विकासन्युज

निर्माणधीन ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा

डडेलधुरा । डडेलधुरामा निर्माणाधीन ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा परेको छ । गत आर्थिक वर्षदेखि निर्माण शुरु भएको सो कभर्डहल बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेको हो । जिल्लामा रहेको एकमात्र ४० वर्ष पुरानो टिटी कभर्डहल गत वर्ष साउन महिनामा वर्षातका कारण भत्किएको थियो । गत आवमा रु १० लाख बराबरको कर्भडहल निर्माणको काम भएको भए पनि चालू आवमा भने कभर्डहल निर्माणका लागि रकम विनियोजन नभएको जिल्ला खेलकूद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बर भण्डारीले बताएका छन् । कभर्डहलसँगै जोडिएको जिल्ला खेलकूद विकास समितिको कार्यालय पनि भत्किए पछि एक वर्ष यतादेखि भाडाको घरमा सञ्चालन भइरहेको छ । खेल मैदानबाट एक किलोमिटरको दूरीमा कार्यालय हुँदा खेल खेलाउनका लागि समस्या हुने गरेको जिल्ला खेलकूद विकास समितिका भलिबल प्रशिक्षक नरेश थापाले बताए । अहिले इन्डोरमै गेम सञ्चालन गर्ने समयमा डडेल्धुरामा कभर्डहल नहुँदा वर्षातको समयमा जिल्लामा खेलकूद गतिविधि शून्य रहेको उनले बताएका हुन् । कभर्डहल नहुँदा वर्षातको समयमा इन्डोरका साथै भलिबल गेम हुन सकेका छैनन् । नेपाली सेनाको स्वामित्वमा रहेको टँुडिखेलबाहेक अन्य खेलमैदान नहुँदा खेलकूद गतिविधिमा कमी आएको छ । त्यसैले खेलकूदको विकासका लागि आवश्यक पूर्वाधारको विकास गर्नका लागि तीनवटै सरकारले पहल गर्नु पर्ने आवश्यकता रहेको छ । रासस

बाँकेबाट तीन हजार खसी काठमाडौँ ल्याइँदै

राँझा । यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार ५०० खसी काठमाडौँ पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिएका छन् । उनका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घमार्फत काठमाडौँ पठाउन लागिएको हो । काठमाडौँका व्यापारीसँग मिलेर महिलाले उत्पादन गरेका ती खसी काठमाडौँ पठाइने अध्यक्ष शाहले जानकारी दिए । भारतीय खसीको तुलनामा यहाँ पालेका खसी मोटा र राम्रा भएकाले काठमाडौँलगायत शहरमा माग बढ्दो छ । महिलाले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको शाहको भनाइ छ । महिला समूहमा आवद्ध दिदीबहिनीले गाउँमा पालेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घद्वारा ढकेरीमा सञ्चालित बाँके बाख्रा व्यवसाय केन्द्रमार्फत बिक्री गर्ने गरेका छन् । महिलाले पालेका खसीबोकाको बजारीकरणमा समस्या नहोस् भन्नका लागि ढकेरीमा एक पटकमा ५०० खसी बाख्रा राख्न मिल्ने नमूना केन्द्र निर्माण गरिएको केन्द्रका व्यवस्थापक कृष्ण केसीले बताए । यसलाई विस्तार गरी उक्त केन्द्रमा खसीको सङ्ख्यामा वृद्धि गर्दै व्यवसाय सञ्चालन गर्ने र आगामी दुई वर्षभित्रमा केन्द्रमा वार्षिक ३० हजार भन्दाबढी खसी सङ्कलन गरी बिक्री वितरण गर्ने योजना रहेको उनले बताएका छन् । रासस

पूर्वाधार सम्मेलन शुरु, पूर्व प्रधानमन्त्री भट्टराई भन्छन्-‘पूर्वाधारको विकासबाटै आर्थिक वृद्धि सम्भव’

काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलन काठमाडौंमा शुरु भएको छ । नेपाल सरकार र नेपाल उद्योग परिसंघसहित विभिन्न संघसंस्थासँग मिलेर सम्मेलन आयोजना गरको हो । सम्मेलनको प्रथम सत्रमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्नसक्ने बताएका छन् । द्रुतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे । अहिले काठमाडौंमा केन्द्रित सहरीकरणलाई विकेन्द्रिकरण गर्न कम्तिमा तराइ मधेशसँग जोड्नुपर्ने भन्दै उनले तराइ क्षेत्रमा सहरीकरण बढाउन सकिने बताए । उनले अन्य पुर्वाधार आयोजनामा अहिले नै निजी क्षेत्रले लगानी गर्नसक्ने सामथ्र्य बनाइनसकेको बताए । ‘हामीले सुरुङमार्ग बनाउन निजी क्षेत्रलाई दिएका हौं, तर त्यो बन्न सकेन,’ उहाँले भन्नुभयो, ‘यसले हाम्रो निजी क्षेत्र अहिले पुर्वाधार परियोजनामा लगानी गर्नसक्ने अवस्थामा नपुगेको देखाउँछ ।’ नेता भट्टराईले बजारको विकास गर्न हरेक गाउँसम्म सडक सञ्जाल जोड्नुपर्ने बताउनुभयो । तराइमा निर्माणाधीन हुलाकी राजमार्ग र मध्येपहाडी लोकमार्ग निर्माण सम्पन्न गर्ने र प्रकृतिले नै दिएको कोशी, गण्डकी र कर्णाली बेसिनका अधारमा उत्तर दक्षिण राजमार्ग निर्माण गर्न सरकारले पहिलो प्राथमिकता दिनुपर्ने उनले बताए । ‘बजारको निर्माण गर्न सडक सञ्जालमा सरकारले लगानी गरिदिएपछि निजी क्षेत्रले वस्तु र सेवाको उत्पादन गरेर राजश्व बढाउने आधार तयार गरिदिनु पर्छ ।’ उनले कम्तिमा विकासोन्मुख अर्थतन्त्रमा स्तरोन्नती हुन नसक्दासम्म सरकारले नै पूर्वाधारमा लागनी गर्नुपर्ने उनले बताए । अहिले विश्व चौंथो औद्योगिक क्रान्तिको चरणमा रहे पनि नेपालले पहिलो औद्योगिक क्रान्तिसम्म गर्न नसकेको बताए । अहिले पनि निर्वाहमुखि कृषिमा आधारित अर्थतन्त्र भएकाले यसलाई उद्योग र सेवा व्यवसायमा आधारित बनाउन सरकारले पूर्वाधार निर्माण र बजारीकरणको विकासमा काम गर्नुपर्ने उनको तर्क छ । निजी क्षेत्रले अहिलेको अवस्थामा ऊर्जामा लगानी बढाउने प्रसस्त सम्भावना रहेको बताए । भारत र चीनदेखि भुटान र बंगलादेशसम्म बजारीकरण गर्न क्षेत्रीय कनेक्टिभिटीमा ध्यान दिनुपर्ने उनले बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐनदेखि विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनलगायत थुप्रै कानूनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताए । डुइङ विजिनेशलाई सुधार गर्न नीतिगत र प्रकृयागत सुधारमा लागिएको उनले बताए । भारत, चीन, अमेरिका, नर्वेजस्ता मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र अरु मुलुकका लगानीकर्ता पनि निरन्तर परियोजनाबारे छलफलमा आइरहेको उनले बताए । कार्यक्रममा एसियाली विकास बैंकका महानिर्देशक वूचोङ उमले विश्वब्यापी तापमान बृद्धि र जलवायु परिवर्तनका प्रभावलाई मध्येनजर गरेर रेसिलियण्ट पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य र नेपालले समृद्धि लक्ष्यलाई जोड्न समुदायमा आधारित पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए । उनले ज्ञान, सीप, पैसा र प्रविधी लगानी गर्न सरकार र निजी क्षेत्रले सामुहिक प्रयास गर्नसक्ने बताए । नविन प्रविधिको उत्पादन र उपयोग गर्नुका साथै यातायात पुर्वाधार र शैक्षिक क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरे । एडीबीले नेपालमा पुर्वाधारको क्षेत्रमा लगानी बढाउँदै गएको उनले बताए । कार्यक्रममा सीएनआईका उपाध्यक्ष विष्णुकुमार अग्रवाल, पुर्व राजश्वसचिव लालशंकर घिमिरे, रकभिल्ड टेक्नोलोजी, अस्ट्रेलियाका सीईओ गोविन्द पाण्डे, एडीबीका पुर्व उपाध्यक्ष डा विन्दु लोहनी लगायतले पछिल्लो समय नेपालमा लगानीको वातारण सुधार भइरहेको र लगानीका नयाँ विकल्पहरुको बारेमा छलफल बढ्दै गएको बताए । भारतलगायत मुलुकले अघि सारेका सार्वजनिक निजी साझेदारीका समस्याहरुबाट सिकेर अघि बढ्नुपर्ने बताए ।

