विकासन्युज

१० प्रतिशत व्याजमा ५ कराेडसम्म कर्जा पाइने, विदेशबाट फर्केका सबैले सहुलियत कर्जा पाउने

काठमाडौं ।  युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५’ संशोधन गरिएको छ ।  राष्ट्रिय युवा परिषद्को आग्रहमा युवालाई कर्जा पाउन कठिनाइ भएको भन्दै सरकारले कार्यविधि दोस्रो पटक संशोशन गरेको हो । परिषद्को समन्वयमा अर्थ मन्त्रालयले कार्यविधि संशोधन गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए । ‘‘पहिलेको कार्यविधिअनुसार युवालाई कर्जा पाउनका लागि कठिनाइ भएको थियो ।’’, उनले, ‘‘संशोधित कार्यविधिअनुसार अब युवाले बैंकबाट कर्जा पाउन सरलीकृत गराइएको छ ।’’ संशोधन गरिएको कार्यविधिमा अब नौ प्रकारका सहुलियतपूर्ण कर्जा प्रवाह गरिने भएको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए । यसअघि सात प्रकारका कर्जा रहेका थिए । उहाँका अनुसार थप गरिएको दुई कर्जामा कपडा उद्योग सञ्चालन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)बाट तालीम लिनका लागि भनिएको छ । कपडा उद्योगले पाउने कर्जा रु पाँच करोडसम्म र सिटीइभिटीबाट लिइने तालीमका लागि कर्जा रु दुई लाखसम्म पाउने व्यवस्था थप गरिएको छ । कपडा उद्योगले लिएको कर्जा अन्य क्षेत्रमा लगानी गरे वा तोकिएको समयमा फिर्ता नगरेमा सरकारी बाँकी सरह असुल उपर गरिने र थप १५ प्रतिशत ब्याजसमेत असुल गरिने प्रावधान राखिएको छ । युवालाई स्वदेशमा नै स्वरोजगार बनाउनका लागि सरकारले २०७५ कात्तिक २० गतेदेखि व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा दिइँदै आएको थियो । संशोधित कार्यविधिमा अब रु १० लाखसम्मको कर्जा लिँदा सामूहिक जमानीको सट्टामा एकाघरको व्यक्ति जमानीमा पनि पाउने व्यवस्था गरिएको छ । नौ प्रकारका कर्जामा पाँच लाखदेखि पाँच करोडसम्म विनाधितो सातदेखि १० प्रतिशत ब्याजदरमा युवाले पाउनेछन् । यसैगरी वैदेशिक रोजगारीबाट फर्केका युवाले कर्जा यसअघि व्यक्तिगत रुपमा मात्र रु १० लाखका दरले पाउने व्यवस्था भएकोमा हाल सामूहिक रुपमा समेत पाउने प्रावधान राखिएको छ । सूचना अधिकारी पौडेलका अनुसार शिक्षित युवा स्वरोजगार कर्जाका लागि सम्बन्धित विषयमा स्नातक गरेको युवालाई तालीम आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यस्तै विद्यार्थीले शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा लिँदा सक्कल प्रमाणपत्रको सट्टामा प्रमाणित प्रतिलिपि राख्नुपर्ने व्यवस्था गरिएको छ । विदेशबाट फर्केका युवालाई उनीहरुको ज्ञान अनुभव र रुचीका आधारमा कर्जा प्रवाह गर्ने सरल विधि बनाइएको उपसचिवसमेत रहनुभएका पौडेलले जानकारी दिए । विदेशबाट फर्केको जोसुकैले पनि पाउने     यसैगरी वैदेशिक रोजगारबाट फर्किएका युवालाई तीन वर्ष नबितेको हुनुपर्ने व्यवस्था खारेज गरी वर्ष नतोकी विदेशबाट फर्केका जुनुसुकै युवाले कर्जा पाउने उल्लेख गरिएको छ । यसैगरी विदेशबाट फर्केका सबै युवाले कर्जा सुविधा पाउन कुनै तोकिएको तालीम वा पेशा व्यवसाय वा कुनै क्षेत्रमा काम गरेको हुनुपर्ने व्यवस्था खारेज गरी सरलीकृत बनाइएको छ । विदेशबाट फर्केको प्रमाणको आधारमा उनीहरुको रुची र अनुभवका आधारमा कर्जा उपलब्ध गराउने परिषद्का उपसचिव पौडेलले जानकारी दिए । ऋणीले तिर्नुपर्ने शुल्कको व्याख्या गर्दै कर्जा सूचना शुल्क र ऋणीले बेहोर्नुपर्ने बीमा प्रिमियम र कर्जा सुरक्षण शु्ल्क भनी परिभाषित गरिएको यीभन्दा अन्य कुनै पनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरिएको छ । संशोधन गरिएको कार्यविधिमा नेपाल राष्ट्र बैंकले प्रत्येक वित्तीय संस्थालाई तोकिएको क्षेत्र वा स्कीममा निश्चित सङ्ख्यामा लगानी गर्नैपर्ने बाध्यात्मक व्यवस्था लागू गर्न सक्ने र सोको प्रभावकारी अनुगमन गर्ने व्यवस्था गरिएको छ । दश प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाइने     बैंकको प्रचलित दरमा दुई प्रतिशत बढाउन पाउने व्यवस्था भए पनि अब १० प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने गरी संशोधन गरिएको परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिए । अहिलेसम्म सहुलियतपूर्ण कर्जा करीब १८ हजार ९०० युवामा प्रदान गरिएको छ ।   रासस –––

