अष्ट्रेलियामा भ्रमण वर्षको भव्य तयारी हुँदै, उड्डयनमन्त्री भट्टराईद्वारा शुभारम्भ गरिने
सिड्नी । भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय कार्यक्रमको शुभारम्भको तयारी यहाँ तीव्र पारिएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अष्ट्रेलियाको सिड्नीमा यही पुस २२ गते भव्य समारोहका बीचमा भ्रमणवर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । राष्ट्रमण्डल अष्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोगमा कार्यक्रम हुँदैछ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सो दिन बिहान ७ बजे अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियावासी सबैले एकै साथ सामाजिक सञ्जाल फेसबुकमा भ्रमण वर्षको लोगो पोष्ट गने कार्यक्रम रहेको छ । यसैगरी बिहान ८ देखि १० बजेसम्म नेपालीको उल्लेख्य बसोबास रहेका स्थानमा भ्रमण वर्षको प्रचारप्रसार गर्दै शान्तिपूर्ण र्याली गरिने भएको छ । त्यसका लागि गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका विभिन्न तहतप्काका अधिकारीहरु सक्रिय रुपमा लागिपरेका छन् । त्यसै दिन दिउँसोे १ बजे सिड्नी सहरको मुटु भनेर चिनिने ओपेरा हाउस रहेको ‘सर्कुलर की’मा नेपाली वेशभूषासहित नेपाली र विशिष्ट पाहुनाहरुको उपस्थितिमा विशेष कार्यक्रम हुने राजदूतावासले जनाएको छ । सो कार्यक्रमलाई पर्यटनमन्त्री भट्टराईले विधिवत् रुपमा उद्घाटन गर्नेछन् । कार्यक्रममा मन्त्री भट्टराई, राजदूत दाहाल, नेपालको ५८औँ पटक भ्रमण गरेका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतका विशिष्ट पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ विदेशी पाहुनासहितको पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिको उपस्थितिमा रात्रिभोज गरिँदैछ । यससँगै नेपालमा पर्यटक भित्र्याउन वर्षभरि नै विभिन्न कार्यक्रम गर्न लागिएको राजदूतवासले जनाएको छ । । ट्राभल एजेन्टहरु, यात्रा विशेषज्ञ, प्राध्यापक, लेखक, पत्रकारलगायतसँग छलफल तथा उनीहरुलाई नेपालको पर्यटकीय महत्वबारे लेख्न र प्रचारप्रसारका लागि उत्प्रेरित गर्न लागिएको छ । राजदूतावासको पहलसँगै यहाँका ट्राभल एजेन्सीहरुले नेपाल भ्रमणको प्याकेजहरु पनि सार्वजनिक गरेका छन् । यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाइट क्यानवेराले प्याकेज सार्वजनिक गरेको हो । सम्भवतः पहिलोपटक यहाँका ट्राभल एजेन्सीले नेपालका लागि प्याकेज कार्यक्रम सार्वजनिक गरेका हुन् । अष्ट्रेलियाबाट वार्षिक ३३ हजार हाराहारी पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको जनइएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य राजु अधिकारी अष्ट्रेलियामा रहेका नेपालीहरुले भ्रमण वर्षलाई पर्वका रुपमा लिएको बताउँछन् । उनले भ्रमण वर्षलाई सफल बनाउन यहाँ रहेका नेपाली र राजदूतावास संयुक्तरुपमा लाग्नुपर्ने बताए । रासस
काठमाडौं-अष्ट्रेलिया सिधा उडानको पहल हुँदै, लाखौँ नेपाली लाभान्वित हुने