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको सानातथा लघुबैंकिङ्ग, पर्सा शाखामा सदस्य रहेका मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । स्व. मगरका छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष टिकादत्त ईटनी, बैंकको पर्सा शाखाका प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले संयुक्त रुपमा एक लाख त्रिचालिस हजार सात सय चौरासी रुपैंयाको चेक हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

कृषि विकास बैंकको सञ्चालक पदमा नियुक्त भए आचार्य

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक पदमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयअनुसार उनलाई यही भदौ २३ गते नियुक्त गरिएको हो । सोहीअनुसार सञ्चालक समितिको भदौ २४ को बैठकमा आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गरेको कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिएका छन् ।

झापाको विर्तामोडमा टिम्वर क्राफ्टको शाखा

काठमाडौं । लामो समय देखि स्कीन ढोकाहरूको उत्पादन तथा बिक्रि वितरण गर्दै आएको टिम्वर क्राफ्ट प्रालिको शाखा झापाको विर्तामोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलवार एक कार्यक्रमबीच उक्त शाखा कार्यालय इस्ट टिम्बर प्रालिको उद्घाटन गरिएको हो । देशका विभिन्न जिल्लाहरुमा सेवा विस्तार गरिरहेको यो कम्पनीले अब प्रदेश १ मा पनि उक्त शाखा मार्फत सेवा विस्तार गरेको हो । नेपालमै बनेका स्कीन ढोकाहरु ग्राहक आफ्नै बजारमा पर्याउन सेवा विस्तार गरिएको टिम्बर क्राफ्टका प्रवन्ध निर्देशक योगेन्द्रजंग बस्नेतले जानकारी दिए । ‘नेपाली उत्पादन भनेर गर्व गर्न लायकका ढोकाहरु हामी दिन्छौं,’ उनले भने, ‘यसको लागि हामी रात दिन नभनी सस्तोमा टिकाउ, भरपर्दो ढोकाहरु उत्पादन गर्न तिर लागेका छौं ।’ कम्पनीका देशैभरि ४५ भन्दा बढी ठाँउमा डिलर रहेको छ । ललितपुरको सातदोवाटोमा प्रमुख कार्यालय र नवलपरासीको गैंडाकोटमा कारखाना रहेको कम्पनीले पानीले असर नगर्ने, किराले नखाने, वाङ्गो टिङ्गो नहुने, सजिलै कम समयमै फिट गर्न सकिने, सबै प्रकारका घरहरुमा अनुकुल हुने, सस्तो तथा आकर्षक ढोकाहरु उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ । उक्त ढोकाहरुमा कम मात्रामा काठको प्रयोग गरिएको र सुरक्षाको लागि आवश्यक उपचार विधि अपनाइएको छ । ढोकाहरुको बारेमा जानकारी दिदैं प्रवन्ध निर्देशक बस्नेतले भने ‘देशमा काठको अभाव भइरहेको वेला काठको प्रयोग गरिएका टिकाउ ढोका देशैभरि पुर्याउन पाउदा अत्यन्तै खुसि भएका छौँ ।’

ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशियाको एक्स्टेन्सन काउण्टर राखिने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरबीच जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले हस्ताक्षर गरेका छन् । ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

बेनी-जोमसोम सडक अवरुद्ध, पर्यटक र सर्वसाधारणलाई सास्ती

गलेश्वर । आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् । सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो । पहिराले सडकको करीब १० मिटर आधार नै भत्काएकाले भिरमा विष्फोटक पदार्थको प्रयोग गरी नयाँ ट्र्याक निर्माणको तयारी गरिएको छ । डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकारी दिए । उनका अनुसार भत्किएको सडक मर्मतको काम भइरहेको छ । यात्रुले बीच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता छ । मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणलाई सास्ती भएको छ । रासस