पश्चिमी न्यूनचापीय वायुको प्रभाव हिमपात तथा वर्षाकाे सम्भावना
काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आगामी दिन देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । आइतबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई मध्य र पहाडी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्वी र मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसे छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । रासस
नेपालगञ्ज विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने मन्त्री भट्टराईको प्रतिवद्धता
काठमाडौं । नेपालगञ्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगञ्ज आएको बताउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले छिट्टै अन्तर्राष्ट्रिय उडान भर्न सक्ने विमानस्थल तयार गर्ने दावी गरेका छन् । नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको जनाए । सरकारको नारालाई देश विदेशमा पुर्याउन नेपालगञ्ज म्याराथनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले सहयोग गर्ने बताए । शान्ति, सद्भाव र एकताका लागि नेपालगञ्ज म्याराथनले भूमिका खेलेको चर्चा गर्दै स्वास्थ्यका लागि खेलकुद जरुरी रहेको उनको भनाइ थियो । ‘मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको छ’ उनले भने । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणा लगायतले नेपालगञ्ज म्याराथनले नेपालगञ्जलाई चिनाउन सहयोग गरेको बताए । नेपालगञ्ज म्याराथनको पाँचौ संस्करणमा २ हजार ७ सय जनाभन्दा बढी सहभागि भएका छन् । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको सम्झनामा नेपालगञ्ज म्याराथनको शुरवात गरिएको क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । उनका अनुसार म्याराथनमा प्रथम हुनेलाई ६५ हजाररुपैयाँ, दोस्रो हुनेलाई ३५ हजार रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै हाफ म्याराराथनतर्फ प्रथम हुनेलाई ३५ हजार रुपैयाँ, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार र १० हजार रुपैयाँ प्रदान गरिने छ । नेपालगञ्जको वीपीचोकबाट शुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः वीपीचोकमा आएर म्याराथन पूरा हुनेछ । रासस
सिमेण्ट उत्पादक संघको उपाध्यक्षमा सुरेन्द्र गोयल नियुक्त
काठमाडौ । नेपाल सिमेण्ट उत्पादक संघको केन्द्रीय उपाध्यक्षमा शिवम् सिमेण्ट हेटौंडाका प्रमूख सुरेन्द्र गोयल मनोनित भएका छन् । उत्पादक संघका अध्यक्ष ध्रुव्र थापाले शुकबार शिवम् सिमेण्टका प्रमूख गोयललाई मनोनित गरेका हुन् । उपाध्यक्षमा मनोनित भएपछि गोयलले आफू अब निर्माण व्यवसायी कम्पनी, उपभोक्ताको हित र सिमेण्ट उत्पादक कम्पनीको बजार ब्यवस्थापनमा दरिलो भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गोयलले स्वदेशी उत्पादनमा आत्मनिर्भर गराउन आफू सक्रियरुपमा लाग्ने बताउँदै नेपाल र सरकार र सम्बन्धित पक्षको भरपूर सहयोग रहनेमा आशावादी रहेको बताए ।
मुस्ताङको जोमसोममा टाटा मोटर्सको वर्कशप
जोमसोम । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि ले मुस्ताङको जोमसोममा टाटा मोटर्सका गाडीहरूका लागि सेवा प्रदान गर्नका लागि वर्कशप खोलेको छ । समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा अवस्थित उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले गरेका हुन् । जोमसोम क्षेत्रमा टाटा मोटर्सका सबै रेन्जका गाडीहरूलाई सेवा प्रदान गर्ने यो नै पहिलो र एकमात्र वर्कशप हो । उक्त उद्घाटन समारोहमा बोल्दै टाटा मोर्टसको कर्मशियल बिजनेस, कस्टमर केयर इन्टरनेशनल प्रमुख गणेश