अन्तर्राष्ट्रिय बौद्ध केन्द्रलाई काठमाडौँ महानगरपालिकाले दियाे तीन करोड
काठमाडाैं । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न रु तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई रु तीन करोड एक लाख ६९ हजार २ सय अनुदान रकम उपलब्ध गराएका हुन् । प्रमुख शाक्यले कामपाले भौतिक पूर्वाधार विकास, शहरी सेवा व्यवस्थापन र सम्पदा पुनःनिर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाको खोजी र प्रवद्र्धनमा काम गरिरहेको बताए । महानगरले उपलब्ध गराएको सहयोग रकमबाट केन्द्रको विकासका लागि ठूलो सहयोग पुगेको बताउँदै केन्द्रका अध्यक्ष ताम्राकारले केन्द्रको घरजग्गा कर मिनाहा गरिदिन आग्रह गरेका छन् । ‘हामी सामाजिक सेवा र बौद्ध दर्शनको प्रवद्र्धनका लागि काम गरिरहेका छौँ, यसैको बिस्तारका लागि महानगरले आर्थिक अनुदान दियो । अब घरजग्गा करमा माफी गरिदियो भने ठूलो राहत हुने थियो,’ अध्यक्षको आग्रह थियो । केन्द्रका उपाध्यक्ष मोतीकाजी शाक्यले केन्द्रको परिचय र प्रगति प्रस्तुत गर्दैै शान्तिका दूत गौतम बुद्धको आदर्श विश्वभर फैलाउन केन्द्रले रातदिन काम गरिहेको उल्लेख गरे । विसं २०४२ मा स्थापना भएको केन्द्र करिब सात रोपनी छ आना तीन पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।रासस
साढे २ लाख कम्पनीलाई नियमन गर्ने निकायमा न प्रमुख छन्, न दरबन्दी अनुसार कर्मचारी नै
काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालय करिब १ महिनादेखि प्रमुख विहीन छ । निमित्त रजिष्ट्रार अजुनप्रसाद खनालले कम्पनी रजिष्ट्रार कार्यालय सञ्चालन गरिरहेका छन् । पुस २८ गते कम्पनी रजिष्ट्रार भुवनहरि अर्याल मन्त्रालयमा तानिए। कम्पनी रजिष्ट्रार कार्यालयमा अजुनप्रसाद खनालले नै कम्पनी रजिष्ट्रारको काम गरिरहेका छन् । नेपालमा २ लाख ३१ हजार कम्पनी दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै प्राइभेट कम्पनी दर्ता भएका छन् । प्राइभेट कम्पनी २ लाख ३१ हजार, पब्लिक १ हजार ८ सय, विदेशी ३ सय र नाफा वितरण नगर्ने २ हजार ८ सय कम्पनी दर्ता रहेको कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोस दाहालले बताए । कम्पनी रजिष्ट्रार कार्यलयमा ५६ जना कर्मचारीको दरबन्दी रहेकोमा ४० जना मात्रै कर्मचारी छन् । १४ जनाको अधिकृत दरबन्दीमा ७ जना र ३ जनाको दरबन्दी रहेको कम्प्युटर इन्जिनियरमा १ जना पनि छैनन् । ५ जना उप रजिष्ट्रारको दरबन्दीमा ३ जना मात्रै छन् । ‘५ जना सहायक रजिष्ट्रारको सुरुवा भएर कम्पनी रजिष्ट्रारमा पत्र आएको १ महिना भइसक्यो तर ४ जना सहायक रजिष्ट्रार कार्यालयमा आएका छैनन् । ५ जनाको पत्र आएकोमा १ जना मात्रै कर्मचारी आएका छन्’, दाहालले भने । किन आउन मान्दैनन् कर्मचारी ? ‘सरकारी कार्यालयमा कुनै काम गराउन जानु पर्यो भने घुस बिना कामै हुँदैन’– सर्वसाधारण सेवाग्राहीबाट यस्तो गुनासो पटक पटक आउने गरेको छ । भन्सार, मालपोत जस्ता कार्यालय घुस अड्डाका रुपमा बदनाम छन् । यस्तै घुसखोरी हुने कार्यालयका रुपमा कम्पनी रजिष्ट्रार कार्यालय पनि थपिएको छ । भ्रष्टाचारको आरोपमा उक्त कार्यालयबाट महिनैपिच्छे कर्मचारी पक्राउ पर्न थालेका छन् । कार्तिक महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यालयका दुई जना सहायक रजिष्ट्रारलाई छलफलका लागि बोलायो । अख्तियारले उनीहरु माथि अनुसन्धान थालिएको पत्र कम्पनी रजिष्ट्रार कार्यालयलाई पठाएको छ । अनुसन्धानका लागि अख्तियारले कम्पनी रजिष्ट्रार कार्यालयमै कार्यरत सहायक रजिष्ट्रार सीताराम खड्का र हाल