क्यानबेरा । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् । सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौँबाट सिड्नी आउने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ । सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको सबैभन्दा ठूलो सङ्ख्या हो । अष्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनीयर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ । उनका अनुसार सिधा हवाई सम्पर्क भएमा सिड्नीबाहेकका सहरमा जाने यात्रुहरुलाई पनि यही बाटो प्रयोग गर्ने छन् । यसले गर्दा सिधा उडान प्रभावकारी हुने गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यसमेत रहेका उनले बताए । अष्ट्रेलियन कम्पनीहरुले भारतका सहरबाट समेत हालसम्म उडान गरेको पाइँदैन । नेपाल एयरलाइन्सले काठमाडौँ र सिड्नीबीच सिधा उडानका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ । सिड्नी काठमाडौँको दूरी लगभग १० हजार किलोमिटर रहेको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सम्झौतापछिका प्राविधिक पक्षहरुका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए । अगामी जनवरी ७ तारिखमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको यहाँ भ्रमण हुने समयमा यहाँका उच्च अधिकारीसँग भेटघाटका लागि पहल आफूले गरिरहेको उनले जानकारी दिएका छन् । अष्ट्रेलियाको सिड्नी आसपासको क्षेत्रहरु क्यानवेरा, गोलवन, वागावागा, डव्वो लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट लाभान्वित हुने गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा बताउँछन् । साथै, सिधा उडानले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले जानकारी दिए । रासस
राजस्व चुहावट गरेको अभियोगमा १५ जनाविरुद्ध मुद्धा
काठमाडाैं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा १५ जनाविरुद्ध मुद्धा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध आइतबार सम्बन्धित जिल्ला अदालतहरुमा मुद्धा दायर गरेको छ । राजस्व चुहावट अभियोगमा सिराहा नगरपालिका वडा नं। ९१ स्थित गोमती गुट्खा उद्योगका सञ्चालक मोहन महतो समेत ३ जनाविरुद्ध मुद्धा दर्ता गरेको हो । उनीहरुलाई राजस्व चुहावट गरेको अभियोगमा ५१ करोड ९३ लाख विगो कायम गरी विगोको दोब्बर सम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिईसिराहा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो । यस्तै झुट्टा तथा नक्कल विल प्रयोग गरी राजस्व छलि गर्ने जे।बि।सोलुशन प्रालिका संचालकद्वय जनार्दन भण्डारी र फिरोज मास्के समेत ५ जना विरूद्द पनि मुद्दा दायर भएको छ । उनीहरूले ३ करोड ७१ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा सो जति नै विगो कायम गरी ३ वर्षसम्म कैद माग दावी लिई मुद्धा दायर गरी ९ गते काठमाण्डौजिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । यस्तै सि आर ट्रेडिंगको फर्म प्रोप्राईटर रिंकी चौधरी साहको नाममा दर्ता गरी सर्लाही जिल्ला मलंगवा न।पा। ९४ भएका उक्त फर्ममा मुख्य कारोबार गर्ने दिनेस राय समेत ७ जनालाई मासु जन्य पदार्थ समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्धा दायर गरेको छ । उनीहरु विरुद्ध १ करोड ५ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मकी प्रोप्राईटर रिंकी चौधरी र उक्त र्फमको मुख्य कारोबारी दिनेश रायलाई६३ लाख पचासी हजार समेत विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मिति मुद्दा दायर गरिएको हो । यस्तै काठमाडौं जिल्ला नागार्जुन न।पा। ९१० स्थायी घर भएका दिप ज्योती ग्रुप एण्ड फुड प्रोडक्टस कम्पनीप्रालिका संचालक बासुदेब मरहठ्ठा समेत १० जनालाई फ्रेन्च फ्राइज समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ३१ लाख ८९ हजार तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मका संचालकहरु ४ जनालाई द्दद्द लाख ३९ हजार विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको बताइएको छ ।
राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको नुवाकोट शाखाले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा जीवन बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन भएको हो । पुस ९ गतेदेखि १२ गतेसम्म तीन दिन बिदुर नगरपालिकाको बट्टारमा जीवन बीमा अभिकर्ताको लागि आधारभूत तालिम कार्यक्रम भएको थियो । नुवाकोट शाखाका प्रमुख राजकुमार भडेलको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेका थिए । तालिम कार्यक्रममा संस्थानका प्रधान कार्यालय बजार व्यवस्थापन विभागका चुडा राज अधिकारी र बिनोद कुमार भट्टले प्रशिक्षण दिएका हुन् ।
लगानी वोर्ड बैैठकः ३ जलविद्युत आयोजनाको लागि ८५ अर्ब लगानी स्वीकृत
काठमाडौं । लगानी वोर्डले ३ जलविद्युत आयोजनाको लागि ८५ अर्ब २८ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा वोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको वोर्डको ४२औं बैठकले लगानी स्वीकृत गरेको हो । वोर्डले दिएको जानकारीअनुसार माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजनाको लागि करिब ६५ अर्ब रुपैयाँ, मस्र्याङ्दी बेसी जलविद्युत परियोजनाको लागि ११ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ र माथिल्लो त्रिशुली–३ बी जलविद्युत परियोजनाको लागि ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ लगानी स्वीकृत भएको हो । यी ३ वटै परियोजना निर्माणका लागि परियोजना विकासकर्ताले लगानी स्वीकृतिका लागि वोर्डमा निवेदन दिएका थिए । ठूला परियोजनाको लगानी स्वीकृतिदेखि अन्य सबै प्रकारको सहयोग र सहजीकरण गर्न वोर्ड स्थापना भएको हो । यस्तै, वोर्ड बैठकले अरुण–३ जलविद्युत परियोजनाको छ्याङ्कुटी–दिदिङ प्रवेशमार्गमा रहेको मुआब्जा विवाद सम्बन्धमा अध्ययन गर्न गठिन छानविन समितिलाई प्राविधिकसहितको थप जनशक्ति उपलब्ध गराई २ महिनाभित्र यथार्थ विवरण पेश गर्ने गरी पुनर्गठन पनि गरेको छ । बैठकले कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश ३ को बनेपा र चितवन, सुदूरपश्चिम प्रदेशको गोदावरी–अत्तरिया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश १ को उर्लाबारी तथा प्रदेश २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकारहरु/संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउन लगानी वोर्डको कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
सिन्धुली सम्मेलन काठमाडौंमा, विभिन्न ८ विधामा कार्यपत्र प्रस्तुत
काठमाडौं । सिन्धुली सम्मेलन काठमाडौंमा सम्पन्न भएकाे छ । समृद्ध सिन्धुली अभियानले आयोजना गरेको सिन्धुली परिकल्पना २०३० (सिन्धुली सम्मेलन) राजधानीमा सम्पन्न भएकाे हाे । सम्मेलनमा नेकपा माओवानीका स्थायी समिति सदस्यसमेत रहेका नेता पूर्वमन्त्री हरिबाेल गजुरेलले नेताहरुबीच कहाँ कसलाई नियुक्ति गर्ने भन्नेमा मात्र छलफल नभइ पार्टीका विकासका बारेमा पनि बहस हुनुपर्ने बताए । प्रदेश सभा सदस्य विजुला बर्माले सांसदले नियम, कानुन र ऐन बनाउने जिम्मेवारी भए पनि विकासको चिड्को बोकेर मन्त्रालय र योजना आयोग धाउने काम गर्नु परेको गुनासो गरिन् । कार्यक्रममा सिन्धुलीको समग्र विकासका लागि धीरप्रसाद भण्डारीले कृषि, आशिष गजुरेल पूर्वाधार, लीलाविक्रम थापाले स्वास्थ्य, डा.दुर्गाप्रसाद दाहालले शिक्षा, जनार्दन बराल, माया थापाले दीगो विकास, दीपक श्रेष्ठले पर्यटन र सुमन थापाले लगानीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम अभियानका अध्यक्ष लीलानाथ घिमिरेले प्रस्तुत भएका कार्यपत्रलाई एकीकृत दस्तावेजको रुप दिएर सिन्धुलीका ९ वटै स्थानीय तहसँग सहकार्य गरी विकास निर्माणका काम अगाडि बढाउने बताए । सिन्धुली सम्मेलनमा शिक्षाविद गोविन्द गजुरेल, समाजबादी पाटीका महासचिव गङ्गानारायण श्रेष्ठ, नेकपा नेता प्रकाश श्रेष्ठ, हिरा लामालगायत पर्यटन व्यवसायी, उद्यमी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
३ करोड इँट्टा उत्पादन गर्ने लक्ष्यसहित हरिसिद्धि इँट्टा कारखाना पूर्ण सञ्चालनमा
काठमाडौं । हरिसिद्धि इँट्टा तथा टायल कारखानाले आफ्नो उत्पादन क्षमता बढाउने लक्ष्यसहित पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । उक्त कारखानाले पुनःनिर्माणलाई मध्येनजर गर्दै डबल डि एयरिङ प्रविधि प्रयोग गरेर वार्षिक ३ करोड उच्च गुणस्तरको इँट्टा उत्पादन गर्ने लक्ष्य लिइ सञ्चालनमा ल्याएको हो । ३०० जना कर्मचारी तथा मजदुरहरु कार्यरत रहेको कारखानामा आठ हजार शेयरधनीहरु रहेका छन् । चिनियां सरकारको सहयोगमा निर्माण गरिएको हरिसिद्धि इँट्टा तथा टायल कारखाना विक्रम संवत् २०४९ सालमा निजीकरण गरिएको थियो । हरिसिद्धि इँट्टा तथा टायल कारखानाबाट उत्पादित इँट्टा तथा टायल मार्फत देशकै गौरवपूर्ण भवनहरु निर्माण गरिएका थिए । महाराजगञ्ज शिक्षण अस्पताल, रामशाहपथ स्थित कृषि विकास बैंकको केन्द्रिय कार्यालय, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, होटेल हायात रिजेन्सी, होटेल याक एण्ड यति, होटेल सोल्टी, सिंहदरबार स्थित राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालय जस्ता भवन संरचनाहरु हरिसिद्धि कै इँट्टा तथा टायलबाट बनिएका हुन् । हरिसिद्धि इँट्टा तथा टायल कारखाना व्यवस्थापनका अनुसार कारखाना निजीकरण पश्चात कारखानाको क्षमता विस्तार गरी चिनियां प्रविधि मार्फत इँट्टा तथा टायल उत्पादन सुरु गरिएको थियो । तर उच्च लोडसेडिङ र कच्चा पदार्थ अभावका कारणले गर्दा केही वर्ष इँट्टा तथा टायल उत्पादनमा ह्रास आएको थियो । निजी आवास तथा व्यावापारिक महत्वका ठुला भवनहरु निर्माणलाई लक्षित गरी कारखानाले गुणस्तरीय इँट्टा उत्पादन गरिरहेको हरिसिद्धि इँट्टा तथा टायल कारखाना व्यवस्थापनले जनाएको छ । व्यवस्थापनका अनुसार सम्पदा पुनः निर्माणको लागि समेत सम्पदा अनुकुलका इँट्टा तथा टायल उत्पादन भइरहेका छन् ।
नेपाल बंगलादेश बैंकद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बंगलादेश बैंकले शनिबार प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंस्थित प्रधान कार्यालयबाट वित्तीय साक्षरताको नारा लिई उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंकका काठमाडौँ उपत्यका भित्र रहेका २१ वटा शाखाहरु र प्रधान कार्यालयबाट कुल ३५० कर्मचारीहरु सहभागी भएका थिए । बिहान ८ः३० बजे सुरु भएको प्रभातफेरी कार्यक्रम बैंकको प्रधान कार्यालयबाट शुरू भइ शहिद गेट, न्यु रोड गेट, जुद्ध शालिक भइ इन्द्र चोक, असन बजार, जमल, दरबार मार्ग हुदै पुनः प्रधान कार्यालयमा पुगेर सम्पन्न भएको थियो । सो कार्यक्रममा कर्मचारीहरुले वित्तीय साक्षरताको नारा लेखिएका प्लेकार्डहरु लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थिए । कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले वित्तीय साक्षरताको महत्व, बचत गर्नुको फाइदा लगायत बैंकिंग कारोबारका फाइदाहरुको बारेमा जानकारी दिएका थिए ।