शेट्टीले भने-“ जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्दछ तब उसले टाटाका सेवाहरू माथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो । टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कशपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ भन्ने हाम्रो आशा रहेको छ र सबैभन्दा उच्च स्थानमा-समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा वर्कशप खोल्नु भनेको हामी हाम्रा सबै ग्राहकहरूसम्म पुग्छौँ भन्ने कुराको पुनः प्रत्याभूति हो ।” सिप्रदी ट्रेडिङ प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने- “सिप्रदीको स्थापनादेखि नै सिप्रदीले सेवालाई उच्च प्राथमिकतामा राख्दै देशका कुनाकाप्चामा भएका ग्राहकहरूसम्म पुग्ने लक्ष्य लिएको छ र जोमसोममा अवस्थित यो वर्कशपले हामीले चाहिरहेको लक्ष्य प्राप्तिका लागि अर्को सफलता दिलाएको छ।” टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. प्रति आभार व्यक्त गर्दै घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले भने- “सिप्रदी र टाटा मोटर्सले जोमसोममा वर्कशप खोल्नु भनेको यो स्थानको महत्व बुझ्नु हो । सिप्रदी र टाटा मोटर्सलाई यहाँ स्वागत छ । हामीलाई विश्वास छ कि यो वर्कशप घोरपझोङ गाउँपालिका र कम्पनी दुवैका लागि फाइदाजनक हुनेछ ।” उद्घाटन समारोहमा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रतिनिधिहरूका साथै सो क्षेत्रका स्थानीय बासिन्दा र टाटा मोटर्सका ग्राहकहरूको पनि सहभागिता थियो ।
नेपाल बैंकद्धारा मानव कल्याण समाजलाई तीन लाख बराबरको आर्थिक सहयोग
काठमाडौं । नेपाल बैक लिमिटेडले भक्तपुरको चांगुनारायणस्थित मानव कल्याण समाज(सेवा घर) लाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो ८३औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त संस्थामा आश्रय लिईरहेका आमा बुवाहरुको स्वास्थ्य र सरसफाईको लागि सो मात्राको सहयोग गरेको हो । बैंकको प्रदेश नम्बर ३ प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थीले समाजका संचालक सुमित्रा चौलागाईलाई एक समारोहका बीच उक्त राशीको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रादेशिक कार्यालय प्रमुख पन्थीले मानव सेवा नै माधव (भगवान) सेवा भएको सन्दर्भमा मानव सेवा समाजलाई सघाउन पाएकोमा खुसी व्यक्त गरेका छन् । समाजका अध्यक्ष चौलागाईले सहयोग निम्ति बैंकलाई धन्यवाद दिएकी छिन् । उक्त समारोहमा नेपाल बैंकका मुख्य प्रबन्धक सुर्य प्रकाश भट्ट, वरिष्ठ पबन्धक उज्ज्वल पोख्रेल, राम गोपाल श्रेष्ठ, प्रबन्धक अनुप अर्याल, उप प्रबन्धक विनोद गिरी, सहायक प्रबन्धक जीवराज ढकाल, सहयोग समन्वयकर्ता हेमराज वराल , मानव कल्याण समाजका पदाधिकारीहरुकोे उपस्थिति थियो ।
प्रभु बैंकको १६ प्रतिशत बोनस पारित, सर्वसाधारण र संस्थापकको शेयर संरचना परिवर्तन
काठमाडौं । प्रभु बैंकको प्रस्तावित १६ प्रतिशत बोनस शेयर पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १८औं वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकका सेयरधनीले चुक्ता पुँजीको १६ प्रतिशत बोनस शेयर पाउने छन् । १६ प्रतिशत बोनस शेयर पश्चात बैंकको चुक्ता पुँजी १०अर्ब ३१ करोड रुपैयाँ नाघेको छ । साथै, सभाले संस्थापक र सर्वसाधारण समूहतर्फको शेयर स्वामित्व परिवर्तन गरेको छ । बैंकले संस्थापक समूहतर्फ कायम रहेको ५५ प्रतिशत शेयर स्वामित्व घटाएर ५१ प्रतिशत पुर्याएको छ भने सर्वसाधारण समूहतर्फ कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्व बढाएर ४९ प्रतिशत पुर्याएको छ । त्यस्तै, सभाले शेयर स्वामित्वको