उद्योग मन्त्रालयमा कार्यरत अर्का सहायक रजिष्ट्रार टंक भट्टराईलाई कार्यालयमा बोलाएको थियो । सहायक रजिष्ट्रार खड्काले आर्थिक चलखेल गर्दै १ महिनामा नै करिब १ हजार फाइलको काम गरेको स्रोतले बतायो । पछिल्लो समय कार्यालयमा मौलाएको घुस प्रकरणले कम्पनी रजिष्ट्रार कार्यालयमा काम गर्छु भन्न पनि लाज लाग्ने अवस्था आएको सोही कार्यालयमा कार्यरत एक कर्मचारीले बताए । ‘मैले उद्योग मन्त्रालयमा काम गर्छु भन्ने गरेको छु,’ उनले भने । तर, दाहालले भने कामको चाप धेरै भएकोले कर्मचारी आउन नमानेको बताए । यस्तो छ घुस काण्डको श्रृंखला गत माघ १ गते रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ परेकी थिइन् । उनले दर्ता रहेको स्कुलको कर तिर्न जाने सेवाग्राहीसँग राजस्व रकम कम गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएकी थिइन् । यसअघि गत २८ मंसिरमा सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो । उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए । यसैगरी, गत ११ असोजमा अख्तियारले कार्यालयकै उप रजिष्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो ।
भ्यालेन्टाइन डेलाई विशेष बनाउन शाओमीले ल्यायो आकर्षक योजना, यस्ता छन् अफर
काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आउदै गरेको भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ । शाओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के२० प्रोमा ३ हजार रुपैयाँसम्मको भारी छुट दिने घाेषणा गरेकाे थियाे । जसको मूल्य छुटपछि ४६ हजार ९ सय ९९ रहेको छ । शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीहरुका लागी आदर्श उपहार हुनेछ । उपहारका लागि स्मार्टफोनहरु रोजाइमा पर्ने क्रम बढिरहेको छ र खासगरी प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुनेछ । हाम्रो भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई विशेष बनाउन रु ४९ हजार ९ सय ९९ मूल्यको रेडमी के २० प्रो अब रु ४६ हजार ९ सय ९९ मा ८जीबी प्लस २५६ जीबीमा नेपालभर उपलब्ध हुनेछ । यो अफरहरु सबै अफलाइन स्टोर, डराज डट कम डट एनपी र सस्तोडिल डट कम मा उपलब्ध हुनेछ । प्रयोगकर्ताहरुले १४ फ्रेब्रुअरी, २०२० सम्म यस अवसरको लाभ लिन सक्नेछन् ।
एशियन लाइफको खुद बीमा शुल्क ५५ करोडले बढ्याे
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क ५५ करोड १२ लाख रुपैयाँले बढेकाे छ । गत आर्थिक वर्ष(आव)को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकाे कम्पनीले चालु आवको साेही अवधिमा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ । इन्स्योरेन्स कम्पनीको चालु आवमा लगानी, कर्जा तथा अन्य आयमा चालु आवको दोस्रो त्रैमासमा ७१ करोड २४ लाख ६८ हजार रुपैयाँ छ भने गत आवको दोस्रो त्रैमासमा भने ६५ करोड १५ लाख ९२ हजार रुपैयाँ छ । बीमा लेखको धितोमा कर्जाबाट आय शीर्षकका एशियन लाइफ इन्स्योरेन्स कम्पनीको गत आवमा ४ करोड ८४ लाख ६५ हजार रुपैयाँ देखिन्छ । यस्तै, गत आवको दोस्रो त्रैमासमा बीमा लेख धितोमा कर्जाबाट आयमा कम्पनीको २ करोड, १३ लाख ६२ हजार रुपैयाँ देखिन्छ । आयको अवस्थाः चालु आ।वको दोस्रो त्रैमासको अन्त्यसम्म लाइफ इन्स्योरेन्स कम्पनीको आय ३ अर्ब ८ करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको आय २ अर्ब ४३ करोड ८६ लाख रुपैयाँ रहेको पाइन्छ ।
इक्यान र क्यानबीच भेटवार्ता, सहकार्यमा सम्बन्ध विस्तार गरिने
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ (क्यान) का पदाधिकारीहरुबीच भेटवार्ता सम्पन्न भएको छ । इक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वको कार्यसमिति र क्यानका अध्यक्ष नवराज कुँवरको टोलीबीच बुधबार क्यानको कार्यालयमा भेटघाट भएको हो । भेटमा क्यानका अध्यक्ष कुँवरले इक्यान र क्यानबीच सहकार्य गर्ने र सम्बन्ध विस्तार गर्नका लागि प्रस्ताव गरेका थिए । इक्यान अध्यक्ष पाण्डेले वर्तमान समयमा सूचना सञ्चार तथा प्रविधिको महत्वबारे चर्चा गर्दै नेपालको शिक्षा क्षेत्रको विकासका लागि आईसिटीको भूमिका महत्वपूर्ण हुने बताए । क्यानले लामो समयदेखि सूचना सञ्चार र प्रविधिको क्षेत्रमा गरेको कामका प्रसंशा गर्दै आगामी दिनमा मुलुकमा आईसिटी साक्षरता बढाउनका लागि भूमिका खेल्नुपर्ने बताएका थिए । शैक्षिक परामर्शको संघ इक्यान र क्यान मिलेर दुबै संस्थाको हितका लागि सहकार्य गरी अगाडि बढ्नुपर्नेमा अध्यक्ष पाण्डेले जोड दिए । क्यान सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा काम गर्ने संस्थाहरुका महासंघ हो भने इक्यान शैक्षिक परामर्श व्यवसायी संघहरुको सबैभन्दा पुरानो र ठूलो संघ हो । भेटमा इक्यानका तर्फबाट अध्यक्ष पाण्डेसहित उपाध्यक्षहरु देविदास भट्टराई र कृष्णहरि केसी, महासचिव दीपकराज भुसाल, सचिव बासुदेव दाहाल र सदस्यहरु भवनाथ हुमागाई, आशिक कार्की र पुष्पराज भट्टराई थिए ।
गायिका गरिमाको ‘खेतमा झुल्ने धान’ गीत सार्वजनिक
काठमाडौं । गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् । म्युजिक भिडियोमा अमेश भण्डारी र आशिष्मा नकर्मीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।
सुरुङमार्गः सेयरमा उठाएको मात्रै हैन, सर्वे गर्दा खाएको र बसेको पैसा पनि तिर्न बाँकी
काठमाडौं । सात वर्षअघि मकवानपुर भीमभेदीका सन्तोश लामाले काठमाडौं–हेटौडाको सुरुङबाट ओहोर–दोहोर गर्न पाइने हल्ला सुने । गाउँभरी नै सरुङमार्ग बन्ने चर्चा चल्न थाल्यो । २०७३ साल भित्र काठमाडौं जान सहज भइसक्ने लामालाई विश्वास थियो । तर, उनको सपना २०७६ साल बितिसक्न लागे पनि पूरा भएको छैन । सपना पूरा नभएको मात्रै होइन, अब सुरुङमार्ग नबन्नेमा उनी पनि ढुक्क जस्तै छन् । काठमाडौं–हेटौंडा सुरुङमार्ग लामालाई अचेल पशुपाति शर्माको ‘लुटनसके लुट कान्छा…’ भन्ने गीत जस्तै लाग्न थालेको छ । सडक बन्ने कुरा गफ मात्रै जस्तो अनुभूति हुन थालेको छ । भीमभेदीमा रहेको लामाको सगरमाथा होटलमा सर्वे गर्ने टोली बस्यो । गाउँको मात्रै होइन, देशको मुहारै फेरिने परियोजनाका सर्वे गर्ने व्यक्तिहरुलाई राख्न पाउँदा लामाको खुसीको सीमा नै रहेन । उनले राम्रोसगँ सञ्चालन भइरहेको होटलमा सर्वेका लागि आएकाहरुलाई खाने बस्ने व्यवस्था सकेसम्म राम्रो पनि गरे । मकवानपुरबासी, व्यवसायी, राजनीतिक दलका नेता र उद्योगीसँगै बसेर नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी नेतृत्वको कम्पनीले जनताकै लगानीमा छोटो दुरीको हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग बनाउने बताउँदा लामा निकै उत्साहित थिए । सरकारले नगरेपछि हामी गछौंं भन्दै निजी क्षेत्रले स्थापना गरेको नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल) मार्फत सुरुङमार्ग बन्ने र मकवानपुरसँगै तराईका जिल्लामा ठूलो विकासे लहर आउने लामालाई विश्वास थियो । काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग ५८ किलोमिटरको आयोजना हो । चार लेनको बाटोसहितको डिजाइन भएको सुरुङमार्गबाट हेटौँडा पुग्न झण्डै एकघण्टा मात्रै लाग्ने अनुमान गरिएको थियो । भीमफेदीमा नै किराना पसल, होटल र घर भएका लामाले यो अभियानलाई जति सकिन्छ, त्यति लगानी गरेर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । उनले आफ्नो बुवा अंकल लामाको नाममा १० हजार रुपैयाँको सेयरसमेत किने । आफ्नै घर छेउमा सन् २०१६ मा बन्ने भनिएको सुरुङमार्ग अझैसम्म निर्माण प्रारम्भसमेत नहुँदा उनी चिन्तित मात्रै होइन, आक्रोसित पनि छन् । लामाजस्तै सुरुङमार्गको सेयर किन्नेहरु यतिबेला निराश छन् । सुरुङमार्ग निर्माण गर्ने कम्पनीले सर्वेका लागि पठाएका व्यतिmहरुले खाना खाएको, र बसेको पैसा लिन कम्पनीको मुख्य कार्यालय थापाथलीमा पुग्दा त्यहाँबाट पैसा नपाएपछि लामालाई आफू ठगिएको हो कि भन्ने शंका लाग्न थालेको थियो । लामाले कम्पनीका कर्मचारीहरुले होटलमा खाना खाएको र बसेको पैसा अझसम्म पाएका छैनन् । र, सेयर वापत दिएको रकमको अत्तोपत्तो छैन । अरु सेयरबाट मात्रै ठगिएको छन् । धेरै सर्वसाधारणसँग एनपीबीसीएलले संस्थापक लगानी भन्दै करिब ३२ करोड रुपैयाँ उठाएको छ । तर, सो रकमबारे कम्पनी पारदर्शी रुपमा प्रस्तुत नभएको गुनासो सेयर लगानीकर्ताहरुको छ । रकम सदुपयोग नभएको र कम्पनीले आयोजना सुरु हुन नसक्नुबारे कुनै आधिकारिक जानकारी पनि नगराएका कारण धेरै लगानीकर्ताहरु आक्रोशित छन् । कतिपय लगानीकर्ताले कम्पनीका सञ्चालकहरुले आफ्ना मान्छेलाई जागिर खुवाउनकै लागि मात्र सर्वसाधारणबाट सेयर स्वरुप उठाएको रकम दुरुपयोग गरिरहेको आरोपसमेत लगाउन थालेका छन् । सुरुङ मार्ग निर्माण गर्न सुरुवातमा ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । सन् २०१६ सम्म निर्माण सक्ने लक्ष्य लिइएकोमा अझै आयोजना सुरु भएको छैन । २०६९ सालमा शिलान्यास भइसकेको यो आयोजनाबाट असन्तुष्टी जनाउँदै राप्रपाका सांसदसमेत रहेका ठेकेदार व्यवसायी विक्रम पाण्डेले हात झिकिसकेका छन् । एनपीबीसीएलमा एमालेका सांसद तथा व्यवसायी सुभाषचन्द्र ठकुरी र निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष जयराम लामिछानेलगायत अझै सक्रिय छन् । भिडियोः प्रकाश वाग्ले सम्बन्धित सामग्री सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र
वागमती प्रदेशले पनि साझा यातायातलाई पैसा नदिने, आफैँ गाडी चलाउने
काठमाडाैं । वागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ । संघीय सरकारले सो यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको रु तीन अर्ब फिर्ता लिने निर्णय गरेको थियो । प्रदेश सरकारले सो यातायातलाई रु ३० करोड रकम दिने प्रतिबद्धता जनाए पनि हालसम्म उपलब्ध नगराइसकेको बताइएको छ । सो रकमबाट विद्युतीय बस खरिदमा नै प्रयोग गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए । उनले भने, ‘रकम साझालाई नदिने भनिए पनि निर्णय भइसकेको छैन, निर्णय भएपछि प्रदेश सरकारले आवश्यक तयारी गर्नेछ ।’ प्रदेश सरकारले बस खरिद र प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘यातायात निगम’ स्थापनाको तयारी अघि बढाएको जनाइएको छ । यसका लागि आवश्यक छलफल भइरहेको उनले बताए । साझालाई विद्युतीय बस खरिदका लागि रु ३० करोड दिने सम्झौता गत असार १६ भएको थियो । प्रदेश सरकारसँगै सोही दिन बस खरिदकै लागि काठमाडौँ महानगरपालिकाले रु १० करोड र ललितपुर महानगरपालिकाले रु दुई करोड ५० लाख बराबरको शेयर खरिद गर्ने सम्झौता गरेका थिए । यी दुवै महानगरपालिकाले साझामार्फत नै बस खरिद गरी बस सञ्चालन गर्ने कि रकम फिर्ता लिने भनी निर्णय गरिसकेको छैनन् । विभिन्न स्थानीय तहले साझाको शेयर रकम खरिद गरेर विगतदेखि नै बस सञ्चालन गर्दै आएका छन् ।रासस