पर्यटककाे सङ्ख्या बढेसँगै राजश्वमा वृद्धि

धम्बोझी । बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेसँगै उनीहरुबाट प्राप्त हुने राजस्वमा पनि वृद्धि भएको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७०÷७१ मा १३ हजार २०७, आव २०७१÷७२ मा १३ हजार ५४८, आव २०७२÷७३ मा १० हजार ६४१, आव २०७३÷७४ मा १८ हजार नौ, आव २०७४÷७५ मा २० हजार ८४, आव २०७५÷७६ मा २४ हजार ५५८, २०७६÷७७ मा छ हजार ७३५ गरी एक लाख छ हजार ७३५ विदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । आव २०७५÷७६ मा रु तीन करोड ७६ लाख ६० हजार ३४५ राजश्व सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । यस आवमा २०७६÷७७ मा रु ७६ लाख ९६ हजार ६८ राजश्व सङ्कलन भएको छ । चार वर्षको अवधिमा बर्दिया राष्ट्रिय निकुञ्जमा ४४ हजार १६६ विदेशी पर्यटक आएका छन् । निकुञ्जमा चार वर्षको अवधिमा ४४ हजार १६६ विदेशी पर्यटकले पाटेबाघ, एकसिङ्गे गैँडा एशियाका ठूलो राजागज हात्ती हेर्न पर्यटक आएको निकुञ्ज संरक्षण प्रमुख बरालले बताएका छन् । निकुञ्ज आउने आन्तरिक पर्यटकको सङ्ख्या धेरै रहेको बरालको बताए । करिब ९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा छ । सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा स्थापित निकुञ्जलाई सन् १९८२ मा शाही बर्दिया वन्यजन्तु आरक्ष नामाङ्कन गरिएको थियो । सन् १९८४ मा बबई नदी आसपासको क्षेत्रलाई पनि यसमा समेटिएको थियो । सन् १९८८ मा बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा यो क्षेत्र घोषणा भएको हो । पाटेबाघ, गैँडा, घडियाल गोही, डल्फिन, जरायो, कृष्णसारजस्ता लोपोन्मुख वन्यजन्तु पनि यस निकुञ्जमा संरक्षित छन् । विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार हेर्न आउनेको यहाँ लर्को लाग्ने गर्दछ । बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरी होटल क्षेत्रमा लगानी गर्ने क्रम पनि दिनानुदिन बढिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर पुष्प श्रेष्ठले जानकारी दिए । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा पर्यटक भित्र्याउन निकुञ्जमा अझै धेरै काम गर्न बाँकी रहेको जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शङ्करप्रसाद थारू बताउँछन् । प्रदेश नं ५ लाई प्रमुख पर्यटकीय मार्ग बनाउन धेरै पर्यटक भित्र्याउन हवाईभाडा कम गर्न राज्य लाग्नुपर्ने प्रदेश नं ५ का प्रदेशसभा सदस्य तिलक शर्माको माग छ । रासस