आधारमा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जनाको प्रतिनिधित्व हुने गरी संचालक समितिको प्रस्तावलाई पारित गरेको छ । साथै धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्नको लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत पारित गरेको छ । त्यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । हाल बैंकले ३७ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन तथा १९६ वटा शाखा कार्यालयहरु मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
माथिल्लो कर्णालीको पीपीए दर निर्धारण गर्न बंगलादेश सहमत, दुई देशले २५ हजार मेगावाट विद्युत किन्ने
काठमाडाैं । बंगलादेश सरकार माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय मेगावाट जलविद्युत् खरिद गर्न सहमत भएको छ । जिएमआरले उत्पादन गरेको बिजुलीको खरिद गर्न बंगलादेशी सरकार सहमत भएको हो। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित जलविद्युत् खरिद गर्ने बंगलादेश सरकार सहमत भएको जिएमआरका चिफ अपरेटिङ अफिसर हरविन्दर मोनोचाले बताए । स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान)ले आयोजना गरेको ऊर्जा सम्मेलनमा बोल्दै उनले माथिल्लाे कर्णालीकाे विद्युत खरिद गर्ने कुरा बंगलादेशकाे क्याविनेटमा पुगिसकेकाे बताए । उनले बंगलादेशकाे कमिटिले आवश्यक निर्णय गरेसँगै पीपीए गर्ने बाटो खुल्ने बताए । अबको केही समयभित्रै बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय एनभिभिएनसँग विद्युत खरिद–बिक्री सम्झौता हुने उनको भनाइ छ । कम्पनीले आगामी आर्थिक वर्षदेखि ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण थाल्ने जनाएको छ । कम्पनीले माथिल्लो कर्णालीबाट उत्पादन हुनेमध्ये पाँच सय मेगावाट बिजुली बंगलादेश र २९२ मेगावाट भारतीय एनभिभिएनलाई बिक्री गर्नेछ । बाँकी एक सय आठ मेगावाट नेपाल सरकारलाई निःशुल्क उपलब्ध गराउनेछ । जिएमआरले आयोजनाको २७ प्रतिशत सेयर नेपाल विद्युत् प्राधिकरणलाई दिनेछ । सञ्चालनमा आएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । आयोजनाका अनुसार चालु आर्थिक वर्षभित्रि पीपीए र साइट क्लियर लगायत काम सकेर सन् २०२० को अन्त्यदेखि निर्माण थाल्ने जनाएको छ । ‘सन् २०२० भित्र मुआब्जा र साइट क्लियर लगायत काम सकेर सन् २०२१ देखि आयोजना निर्माण थालिनेछ,’ चिफ अपरेटिङ अफिसर हरविन्दरले भने,‘माथिल्लो कर्णालीको जलविद्युत् आयोजना पाँच वर्षभित्रै निर्माण सम्पन्न गरिनेछ ।’ जिएमआरले इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्सट्रक्सन (इपिसी) मोडलमा १ अर्ब ५० करोड अमेरिकी डलर (हालको विनियम दरअनुसार करिब १ खर्ब ७० अर्ब रुपैयाँ) लागत अनुमान गरिएको छ । सुरु भएको पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । नेपाल सरकार र जीएमआरबीच सन् २००८ मा यो आयोजना बनाउने विषयमा एमओयू भएको थियो । २५ हजार मेगावाट विद्युत किन्ने सम्झौता भारत र बैंगलादेशले नेपालबाट २५ हजार मेगावाट विद्युत खरिद गर्ने सम्झौता गरेका छन् । सम्मेलनमा नेपाल भारत र बंगलादेशबीच बिपक्षीय विद्युत व्यापार तथा आयोजना निर्माण विषयमा महत्वपूर्ण १० सम्झौता भएको हो । बंगलादेशले सन् २०४१ सम्म नेपालबाट ९ हजार मेगावाट विद्युत लैजाने प्रतिवद्धता जनाएको छ । यस्तै भारतले २०३४ सम्ममा १५ हजार ६ सय मेगावाट विद्युत लैजाने भएको हो । भारत र बंगलादेशसाग गरिी करिब २५ हजार मेगावाट सम्झौता भइसकेको छ । ऊर्जा सम्मेलनकै क्रममा पाँच समझदारी भएका छन् । सम्मेलनको पहिलो दिन हिजो (बिहीबार) दुई वटा र दोस्रो दिन आज (शुक्रबार) तीन सम्झाैता भएका छन् । एफएमओ, नेपाल बैंकर्स