । रासस
सिटिजन्स बैंकले महानगरीय प्रहरी परिसर, ललितपुरलाई दियो ३ थान मोटरसाईकल
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल प्रदान गरेको हो । ललितपुर जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुले समय सापेक्ष जनमैत्री प्रहरी सेवाप्रदान गरी समग्र जिल्लामा शान्ति सुरक्षा कायम गरी अपराधमुक्त समाजको निर्माण गर्ने जिम्मेवारी बहन गरेका नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई अझ थप हौसला प्रदान गर्ने अभिप्रायले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यामाहा एफजेड ३ थान मोटर साईकल तथा साँचो हस्तान्तरण गरेको जनाएको छ ।
दशैं तिहारलाई लक्षित गर्दै देशभर ७३ सहुलियत मूल्यका पसल सञ्चालनमा
काठमाडाैं । वडा दशैँ, तिहार र छठलाई लक्षित गर्दै देशभर सहुलियत मूल्यका ७३ पसलहरू सञ्चालनमा आएका छन् । चाडपर्वकाे समयमा बजारमा हुने चरम महङ्गी अभाव र व्यथितिलाई व्यवस्थापन गर्ने उद्धेश्यका साथ साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले देशभर सुपथ मूल्यका पसलहरू सञ्चालनमा ल्याएका हुन् । साेमबार राजधानीमा आयाेजित एकिकृत सहुलियत पसलकाे उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले सरकारले आम उपभोक्तालाई राहत उपलब्ध गराउने उदेश्यका साथ चाडपर्वको अवसर माझ बिशेष छुटका साथ सहुलियत मुल्यको पसल संचालन गरिएको बताए । उनले सहुलियतका नामले स्थापना गरिएका पसलहरूबाट उपभाेक्ताले सस्ताे सहुलियत मूल्ल्यमा सामान खरिद गर्न सक्ने बताए । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको निर्देशन र आम उपभोक्ताको चाहना बमोजिम प्रमुख चाडबाडलाई लछित गरी विगत झै यस बर्ष पनि सहुलियत पसल संचालनमा ल्एको बताउदै अत्यावश्यकिय वस्तुलाई बजार मुल्य भन्दा पनि सस्तो दररेटमा बिक्री गरिने जनाईन । यस्तै राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले संस्थानबाट बिक्री वितरण गर्ने वस्तुमा कर छुटको ब्यवस्था लागु गरी सहुलियत दरमा वस्तुको बिक्री वितरण गर्नुपर्ने राय पेश गरे । साल्ट ट्रेडिङ्गले उपत्यकामा ११ र उपत्यका बाहिर २२, दुग्ध संस्थानले उपत्यकाका ४ स्थान सहित उपत्यका बाहिरका ११ स्थानमा र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले उपत्यकाको ५ स्थान सहित उपत्यका बाहिरका १८ स्थानमा गरी कुल २३ स्थानमा सुपथ मूल्यको पसल संचालन गरेको छ ।
ज्योति विकास बैंक र सिप्रदी अर्थमुभर्सबीच सम्झौता, ७० प्रतिशत कर्जा पाइने
काठमाडौँ । ज्योति विकास बैंक र सिप्रदी ग्रुप अन्तर्गतको सिप्रदी अर्थमुभर्सबीच मंगलबार सम्झौता भएको छ। सम्झौता अन्तर्गत सिप्रदी अर्थमुभर्सबाट सिफारिस प्राप्त ग्राहकहरुले टाटा हिटाचि खरिदको लागि ज्योति विकास बैंक मार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायबमहाप्रबन्धक सुशीलकुमार शर्मा तथा सिप्रदी अर्थमुभर्सको तर्फबाट कम्पनीका नायबमहाप्रबन्धक राजेन्द्र कार्कीले हस्ताक्षर गरेका छन् ।
१८ करोड रकम हिनामिना गरेको आरोपमा बैंकका थप दुई कर्मचारी पक्राउ
घोराही । दाङको घोराही-१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ । बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताएका छन्। पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन । प्रहरीले बैंकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि नै बैंकका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो । तीमध्ये चार जना छुटिसकेका छन् भने अरु प्रहरीकै हिरासतमै छन् । अहिले बैंकको नारायणपुर शाखाको सम्पूर्ण कारोवार बन्द रहेको छ । रासस
एशियाली बैंकद्वारा हिमालयन बैंकलाई अवार्ड प्रदान
काठमाडौं । एशियाली विकास बैंक (एडिबि.) ले हिमालयन बैंक लिमिटेडलाई ट्रेड फाईनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरे बापत ‘टिएफपि अवार्ड २०१९ लिडिङ पार्टनर बैंक इन नेपाल’ प्रदान गरेको छ । एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो । सेप्टेम्बर ३, २०१९ मा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्रामको अवार्ड समारोहमा हिमालयन बैंकका महाप्रबन्धक सुशिल जोशी र मुख्य प्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरेका छन् । बैंकले यस पटक समेत गरी तेश्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।
नेपाल टेलिकमले पहिलोपटक शुरु गर्यो सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा
काठमाडौँ । नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ गरेको छ । भदौ २३ गते एक कार्यक्रमका बीच रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा सो सेवाको शुभारम्भ गरिएको हो । प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तथा संसदको सार्वजनिक लेखा समितिका सभापति एवम् रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई एफटीटीएच प्रविधिको भ्वाइस तथा भिडिओ कल गरेर सो सेवाको विधिवत् शुभारम्भ गरे । सो अवसरमा प्रमुख अतिथि शाहले सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिंदै ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट सेवा जडान भएकोले सबै समुदायलाई त्यसको उच्चतम प्रयोग गरी लाभान्वित हुन आग्रह गरे । नेपाल टेलिकम भैरहवा क्षेत्रीय निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले नेपाल टेलिकमले अंगिकार गर्नुपर्ने विभिन्न झञ्झटिला कानुनी प्रावधान र यसका कारण भोग्नु परेका समस्या बारेमा उल्लेख गर्दै कम्पनी सदैव ग्राहक सेवामा केन्द्रित रहेको बताए । सम्भवतः नेपालमै पहिलो पटक गाउँपालिका स्तरमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने सुअवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै निर्देशक मालाकारले आगामी दिनमा अन्य गाउँपालिकाहरुमा पनि क्रमशः सेवा विस्तार गर्दै लगिने जानकारी दिए । उक्त कार्यक्रममा त्यस भेगका उद्यमी, व्यवसायी, संघ संस्थाका प्रमुख, गाउँपलिकाका पदाधिकारी लगायत सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । गाउँमा सञ्चार सेवाहरु उपलब्ध नहुँदा र हुँदाका अवस्थाका बारेमा तुलनात्मक व्याख्या गर्दै समग्र गाउँपालिकाको तर्फबाट गैडहवा गाउँपालिकाका प्रमुख बच्चुलाल केवटले आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा एफटीटीएच खरिद गर्ने ग्राहकहरुलाई राउटर (सीपीई) हस्तान्तरण गर्दै खादा ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा त्यस भेगका जनतालाई निःशुल्क प्रिपेड सिम समेत वितरण गरिएको थियो । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेज समेत उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।
हनुमानढोकामा ठड्याइयो लिङ्गोः शुरु भयो इन्द्रजात्रा
काठमाडौं । यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ । अ यँलाथ्व अर्थात् आज भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै विधिवत्रुपमा इन्द्रजात्रा (यँया) शुरु भएको हो । यँलाथ्व अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिर अगाडि सिंध्वाकामा ल्याइएको लिङ्गो आज बिहान ९ः१५ बजेको साइतमा ठड्याइएको सो कार्यमा संलग्न मानन्धर समुदायले जनाएको छ । आजैदेखि योसिँको मुनि सानो फलामको खोरमा ऐरावत हात्तीमा विराजमान स्वर्गका राजा देवराज इन्द्रलाई पनि प्रदर्शन गरिएको छ । किंवदन्तीअनुसार इन्द्रकी आमाले यँलागा तृतीयाका दिन वसुन्धरादेवीको व्रत बस्न नेपालमण्डलमा ‘पालिजा स्वाँ’ (पारिजातको फूल) र छिक्छिक बुँ (एक फूलको कोपिलां) लिएर आउन छोरा इन्द्रलाई अह्राइन् । सोअनुसार इन्द्रले नेपालमण्डलस्थित मरुहिटीको पश्चिमपट्टि एक घरको बगैँचामा घरधनीसँग नसोधी पारिजातको फूल चोरेर लैजान लाग्दा येँलाथ्व द्वादशीका दिन आज उपाकू यात्रामा रहेका मानिसले इन्द्रलाई पक्रेर तान्त्रिक विधिबाट पञ्चसूत्रले बाँधेर राखी सजाय दिएका थिए । यसरी, छोरा धेरै समयसम्म नफर्केको देखेर इन्द्रकी आमा स्वयं मत्र्यलोक अर्थात् नेपालमण्डलमा आइन् । काठमाडौँमा धान फलाउन हुुस्सु पठाइदिने र पितृहरुलाई स्वर्ग लगी तारिदिने वचन दिने शर्तमा उनलाई मुक्त गरिएको थियो । इन्द्रजात्राको प्रारम्भसँगै नेपालमण्डलका केही चोक र गल्लीका साथै लिङ्गो ठ्ड्याइएको स्थान तथा काष्ठमडपको दायाँ, वंघःमा उच्चस्थानमा सबैले देख्ने गरी इन्द्रलाई पञ्चसूत्रले बाँधेर खोरभित्र कैद गरी प्रदर्शन गरिराख्ने प्रचलन छ । काठमाडौँमा इन्द्रजात्रा शुरु भएसँगै कुमारी, गणेश तथा भैरवको रथयात्रा, मजिपातका रञ्जित समुदायबाट लाखे तथा झ्यालिन्चा नाच, सव भक्कु नाच, पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ । देशका विभिन्न पर्व तथा जात्रामध्ये इन्द्रजात्रा बूढाबूढीदेखि केटाकेटीसम्मले रमाउने निकै रमाइलो जात्राका रुपमा लिइन्छ । लिङ्गो ठड्याउने जात्रा अर्थात् इन्द्रध्वजोत्थान हेर्न हनुमानढोका वरपर ठूलो सङ्ख्यामा मानिसको भीड लागेको थियो । त्यस अवसरमा गुरुजुको पल्टनले तोप पड्काउनाका साथै विशेष धून बजाएको थियो । रासस