सागको ओलम्पिक टर्च र्याली आजबाट शुरू, सातै प्रदेशमा हुने

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकूद (साग) को ओलम्पिक टर्च र्याली स्वयम्भूबाट शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आज स्वयम्भूमा ओलम्पिक टर्च प्रज्वलन गरी ओलम्पियन समूहलाई हस्तान्तरण गरेका हुन् । सागको महत्वबारे देश भरी फैल्याउने उद्देश्यले टर्च र्यालीलाई सातै प्रदेशको मुख्य शहरमा पुर्याउने कार्यक्रम रहेको छ । ओलम्पिक टर्च काठमाडौँबाट आजै प्रदेश नं १ को राजधानी विराटनगरमा पुर्याइने कार्यक्रम रहेको छ । त्यसैगरी दोस्रो दिन प्रदेश नं २ को जनकपुर, तेस्रो दिन प्रदेश नं ३ को हेटौँडा र चितवन, चौथो दिन प्रदेश नं ५ को लुम्बिनी र बुटवल, पाँचौँ दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को नेपालगञ्ज, छैटौँ दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौँ दिन गण्डकी प्रदेशको पोखरा लगिने कार्यक्रम छ । आठौँ दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौँ ल्याइने छ । नवौँ दिन काठमाडौँको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दीप प्रज्वलन गरिने कार्यक्रम छ । र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका बैकुण्ठ मान्नधर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी सङ्घका अध्यक्ष एवं करातेका दीपक श्रेष्ठ सहभागी छन् । साग यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा हुँदैछ । रासस

रसुवाको स्याफ्रुबेसीमा एनआईसी एशिया बैंक, शाखा संख्या ३१० पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन स्याफ्रुबेसी गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गरेका हुन् । स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।

सानिमा लाईफ इन्स्योरेन्सकाे प्रस्तावित ३० प्रतिशत आईपीओ पारित

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रस्तावित ३० प्रतिशत साधारण शेयर(आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले हालको जारी पुँजीको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्ब रुपैयाँ रहेको छ । उक्त सभाले आ.व. २०७४/०७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ । २०७४ मंसिर २२ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीले हाल ६४ वटा शाखा/उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ । बीमा बजारमा विभिन्न र नवीनतम बीमा योजनाहरु पेश गरिरहेको यस कम्पनीले हालै मात्र सिमित अवधि भुक्तानी गर्न मिल्ने सावधिक तथा आजीवन जीवन बीमा “सानिमा धन संचय जीवन बीमा योजना” तथा वित्तीय संस्थाका ऋणीहरुलाई लक्षित गरी “सानिमा कर्जा म्यादी बीमा योजना” पनि जनसमक्ष प्रस्तुत गरेको छ । कम्पनीका संचालकहरुमा घनश्याम थापा, डा. सुवर्ण दास श्रेष्ठ, बद्री विशाल घिमिरे तथा स्वतन्त्र संचालक भरत बहादुर थापा छन् ।

भद्रपुर विमानस्थल आजदेखि पुनः सञ्चालन, धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि साढे १० करोड खर्च

भद्रपुर । झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो । गत कात्तिक २६ गतेदेखि मङ्सिर ५ गतेसम्म मर्मत तथा स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थलको एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताएका छन् । उनका अनुसार सो धावनमार्गमा २० वर्षसम्म समस्या आउने छैन । उनले सो धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाख खर्च भएको बताएका छन् । विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तार, भवनको स्तरोन्नतिलगायतका काम गरिएको हो । रासस