संघ, हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेण्ट डिभलपमेण्ट कम्पनी र एनएचपीसी भारत, र इण्डियन इनर्जी एक्सचेञ्ज र इप्पानबीच समझदारी पत्र (एमओयु) भएको हो । ऊर्जा सम्मेलनको पहिलो दिन र दोस्रो दिन गरी कुल पाँचवटा समझदारी पत्रमा हस्ताक्षर भएका हुन । ऊर्जा क्षेत्रमा लगानी गर्न सरोकारवालाको जोड नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि थप लगानी जरुरी रहेकाले आफूहरुले त्यसतर्फ लागि परेको सरोकारवाला निकायका प्रतिनिधिहरुले जोड दिएका छन् । संम्भाव्य लगानीको स्रोत पहिचानका लागि सरकारी, निजी क्षेत्रले सहकार्य गर्दै आन्तरिक तथा बाह्य लगानीलाई विशेष चासोका साथ अगाडि बढाउनुपर्ने उनीहरुको जोड थियो । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा त्यसका लागि पनि ठूलो लगानी जरुरी भएकाले आन्तरिक लगानीले मात्रै लक्ष्य पूरा हुन नसक्ने उनीहरुको भनाइ थियो । नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीबि नेपालले स्वदेशी तथा विदेशी लगानीका लागि आफूहरुले सहजीकरण गरिरहेको बताए । उनले केन्द्रीय बैंकका तर्फबाट लगानीकर्तालाई दिनुपर्ने सुविधा र निर्वाह गर्नुपर्ने भूमिका इमान्दार भएर निभाइरहेको र आवश्यक सहयोग उपलब्ध गराएको उल्लेख गरे । विश्व बैंकका देशीय निर्देशक फरिस एच हदाद जर्भोस नेपालको ऊर्जा क्षेत्रमा आफूहरुले लगानीको मात्रा बढाएको र त्यसले सकारात्मक परिणाम दिनेमा आशावादी रहेको बताए । बङ्गलादेशको युनाइटेड पावरका प्रबन्ध निर्देशक एमएच रसिदले नेपाल र बङ्गलादेशको एक अर्काको अनुभवबाट सिकेर अगाडि बढ्न सकिने उल्लेख गरे । उनले आफ्नो सरकारले ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको र सोही अनुसारको नीतिगत एवम् व्यवहारिक वातावरण तयार पारेकाले त्यसबाट आफूहरुलाई काम गर्न थप सहज भएको बताए ।
यस्तो छ महिन्द्राको ‘एक्सयुभि३००’, सुरुवाती मूल्य ३९ लाख ७५ हजार
काठमाडाैं । इण्डियन अटोमेकर कम्पनी महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले यस ब्राण्डका विभिन्न मोडेलहरु नेपालमा विक्री वितरण गर्दै आइरहेको छ । महिन्द्राको लोकप्रिय मोडेलको रुपमा चिनिने ‘एक्सयुभि३००’ नेपाली बजारमा ३९ लाख ७५ हजार रुपैयाँ सुरुवाती मूल्यका साथ उपलव्ध रहेको छ । यस एसयुभिका डब्लु४, डब्लु६, डब्लु८ र डब्लु८(ओ) गरी ४ अलग भेरियन्टहरु रहेका छन् । महिन्द्राले एक्सयुभि३०० मा मेमोरी फङ्सन सहितको डुअल–जोन क्लाइमेट कन्ट्रोल, टायर प्रेशर मोनिटरिङ्ग सिस्टम्स, १२ भोल्टको व्याट्री, फ्रन्ट पार्किङ्ग सेन्सर्स, एबीएस, ईबीडी जस्ता विशेषताहरु समावेस गरेको छ । यस एसयुभिको टप भेरियन्ट डब्लु८(ओ) मा भने ७ ओटा एयरब्याग्स, इलेक्ट्रिक सनरुफ, क्रुज कन्ट्रोल, एलईडी डे–टाइम रनिङ्ग ल्याम्प्स, स्मार्ट फोन कनेक्टिभिटी सहितको ७–इञ्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम जस्ता फिचरहरु पनि समावेस रहेका छन् । ‘एक्सयुभि३००’ ११९७ सीसीको पेट्रोल इञ्जिन र १४९७ सीसीको डिजेल इञ्जिन अप्शनमा उपलब्ध रहेको छ । यस एसयुभिमा समावेस पेट्रोल इञ्जिनले ११० बीएचपीको पावर र २०० एनएमको टर्क प्रोड्युस गर्दछ भने डिजेल इञ्जिनले चाहिँ ११५ बीएचपीको पावर र ३०० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस एसयुभिमा६–स्पिड गियरबक्स दिइएको छ । ५ सिटर यस एसयुभिको चारओटै चक्काहरुमा डिस्क ब्रेक जडान गरिएको छ । त्यसैगरी यस एसयुभिको ग्राउण्ड क्लियरेन्स १८० मिलिमिटर रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ४२ लिटरको रहेको छ । अग्नि इन्कर्पोरेटेडले एक्सयुभि३०० को हाल नेपालमा उपलब्ध भेरियन्टहरुको मूल्य यस प्रकार तोकेको छ: