विकासन्युज

नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा, चार सम्पदाको स्वरूप फेरिँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेष रूपमा लिएको कामपाले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन् । हाल कामपाले तार व्यवस्थापन, सम्पदामा रङरोगन गर्ने र अन्य सरसफाइको काम तीव्र रूपमा गरिरहेको छ । त्यस्तै शहरलाई कुरूप बनाई राखिएको विभिन्न किसिमका विज्ञापन हटाउनका लागि पनि कामपाबाट दैनिक चार टोली खटिएको छ । शहरको मुख्य स्थानमा विज्ञापन हटाउने कार्य सकिसकेको छ । काठमाठौँको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा यतिबेला तार व्यवस्थापनको कार्य सकिइसकेको छ भने अन्य स्थानमा पनि यस किसिमको काम भइरहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । ठमेलबाट मात्रै अव्यवस्थित रूपमा रहेको १६ गाडी तार व्यवस्थापनको कार्य सकिएको छ । प्रमुख शाक्यले भने, “काठमाडौँलाई सुन्दर बनाउने प्रमुख दायित्व कामपाको नै हो त्यसैले सोहीअनुरूप काम भइरहेको छ, । प्रमुख शाक्यले सम्बन्धित सबै वडाका वडाध्यक्षलाई सरसफाइ गरी पाहुनालाई स्वागत गर्न तयार रहन निर्देशन दिइसकेका छन् । चार सम्पदाको स्वरूप फेरिँदै काठमाडौँको मुख्य आकर्षणका रूपमा रहेका चार सम्पदा हनुमानढोका, स्वयम्भूनाथ, बौद्ध र पशुपतिनाथ मन्दिरलाई सुन्दर र आकर्षक बनाउन रङ लगाउने र सरसफाइको काम भइरहेको छ । प्रमुख शाक्यले कुराकानीकै क्रममा भने, “काठमाडौँ आउने पर्यटकमध्ये ९० प्रतिशतले यी चार सांस्कृतिक सम्पदाको अवलोकन गर्ने पाइएकाले सोहीअनुरूप सौन्दर्य अभिवृद्धिमा खटिएको हो ।” सहकार्य गरेर मात्रै भ्रमण वर्ष सफल बनाउन सकिने भन्दै प्रमुख शाक्यले कामपासँग भगिनी सम्बन्ध भएका विभिन्न मुलुकका नगरलाई नेपाल भ्रमण गर्नका लागि निम्तो दिएको पनि जानकारी गराए । केन्द्र सरकारको भन्दा पनि भ्रमण वर्षलाई सफल बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै उनले यसका लागि सबै स्थानीय तह नै जिम्मेवार बन्नुपर्ने बताउँछन् । सौन्दर्य अभिवृद्धिका लागि चालू आर्थिक वर्षमा कामपाले रु १० करोड विनियोजन गरेको छ । इन्द्रजात्रा अवलोकनले भ्रमण वर्षलाई सहयोग पहिलो पटक कामपाले गत भदौ अन्तिम साता भएको इन्द्रजात्राको अवलोकन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरेको थियो । एघार देशका ४१ पहुनाले इन्द्रजात्राको मात्रै अवलोकन नगरी काठमाडौँ उपत्यकाको विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेकाले भ्रमण वर्षलाई थप सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । उक्त समयमा पाहुनाले हनुमानढोका क्षेत्रमा रहेका सम्पदा, पशुपति मन्दिर, चन्द्रागिरि, पाटनको सङ्ग्रहालय, कृष्ण मन्दिर र भक्तपुरको पचपन्न झ्याले दरबारको अवलोकन गरेका थिए । जात्रा अवलोकन गर्न चीन, भारत, अमेरिका, भूटान र जापानका ११ शहरबाट ४१ पहुना आएका थिए । उक्त समयमा अवलोकन गरेका पाहुनाले पुनः नेपाल भ्रमणको लागि आउने बताएका थिए । भ्रमण वर्षको औपचारिक शुरुआत सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरुआत आगामी बुधबारदेखि गर्ने तयारी गरेको छ । यही पुस १६ गते काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रङ्गशालासँगै सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने कार्यक्रम तय भएको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ । तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रममा मार्चपास तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछन् । कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुन आग्रह गरिएको छ । मार्चपास तथा र्यालीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ । तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह दिउँसो तीन बजे शुरु हुनेछ । भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकका गरी ४० भन्दा बढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता उद्घाटनको दिन रहने छ । सरकारले भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । रासस

नखाएको ऋणमा ७ वर्ष जेलबास, मुटु चलाउन ब्याट्रीको सहयोग

काठमाडौं । ‘ठ्याक्कै घर त मलाई पनि थाहा छैन, यहीँ नजिक हुनुपर्छ, म सोधेर आउँछु है,’ सानागाँउ चोकबाट साँखु रोडतिर अलिकति ओराले झरेपछि बाइक रोक्दै उनले भने । उनी, अर्थात् सागरराज खड्का । कालो रंगको बाइक हेलमेटविनै चलाइरहेका थिए । साँझको ५ बजिसकेको थियो । पुसको ७ गते । जाडो निकै थियो । कालोपत्रे गर्न ठिक्क पारिएको सडक । धुलो पनि उडिरहेको थियो । सागर एउटा घरमा छिरे । हामी मोटरसाइकल रोकेर उनलाई पर्खिरह्यौं । ‘ऊ त्यो जस्ताको टहरो छ नि ! त्योभन्दा अगाडिको घर रहेछ,’ उनले घर पत्ता लगाएछन्, अनि हामीलाई सुनाए । बाइक केही अगाडि बढायौं । केही अघि बढेर एक तले घर अगाडि रोकियौं । ‘ठिकै छ बाबु ! तर, मैले राम्ररी चिनिनँ नि !’ घर छिर्ने ढोका नजिकैको गाईगोठसँगै रहेको धारो बन्द गर्दै करिब ५०–५५ वर्ष जतिका वयस्क व्यक्ति जवाफ दिदै थिए । त्योभन्दा अगाडि सागरले नमास्कारदेखि सन्चो विसन्चोको औपचारिक प्रश्न उनीसँग सोधिसकेका थिए । ‘म सुवेदी गाउँको सागर हो अंकल, सागर खड्का,’ सागरको यो परिचयले पनि उनले चिने जस्तो गरेनन् । ‘पुस्कारराज खड्काको छोरा, तपाईं र मेरो ड्याडी सात वर्ष सँगै जेल बस्नु भएको होइन र ? हजुर नै होइन र रघु कार्की ?’ सागरले आफ्नो परिचय थपे । ‘ए… ! पुस्कारको छोरा ? ९ करोडको कम्पनी भएको व्यक्तिले आफ्ना गाउँले सजिलै कहाँ चिन्छ र ?’ ती वयस्कले हास्दै भने । उनले यसो भन्दै गर्दा उनकी श्रीमती पनि हाँसिन् । र, हामी पनि । अब हामीले भेटेका थियौं– रघु कार्की । उनी २३ फागुन २०६६ मा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबाट ९ करोड रुपैयाँ कर्जा प्रवाह भएको आरके स्टील एण्ड फर्निचर उद्योग प्रालिका प्रोपाइटर हुन् । त्यसैले उनी ९ करोड रुपैयाँको कम्पनीको मालिक भनेर आफूलाई रमाइलोसँग प्रस्तुत गरिरहेका थिए । ‘उहाँहरुलाई त अझै चिनिएन त,’ रघुले हाम्रो परिचय खोजे । ‘उहाँहरु पत्रकार हो, शम्भु केसीले तयार पारेका नक्कली ऋणीको अवस्था के कस्तो रहेछ भनेर बुझ्न आउनु भएको रे, उता हाम्रो ड्याडीसहित अरु पीडितलाई भेटिसक्नुभयो, तपाईंसँग भेट गराइदेउ भन्नुभएकोले मैले ल्याएको,’ सागरले नै भने । नमस्कार दोहोर्यायौं । रघुकी श्रीमतीले भित्रै बसेर कुरा गर्न अनुरोध गरिन् । भित्र छिर्यौं । ‘९ करोडको कम्पनीका मालिकको घर हो, मिलेर बस्नुपर्छ है बाबु,’ अब हाँसिमजाक गर्ने पालो रघुकी श्रीमतीको थियो । उनले यसोभन्दै दुईटा मुडा प्यासेजमा राखिदिइन् । मुडामा टुसुक्क बस्यौं । र, हामी आउनुको कारण खुलस्त पार्यौं । मिल्छ भने क्यामेरामा बोल्न अनुरोध गर्यौं । नभए पनि डायरीमा विवरण टिप्ने भन्यौं । उनीहरु क्यामेरामा बोल्न सहजै तयार भए । मानौं, आफ्नो पीडा पोख्ने हतारोमा थियो रघुको परिवार पनि । रघुले कोठामा बसौं भने । हामी छिर्दाको बायाँतिरको एउटा कोठामा भद्रगोल सामान थिए । दाहिनेतिरको एउटा कोठा बन्द थियो । अर्काे कोठा सायद भान्सा थियो । र, बाँकी रहेको बायाँतिरको कोठामा छिर्यौं, जहाँ २ वटा बेड राखिएको थियो । ‘ब्याट्री राखेर मुटु चलाएको छ, डाक्टरले धेरै नबोल्नु भनेको छ, जति सक्छु, म आफैं बोल्छु, बाँकी यिनर्ले भन्छन्,’ एउटा बेडको छेउमा बसेर रघुले भने । उनको मुटुको धड्कन बन्द भएपछि पेस मेकर राखिएको रहेछ । र, उनले ‘यिनर्ले’ भनेको उनकी श्रीमतीले थप जानकारी दिन्छिन् भनेका रहेछन् । ‘गाह्रो हुन्छ होला, तपाईं नबोल्नुस् न त’, हामीले भन्यौं । उनी आफै बोल्ने अडानमा रहे । खासमा भन्ने हो भने पेस मेकर राखिएको विरामीसँग कुरा गरेको पहिलो अनुभव थियो हाम्रो (सहकर्मी प्रकाश वाग्लेसहितको) । अनि रघु कार्कीले यसरी आफ्नो कथा सुनाए– रघु क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका तत्कालिन प्रबन्ध निर्देशक पवन कार्कीका ससुरा शम्भु केसीका बहिनी ज्वाइँ नाता पर्ने व्यक्ति हुन् । उनी साँखुको साना गाउँमा बस्थे । शम्भुका ज्वाइँ पवनले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई वाणिज्य बैंक बनाउने पहल थाले । यसको लागि व्यालेन्ससीटको आकार ठूलो हुनुपर्छ भनियो । अनि पवन, उनका ससुरा शम्भुसहितको जग्गा कारोवारीको समूह आफ्ना नातागोता र चिनजानका व्यक्ति खोज्न थाले । यस्तैमा शम्भुको टोलीको नजरमा परे रघु । उनी सानागाउँमा खेती किसानी गर्ने सामान्य लेखपढ भएका व्यक्ति थिए । ‘माओवादी सरकारमा आएको छ, मेरो जग्गा जमीन धेरै छ, केही जग्गा तपाईंको नाममा राखिदिनुपर्यो भने, मैले हुन्छ भनेपछि केही जग्गा मेरो नाममा पास गराए, पछि कम्पनी खोल्ने कुरा गरे, मैले त्यो पनि हुन्छ भनेँ, पछि त त्यही कम्पनीको नाममा ९ करोड रुपैयाँ ऋण निकालिएको रहेछ, मलाई त थाहै थिएन,’ रघुले विगत सम्झे । शम्भुले रघुको नाममा आरके स्टील एण्ड फर्निचर उद्योग प्रालि दर्ता गराए । त्यही प्रालिको नाममा क्यापिटलबाट ९ करोड रुपैयाँ ऋण निकालियो । ऋणको सावाँ व्याज नतिरेर कर्जा दुरुपयोग गरेको आरोपमा रघुलाई पाटन उच्च अदालतको आदेशले जेल हालियो । ‘जेलमा ७ वर्ष बसेँ, म जेलमा परेपछि छोराले पढाइ विगारो, जेलमा हुँदा नै एकदम पेट दुखिरहन्थ्यो, छुटेपछि चेक गराउँदा मुटु चल्न छोडेछ, गंगालाल अस्पतालमा गएर मुटुको अप्रेसन गराएँ, अहिले व्याट्री राखेर मुटु चलाएको छ,’ रघुले भक्कानिदै भने । रघुले धेरैबेर कुरा गर्न सकेनन् । बीचमा उनको बोली रोकियो । बोल्न अप्ठेरो भएको संकेत गरे । अनि क्यामेरा बन्द गर्यौं । हामी उनकी श्रीमतीसँग कुरा गर्न लाग्यौं । ‘पहिला जिउँदो बाँघ समातेर ल्याउन सक्ने हुनुहुन्थ्यो, जेलबाट छुटेर आएरपछि यो हालत भयो, अहिले काम गर्न त परै जावस्, राम्रोसँग कुरा गर्न पनि सक्नुहुन्न,’ रघुकी श्रीमती भन्छिन् । ‘शम्भुले बिराए, ससुराली पिराए’ शम्भु केसीलाई विश्वास गरेर फस्नेहरुको नामावली लामो छ । शम्भुले दाजुभाइ, ज्वाइँ, छिमेकी, ससुराली जस्ता नाता सम्बन्धका कसैलाई पनि बाँकी राखेनन् । हरिहर खड्का हरिहर खड्का शम्भुका ससुराली पर्छन् । शम्भुको ससुराली गागलफेदीकाे सुवेदी गाउँ हो । सुवेदी गाउँका हरिहर नेपाल प्रहरीबाट अवकाश पाएर बौद्धमा सेक्युरिटी काम गर्थे । ‘बासुदेवले शम्भु भिनाजुलाई सहयोग गर्नुेपर्ने भयो भन्यो, आफ्नै नजिकको भाइले भनेको के नमान्नु भन्ने लाग्यो, मैले जागिर गरेको ठाउँमा नै आए, के के कागजमा सही गराए, पछि त यस्तो पो रहेछ उनीहरुको खेल,’ हरिहरले भने । हरिहरले बासुदेव भनेका शम्भुका साला बासुदेव खड्का हुन् । शम्भुको योजनाअनुसार नै हरिहरको नाममा केही जग्गा पास गरियो । उनको नाममा समृद्धि इन्भेष्टमेन्ट नामक कम्पनी स्थापना गरेर क्यापिटलबाट २९ असार २०६७ मा ९ करोड रुपैयाँ झिकियो र शम्भुकै समूहले चलायो । ‘एक रुपैयाँ खाएको पनि होइन, बैंक देखेको पनि थिइनँ, ९ करोड रुपैयाँ ऋण लिएर हिनामिना गरेको आरोप रहेछ, त्यही आरोपमा ७ वर्ष जेल परेर निस्किएँ,’ हरिहरले भने । विमल खड्का शम्भु केसीको जालमा परेका अर्का व्यक्ति हुन् विमल खड्का । उनको घर पनि सुवेदी गाउँ नै हो । ‘छोरा कोकाकोला कम्पनीमा काम गर्थे, बासुले पहिला नै फसाएको रहेछ, छोराको कमाइ खाने यो बुढेसकालमा छोरालाई भेट्न जेल जानु परेको छ, खाएको न विराएको आरोप लागेछ, म कति अभागी रैछु,’ विमलकी आमा रिता भन्छिन् । विमलको नाममा पनि शम्भुले केही जग्गा पास गरिदिएछन् । र, सँगै सात्विक डेभलपर्स प्रालि नामक कम्पनी पनि खोलिदिएछन् । सो कम्पनीको नाममा क्यापिटलबाट २६ मंसिर २०६५ मा ५ करोड ७५ लाख रुपैयाँ ऋण झिकेर शम्भुकै समूहले चलायो । ‘जागिर राम्रै थियो, घरबार चलेकै थियो, बासु बुवाको उलामालामा लागेर जेल पर्नुभयो, सानो छोरा पढाएर हुर्काउँदै बसेकी छु,’ विमलकी श्रीमतीले भनिन् । भाइकृष्ण खड्का भाइकृष्ण खड्का पनि शम्भुको ससुराली पर्ने सुवेदी गाउँकै हुन् । उनको नाममा शम्भुले सान्दर्भिक विल्डर्स प्रालि खोलिदिएर ९ साउन २०६६ मा ३ करोड ५० लाख रुपैयाँ ऋण झिकेर आफैले चलाए । भाइकृष्ण पनि खाइ नपाइको ऋण बोकेर बसेका छन् । पुस्करराज खड्का शम्भुका ससुराली पर्ने पुस्करको नाममा दुई किस्ता गरी ९ करोड रुपैयाँ ऋण झिकियो । पुस्करको नाममा पारिवारिक हाउजिङ डेभलपर्स नामक कम्पनी खोलेर शम्भुको समुहले ३० मंसिर २०६५ मा १ करोड ७५ लाख र ८ वैशाख २०६६ मा ७ करोड २५ लाख रुपैयाँ ऋण झिकेर चलायो । यस्तो थियो फसाउने सुत्र शम्भु केसीले आफन्त र नातागोता व्यक्तिहरुले आफूसँग हदबन्दीभन्दा बढी जग्गा भएको सुनाउँथे । जग्गा बढी भएकोले आफन्तको नाममा पास गरेर सुरक्षित राख्ने आफ्नो योजना भन्थे । सित्तैमा अर्काको जग्गा राखिदिदा के फरक पर्ला र भन्ने आफन्तहरुलाई पथ्र्याे । हदबन्दीभन्दा बढी जग्गा सरकारले खाइदिन लागेकोले जोगाउन सहयोग चाहिएको कथा शम्भुले बुन्थे । जग्गा पास गरिसकेपछि शम्भुले उनीहरुको नाममा कम्पनी स्थापना गरिदिन्थे । कम्पनी स्थापना भएकोसम्म कसैलाई थाहा हुन्थ्यो भने कसैलाई योसम्म पनि थाहा हुदैनथ्यो । कम्पनी स्थापना गरिसकेपछि त्यही कम्पनीको नाममा शम्भुले क्यापिटलबाट ऋण झिकेर फेरि जग्गा किन्थे । त्यो जग्गा फेरि अर्काे व्यक्तिको नाममा पास गराए फेरि त्यस्तै कम्पनी खोल्दै ऋण झिक्थे । भिडियाेः प्रकाश वाग्ले

ज्ञान चक्की आटाले स्वागत गरेको ठमेल, भ्रमण वर्षप्रति व्यवसायी निराश

काठमाडाैं । सबैलाई थाहा छ कि ठमेल पर्यटकीय नगरी हाे । नेपाल भ्रमणमा अाउने विदेशी पर्यटक मध्ये  ९० प्रतिशत ठमेलमा पुग्छन् । पर्यटकलाई सेवा दिन खुलेकाे सुविका सम्पन्न हाेटल, रेष्टुरेन्ट तथा बार मात्र हाेइन, नेपाली माैलिकता झल्काउने बस्तु तथा सेवा बिक्री गर्न सुन्दर सहर बसेकाे छ ठमेलमा । पर्यटन सम्बन्धि सरोकार राख्ने धेरैजसो संघ संस्थाहरु पनि ठमेलमै छन् । ठमेलमा पाइला टेक्ने जो सुकैले पनि अलि पृथक किसिमको अनुभूति गर्छन् । किनकि त्यहाँको वातावरण त्यही किसिमको रोचक छ । यतिखेर देशमा एउटा विषयमा ठूलो चर्चा छ । सडकदेखि सदनसम्म मानिसको मुखमा झुण्डिएको छ त्यो शब्द । भ्रमण वर्ष २०२० । हो, यतिखेर देशमा भ्रमण वर्ष २०२० को चर्चा परिचर्चा अनि चटारो छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आयोजना गरेका कार्यक्रमहरुमा सहभागी जनाउन भ्याइ न भ्याई छ माथिल्लो ओहोदाका मानिसलाई  । सामाजिक सञ्जालबाटै भएपनि भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्न छुटाएका छैनन् । २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना छ सरकारको । तर, २०२० लाई सफल बनाउन सरकारले कतिको मिहिनेत गरेको छ ? भौतिक संरचनाहरु कत्तिको निर्माण भएका छन् ? पर्यटकहरुका लागि खास सुविधा केछ भन्ने मनासायले विकासन्यूजकर्मी आइतबार सबै पर्यटकको पाइला पर्ने स्थान ठमेलको अवलोकनमा निस्किए । बागबजारबाट हाम्रो यात्रा शुरु भयो ठमेलसम्मका लागि । रत्नपार्क कान्तिपथ हुँदै हामी ठमेलको प्रवेशद्वार केशर मल चोकमा पुग्यौं । ठमेलमा हरेक विदेशी पर्यटकहरुले पाईला टेक्छन् । उनीहरुको बास बस्ने र मन परेको सामान खरिद गर्ने विशेष ठाउँ हो ठमेल । केशर पुस्तकालयबाट प्रवेश गर्दै हरेक मानिसहरु ठमेल पुग्छन् । सरकारले भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि विभिन्न प्रचार प्रसारका सामाग्रीहरु सम्प्रेषण गरिरहेको बताउँदै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुने मात्र होइन भ्रमण वर्षका विभिन्न सन्देशहरु प्रचार प्रसार गर्न आफै तल्लिन छन् । स्वदेशमा मात्र होइन विदेशमा भएका घटनाक्रमहरुसमेत उनले विशेष प्राथमिकताकासाथ सामजिक सञ्जालमार्फत सेयर गरिरहेका हुन्छन् । तर, देशको प्रमुख मेरुदण्ड अर्थात सबैभन्दा पर्यटक आवतजावत गर्ने क्षेत्र ठमेल भने उही  पुरानै ढर्रामा चलिरहेको छ । अब शुरु गरौं ठमेल तर्फको यात्रा । ठमेलको प्रवेशद्वारमै एउटा चोक ।  नाम हो केशर मल चोक । केशरमल चोकको बिच्चमै राखिएको छ एउटा ट्राफिक आइल्याण्ड । त्यही ट्राफिक आइल्याण्डमाको माथिपट्टी  ठूलो अक्षरले लेखिएको छ शुद्ध गहुँको चक्की आटा, गहुँको असली गुण, स्वादिलो नरम  रोटीमा । ज्ञान चक्की आटाले ठमेलमा प्रवेश गर्ने जो कोहीलाई पनि भ्रमण वर्ष २०२० को गज्जवले स्वागत गरिरहेको थियो । ठूलो पर्यटक वस्तीतर्फ हामी साँघुरो बाटो हुँदै भित्र पस्यौं ।  बाटोमै तछाड मछाडका रुपमा थिए सडक व्यापारी । जनवरी १ मा भ्रमण वर्षको शुरुवात गरिँदैछ । त्यही भ्रमण वर्षको स्वागत गरे झैं तल्लिन देखिन्थे ती सडक व्यापारी । त्यो सडमा हिड्ने जोकोहीलाई पनि बलजफ्ती सामान देखाउन व्यस्थ थिए तिनीहरु । उनीहरु सामान किन्न चाहुन् वा नचाहुन् । अव्यवस्थित तार काटिँदा इन्टरनेट बन्द ठमेल पर्यटन विकास परिषदले नेपाल भ्रमण वर्ष २०२० को तयारी भन्दै मंसिर ३ गतेदिख लापरवाहीपूर्ण तरिकाले इन्टरनेट र टेलिफोनका तारहरू काट्याे। काटिएका इन्टरनेट तथा टेलिफोन तारहरु सडकमा अव्यवस्थितरुपमा झारिएका छन् । सदाझैं अव्यवस्थित र गजुल्टो परेका तारहरुले कुरुप बनेको ठमेल जताततै झारिएका तारले झनै कुरुप बनेको देखिन्छ । सडक कुरुप मात्र होइन, हाल जथाभावी रुपमा काटिएका तारहरुले ठमेलमा इन्टरनेट, टेलिफोन लगायत सेवा अवरुद्ध भएको छ । हाल व्यवसायीको आग्रहमा तार काट्ने काम रोकिएको छ । संचय कोष भवनदेखि सुरु गरिएको काम १० दिन भित्रमा सम्पन्न गर्ने लक्ष्य भएपनि अहिले बीचैमा काम रोकिएको छ । तर, काटिएका स्थानमा अझै सञ्चार सेवा सञ्चालनमा आउन सकेको छैन । तार काटिएपछि टेलिफोन र इन्टरनेट सेवा सञ्चालन नहुँदा समस्या भएको व्यवसायीहरुले गुनासो गरेका छन् । तार काट्न सुरु गर्दा उत्साहित बनेका स्थानीय व्यवसायी बीचैमा काम रोकिँदा कहिलेबाट पुनः काटिने, कहिलेसम्म काटिसक्ने र बन्द भएको सञ्चार सेवा सञ्चालन कहिले हुने भन्दै प्रश्न गर्छन् । तर, कामको चाँप बढ्नुका साथै सबैतिर इन्टनेर काटिँदा समस्या हुने देखिएको कारणले केही समयका लागि काम स्थगित गरिएको ठमेल पर्यटन विकास परिषदका एक कर्मचारीले बताए । भ्रमण वर्ष सुरु हुनै लाग्दा समेत ठमेलको अव्यवस्था सुधार हुन नसक्ने भन्दै स्थानीय चिन्तित छन् । अर्को समस्या साँघुरो सडक ठमेल आफैमा पर्यटकीय गन्तव्य भएकाले पर्यटकहरू बस्न, खान तथा रमाउन ठमेल पुग्न रुचाउँछन् । तर, ठमेलको सडक अस्तव्यस्त भएकै कारण धेरै पर्यटक र नागरिकहरूलाई हिँडडुल गर्न समस्या छ । साँघुरो सडक । साेही सडकमा पैदलयात्री, ट्याक्सी र रिक्साहरुसँग ठेलमठेल गर्दै हिड्नु पर्ने वाध्यता छ विदेशी पाहुनालाई । लामो समयदेखि ठमेलमा न्यू फेसन सप सञ्चालन गर्दै आएकी संगिता शाहीले सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेपनि पर्यटकलाइ दिने सेवा सुविधा वृद्धितर्फ केही काम नभएकाे बताइन् । भौतिक संरचना नै राम्राे नभएकाे उनकाे बुझाइ छ । ‘धेरै देशका पर्यटकहरु आउने ठाउँ ठमेलको भौतिक पूर्वाधारका संरचनाहरु लज्जास्पद अवस्थामा छ’ उनले भनिन् । स्थानीयकाे असन्तुष्टिका बाबजुत जर्मनीबाट नेपाल घुम्न आएका एलेक्स खुशी नै देखिन्छन् । ‘नेपाल धेरै राम्रो देश हाे’ उनले भने । तर यहाँकाे सडक लगायत मानव निर्मित पूवार्धारमा धेरै सुधार गर्न सकिने उनले बताए । सरकारले नेपाल भ्रमण वर्ष २०२० भव्यताकासाथ सफल पार्ने बताइ रहेपनि ठमेलका व्यवसायीहरू भने भ्रमण वर्षमा २० लाख पर्यकट भित्रिनेमा आशंकित छन्  । सरकारले देशको अथवा प्रमुख प्रर्यटकीय ठाउँको भौतिक संरचना तथा पूर्वाधारहरु निर्माण गरेर शुरू गर्नु पर्नेमा हचुवाको भरमा नेपाल भ्रमण वर्ष शुरू गर्न लागिएको बताउँछन् । भ्रमण वर्ष शुरू हुनै लाग्दा पनि ठमेलमा पर्यटकको आगमन न्युन भएको व्यवसायीहरू बताउँछन् ।

सुविसु अफरच्यूनिटी योजना: मात्र १ हजार ४० मा प्रति महिना २५ एम्बिपिएस इन्टरनेट

काठमाडौं । सुबिसु केबलनेटले आफ्नो १९ औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना घोषण गरेको छ । यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले मात्र रु १०४० प्रति महिनामा २५ एम्बिपिएस इन्टरनेट र फूल एच डि प्याकेज (२७५ भन्दा बढि च्यानल, ९५ भन्दा बढि एच डि च्यानल) प्राप्त गर्न सक्नेछन् । यो अफर ग्राहकले १५ महिनाको भुक्तानिमा प्राप्त हुनेछ । त्यसैगरी क्लिर टिभी प्याकेज (२४५ भन्दा बढि च्यानल, ६५ भन्दा बढि एच डि च्यानल) मात्र रु २२१ मा प्राप्त गर्न सक्नेछन् । यो अफर १४ महिनाको भुक्तानिमा प्राप्त हुनेछ। यसका साथै ग्राहकहरुले  २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश भएकाे दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गर्नेछन् । अफर सिमित अवधिका लागी मात्र लागु हुनेछ भने सर्त तथा नियमहरु लागु हुने सुबिसुले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको पिस्करवासीलाई निःशुल्क स्वास्थ्य सेवा र औषधी प्रदानमा दुई अस्पताल

काठमाडौं । ह्याम्स अस्पताल काठमाडौं र सिन्धु सदाबहार अस्पताल, खाडीचौर सिन्धुपाल्चोकको संयुक्त आयोजनामा त्रिपुरा सुन्दरी गाउँपालिका पिस्कर अवस्थित श्री मङ्गलामाई माध्यमिक विद्यालयको प्राङ्गणमा शनिवार  बिशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो । उक्त शिविर मा बरिष्ठ महिला रोग बिशेषज्ञ, एम.डि.जी.पी सहितका बिशेषज्ञ डाक्टरहरूले स्वास्थ्य परीक्षण गरी आवस्यक औषधि निःशुल्क रूपमा उपलब्ध गराएको ह्याम्स अस्पतालका प्रतिनिधि रोशन अधिकारीले जानकारी दिए । उक्त शिविरमा लगभग २०० जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने जसमा निःशुल्क मधुमेह तथा रक्तचाप परिक्षण पनि गराएका थिए । उक्त शिविरमा श्री मङ्गलामाई माध्यमिक विद्यालय प्राध्यानाध्यपक धनश्याम पौडेलले आफ्नो भनाई राख्दै यसरी आफ्नो गाउँघरमा बिशेषज्ञ सेवा आउँदा अस्पतालसम्म पुग्न नसक्ने व्यक्तिलाई सहज भएको भन्दै आगामी दिनहरुमा पनि यसरी बिशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न ह्याम्स अस्पताल र सिन्धु सदाबहार अस्पतालप्रतिको आशा कार्यम रहेको बताए । त्यस्तैगरी त्रीपुरा सुन्दरी गाउपालीका स्तरीय स्वास्थ्य साखा प्रमुख चन्द्र नारायण शाह ले पनी आफुले चाहेर पनी गाउमै बिशेषज्ञ सेवा दिन नसकिरहेको अवस्थामा यसरी ह्याम्स अस्पताल काठमाडौं र सिन्धु सदाबहार अस्पताल खाडीचौर , सिन्धुपाल्चोक ले बिशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर सञ्चालन गर्दा अधिकांश ब्यक्ति हरू जो आर्थिक कारण तथा पहुँच नभएका कारण स्वास्थ्य मा बन्चित भएका हरू ले पनी यसरी स्वास्थ्य लाभ लिन पाएका छन् र आगामी दिनहरुमा यस्ता शिविर गर्न आफुहरूले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । आगामी दिनहरुमा यसै गरी ह्याम्स अस्पताल लगायत अन्य अस्पतालसँग सहकार्य गरी गाँउ गाँउ तथा दुर्गम क्षेत्रमा बिशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर लैजाने लक्ष्य लिएको सिन्धु सदाबहार अस्पतालका व्यवस्थापन प्रमुख राम आचार्यले जानकारी दिए ।

अजोड ईन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न, साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । अजोड ईन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको हालसम्म ४८ हजार ७१ बीमालेख जारी गरी ३५ करोड ९२ लाख वीमा शुल्क आर्जन गर्नुका साथै हालसम्म ८ सय ६६ वटा दाबी वापत १० करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न अजोड ईन्स्योरेन्स सफल भएको जनाएकाे छ । हालसम्म कम्पनीको संस्थापक सदस्यहरुबाट कायम रहेको चुक्ता पूजी ७० करोड छ भने लगानी तर्फ ९५ करोड ९७ लाख पुगेको छ । साधारण सभाले निम्न उल्लेखित विषयका निर्णयले वासलात, नाफानोक्सान हिसाव, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचि सहितको वित्तीय विवरण उपर छलफल पारित गरेको हो । संचालनक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित भएसँगै प्रवन्धपत्र तथा नियमावलीको दफा तथा नियम संशोधन गर्ने व्यवस्था लागु हुने भएको छ । पछिल्लो समय डिजिटल ईन्स्योरेन्सका लागि च्याटबोर्डको परीक्षणको रुपमा आरम्भ गरिएको छ । बीमाका शुल्क भुक्तानी गर्नका लागि कम्पनीले आइएमई पे, खाल्ती, सेल पे जस्तो सेवाहरुको कार्य आरम्भ गर्न सम्झौता भएको छ । कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरी २ लाख रुपैयाँसम्म दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

कामना सेवाको ६ वटा नयाँ शाखा एकैसाथ सञ्चालनमा

काठमाडौं । कामना सेवाविकास बैंकले गतहप्ता मात्र ६ वटा नयाँशाखा विस्तार गरेको छ । काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउंपालिकास्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल६ वटा नयाँशाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले व्यवसायविस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहतशाखा सञ्जालमार्फत ग्राहकहरुलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ । काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १ सय १४ वटा शाखा तथा ६० वटा एटिएममार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, एसएमएस्, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।

काठमाडौंस्थित बाँसबारीमा हिमालयन बैंकको नयाँ काउन्टर

काठमाडौं । काठमाडौं बाँसबारी हिमालयन बैंकको नयाँ काउन्टरको विस्तार गरेको छ । काठमाडौ बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा आफ्नो विस्तारित काउन्टर सुविधा शुरु गरेको हो । उक्त विस्तारित काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहका बिच संयुक्त रुपमा गरे । उक्त समारोहमा महाराजगञ्ज शाखाका प्रमुख अभयबहादुर शाहा, बैंकका तथा अस्पातालका कर्मचारीहरुको उपस्थिति थियो । उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् । उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरु गर्न सहजिकरण गर्नेछ ।