धमाधम गाभिँदै सामुदायिक र संस्थागत विद्यालय

बेझाड । पाल्पा जिल्लाका सामुदायिक र संस्थागत विद्यालय धमाधम गाभिन थालेका छन् । विद्यार्थी सङ्ख्या न्यून भएका तथा संस्थागत र सामुदायिक विद्यालयबीच हुने विभेद् हटाउनका लागि विद्यालय गाभिएका हुन् । अहिलेसम्म २० वटा विद्यालय गाभिएको शिक्षा समन्वय तथा कार्यान्वयन एकाइले जनाएको छ । एकाइ प्रमुख रमेशराज पौडेलका अनुसार शैक्षिक सत्र २०७५ मा एक र २०७६ मा आठ गरी नौ विद्यालय गाभिएका थिए । विसं २०७५ भन्दा अगाडि पनि ११ विद्यालय गाभिएको पौडेलले बताए । उनका अनुसार जिल्लाको पूर्वखोला गाउँपालिकामा पाँच संस्थागत, बगनासकाली गाउँपालिकामा एक/एक सामुदायिक र संस्थागत, तिनाउ गाउँपालिकामा एक सामुदायिक, रम्भा गाउँपालिकामा एक सामुदायिक विद्यालय गाभिएका छन् । तिनाउ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालयलाई यसैवर्ष असोजमा कल्याणी आधारभूत विद्यालयमा गाभिएको छ । यहाँ एक शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेको थियो । यस आर्थिक वर्षमा भर्ना भएका विद्यार्थी सङ्ख्या जम्मा छ जना थिए ।उनीहरुलाई एउटै कोठामा राखेर शिक्षण गरिन्थ्यो । यिनीहरु पनि महिना भरीमा बढीमा १० दिन मात्र विद्यालय आउने जाने गरेको पाइएपछि विद्यालय गाभिएको हो । यस शैक्षिक सत्रमा छ जना भर्ना भएका विद्यार्थीमध्ये चार जना एकै परिवारका र बाँकी दुई जना अन्य दुई परिवारका छन् । यिनीहरु सबैलाई बस्ती तल रहेको कल्याणी आधारभूत विद्यालयमा आउन जानको लागि गाउँपालिकाले यातायात खर्चको व्यवस्था गरेको छ । यसै शैक्षिक सत्रको जेठमा बगनासकाली गाउँपालिकामा रहेको नवदुर्गा प्रावि गुडुवाखोला भवानी प्राविमा गाभियो । जीवन ज्योति बोर्डिङ स्कुल चिर्तुङ्गधारा विष्णु मावि पोखराथोकमा गाभिएर पठनपाठन हुँदै आएको छ । जीवन ज्योति बोर्डिङमा १५ विद्यार्थी अध्ययनरत थिए । विद्यार्थी सङ्ख्या कम हुन थालेपछि सामुदायिक विद्यालयमा गाभिएको हो । रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटमा रहेको सिद्ध प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या एक जना मात्र रहेपछि भवानी प्राविमा गाभियो । यो विद्यालय अघिल्लो शैक्षिक सत्र २०७५ को असारमा गाभिएको हो । पूर्वखोला गाउँपालिकामा सञ्चालित पाँच संस्थागत विद्यालय सामुदायिकमा गाभिन पुगेका छन् । गाउँपालिकामा सञ्चालन हुँदै आएका पाँच संस्थागत विद्यालय यसै शैक्षिक सत्रदेखि गाउँपालिकाका सामुदायिक विद्यालयमा गाभिएका हुन् । पूर्वखोला बोर्डिङ स्कुल उद्बुद्ध मावि रिङ्नेरह, जोनन इङ्गलिस बोर्डिङ स्कुल गणपति मावि बीरकोट, सरस्वती बोर्डिङ स्कुल सरस्वती मावि जल्पा, माउन्ट भ्यू बोर्डिङ स्कुल शम्भु मावि जल्पा र चिराग बोर्डिङ स्कुल मातृभूमि मावि देविनगरमा गाभिएको छ । गाउँपालिकाले गतवर्ष गाउँ शिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाएर सरकारी र संस्थागत विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार पारेर विद्यालय गाभेको हो । गाउँपालिकाभित्र एकै प्रकारको शिक्षा प्रदान गर्ने उद्देश्यले संस्थागतलाई सामुदायिकमा गाभेपछि यहाँका अभिभावक र विद्यार्थीलाई पनि नयाँ शैक्षिक सत्र शुरु भएपछि कुन विद्यालयमा भर्ना हुने भन्नेमा अन्योलता हटेको छ । संस्थागत र सामुदायिक विद्यालयको सहमतिमा विद्यालय गाभेर सबै समुदायका बालबालिकालाई एकै प्रकारको शिक्षा दिलाउन समायोजन गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । यहाँ शैक्षिक एकरुपता र गुणस्तरीयताको वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन शुरु गरिएको छ । गाउँपालिकामा ३७ सामुदायिक र पाँच संस्थागत विद्यालय अघिल्लो शैक्षिक सत्रमा सञ्चालनमा थिए । यस शैक्षिक सत्रमा पाँच सामुदायिकमा गाभिएपछि यहाँ विद्यालयको सङ्ख्या ३७ पुगेको छ । पाल्पा जिल्लामा हाल सामुदायिक र संस्थागत गरी ४९१ विद्यालय सञ्चालनमा आएका छन् । यीमध्ये विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएका १०० विद्यालय गाभिने अवस्थामा छन् । रासस

उद्योगमन्त्री भट्टले भनेः ‘औद्योगिक विकासका लागि योजनाबद्ध रुपमा अघि बढ्छु’

चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने बताएका छन् । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उनले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “उद्योगीहरुले वातावरण बनेको छैन भनेका छन् । मैले हिजो नै उहाँहरुलाई वातावरण तयार गर्न के गर्नुपर्छ ल्याउनुस् भनेको छु । उहाँहरुको सल्लाह–सुझाब आएसँगै सोहीअनुसार काम गर्नेछु ।” उद्योग र श्रमीकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्ने उनको भनाइ थियो । अहिले आफूले मन्त्रालयका समस्याका विषयमा बुझ्ने काम गरेको भन्दै उनले केही दिनपछि कसरी अगाडि बढ्ने त्यसको लागि योजना बनाउने बताए । मन्त्री भट्ट चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उद्घाटन गर्न यहाँ आएका थिए । रासस